Blog Details

Govind Belbase: Please open in a few minutes later due to a technical error
मानिसले विकास गरेको प्रविधिकै कारण म पनि नेपालदेखि उनको छिमेकी हुन पुगेको थिएँ। लेखक बेनाडिक्ट एन्डरसनले इमाजिन्ड कम्युनिटी नामको पुस्तकमा वर्णन गरेजस्तै बाँडिएका अलग अलग देशका मान्छे हामी छिमेकी बनेर एकै समुदायमा समाहित भएका थियौं।

बेलायतकी छिमेकी

10 Nov, 2024

बेलायतकी छिमेकी

-गोविन्द बेल्वासे

म छोरीको घरतिर जाँदै गर्दा बाटोमा उभिएरै इयानसँग गफ गर्दै परिचय भएको थियो।

उनैले ती मेरी छिमेकी महिला बिरामी भएर अस्पताल भर्ना गरेको भनेर त्यसै दिन बताएका थिए।

उनी मभन्दा होची रहिछन्। उनको हातमा त्यसदिनको ताजा पत्रिका थियो। उनको दुधजस्तै गोरो अनुहारमा बिहानको लाली मिसिएको सूर्यका किरणले चुम्मा खाइरहेका थिए। त्यो सुन्दर बिहानीको चुम्बनबाट उनी रमाएको देखिन्थ्यो। उनले ती चुम्बनलाई वास्तै नगरी मतिर हेर्दै रहिछन्। उनको ध्यान मतिर थियो। मसँग आँखा जुधाइन्। कुर्ता र सुरूवाल लगाएकी सिलिक्कको उनको शरीर सुन्दर थियो। अनुहार तेजिलो पनि थियो। चुच्चे नाक। त्यसै पनि हँसिलो मुखबाट मलाई सम्बोधन गर्ने मुस्कान फाल्दै कुरा गर्न थालिन्।

हो, उनैको स्वरले रहेछः अलि अघि एकाग्र भएर बिरूवासँग खेल्दै गरेको मेरो ध्यान भंग गरेको।

हामी नयाँ घरमा सरेको दुई दिन मात्र भएको थियो। त्यो आइतबारको दिन थियो। घमाइलो थियो। म कुटो, कोदालो र कैंची लिएर घर अगाडिका बिरूवासँग खेल्दै थिएँ। त्यो लालीमय घमाइलो बिहानीमा कानमा अंग्रजी भाषाको शुभप्रभात अर्थात् ‘गुड–मर्निङ’ भन्ने शब्द ठोक्कियो। भुइँतिर घोप्टिएर दुबोको छेउछाउ मिलाउँदै गरेको शरीरलाई अलि सिधा पारेर त्यो स्वर आएकोतर्फ हेरेँ।

कानमा हेडफोन लगाएर रेडियो सुन्दै थिएँ। त्यो हेडफोन कानबाट झिकेर घाँटीमा झुण्ड्याएँ। अनि उनीतिर फर्किएर उभिएँ। मेरो दायाँ हातमा घाँस काटकुट गरेर मिलाउने कैंची थियो। ध्यानमा मग्न ऋषिको ध्यान हटाउन आएका अप्सराले झैं मेरो ध्यान उनले भंग गरिसकेकी थिइन्। हाम्रो घरको दायाँ तर्फकी छिमेकी रहिछन् उनी।

छिमेकीसँग मित्रता राख्न अर्ति दिने बाइबलको सन्देशले गर्दा नै मलाई उनले बोलाएकी हुन् भन्ने भाव मेरो मनमा खेल्यो। बाइबलको त्यो भावप्रति मेरो मन अनुग्रहित भयो। उनले मीठो सुरिलो स्वरमा मेरी छिमेकी भएको जनाउँदै त्यो घरमा एक्लै बस्ने गरेको बताइन्।

उनका ब्वायज कट काटेका कपाल थोरै मात्र ढाक्ने गरी पछ्यौरी उनको घाँटीमा बेरिएको थियो। शिवजीको घाँटीमा बेरिने नागको वर्णन गरिएजस्तै उनको घाँटीमा बेरिएर त्यो पछ्यौरीको एउटा टुप्पो उनको बायाँ बक्षस्थलसम्म ओर्लिएर अडिएको रहेछ।

