Blog Details

cateringpal
मन्दिरमा होचो ढोकाभित्र पसेपछि केही खुड्किला तल झर्दा त्यो मुर्ती देखेको थिएं । त्यसैको छेउँमा हल्का गुलाफी रङ्गको खस्रो मयादेवीको मुर्ती थियो । मार्बलमा कुदिएको मुर्तीमा बुद्ध सात पाइला हिंडेको विम्ब कुदिएको थियो । जन्मना साथ बच्चा सात पाइला हिंडेको विषय

लुम्बिनीमा नै त्यो मुर्ती भेटियो

20 Mar, 2025

लुम्बिनीमा नै त्यो मुर्ती भेटियो

यस पटक एक महिनामा ३ पटक लुम्बिनी परिसर पुगें । ५० वर्ष अघि देखेको तर त्यसपछि नभेटेको मुर्ती नभेटेर मन छट्पटाइरहेको थियो ।

बि.सं. २०३१ सालमा तौलिहवाको बन कार्यालयबाट एक जना रेन्जरको सरूवा भएछ । कपिल्वसतुको सदरमुकाम तौलिहवा त्यो समयमा निकै चहलपहल हुने बजार थियो । पूर्वपश्चिम राजमार्ग बनेकै थिएन ।

उनीहरूलाइ भैरहवा एयरपोर्टमा छाड्न जाँदा म पहिलो पटक लुम्बिनीको मयादेवी मन्दिर पुगेको थिएं । त्यो कच्ची सडक । गोरू गाडाका हाल (फलाम)ले डोब पारेको कच्ची बाटो थियो । खोलामा पुल थिएनन् । ट्रेक्टरमा त्यहीबाटोमा धुलो उडाउँदै हामी उनका सामान माथि ट्रेलरमा बसेर गएका थियौं ।

त्यसैबेला देखेको थिएं त्यो मुर्ती । बुद्धको बारेमा पाठ्यक्रममा पनि धेरै पढेका थियौं । धेरैका मुखबाट धेरै प्रसङ्ग पनि सुनेका थियौं । तर, बुद्ध जन्मनासाथ सात पाइला हिंडेका थिए भन्ने त्यसदिनसम्म सुनेको-पढेको थिइन । तर, मायादेवी मन्दिरमा बुद्ध जन्मनासाथ सात पाइला हिंडेको देखिने मुर्ती राखिएको रहेछ ।

पिपलका रूखका जराले त्यो मन्दिर जिर्ण पारेको थियो । नाग बेरिएझै जरा बेरिएका थिए । इटा खक्रक्क देखिन्थे । त्यो पिपलका रूखमुनिको मन्दिरमा होचो ढोकाभित्र पसेपछि केही खुड्किला तल झर्दा त्यो मुर्ती देखेको थिएं । त्यसैको छेउँमा हल्का गुलाफी रङ्गको खस्रो मयादेवीको मुर्ती थियो । मार्बलमा कुदिएको मुर्तीमा बुद्ध सात पाइला हिंडेको विम्ब कुदिएको थियो । जन्मना साथ बच्चा सात पाइला हिंडेको विषय मलार्इ पत्याउँ कि नपत्याउँ जस्तो लागेको थियो । सामान्य मानव जन्मेको भन्दा फरक भएरै बुद्ध भगवान भएका होलान भन्ने पनि लाग्यो । विज्ञान गुरूले पढाएको डार्विनको विकासबादसङ्ग विरोधाभास भएकोले मेरो दिमागमा ट्याप्पै टासिएको थियो ।

त्यो मुर्तीमा त्यो सात पाइलाको प्रसङ्ग भन्दा अरू के के थियो भन्ने पनि विर्सिएं । त्यो विषय भने दिमाग भित्रको न्यूरोनको जालोमा गुथ्थी परेर बसेको हुनाले विर्सिएको छैन ।

त्यसपछि लुम्बिनी पटकपटक जाँदा त्यो मुर्ती देखिन । यसैबीचमा मायादेवी मन्दिर जिर्णोद्दार भयो । जिर्णोद्दार गर्दा कतै राखेका होलान भन्दै मन बुझाएको थिए । तर, कतै त्यो मुर्ती नै चोरी भएको पो हो कि ! हराएको हो कि ! भन्ने लागेर पटक पटक मन चीसो हुने गर्थ्यो । जिर्णोद्दार हुँदा त्यहाँका सामान भनेर राखिएको अस्थाइ म्यूजियममा अरू सामान देखे पनि त्यो मुर्ती देखेकै थिइन । ५० वर्षसम्म पनि मुर्तीको खुलदुली भैरह्यो ।

