Blog Details

cateringpal
काम गराइको प्रसङ्गः

राष्ट्रिय परिचयपत्र अनुभव र अनुभूति

09 Feb, 2024

राष्ट्रिय परिचयपत्र अनुभव र अनुभूति



सेवाग्राही बनेर दुइ नारी र एक पुरूष अधिकृतको काम गराइको चेतना बीचमा भोगेको फरक मनन् योग्य रह्यो । विदेशमा सेवा प्रदान गर्ने नारी अधिकृत र स्वदेशका नारी अधिकृत बीचको काम गराइमा मेरो भावना ब्यक्त गर्न पनि मन लाग्यो ।

विगत २५ वर्षका बीचमा महिला सशक्तिकरण अभिबृद्धि भएको महशुस गरें । हुन त बानिरा गीरीले 'कारागार' उपन्यास लेख्दाको समय खण्डमा पनि महिला अधिकृत थिए । तर, त्यस समयमा महिला अधिकृत भेट्नु 'स्यालको सिङ' वा भनु 'नागको मणि' भेट्नु जस्तै थियो । सम्भ्रान्त परिवारमा सीमित थियो । पुरूषको हैकम प्रबृत्तिलाइ तत्कालीन कानूनको ३५ वर्ष पुगेपछि छोरीले अंश पाउने विषयबाट बानिराले विभेद विरूद्धको विद्रोह दर्शाएकी छन् त्यो उपन्यासमा। अहिलेको संविधानले लैङ्गीक समानताको परिकल्पना गरेको छ । त्यो यूगमा सर्वसाधारण नारीले स्कूल पढिहाले पनि ब्यक्तित्व विकासलाइ हुन्थेन (अपवाद वाहेक) । अलि राम्रो बर पाउने आशाले मात्र पढ्थे । बानिराले भोगेको क्यामुको नियोलिजमका दर्शन नगिचको चेतना अपवाद मात्र थिए । गाउँ घरको प्रचलन थिएन ।

अहिलेका नारी अधिकृतहरू गाउँ घरका सामान्य परिवारबाट हुर्केका भेटिए । २० वर्षदेखि नै अधिकृत भएका आफन्त नारीहरू ब्यक्तित्व विकास भन्दा पनि बढि जिम्मेवारीको बोझले बढि थिचेको देख्थें । अहिलेका नारी अधिकृत अलि फूक्का महशुस भयो ।

काम गराइको प्रसङ्गः

दुइ दिनको भोगाइमा महिला अधिकृत र पुरूष अधिकृतको प्रवृत्तिमा फरक भेटें । मेरो प्रसङ्ग लम्बिनुको कारण नागरिकता प्रमाणपत्र पुरानो हुनु थियो । त्यही विषयलाइ पुरूषले कसरि बुझे र नारी अधिकृतले कसरि बुझे भन्ने भावनाले केही लेख्न मलाइ बाध्य बनायो । नारी अधिकृतहरू बोल्ड भेटिएकोमा हृदय गदगद भयो । तर, चेतनामा सुधार गर्न सुझाव दिनु पर्ने महशुस गरें ।

काम गर्दा निर्धारित विधि र प्रकृयाका साथमा तार्किकता मिश्रण हुँदा उत्तम हुन्छ । निर्धारित पद्दति अवलम्बनमा कठोर बन्नु राम्रो हो । तर, कार्य सम्पादन अतार्किक भयो भने निष्परिणाम हुन्छ ।

मेरो पुरानो नागरिकता झुत्रो भनेर भन्न नमिल्ने त होइन तर आवस्यक विवरण प्रष्ट भएको र पासपोर्ट निकालेका छापहरूले पुष्टिगरिरहेका तथ्यहरूलाइ तर्कपुर्ण ढङ्गले विश्लेषण गर्नसक्ने क्षमता नारी अधिकृतमा भेटिएन । तर, पुरूष अधिकृतमा त्यो क्षमता भेटें । हुन त तीन अधिकृत बीचको अनुभवबाट निर्णयमा पुग्नु उपयूक्त नहुन सक्छ र यो भावना धेरै अधिकृतमा अनुसन्धान हुनसके राम्रो हो । तर, प्रवृत्ति बुझ्ने एउटा पुर्ण झलक भने हो । मेरो ब्यक्तिगत काम बन्नुले म पुर्वाग्रही भएर विश्लेषण गर्न पुग्छु कि भन्ने सचेतना सहित म यो लेख्दैछु ।

दिन १: चिनेजानेकासंग सोध्दा स्थानीय पालिका वा प्रशासन कार्यालय जहाँ बाट पनि रााष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ भन्ने सुनें ।

