पढाइ सकेर लेक्चरर कक्षाकोठा बाहिर जानासाथ विद्यार्थीहरूको भिड खहरे खोलामा बाढी झरेझै एकैचोटि बाहिरतिर बग्यो। भीडबाट बिस्तारै बाहिरिँदै विनिता र विवेक—कलेजको क्यान्टिनतिर लागे। कलेजको लबी त्यत्तिबेलासम्म धेरै दिनको खडेरीपर्दा गग्रेटो भरिएको खहरे खोलाबाट धुलो उडे जस्तै सुनसान थियो । क्यान्टिनको पुरानो कुर्सी र टेबल भरिभराउ भए । क्यान्टिनमा रङ उडिसकेका भित्ताले हरेक वर्ष थपिने र पुराना विद्यार्थीले छाडी जाने कथाहरू साचेर राखेका थिए । टाँसिएका पुराना पोस्टरहरूले वर्षौंदेखिको विद्यार्थी जीवनका भोगाइहरू समेटेर चुपचाप बसेका थिए।
"आजको लेक्चर त साच्चै गाह्रो लाग्यो," विनिताले हात हल्लाउँदै भनिन्, "मिटोकन्ड्रिया, अपोप्टोसिस, अनि सेल डिभिजन—म त पुरै अल्मलिइएँ।"
विवेक हाँसे, "सायद मलाई त्यो कुरा बुझ्न सजिलो भयो किनभने म पहिले विज्ञान पढ्दैन थें । जीवन पढ्दै थिएँ।"
विनिता चकित हुँदै उनको अनुहार हेर्छिन्, "के भन्न खोजेको?"
"त्यो सेलको कुरा सुन्दा म सिधै बाल्यकालमा फर्किएँ," विवेकले चियाको गिलास समाउँदै भने। सिसाको गिलासको रङ कडा भएको दुध हालेर पकाएको चियाको हल्का तातोले हातका औलाबाट दिमागसम्म मज्जा दिएको अनुभव गर्दै थिए ।
"म सानै हुँदा आमासँग हाम्रो गाउँको खेतमा जान्थें। एकपटक धान रोपार्इँ गर्दैगर्दा मेरो खुट्टामा जुको टाँसियो। डराउँदै मैले त्यसलार्इ खुट्टाबाट तानेर हातमा समाएं। आलीमा राखें । उ भाग्न नपाउँदै पल्लो गरामा राखिएको फरूवा ल्याएर त्यसलाइ बीच्च जस्तोमा फक्लक्क हानेर काटें । जुकाको दुई टुक्रा भयो, अनि केही बेरमा दुवै टुक्रा हिँड्न थाले।"
"त्यो त अचम्मको कुरा!" विनिता चकित भइन्।
"त्यही क्षण सम्झेर लेक्चर सुन्दै गर्दा मैले बुझें—सेल कसरि बाँडिन्छ, कसरि मर्छ। जुन चिज एक टुक्रा हुँदा पनि बाँच्छ, अनि जुन आफै मर्न सक्छ—त्यो मात्रै जीवन हो। अपोप्टोसिस सेलको आत्महत्या हो। हाम्रो जीवनको अन्त्य पनि त्यसैको विस्तार हो।"
