लोकतन्त्र !! - Blog Details

Blog Details

  • Home
  • Blog
  • लोकतन्त्र !!
लोकतन्त्र !!
लोकतन्त्र !! - कविता

लोकतन्त्र !!

06 May, 2025

Text Reader Controls

1.0
1.0
1.0
Loading voices...

लोकतन्त्र !!




मुखियाले सोधे
न्वाइ खाइस् ?
घरै खान त खेत छैन
साहुको आँगनमा
तमसुक ल्याप्चे लाउँदा
तिल हालेको दही चामलको
न्वाइ खाएको थिए,


उहाँ गाउँमै आइस्यो
हात जोडेर सोधिस्यो
चिया खाइस् ?
अरू बेला त अर्नी खायौं
चिया पिएनौ हजुर
तर,
मेलमिलाप दिवसमा
चिया पिएको थिए हजुर,


उहाँ गाउँमै आउनु भो
उभिउभि सोध्नु भो
खाना खाइस् ?
अरू दिन त आटो खाएँ
ढेढो र सिन्की खाएँ
अघिल्लो चुनावमा
महँगो जिपमा आउनेले
छाप लगाउने चिन्ह चिन्हाउँदा
बाँडेको भात
पेटभरि खाए,


उ साथी लिएर आयो
हामीलार्इ घर बाहिर बोलाएर सोध्यो
मासु खायौ ?
जङ्गलमा सिकार खेल्न पाइन्न
जनावर मारेर मासु नखाएको
पुस्तौँ भयो
अघिल्लो चुनावमा
ढलेको राँगोको भतेरमा
चोक्टा खाएको थिए हजुर,


नेताजी मञ्चमा उठ्नु भो
रोस्टमबाट बोल्नु भो
दह्रो मुठ्ठी उचाल्नुभो
दर्बिलो बोलीमा अभिवादन गर्नुभो
अनि सोध्नु भो
जागिर खाइयो ?


बिर्तावाल बाजेका नातिले
लेबी बुझाएका भरमा
सरकारी जागिर पाउनुभो
देशाँ जागिर खान
हामीले त हरेसै खाइयो


चुनावी खर्च तिर्ने दलेदाले
पारि जाने कागज दिनुभो
उता जाँदाको ऋणको भाका
किस्तामा तिर्न
उतै पुगरे जागिर खाइयो


उनी हुल बाँधेर आए
हामीलार्इ जम्मा पारेर सोधे
कति प्याक लाइयो ?
प्याक लाउने गिलास छैन
पुलिसले खोस्दा लुकाएको
तीनपानेले थकाइ मार्छौ
तर,
चुनावमा बाडेको रक्सी
मातुन्जेल खाएको वर्षौं भाथ्यो
हजुरले बाँडेकोले
फेरि पिएँ र पिउँदै छु हजुर
लरबराएको छु ।

Leave a Review

Reviews (0)

No reviews yet. Be the first to review this blog!