'बाढी पर्ब मनाइने मरूभूमि
सुन्ने लिङ्क » – गोविन्द बेल्वासे
हामी चढेको कार नाइल नदी माथिको पुलमा गुड्दै थियो । स्थानीय चालकलार्इ मैले कायरोमा बाढी तथा डुबान बिषयमा जिज्ञासा राखें । हामी इजिप्टको राजधानी कायरोबाट गीजा तर्फ जाँदै थियौ । उत्तरमा उनले सन् १९७६मा नाइल नदीको पछिल्लो बाढीले डुबाएको बताए । बर्षभरि नै पानी नपर्ने मरूभूमिमा पुलमुनि नाइल नदी बगिरहेको थियो । संसारकै लामो नदी । हामी विश्व प्रख्यात आश्चर्य मानिएका पिरामीडमा पुग्न गुडिरहेका थियौ । उनले सन् १९९४ र २००८ को कायरोको बाढिको विषयमा बताएनन् । किन बताएनन् अहिले पनि खुल्दुली हुँदैछ ।
हिजआजको शोसल मिडियाको जमानाको कुरा अर्कैछ छ । तर, चार हजार वर्ष अघि प्राचिन इजिप्टमा बाढी आउनुलाइ देवी(इश्वर)को आँशु मानिन्थ्यो । खेतीको लागि पानी उपलब्ध गराउन देबी रोएको मान्दै पर्बका रूपमा उत्सव मनाइन्थ्यो । त्यतिखेर जुलाइदेखि अक्टोबरसम्म नाइल नदीमा बाढी आउँथ्यो । इशिस देबीले पति ओसिरिसको वियोगमा रूँदा नाइल नदीमा बाढी आएको मानिन्थ्यो ।
कायरोको उनको स्थानीय भाषा म जान्दिन । त्यसैले अङ्ग्रेजीमा सोधेको थिएं । उनको अङ्ग्रेजी भाषा र हाम्रो अङ्ग्रेजी भाषाको त्यत्ति धेरै तालमेल मिलिरहेको थिएन । ती गाइड चालकलाइ बुझाउन खोजेको जिज्ञासा अङ्ग्रेजी शब्द झन्पछिझन् सहज पार्दै तेस्रो पटक सोधेपछि उनले बुझेका थिए । नाइल नदीले एउटै सहरलाइ दुइ टुक्रा पारेको रहेछ । दुर्इ भाग बाँडेर एकापट्टिको सहरलाइ कायरो र अर्को तर्फ गीजा भनेर राजनैतिक विभाजन गरिएको रहेछ । तर, सहर एउटै हो । हाम्रो ललितपुर र काठ्माण्डौलार्इ बागमतीले बाँडेको जस्तै बाँडिएको रहेछ ।
त्यसै पनि मरूभूमिमा नदी छेउँ फैलिएको कायरो सहरमा गर्मी त हुने नै भयो । त्यसमा पनि जुलाइको गर्मी महिना झन् धेरै गर्मी हुनु हामीले बुझेकै कुरा थयो । बातानुकुलीत कारभित्र त ठीकै थियो । तर, गीजा पिरामिड तिर जताततै गर्मी उखुरमाउलो थियो । मेरो जन्म भएको तराइको गाउँमा जेठ महिनाको अनुभव ताजा भयो । गर्मी महिना भन्दा डिसेम्बर–जनवरी तिरको अलि कम गर्मी महिनामा इजिप्ट घुम्न जानु राम्रो हुन्छ ।
त्यस दिन साँझ पुगेका थियौं । सिधै वातानुकुलीत होटलमा बस्न पुगेकोले मुस्किल भएन । झ्यालबाट मुनि बगेको देखिने नाइल नदीमा पानी फोहोरो देखियो । रातपरेपछि नाइल पारि देखिएको गीजा सहर झिलिमिली भएर जग्गेमा बसेकी दुलही जस्ती थिइन । नाइल नदीका छालको उतार चढाव जोसिला थिएनन् । भानुभक्तको बधु शिक्षा पढेर ज्ञानी बुहारी बन्न खोजेको झै देखिन्थिन । जगल्टा यता र उता हुने गरी कायरो र गिजाको लरक्क पारेर कोरेको सिउँदो भिजाउँदै बग्दै थिइन । साँझमा डुब्न लागेका सूर्यको लाली हेर्ने पर्यटक बोकेका डुङ्गा बेहुलीका निधारको टीकी जस्दै म्किने रहेछन् । ती डुङ्गा भित्रका पर्यटक लोभ्याउने जोसिला बेली डान्स स्थानीय संस्कृति बनेको रहेछ । गर्मीकै कारण विदेशी भन्दा आन्तरिक पर्यटक धेरै भएको अवस्था महशुस भयो ।
