Blog Details

Govind Belbase: Please open in a few minutes later due to a technical error
अरूले मानेको सत्यलाई आफ्नो सत्यमा दखल नपुर्याएसम्म स्वीकार गर्न सक्नुपर्छ। फरक–फरक सत्यको जगमा मिलिजुली बसेको समाज सुन्दर हुन्छ।

सत्य धेरै हुन्छन्

01 Jul, 2025

सत्य धेरै हुन्छन्

Published on Janaastha »

यो शीर्षकमा विमति छैन भने हामी छलफल गर्नुको अर्थ हुँदैन। पहिलो पटक “सत्य धेरै हुन्छन्” भन्ने सुन्दा मलाई झट्का लागेको थियो। अहिले भने “सत्य धेरै हुन्छन्” भन्ने निचोडमा पुगेको छु।

म छ वर्षको हुँदा भूत देखेँ। त्यतिबेला मलाई त्यो देखिएको भूत नै सत्य थियो। त्यो भूत एउटै सत्य थियो, किनकि मैले आफैले देखेको थिएँ। उ सेतो पहिरनमा थियो, काठको कोलजत्तिकै अग्लो थियो, बासुरी बजाइरहेको थियो।

त्यतिबेलाको सत्य ‘भूत’ दार्शनिकहरूको तर्क र विज्ञानको उपलब्धिपछि असत्य ठहरियो। मेरा आँखाले होइन, दिमागले मात्र भूत देखेको रहेछ। भूत मेरो “बचपनको सत्य” र “अहिलेको असत्य” गरी यी दुइटा सत्य बनेका छन्। त्यसैले अदालतमा देखिएको साक्षीको सत्यलाई पनि जिरह गरेर परीक्षण गरिन्छ। विपक्षी वकिलले जिरह प्रश्न गरेर साक्षीको परीक्षण गर्छ। त्यो समयमा मलाई साक्षी बनाएर अदालतमा उभ्याएर सोधिएको भए “भूत देखेको सत्य हो” भनेर बकपत्र गर्ने थिएँ। अहिले सोधियो भने “त्यो भ्रम थियो” भन्नु नै सत्य बोलेको ठहर्छ।

अध्यात्मवादी अरविन्द घोसले सृष्टिकर्ता तथा जगत (ब्रह्माण्ड) दुवैलाई यथार्थ मान्छन्। चेतनाबाट जगतको सृष्टि हुने बताउँछन्। उनले निराकार चेतनालाई अन्तिम सत्य मानेका छन्। उनले एउटा मात्र सत्य हुने वकालत गर्छन्—ब्रह्माण्ड र सृष्टिकर्ता एउटै सत्यका दुई अभिव्यक्ति हुन् भन्छन्।

आदि शंकराचार्यले भने जगतलाई मिथ्या र ब्रह्मलाई मात्र सत्य मान्छन्। यो विचार अठारौँ शताब्दीका दार्शनिक बर्क्लेको आइडियलिज्मसँग पनि मिल्दोजुल्दो छ। सपनामा देखिएको यथार्थलाई विपनासँग दाँजेर सत्यको अर्थ बुझाउने प्रयास गर्छन्। मैले देखेको “भूत” विपनामै देखिएको थियो—त्यो सपना थिएन, तर पनि त्यो सत्य थिएन।

सिग्मण्ड फ्रायडले मानव मस्तिष्कको पूर्वचेतना, तर्क, र विश्लेषण सपनामा व्यक्त हुने जनाउँछन्। उनको मनोविज्ञान (psychology) को व्याख्या र शंकराचार्यको “जगत मिथ्या” को मायाजाल मिल्दोजुल्दो देखिन्छ।

आमाहरू जम्मा भएर रमाइलो गर्दै तोरी पेल्न कोलमा हुनुहुन्छ भन्ने मेरो अनुमान थियो। तर त्यहाँ पुग्दा सुनसान देखियो। म पुगेको कोलमा उहाँहरू हुनुहुँदैनथ्यो। तेल बढी आउने अर्को कोलमा जानुभएको रहेछ। भूत ठूला पधेरामाथिको कोलमा देखिएको थियो, तर मलाई मात्र। उसलाई देख्ने त्यहाँ अरू कोही थिएनन्।

