Blog Details

cateringpal
गुफा भित्र छिर्ने अलि निहुरिएर छिर्न मिल्ने प्वाल देखियो । बुद्ध ध्यान बस्न मिल्ने ठाउँ खोज्दै भौतारिंदै जाँदाको अवस्थामा त त्यो प्वालभित्र अधेरो थियो होला । चमेराहरू थिए होलान । फोहोरो थियो होला । बाँदर, स्याल र अरू जनावर आएर गोबर्याएका पनि हुँदाहुन ।

बुद्ध ध्यान बसेको गुफा

19 Feb, 2025

बुद्ध ध्यान बसेको गुफा

त्यो डाँडाको फेँदैनिर भएको गुफासम्म पुग्ने मान्छेहरू थपिँदै थिए । अलि उकालो चढ्न पर्ने भएको हुनाले पालकी ब्यापार फस्टाएको रहेछ । हिड्न नसक्ने मान्छेहरू धर्म कमाउन गुफासम्म पुग्ने उद्देश्यले आफूलाइ बोकाउँदा रहेछन् । मान्छेका काँधमा बोकिएर भएपनि बुद्धले ध्यान गरेको गुफासम्म पुग्दा धर्म हुन्छ भन्ने विश्वास रहेछ । निर्वाणा प्राप्त भैहाल्छ भन्ने विश्वास गर्दारहेछन् ।

हामी टेम्पोबाट झरेपछि झुप्राहरूमा थापिएका पसलमा चिया खाने भनेर रोकियौ । त्यस दिन त्यहाँ पुग्ने हामी पहिलो चरणका यात्रु भएरपनि होला पालकीवालाहरूले हामीलाइ घेरे। हामी दुबैजना हिड्न सक्ने नै थियौं । तर, ग्राहक खोज्ने उनिहरूको फुरसदले गर्दा पनि त्यहाँ झुम्मिएका होलान । ६ वटा पालकी हाम्रा वरिपरि थिए । मनमा भने लक्ष्मिप्रमाद देवकोटाको 'यात्री' कविता याद आइरहेको थियो ।

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो?
मानिसहरूका काँध चढी कुन देवपुरीमा जाने हो?



मैले अजन्ताका गुफामा सभ्यता विकासको क्रम खोज्न जाँदा पनि धर्म खोज्न जानेहरू त्यस्तै पालकीमा चढ्ने गरेको देखेको थिए । म केदारनाथ तथा बद्रिनाथ पुगेको छैन । त्यहाँ जाने आफन्तजनले सुनाएको पालकीको प्रसङ्ग पनि उस्तै थिए । त्यसरि धर्म कमाउन पनि मान्छेलाइ बोकाउने मान्छेमाथिको कविको ब्यङ्गका रूपमा उक्त कवितालाइ बुझ्ने गरेको छु । इश्वरको नाममा गरिने शोषणमाथि उनले ब्यङ्ग गरेका त होलान भन्ने पनि लाग्छ ।

यस्ता ऐतेहासिक ठाउँमा कोहि धर्मका भावनाले पुगेका हुन्छन् । कोहि नयाँ ठाउँ पुगेर रमाउने र शोसल मिडियमा फोटो टास्न पुग्छन् । अरूलाइ म फलानो ठाउँ गएको छु भनेर फुर्ति देखान पनि पुगेका हुन्छन् । म जस्तै हविका रूपमा मानव सभ्यता विकासको क्रम पच्छाउँदै पुग्ने पनि हुन्छन् ।

