Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
भाग १७ः बिलखबन्धन

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १७

१७ बिलखबन्धन

एम्माको **फोन** आउँदा म हिँड्नै लागेकी थिएँ । बिहानै **ट्याक्सी** कम्पनीलाई **फोन** गरेर यतिखेरै आइपुग्न भनी बोलाएको **ट्याक्सी** बाहिर आएर भर्खरै रोकिएको थियो । **ट्याक्सी** आइपुगेर रोकिना साथै मेरो **मोबाइलमा** **म्यासेज** आएको आवाज **ट्वाङ्ग** गऱ्यो र साथै **फोनको** घण्टी पनि एकैपटक बज्न थाल्यो । **म्यासेजको** आवाज र बाहिर **ट्याक्सी** आइपुगेको समय एउटै भएकोले **ट्याक्सी** आइपुगेको **म्यासेज** होला भन्ने सोचेर **म्यासेज** नहेरी **फोन** उठाएँ । एम्माको **फोन** रहेछ । एम्माको **फोन** भन्ने थाहा पाउनासाथ उनलाई भनेँ ‘म घरबाट निस्कनै लागेँ । **ट्रेन स्टेसनमा** भेटौँला ।’

**फोनमा** अर्कोपट्टिबाट एम्माले भनिन् ‘म **ट्रेन स्टेसनमा** आइपुगेँ, अब २० मिनेटपछिको **ट्रेनमा** जाँदा हाम्रो **प्लेन** सजिलै भेटिन्छ । तिमी यही **ट्रेन** भेट्ने गरी आइपुग्दा हुन्छ ।’

म उनीसँग **फोनमा** कुरा गर्दै छोरीलाई हातकै इसाराले **बाई–बाई** गर्दै ढोकाबाट निस्केर **ट्याक्सीमा** बसिसकेकी थिएँ अनि **फोनमा** उत्तर दिएँ ‘म **ट्याक्सी** चढिसकेँ त्यसैले अब, ६ देखि ७ मिनेटभित्रमा आइपुग्छु ।’

उनले ‘एकदम राम्रो, ल मैले **फोन** राख्छु है त ।’ भन्दै **फोन** काटिन् ।

हामी योजनाअनुसार नै समयमा एम्स्टर्डम **एयरपोर्टमा** पुगेर बाहिर निस्कँदा एम्माका भन्नु कि हामी दुवैका भन्नु आमाबुवा दुवैजना हामीलाई पर्खिएर बस्नुभएको रहेछ । मैले त चिनेकी थिइनँ तर एम्माले उहाँहरूलाई देख्नेबित्तिकै चिनाइन् र हामी नजिक गएर भलाकुसारी गऱ्यौँ । **हेल्लो हाई** भइसकेपछि औपचारिकताको लागि मैले ‘धेरै बेर पर्खनुपऱ्यो कि कति बेला आइपुग्नुभएको थियो ?’ प्रश्न तेर्साएँ । आफ्नै बाबुआमा पनि हुन् कि भन्ने हुँदाहुँदै पनि पहिले कहिल्यै नभेटेको हुनाले मेरा लागि उहाँहरू अपरिचित नै हुनुहुन्थ्यो । त्यसैले परिचयलाई अलि सहज बनाउन पनि मैले त्यो प्रश्न गरेंकी थिएँ ।

बुवाभन्दा आमा अलि धेरै बोलक्कड (गफाडी) भए जस्तो लाग्यो । बुवा पनि नबोल्ने त होइन ठीक बोल्ने जस्तो लाग्यो । आमाले भनिहाल्नुभयो ‘एम्माले तिमीहरू आइपुग्ने समय बताएको हुनाले हामी समय मिलाएर आएका थियौँ । **कार पार्किङ** गरेर यहाँनिर हामी आइपुगेको १० मिनेट जति भयो होला । खासै धेरै बेर कुर्नु परेन । हामीलाई आउँदा खासै **ट्राफिकको** समस्या पनि भएन ।’

