डाँकु पनि थरिथरिका - Blog Details

Blog Details

  • Home
  • Blog
  • डाँकु पनि थ...
डाँकु पनि थरिथरिका
धनीहरू मिलेर जालझेल गरेर जब गरीबलाइ अन्याय गर्छन् तब तब मानसिङ, सुल्ताना जस्ता ब्यक्तिहरू डाकु बन्छन् । जङ्गलमा लुक्ने डाकुको प्रचलन घटेको छ । राजनीतिक सङ्गठीत डाकुहरू भने जनतालाइ उद्धार गर्छु भन्छन् । शोषकहरूको झुण्डमा मिसिने डाकुका नाइकेहरूले जनतालाइ झु

डाँकु पनि थरिथरिका

29 May, 2025 | 5 (1 reviews)

डाँकु पनि थरिथरिका

सुन्ने लिङ्क


ठाटीमाथिबाट हजुरआमा लिस्नो झर्दै ती थारूहरू नगिच जाँदा दिदीपनि जानुभएछ । उनीहरूले डाकुले आक्रामण गर्न गाउँमा आउने खबर पठाएको खबर भन्न आएका रहेछन् । ठांटी मुनि बाख्राको खोर थियो । माथि घरपरिवार सुत्ने चलन थियो । अगाडिको मुल घरमा अन्नपात राख्ने डेहरी मिलाएर कोन्टी(कोठा)हरू बनाइएका थिए । भान्सा पनि त्यहिँ थियो । खरको छानो, घासे ठाटको बारमा माटोले लिपेका भित्ता थिए । ती भित्तामा बनाइएका माटोका हात्ती, घोडा, मजुर आदिका चित्रले गाउँलेको कलाकारिताको प्रतिनिधित्व गर्थे ।

भरखर साँझ परेको थियो । चराहरू आफ्नो गुड फर्किंदै थिए । घाम पश्चिम पाखा भासिँइसकेको थियो । जङ्गलबाट गार्इ, भैंसी र बाख्रा चराउने मान्छेहरू घर फर्किसकेका थिए । धेरैजसो चरा त गुडमा पुगिपनि सकेका थिए । खेतमा काम गर्नेहरू पनि घर फर्किसकेका थिए । तर साँझ पुरै ढलेर अध्यारो भैसकेको थिएन ।

त्यो साँझ हजुरआमा र दिदी मात्र बोक्टापुरको घरमा हुनुहुन्थ्यो। हामी बाँकी परिवार भने पहाडको घरमा थियौं। बोक्टापुर भाँवरमा छ । त्यहि समयमा अचानक "मल्किनिया... मल्किनिया..." भन्ने डराएको स्वरले माहोल झनै भयावह बनाएको थियो। क्यौवा, हौवा र प्रभु थारू ठाटीमुनि आइपुगेका थिए। उनीहरूले डाकुहरू आउने बताएका थिए ।

सरकारले डिडीटी छर्न लागेकोले तराइमा मलेरिया रोग कम भएको थियो । तर, डर हराएको थिएन । त्यसैले पहाडको बसाइ तराइको तुलनामा सुरक्षित मानिन्थ्यो । माघको खेती स्याहार्ने समय भएकोले हजुरआमा तराइ घरमा बस्नु पर्ने भयो । दिदी पनि उहाँलाइ साथी हुने भनेर बस्नु भएको थियो ।

डाका आउने डर हुँदा गाउँलेहरूले खाने भाँडा र चामल तरकारी दाल लिएर गाउँ छाडेर जङ्गल पस्ने चलन थियो । गाउँलेहरू त्यसरि ज्यान जोगाउन गएपछि डाकुहरू गाउँमा पुगेर भेटाएजति लुटपाट गर्थे । भेटेको सक्नेजति लैजान्थे । कहिलेकाहिँ त खसी काटेर खाने गर्थे, अनि जान्थे । पुलिस प्रशासनलाइ छ घण्टासम्म हिडेर सदरमुकाम तौलिहवा गएर मात्र खबर गर्न सकिन्थ्यो । खबर गर्न जानुको अर्थ नै हुन्थेन । टेलिफोन जस्तो कुनै प्राविधिक साधन थिएन । यो पञ्चायति ब्यवस्था सुरू भएको चार वर्ष पछिको कुरा हो । वि.स. २०२१ सालमा भूमिसुधार लागुहुँदाको वर्षको कुरा हो ।

