Blog Details

cateringpal
मुन्सी प्रेम चंदले 'गोदान' उपन्यासमा उच्च वर्गका राय साहबले एक चाकडीवाज गरिब किसानसँग दु:ख पोख्छन्। उनले आफ्नो पीडा आफ्नै वर्गका मान्छेसँग पोख्न सक्दैनन्। लेखकले उक्त प्लटका माध्यमबाट प्रतिस्पर्धा त समान हैसियतकासँग मात्र गरिन्छ भन्ने सन्देश दिएका छन्। नि

गौदानबारे एआईको भाषा

02 Mar, 2024

गौदानबारे एआईको भाषा

गोविन्द बेल्वासे
सोमबार, फागुन १४, २०८० १३:०२



ब्राम्हणलाई गाई दान गर्ने परम्परा छ। हिन्दू अर्थात् सनातन परम्परामा वैदिक कालदेखि नै यसको प्रचलन रहेको अनुमान छ।

संस्कृत भाषामा मन्त्र उच्चारण गरेर ब्राम्हणलाई गाई दान दिने गरिन्छ। अहिलेको जमानामा यजमान र ब्राम्हण दुवैले गाई पाल्दैनन्। तर पनि पातको दुनामा गाईको मूल्य राखेर त्यसैलाई गाई भनेर दान गरिन्छ। टीका लगाइदिएर अर्को दुनामा दक्षिणा पनि दिइन्छ।

विदेशमा पनि नेपाली बस्न थालेका छन्। कतिपय देशमा पातका दुना जोहो गर्न नसक्दा प्लाष्टिकका दुनाबाटै काम चलाइन्छ। प्लास्टिकका दुनाका विषयमा वातावरणको विषय पनि उठ्छ। पूजा, श्राद्ध, प्रवचन लगायतका विविध संस्कार सुरु गर्दा जान-अञ्जानमा भएका पापहरूको दोष कटाउनु पर्छ भनेर ब्राम्हणले गौदान गराउँछन्।

गौदान प्रचलनको सम्बन्ध गुरूकुल शिक्षा पद्धतिसँग छ। गुरूकुल पद्धतिमा ब्राम्हणले निजी सम्पत्तिको सङ्कलन गर्दैनथे। ब्राम्हणले निजी सम्पत्ति जोर्नु अधर्म मानिन्थ्यो। दुहुनो गाई दान गरेर ब्राम्हणलाई दिइन्थ्यो। उक्त गाईलाई चेलाहरूले घाँस, दाना, पानी दिन्थे र दूधको जोहो गर्थे।

गुरूलाई पौष्टिक आहारको ब्यवस्था गर्न गौदानको प्रचलन बसेको हो। अन्न जोहो गरेर जीवन धान्न गुरूहरूले चेलालाई भिक्षा माग्न पठाउँथे। घरघरमा गएर भिक्षा माग्दा विद्यार्थी अवस्थाबाट नै सम्पत्तीको लोभ र इर्ष्या नियन्त्रण हुन्थ्यो। गुरूकुल शिक्षाको मूल मर्म नै लोभ र इर्ष्या नियन्त्रित छात्रको उत्पादन गर्नु हुन्थ्यो। धरम पालले लेखेको 'ब्युटिफूल ट्री' भन्ने पुस्तकले पनि उक्त सन्दर्भ उजागर गरेको पाइन्छ।

ब्राम्हणले संस्कृत भाषामा मन्त्रोच्चारण गर्दा सर्वसाधारणले अर्थ बुझदैनन्। तर आध्यात्मिक आस्थाका कारण धार्मिक अनुष्ठानका रूपमा गौदानले सामाजिक मान्यता पाएको छ। यहिंनिर यो नबुझेको भाषालाई अबको एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को जमानामा हुर्कने पुस्ताले कसरी अवलम्बन गर्लान भन्ने प्रश्न उठ्छ।

गुरूकुल भनेर खुलेका स्कुल लगायतका शिक्षा पद्धतिमा कर्पोरेट कल्चर बढ्दै गएको छ। धन कुम्ल्याउने गतिलो व्यवसाय मानिन्छ शिक्षा क्षेत्रलाई। मानिसले चन्द्रमामा पहिलो पाइला टेक्दा हुर्केका भौतिकवादी नेताहरू गेरूवस्त्रको स्वाङ रचेर धर्मको आडमा राजनीति गर्न थालेका छन्। तर गुरूकुल शिक्षा पद्धतिको लोभ इर्ष्या नियन्त्रण हुने सामाजिक संरचना भत्किएको अवस्था छ।

प्रविधि सुसज्जित यो समयमा गौदानको प्रचलन कायम रहनु अन्धविश्वास हो कि होइन? गौदानका ठाउँमा मोबाइल फोन दान गरे पुरोहितलाई पनि उपयोगी ठहरिन सक्छ। तर त्यो मोबाइलसँग भने पक्कै पनि आस्था त जोडिन्न होला। तर मोबाइल समय सान्दर्भिक छ। मोबाइल फोनमा पनि संस्कृत भाषाका मन्त्र उच्चरण गराएरै न्वारान लगायतका संस्कार चलाउने चलन पनि देख्न थालिएको छ।

आध्यात्मिक अनुष्ठानको मान्यता



दार्शनिक ज्याक डेरिडाको भाषाको प्रयोजनको अर्थमा हेर्दा गौदानले आध्यात्मिक अनुष्ठानको मान्यता पाएको छ। गौदान पापबाट मुक्त हुने माध्यम मानिएको छ। सर्वसाधारणले नबुझ्ने भाषामै गौदान गराउने ब्राम्हण प्रचलनका पछाडि शङ्का गर्ने कि नगर्ने?