विवेक पश्चिम नेपालको तराईको गाउँमा जन्मिएको थियो । त्यो एउटा बाक्लो बस्ती भएको ठूलो थारु गाउँ थियो। गाउँको उत्तरमा ५२ बिगाहाको ठूलो ताल थियो ताल पारी जङ्गल । गाउँको पूर्वमा बड्का बगैचा भन्ने ३५ वटा जति अग्ला आपका रूख थिए । ती अग्ला अर्गानिक आपका सानासाना दाना फल्ने रूख अहिले हराइसके । तालको पूर्वमा फूलबारी भन्ने बगैचामा महुवा, कदम र आपका रूख थिए । । ती रूख काटेर पोलिएका इटाले जडान गरिएका अहिलेका घर बन्नु अघि गाउँमा खर र काठले बनाइएका झुपडी घरहरू हुन्थे । त्यस्तै झोपडी घरभित्र उसको जन्म भएको थियो । गाउँको नाम थियो—सिमरी। हरेक बिहान कुखुराको भाले ‘कुखुरी काँ’ गरेर बास्थ्यो । घरपछाडिको पोखरीमा हल्लिएको घामसङ्गै दिन सुरु हुन्थ्यो।
विवेकका बुवाको नाम कलुवा थारू। उनी गाउँका जिमिदारको घरमा माघ महिनादेखि एक वर्षको लागि हरवा बसने गर्थे । कलुवाको नागरिकता नभएकोले सुकुम्बासी जग्गा पनि पाएनन् । तर, पछि नागरिकता बनेपछि सुकुम्बासी बनेर पाएको जग्गामा आफ्नै खेती गर्न थालेका थिए । खेतीबाट उब्रिएको समय निकालेर दैनिक ज्यालादारीमा मजदुरी गरेर घरखर्चका लागि नगद जुटाउँथे । विवेकका लागि उनी देवता सरह थिए।
"बाबु, पढ्नु पर्छ है, हामीजस्तो नहुनु," बुबाले प्रायः भनिरहन्थे।
कलुवाले आफ्ना छोरालाई गाउँको सरकारी विद्यालयमा भर्ना गराए । स्कूलका भित्ता टाटीमा माटो लिपेर अडाइएको थियो । प्रकाश भित्र छिरोस भनेर प्वालहरू छाडिएका थिए । विद्यार्थी बोरा बोकेर जान्थे र भूर्इमा बिछाएर बस्थे । शिक्षकका लागि भने एउटा कुर्सी हुन्थ्यो । बुबाको रगत र पसिनाले बिवेकको आँखामा सपनाको बिजारोपण भएको थियो ।
तर गाउँमा उसलार्इ 'कलुवाको छोरो' भनेर बोलाइन्थ्यो। शिक्षकहरूले प्रश्न सोध्दा कहिलेकाहीँ हीन भावले हेर्थे । केही विद्यार्थी त उसङ्ग टाढा हुन खोज्थे।
६० वर्ष अघि त्यो गाउँमा पेट्रोलियम पदार्थबाट चल्ने एउटा मिल थियो। धान कुट्ने, पीठो पिस्ने र तेल पेल्ने त्यो मिल खुब चल्थ्यो। उस समयमा लामो दूरीसम्म अर्को मिल नभएकोले पनि निकै राम्रो व्यापार गर्थ्यो त्यो मिलले। दैनक १८ घण्टा चल्थ्यो त्यो मिल। त्यो मिलको लागि बिवेकका बाजेले काँधमा दुईतिर झुण्डाएको भारमा टिनका तेल बोकेर सदरमुकामबाट ल्याउँथे।
बिवेकका बाउ, बाजे लगायतका पुस्ताले नै लेख्न पढ्न जानेका थिएनन्। स्कुल पढ्न नै पाएनन्। कसैले पढाउँदा पनि पढाएन। तेल बोक्ने बुढामान्छे नागरिकता बिना नै यो दुनियाँ छाडेर गए। बहुदलको चलन चल्तीबीच उनका दुवै छोराको नेपाली नागरिकता बन्यो।
