थोरै समयमात्र बुध्द बसेको लुम्बिनीमा चहलपहल छ । लुम्बिनीमा छउँन्जेल उनको नाम शिध्दार्थ भन्ने पनि जुरेको थिएन । सनातन परम्परामा जन्मिएको ११ दिन पछि बल्ल नाम राखिन्छ । २९ वर्षसम्म त उनी पनि सुध्दोधनका खटनपटनको सनातन परम्परागत संस्कारमा बाँधिएका थिए । उनी बचपनदेखि किशोर अवस्थासम्म रमाएको तिलौराकोट ओझेलमा छ । यूनेस्कोले तिलौराकोटलाइ विश्वसम्पदा सूचिमा राखेको छैन । त्यसैले ओझेलमा परेको भन्नु पर्छ ।
बुध्द दर्शनलाइ सवैभन्दा राम्रोसङ्ग बुझेका भनेर स्वयं बुद्धले मानेका प्रथम शिष्य हुन सारिपुत्र । लुम्बिनीमा सरिपुत्र फाउण्डेशन नामको संस्था पनि छ । लुम्बिनीमा सरिपुत्र फाउण्डेशनको सक्रियतामा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव हालै सम्पन्न भयो ।
आस्थावान र सरकार दुबैले तिलौराकोटलाइ त्यति धेरै महत्व दिएको देखिंदैन । तर, लुम्बिनीलाइ विशेष महत्व दिनुमा गौतम बुध्द नै जिम्मेवार छन् । महानिर्वाणाको समय घर्कँदै जाँदा शिष्यहरूले “बुध्दलाइ सम्झने कसरि” भन्ने प्रश्न गरे । उत्तरमा बुध्द विचार विकास हुनमा जिवात्मा उत्पन्न भएको लुम्बिनी लगायतका ४ स्थान महत्वपूर्ण हुने बताए । ती चार स्थानमा तिलौराकोट नपर्नुका कारणले गर्दा पनि ओझेलमा परेको हो । बुध्दत्व प्राप्त गरेको बोधिबृक्ष रहेको बोधगया, बुध्दज्ञान शिष्यलाइ सिकाउन सुरू गरेको स्थान बनारसको सारनाथ र महानिर्वाणा प्राप्त गरेको कुशिनगर चार स्थान अन्तर्गत पर्छन् । ती चार स्थानलाइ बुध्द दर्शनलाइ आदर्श मान्नेहरूले जीवनमा एकपटक पुग्नै पर्ने चारधामका रूपमा मनन् गर्छन् ।
कपिलबस्तुका सर्वसाधारणलाइ जस्तो शिध्दार्थ गौतमलाइ पारिवार पाल्ने खर्च जुटाउनै पर्ने समस्या थिएन । त्यसैले गर्दा ज्ञानको खोजिमा दरबारबाट भाग्न उनलाइ सहज भएको हो त ? जीव विज्ञानमा विश्लेषण गरिने कोशिका(जीन)को म्यूटेशनका कारण राजघरानाको परम्परा गौतम बुध्दले तोडेका हुन त ? राजपाट सम्हालेर प्रजाको हित गर्ने जिम्मेवारीबाट भागेको आरोपका तीखा बांण पनि तत्कालीन समाजले पक्कै चलाए होला ।
बुध्दत्व प्राप्त नगर्दै ती आलोचना खप्ने सहनशीलता शिद्धार्थलाइ कसरि प्राप्त भयो ? भन्ने मन्थन पनि गर्न सकिन्छ । छिमेकी राज्यहरूका राजकुमारहरूको पराक्रमसङ्ग कपिलबस्तुका राजकुमारको तुलना पनि गरिए होला । त्यो समयका पराक्रमीहरूको कथा हराएर गए । भगुवा राजकुमारका विचार अहिले संसारभरिका दिग्गजहरू छलफल गर्छन् । विश्व शान्ति कायम गर्न बुध्ददर्शनलाइ बुझूने र बुझाउने प्रयास गर्छन ।
