नालन्दा वरिपरि, जनवरी १९, २०२५
नालन्दाबाट नजिकको बजार हो राजगीर । करिव १५ किलोमिटर परको त्यो बजारलाइ भारत सरकारले पर्यटकीय आकर्षण क्षेत्र बनाउँदै रहेछ । नालन्दा र बुद्धसम्बद्ध बोधगया, सारनाथ घुम्न त्यता पुग्ने विदेशीलाइ र आन्तरिक पर्यटनलाइ जोड्ने थप संरचना जोडिएको रहेछ । विहानको तुसारो मिसिएको चिसो वातावरणमा राजगीर प्रवेश गर्दा नै परम्परागत टाँगा (एक्का) देखिए । बचपनमा देखेको बजारको भाडामा चल्ने एउटा घोंडाले धेरै सवारी बोक्ने त्यस्तो साधन अन्यत्र प्रचलनबाटै हराइसकेको छ । तर, त्यहाँ भने पहिले जस्तै नै ब्यापार गर्दै रहेछन् । ग्राहकहरूलाइ बोलाउने घोंडा सजाउने उस्तै पुरानो प्रथा देख्दा मन प्रफुल्ल भयो ।
थोरै पर धेरै अग्ला नभएर होचै डाडाकाडा भएपनि पहाडी क्षेत्र रहेछ । अग्ला परखालले छेकिएको गेट भित्र, चिडियाखाना, ग्लास ब्रीज जस्ता थुप्रै मनोरञ्जनका उपाय रहेछन् । हाम्रो समयको स्थितिलार्इ ध्यानमा राखेर अरू मनोरञ्जन गर्न नभ्याए पनि ग्लास ब्रीजको अनुभव बटुल्ने सल्लाह गरेका थियौं । तर, त्यहाँ पुग्दा त टिकट काट्ने निकै लामो लाइन देखियो । हामीले अनलाइनबाटै टिकट काटेका थिएनौ । अरू कार्यक्रमको समय काटेर त्यहाँकालागि समय निकाल्ने इच्छा पनि थिएन । त्यसैले हामी वाहिरि वातावरण हेरेर फर्कियौं । तातो पानीका कुण्ड र केही धार्मिक मिथ मिसिएका ठाउँ पनि रहेछन् त्यसै वरिपरि ।
हामी अघिल्लो दिन घुमेको नागलन्दा महाविहार यूनिभर्सिटी सन् १९५१ देखि सञ्चालनमा छ । त्यसै गरी सन् २००४ मा सुरू भएको नालन्दा यूनिभर्सिटी पनि पुग्नु थियो । राजगीर बजार फर्किएपछि त्यहाँबाट करिब २ किलोमिटर पर रहेको त्यो यूनिभर्सिटीको गेटमा पुग्यौं । वारिपारि खेतवारी र साना गाउँहरू छिचोल्दै गयौं । हरिया गहुँ सिचाइ गरिएका थिए । किसानले केही खेतमा पानी लाउँदै थिए । गहुँ छरेका खेत भन्दा अलि थोरै पहेँलै फूलेका बारीहरू पनि देखिन्थे ।
यूनिभर्सिटीको गेटमा पुग्दा सुरक्षाकर्मीले विदाको दिन भएकोले भित्र जान नदिने जानकारी गराए । अघिल्लो दिन जस्तो क्यान्टिन पुग्नपाए त प्राज्ञहरूको सम्पर्क पाउने सुत्र भेटिएला भन्ने मेसो मिलाउने प्रयास पनि असफल भयो । यूनिभर्सिटीको परिसर निकै फैलिएको रहेछ । वाहिरि परखाल र गेटको अवस्था हेर्दा मदनमोहन मालवियले बनारस हिन्दू विश्वविद्यालय खोल्दाका सुरूका दिनको सम्झना भयो । नालन्दा यूनिभर्सिटीले विसाल क्षेत्र ओघटेको रहेछ । तर, पनि वीएचयूको लागि मालवियले दिनभरि हिड्ने सकेको जति क्षेत्र त अलि छैन कि भन्ने अनुमान गरें । तर, एउटा कुनामा पुगेर पुरै क्षेत्रको अनुमान गर्नु मेरो पुर्ण ज्ञान भने होइन । बरू इन्टरनेट खोतल्यो भने दुर्इ यूनिभर्सिटीको क्षेत्रफल तुलना गर्न सकिहालिन्छ ।
