म जन्मिएको गाउँको ५० वर्षअघिको, पानी भर्ने कुवाको प्रसङ्ग हो। तत्कालीन समयमा प्रविधि र प्रचलनअनुसार गाउँमा एउटा पनि ह्यान्डपाइप थिएन। तीन घण्टा हिँडेर सदरमुकाम पुग्यो भने छालाको वासर भएको ह्यान्डिलको भरमा पानी तान्ने चापाकल भेटिन्थे। मगध साम्राज्यको अगम कुवाको किंवदन्तीको समयदेखि नै कुवा पिउने पानीको मूल स्रोत थियो। त्यो प्रचलनलाई मैले भोग्दा हजारौँ वर्षदेखिको इतिहास बनेको थियो। हाम्रो गाउँदेखि ८ किलोमिटर पूर्वमा रहेको बुद्धले पानी पिएको इनारको अवशेष पनि त्यसैको साक्षी हो। तिलौराकोट उत्खनन गर्दा भेटिएको त्यो इनारको पानी २९ वर्षसम्म पिउँदै बुद्ध त्यहीँ हुर्किएका थिए।
उत्तर कुवा, बुटवलबाट ५० किमी पश्चिमको जङ्गलबीचको महेन्द्र राजमार्गबाट २५ मिनेट दक्षिण हिँड्यो भने पुगिन्छ। त्यो समयमा हाम्रो ७ सय घरधुरी भएको गाउँमा ५ वटा कुवा थिए। तर, खडेरी पर्दा सबैभन्दा गहिरो खनिएको पूर्वटोलको कुवा पनि सुक्थ्यो, तर उत्तर कुवामा पूरै गाउँलेले पानी भर्दा पनि पानी कहिल्यै सुक्दैनथ्यो।
कुवा खनाएर र बाटोमा फलफूलका रूख रोपेर धर्म कमाइन्छ भन्ने धारणा थियो।
दलित जातिका व्यक्ति त्यहाँ पानी भर्न पुग्दा एकछिन घैँटो लिएर कुवा परिसरबाट बाहिर निस्केर बठिनियाहरू(तरूनी उमेरका थारू केटी)ले छाडिदिन्थे। दलित जातिका महिला आउँदा उनीहरूले घैँटो लिएर कुवा परिसरको बाहिर एकछिन पर्खिरहेका हुन्थे। पानी भर्ने ब्यक्तिलार्इ फुर्सद भए तुरुन्तै छाडीदिन्थे, नभए आफ्नो पालो कुर्नुपर्थ्यो। अछुत जातिका मान्छे कुवाको परिसरभित्र पसेमा त्यहाँ भएका अरू जातका सबै घैँटा बिग्रिने भनेर घरभित्र लगिँदैनथियो।
९९ प्रतिशत थारू जातिको बसोबास भएको उक्त गाउँमा दलितले पालो पर्खेर अरूका घैँटा नबिग्रिऊन् भनेर कुर्दै गरेको चलन देख्थेँ। सायद, जानीजानी छोयो भने पाप लाग्छ र अर्को जन्ममा पनि अछुत जातिमा जन्म हुन्छ भन्ने डर उनीहरूको मनमा बसेको थियो होला। त्यसबेला म घटना देख्ने साक्षीमात्रै बनेँ। अहिले भने फरक ढङ्गले बुझ्न थालेको छु। विभेद त्यसरी जरा गाडेर बस्नुको कारण शिक्षामा पहुँच नभएकोले रहेछ। पढेका पण्डितहरूले जस्तो चेतना बाँडे, अनपढ गाउँलेको चेतना उस्तै बन्यो।
पानी भर्ने काम खास गरेर महिलाहरूको जिम्मामा हुन्थ्यो। गोरुको सानी-भूशा(घास र परालको मिश्रण) खाने हौदी र डुँडमा पनि पानी भर्नुपर्ने हुन्थ्यो। डुँडहरू भाँडा माझ्ने ठाउँमा सानासाना हुन्थे। धेरै गोरु हुने घरमा काठको मुढा ताछेर चारैतिरको बार छोडेका डुँडहरू हुन्थे। धान, गहुँ, मसुरोका भुसहरू हालेर गोरु, भैँसी, गाईलाई खुवाउन पनि हरेक दिन इनारबाट पानी ल्याएर भर्नुपर्ने हुन्थ्यो। वर्षामा भने खरको छानाबाट झरेको हल्का रातो हुने पानीलाई प्रयोग गरिने हुँदा महिलाहरूलाई अलि काम घट्थ्यो। तर, वर्षामा धान रोपाइँको चटारोले कामको भीडमा समय बच्ने भन्ने नै हुँदैनथ्यो।
राती ९ बजेसम्म ब्याडमा बिउ काढेर सुतेपछि कुखुराको डाकोदेखि व्यस्तता सुरु भइहाल्थ्यो। दिनभरि मानो छरेर भाकरी भर्ने समयको व्यस्तताको प्रचलन थियो। अहिलेको पुस्तालाई प्रविधिले सहयोग गरेको छ।