तीन रातसम्म जङ्गल भित्र एउटा खोल्सामा बस्नुभएछ । त्यहिँ पकाउने खाने गरेर लुक्नु भएछ । तर, डाकुहरू आएनन् । त्यसपछि फर्कनु भयो । त्यो प्रसङ्ग दिदीसङ्ग भेटहुँदा अहिले पनि कुरा गर्छौ । गएको हिउँदमा पनि हामिले त्यो प्रसङ्ग कोट्याएका थियौ ।

केहि वर्षपछि त हामी पहाड छाडेर पुरै परिवार नै तराइमा बस्न थाल्यौ । गाउँमा बेलामौकामा मनोरञ्जनका रूपमा नौटङ्की खेलिन्थ्यो । नगाडा, हार्मोनियम, ढोलक, मजुरा गाउँकै कलाकारले बजाउँथे । त्यस समयमा त्यो बडो रमाइलो लाग्थ्यो । अहिले त्यो चलन नै हराएर गयो । यूट्यूब लगायत विभिन्न शोसल मिडियाको जमानामा त्यो चलन टिक्न सम्भव नै थिएन ।

त्यो म्यान्टोलको उज्यालोमा खेलिएका नाटक सम्झँदा अहिले पनि मन रमाउँछ । डाकु मानसिङको नौटङ्की हेर्दा म १० वर्षको थिएं । भोलिपल्ट तुल्सीको दुकान नगिचको धुरूवा(पुल) छेउँ पुग्दा अघिल्लो राति मानसिङको भूमिका खेलेका थारू भेटिए । काँधमा हलो बोकेर जुवामा नारिएका एकहल गोरू अघि लगाएर बियाडा जोत्न जाँदै रहेछन् । मैले उनलाइ चिनीहालें । उनीतिर फर्किएर ठूलो स्वरमा भने 'मानसिङ' । मेरो स्वर अचम्मित र सेलिब्रिटी भेटेकोमा रमाएको भावमा थियो ।

मैले भने उनी अलि लजाएजस्तो महशुस गरें । किन हो कुन्नि ! सेलिब्रिटी हुन पाएको गौरव उनको मुखाकृतिमा पटक्कै थिएन । अहिले पनि उनको त्यो भावले मेरो मनमा उनी किन मख्ख नपरेका होलान भनेर झस्काउँछ । अर्को मनले भने कतै डाकुको भूमिका निभाएकोमा उनको मन खुसि नभएर हो कि भन्ने पनि सोच्छु । डाकु भनेको नकारात्मक भावमा मैले सम्बोधन गरेको रूपमा उनले बुझेर अलि लजाएका हुनकि भन्ने पनि सोच्छु । तर, उनी मेरो लागि त्यस अवस्थाका सेलिब्रिटी कलाकार थिए ।

ती नौटङ्कीहरूमा अन्य नाच-सङ्गीतका साथमा नाटक पनि खेलिन्थ्यो । मेरो मानसपटलमा ताजा रहेका नौटङ्कीका डाकु मानसिङ, डाकु सुल्तानाका कथाहरूले गहिरो छाप छाडेको छ । ती कथाहरू साच्चैका होलान त ? भन्ने कुरा मनमा खेलिराख्थ्यो । काल्पनिक हुनसक्ने सम्भावना पनि त्यत्तिनै रहेको मान्थें ।

हामी जन्मेहुर्केको समाज समुन्द्रबाट टाढा भएकोले समुद्री डाकुका कथाहरू भने मैले सानामा सुनिन । थाहा पाइन । दश कक्षाको अङ्ग्रेजी विषयको पुस्तकमा बल्ल समुद्री डाकु(पाइरेट्स) हुन्छन् भन्ने विषयमा थाहा पाएको हुँ । बरू हामीकहाँ त लामकानेका दन्त्यकथाहरूमा हिममानवका प्रसङ्ग जोडिन्थे ।