धेरै वर्ष वित्दा कतै मेरो दिमागमा भएको मुर्तीको संझना कतै भ्रममात्र त हैन भन्ने पनि सोच्थें । उमेर बढ्दै गएपछि सानोमा देखेको भूत दिमागको भ्रम मात्र थियो भन्ने बुझें । तरपनि त्यो मुर्ती भ्रम मात्र थिएन भन्ने लाग्थ्यो ।

ती रेञ्जरका छोरा र भान्जा हाम्रा अति मिल्ने साथी थिए । स्कूल जानु अघि र फर्किएपछि दिनदिनै खेल्ने साथी थिए ती दुबै साथी । पढ्न भने उनीहरू बुद्धपद्म स्कूलमा पढ्थे । मैले रत्नराज्य स्कूलमा पढ्थें । त्यसैले दिनभरि विछोड हुने गर्थ्यो । उनीहरूका बुवा तथा मामाको सरूवा भएपछि उनीहरू हामीसङ्ग छुट्टिने भए । हाम्रो विछोड हुने भयो । जिन्दगीमा पहिलो पटक त्यो विछोडले बढि नै मन दुखेको थियो ।

त्यसपछि भने जीवनमा कति साथी बने फेरि विछोड भयो तर त्यत्ति पीडा बोध भएन । त्यसपछि उनीहरूसङ्ग भेट भएकै छैन । त्यो भन्दा बढि नै पीड चाही जीवनसाथीसङ्ग विछोड हुँदा भने भयो ।

मनमा त्यो मुर्तीको विषय पटकपटक बल्झिन्थ्यो । अजन्ताका गुफाको विषय सुनेपछि म त्यहाँ पुगें । त्यहाँ वुद्ध शिक्षाकै प्रसङ्गका चित्र छन् । दुइ वर्ष अघिको कुरा हो । फर्किएपछि ती गुफा र त्यहाँका चित्रकलाको विषयमा इन्जिनियर घनस्याम पौडेलसङ्ग छलफल भयो । इश्वि सम्बत सुरू हुनु भन्दा पनि दुइ सताब्दी पहिलाका ती गुफाका चित्र र कलाकारिताको छलफल भयो । त्यहाँ २२ सय वर्ष पुराना चित्र भेटें ।

लुम्बिनीका कतिपय स्तुपहरू पनि त्यहि कालखण्का हुन भन्ने प्रसङ्ग उठ्यो । मैले अजन्ताका गुफामा भएको बुद्ध जातक कथा र लुम्बिनीका प्रसङ्ग बीचमा तालमेल हुन सक्ने समय खण्डको चाँजोको प्रसङ्ग उठाएँ । त्यसै बीच ०३१ सालमा देखेको मुर्ती त्यसपछि नभेटेको प्रसङ्ग र मेरो चाँसो उहाँलाइ बताएं । हुन त बुद्ध जन्मेको बेलाको मार्कर स्टोन पछि उत्खननबाट त्यहाँ भेटिएको छ । लुम्बिनीको सबैभन्दा महत्वपूर्ण बस्तु नै त्यही मार्कर स्टोन हो । त्यो ढुङ्गो जहाँ छ बुद्ध त्यहिं जन्मिएका हुन ।

सञ्जोग कस्तो परेछ भने लुम्बिनीको मायादेवी मन्दिरको जिर्णोद्दार गर्दा उहाँले त्यहाँ काम गर्नु भएको रहेछ । उहाँको कम्पनीले कसरि त्यो ठेक्का पायो भन्ने रोचक प्रसङ्ग पनि सुनाउनु भयो । उक्त जिर्णोद्दारका क्रममा पुरातत्वविद बसन्त विंडारीको भूमिका बताउँदै उक्त मुर्तीको बारेमा उहाँबाट थाहा हुने सुत्र जोडियो । तर, धेरै वर्षदेखि उहाँहरू दुइजना बीचमा सम्पर्क भएको भने रहेनछ ।