गुरूकुल शिक्षा पद्धतिको मर्म छाडेर लोभमा लिप्त संस्कार विकास हुँदै गएको पाइन्छ। पच्चीस सय वर्ष पहिला गुरूकुल परम्परा विकृत हुँदै गएको बुझेरै बुद्धले पाली भाषालाई माध्यम बनाएको अनुमान गर्न पनि सकिन्छ। वैदिक कालमा प्रचलित संस्कृत भाषाका ठाउँमा बुद्धपछिका समयमा पाली भाषाको प्रचलन हुनु त्यसको कारणका रूपमा बुझ्नु पर्छ।

पाली भाषा जनजिब्रोको भाषा थियो। जनताले नबुझ्ने केवल ब्राम्हणले प्रयोग गर्ने भाषाका कारण निजी सम्पत्ति नराखनु पर्ने ब्राम्हणहरू लोभी भए होलान्। त्यसै कारण पनि बुद्धले ज्ञानको मर्म बुझाउन जनजिब्रोको पाली भाषालाई माध्यम बनाएको हुनुपर्छ। अध्यात्मको सहारा त लोककल्याणकारी नीतिमा नै फलदायी हुन्छ।

मुन्सी प्रेम चंदले 'गोदान' उपन्यासमा उच्च वर्गका राय साहबले एक चाकडीवाज गरिब किसानसँग दु:ख पोख्छन्। उनले आफ्नो पीडा आफ्नै वर्गका मान्छेसँग पोख्न सक्दैनन्। लेखकले उक्त प्लटका माध्यमबाट प्रतिस्पर्धा त समान हैसियतकासँग मात्र गरिन्छ भन्ने सन्देश दिएका छन्। निर्देशक तथा लेखक राजकुमार हिरानीले पनि 'थ्री इडियट्स' भन्ने चलचित्रका माध्यमबाट साथी फर्स्ट भएको पीडाको शब्दजालबाट त्यही भाव व्यक्त गरेका छन्। जर्ज अर्वेलले ‘एनिमल फार्म’मा पनि समानता त समान वर्गको बीचमा मात्र हुन्छ भन्छन्।

गौदान गर्ने एकै वर्गका यजमानहरूका बीचमा पनि चोखो पुजेरीलाई गाई दान दिएर धर्म कमाउने होड चलेको हुन्छ। अर्को वर्गका पुजेरीहरू पनि यजमानलाई अध्यात्मको नसा चढाएर धन आर्जन गर्ने होडमा लागेका हुन्छन्। पुजेरीलाई गाई नपाल्ने जमानामा गाईको सट्टा जमाना अनुसार उपयोगी वस्तुको दान माग्ने जोखिम उठाउन मन छैन किनकि यजमानहरू बुझिनबुझी गाई ब्राम्हणलाई दान गरेको खण्डमा स्वर्ग जान पाइन्छ भन्ने लोभमा छ।

गाई दान किन गरिन्छ भन्ने सोच्ने त यजमानलाई फुर्सद पनि छैन। आध्यात्मिक भावनामा 'कारण र तर्क' खोजिँदैन, प्रचलनमा रहेको संस्कार अवलम्बन गरे पुग्छ भन्ने मान्यता छ। गाईको प्रयोजन रहेन भनेर अरू वस्तु दान माग्नु जोखिमपूर्ण त हुन्छ नै।

पुरेतहरूले 'श्राद्ध गर्दा बिरालो बाँध्ने' प्रचलनमाथि व्यंग्य गरेर संस्कार समय सापेक्ष हुनुपर्छ भन्ने तर्क पनि गर्न त गर्छन्। तर बिरालो बाँध्नु जस्तै समय सान्दर्भिक नरहेको प्लास्टिकको दुनामा डलर राखेर कुस, जौ, तिल र पानी समाएर दिने गाई दान असान्दर्भिक हुँदै गएको छ। गाईको सट्टा अब 'एआई' सुविधा भएको स्मार्ट फोन प्याकेट खोलेर दान गरे सनातन धर्म अगाडि बढ्न सक्छ। त्यसो गर्ने हो भने संस्कृत भाषा नबुझ्ने नयाँ पुस्ताले एआईबाट गौदानको अर्थ, मर्म, प्रचलन र संस्कार बुझ्नेछन्। श्राद्ध गर्दा बिरालो बाँध्न पर्दैन भने जस्तै नयाँ पुस्ताले गाई दान गर्न छाड्लान त?

यो लेख nepallive.com मा प्रथप पटक प्रकाशित भएको हो । (अधिवक्ता बेल्वासे बेलायतमा बसोबास गर्छन्।)

Recent Blogs

Comments

Write comment »