हामी कुरा गर्दै **कार पार्किङतिर** हिँड्दै गयौँ र कार चढेर घरमा पुग्यौँ । घरमा पुगेर केहीछिन भलाकुसारी गर्दागर्दै आमाले टेबलमा खाना राख्नुभयो । चिज पनि थरिथरिका, **ओभनमा** पोलेका आलु, उसिनेका **ब्रोकाउली** र गाँजर, ताप्केमा उमालेका हरिया मटर र हरियो पातका **सलादहरू** टेबलमा देख्दा भोक पनि लागेकोले कतिखेर मुखमा हाल्न पाइन्छ भन्ने भयो । खाना खाइवरी एकछिन टिभी हेरेर सुत्यौँ । साँझ खास रहस्यको विषयमा बुवाआमासँग कुरा निकाल्ने आँट पनि आएन ।

बिहान उठ्दा घरबाहिरको नहरमा डुङ्गा चलाउँदाका बहनाले निकालेको छप्ल्याक–छप्ल्याक, स्वार–स्वारको आवाज सबैभन्दा पहिला कानमा ठोकियो । त्यो आवाजले एक प्रकारको आनन्द दियो । अझ त्यही आवाजमा चराहरूको चिरबिरको आवाजले झन् सङ्गीतमय वातावरण बनाइरहेको थियो । बुवाआमाले अल्छी भन्नुहुन्छ कि भन्ने डर मनमा झट्ट पलायो र फुर्तिसाथ बिच्छ्यौनाबाट उठेर तन्ना तनाकतुनुक पारेर सोझ्य्याएँ, ओढ्ने कपडा मिलाएँ ।

बाथरुम छिरेर नुहाउँदासम्म पनि घरमा सुनसान देखेँ । अब अरू नउठे पनि **किचन** (भान्सा)मा गएर आफैँ चिया पकाएर खानुपऱ्यो भन्ने मनमा सोच्दै थिएँ । त्यसैबेला मूलढोका घर्याक गर्दै खुल्यो । मैले बुवाआमा सुतिराखेका होलान् भन्ठानेको त **मर्निङ वाक** गएर पो आइपुग्नुभयो । म नजाग्दै उहाँहरू बिहानको पदयात्रामा निस्कनुभएको रहेछ भन्ने बल्ल बुझेँ । एम्मा पनि साथै आएको देखेर म आफू त अल्छी पो रहेँछु, अबेलासम्म सुतेँछु भन्ने ग्लानि भयो ।

बुवा र आमा दुवै जना बाथरुममा छिर्नुभयो । एम्मा र म **किचन** (भान्सा)मा पसेर मैले आफूलाई **माइक्रोवेभमा** नेपाली पाराको चिया बनाएँ, एम्माले **ब्ल्याक कफी** बनाइन् र हामी चिया **कफी** लिएर **सिटिङ रुममा** बसेपछि एम्माले भनिन् ‘अब **ब्रेकफास्ट** गर्दा बुवाआमासँग यस विषयमा कुरा उठाऊँ है, हुन्न र ?’

मैले सहमतिको भाव अनुहारमा प्रकट गर्ने प्रयास गर्दै भनेँ ‘हुन्छ, हामी आएको मुख्य कामको कुरा त गर्नैपऱ्यो नि, अब चिया **कफी** खाएपछि हामीले मिलेर **ब्रेकफास्ट** बनाऊँ अनि सँगै बसेर खाँदा कुरा पनि गरौँ । तर, बुवाआमाले **ब्रेकफास्टमा** के खान मन पराउनुहुन्छ मलाई थाहा भएन, तिमीले के के बनाउने भन । अनि मिलेर बनाऊँ ।’

बुवा र आमा साधारण परिधानमा तर चिटिक्क परेर तल झर्दा हामीले नास्ता तयार पारेर राखिसकेकाले उहाँहरूलाई सिधै **डाइनिङ टेबलमा** आउन एम्माले आग्रह गरिन् । **डाइनिङ सेटको** कुर्सीमा बस्दै आमाले भन्नुभयो ‘तिमी थाकेकी हुनाले पनि मिठो निद्रामा सुतिरहेकी हौली भनेर तिमीलाई खबर नै नगरी सधैँ जस्तो हामी पदयात्रामा निस्कियौँ । हाम्रो बानी थाहा भएकीले एम्मा पनि तयार भएकीले हामी सँगै गएर आयौँ । तिमीहरूले त चिया नास्ता पनि बनाइसकेछौ । कत्ति रमाइलो !’ भन्दै आमाले बुवातिर हेर्नुभयो । बुवाले पनि सहमति जनाउनुभयो ।

