Blog Details

cateringpal
अजन्ता जानु अघि सातौ सताब्दिदेखि सन् १८१९ सम्म किन गायब भए भन्ने खुल्दुली थियो । उता करिब सय किलोमिटर परका एलोराका गुफा किन मानव सभ्यताबाट गायब भएनन् त भन्ने चासो जागेको थियो ।

नालन्दा नियात्राः जनवरी १८, २०२५

04 Feb, 2025

नालन्दाः जनवरी १८, २०२५

नालन्दा महाविहार (विश्वविद्यालय)बारेमा जानकारीको श्रेय चिनका विद्यार्थी हुज्यानलाइ दिनुपर्छ । त्यसैले त महत्वका साथ हुज्यान मेमोरियल सेन्टर बनाएर नालन्दामा राखिएको छ । त्यहाँ उनको यात्राका चित्र, मुर्ती र जानकारी छरपस्ट पारिएका छन् ।

हामी विहान तुवांलोले घाम छेकेकै अवस्थामा होटलबाट निस्किंयौ । नालन्दाको खल्दुलीले हतार गराउँदै थियो । तर, खण्डहरमा पर्यटकका लागि गेट खुल्ने समय करिब तीन घण्टा बांकि थियो । हामीलार्इ त्यो ३ घण्टा धेरै लामो महसुस भैरहेको थियो । नालन्दा चोकमा गएर ठेलामा बेच्न राखेको चिया खाँदैगर्दा तुवांलोलार्इ जितेर घामको पहेंली किरणले हामीलार्इ पनि छोयो । स्थानीयको भनाइअनुसार चिसो हुस्सुले घाम ढाकेकै कारण केही हप्तादेखि त्यहाँको वातावरण निकै चिसो थियो ।

बास तथा झारपातले फ्रेम बनाएर माटो लिपेर बनाइएका देवी सरस्वतीका मुर्तीहरू तैयार भैसकेका थिएनन् । सायद अधुरा मुर्तीहरू सुकेपछि रङ्ग रौगन गरेर सजाएपछि विक्रि गरिने होलान । विक्री गर्न तयार गरिंदै थिए भन्ने एक प्रकारको प्रचार गर्न पनि त्यसरि पसल अगाडि छरपष्टै पारिएको रहेछ । सरस्वती पुजाको दिन नजिक हुँदै गर्दा विक्री गर्ने उद्देश्यले त्यसरी बनाइएका मुर्ती पटनामा पनि विभिन्न ठाउँमा देखिएका थिए । विहार र मिथिला क्षेत्रमा परम्परादेखि नै माटोका मुर्ती बनाउने र पुजा पश्चात विसरजन गर्ने परम्परा रहिआएको छ । मिथलाका चित्रकलाले बर्णन गर्ने पाटी पौवाका विवरण जस्तो ढुङ्गाका मुर्ती प्रसस्त भेटिंदैनन् । त्यसले होला विलियम डालरिम्पलले प्राचिन भारतले ज्ञानका भरमा सन्सारमा बर्चस्व कायम गरेको थियो भनेका छन्। हतियार र यूद्धका भरमा उपनिवेश बनाएर सभ्यता सिकाएको दावी गर्नेहरूका लागि उनका शब्द ब्यङ्गवाण जसरि विजाउँछन् । उनले द गोल्डन रोड भन्ने पुस्तकमा प्राचिन भारतमा प्रकृतिलार्इ बचाउनकै लागि ढुङ्गा काट्ने प्रचलन नभएको हुनसक्ने अनुमान पनि गरेका छन् ।

चोकबाट अगाडि बढ्दा गाउँले बजारमा तरकारी, किराना सामान र कपडाका पसलहरू भरखर खुल्दै थिए । बाटोछेउँको धुलो साम्य पार्न पसलेहरूले आफ्नो पसल अगाडि पानी छर्केका थिए । कतिपयले छर्कँदै पनि थए । अलि अगाडि पानीको अलि ठुलो भाँडोमा माछाहरू जिउँदै बेच्न राखिएका थिए । मुल बाटो भन्दा भित्र बस्तीको अवस्था हेर्न हामी एउटा गल्लीबाट छिर्यौ । त्यहाँ बजारको नभएर गाउँको रहनसहन देखिन्थ्यो । अर्को गल्लीबाट मुलबाटोमा फर्कियौं । धेरै पर गएनौ ।

हिंड्दै गर्दा बाटोमै नालन्दा महाविहारा विश्वविद्यालयको एउटा बोर्ड देखियो । पढ्दा प्राध्यापकहरूको आवास क्षेत्र रहेछ । परखालले घेरिएको क्षेत्रको गेटमा सुरूक्षाकर्मी थिए । त्यहाँका कुनै प्राज्ञलार्इ भेट्न पाउने हाम्रो प्रयास सफल हुन सकेन । तर, त्यो आवासक्षेत्र भएको र विश्वविद्यालय परिसर अलि अगाडि भएको जानकारी पाइयो । इन्टरनेटमा सूचनाको भिडमा त्यो विश्वविद्यालयको जानकारी मैले छुटाएको रहेछु । उक्त विश्वविद्यालय सन् १९५१ देखि नै सञ्चालनमा रहेछ । निकै प्रचार भएको र इन्टरनेटमा छ्यापछ्याप्ती भेटिने नयाँ नालन्दा विश्वविद्यालय करिव २५ किलोमिटर परको राजगिर कसवा(सबर्ब) नजिक पो रहेछ ।