यूनिभर्सिटीले ओघटेको क्षेत्र ठूलो हुनु, उद्घाटन गर्दा राष्ट्रिय स्तरको तामझाम गर्नु , स्थानको रोजाइ र नाम इत्यादि सम्बन्धित तथ्य हुन । विश्वस्तरको प्राज्ञिक केन्द्रहरूसङ्ग प्रतिस्पर्धा गर्ने गरी दीर्घकालीन योजना बनाएर सुरूगरिएको अनुमान गरें । प्राचिन नालन्दा अध्ययन केन्द्र छैठौ सताब्दिदेखि तेह्रौ सताब्दिसम्म उत्कर्षमा थियो । त्यो यूगमा भारतको समृद्धिले विश्वमै बर्चस्व कायम गरेको अवस्थालार्इ विविध तथ्यले प्रमाणित गरेका छन् । 'द गोल्डन रोड' नामको विलियम डालरिम्पलको किताबले पनि पुष्टि गरेको पाइन्छ । अहिलेलार्इ त्यहाँ खासै प्राज्ञिक चहलपहल बखान गर्नमिल्ने गरी रहेको जस्तो लागेन । हुन त मालवीयले विश्वविद्यालय सुरूगर्दा नपत्याएका प्रसङ्गहरू छन नै । त्यहाँका कुनै प्रज्ञिक सम्बद्ध गुरू वा चेलाहरू भेटिन्छन् कि भन्ने प्रयास गर्न अलिबेर हामी त्यो विशाल गेट क्षेत्रमा अल्मलियौं । तर, कुनै मेसो मिल्ने अवस्था नदेखेपछि हामी बराबरी पहाड हुँदै अघि बढ्ने योजना बनायौं ।
नालन्दा महाविहार विश्वविद्यालयबाटै सेवानिबृत्त प्रो. डा. उमाशंकर ब्याससंग कुरा हुँदा उहाँले नै बराबर पहाडमा सम्राट अशोकको शिलालेख रहेको बताएका थिए । ती पाहाडको क्षेत्र पनि बोधगया जाने बाटो तिरै पर्दो रहेछ । नालन्दापछि हाम्रो यात्राको अर्को गन्तब्य पनि बोधगया नै थियो । त्यसैले बोधगयातिर प्रस्थान गर्ने निधो गर्यौ । बोधगया जाने बाटो बाट २५ किलोमिटर जति भित्र पसेपछि बराबर पहाडी भेटियो ।
त्यो पहाडको टुप्पमा भएको मन्दीर त्यसक्षेत्रमा प्रख्यात रहेछ । केही वर्ष अघि ठूलो जमघट हुँदा भागदौड भएर हताहति पनि भएका रहेछन् । उक्त मन्दिर जाने बाटोको आधाभाग जति उकालो चढेपछि तीनवटा गुफा रहेछन् । हामी चढेको गाडी रोकिएको ठाउँ नगिचै नागार्जुन संग्रहालयल लेखेको बोर्ड राखिएको एउटा भवन देखियो । तर, पुरातात्विक महत्वको कुनै अर्थ भने रहेन छ ।
सिढी बनाइएको बाटो चढ्दै हामी गुफामा पुग्दा त्रीकोडमा बनेको चक्का गुडाएर खोल्न मिल्ने गेटमा ताला लगाइएको थियो । हामी पुग्दासाथ एकजना आएर "तपाइहरू यता आउन लागेको देखेर गेट खोल्न आएको" भन्दै आफू त्यहाँको कर्मचारी भएको परिचय दिनुभयो ।