बुध्दलाइ सम्झने चार स्थान बताएका स्थानको महत्वलाइ मनन् गर्दा भौतीक अस्तित्व गौंण मानेको देखिन्छ । विचारलाइ नै उनले प्राथमिकता दिएका थिए । विचार दर्शनको महत्व दर्शाउने सन्देशका रूपमा चार स्थानलाइ बुझ्न सकिन्छ । भौतीक समृश्रणबाट चेतनाको उत्पत्तीका रूपमा लुम्बिनीको महत्व हुन जान्छ । दयानन्द सरस्वतीले ऋग्वेद ब्याख्या गर्दै हिरण्यगर्भ मण्डलमा दिएको अण्डाको उदाहरण मिल्दोजुल्दो पाइन्छ ।
अध्ययन एवं मननबाट ज्ञान प्राप्त हुन्छ र अन्तैबाट दिमागमा ज्ञान पस्दैन भन्ने बोधिबृक्षको सन्देश देखिन्छ । मानवकल्याणको ज्ञान विस्तार गर्नु बोधिसत्वका रूपमा सारनाथलाइ बिम्बका रूपमा बताएको बुझिन्छ । समय सापेक्ष ज्ञान चरणको एक विन्दूका रूपमा कुशीनगरलाइ जनाएका छन् ।
कणांत ऋषिका जमानासम्मको ‘अणु’ ज्ञान अहिले क्वान्टम, फोटोन, स्ट्रिङ थ्यौरी, क्वार्क, डार्क इनर्जी एवं सापेक्षताको शिध्दान्तको चरणमा पुगेको छ । बुध्द बिचारलाइ पनि मानव ज्ञानको अनुपातमा नै मानव दुखः कम गर्ने उपायको खोजिमा विश्लेषण गर्न जरूरी हुन्छ ।
आधुनिक विज्ञानको विश्लेषण गरेर पनि यस विषयलाइ मनन् गर्न सकिन्छ । डेभिस डेविचले ‘फेब्रिक्स अफ रियालिटी’ भन्ने पुस्तकका माध्यमबाट विज्ञानको सेन्थेसिसको रूपमा अन्तिम सत्यको ब्याख्या गरेका छन् । मानव मस्तिस्कले बुझ्ने सत्यताको लहर र समृश्रण भित्र बुध्दको दार्शनिक पक्षलाइ रिचर्ड डवकिन्सले विज्ञानको लेप दलेका छन् । द शेल्फिस जीन नामको पुस्तकमा उनले गरेको ब्याख्याले बुध्दका तर्कलाइ पुष्टि गर्छन् । डेभिस एवं रिचर्डका विज्ञान पुस्तकमा र बुध्दको दर्शन भित्र अमर आत्माको अस्तित्व भेटिंदैन । हिन्दू धर्मावलम्बी कहलिने सम्प्रदायले भन्ने गरेको अमर आत्माको अस्तित्वलाइ दुबै कोंडबाट इन्कार गरेको पाइन्छ ।
बुध्दले विवेकी शिष्य शरिपुत्रले बोधिसत्वको अर्थ राम्रोसङ्ग बुझेको भन्दथे । शरिपुत्रले शिष्यलाइ बोधिसत्वका विषयमा राम्रोसङ्ग सिकाउन सक्ने मान्दथे । चार धाम मध्येको लुम्बिनीमा सरिपुत्र पुगेको तथ्य कतैबाट पनि पुष्टि हुँदैन । त्यसबाट उसबेलाको बुध्द विचार र अहिलेको भौतीक रूपमा देखिने बुध्दत्व ब्याख्याकाबीच लामो दुरी बनेको छ । अरहट(जन्म-मृत्यूको चक्रबाट मुक्ति पाउनु) र