नालन्दा विषयका खुल्दुलीको तिर्खा मेट्ने पहिलो घुट्की बन्यो त्यो जानकारी । अलि अगाडि बढेपछि खण्डहर गेट पुग्नुभन्दा पहिला नै हामी बायाँ मोडियौं । छेउँमा किराना र तरकारीको सानो पसल थियो । मटरकोसा फोकेर बेच्न राखेका रहेछन् । त्यहि हरियो मटर खादैं अघि बढेपछि बाटोको दयाँ बडेमानको पोखरी रहेछ । बायाँ पट्टि परखालले घेरेको विश्वविद्यालय परिसर देखियो । गेटमा पुग्दा सुरक्षाकर्मीले विदाको दिन भएकोले विद्यालय बन्द हुँदा भित्र जान नपाउने जानकारी गराए ।

तर, जुक्ति जुर्यो । कहिलेकाहीं पहिले दिमागमा नभएको तर चाहिंदा फ्याट्ट दिमाग फुर्छ नि, त्यस्तै भयो । क्यान्टिन कता छ ? त्यहाँ जान पाइन्छ ? भनेर सोधेको भित्र छिर्ने उपाय भैहाल्यो । आगन्तुकको रजिस्टरमा नाम लेखाएर भित्र छिर्यौ । क्यान्टिनमा पुग्दा विश्वविद्यालयमा भएका विद्यार्थी संख्या भन्दा अति धेरै माखा भन्भनाइरहेका थिए । चिया खाने बहान बनायौ । संयोग राम्रै परेछ । रिटायर्ड भएर पनि कार्यकाल थपिएका विश्वविद्यालयको लेखा विभागका कर्मचारीकै ब्यवस्थापनमा चल्दोरहेछ त्यो क्यान्टिन । बाहिर आंगनमा कुर्सी ल्याएर बसेर उनै लेखापालसंग कुराकानी हुन थाल्यो । त्यहाँ एउटा बेञ्चमा दुर्इजना पहिलादेखि नै बसेका थिए । एउटा डाक्टर र अर्का स्थानीय नेता रहेछन् ।

ती लेखापाल प्राज्ञ नभएपनि पाली, संस्कृत भाषा र बुद्धिष्ट ज्ञान, मेडिटेसन तथा अनुसन्धानकर्मीहरू माझ बसेर धेरै जानकारी राख्दा रहेछन् । 'विद्वान तो नहि है, लेकिन बनारसले रहते है' भन्ने पुरानो उक्ति जस्तै लाग्यो । उनी हाम्रोलागि निकै उपयोगी ठहरिए ।

मैले नालन्दा महाविहारको ऐतिहासिकताको विषय कोट्याए । ती लेखापालले भरर.. जानकारी पस्किन थाले । ती सवै मलार्इ पूर्व जानकारी भएका विषय थिए । तर, मजाले सुनें । उनको ज्ञानको भण्डारलार्इ सम्मान गरेको भान गराउँन चाहन्थे मैले । केहीवेर पछि उनि अलि मत्थर भए । मैले शिलभद्रको पहिलो पाठशाला तथा गुरूको बारेमा जिज्ञांसा तेर्साएं । उनको शीलभद्रको बारेको प्रतिप्रश्नमा हुज्यानका गुरूहुन भनेर मैले उत्तर दिएं । त्यसपछि उनले त्यहाँका प्रोफेसरहरूलार्इ फोन लगाएर सोध्न थाले । उसले उसलार्इ, उसले उसलार्इ गर्दै शीलभद्रका बारेको जानकारी भएको ब्यक्ति पत्तालगाउन उनले निकै प्रयास गरे । त्यो यूनिभर्सिटीबाट रिटार्यभैसकेका प्रोफेसर डा. उमाशंकर ब्यासलार्इ सवैभन्दा बढि जानकारी भएको टुङ्गो लाग्यो । उनि रिटायर्ड भएपछि पुर्खोली थलो बनारसमा बस्दारहेछन् । फोनमा उनीसङ्ग पनि कुरा गराइदिए । उनैले बराबरी पहाडका गुफामा पनि सम्राट अशोकले अक्षर लेखाएको जानकारी दिए । साथै शीलभद्रका बारेमा लामा तारानाथको 'हिस्ट्रि अफ बुद्धिजम इन इण्डिया' भन्ने किताबबाट जानकारी पाउने सल्लाह दिए ।