सहजै हुन्छ जस्तो पनि लाग्यो । शोसल मिडियामा कसैले सहजै बनेको भन्ने र कसैले समस्यामा परेको भनेर लेखेको संझिएं । त्यसैले पनि मेरो अनुभव शेयर गर्न थालेको हुँ:
ल त एप्लाइ गर्न पर्यो भनेर इलाका प्रशासन कार्यालय पुगें । सूचनापाटी अनुसार कोठा न. ७ मा रहेको फाँटमा पुगें । अनलाइन फारम भर्नु पर्छ भन्दै कर्मचारीले गुगल गरेर enrollment हानेर खोज्नुस भन्नु भयो । मलाइ गुगलमा खोज्न सिकाउने प्रकृया चित्त बुझेन । कारणः कसैले सशुल्क विज्ञापन नगर्दासम्म त सरकारी साइट सुरूमा पनि देखाउला तर, ... अन्य प्रसङ्ग जोडिन्छ भन्ने लागेर त्यसरि गूगलमा खोज्न भन्नु अनुचित हो भन्ने लाग्यो । वेवफर्म भरेर प्रिन्ट गरेर लिएर जानु पर्ने रे । के प्रविधि होला अचम्ममा परें !! वेव फर्मको डाटा त सबमिट हुने भए त प्रिन्ट नै किन ? डाटा सबमिट नहुने भए सर्वसाधारणले भर्नै नसक्ने वेवफर्म भर्न लाउने किन ? भर्न सरकारी सहयोग पनि छैन ।

मैले एड्रेस बारमा टाइप गर्ने वेव एड्रेस मागें । कर्मचारीलाइ मेरो कुरो अनौठो लागेछ । आनाकानी पछि वेवएड्रेस दिए ।

के के कागज चाहिन्छ भनेर सोधपुछ गर्दाः नागरिकताको सक्कल प्रति र विवाह दर्ताको कागज भने । अनि नागरिकता देखाउन भने । मैले मेरो सक्कल नागरिकता प्रति दिएं । "ल..यो त झुत्रो भएको रहेछ, अव यसको प्रतिलिपी बनाएर आउनुस" भने । मेरो नागरिकताको अवस्था पाँच वर्ष अघि पासपोर्ट बनाउँदा जस्तो थियो त्यस्तै छ । तर, त्यहाँ तर्कको सम्भावना देखिन । प्रशासन अधिकृतको कोठामा पुगेर विन्ति विसाएं । मन अमिलो बनाउनु बाहेक समाधान देखिएन ।
अर्को च्याप्टर थपियो,
तब घरमा पुगेर मोबाइलमा वेवएड्रेस हानेर वेवफर्म भर्न थालें । सुरूमै मोबाइल नम्बर विना प्रकृया नबढ्ने रहेछ । सरकारले मोबाइल नभएका नेपाली नागरिक हुनसक्ने सम्भावना नभएको ठानेर निवेदन ढाँचा बनाएको ठानें । चित्त बुझेन तर म निरिह !!

म मोबाइल सुविधाभोगी ठहरिएं । फर्म भर्न सुरू त गरें तर, नेपाली र अङ्ग्रेजी दुबै टाइप गरेर भर्न पर्ने रहेछ । म सिपालुलाइ समस्या भएन । तर, मिति फर्म्याट मिलेन भन्ने सूचना दिएर अघि बढ्न दिएन । मोबाइलबाट नहुने पक्का भयो । ल्यापटप खोलें र भर्न सुरू गरें ।

जन्म मिति भर्दा नेपाली प्रमाणपत्रहरूमा भएको बि.स.मिति हाल्दा AD को जन्म मिति स्वतहः चेञ्ज हुने रहेछ । प्रविधिको हिसावले राम्रो । तर, ब्यवहारिक हिसाबले हाम्रा कागज बनाउँदा कम्प्यूटर थिएनन, गुरूले हिसाब मिलाउँदा मिति एक दिन फरक परेको रहेछ । पासपोर्टमा हालेको अङ्ग्रेजी मिति मिलाउँदा नेपाली मिति सिस्टमले बदलिदियो ।

पर्यो फसादः नेपाली मिति मिलाए अर्को नमिल्ने भो । तर, पासपोर्टमा मिति नमिले विदेशमा हुने समस्या भन्दा देश भित्र पर्ने समस्या झेल्ने उपाय बरू निस्केला भनेर AD मिति मिलाएर नेपाली मिति एक दिन फरक परेको छ । त्यही निबेदन प्रिन्ट गरेको छु । हेरौं भोलि के हुन्छ । आज अफिस बन्द भैहाले ।

***************************

दिन २:


सर्वप्रथम म माफि माग्दछु र कबुल गर्दछु कि "म सर्वसाधारण सेवाग्राही बन्ने हठ त्याग्न बाध्य भएं" ।

विहान १० बजे कार्यालय खुल्दा पुग्ने गरी ८:३०मा घरबाट निस्कें । काम उही हिजो कै थियो दिमागमा नागरिकताको प्रतिलिपी बनाउने । जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि लिनको लागि नगरपालिका वडा कार्यालयबाट सिफारिस चाहिन्छ । वडा कार्यालय नजिकको कम्प्यूटर, फोटोकपी सेवाप्रदायक बचपनका मेरा साथीकै छोरा रहेछन् । आवस्यक फोटोकपी सहित फाँटमा निबेदन पेश गरें । साथीकै छोरा वडा अध्यक्ष भएकाले उनले मलाइ चिन्दथे । त्यसैले सवै सहज नै भयो । त्यो सिफारिस लिएर जिप्रका (CDO office)पुगें । नागरिकता फांट खोज्दै कोठा नं. १०१ पुगेको त प्रतिलिपीको लागि पुग्नु पर्ने रहेछ १०२ ।

एक छिनको पर्खाइ पछि तोक लगाउन पर्ने भनेपछि पुगें अधिकृतको फांटमा । मेरा छोराछोरीका उमेरका कलिला अफिसर हुनुहुँदोरहेछ मेरो छिमेकी गाउँका अफिसर। उहाँ जन्मनु भन्दा धेरै पहिले बनेको थियो मेरो नागरिकता । तोक लगाउँदै भन्नुभयोः "२०३८ सालको नागरिकता रहेछ। रेकर्ड भेटिन गाहरो छ । भेटिएन भने सवै प्रकृया पुनः सुरू गरेर नयाँ नागरिकता लिनु पर्छ । सनाखत गर्ने एकाघरको ब्यक्ति लिएर कार्यालय धाउन पर्छ । अर्को दिन पनि आउनु पर्छहोला ।"

म आफू धाउनको लागि सर्वसाधारण सेवाग्राहीको अवसर छोड्ने थिइन । तर, ९१ बर्षकी आमालाइ दुख्ख दिन पर्ने भएपछि, मैले हठ त्याग गरें । मेरो सनाखत गर्ने बिकल्प आमा मात्र भएकोले उहाँलाइ दुखः दिन मन लागेन । झोलाबाट दुइ पुस्तक झिकेर अफिसरलाइ दिएं । म सर्वसाधारणबाट लेखक ठहरिएं ।

नभन्दै एउटा सढेगलेको फाइल जस्तो रजिष्टर देखाउँदै कर्मचारीले रेकर्ड नभेटिएको घोषणा गरे ।

म फर्किएर अफिसरको कोठामा विन्ति विसाउन पुगें । अव यो प्रतिलिपीको चक्कर छाडिदिनुस मलाइ जसरि भएपनि पुरानै नागरिकताका आधारमा राष्ट्रिय परिचयपत्र बनाइदिनुस भन्दै शरण परें । मेरो लेखकको परिचयले जादु गरिसकेको भान भयो । उहाँले राष्ट्रिय परिचय पत्रको फाँटमा मिलेसम्म बनाइदिनुस भन्नु भयो । मेरो राष्ट्रिय परिचयपत्र बन्यो अर्थात राष्ट्रिय परिचय नम्बर (सायद यो NI Number होला ) पाएं । कार्ड त पछि पाइन्छ रे । तर , पासपोर्ट यही नम्बर बाट बन्छ भन्ने जानकारी पाउँदा खुसी छु । तर, सर्वसाधारण सेवाग्रही बन्न नसकेकोमा असमन्जसमा छु ।

जे होस उहाँ अफिसर प्रति आभार प्रकट गर्दछु ।

म फिर्ता वडा कार्यलय अगाडिका मेरै साथीका छोराको फोटो स्टुडियो, टाइपिङ र फोटोकपी पसलमा पुगें । मैले प्रयास गरेको छात्रबृत्ति माध्यम (केवल च्यारिटी हैन) https://amaaba.org को सहयोगी साथीको रूपमा जिम्मा दिएर पाँच कक्षामा प्रथम भएकी र ८ कक्षामा प्रथम भएकी दुइ विद्यार्थीलाइ हरेक महिना रू ५०० का दरले क्षात्रवृत्ति दिने माध्यम र नेपाल प्रतिनिधि नियूक्त गरेको छु । एक हप्ता भित्रमा ती विध्यार्थीको विवरण विध्यार्थीकै हस्ताक्षरमा उनले Http://aamabuwa.org मा अपलोड गर्नेछन् । यो माध्यमले इच्छुक दाताका पुर्खौली गाउँका विध्यार्थीसम्म रकम पुर्याइदिने र त्यो गाउँसंग सम्बन्ध बनाइराख्न सहयोग गर्छ । आज बाटै यसको पनि सुरूवात भो ।
*************************
पहिलो दिनकी नारी अधिकृतले पुरानो नागरिकतालाइ जोत्न नसक्ने भएको बुढो गोरूलाइ हेला गरे जसरि हेला गरेको ब्यवहार देखाउनु भयो । दोश्रो दिन बेहोर्न परेकी अर्की नारी अधिकृतले पनि त्यही प्रबृत्ति देखाउनु भयो र तार्किकताको कमि भेटें । तर, अर्को पुरूष अधिकृतको तर्कमा असहमत हुन नसकेपछि उहाँ बाटै मेरो काम बन्यो ।