म उनीभन्दा फरक रंग छाला र कपाल भएको छुट्टै संस्कृति भएको मान्छे। संस्कार पनि छुट्टाछुट्टै तर पृथ्वीको भूभागको जोडिएको भूमि बाँडेर बनाएका घरमा उनी र म दुई छिमेकी बनेका थियौं।

उनी आयरल्याण्डमा जन्मिएकी र हुर्कीएकी रहिछन्। उनको नाच्न रमाउने तथा नाचगानमा लिप्त हुने बानी रहेछ। सर्वियाका बेलायती वायुसेवामा सेवा गर्ने ठिटोसँग विवाह गरेपछि उनी त्यो घरमा बस्न थालेकी रहिछन्। तर, केही वर्ष अघिदेखि उनका पति उनका साथमा थिएनन् भन्ने पनि उनले नै बताइन्।

उनलाई पनि बारीमा बिरूवाको स्याहारसुसार र फूल लटरम्म पार्ने रहर रहेको कुरा बताइन्। हुन पनि घर किन्ने विषय उठेर हेर्न आउँदा नै उनका बारीमा लटरम्मै फलेका राता स्याउ देखेको थिएँ। उनको घरअगाडि र पछाडि फूलहरू फक्रिएका थिए। ती बिरूवाका हाँगाविँगा पनि काटछाँट पारेर चिटिक्क पारिएका थिए। ब्युटी पार्लर गएर फर्किएकी चिटिक्कको आँखिभौं भएकी राम्री तरूनी जस्तै सजिएको रहेछ उनको बारी पनि।

हामी भर्खर सरेको घरमा भने केही महिनादेखि मान्छे नबसेर खाली थियो। त्यसैले पनि महिनौं नकोरेको जगल्टा सहितकी भुल्ली बुढी जस्ती रहेछ हाम्रो बारी। मलाई आफ्नो बारीलाई छिमेकीको जस्तो झिल्के चन्चल तरूनी जस्तो पार्न त नसक्ने जस्तो जाग्यो। बिरूवालाई धेरै वर्षसम्म मसारमुसुर पारेपछि मात्र त्यत्तिको चिटिक्क पर्छ फूलबारी। त्यत्तिको नसके पनि सालिन युवती जत्तिको सर्लक्कको बारी बनाउँछु भनेरै बिरूवासँग खेल्दै थिएँ।

उनको बारीले मलाई डाहा पनि जगाएको थियो। उनको बारी देखेरै सिगमण्ड फ्रायडले ब्याख्या गरेजस्तो इगो सायद मेरो मनमा जागिसकेको थियो। त्यो सुपर इगोले गर्दा म बिहानैबाट बिरूवाहरूसँग पाखुरा सुर्कंदै थिएँ। साँच्चै भन्ने हो भने म सानो छँदा पहाडको गाउँमा बोक्सी कहलिने महिलाको जस्तो भुल्ले, झुत्लुङ्गे, जगल्टे भएको कुरूप बनेको थियो। हाम्रो घरको अघि र पछिको बारी।

तर, उनको सुरिलो स्वरले शुभप्रभात भनेर ध्यान तानेदेखि आफ्नो बारी झुत्रो भएको हीनताबोध मेरो दिमागबाट हराइसकेको थियो। उनीतिर आकर्षित भएर छिमेकी मित्रताको मधुर सुबास उनलाई पनि दिन चाहन्थेँ। त्यसैले मैले पनि कनि कुथी उनको मात्रीभाषा अंग्रेजीमा संवाद गर्न थालेँ। उनले मेरो भाषा जान्ने कुरा भएन।

जे होस् फरासिली छिमेकी रहिछन् भनेर म मख्ख परिसकेको थिएँ। उनी भने कस्तो छिमेकी आउँदै छ भनेर पहिलैदेखि निकै चासो राखेर बसेको नि बुझेँ। त्यो त यताको चलन नै रहेछ।