हाम्रो यात्रा नालन्दा पछि बोधगया र त्यसपछि बनारस सोझिदै थियो । तर, ब्यासजी भने हामी बनारस पुग्दा बम्बैमा पुग्ने कार्यक्रम रहेछ । उनीसङ्ग भेट हुन सकेन । एकै छिनमा ती लेखापालले नेपाली विद्यार्थी पनि त्यहाँ रहेको जनाए । त्यहीँबाट ध्यानका विषयमा विद्यावारिधी गरेकी महिलालार्इ उनले फोन लगाए । उनी पनि त्यहिं कयान्टिनमै आउँदै रहिछन् । भेट भयो । उनी काठमाण्डौकी नेवार्नी रहिछन् । क्यान्टिन नगिचको छात्रबासमा बसेका विद्यार्थीहरूलार्इ सिकाउन त्यहाँ पुगेकी अलि पिङ्क खालको बुद्धधर्मावलम्बीहरूको पहिरनमा सजिएकी थिइन उनी । उनैले त्यहीँबाट विद्यावारिधी गरेर त्यहीं कार्यरत भएका दार्जिलिङका एक नेपाली यूवालार्इ फोन गरिन । एकै छिनमा अमन पनि त्यहीं आए ।

अमनसङ्ग त हाम्रो राम्रो दोस्ती जम्यो । नेवारी भाषामा एउटा प्रोजेक्ट पनि गरेका प्रोफेसर डा. नरेन्द्र तिवारीसङ्ग मिटिङ पनि मिलाए । छुट्टिकै दिन भएपनि तिवारीजी आए र उनकै अफिसमा बसेर ज्ञानज्ञुनका कुरा पनि भए ।

वास्तवमा ती लेखापाल अशोक कुमारसङ्ग भेट्दासम्म पनि शिलभद्रको विषय कोट्उँछु भन्ने दिमागमा थिएन । वास्तवमा मेरो दिमागमा दुर्इ वर्ष अघि अतन्ताका गुफा धुमेपछि उब्जेको प्रश्नको धागो जोडिएर मेरो दिमागबाट शीलभद्रको नाम त्यसबेला फुत्त निस्किएको हो । अजन्ता जानु अघि सातौ सताब्दिदेखि सन् १८१९ सम्म किन गायब भए भन्ने खुल्दुली थियो । उता करिब सय किलोमिटर परका एलोराका गुफा किन मानव सभ्यताबाट गायब भएनन् त भन्ने चासो जागेको थियो ।

अजन्ता घुमेपछि भने ती गुफा शिक्षा केन्द्र रहेको निष्कर्शमा पुगें ।
यता शीलभद्रले शाष्त्रार्थमा पण्डितहरूलार्इ उछिनेर राज्यको कोष (कर)बाट विश्वविद्यालय निर्माण र सञ्चालनको स्रोत जुटाए । त्यही कालखण्डबाट अजन्ता मानव सभ्यताको पहुँचबाट गायब भयो । ती गुफामा आकासबाट परेको पानी सङ्कलन गर्ने कुला चट्टान भरि छन् । त्यो पानी ८ नं. गुफा तल भएको ठूलो टेङ्कीमा सङ्कलन गर्ने ब्यवस्था देखिन्छ । त्यसबाट त्यहाँ अजन्ताका विद्यार्थी र गुरूहरूलार्इ पानीको कमी पुष्टि हुन्छ । सन् ६३५ को अन्तिम देखि ६३६ भरि विश्वमा नै खडेरी परेको बैज्ञानिक पुष्टि भएको पाइन्छ ।

यो शिलसिलाले म अजन्ताको शिक्षा केन्द्र नालन्दामा सरेको हुन पर्ने निश्कर्षमा पुगेको छु । हुज्यानका गुरू शिलभद्र । शिलभद्रका गुरू धर्मपाल पच्छाउँदै गए मेरो सोंच पुष्टिहुने सम्भावना भएर मेरो दिमागमा फुत्त शीलभद्रको नाम जाग्यो । नभन्दै धर्मपालका गुरू दिग्नगा हुन । यो तथ्य पछ्याउँदै जाँदा जरो भेटिने आशा छ ।

जोशेफ वेल्सेरले नागार्जुन सतबाहना राजबंशमा सल्लाहकार रहेको जनाएका छन् । नागार्जुनको समयखण्डमा बुद्ध महायानीहरू सानो संख्यामा रहेको र पछि फैलिएको भन्ने तथ्यहरू भेटिन्छन् । उता सत्बाहना राजबंशले अजन्ताका गुफाका लागि आर्थिक सहयोग गरेका लेखोट पनि अजन्ताका गुफामा छन् । नालन्दा महायाना बुद्ध धर्मको अध्ययन केन्द्रका रूपमा स्थापित हुनुले अजन्ता र नालन्दाको तार जोडिएको सम्भावना पुष्टिहुने धेरै सम्भावना छ ।

Recent Blogs