त्यो गाउँका साहुहरू पहाडबाट बसाइ सरेर त्यो गाउँमा आएका थिए। तर ती थारूकै पुर्खाले जङ्गल फाँडेर खेतीयोग्य जमिन तयार पारेका थिए । ती मिलको तेल बोक्ने बुढा मान्छे र उनका छोराहरू नेपाली हुन् भन्नलाई उनीहरूको घर परिवारको कुनै पनि व्यक्तिको नाममा जग्गाधनी पुर्जा थिएन। नेपाली हुँ भन्ने प्रमाणित गर्ने कुनै कागज पनि उनीहरूले देखाउन सकेनन्। स्कुल धाउनु पर्ने उमेरको उनको किशोर नाति कलुवाले पढ्ने औकात नहुँदा सानो छँदासम्म साहुकोमा बाख्रा चराउँथ्यो। नागरिकता टोलीले लालपट्टा नहुने परिवारको व्यक्तिलाई नागरिकता मिल्दैन भन्दै उनीहरूलाई निरास पारेर गए। तर तत्काल नागरिकता नभएर उनीहरूको खासै काम रोकिएन।
एक दिन, विवेकले पाँचौँ कक्षामा पढ्दा विद्यालयमा स्वास्थ्य शिविर आयो। डाक्टर आए, स्टेथोस्कोप बोकेर। त्यसैदिन विवेकले पहिलोपटक मानव शरीर भित्र के के हुन्छ भनेर सुने ।
"डाक्टर बन्ने सपना त्यही दिन पलायो," उनले पछि विनितालाई भने।
तर त्यो सपना सजिलै साकार हुने थिएन।
आमालाई सुत्केरी बेलामा अस्पताल लैजान नपाएको घटनाले बेलाबखत अझैसम्म पनि विवेकको मन पोल्छ । रगत बगिरहँदा छिमेकीको गोरूगाडामा सदरमुकाम लानुपर्ने बाध्यता थियो। त्यो दिन आमाले आफ्नै कोखमा बच्चा गुमाइन्। त्यो विवेकको बहिनी थिई। अनि त्यही दिन विवेकले आफैंसँग बाचा गरे—एकदिन डाक्टर बन्नेछु।
विनिता भने फरक परिवेशबाट आएकी थिइन्। उनका बुवा विदेशमा प्रोफेसर थिए। उनी एकपटक छात्रवृत्तिमा क्रिश्चियन संस्थाको सहयोगमा पीएचडी पढ्न अमेरिका गएका थिए, पछि त्यहीँ बसे। विनितालाई पैसाको अभाव थिएन । तर उनलाई लागेको थियो—छात्रवृत्ति लिनेहरू 'कम क्षमतावान' हुन्छन्। आरक्षण कोटाबाट पढ्न पाएकाहरू हुन भन्ने सोच्थिन । आफूहरूजस्तो क्षमतावानको भाग खोसिएको ठान्थिन । तर, हिजोआज भने उनको चेतना फेरिएको छ ।
"बाबुआमाहरूले दुःख गरेर पढाएका छोराछोरीलार्इ समाजले कमसल ठान्छ भनेर तिमीलार्इ कहिलै लागेन?" एकपटक विनिताले सोधिन्।
"धेरैचोटि," विवेकले भने । "म छात्रवृत्तिमा पढ्न पाउँदा खुशी त छु, तर त्यत्तिकै चोट पनि लाग्थ्यो—जब म ‘कलुवाको छोरो’ भएर चिनिन्थें।"
"म पनि आफ्ना बुवालाई हेर्दा गाह्रो महसुस गर्छु," विनिताले भनिन्, "उहाँले छात्रवृत्ति पाउँदै पढ्नु भयो । तर, अहिले दान दिने संस्थाका मान्छेहरूलाई हेप्नुहुन्छ। मलाई सेल्फ फाइनान्समा पढाउँनुहुन्छ, तर आफ्नै विगत लुकाउँनुहुन्छ।"