उत्तर कुवाको डिलमा सिमेन्ट लगाइएको थियो। सालको काठको जाली जस्तो बनाएर कुवामाथि काठ बिछ्याइएका थिए। कुवाको पानीमाथिको खाली भागमा कोठाहरू बनेका थिए। ती काठमा उभिएर डोरीले घैँटोमा सुर्के गाँठोले अड्याएका घैँटाहरू सुर्रर्र तल झार्दै गर्थे।
मेहनतको काम भएकोले कुवामा अलि बठिनियाहरूको लहरो हुन्थ्यो। बिहान र साँझको पानी भर्ने समय अहिलेको बिहान ९ बजेको र साँझको ५ बजेको ट्राफिकको लस्कर जस्तो हुन्थ्यो। तर, प्रचलन व्यवस्थित थियो। १० जनासम्मले एकैपटक पानी भर्न मिल्ने क्षमता थियो। तल पानीमा झरेका घैँटा भरिएपछि फुर्तीसाथ डोरी तान्दै घैँटा डिलको सिमेन्टमा अड्याइन्थ्यो। माटोका घैँटाको पिँधले घोट्दाघोट्दा घैँटो थपक्क बस्ने डोब बनेका थिए। कतिपयले त्यसरी भरिएका घैँटा एउटा टाउकोमा अड्याउँथे र अर्को घैँटो कोखिलामा हाल्थे। कोखिलाको घैँटोलाई हातको अँगालोले बाँधेर अड्याएका हुन्थे। अर्को हातमा भने त्यस खेपको पानी भरेर सकिएको भए, पानी भर्ने डोरी झुन्डिएको हुन्थ्यो। अर्को खेप पनि भर्नुपर्ने भए डोरी कुवामै छाडिन्थ्यो।
त्यो प्रचलन अहिलेका टिकटकले देखेर टिकटक बनाउन खोजे भने कम्तीमा आधा दर्जन घैँटा त फुटाउने थिए। तर, टाउकोमा राखिएको बिँडामाथि घैँटो अड्याउने कला सिक्न नसकेर रुनुपर्थ्यो होला जस्तो लाग्छ। तर, प्रविधिले त्यो रमाइलो हेर्ने सुविधा अहिलेका टिकटक युवायुवतीहरूलाई दिएन। बिचराहरू!
कुमालेकहाँबाट धानले साटेर ल्याएका माटाका चिल्ला घैँटा निजी सम्पत्ति हुन्थे। त्यसै गरी पानी भर्ने डोरी पनि महत्त्वपूर्ण सम्पत्ति हुन्थ्यो। कामको बाँडफाँड हुन्थ्यो। वर्षभरि चाहिने डोरीको जोहो गर्ने र बाट्ने जिम्मा पुरुषहरूको हुन्थ्यो। डोरीको जगेर्ना गर्न पुरुषको मेहनतले पुग्थ्यो। घैँटा किन्न कुमाललाई धान दिनुपर्थ्यो। नगदको चलन थिएन। तर, मेलामा भने नगदी कारोबार हुने गर्थ्यो। मेलामा बतासादेखि मट्टीतेल र फाली फरुवा किन्न पैसा चाहिन्थ्यो। बोरिया(बोरा)मा धान वा तोरी, दलहन केही बोकेर बजार जाँदा लग्यो, उतै बेच्यो र नगदीले किन्यो। बचेको खुद्रा पैसा अङ्गोछाको छेउमा बाँधेर किसनवा (घरको मूल पुरुष) घर फर्कन्थे।
त्यो कुवामा बज्ने चुराको झन्कार गजबको हुन्थ्यो। कन्सर्टमा बज्ने धेरै बाजाहरूमध्येको अर्को बाजाको स्वर जस्तो पानी तान्ने डोरीको सरसराउने आवाज आउँथ्यो। डोरीले घोट्दाघोट्दा इनारमाथिको काठमा घाट बनेको थियो। घैँटोले पानी छुँदाको छल्याङ्ग गरेको आवाज बडो मीठो सुनिन्थ्यो।
घैँटो सहजै पानीमा डुब्दैनथ्यो। ती पानी भर्ने बठिनियाहरूको डोरीको माथि समाएको भागबाट एक झट्का दिन्थे। झट्काको असरले घैँटो डुब्थ्यो। घैँटोको घाँटीमाथि अलि मोटो माटोको भाग हुन्छ। पानीमा सुर्के गाँठाको हल्का झट्का दिने उनीहरूको कला गजबको हुन्थ्यो। त्यो सिक्न पनि अहिलेका युट्युबरहरूलाई महिनौँ लाग्ला। तर, सिक्ने अवसर पाउने अवस्था रहेन।