झण्डै ती वर्ष अघि अजन्ताका गुफाको रेष्टुरेन्टमा एकजना विद्यार्थी भेटिएका थिए । उनी त्यहाँ ऐतिहासिक फाइन पेन्टिङ पच्छाउँदै पुगेका रेहछन् । उनी इश्लाम धर्मावलम्बी हुन । म दुइ दिनदेखि ती गुफा धुमिरहेको थिएं । बुद्ध धर्मावलम्बीहरूको लागि ती गुफाहरू तिर्थस्थल रहेछन भनेर मैले भन्दा ती विद्यार्थी छक्क परेका थिए । बुद्ध धर्मावलम्बीहरूले अजन्ताका गुफालार्इ तिर्थका रूपमा हेर्ने विषय उनले पत्यउन गाह्रो मानिरहेको जस्तो भान भयो । उनीसङ्ग बडो प्राज्ञिक कुराकानी पनि भएको थियो । उनैले हो मलाइ अजन्ताका गुफाको महत्व भारतको स्वतन्त्र सङ्ग्रामका कडीसङ्ग पनि केहि हदसम्म जोडिने गरेको जानकारी दिएको । रविद्रनाथ टैगोरले भारतको सभ्यता विकासमा भएको योगदान पुष्टि हुने अजन्ताका पेन्टिङलाइ महत्व दिन धेरै प्रयास पनि गरेका रहेछन् ।

मलाइ बोधगयाको त्यो गुफा हेर्ने मात्र थिएन । बरू त्यो पहाडको वल्लो टुप्पाबाट पल्लो टुप्पासम्म हिड्ने मन थियो । बुद्धले त्यो गुफा भेटेर ध्यान बस्न अघि त्यो पहाडमा गरेको अनुभव कस्तो थियो होला भन्ने अनुभूति गर्ने मन थियो ।

बुद्ध त्यो डाडामा हिड्दै गरेको समयको परिस्थिति कल्पना गर्न पुग्छु । राजपाट सम्हालेर पराक्रमी राजा बन्नु पर्ने दायीत्वबाट भागेका राजकुमारलाइ त्यो समयमा मान्छेले के भन्थे होलान ? सिद्धार्थलाइ कस्तो मुल्याङ्कन गर्थे होलान भन्ने अनुमान गर्छु । त्यो समयमा सिद्धार्थलाइ धेरैले हुतिहारा भनेहोलान । राजाको छोरो जोगी बन्यो भनेहोलान ।

बिलगेट्सले पनि यूनिभर्सिटीको पढाइ छाडेकोमा उनका आफन्तहरूले कुरा काटेहोलान । पछि उनले झन् ठूलो उपलब्धि पाउन साना सफलता त्यागेको विषय सर्वसाधारणले बुझ्ने कुरा पनि थिएन ।

बुद्धले ज्ञान प्राप्त गरे । अब समाजलाइ ज्ञान सिकाउँछु भनेर संघ नबनाउँदासम्म पनि तत्कालीन समाजले उनको कुरा काटेहोलान । श्रीमती र छोरो अनि प्रजाको भलो गर्नुपर्ने मान्छे कर्तब्य पुरा गर्नबाट भागेको आरोप अधिकांशले लगाए होलान । छिमेकी देशका पराक्रमी राजकुमारहरूको बहादुरी त्यो समयमा चर्चा गरिएहोलान । तर, कालन्तरमा ती पराक्रमी राजकुमारहरूलाइ सवैले विर्सिए तर बुद्धलाइ अहिले अति धेरै मान्छेले पच्छाइरहेका छन् ।

एउटा सामान्य जोगीले ज्ञान प्राप्त गरेको भए त्यसलाइ प्रचार गर्ने त्यति धेरै मान्छे हुन्थेनन् । राजाकै छोरोले घरबार त्यागेर ज्ञान मार्ग समाएकोले पछि भने उनलाइ विश्वास गर्ने धेरै भए होलान । मान्छेको स्वभाव नै कस्तो हुन्छ भने तार्किकतालाइ मान्यता दिने भन्दा पनि देखावटिले धेरै मान्यता पाउँछ । शिद्धार्थले हासिल गरेको ज्ञान ठूलो मानिएन पनि होला । बरू, राजपाट छाडेर तपस्या गरेको राजकुमारले ज्ञान हासिल गरेकोले अनुयायीहरू धेरै भएहोलान ।

समाज र त्यसबेलाका मान्छेले जसरि मुल्याङ्कन गरेपनि मनव कल्याणकोलागि नीति तय गर्नु बुद्धको महान कार्य थियो । ती नीति विस्तार गर्ने संघ बनाउने क्षमताका कारण शिद्धार्थ गौतमलाइ महान भने मान्नै पर्छ । अहिंशाको मार्ग तथा दर्शनबाट सुन्दर समाजको विकास योजनालार्इ प्रशंसा गर्नै पर्छ ।