मान्छे पृथ्वीको हरेक भागमा पुगिसकेका छन्। जापानदेखि अमेरिकासम्म, साइबेरियादेखि अष्ट्रेलियासम्म बस्ती फैलाएका छन्। ७० हजार वर्ष पहिलेदेखि मानिसले कथा बुन्ने तरिका सिक्न थाल्यो भन्छन् चर्चित दार्शनिक यूवल नवल हरारी। सोच्न थालेदेखि मान्छेहरूले जन्मनुपूर्वको कल्पना गर्न थालेँ। मरेपछि आफ्नो आत्मा के हुन्छ। रहन्छ कि रहन्न। कहीँ गएर बस्छ कि अस्तित्व नै सकिन्छ? भन्ने जस्ता कल्पना गर्न थाल्यो।

हरारीले त्यो प्रकृयालाई 'संज्ञानात्मक क्रान्ति' (Cognitive Revolution) भन्दछन्। विस्तारै मानिसको उन्नत भाषा क्षमता बन्यो। त्यसकै कारण सामूहिक रूपमा कल्पना गर्ने क्षमता विकास गरे। परिणामस्वरूप साझा मिथकहरू बनाउन सक्षम भयौं। देउता, राष्ट्र तथा धनसम्बन्धी कथाहरू रच्ने क्रम जारी राखे। यस्ता साझा विश्वासहरूले ठूलो समूहका मानिसहरूलाई लचिलो तरिकाले सहकार्य गर्न सक्षम बनायो। त्यसैकारण सापियन्स (मानव) लाई निएन्डरथल लगायत अन्य जनावरहरू एवं अन्य मानव प्रजातिबाट अलग गरायो।

मानिसले विकास गरेको प्रविधिकै कारण म पनि नेपालदेखि उनको छिमेकी हुन पुगेको थिएँ। लेखक बेनाडिक्ट एन्डरसनले इमाजिन्ड कम्युनिटी नामको पुस्तकमा वर्णन गरेजस्तै बाँडिएका अलग अलग देशका मान्छे हामी छिमेकी बनेर एकै समुदायमा समाहित भएका थियौं।

यस अर्थमा मनन गर्दा देश त छिमेकी सम्बन्धबाट पो बन्दो रहेछ भन्ने महसुस गर्छु। व्यक्तिका छिमेकी, परिवारका छिमेकी, देशका छिमेकी, महादेशका छिमेकीहरूका बीचको सम्बन्धबाट देशको अस्तित्व हुनेरहेछ।

तीन हप्ता अगाडिको कुरा हो। दिनको उज्यालो हराएर भर्खर कालो रात्री सुरू भएको थियो। म रिडिङ रूममा बसेर कम्प्युटरमै खत्राकखुत्रुक गर्दै थिएँ। छोरीले सिटिङ रूममा टिभी हेर्दै थिइन्। छोराले भान्सामा खाना पकाउँदै थिए। भान्साको गन्ध फाल्ने पङ्खा र भाँडामा पाक्दै गरेको खानाको च्यारच्यार चुरचुर आवाजभन्दा उसको मोबाइलमा बज्दै गरेको संगीत चर्को थियो। ऊ त्यही संगीतमा रमाउँदै डाडु, पन्यूँ हल्लाउँदै थियो।

त्यत्तिकैमा भान्साको झ्यालमा एक व्यक्तिले टकटक गरेको सुनिएछ। अनि छोराले भान्साको बाहिरतिर निस्कने ढोका खोलेछन्। ती भद्र सालीन व्यक्तिले मूल ढोकाको घण्टी नबजाएर भान्साको झ्यालमा पुग्नु पनि छिमेकीको आत्मीयता रहेछ। मैले पछि बुझेँ। भान्सा र बारीले घर–परिवारमात्र हैन छिमेकीसँगको आत्मीयतामा पनि दख्खल दिन्छ भन्ने पुष्टि भयो। मन जितेरै उनी त्यसरी भान्साको झ्यालमा पुगेका रहेछन्।