यसै वर्ष फेब्रुअरी महिनामा बुटवलका थेरवादी भात्नेसङ्ग सम्पर्क भयो । उहाँबाट बसन्त विडारीको फोन नम्बर पाएं । अन्ततः लुम्बीनीमै भेट गर्ने अनुमति दिनुभयो । उहाँको ब्यस्त समयबाट सनिवारको दिन दिउस भेट हुँदा उक्त मुर्ती म्यूजियममा रहेको बताउनु भयो । त्यो मुर्ती हराएको रहेनछ भनेर आनन्द माने । मार्कर स्टोनलाइ जहाँको त्यहि नचलाइ राखिएको उहाँले बताउनु भयो । मायादेवी माइत जान लाग्दा बुद्ध बाटोमै जन्मिएको भनाइ प्रति उहाँले शङ्का जनाउनु भयो । उहाँको भनाइप्रति म सहमत पनि भएं ।

उहाँको विचारमा लुम्बिनीमा तत्कालीन कुनै धार्मिक आस्था जोडिएको हुनाले मायादेवी त्यहाँ पुगेको हुन पर्छ । त्यसै अवस्थामा बुद्ध जन्मिएको हुन भन्ने पुष्टि गर्ने सुद्धोधनको राजधानी तिलौराकोट (कपिल्बस्तु) र मायादेवीको माइतीको दुरीले अर्थ राख्छ । दुरी धेरै नभएकोले बीचमा बास बसेको भनाइ अमिल्दो देखिन्छ । एकै दिनमा यात्रा हुन सक्ने दुरी छ ।

गाउँलेले राजालाइ तपाइको छोरा जन्मिएको यो ठाउँ हो भनेर चिनाउन त्यो मार्कर स्टोन राखेका हुन । किनकि त्यस समयमा बुद्ध त चर्चित ब्यक्तित्व थिएनन् । राजा सुद्धोधन नै प्रजाका लागि अदर्श ब्यक्तित्व थिए । त्यो ढुङ्गो पनि त्यहिँ वरिपरि पाइने खालकै ढुङ्गो छ । टाढाबाट ल्याएको होइन ।

पछि बुद्धका धेरै चेला बने । ती चेलाहरूले बुद्ध जन्मिएको ठाउँ खोज्दै लुम्बिनी पुगेर मन्दिर बनाए । केहि वर्षमा त्यो मन्दिर थोत्रो भएपछि मरम्मत गर्ने गर्दै त्यो ढुङ्गामाथि सात पटक संरचना थपिएको रहेछ भनेर विडारीले बताउनु भयो । तर, मैले खोजेको मुर्ती अझै भेटिएको थिएन । सम्राट अशोक पनि बुद्ध जन्मिएको ठाउँ खोज्दै त्यहाँ पुगे । त्यहाँ स्तम्भ खडा गरे । गाउँलेले कर तिर्न नपर्ने सहुलियत दिएको स्तम्भमा लेखिएको छ।

विडारीसङ्ग भेट भएको दिन सनिवार भएकोले म्यूजियम बन्दहोला भन्ने लाग्यो । म्यूजियम सैवसाधारणको लागि तीन महिना जति अघिबाट मात्र खुलेको रहेछ । पोहोर साल लुम्बिनी पुग्दा पनि म्यूजियममा त्यो मुर्ती खोज्न जाने इच्छा थियो । तर, मायादेवी मन्दिर जिर्णोद्दार हुन थालेदेखि नै अहिले बल्ल त्यो म्यूजिम खुलेको रहेछ ।

अर्को दिन विहानै पुग्दा लुम्बिनी प्रदेश स्थापना दिवस परेकोले छुट्टि रहेछ । म्यूजियम भित्र पस्न नपाएपछि वाहिरबाटै भवन मात्र हेरेर फर्किएं । फेरि समय मिलाएर एक महिना भित्रै तेस्रो पटक म्यूजियममा त्यो मुर्ती खोज्न पुगें । म्यूजियम भित्र पस्न पैसा पनि लाग्ने रहेन छ । मौर्य कालमा मुद्रा समेत लुम्बिनीमा भेटिएको भनेर राखिएको रहेछ । तर, मनमा खुल्दुली भैरहेको मुर्ती भेटिएन । म्यूजियममा तल माथि सवै तिर खोज्दा पनि त्यो मुर्ती भेटिन ।