काठको कोल हजारौँ वर्षदेखि तेल पेल्न प्रयोग गरिने काठको मेसिन हो। पानी घट्ट (टरबाइन) र आधुनिक इन्जिनयुक्त कोलको प्रचलनपछि त्यो हराउँदै गयो। प्रचलनमा नभए पनि कतै–कतै काठको कोल अझै भेटिन्छ।

म डराएर घरतिर दगुरेपछि त्यो भूत तुरुन्तै हरायो। तर, त्यो दृश्य अझैसम्म मेरो दिमागमा गडिएको छ।

भूतको त्यो डर किशोरावस्था पार गर्दा पनि हटेको थिएन। सवै जना घरको तल्लो तलामा छन् र मलाई माथि कोठामा जानु पर्‍यो भने अध्यारोमा भूतको डर लाग्थ्यो। डर अरूले नदेखून् भनेर लुकाउँथेँ। उज्यालो भएपछि मात्र ढुक्क हुन्थेँ—“भूत रहेनछ।”

तर अहिले “भूत हुँदैन” भन्ने विश्वास भएपछि, “सत्य एउटा हुँदैन रहेछ” भन्ने निचोडमा पुगेको छु। त्यो देखिएको ‘तथ्य’ पनि सत्य होइन रहेछ।

कुनै नयाँ विषयमा धारणा बनाउँदा, पहिले दिमागमा जे छ, त्यसै आधारमा हामी धारणा बनाउने रहेछौँ। जर्मन दार्शनिक इम्मानुएल कान्टको यो भनाइमा न्यूरो–फिजिसिस्ट रिचर्ड ग्रेगरीले सहमति जनाएका छन्। उनले पनि तर्क थपेका छन्। बीसौँ शताब्दीका थॉमस कुहनले पनि हाम्रो दृष्टिकोण पूर्वज्ञानमा भर पर्छ भन्छन्।

भूतलाई मैले पहिलो पटक देखेको थिएँ। उसलाई देख्नुअघि दिदीले सुनाएका भूतका कथाहरू मेरो दिमागमा थिए। “रमझम छ” भन्दै पुगेको कोलमा पुग्दा अप्रत्याशित सुनसान थियो। त्यसपछि दिमागमा भएको भूत मैले बाहिरी आँखाले देखेँ भन्ने भ्रम भयो। वास्तवमा त्यो दृश्य आँखाले देखिएको थिएन भन्ने अहिले बुझ्छु । दिदीले जस्तो भूतको वर्णन गर्नुभएको थियो, मैले त्यस्तै भूत देखेको थिएँ।

तर, सबै तर्कको चुरो कुरो चेतनाको स्रोतमा बल्झिन्छ—चेतना कहाँबाट उत्पन्न हुन्छ? चेतना के हो? भन्ने कुरा वैज्ञानिक अनुसन्धानकै विषय हो।

त्यही बिन्दुबाट प्रश्न उठ्छ—सत्य एउटा मात्र हुन्छ कि धेरै हुन्छन्? अरविन्दको सत्य र शंकराचार्यको सत्य फरक छन् भने सत्य पनि धेरै भए। यद्यपि, दुबैमध्ये एक गलत छन् भन्ने प्रमाणित गर्न सकिएमा मात्रै “सत्य एउटा हो” भन्ने निचोड निकाल्न सकिन्छ।

अध्यात्मिक धारणा बनाएर खोज र जिज्ञासालाई रोक्न सकिन्छ—सृष्टिकर्ताको जिम्मा लगाएर चुप बस्न सकिन्छ। तर प्राज्ञिक जिज्ञासाको पक्षधरका लागि “धेरै असहमतिबीच सहमति बनाउँदै उत्तर खोज्ने कार्य”को विकल्प छैन। त्यसैले प्राज्ञका लागि सत्य धेरैवटा हुनुपर्छ।