**टोस्ट** गरेको **ब्रेडमा बटर** दल्दै एम्माले मेरो आँखामा हेरिन र कुरा गर्ने अनुमति मागेको भाव जस्तो लागेर मैले पनि आँखाले नै हुन्छ भन्ने भावना व्यक्त गरेँ । त्यसपछि एम्माले बुवाआमालाई सम्बोधन गर्दै भनिन्, ‘हामी एउटा विषयले निकै अलमलमा परेका छौँ । त्यसको निवारणको लागि हामी दुईटी सँगै यहाँ आएका हौँ । यस विषयमा हामीलाई हजुरहरूको सहयोग चाहिएको छ ।’

एम्माको कुरा सुनेर बुवाले अलि अचम्म मानेजसरी ‘कुन विषयमा भन न हामीले के सहयोग गर्न सक्छौँ ? खुलेर भन ।’ भन्दै जिज्ञासा जाहेर गर्नुभयो ।

मतिर देखाउँदै एम्माले भनिन् ‘यिनी अस्मिता हुन् । मेरो खुट्टाको उपचार गरेकी **डाक्टर** पनि हुन् । हाम्रो भेट त्यही उपचारकै सिलसिलामा अस्पतालमै भएको हो । हामी भेट्दा नै एक अर्कालाई आफू जस्तै लागेर यस विषयमा हामीले कुराकानी गऱ्यौँ ।’

आमा ः ‘त्यो त हो, मैले पनि यो अस्मितालाई देख्नेबित्तिकै ठ्याक्कै दुवै जना तिमीहरू **ट्विन्स** जस्तो भनेर **नोटिस** त गरेकी हुँ, तिम्रो बुवालाई पनि हिजै भनेकी थिएँ ।’

आमाले बुवातिर पुलुक्क हेर्नुभयो । तर, बुवाले केही भन्नुभन्दा पहिला नै एम्माले अगाडि कुरा थपिन् ‘आमाले भनेजस्तै हामी **ट्विन्स** जस्तो देखिने मात्र होइन, **ट्विन्स** नै हौँ ।’

एम्माले त्यसो भन्दै गर्दा **ओभनमा** पकाएको तात्तातो टमाटरको आधा टुक्रा **ट्रेबाट** झिकेर आफ्नो **प्लेटमा** हाल्दा हाल्दै बुवाको चम्चाबाट खसेर **ट्रेमै** झऱ्यो । सायद एम्माको कुरा सुनेर बुवालाई अलि झट्का लागेछ भन्ने अनुमान गरेँ । बुवाले भने आफूलाई सहज पार्ने कोसिस गर्दै टमाटर **प्लेटमा** सार्ने अर्को जमर्को गर्नुभयो ।

एकैछिन कुरा रोकेकी एम्माले नै फेरि कुरा अगाडि बढाइन् ‘हामी दुईटीको **डीएनए परीक्षण** गरेर **सिक्वेन्स जाँच** गर्दा हामी जुम्ल्याहा नै भएको पुष्टि भएपछि हामी रहस्यमा फसेका छौँ । नेपालबाट अस्मिताका बुवाआमा पनि पढ्न यही देशमा आएका बखत अस्मिताको जन्म भएको रहेछ र हाम्रो कागजपत्र अनुसार जन्ममिति पनि एउटै छ । पढाइ सकेपछि अस्मितालाई लिएर उहाँहरू नेपाल जानुभएछ । उनी उतै हुर्किएकी हुन् । अहिले **युकेमा** जागिर गरेर बस्छिन् । बेलायतकै बासिन्दा हुन् ।’

बुवा निकै गम्भीर मुद्रामा देखिनुभयो । एकैछिनको मौन शान्तिलाई चिर्दै गम्भीर भावमा भन्नुभयो ‘यो विषय साँच्चिकै नै जटिल बुझियो । तिमी दुईटी जुम्ल्याहा दिदीबहिनी हुन कसरी सम्भव हुन सक्छ ? मेरो मस्तिष्कले कुनै पनि उत्तर पाउन सकिरहेको छैन ।’