त्रीकोणीय त्यस्तो ढोका अन्त कतै देखेकै थिइन । उनले ताला खोलेर गेटलार्इ आफूतिर बाहिर ताने । फलामे रडको त्यो गेटको दाँया र वायाँबाट मित्र छिर्न मिल्ने गरी बाटो खुल्यो । गुफाको बाहिरि भाग र घोटेर चिल्लो पारिएको चम्किलो गुफा छिर्न मिल्ने ढोकाको दयाँ बायाँ हामीले नबुझिने अक्षरहरू खोपिएका थिए । सायद पाली, ब्रम्ही वा प्राकृत भाषामा लेखिएको हुनुपर्छ । प्रो. ब्यासले अशोकले नै ती अक्षर लेखाएको जनाएका थिए । त्यही भावना मनमा लिएर त्यो गुफा भित्र छिर्यौ । ती कर्मचारीले बाँदर र पसुपन्छीले फोहर गराउने हुनाले गेट बन्दगर्ने गरेको र जो कोहिलार्इ यो गेट खोलिंदैन भन्ने ब्याख्या गर्दै थिए । हामीसङ्गै त्यहाँ पुगेका अरू स्थानीय यात्रुले पहिला डाकुहरू पनि त्यहाँ लुक्ने गरेको प्रसङ्ग पनि सुनाउँदै थिए ।
अजन्ता, एलोरा लगायत अन्यत्र गुफाहरूमा देखेको मानव निर्मित संरचना भन्दा फरक थियो । भित्रिभागमा चिल्लो पारिएका भित्ता थिए । महँगा कर्पोरेट भवनहरूमा देखिने चिल्ला मार्बल देखे जस्तै चिल्लो थियो त्यो गुफाका भित्ता । नभन्दै ढोका भित्र छिरिरहेको प्रकाशतिरबाट गुफा भित्र उभिएको मान्छेको फोटो खिच्दा अर्को तिरको भित्तामा प्रष्ट प्रतिबिम्ब (छाँया) देखिने रहेछ ।
ठूलो ह्वेलको आकारको ढुङ्गामा एकापट्टि एउटा र अर्को पट्टि दुइवटा गुफा रहेछन् । त्यो ढुङ्गामा प्राकृतिक खोक्रो भाग कति थियो र मानव निर्मित खोक्रो भाग कति हो भन्ने अनुमान गर्न सकिन । गुफा भित्र पनि अर्को ढोका भित्र भित्री कोठाको भाग पनि रहेछ ।
गुफा भएको बडेमानको त्यो ढुङ्गाकै छेउँमा एउटा कङ्क्रिटकै मञ्च रहेछ । लालुयादवले सम्बोधन गर्ने उद्देश्यले बनाउन लागेको भनेर स्थानीयले बताए । तर, संरक्षीत पर्यटकीय स्थललार्इ राजनीतिक उद्देश्यका कार्यक्रम गर्नमा अदालतले रोक लगाएपछि मञ्चका रूपमा त्यो प्रयोग भने हुन सकेको रहेन छ ।
बराबरी पहाडको अर्को गुफा पहाडको अर्को भागमा रहेछ । हामी मोटर चढेर पहाडको अर्को भागमा पुगेर उकालो चढेर त्यहाँ पुग्दा स्थानीय केटाकेटी हाम्रो पछि लागे । ती बराबरी पहाडका गुफामा पुग्ने पर्यटक धेरै कम हुँदारहेछन् । ती केटाकटीहरूले एक्लो त्यो गुफाको अलि माथि बुद्धको पाइतलाको डाम भएको पनि बताउँदै थिए । तर, बाटो पनि अप्ठेरो भएको र धार्मिक महत्वको इच्छाले आकर्षण गर्ने बुद्धि नभएकोले पनि हामीले त्यसलाइ खासै चासो दिएनौ । यो एक्लो गुफामा पनि लिपीहरू कोरिएका भेटिए । ढोकामा पारिका गुफाका ढोकामा भन्दा अलि धेरै कलात्मकता झल्किंदोरहेछ ।
ती केटाकेटीले पैसा माग्दा हामीले दिएनौ । हामी हिड्नै लाग्दा कापी र कलमको लागि पैसा मागेपछि भने मन पग्लियो र केही रकम दियौं ।
© www.amaaba.org