अहिले भने मानसिङ र सुल्तानाहरू साच्चैका पात्रका आधारमा लेखिएका नाटक रहेछन् भन्ने थाहा पाउँदैछु । मानसिङका विषयमा केन्नेथ एन्डरशनले खोजमुलक पुस्तक लेखेका छन् । गाउँका नौटङ्कीमा हेरिएका कथाबस्तु त्यहि यथार्थको छोटो स्वरूप रहेछ ।



हमीदा अख्तर हुसैन रायपुरीले 'नायब हैं हम' नामको पुस्तकमा सुल्तानालाइ प्रहरीले पक्राउ गरेको विषय उल्लेख गरेकी छन् । भारत बेलायती उपनिवेश हुँदैको कालखण्डमा सुल्ताना अस्तित्वमा थिए । डाकु सुल्तानालाइ पक्रनकैलागि बेलायतबाट झिकाइएका पुलिस अफिसर फ्रेडी यङले पक्राउ गरेका थिए ।

मानसिङ भने भारत स्वतन्त्र भएपछि पनि धनीलाइ लुट्ने र गरीबलाइ धन बाड्ने गर्दै थिए । ती नौटङ्की मैले हेर्दैगर्दा डाकु फुलन्देबीको लुटपाट त जारी नै थियो ।

मानसिंहलाई भारतीय ‘रोबिन हुड’ भनिन्छ। उनी १९३०–४० को दशकमा उत्तर भारतमा सक्रिय थिए। उनी गोवाको पुर्तगाली शासन हटाउन भारत सरकारलाई सहयोग गर्न चाहन्थे भन्ने पनि पुस्तकमा उल्लेख छ।

सुल्ताना डाकु अर्को रोचक पात्र थिए। उनी ब्रिटीश शासकहरूलाई समस्या बनेका डाकु मात्र होइनन्, ग्रामीण जनजीवनका लागि न्यायको संवाहक पनि थिए। उनको र फ्रेडी यंग नामक ब्रिटिश पुलिस अफिसरसँगको अन्तिम द्वन्द्व लोककथाजस्तै चर्चित छ।

वास्तविक प्रसङ्ग जनजिब्रोमा फैलँदैजादा बढाइ चढाइ त भएका हुनसक्छन् । तर, पनि ती दुबै डाकु धनीहरूबाट सम्पत्ती लुटेर गरिबमा बाड्थे भन्ने विषयमा विश्वास गर्न सकिन्छ । त्यसैले गर्दा गरिबहरूले प्रहरी प्रशासनबाट उनीहरूलाइ लुकाउने र बचाउने गर्थे ।

यथार्थ विषय भन्दा बढाइ चढाइ हुने विषयमा हमजायगाका ठट्टालाइ पनि लिन सकिन्छ । दल बहादुर गुरूङ(हमजाएगा)ले साच्चै नै ठट्टा गर्ने र हसाउने गर्थे । तर सबै हमजायगाका ठट्यौलीहरू भने उनी आफैले तयार पारेका थिएनन् । ठट्टा सुनाउने र बनाउनेहरूले थप्दै लगेर उनको नाम जोड्दै लगेका थिए । त्यस्तै गरी ती डाकुका कथाहरूमा विभिन्न प्रसङ्गहरू दन्त्यकथाका रूपमा थपिएपनि होलान ।

दक्षीण पूर्व एशियाका क्षेत्रका डाकु जस्तै बेलायतमा रबिनहुडको पनि निकै चर्चा छ । धेरैले सुनेको र साच्चैको पात्र जस्तो लाग्ने उनी भने कुनै वास्तविक पात्र नै थिएनन् भन्ने निश्कर्षमा म पुगेको छु ।

गत हप्ता म शेरवुड जंगल पुगेँ । ब्रिटेनको मध्य भागमा रहेको रोबिन हुडको कथासँग जोडिएको ऐतिहासिक स्थल हो । हाम्रा कथाहरू जस्तै, यो कथासमेत धनाढ्यबाट लुटेर गरीबलाई बाड्ने एक आदर्श चरित्रको कथा हो।

