नालन्दा महाविहार प्रवेश - Blog Details

Blog Details

  • Home
  • Blog
  • नालन्दा मह...
नालन्दा महाविहार प्रवेश
कोठाहरू चाहार्दै जाँदा हुज्यानले आफू बस्ने गरेको भनेर वर्णन गरेको कोठा पनि भेटियो । अरू कोठा भन्दा उक्त कोठा छुट्याउन सजिलै थियो । उनले सन् ६२९मा चिनबाट हिड्दै उक्त नालन्दा विश्वविद्यालयमा दिन विताएका विवरण लेखेका छन्।

नालन्दा महाविहार प्रवेश

02 Feb, 2025

Text Reader Controls

1.0
1.0
1.0
Loading voices...
नालन्दा महाविहार प्रवेश

जनवरी १७, २०२५का दिन नालन्दाको होटलमा झोला थन्काएर सरासर महाविहारा खण्डहर पुग्दा अपरान्ह ३ बजेको थियो । पटनादेखि झण्डै एक सय किलोमिटर दक्षीणमा छ नालन्दा । गयाबाट पनि उस्तै उस्तै दुरीमा पुर्व उत्तरमा पर्छ । सन् ४२७ मा स्थापित भएको विश्वविद्यालय तथा सनातन महाविहार हो । सवै जसो विषयको पढाइ हुन्थ्यो त्यहा भन्ने विवरण विभिन्न ग्रन्थबाट पुष्टि हुन्छ । क्याम्ब्रिज तथा अक्सफोर्ड विश्वविद्यालय भन्दा सयौ बर्ष पुरानो । बाह्रौ सताब्दीसम्म सञ्चालन भएको तथ्यहरू भेटिन्छन् । चौधौ शताब्दिसम्म त्यसको अस्तित्वको विवरण चिनिया यात्रीले उल्लेख गरेको पाइन्छ ।

सबैभन्दा पहिला खण्डहरको बाहिरको घेरा खण्ड हेर्ने इच्छा जाग्यो । घुम्दै जाँदा कुनापट्टि मन्दिरको भग्नावशेष रहेछ । बौद्ध धर्मावलम्बी भनेर पहिरन बाटै चिनिने कपाल मुडुलै भएकाहरूको हुल पनि त्यतै पुगे । भूटानका ती भन्ते र उनका चेलाहरू मध्ये कतिपयले नेपाली पनि बोल्दारहेछन् । उनिहरूसङ्गै उक्त खण्डहर सुरक्षित राख्न खटिएका दुर्इ शुरक्षागार्ड कर्मचारीहरू पनि थिए ।

उक्त मन्दिरको अवशेषको ढोकामा फलामका रडको गेट लगाएर बन्द गरिएको थियो । देख्न भने भित्र छ्याङ्गै देखिने । सेक्यूरिटी ड्रेस लगाएका ती दुर्इ सुरक्षाकर्मीले विवरण सुनाउँदै थिए । पर्यटक बनेर त्यहाँ पुगेका बौद्ध धर्मावलम्बीले माटो उक्काएर लैजान्छन् भन्दै थिए । त्यसैले सुरक्षाको लागि त्यो फलामे बार लगाइएको रहेछ । तर, ती पर्यटकहरूलार्इ फलामे बारको छेउँको माटो उक्काएर लैजान अनुमति दिए बापत पैसा लिंदै थिए । सुरक्षाकर्मीहरूनै पुरातत्व महत्वको स्थान नोक्सान पुर्याएको देख्दा अचम्म लाग्यो । साथै, बुद्धको शिक्षा मान्ने पहिचान पहिरनबाट झल्काउनेहरूले पैसा दिएर माटो लग्नेले कस्तो बुद्ध शिक्षा हासिल गरेका होलान ? भन्ने प्रश्न मनमा उब्जियो ।