कर्मचारीलाइ सोधें । उनले त्यो मुर्तीको विषयमा केही पनि बताउन सकेनन् । उप्रेती थरका म्यूजियमका हाकिम रहेछन् । विडारी लुम्बिनी विकास कोषबाट सेवानिब्रित्त भएर लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्यापन गराउन थाल्नु भयो । त्यसपछि उप्रती त्यहाँका आधिकारिक पुरातत्वविद् नियूक्त हुनुभएको रहेछ ।

मिलनसार उप्रेतीसङ् भेटेर एकछिन विविध कुराकानी भए । चिया पनि खुवाउनु भयो । त्यसपछि मैले मेरो मनमा रहेको उक्त मुर्तीको खुल्दुलीको विषय उठाएं । उहाँले पनि उक्त मुर्ती म्यूजियममा नरहेको जानकारी गराउनु भयो । तर, उहाँले उक्त मुर्ती कहाँ छ भन्ने जानकारी भने दिनु भयो ।

भएछ के भने म जहिले लुम्बिनी गएं मैले मायादेवीको मन्दिर र पुराना भग्नावशेषहरू तथा अशोक स्तम्भलाइ मात्र महत्वपूर्ण माने । त्यसैलाइ मात्र नियालें । पछि बनेका आधुनिक विहारहरूलाइ मैले महत्वपूण मानिन ।

पहिलो पटक लुम्बिनी पुग्दा मायादेवी मन्दिर भन्दा करिब आधा किलोमिटर पर बाटोको दुइ तर्फ खरको छानो भएका छाप्राहरूमा केही चिया पसलहरू मात्र थिए । अरू संरचना मयादेवी मन्दिर वरिपरि थिएनन् । अहिले ती छाप्रा पसलहरू त्यहाँ छैनन् । उतिखेरका मायादेवी मन्दिरलाइ घेरेका सालका रूख पनि अर्कै भएछन् । आधुनिक संरचना र पोखरीहरूले नक्कली रमझम थप्न प्रयास गरेको देख्छु ।

मार्कर स्टोन माथिको मायादेवी मन्दिरको त्यो पुरानो अवशेष हटाइएको छ । त्यसैको तल रहेछ त्यो मार्कर स्टोन । त्यो मार्कर स्टोन भने अहिले देख्न सकिन्छ । पुरानो देखिने तर सेतो रङ्गले रङ्गाइएको मायादेवी मन्दिरभित्र बीच भागमा उक्त मार्कर स्टोन छ । भित्र फोटो खिच्न पाइँदोरहेनछ । काठका फलेकमा त्यो मार्कर स्टोन वरिपरि परिक्रमा गर्न मिल्ने गरी मन्दिर भित्र नै अग्लो पारिएको छ । मार्कर स्टोन तल देखिन्छ । धेरैले मार्कर स्टोनको दयापट्टि सिल्क कपडाले ढाकेको संरचनामा पैसा चढाउँदा रहेछन् । सायद धार्मिक आस्थावानहरूले पैसा चढाउँदा गरेका पाप काटिने र धर्म कमाइने सोचेर नै पैसा चढाउँछन् होला ।

बुद्धले भने धार्मिक आस्था पैसाले किन्न पाइने बस्तु होइन भनेर सिकाउन खोजेका थिए । रोमन क्याथोलिक पादरीहरूले पाप कटाइदिन असुल गर्ने धनको विरोधमा मार्टिन लुथरले ९५ थेसिस लेखेर जागरण फैलाए । त्यस्तै गरी बुद्धले पनि आस्थालाइ ठगी धन्दा बनाउने प्रचलनको विरूद्ध जागरण फैलाउन खोजेका थिए । तर, भिक्षु र बौद्धसंघको सञ्चालनका लागि चाहिने दान भने स्वीकार्य नै मान्नु पर्छ भन्ने ठान्छु ।

मायादेवीको मन्दिरको पुर्वपट्टि करिब २०४१ साल तिर बनेको आधुनिक विहार छ । लुम्बिनी परिसरमा बनेका आधुनिक विहारहरू मध्ये त्यो सवै भन्दा पुरानो हो । त्यहि विहार भित्र मैले खोजिरहेको मुर्ती रहेछ । पुरातत्वविद् उप्रेतीले त्यहा छ भनेपछि बल्ल म त्यो विहार भित्र पसें । उक्त विहारको दायाँ पट्टि भित्तामा उक्त मुर्ति टाँसिएको रहेछ । विहारको ढोका निर भित्र फोटो खिच्न नपाइने लेखेको रहेछ । तर मैले त्यो सूचना देखिन । यतिका वर्षदेखि मनमा छट्पटि बोकेर खोज्दै गरेको मुर्ती भेट्नासाथ फोटो खिँचे ।