कर्मचारीहरूमा पुरानो देखेकै र हातले लेखेको अक्षर भएकै कारणले पुरानो नागरिकता अस्वीकार गर्ने प्रबृत्ति देखियो । अर्थात चुस्त दुरूस्त र प्रविधिमैत्री प्रणाली विकास गर्दा पुरानो हुँदैमा प्रचलीत पद्दति नकार्न खोज्ने प्रवृत्तिबाट कर्मचारीहरू ग्रसित देखिनु भयो ।

मैले कर्मचारीको चाहनाअनुसारै पुरानो नागरिकताको प्रतिलीपी निकाल्ने प्रकृया पनि अघि बढाएकै हो । तर, सरकारले नै तथ्याङ्क संरक्षण गर्न नसकेको कारण देखाएर नागरिकको वास्तविक प्रमाणलाइ नकार्नु पक्कै पनि तर्कसङ्गत हुन सक्दैन ।

सान्दर्भिक अनुभवः

२७ वर्ष अघि बुटवल अदालतमा एउटा मिसिल हराएको प्रसङ्ग संझिएं । फाँटवाला नासु कर्मठ थिए र उनलाइ दोष दिने ठाउँ थिएन तर मिसिल भेटिएन । मुद्दा सुनुवाइकै चरणमा थियो । त्यो अवस्थाको निकासकालागि वादी र प्रतिवादी दुवै पक्षका वकीलसंग भएका मिसिलका कागज प्रतिलिपी बनाएर अदालतको मिसिल तयार भयो र त्यसैका भरमा फैसला भयो । अदालतले मिसिल नभेटाएको अवस्थामा नागरिकलाइ न्यायबाट बञ्चित गर्न सकिने थिएन नै । अर्थत मिसिल नभेटिएकोले मुद्दाका पक्षलाइ दुख्ख दिनु गलत हुने थियो ।

एउटै लगाउका धेरै मुद्दाको टुङ्गीएको मुठामा मिसिएको उनको फाइल फैसला भएको करिब २ वर्ष पछि भेटियो ।

सरकारले तथ्याङ्कको ढड्डा सुरक्षीत राख्न नसकेर नागरिक (म)लाइ विचल्लीमा पर्नु भन्दा निकास दिन सकेसम्म निकास दिने धारणामा पुरूष अधिकृत देखिए तर महिला अधिकृतहरू देखिएनन् । विदेशमा सेवा ग्रहण गर्दा नारी अधिकृतहरू पुरूषभन्दा अझै बढि सहयोगी महशुस गर्थें तर नेपालका नारी अधिकृतमा ठीक उल्टो ब्यवहार महशुस भयो ।

मेरो नागरिकतामा अक्षरहरू सवै बुझिने र पासपोर्ट जारी गर्दा लगाएका छापहरूले प्रमाण योग्य रहेकोले राष्ट्रिय परिचयपत्र बनाउन त्यो नागरिकतालाइ नकार्न पर्ने कारण पुरूष अधिकृतले देख्नु भएन । पासपोर्ट बनाएको विषयमा उहाँको ध्यान गयो र पासपोर्ट मागेर उहाँले तर्कपूर्ण निर्णय गर्न सक्नु भयो । तर, नारी अधिकृतहरूले त्यता तिर धान लैजान नै चाहनु भएन ।

म नारी सशक्तिकरणको पक्षधर पुरूष भएको एक अनुभवी नेपाली नागरिकको नाताले नेपाली नारीहरूलाइ तार्कपूर्ण निर्णय गर्ने क्षमता विकास गर्ने अनुरोध गर्न चाहन्छु । यो विवरण तथा मेरो अनुरोध पढ्ने कसैले संबन्धित नारी अधिकृतहरूलाइ यो अनुरोध सुनाइदिनु भएमा म अनुग्रहित हुने छु ।

धन्यवाद

Recent Blogs