पहिला पनि इन्टरनेट तथा यूट्यूब र पोडकाष्टमा पाएका जानकारी जस्तै थिए खण्डहरका अवशेषहरू । बाहिरि परत एक फन्को घुमेपछि हामी भित्र छिरेर कोठाहरू चाहर्दै हिड्यौं । एउटा इनारमा पर्यटकले पैसा चढाउने गर्दारहेछन् । आस्था र बुद्धका शिक्षाबीचका अन्तरविरोध थुप्रै भेटिंदै थिए । फलामका रड जोडेर बनाइएको जालीबाट इनारको पिंदमा नोट प्रष्टनै देखिन्थे ।

कोठाहरू चाहार्दै जाँदा हुज्यानले आफू बस्ने गरेको भनेर वर्णन गरेको कोठा पनि भेटियो । अरू कोठा भन्दा उक्त कोठा छुट्याउन सजिलै थियो । उनले सन् ६२९मा चिनबाट हिड्दै उक्त नालन्दा विश्वविद्यालयमा दिन विताएका विवरण लेखेका छन्। उनले लेखेको विवरण अङ्ग्रेजी भाषामा स्यामुअल बेलले अनुबाद गरेका कृतिहरू अक्सफोर्ड यूनिभर्सिटीमा छन् । तीनै कृतिहरू पढेर कनिम्घम तथा हडसनले विहारको त्यो क्षेत्रमा उत्खनन् गर्दा ती अवशेषर हुज्यानले वर्णन गरे जस्तै भेटिएका थिए ।

त्यस दिनको खण्डहर घुमाइ इन्टरनेटबाट ग्रहण गरेका विवरणलार्इ प्रत्यक्ष भोग्नु मै सिमित थिए । हुज्यानको कोठाको कुनामा भएको मान्छे बस्दा मात्र अटाउने कुनो भेटियो । त्यस्तो कुनो अरू कोठामा थिएन । हुज्यानले त्यो कुनमा बसेर ध्यान गर्ने गरेको विवरण लेखिछाडेका थिए । त्यहि भएर उनको कोठा त्यहि थियो भनेर चिन्न मुस्किल भएन । त्यो कुना भित्र पसेर अनुभव बटुलें । त्यो कुनामा चाकलमाडे बसेर ध्यन गर्न मन थियो । तर, भूइमा धुलो रहेछ। थचक्क बस्न मन लागेन । वातावरण पनि अहिलेको परिस्थितिमा त्यो कुनामा ध्यान गर्नु बुद्धिमानि हुने पनि लागेन ।

हुज्यानको कोठामा पस्न पाउनु र उक्त कुनो भित्र पस्नुले एक खालको आनन्द अनुभूत गरायो । ज्याकुवस डेरिडाले भने झै नालन्दा, बुद्ध धर्मको महायाना सम्प्रदाय, हुज्यान र उनका शिलभद्रका कुरा पहिलैदेखि मेरो दिमागमा रहेकाले त्यो आनन्दको अनुभूति गरिरहेको थिएं । नागार्जुनले ब्याख्या गरेको मुलमाध्यमिकाकारिका अन्तर्गत मानिसमा विकास हुने स्वभावका कुरा पनि डेरेडाले ब्याख्या गर्ने तर्कसङ्ग सङ्गति राखेकै ठान्दछु ।

संरक्षित क्षेत्रको माटो कोट्याएर लैजाने आस्थावानहरू पनि त्यहाँ भ्रमण गरेर आनन्द नै मानेहोलान । उनिहरूको सन्दर्भ गमेर चिन्तित नै भएर पनि मलाइ फाइदा हुनेवाला भने छैन । तर, उनिहरूले गरेको आनन्द भन्दा मेरो अनुभूति फरक प्रकारको थियो । कहिलेकाहिँ घोत्लने गर्छु र मनमा कुरा खेलाउँछु । साच्चै बुद्धले बाड्न चाहेको ज्ञान मेरो अनुभूति जस्तो होला ! कि भिक्षु पहिरनमा सजिएर त्यहाँबाट माटो लैजानेहरूको जस्तो आनन्द होला ?