परिस्थितिले हामीलार्इ गर्मी महिना नै जुराएको थियो । पात्रो हेरेर साइत जुराएका थिएनौ । चन्द्रमा कुन राशि, तिथि, तथा नक्षत्रमा छन् भन्ने गणना गरेका थिएनौ । दिशा शूल निवारण गरेर यात्रा योगिनी डंडको विचार पनि गरेका थिएनौ । हामी कायरो पुग्दाका दिन ४० सेल्सियसको गर्मी थियो । अर्को दिनबाट हामी बसुनजेल त्यत्ति धेरै गर्मी भने भएन । त्यसैले साइत त जुरेको मान्नु पर्ला । तर, पनि उत्पातै गर्मी थियो । म ३५ सेल्सियस गर्मीसम्म त्यत्ति आत्तिन्न । त्यता जान डिसेम्बर तिर भन्दा गर्मीको भ्रमण सस्तो पर्छ । त्यसैले सस्तो भ्रमण गर्नु नराम्रो निर्णय भएछ भन्ने पछुतो मान्न परेन ।
भ्रमणका आ–आफ्नै अनुभव हुन्छनः कतै ठगिएको, कतै रमाएको, कतै नयाँ साथी भेटिएको, कतै रून परेको, कतै हास्न पाएको, कतैबाट खुसीको पोको मुटुमा सजाएको । अनुभव बटुलेर घर फर्किएको ।
अहिलेको साइबर यूगमा वेवपेज, यूट्यूब, ब्ल्ग तथा च्याटजीपीटी जस्ता सुविधा छँदैछन् । जे चाहियो त्यही जानकारी पाइहालिन्छ । तर, कुनै ठाउँ पुगेर गरिने अनुभूतिले जुन तीर्खा मेट्छ त्यस्तो ज्ञान पढेर, वेवमा हेरेर र सुनेर मात्र पाइँदैन । त्यसैले चार हजार वर्ष पहिलेका जस्ताको जस्तै जोगाइएका शब(लास) जोगाउने प्राचिन सभ्यता तथा पिरामिड बारे जिज्ञासाको तिर्खाले मलाइ काकाकुल जस्तै बनाएको थियो ।
मलाइ इजिप्ट हेर्न जान मन लागेको कारण स्वेज नहर पनि हो । तर, इजरेल र प्यालिस्टाइन यूध्द चलिरहँदाका अवस्थामा त्यता जान ठीक लागेन । नाइल नदी, म्यूजियमहरू र पिरामीडहरूको भ्रमणमा मुख्य जोड रह्यो । सन् १९५६मा स्वेज नहर इजिप्टले राष्ट्रियकरण गर्यो । त्यो घटनाबाट बेलायत र फ्रान्सका उपनिवेश देशहरू स्वतन्त्र हुने क्रम सुरू भयो भनिन्छ । स्वेज नहर राष्ट्रियकरण हुँदा भैरहेको नाफा जोगाउन बेलायत र फ्रान्सले सैनिक हस्तक्षेप गर्न तयार थिए । उनीहरूकै लगानीमा स्वेज नहर खनिएको थियो । नाफा पाइरहेका थिए । त्यसमा अमेरिकाले भाँजो हाल्यो । इजिप्टमा आक्रमण गरे बेलाय–फ्रान्सको गठजोडमाथि आक्रमण गर्न अमेरिका तयार भयो । त्यो घटना पछि विश्वमा बेलायत र फ्रान्सले चलाइरहेको हैकम अमेरिका तिर सर्यो ।
इजिप्ट पुग्ने एकदमै धेरै रहर थियो । तर, यही गर्मीमा जानुको कारण अर्कै रह्यो । नेपाली पासपोर्ट धारीलाइ अन एराइभल (एयरपोर्ट पुग्दा पाइने) भिषा दिने इजिप्टको नीतिका कारण झट्पटमै योजना बन्यो । त्यस अघि त्यहा जाँदा भिषा तयारीमा समय खर्च हुँदैन भन्ने थाहा भएको भए म धेरै अघि त्यहाँ पुग्ने थिएं ।