पकाउँदै गरेको चुलोको आगो निभाएर ती व्यक्तिलाई लिएर छोराले म बसेको कोठामा ल्याए। सिटिङ रूममा बजेको टिभीको आवाजले कुराकानीमा दख्खल नदिने गरी रिडिङ रूममा हामी तीन जना बसेर कुरा गर्न थाल्यौं।

अँध्यारो भर्खर हुँदै गर्दा पनि म बत्ती नबाली कम्प्युटरमा काम गर्दै थिएँ। उनीहरू कोठामा पसेपछि बल्ल बत्ती बालेँ।

ती व्यक्तिको अनुहारमा सहज भाव थियो। हँसिलै देखिन्थे। कुर्सीमा बसेर भिरेको झोला छेउमा राखेँ। उनीसँग परिचय भएको धेरै भएको थिएन। एकदिन उनी मैले माथि वर्णन गरेकी छिमेकीको घर अगाडि उभिएका थिए।

उनीमाथि वर्णन गरेकी ९० वर्षकी छिमेकीका जेठा छोरा इयान हुन्। इयान ७० वर्षका रहेछन्। पातलो शरीर र हँसिला। सहज सरल उपकारी स्वभावको उनको व्यक्तित्वले मलाई उत्साहित बनाउँदै थियो।

इयानले ती मेरी छिमेकी तथा उनकी आमा एन अब यो दुनियाँमा छैनन् भनेर जानकारी गराए। मेरी छिमेकीको शरीर आत्माविहीन भैसकेछ। एकछिन त आमाको मृत्युमा रोइकराइ पनि नगर्ने स्वभाव बुझ्न असहज पनि भयो। सहज हँसिलै स्वभावमा त्यो दु:खद् खबर उनले भन्न सकेकोमा गम्दै पनि थिएँ। मेरोभन्दा उनको संस्कृति र संस्कार फरक रहेछ भन्ने लाग्यो।

अलिबेर भूमिका बानेर उनले धार्जे पाराले त्यो दु:खद् खबर सुनाएका थिए। उनले वर्णन गर्दै एन बिरामी भएर अस्पतालको मृत्युशय्यामा हुँदाको सन्दर्भ सुनाए।

उनले सोधेछन्- 'आमा, तपाईंलाई जीवनमा सबैभन्दा रमाइलो कहिले लागेको थियो?'

उत्तर दिँदै आमाले भनिछन्- 'मेरा जीवनका हरेक दिन उत्सव बने र म हरेक दिन रमाएँ।'

उनीहरू क्रिश्चियन धर्ममा आस्था राख्ने परिवार। एनको माइती तथा जन्म र हुर्काइको समाज आयरल्याण्डको क्याथोलिक परिवार। नातागोता सबैजसो क्याथोलिक नै रहेछन्। क्रिश्चियनहरूमा पनि प्रोटेस्टेन्टहरू भन्दा क्याथोलिकहरू अलि धार्मिक नियमहरूमा कट्टर हुन्छन् भन्ने पहिलेबाट मलाई थाहा थियो।

उनीहरूको संस्कृति संस्कारमा मलामी जान निम्तो दिने चलन रहेछ। इयान मलाई मलामी जाने निम्तो दिन आएका रहेछन्। सत्गत कहिले हुन्छ भनेर मैले सोधेँ। उनले मावली तिरका क्याथोलिकहरू अलि कट्टर हुने भएकोले कुन दिन मिल्छ सबैसँग सल्लाह गरेर मिति तोक्ने बताए।

यो समाजको प्रचलन अनुसार शवलाई सत्गत (फ्युनरल सर्भिस) प्रदान गर्ने कम्पनीले व्यवस्था गरेको होला भन्ने बुझें। सुरक्षित राखेको होला। सत्गत गरिने दिनसम्म पर्खने विषय मैले मनन गरें।

उनी मलाई मलामी जान निम्तो स्वीकार गर्ने वा नगर्ने निधो गर्न आएका थिए। मैले उत्तरमा हाम्रो संस्कृतिमा मलाम जान त निम्ता चाहिँदैन खबर थाहा पाएपछि जानैपर्ने कर्तव्य हुन्छ भनेँ। कर्तव्य नै भएकोले सत्गत हुने दिन जानकारी गराउन अनुरोध गरेँ। उनले मेरो फोन नम्बर लिएर गए। खबर गर्ने आश्वासन दिएँ।