"त्यो पनि सेलको जस्तो हो नि," विवेकले भने, "पुरानो सेल मर्छ, नयाँ बन्छ। तर कहिलेकाहीँ पुरानो सेलले सम्झना दिन जरुरी हुन्छ—कोबाट बनेका थियौँ भन्ने बुझ्न।"
विनिता अलिकति भावुक भइन्। उनले विवेकलाई नियाल्दै सोचिन्—यो कालो वर्ण, गठिलो ज्यान, अनि आँखामा बोल्ने आत्मविश्वास भएका विवेक थारु समुदायका हुन्। ‘तर यो मान्छे विज्ञानजस्तै गहिरो लाग्दो रहेछ,’ उनले मनमनै सोचेकी थिइन्।
"त्यो मिटोकन्ड्रिया आमाबाट मात्र आउँछ, हैन?" विनिताले सोधिन्।
"हो," विवेकले मुस्कुराउँदै भने, "आमाले दिएको उपहार हो। तर उसैले सेललाई आत्महत्याको सिग्नल पनि दिन्छ। त्यसैले मान्छे बिस्तारै बुढो हुन्छ, अनि मर्छ।"
"त्यो त आमाले सन्तानको अन्त्यको बाटो दिनु जस्तो भयो," विनिताले भनिन्।
"तर त्यो हत्या होइन। त्यो चक्र हो। जसरी ब्रह्माण्ड पनि फैलिँदै छ, फैलिँदै जाँदा अन्त्यतिर उन्मुख हुँदैछ। त्यसरी नै शरीर सेलको चक्रबाट आरम्भ हुन्छ र अन्त्यमा अपोप्टोसिसमा पुग्छ। सृष्टिको नियम यही हो—आरम्भको अन्त्य अनिवार्य छ।"
विनिता चुप लागिन्। उनलाई विवेकको शब्दहरू ज्ञान मात्र होइन, गहिरो आत्मबोधको झलक लाग्यो।
विनिता विवेकलाई हेर्छिन् । हेरेकोहेरै हुन्छिन । बिवेक उनलाइ सरल तर समुन्द्र जस्तो गहिलो लाग्छन् । उनलाई विवेकको ज्ञान, संघर्ष, बुबाको संझना, वैज्ञानिक दृष्टिकोण र आत्मसम्मान मन परिरहेको थियो।
म यिनको कुरा बुझ्दै गएँ भने परीक्षा त सहजै पास हुन्छु भन्ने लाग्छ । ज्ञान सिक्ने मात्र हैन जीवन पनि बुझिन्थ्यो होला, उनले मनमनै सोचिन्।
"हामी दुई फरक थलोबाट आएका हौँ," उनले बिस्तारै भनिन्।
"हामी एउटै ब्रह्माण्डका टुक्रा हौँ," विवेकले उत्तर दिए, "जसरी मिटोकन्ड्रिया एउटै स्रोतबाट आउँछ, हामी पनि एउटै ऊर्जा चक्रका अंश हौँ।"
विनिता मुस्कुराइन्—यो मुस्कानमा अब जिज्ञासा मात्र थिएन, माया मिसिएको थियो।
क्यान्टिनको कुना अब बिस्तारै सुनसान हुँदै गइरहेको थियो। झ्यालबाहिर सूर्यको घाम हरियो रूखमा सर्दै ढल्किएको थियो। चिया चिसो भइसकेको थियो तर उनीहरूको संवाद झन् तात्दै थियो।
विनिताले बिस्तारै भनिन्, "तिमीले आफूले देखेको जुकाको अनुभवबाट सेलको आत्महत्या बुझेको बतायौ... तर के हाम्रा सबै धारणा त्यस्तै अनुभवबाट बन्ने हुन् त?"
विवेक अलिक अचम्मित भए। "त्यो त... हो नि, अनुभव नै सिकाइको मूल आधार हो, होइन र?"