इजिप्टको हामी घुमेको क्षेत्र मरूभूमि हो । एक दशकमा एक–दुर्इ पटक अक्कल झुक्कल बाहेक आकासबाट पानी नपर्ने क्षेत्र हो । त्यसैले मरूभूमि हो । तर, त्यहाँको फाँटभरि खेती हुन्छ र हरियाली छ । मरूमूमिको रूपमा कायरोलाइ चिनाउँदा विरोधाभाश लाग्न पनि सक्छ । आकासबाट पानी नपरेपनि नाइल नदीको सिचाइ सुविधाले मज्जाको खेतीपाती फस्टाएको देखियो ।
पिरामीड ठडाइएका थुम्का मुनि अन्न, गेडागुडी र फलफूलका बोट विरूवाले पुरै फाँटमा हरियो पोतेर क्यानभास सजाएका रहेछन् । नहरहरूमा बगेको पानीले चित्रकारका ब्रुस भिजाए झै भूइलाइ भिजाएर बाली सपार्दारहेछन् ।
नाइल नदीको सभ्यताले अरू धेरै सभ्यतालाइ उछिन्दै नमुना छाडेको छ । त्यही पुरातात्विक आकर्षणले ‘चुम्बकले फलामलाइ ताने झै’ हामीलार्इ तानेर त्यहाँ पुर्याएको थियो । त्यस्ता उब्जाउ फाँट र पर्यटक तान्ने चुम्बक रहेको देश पनि सम्पन्नताको दौडमा रफ्तार समाउन भने सकेको रहेनछ । चर्को घाममा गधाले तान्दै गरेका भार बाहक बाहन फाट्ट फुट्ट साक्षी बने । पर्यटक लोभ्याउन चाहेका घोंडाले तान्ने टाँगा केही त देखिए । तर, ती पसुबाहनले आधुनिक यूगमा सम्पन्नताको अध्यारो पक्ष झल्काइरहेका थिए ।
पिरामिडको जानकारी त मैले यहाँ जति लेखे पनि थोरै हुन्छ । केहि वर्ष अघिसम्म पिरामीडको निर्माण रहस्य बनेको थियो । अहिलेको तुलनामा प्रविधि उपलब्ध नभएको समाजमा कसरि पिरामिड उठाइयो भन्ने जान्न मानिसहरू ब्यग्र थिए । दिनप्रतिदिन विज्ञान तथा अनुसन्धानकर्ताका नयाँनयाँ जानकारी र तथ्यहरू थपिइरहेका छन् । तत्कालीन समाजले ती ढुङ्गा कसरि माथि चढाए भन्ने उत्तर पाइएको भन्छन् । चार हजार बर्ष भन्दा अघिका लासहरू अहिले सम्म जोगाएर जस्ताको तस्तै राख्न के पद्दति अपनाइएको थियो भन्ने तरिका पनि थहा भएको बताउँछन् । जानकारी चाहिएको मध्ये जत्ति चाहिएको छ त्यत्ति सूचना पाउन साइबर सन्सार पर्याप्त छ भन्दा पनि हुन्छ ।
पिरामीड भित्रका खोक्रा भागमा खोपिएका र कोरिएका जानकारीले पिरामीड बनाउने पद्दतिको उत्तर दिएको बताइन्छ । त्यहाँ गएर हेर्दा खोक्रा भाग त देखिए तर विषेशज्ञ जानकारी पाउन त इन्टरनेट नै सहयोगी ठहरियो । कसरि उत्खनन् गर्दै रहेछन भन्ने चाहि त्यहाँ पुगेकैले थाहा भयो ।
चिनमा पाइएको जानकारी बटुलेर भारतको विहारमा उत्खनन गर्दा नालन्दा विश्वविद्यालयको अवशेष भेटिएको छ । ज्याउङ्ज्याङले नालन्दामा १५ वर्ष अध्ययन गरेर लगेका कृतिहरू र उनले लेखेका विवरणले सघायो । बाह्रौ सताब्दीमा आगोले ध्वस्त भएको विश्वविध्यालयको संरचना उत्खननबाट पाएका अवशेषले पुष्टि गर्छन् । एउटा देशको जानकारी अर्कै देशमा भेटियो ।
तर, इजिप्टका पिरामिडका विषयमा अन्तको जानकारीले खासै सघाएन । त्यहीँ भित्रका लेखाइ, कुदाइ र संरचनाबाट विज्ञान तथा प्रविधिको सहायताले जानकारी थप्दै गैरहेकै छन् । त्यसैबाट पाँच हजार वर्ष पहिलेको त्यो सभ्यता बारेको जानकारी अहिलेका पुस्ताले जान्दैछन् ।