दरबारको कर्तब्य निभाउन छाडेर भागेको मान्छे त्यो डाँडामा हिँड्दा के अनुभव भए होला ? त्यस समयमा उनको दिमागमा कस्ता विचार खेलेहोलान ? असुरक्षाको डरले पक्कै सताएहोला । चोर र डाँकाले उनीबाट लैजाने धनसम्पत्ति नभएकोले एक प्रकारले ढुक्क थिए होलान । तर, उनको मासु मीठो मान्ने जनावरको डर त थियो होला । भूतप्रेतको डर भन्नलाइ त उनी नै त्यसको खोजीमा हिँडेकोले त्यस्तो डर भने थिएन नै होला ।

मैले ती डाडामा चढेर हिड्ने इच्छा जाहेर गरें । ती झुप्राका पसले, टेम्पो चालक लगायतका स्थानीयले डाँडामा जाने बाटो नभएको र त्यता कोहि नजाने बताए । मैले इन्टरनेटमा खोजेको विवरण उनीहरूले भनेको भन्दा भिन्न थियो । माथिका डाँडामा भिच्छुहरू बसेका हुन्छन् भनेर लेखेको भेटेको थिएं । उनीहरूले खाना पनि खुवाउँछन् भनेर पनि लेखिएको थियो । बरू माथि डाँडामा पानी नहुने भएकोले पानी भने लिएर जान सूचना पढेको थिएं । मैले ती स्थानीयको भनाइ भन्दा इन्टरनेटको कुरालाइ विश्वासिलो मानें ।

मेरो डाँडा चढ्ने र हिड्ने इच्छामा हिडेरै साथदिन सहयात्री साथी तयार हुनुभएन । तर , मेरो डाँडामा चढ्ने इच्छाको विरोध पनि गर्नु भएन । त्यसपछि मम्फली मिसाएका बेकरि वस्कुट, नमकिन र पानी बोकेर म एक्लै उकालो चढ्ने निधो गरें । हाम्रा पछि लागेका पालकीवालसङ्ग तर्कँदै पहिला बुद्धले ६ महिना ध्यान बसेको गुफासम्म हामी दुबैजना पुग्यौ । गुफामा पुग्नेहरूको त भिड नै लागिसकेको रहेछ । गुफाका बाहिरपट्टी चट्टानसङ्ग जोडेर ढलान गरेका संरचनाहरू जोडिएका रहेछन् । पर्यटकहरू पुग्ने र पालो पर्खने गर्न थोरै फराकिलो बनाइएको रहेछ ।

गुफा भित्र छिर्ने अलि निहुरिएर छिर्न मिल्ने प्वाल देखियो । बुद्ध ध्यान बस्न मिल्ने ठाउँ खोज्दै भौतारिंदै जाँदाको अवस्थामा त त्यो प्वालभित्र अधेरो थियो होला । चमेराहरू थिए होलान । फोहोरो थियो होला । बाँदर, स्याल र अरू जनावर आएर गोबर्याएका पनि हुँदाहुन ।

अहिले भने घीउ र तेलका दियो बत्ती र आधुनिक विजुलीले उजेलो पार्ने प्रकाश फैलिएको थियो । मान्छेहरू धेरै जना एकै पटक पुगेकाले गुफाको भित्र जाने र बाहिर निस्कने मान्छेको लस्कर लागेको थियो ।

त्यो गुफासम्म नै ढलान गरेर बाटो सजिलो पारिएको रहेछ । पुग्नेबेलामा भने सिढी चढ्न पर्नेरहेछ । तलदेखि गुफा सम्म केबलकारको संरचना निर्माणाधीन देखियो । केबुलकार झुण्डिने तार तान्ने पोलहरू उभ्याउने ढलान निर्माणका कार्य धमाधम हुँदै गरेको देखें । हामी तौलिहवा बजारको स्कूल पढ्न जाने रामघाट खोलामा पुल बनेपछि डुँगा चलाउने मल्लाहहरू हराए । उनका डुँगाको ब्यापार हराएपछि उनीहरू त्यहाँ देखिएनन् । त्यस्तै गरी केबलकार चल्न थालेपछि पालकीमा मान्छे बोकेर गुफासम्म धर्म कमाइदिन पुर्याउने मान्छेहरूको रोजगारी पनि हराउने बुझियो ।