आखिर सत्गत गर्ने दिन आयो। अर्कै संस्कृतिको सत्गतबारे थोरै अनुमान थियो। जानकारी थिएन। प्रचलन के छ जान्ने इच्छा पनि थियो। कसरी जाने? के लाने? के लैजान नहुने? मलिन हुने कि सहज हुने? केही थाहा थिएन। यताको चलनमा मलामी जाँदा कालो पहिरन लाउँछन् भन्ने सुनेको थिएँ।

मसँग कालो कोट पाइन्ट त थियो। सर्ट कालो थिएन। छोरालाई भनेर एउटा कालो सर्ट पनि अनलाइन अर्डर गर्न लगाएको थिएँ। कालो पहिरनमा समयमा सत्गत गर्ने स्थानमा पुगेँ।

मेरी अर्की ९२ वर्षकी छिमेकी बुढी मान्छे पनि मलामीमा सामेल रहिछन्। मैले चिनेका उनी र इयान मात्र थिए। अरू उनीहरूकै परिवार सदस्य गरेर २५ जना मलामी रहेछन्। त्यस्तो कालो पहिरन गरेर मलामी जाने त हुँदो रहेनछ। विभिन्न रङको पहिरनमा थिए। कोही पनि रोएको देखिएन। मलामीहरू रूँदा मृतात्मालाई शान्ति नहुने हुनाले सकेसम्म हँसिलो रहन पर्ने भाव बुझेजस्तो लाग्यो। एक परिवार सदस्य अमेरिकाको सन्फ्रान्सिस्कोबाट आएकी रहिछन्। उनले रोक्न खोजेका आँसु रोक्न नसेकर बग्न थालेका थिए। परिवार सदस्यले उनलाई हाँसीहाँसी बिदा गर्ने साहस दिन बल गर्दै गरेको देखें।

सत्गत तथा अन्तिम विदाइ गर्ने कोठामा निलो धर्के कोट लगाएका धार्मिक गुरूले बाइबलका केही कुरा सुनाए। त्यसपछि एनका कान्छा छोराले आफ्नी आमाका जीवनका उतारचढावहरू र पाँच वर्ष अघि बितेका पिताका बारेमा बताए। बेलायतदेखि पूर्वसर्वियाका पितासँग पश्चिम आयरल्याण्डबाट इङ्ल्याण्ड पुगेकी आमाको २५ वर्षको उमेरमा विवाह भएदेखि त्यही घरमा बसेको प्रसंग पनि जोडेँ।

उनकी आमा किशोरी हुँदा अर्थात् ७५ वर्ष जति अघिको आयरल्याण्डको प्रसङ्ग सुनाए। उनकी आमा जीवनभरि नाच्न रमाउने प्रसङ्ग जनाए। त्यो जमानामा बाउआमासँग आयरल्याण्डमा बस्दा एन नाच्न साथीहरूसँग टाढा जाने गरेको विगत बताए। घरबाट दुई ढाइ घण्टा हिँडेरै नाच्न रमाउन जाने गरेको विषय मेरो बचपनकै जस्तो लाग्यो। त्यत्ति टाढा हिँडेर गएर रमाएपछि त्यत्ति नै हिँडेर घर फर्किन्थे उनीहरू।

मैले पनि बडहरा गाउँमा रामलिला मेला लागेको बेला मेरा दोस्त जोधवासँग हिँड्दै गएको सम्झिएँ। केटीहरू पनि हुने भिडभाडमा रातीमा त्यसरी हिँड्दै गएका चञ्चल दिनको याद आयो।

मेरो किशोर अवस्थाको चञ्चलता भन्दा उनको किशोर अवस्थामा एन अझै बढी रमाइली रहिछन्।

आखिर जीवन भन्नु पनि यो दुनियाँमा रमायो, कहिले रोयो, एक दिन बिदा भयो। सन्ततिले अर्को चरणमा रमाउन पाउन भन्ने आशा गर्यो, सकियो।

Recent Blogs