पिरामीड भित्रका सुरूङमा छिरेर पनि हेरेपछि मनमा एउटा प्रश्न उब्जियो । सिधै हिड्न नमिल्ने सुरूङमा निहुरिएर पसिनै पसिना हुँदै छिरेर हेरेर फर्किएपछि अरू धेरै पर्यटकलाइ पछुतो लाग्दो रहेछ । त्यहाँ भित्र संरक्षित शबहरू पनि त्यहाँ थिएनन् । कतिपयले केहि रहेन छ, खोक्रो हेर्न नगए नि हुने रहेछ भन्दा रहेछन् ।
तर, मलाइ त्यो कठिनाइ भोगेर भित्र हेर्न जानाले सन्तोष मिल्यो । त्यो भ्रमणको स्वादले तीर्खा मेटायो । बाहिरबाट पिरामीडलार्इ हेर्दा ढुड्गामाथि ढुङ्गा चढाउँदै माथि चुच्चो पारेको देखिन्छ । ती बाहिरबाट देखिने ढुङ्गा भित्रपट्टि कसरि खप्टाइएका छन् भन्ने बुझ्न सुरूङ भित्र छिरेर हेर्न सकिंदो रहेछ । ढुङ्गा खप्टाइएका बाहिरि परतको चार–पाँच खण्ड माथिबाट सुरूङ भित्र छिर्ने प्वाल रहेछ । ५ फीट भन्दा अग्ला ब्यक्ति ननिहुरिइ भित्र पस्न सकिँदो रहेनछ । निहुरिएर भित्र पसेपछि करिब बीच जस्तो भागमा उभिन मिल्ने भाग भेटियो । त्यहाँ निरबाट एउटा बाटो तलतिर भित्रपट्टि झरेको पनि देखियो । तर, त्यता जाने प्लाल बन्द गरिएको रहेछ । हामी जान पाइँदोरहेनछ । त्यहाँसम्म बाहिरको प्रकाश पनि अलिअलि छिरेको थियो । त्यहाँ निर शरीर सिधा पारेर उभिन पनि मिल्यो ।
त्यहाँसम्म आउँदाको जस्तो उकालो चढेको भन्दा अझै ठाडो उकालोमा अझै माथि जान मिल्दोरहेछ । त्यसभन्दा माथिको भागमा बाहिरको प्रकास पनि पुग्न सक्दोरहेनछ । पर्यटकहरू अझै माथिको फराकिलो कोठासम्म पुग्न सजिलो होस भनेर काठको खुड्किला जस्तो बनाइएको छ । थोरै भाग बीचमा खाली राखेर दुर्इ तिरबाट एक एक जना चढ्न वा झर्न मिल्ने गरी फलामका बारले छुट्याइएको थियो । त्यो काठ र फलामको पर्यटकलार्इ सजिलो पार्न बनाइएको भौतीक अवस्था भने प्राचिन होइनन् भन्ने प्रष्ट बुझिन्थ्यो । त्यहाँदेखि माथिको अध्यारो छिचोल्न पनि विद्ध्यूतका तार लगेर बत्ती बालिएको रहेछ । एक छिन दुर्इ तिर बाँडिएको भाग जोडिएपछिको ठाडो उकालोको सुरूङ करिब साढे तीन फीट जति साङ्घुरो रहेछ । वाहिरबाट हावा पनि सजिलै पुग्न नसक्ने त्यो सुरूङमा निहुरिएर छिर्दा त्यो उखुरमाउलो गर्मीले झन् अत्यायो । बल्ल तल्ल माथि पुगेपछि फराकिलो कोठामा पुगियो । एउटा ढुङ्गाकै ट्याङ्की देखियो । तर, खोक्रो थियो । त्यहाँ सूचना लेखेको थिएन । हामीले संरक्षित शब त्यहाँबाट झिकेर म्यूजिममा लगिएको अनुमान गर्यौ । हावाको लागि एउटा टोड्कोमा बिद्यूत पङ्गा जडान गरिएको रहेछ । तर, त्यो पङ्गा त्यतिखेर चलेको थिएन । हेर्दा पनि त्यो पङ्खा धेरै महिनादेखि चलेको छैन भन्ने बुझिन्थ्यो ।
पिरामीडको भित्रि भाग हेर्न पाउँदा मेरो जिज्ञासाको तिर्खा अलि सान्त भयो ।
प्रश्नः इजिप्टको त्यो सभ्यतामा लास जोगाउने प्रथा रहेछ । यस विषयमा विवाद छैन । हाम्रो समाजमा लास जलाउने प्रथाका विपरित त्यहाँको प्रथा किन विकास भएहोला ?