ढल्केको घैँटोमा पहिले थोरै पानी भित्र पस्छ। त्यसको स्वर फरक हुन्छ। जति भरिँदै जान्छ आवाज त्यति नै फेरिँदै जान्छ। पानी भरिएपछि घैँटाको मोटाएको पुटुस्सको भाग पानीमा डुब्छ। तरुनीले माथिबाट तानेको डोरीमा मख्ख पर्दै घैँटो खुला हावामा निस्कन्छ। भाग्यमानी घैँटो तरुनीका छातीको हल्का दबाब खेप्दै काखमा च्यापिन्छ। अभागी घैँटो टाउकोमाथि हलचल नगरी थपक्क अडेर घर पुग्छ। कुनै घैँटोको पानी हौदीमा खनाएर खाली भएपछि फेरि कुवा पुग्छ। अरू सबै भरिएपछि भान्साको छेउमा पुगेर घैँटो चुपचाप बस्छ।
उत्तर कुवा मभन्दा धेरै जेठो छ। गाउँको हरेक सल्लाह गर्न महिनौँपिच्छेजस्तो भेला हुन चौकीदारले हाँक हाल्थे। हरेक घरबाट प्रतिनिधि त्यहाँ जुट्नैपर्थ्यो। छलफल हुन्थ्यो। निर्णय गरिन्थ्यो।
धानको रोपाइँ गर्न पानी नपरेर खडेरी परेको भए अर्को गाउँका भलादमी समातेर ल्याउने निर्णय पनि त्यस्तै सभाले गर्थ्यो। गाउँमा जारी छिनोफानोदेखि उडरिया(पोइछाडी अर्कैसङ्ग भाग्ने तरूनी)को निर्णय पनि त्यही सभाले गर्थ्यो।
म सानो हुँदासम्म गाउँका अघरिया(अगुवा)को घर पनि उत्तर कुवा नजिकै थियो। त्यसैले पनि धेरैजसो भेला त्यहीँ हुन्थ्यो। भेला हुन अलि फराकिलो ठाउँ पनि त्यहीँ थियो। भेलामा जम्मा हुनेहरूको गतिविधि मौसमअनुसार फरक हुन्थे। वैशाख जेठ महिनामा कतिपयले जाल बुन्ने लट्ठी लिएर घुमाउँदै हुन्थे। त्यसको हल्का आवाज रसिक हुन्थ्यो। कसैले बठिनियाहरूले कुवामा जाँदा चाहिने डोरी बनाउन बाबियो बाट्दै गरेको देखिन्थ्यो।
ए, साँच्चै! झन्डै बिर्सेको, अर्कोथरीले वर्षामा ओढ्ने छतरी बनाउने बाँस ताछ्दै गरेका हुन्थे। बाँसका ताछिएका कप्टेरा मिलाएर भरलाका पात हालेर छतरी बनाउँथे। सायद सालको पातभन्दा भरलाको पातलाई पानीले कम गलाउने भएर होला, भरलाको पात धेरै प्रयोग भएको देख्थेँ। यदाकदा सनको पटुवाले गोरुका नथिया र लाडिवान गोरुका डोरी पनि बाट्दै गरेको देखिन्थ्यो।
पुनर्जन्ममा विश्वास गर्ने हो भने अष्टावक्रको पुनर्जन्मका रूपमा प्रोफेसर हकिन्स र दार्शनिक किर्केगार्डलाई महसुस गर्न सकिन्छ। रामकै पुनर्जन्मका रूपमा नरेन्द्र मोदीलाई बुझ्ने गरेका मान्छे भारतमा भेटिन्छन्। त्यस्तै गरी कृष्णका पात्रको बिम्ब बनाएर विभिन्न कृति लेख्नेमा कृष्ण धराबासी पनि पर्छन्। कृष्णहरू हरेक पुस्ताले भेटाएको हुन्छ । कुनै पुस्ताले अमेरिकामा ट्रम्पका रूपमा शक्तिशाली बनेको पनि भेट्न सक्छ। मेरो बाल्यकालमा भेटेका कृष्णहरू भने हरिलठ्ठक भएको पनि भेटेँ।
त्यस्तै थियो मेरो बचपन। बडो रमाइलो थियो। धतङ्गा साथीहरूको उट्पट्याङ पनि याद आयो। उट्पट्याङ कृष्णको कुरा गर्दैछु। कुवाको दक्षिणपट्टि एउटा सामाजिक झुपडी थियो। छानो खरको थियो, भित्ता काठ र ठाँटले ठड्याएर माटोले लिपिएको थियो। भित्र हावा र प्रकाश छिरोस् भनेर ५ हात जति टाढा पारेर सानो मुठी छिर्नेजस्ता गोला प्वालहरू थिए।
कोठामा हल्का प्रकाश हुँदा बाहिर घाम ताप्दै गरेको मान्छेले भित्र देख्दैन। तर, बाहिरभन्दा अझै चहकिलो प्रकाश कोठामा छ भने कोठाभित्रका सबै गतिविधि छर्लङ्गै देखिन्छन्। त्यस्तै घटना सुनाउँदैछु।
कुवामा नुहाएर बठिनियाहरूले ती प्वालको ख्याल नगरी लुगा फेर्थे। धतङ्गा केटाहरूले भित्रबाट त्यही प्वालबाट 'बाइस्कोप' हेर्न पर्खिरहेका हुन्थे। बाइस्कोप देखेको बठिनियाहरूले थाहा पाउँदैनथे भनेर मेरा दौँतरीहरूले धाक जमाउँथे।
© www.amaaba.org