"तर इम्यानुअल कान्ट भन्छन्, अनुभवभन्दा पहिले नै हाम्रो मस्तिष्कसँग केही पूर्वज्ञान हुन्छ—a priori knowledge, जसबिना हामी अनुभूतिको अर्थ लगाउन सक्दैनौं।" उनले चियाको कप दुबै हातले समातिन्।
"जस्तो?" विवेकले सोधे।
"जस्तो समय र स्थानको बोध। बच्चाले पहिलोचोटि कुनै वस्तु हेर्छ, तर त्यसले पहिले नै 'ठाउँ' भन्ने ढाँचा मस्तिष्कमा बोकेको हुन्छ। त्यसैले त त्यो वस्तुलाई 'यहीं छ' भन्न सक्छ। अनुभव त त्यसमाथिको तह हो।"
विवेकले सोच्न थाले। "त्यसो भए... म जुकालाई दुइ टुक्रा भएको देखेँ, त्यसमा पहिले नै मेरो मस्तिष्कमा ‘एकवटा वस्तु टुक्रिँदा के हुन्छ’ भन्ने पूर्वधारणा थियो, जसले त्यसलाई अर्थ दिन सजिलो बनायो?"
"ठ्याक्कै!" विनिता उत्साहित भइन्।
"तर," विवेक मुस्कुराए, "तिमीले भनेझैँ a priori पनि आफैं बनिन्छ होला—थुप्रै पुस्ताले जे देखे, त्यसको सार हाम्रो दिमागमा पूर्वज्ञान बनेर बस्छ। सायद म थारु समुदायको भएर शरीरसँग नजिकको अनुभव धेरै पाएँ, तिमीले किताबहरूबाट बुझ्यौ।"
विनिता केहीबेर चुप भइन्। विवेकको कुरा ठीकै लागिरहेको थियो।
"सायद," उनले बिस्तारै भनिन्, "मेरो पूर्वज्ञान किताबमा देखेको डाक्टर थियो—जुन प्रायः सम्भ्रान्त, अंग्रेजी बोल्ने, ब्राण्डेड कोट लगाउने। तिमी जस्तो चप्पल लगाएर खेततिर हिँड्ने मानिस पनि डाक्टर हुन सक्छ भन्ने अवधारणै थिएन मेरो दिमागमा।"
विवेक हल्का हाँसे, "त्यसैले त हाम्रो समाजमा ज्ञानभन्दा पहिल्यै धारणा बनाइन्छ। कान्टले भनेको त्यो a priori धारणा कहिलेकाहीँ पूर्वाग्रह पनि बन्छ।"
विनिता थोरै झस्किइन्। उनले त्यो कुरा महसुस गरिन्। उनी विवेकतिर झनै आकर्षित भइन्।
"शायद यही कारणले तिमीलाई मैले सुरुमा अलिक अवमुल्याङ्कन गरें," उनले भनिन्।
"अवमुल्याङ्कन जस्तो नभई सोधेजस्तो गर्यौ," विवेकले गम्भीर स्वरमा भने, "अनि प्रश्न गर्ने त बूढो ज्ञान होइन, नयाँ चासो हो।"
त्यो उत्तरले विनिता चुप भइन्। ती कुराहरू शब्दभन्दा गहिरा थिए।
उनले आँखा झिम्क्याएर विवेकको अनुहार हेरिन्—जहाँ गाउँको माटो थियो, बुबाको पसिना, आमाको रगत, र विज्ञानको चमक थियो।
विनिता विवेकसँग बोल्दाबोल्दै सोचमग्न थिइन्। उनका आँखामा अब विवेक थारू समुदायको प्रतिनिधि मात्रै थिएनन्—एक चेतनशील प्राणी थिए, जसले न त पुस्तक पढेर, न त प्रयोगशाला देखेर, तर जीवनको कठोर अनुभवबाट विज्ञान बुझेका थिए।
"विवेक," उनले बिस्तारै भनिन्, "के तिमीलाई लाग्दैन—कहिलेकाहीँ हामीले देखेका कुराभन्दा नदेखिएका कुराबाट बढी अर्थ निकाल्छौँ?"