रामायणको किष्किन्धाकाण्डमा एउटा प्रसङ्ग छ । बालीको बध गरेपछि रानी ताराले रामसंग नैतिक एवं तार्किक प्रश्न गर्दै बालीको मृत शरीर प्रति आशक्तिपूर्ण बिलौना गरिन । तब रामले ‘बालीले त्यो शरीर त्याग गरिसकेका’ हुनाले मृत शरीरसंगको आशक्तिको अर्थ नरहेको भनेर सम्झाउँछन् । अर्थात पुर्वीय सभ्यतामा मृत्यूपछि लास र आत्माको सम्बन्ध नहरने मान्यता स्थापित छ ।
पुर्विय दर्शनका रूपमा चिनिने दक्षीण पुर्वको प्राचिन ग्रन्थ तथा साहित्यबाट त्यहि बुझिन्छ । गीतामा श्रीकृष्णले अर्जुनलार्इ आत्माले कपडा फेरेजसरि शरीर फेर्छ भनेका छन् । त्यसबाट पनि मृत्यू पछिको शरीरलाइ पूर्विय दर्शनमा महत्वहीन मानिने प्रष्ट हुन्छ । त्यसैले लास जलाउने चलन चलेको छ ।
इजिप्टको सभ्यतामा मानिसको मृत्यू पछि पनि स्वर्गसङ्ग लासको सम्बन्ध हुन्छ भन्ने विश्वास गरिन्थ्यो । त्यसैले पिरामिडको चुच्चोबाट मृतशरीरको सम्बन्ध स्वर्गसङ्ग तथा इश्वरसङ्ग रहिरहन्छ भन्ने मान्यतामा निर्माण गरेको भन्ने बुझें । जति धेरै शक्तिशाली राजा त्यत्ति मजबुत पिरामिड बनाउएर स्वर्गसङ्ग सम्बन्ध कायम गर्ने धाँचा बनाइएको महसुस गरें । जति पुराना पिरामिड त्यत्ति साना ढुङ्गा प्रयोग भएको रहेछ । त्यो सभ्यतामा पनि प्रविधि र ज्ञान थपिंदै जाँदा पछिल्ला पिरामिडहरूमा झन् ठूला ढुङ्गा प्रयोग गरेर झन् ठूला पिरामिड बनाइएको रहेछ । अघिल्ला भन्दा पछिल्ला पिरामिड अझै मजबुत भएको पनि देखियो ।
वरिपरि पानी परेर कायरोमा सन् १९९४ र २००८ मा बाढि आएको रहेछ । मरूभूमि वरिपरि पनि अक्कलझुक्कल पानी परेर बाढिको पीडा भोग्न पर्ने घटना हालै दुबइमा पनि देखियो । यसै वर्ष(२०२४)को अप्रिल महिनामा दुबइमा बाढी आएको थियो ।
नाइल नदी धेरै लामो छ । अहिलेको प्रविधि र ज्ञानले नाइल नदीमा आउने बाढीको विषयमा अहिले बुझिने जस्तो ज्ञान प्राचिन इजिप्टको सभ्यताको समयमा थिएन । त्यस यूगमा कतै पानी परेको जानकारी नहुँदा पनि नाइल नदीमा बाढी देख्दा अचम्म लाग्नु स्वभाविक थियो । नबुझिएको बाढीलाइ अनेक अनुमान गरिए होलान । ती पीरामिड बनेको उक्त प्राचिन बस्ती भन्दा धेरै टाढा परेको पानीका कारण त्यहाँ बाढी आउने जानकारी त्यहाँ हुन्थेन । त्यसैले देबी रोएर नदीमा बाढी आएको विश्वास गरेहोलान ।