यस्तै विचलित भाव बुझिने कृतिहरू पढ्दा असन्तुष्ट भएर हुज्यान चिनबाट बुद्धको असलि ज्ञान खोज्न नालन्दा पुगेका थिए । चिनमा उपलब्ध बुद्ध ग्रन्थहरू प्रदुषित हुनु पर्छ भन्ने उनले ठम्याए । त्यसैले सही ग्रन्थ पढेर सत्यता खोज्न उनी हिंडेका थिए ।

उनि त्यहाँ पुग्नु भन्द वर्षौ पहिला नै शिलभद्रले शाष्त्रार्थमा पण्डितहरूलार्इ जितेकाले केहि गाउँको कर त्यो शिक्षालय सञ्चालनमा राज्यले दिने गर्दथ्यो । त्यहाँ भर्ना पाउन गाह्रो थियो । योग्यले मात्र भर्ना पाउँथे । तर, दश हजार भन्दा बढि विद्यार्थीले निशुल्क छात्राबासमा खाने बस्ने पढ्ने गर्थे भनेर हुज्यानले उल्लेख गरेका छन् । उनले विहानमा गोरूगाडामा दुध घिउ लगात ताजा खाद्यपदार्थ उक्त महाविहारा परिसरमा पुग्ने पनि जनाएका छन् ।

साँझको छ बज्न केही मिनेट बाँकी हुँदा फूटबल रेफ्रिले बजाउने जस्तो सिटीको आवाज सुनियो । पर्यटकहरूलार्इ त्यो नालन्दा महाविहार परिसर खुल्ने समय समाप्त भएको जानकारी गराउने ध्वनि रहेछ त्यो । सुरक्षा गार्डहरू पनि सवै पर्यटकहरूलार्इ समय समाप्त भएकोले वाहिर जान भन्दै थिए । ती अवशेषहरू मोटामोटी हेरे पनि अझै केलाउने र हेर्ने रहर भने मेटिएको थिएन । हामीले पनि ती सुरक्षा गार्डहरूको सूचना अवलम्बन गर्नै पर्थो । हामी गेट बाहिर निस्कियौं । बिहारमा मदिरा निषेध रहेछ । बोकेर हिड्न तथा संकलन गर्न पनि मनाही रहेछ । मेरा सहयात्री साथीले भने टेम्पोवालासङ्ग दोस्ती गरेर ब्लायाकमा मदिरा किन्ने चाजो मिलाइ हाले । दिल्लीको भन्दा चार गुणा बढी पैसा तिरे ।

होटलका रिसेप्सन लगायतका ठाउँमा मदिरा निषेध गरिएको सूचना थिए । सूचनामा कडा कानून र सजायको प्रावधानबारे जनाइएको थियो । म दिल्लीबाट पटना यात्रा गरेको प्लेनमा पनि त्यो सूचना उद्घोष गरिएको सुनें । तर, खाने मुखलाइ जुङ्गाले के छेक्थ्यो र ! कालो बजारको धन्दा राम्रै फस्टाएको बुझ्न सहजनै रहयो ।

खण्डहरका इटाहरू अहिले बजारमा पाइने जस्तो एकै आकारका र कुना मिलेका थिएनन् । खण्डहर वरिपरिका पोखरीहरू त्यो विश्वविद्यालय निर्माणका लागि इटा बनाउन माटो निकालेको साक्षी बनेर बसेका रहेछन् । उतिबेला माटो गिलो पारेर हातैले थिचेर चेप्टो पारेको माटो पोलेर इटा बनाइएको भन्ने मेरो तर्क छ । अहिलेका इटा भने काठको साचोमा गिलो माटो हालेर चार कुना भएको चिल्लो इटा बनाइन्छ । तर, उतिबेला ती इटा बनाउन त्यस्ता साचा प्रयोग गर्ने प्रविधि विकास भएको थिएन ।

Leave a Review

Reviews (0)

No reviews yet. Be the first to review this blog!