विवेकले चिया पिउँदै टाउको हल्लाए, "त्यो त हो नि। बिहानै उठेर घर बाहिर निस्कँदा, छानोका खरका टुप्पाबाट हल्का रातो पानी झर्दै गरेको र भिजेको भुर्इ देखेर बुवाले भन्नुभएको थियो—'राति पानी परेको रहेछ'।"
"त्यही त पूर्वानुमान हो," विनिताले भनिन्, "न्याय उपनिषदले यसैलाई अर्थापत्ति भनेको छ—अनुमान होइन, तर अनुपस्थित प्रमाणबाट उपस्थित सत्य निकाल्ने बौद्धिक प्रक्रिया।"
"हँ... जस्तो बुबाको शरीर रातभर चिसो भएर कठ्याङ्ग्रिएको देख्दा, म आमाले उनलाई रातभरि सिरक ओढाइन् भनेर अनुमान गर्थें—तर त्यो अनुमान होइन, अनुभवलाई जोडेर निकालेको निस्कर्ष हो," विवेकले थपे।
विनिता एकछिन चुप लागिन्। "त्यही प्रक्रिया विज्ञानमा पनि छ। सिधा प्रयोगबाट नभए पनि परिस्थिति र तर्कको सहायताले सत्यको खोजी गर्नु। तर हाम्रो शैक्षिक प्रणालीमा त्यो चेतनाको अभ्यास हुन्न।"
"हो," विवेक गम्भीर भए, "हामी किताबको अक्षर याद गर्छौं, तर खेतमा खस्ने सीतको थोपाले दिएको सङ्केतको भाषा बुझ्न सक्दैनौं।"
"तिमीले जुन कुरा जुकाबाट सिक्यौ, म त्यही बुझ्न महिनौँ किताब पढ्छु," विनिता हाँसिन्, "तर हाम्रो बुझाइको माध्यम फरक रहेछ—तिमीलाई जीवन नै प्रयोगशाला बन्यो, मलाई भने सन्दर्भ किताब।"
"त्यही त दर्शन हो," विवेकले नजर झुकाउँदै भने, "न्याय शास्त्र भन्छ—अनुभव प्रमाणको मूल हो। कुनै कुरा प्रत्यक्ष देख्दा वा भोग्दा, त्यो अनुभव नै सत्यको पुष्टि हुन्छ। म त्यो रात बुबाको ज्वरोले गलेको शरीर छोएको थिएँ—त्यो अनुभव मेरो लागि प्रमाण थियो।"
विनिता केहीबेर चुप लागिन्। "सायद मैले विज्ञानलाई तथ्यको संग्रह मात्र ठान्थें, तर तिमीले त्यसलाई अनुभवको विश्लेषण बनायौ।"
"सायद हाम्रो पूर्वज्ञानको स्रोतमा नै यो फरक थियो," विवेक मुस्कुराए, "तिमीले दर्शन किताबमा पढ्यौ, मैले जीवनमा महसुस गरेँ।"
"तर त्यसैले त म तिमीलाई अब बुझ्न थालेकी छु," विनिता ढुक्क भइन्, "ज्ञान त केवल किताब होइन, भाव र दृष्टिकोण पनि हो।"
"र त्यही दृष्टिकोणबाट मानिसले ब्रह्माण्ड हेर्छ," विवेकले भने, "म मिटोकन्ड्रिया देख्दा आमाको थकाइ सम्झन्छु। तिमीलार्इ देख्दा सेलको कार्यविधि बुझ्छु। दुबै कुरा सत्य हुन् ।"
त्यो साँझ विवेक र विनिताबीच वैज्ञानिक दृष्टिकोण मात्र होइन, दर्शनको अन्तरदृष्टि पनि आदान–प्रदान भयो। एउटाले जीवनको शोषित अनुभवबाट ज्ञान पाएका थिए । अर्कीले संरक्षित वातावरणमा किताबमा खोजेकी थिइन।
तर दुबै धार एउटै नदीमा बग्न थालेका थिए—जसको किनारामा विज्ञान थियो, र गहिराइमा दर्शन।
© www.amaaba.org