बौद्ध आस्थावान भनेर चिनिने पहेंलो नसिलाएको कपडा र कपाल मुडुलो पारेका बच्चाले 'फोटो खिच्न पाइन्न' भनेर आपत्ति जनाइ हाले । म पहिलो पटक लुम्बिनी पुग्दा त्यत्रै थिए । करिव ११ वर्ष जति । कहाँ लेखेको छ भनेर मैले सोध्दा बाहिर लगेर मलाइ त्यो सूचना देखाए । तर, मैले फोटो खिचिसकेको छु भनेर उनलाइ भनिन् । त्यो विहारभित्र मैले खोजेको मुर्ती भेटिसकेको थिए ।

सिद्धार्थ गौतम (बुद्ध) को जन्म पछि तुरुन्तै सात कदम हिड्ने कथा एक प्रचलित बौद्ध किंवदन्ती हो, तर यो ऐतिहासिक तथ्यभन्दा एक प्रतीकात्मक वा चमत्कारीक वर्णन हो। यो घटना पारंपरिक बौद्ध जन्म कथा को एक अंश हो र यसलाई विभिन्न बौद्ध कला र साहित्यमा चित्रित गरिएको छ।

सात कदम हिड्ने किंवदन्ती:

बौद्ध परंपरा अनुसार, सिद्धार्थ गौतम (पछिका बुद्ध)रानी मायादेवी को गर्भबाट लुम्बिनी बगैचा (आजको लुम्बिनी, नेपाल) मा लगभग छैठौं शताब्दी ईसा पूर्व जन्मेका थिए। किंवदन्ती अनुसार जन्मनासाथ सिद्धार्थले:

1-सात कदम हिडे, प्रत्येक कदमसँग कमलको फूल उनको खुट्टामा मुनि निस्कँदै गए।

2-उनले त्यसपछि एक हात आकाशतिर र अर्को हात पृथ्वी तर्फ संकेत गरे र भने, "मैले सबै प्राणीहरूलाई दुःखबाट मुक्त पार्न आएको छु। यो मेरो अन्तिम जन्म हो।"

3-सात कदम बौद्ध दर्शनका विभिन्न अवधारणाहरूको प्रतीक हो:

सिद्धार्थको विशेष स्वभाव: चमत्कारीक घटना यसको असाधारण स्वभाव र भविष्यमा बुद्धत्व प्राप्त गर्ने उनीको भाग्यलाई झल्काउँछ।

कमलको फूल: कमलको फूल बौद्ध धर्ममा पवित्रता र आध्यात्मिक जागरणको प्रतीक हो। सिद्धार्थका खुट्टामुनि कमलको फूलको फुल्ने समय पवित्रता र आध्यात्मिक ज्ञान जागँरणको संकेत हो।

सात कदम: सात कदमले बुद्धत्वका सात गुणहरू वा बुद्धका सात रत्नहरू को प्रतीकात्मक हुन भनिन्छ । बुद्धका स्वभाव र उपदेशहरूको गुणहरूलाई व्याख्या गर्छ।

ऐतिहासिक रूपमा यो तथ्य कसरी स्थापित भयो:

सिद्धार्थको सात कदम हिड्ने कथा ललितविस्तर सूत्र जस्ता विभिन्न बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ । बुद्धको जीवन कथा बताउने प्रारम्भिक महायान ग्रन्थ हो। यी ग्रन्थहरू बुद्धको जीवनकाल भन्दा केही शताब्दि पछि लेखिएका र संकलित गरिएका हुन ।

सिद्धार्थको जन्म पछि तुरुन्तै सात कदम हिड्ने घटना ऐतिहासिक तथ्यको रूपमा लिइँदैन । यो बौद्ध परंपरामा प्रतीकात्मक र पौराणिक तत्वको रूपमा लिइन्छ। यसले बुद्धको जन्मको महत्त्वपूर्ण पक्षलाई प्रस्तुत गर्दछ । उनको दिव्य स्वभाव र भविष्यमा प्राप्त हुने ज्ञान प्राप्ति (Enlightenment) को आध्यात्मिक महत्त्वलाई प्रकाश पार्छ।

Recent Blogs

Comments

Write comment »