बोधिसत्व(अरहट प्राप्त गर्न सिकाउने गुरू)बीच काल्पनिक रेखा खिचेर थेरवादी र महायानी सम्प्रदायको भागबण्डा लागेको छ । अहिलेको बैश्य यूगमा बुध्दको अहिंशाको विचार र उनका शिष्यले अगाडि बढाएको ज्ञान समृध्दि प्राप्तिमा प्रयोग गर्ने होड चलेको छ । बुध्द विचारलाइ नागार्जुनले ब्याख्या गरेको मध्यमकारिका ब्यापार घरानामा मुल मन्त्रका रूपमा प्रयोग भएको पनि पाइन्छ ।
भिच्छु नभएर पनि अरहट हासिल हुने उदाहरण जीवक (चिकित्सक)को प्रसङ्गबाट पनि बुझ्न सकिन्छ ।
लुम्बिनीमा मात्र हैन सम्पूर्ण मानव जगतमा अहिंसाको दर्शन गन्तब्य हुनुपर्छ । बैज्ञानिकको भनाइमा सेल्फिस जीनले आफ्नो अस्तित्व बचाउन संघर्ष गर्छ । मानव घमण्डले अरूलाइ तुच्छ देखाउन र आफू नै उत्तम भन्ने दर्शाउन खोज्दा हिंसा भैरहन्छ । त्यहि हिंसा दुख्खको कारण हो भन्ने बुझ्न बुध्दलाइ अहिलेको विज्ञानको उपलब्धि चाहिएको थिएन । घमण्डीहरूले विज्ञानको उपलब्धि दुरूपयोग गर्नुले बुध्द दर्शनको महत्व झन बढाउँदै लगेको छ ।
बेदान्त अन्तर्गत अद्वेतवादीले गर्ने ऋग्वेदको हिरण्य गर्भ विषयको ब्याख्या र बुध्दको चिन्तनबीच फरक भेटिन्न । दयानन्द सरस्वतीको सत्यार्थ प्रकाश र ऋग्वेदको हिन्दी अनुवादले त्यसलाइ पुष्टि गर्छन् । नागार्जुनले जसरि सुन्यवादलाइ ब्याख्या गरेका छन् त्यसरि नै शंकराचार्यले ‘ब्रम्ह सत्य जगत मिथ्या’को संज्ञा दिएका छन् । बुध्दले त कतै पनि आफूलाइ सामान्य मानिस भन्दा फरक बताएका छैनन् । सरिपुत्र वा मौदगल्यायन जस्ता उनका विश्वासीला शिष्यहरूले बुध्दलाइ जन्मँदै सात पाइला हिँडेको बताएका छैनन् । तर, लुम्बिनीको पुनर्निर्मित मायादेवीको मन्दिरमा भएको पुरानो मन्दिरमा सेतो मार्बलमा सात पाइला कुदेको एउटा मुर्ती थियो । अहिले मायादेवी मन्दिरदेखि पूर्वको विहारमा त्यो मुर्ती राखिएको छ । कालान्तरमा जातक कथाहरू थपिँदैजाँदा त्यस्ता मुर्तीहरू र लुम्बिनी परिसरका भब्य विहार लगायतका संरचना बनेका छन् ।
लुम्बिनीको वास्तविकता र महत्व बोकेको बस्तु एउटा ढुङ्गो (मार्कर स्टोन) हो । बुध्द जन्मिएको ठाउँ चिनाउने सम्राट असोकको स्तम्भले त्यो ढुङ्गो भेटाउन र चिनाउन मद्दत पनि गरेको छ । त्यो ढुङ्गोको विषयमा कुनै ग्रन्थमा उल्लेख भएको पाइँदैन । पुरातत्वविद् बसन्त बिडारी भन्नुहुन्छः पुरानो जीर्ण मायादेवी मन्दिर भत्काएर उत्खनन् गर्दै जाँदा त्यहाँ यो ढुङ्गो भेटिएको हो । राजा शुध्दोधनले छोरो जन्मिएको ठाउँ खोज्दै आउँदा चिन्हाउन स्थानीय गाउँलेहरूले राखेको ढुङ्गो हो त्यो मार्कर स्टोन ।