मानिसले इश्वर, देवी–देउता प्रति विश्वास किन गर्छ भन्ने उत्तर पाउन पनि यो एक उदाहरण हुनसक्छ ।
ती हाम्रा गाइड तथा चालकले इ.सं १९७६ को बाढी हामीलाइ बताएको कारण अहिले बुझे जस्तो लाग्छ । उनले स्थानीय सहरमा परेको पानीका कारण हुने डुबानका रूपमा १९९४ र २००८ को बुझेकोले नबताएको जस्तो लाग्यो । नजिकमा पानी नपर्दा पनि नाइल नदीमा बाढी आउने प्रसङ्गका कारण १९७६को बाढी मात्र बताएको भन्ने बुझें । उनी पेशाले गाइड हुन । उनका ग्राहक हामी थियौ । हामी जस्ता पर्यटलार्इ चासो हुने मानेर उनले प्राचिन इजिप्ट सभ्यतामा मनाइने बाढी पर्बको प्रसङ्गसङ्ग जोडेर १९७६ को बाढी बारे बताएको हुनुपर्छ भन्ने महशुस गरेको छु ।
दोश्रो दिनको भ्रमणमा हामी टाढाका पिरामिड हेर्न गयौ । इजिप्टका गाउँ बस्ती देखियो । चालचलन हल्का रूपमा बुझियो । पर्यटक खुसी पार्न रेस्टुरेन्ट पस्दा गेटमा बाजा बजाएर स्वागत गर्ने चलन रहेछ । खाना खाँदाखादै विद्यूत(पावर) गयो । ट्वाइलेटमा पानी पनि आएन । सुरूमा ट्वाइलेटमा हात पुछ्न टिस्सु पेपर दिने सहयोगी पनि एक छिन पछि त्यहाँ थिएनन् । ट्वाइलेट भित्र विद्यूत गोल भएपछि पानी पनि नभएको र ट्वाइलेट पेपर नभएपछि आपत परेको तीतो अनुभव पनि सङ्गालें ।
स्थानीय आँप खाने रहर पुरा गर्न खोज्यौ । चलन चल्तीको दर भन्दा धेरै पैसा लिएर ठग्ने ठगको चपेटामा पर्नु अर्को तीतो अनुभव रह्यो ।
तेस्रो दिनको भ्रमणका क्रममा टुर गाइड तथा चालकले कार्पेट सिकाउने स्कूलमा छिराए । हामी पनि रमाइलो मान्दै पस्यौं । वास्तवमा यात्रा गर्दागर्दै पिसाप लागेपछि ट्वाइलेट यूज गर्ने बहानामा त्यहाँ छिराएका थिए ती गाइडले । बाटो तहको तलामा महँगा हस्तनिर्मित कार्पेट बेचिँदो रहेछ । तलको तलामा तानामा कार्पेट बुनिरहेका बालकहरू देखिए । स्कूल भनेर दर्ता गर्ने तर कार्पेट उद्योगमा बालश्रम गराउने चलन भन्ने बुझियो । स्कूलमा तालिम दिने नाममा बालकहरूलाइ काम गराइँदो रहेछ ।
यो बालश्रम देखेपछि बङ्गादेशमा बालश्रमका विषयमा सुनेका समाचारको सम्झना भयो । मानवअधिकारको ठेक्का लिएर बसेका पश्चिमा देशहरूले इजिप्टको प्रशासनको विरोध गर्न पर्यो भने यहाँको बालश्रमको विषय समाचारमा पढ्न देख्न पाइने छ भन्ने अनुमान गरें । इजिप्ट प्रशासनको विरोध गर्न नपर्दासम्म मानवअधिकारको दुहाइदिने देशहरू चुपचाप बसेकै छन् ।
© www.amaaba.org