मैले एक घण्टा पैदल हिंडेर त्यो हरियाली जंगल छिचोलेँ। अन्त्यमा, थुम्काको टुप्पामा पुगेर फोटो खिचेँ। म त्यहाँ शेरिफ अफ नोटिङ्घमको आकृति खोज्दै थिएँ । तर, त्यहाँ भेटिन । तर त्यहाँको सुन्सान, रुखहरूले भरिएको जङ्गल, अनि कथा भने जिउँदो थियो। स्थानीयले टपहिल भन्ने तर मेरा लागि एउटा थुम्कोको टुप्पोमा एउटा मान्छेले कुकुर डोर्याउँदै गरेको फलामको जालिदार मुर्ती भेटे ।

रोबिन हुड कहिल्यै नदेखिएका पात्र हुन । उनी वास्तविक ब्यक्ति होइनन् । तर जनमानसमा जीवित छन्। नेपाली समाजमा पनि हाम्रा आफ्ना ‘मान सिंह’ वा ‘सुल्ताना’ छन्। त्यो केवल नामको भिन्नता हो—भाव एउटै हो।



डाकु रत्नाकर(वाल्मीकि), अंगुलिमाल, रोबिन हुड, मान सिंह आदि पात्रहरू लुटेरा थिए, तर पछि लोकनायक बने। उनीहरू कथामात्र होइनन्, मानव आत्माको क्षमता र परिवर्तनको प्रमाण हुन्।

बोक्टापुरमा डाकुको एउटा साच्चैको प्रसङ्ग सुनाउने क्यउँवा थारूसङ्ग गत वर्ष(सन् २०२४)को फेब्रुअरी महिनामा पनि भेट भयो । डाकुहरूको आपसी झगडामा गोली हानेर मारिएका एक डाकुको लास छाडेर गएका थिए । लासको छातीमा टोटा(गोली)को खाली खोल छाडेका थिए । त्यो लास गाउँबाट दक्षीणतिर जङ्गलमा थोरै भित्र छाडेका थिए । धमौली र रनगाइ जाने बाटो छुट्टिने दोबाटोको बीचमै थियो । त्यही गोलीले उनलाइ मारिएको सन्देश दिन उनीहरूले त्यसो गरेका हुनु पर्छ । त्यो हत्याको मुद्दाका कारण गाउँलेहरू सदरमुकाम धाउन परेको र सरजमिन गरेको अनुभव उनले फेरि सुनाए । म नौ वर्षको हुँदा उनले त्यो घटना मलाइ पहिलो पटक सुनाएका थिए ।

आज पनि समाजमा ‘डाकुहरू’ भेटिन्छन् । राजनीतिका नाममा जनतालाइ शोषणबाट मुक्ती दिलाउन सङ्गठित डकैती हुन्छन् । तर, पछि फेरि त्यहि डकैतीका नायकहरू शोषकहरूसङ्ग मिलेर समाजमा लुटपाट मच्याइ रहन्छन् । गाउँघरमा दुर्इचार जना धनीहरू मिलेर जालझेल गरेर जब गरीबलाइ अन्याय गर्छन् तब तब मानसिङ, सुल्ताना जस्ता ब्यक्तिहरू डाकु बन्छन् । जङ्गलमा लुक्ने डाकुको प्रचलन घटेको छ । राजनीतिक सङ्गठीत डाकुहरू भने जनतालाइ उद्धार गर्छु भन्छन् । शोषकहरूको झुण्डमा मिसिने डाकुका नाइकेहरूले जनतालाइ झुक्याइरहेकाछन् । जनता भने सहि मुक्तिदिने नाइके भेटिने आशामा झुक्किइरहन्छन् ।

यहि प्रसङ्गलाइ जर्ज अर्वेलद्वारा लिखित 'एनिमल फार्म' भन्ने पुस्तकमा 'नेपोलियन' नामको सुगुर पात्रको विम्बको साहित्यले यथार्थ जनाउँछ ।

@nepallghar

Leave a Review

Reviews (1)

Hom Paribag
25 Jun, 2025

Govinda Belbase is a brilliant story teller, journalist and writer. The story here in \"DAKU PANI THARITHARIKA\' is a wonderful piece of his abilities to write and surmise the essence of story via characters and time. I loved reading this humbly written beautiful albeit short piece. Welldone Govinda ji! :Looking forward to reading more on various topics! Hom Paribag, SW London