कार्लमाक्सका साथी एङ्गेल्सले म्यनचेस्टरमा आधुनिक स्वाचालित मेसिन चलाउन थालेपछि हाते तानो चलाएर जिविका गरेका साना ब्यवसायी विस्थापित भए झै पालकीवालाहरू विस्तापित हुने चिश्चित छ भन्ने भान भयो । तर, कसलाइ भन्नु र ! मनैमनमा गमें ।


पालो पर्खिएर गुफा भित्र छिरेर हेर्दा प्राकृतिक गुफा एक ब्यक्तिका लागि उपर्यूक्त कोठा जस्तै रहेछ । भित्र त सिधा ठिङ्ग उभिनै पनि मील्ने रहेछ । छिर्ने ढोका पारिको सिधा भित्तामा बुद्धको मुर्ति थियो । गुफा प्राकृतिक भए पनि त्यो मुर्ती मानव निर्मित हो भन्न कुनै शाष्त्र पढ्नु पर्ने ठानिन ।



छिर्ने ढोकाको दयाँ दानपेटिका र तिर्थालुबाट संकलन हुने अर्थ ब्यवस्थित पार्ने मान्छे बसेका थिए । भित्र छिर्ने धार्मिक यात्रुले निहुरिएर टाउकोले भूइ छुँदै बुद्ध मुर्तीलाइ ढोगेका देखिन्थे । कसैले के के भाषामा भुन्भुनाउँदै थिए । कोहि चुपचाप ढोग्दै थिए । उनीहरूले पनि मनमनै बरदान मागेका होलान भन्ने अनुमान गरें । उनलाइ मागेको बरदान अब बाहिरबाटै आफूलाइ प्राप्त हुन्छ भन्ने विश्वास थियो भन्ने म अनुमान गर्छु । सानो छँदा मैले पनि मन्दीरका भगवानलाइ चन्दन अक्षता र फूल चयाएर उताबाट आफूले मागेको बरदान प्रदान हुने विश्वास गर्थें । अहिले भने ज्ञान र बरदान अरूले दिने होइन, कर्म र परिस्थितिले निर्माण हुन्छ भन्ने विश्वास लाग्छ । खै, पहिलाको विचार ठीक हो कि अहिलेको विश्वास ठीक हो भन्ने त जान्दिन तर जहिले जे विश्वास गर्यो त्यसैमा रमाउँदा आनन्दित हुन्छु ।

बुद्धले त्यो गुफा सरसफाइ गरेर ६ महिनासम्म त्यहाँ विताउँदा के के प्राप्त गरे त थाहा भएन । तर, उनको मनमा खुबै कुरा खेलेहोलान ।


त्यो गुफामा मान्छेको आवत जावत यति धेरै थियो कि भित्र धेरै बेर रोकिन सम्भव पनि थिएन । पालै पालो एकजना निस्कँदा अर्को मान्छे पस्न पाउने हुनाले हामी पालै पालो निस्कियौं ।


त्यसपछि म डाडामा हिड्दै जाने र साथी तल गएर झोपडी चिया पसलतिर अल्मलिने सल्लाह भयो । हामी दुर्इका बीचमा भारतको एउटा सीमकार्ड मात्र थियो । त्यसैले भारतको सिमकार्ड भएको मोबाइल पनि मैले लैजाने भए । साथी टेम्पोवालासङ्गै हुने भएकोले सम्पर्क गर्न टेम्पोवालको नम्बर मसङ्ग हुने भयो ।

नभन्दै माथि डांडातिर निस्कने बाटो देखिएन । चट्यान जोडेर पिलर उठाएर बनाएका धर्मशालाको अलि उता ट्वाइलेट पनि रहेछ । भित्ता तिरको परखाल र ट्वाइलेट छेउँमा सानो ग्याप देखियो । त्यहाँबाट छिरेर उकालो गोरेटो तिर म उक्लिन थालें ।

Recent Blogs

Comments

Write comment »