लुम्बिनीको महत्व खोज्न जानेहरूले मायादेवीको मन्दिर भित्र काठका फलेकमा उभिएरै देखिने गरी त्यो ढुङ्गो राखिएको छ । उक्त ढुङ्गालाइ जस्तो अवस्थामा थियो त्यस्तै अवस्थामा देखिने गरी राखेर संरक्षण गरिएको छ ।
शिध्दार्थ गौतम जन्मिँदा अहिलेका चर्चित बुध्द थिएनन् । अहिलेका आस्थावानहरूले भगवानका रूपमा चिन्ने शिशु थिएनन् । त्यसैले बुध्द जन्मिएको ठाउँ भनेर त्यो ढुङ्गो त्यहा राखिएको हैन । राजाको छोरा जन्मिएको ठाउँ यो हो भनेर चिनेने गरी त्यो ढुङ्गो राखिएको थियो । बुध्दले निर्वाणा प्राप्त गरेको केही सय वर्षपछि गौतम बुध्द जन्मेको ठाउँ खोज्दै सम्राट अशोक त्यहाँ पुगे । बाजेबजैले मायादेवीले बच्चा जन्माएको ठाउँको प्रसङ्ग सुनाएका बुढाबुढीहरू त्यतै भेटिए । उनीहरूको भनाइलाइ विश्वास गरेर अशोकले बुध्दको जन्मस्थान चिनाए । स्तम्भ खडा गरेर स्थानीयको कर माफ गरेको शिला लेखका विषयमा विवाद देखिन्न ।
बुध्द गुरू बनेर सिकाउन खोजेको कुरा बुझ्न सक्ने उत्तम शिष्य शरिपुत्र थिए । बुध्दको शिक्षा जगतमा विस्तार गर्नमा सरिपुत्रको स्थान अग्रणि स्थानमा छ । भिच्छु स्याङ्ज्यान चिनबाट सन् ६२९मा भारत गए । नालन्दामा १०६ बर्षका शीलभन्द्रको चेलो बनेर ग्रन्थ संकलन गर्दै अध्ययन अध्यापन गरेका थिए । सन् ६४५मा फर्किएका उनका ग्रन्थहरू श्यामुएल बेलले अङ्ग्रेजीमा उल्था गरेका पुस्तक अक्स्फोर्डको पुस्तकालयमा राखिएको थियो । त्यो पढेर कनिङ्घमले विहारमा उत्खनन गरेर नालन्दा विश्वविद्यालयको अवशेस फेला पारे ।
स्याङ्जानले सरिपुत्रको नाममा नालन्दा विश्वविद्यालय परिसरमा स्तुपा भएको उल्लेख गरेका छन् । त्यसबाट बुध्दको जिवनकालदेखि नै नालन्दामा बुध्द शिक्षा अध्ययन अध्यापन गर्न थालिएको र पछि कालान्तरमा विश्वविद्यालयका रूपमा विस्तार भएको विश्लेषण गर्न सकिन्छ ।
राजा हर्षवर्धनले आयोजना गरेको शाष्त्रार्थमा शिलभद्रको तर्क कसैले खण्डन गर्न नसकेपछि एकसय गाउँको कर उनले विश्वविद्यालयलाइ दिएका थिए । त्यहि खर्चबाट शिक्षक र विद्यार्थीलाइ निशुल्क खाना, क्षात्रबास लगायतको ब्यवस्था भएको पनि स्याङ्ज्यानले उल्लेख गरेका छन् । बुध्दको महायान शिक्षा विस्तार गर्ने श्रेय शीलभद्रलाइ दिने गरिन्छ ।
© www.amaaba.org