दयानन्द सरस्वतीले पनि "मान्छेको जति ज्ञान छ, त्यसकै अनुपातमा धारणा बनाउँछ" भन्ने तर्क गरेका छन्। ज्ञानको कमीले गलत धारणा बन्ने उनको निचोड छ। उदाहरणका लागि, मलाई दिदीले सुनाएको कथाको ज्ञानले गर्दा भूत देखिएको थियो।

दयानन्दको अवधारणा बेलायती उपनिवेशबाट भारतलाई स्वतन्त्र गराउने संघर्षको सन्दर्भमा बनेको थियो। धार्मिक भावनामा भारतीयहरूलाई एकजुट पारेर संघर्षमा उतार्ने उद्देश्यमा उनले धारणा बनाएका थिए। त्यसैले त्यस कालखण्डका सनातन परम्परावादीहरूले गीताको "कर्म गर तर फलको आशा नगर" भन्ने श्लोकलाई धर्मको आधार मानेर व्याख्या गर्ने गरेका छन्।

बेलायती उपनिवेशअघिका सनातनी परम्परामा शास्त्रार्थहरू मोक्ष प्राप्तिमा केन्द्रित देखिन्छन्। ऋग्वेदमा खुशी र सुखी समाज बनाउनुपर्ने कर्तव्यहरूको व्याख्या गरिएको छ। उमेर अनुसार आश्रमहरूमा विभाजन, गृहस्थ जीवनमा पारिवारिक सुखका कर्तव्यहरू तोकिएको छ।

रामायण र महाभारतका आदर्श पात्रहरू पारिवारिक संरचनामा भेटिन्छन्—जस्तै, कौरव, पाण्डव, राम र सीता। कर्तव्यले थिचिएका एक्ला भीष्मपितामहको वियोगको सन्देश नै उक्त ग्रन्थको भाव हो भन्ने बुझिन्छ।

उता बुद्ध भने भैरहेको परिवार र सुख छाडेर दुःख हटाउने ज्ञानको खोजीमा परिवारविहीन जीवनमा भौतारिएका देखिन्छन्।

बुद्धका लागि अरूको दुःख दूर गर्नका लागि परिवार त्याग्नु नै सत्य मार्ग बन्यो।

अरू धेरैजसो धर्मका धर्मगुरूहरू भने पारिवारिक सुखका आदर्श ज्ञानलाई नै सत्य मान्छन्।

मार्क्स–लेनिनले समाजवादी समाजको परिकल्पनालाई सत्य मान्छन्। माओ त्से–तुंगले “नौलो जनवादी क्रान्ति” लाई नै सत्य माने।

अल्बर्ट कामु र जाँ–पोल सार्त्रले जीवन निरर्थक भए पनि स्वतन्त्र हुन मान्छेले विद्रोहको कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने मान्यता (सत्य) राखे। बीपी कोइरालाले प्रजातान्त्रिक समाजवादलाई सत्य माने।

पूँजीवादी अर्थतन्त्रलाई सुधार्दै कम्युनिष्टहरूको आलोचना गर्नु पश्चिमी मुलधारको सत्य हो। ट्विन टावरमा विमान ठोक्याउनेजस्ता आतंकवादबाट इस्लामिक विश्व खडा गर्नु बिन लादेन पक्षधरको सत्य हो।

त्यसैले जुन व्यक्तिले जे कुरामा विश्वास गर्छ, त्यसका लागि त्यही नै सत्य हुन्छ।

विश्वमा धेरैका फरक–फरक सत्य छन्।

अरूले मानेको सत्यलाई आफ्नो सत्यमा दखल नपुर्याएसम्म स्वीकार गर्न सक्नुपर्छ। फरक–फरक सत्यको जगमा मिलिजुली बसेको समाज सुन्दर हुन्छ।

त्यसैले अरूले मानेको सत्यलाई सम्मान गर्नु—प्राज्ञिक जगतको कर्तब्य हो।

@nepallghar – belbase@flyktm.com

Recent Blogs