हामीले बुवाआमाबाट यो रहस्यको खुलासा हुनेछ भन्ने पूर्ण आशा लिएका थियौँ । तर, बुवाले नै यो विषयमा आफूहरू अनभिज्ञ रहेको बताएपछि विषय झन् रहस्यमय हुन पुग्यो । बुवाले कुनै कुरा लुकाएको वा ढाँटेको भन्ने कत्ति पनि कल्पना पनि गर्न नसकिने र तथ्यले हामी दुई जुम्ल्याहा बहिनी भएको पुष्टि गर्ने तर व्यवहारले सबै रहस्यमय हुने अवस्थाले म झन् अलमलमा परेँ । मैले पुलुक्क एम्मालाई हेरेँ । उनको आँखाले पनि शून्यता दर्शायो अर्थात् उनी पनि रहस्य झन् बल्झिएको पाएर अलमलमा परिरहेको बुझेँ ।

यसै बीचमा आमाले थप्नुभयो ‘यो तिमीहरू के कुरा गरिरहेका छौ ? मेरो दिमागले केही बुझेको होइन । कहाँबाट यस्तो एक्कासि तिमी दुईटी एउटै बुवाआमाका सन्तान भन्ने कुरा आयो, अचम्म छ बा !’

यो रहस्य बल्झिएर सबैको दिमाग चक्कर खाएको बुझेपछि यो परिस्थितिलाई टुङ्गोमा पुऱ्याउन केही त गर्नैपऱ्यो भन्ने लागेछ क्यारे बुवालाई अनि परिस्थिति अलि सहज बनाउने हिसाबले भन्नुभयो,

‘तिमीहरूलाई हेर्दा पनि शरीर तथा अनुहारले तिमीहरू जुम्ल्याहा हुनसक्ने जस्तो देखिने सही नै हो, **डीएनएले** पनि पुष्टि गरेको भनेपछि तिमीहरू दुई बहिनी भन्ने विश्वास गर्नैपर्ने स्थिति देखियो । हामी विज्ञानलाई असक्षम भन्न सक्ने अवस्थामा पनि छैनौँ । तर, एम्माका बुवाआमा हामी हौँ भन्ने विषयमा त विवाद छैन, अब अस्मिता पनि हाम्री छोरी नै हुन् कि होइनन् भन्ने पुष्टि गरेपछि अरू कुराको टुङ्गोमा पुग्न सकिने हुन्छ । यो रहस्यमा तिमीहरूले हामी बूढाबूढीलाई पनि ल्याइहाल्यौ । हामी त झन् अचम्ममा परिरहेका छौँ । अब पहिला अस्मिताको र हाम्रो **डीएनए परीक्षण** गरेर हेरौँ । त्यसबाट यदि अस्मिता पनि हाम्री छोरी ठहरिएमा यो विषयले नयाँ मोड लिन सक्छ । त्यो परीक्षणको **रिजल्ट** हेरेर थप सल्लाह गरौँला ।’

मैले अलि डराइ–डराई अनुरोध गरेँ ‘मलाई एउटा तर्क गर्ने अनुमति दिनुभयो भने म केही भन्न चाहन्छु तर यो भन्न मलाई डर पनि लागिरहेको छ ।’

बुवाले मेरा शब्द टुङ्गगिन नपाउँदै भनिहाल्नुभयो ‘भन, भन । निर्धक्क भएर भन, डराउनुपर्ने केही छैन । तिमीहरूले उजागर गरेको यो रहस्यले कुनै पनि विषयमा डरायो भने वास्तविकता बुझने स्थितिमा हामीलाई पुऱ्याउन सक्दैन ।’

बुवाका शब्दले मेरो आँट पनि जाग्यो र भने ‘हजुरहरूले एम्मालाई छोरी मान्दै आउनुभयो, मैले बुवाआमा जसलाई भनेँ उहाँहरूले मलाई छोरी मान्दै आउनुभयो । त्यसैले हामी दुई बहिनी जुम्ल्याहा एकै बाउआमाबाट जन्मिएका भएपछि कि त एम्मा कि त ममध्ये एउटीले त **बायलोजिकल** बाउआमाको साथमा नबसेको पुष्टि हुन्छ । मैले जसलाई बाउआमा मान्दै आएँ उहाँहरू अहिले परलोक भइसक्नुभयो । त्यसैले उहाँहरू मेरा **बायलोजिकल प्यारेन्ट** भए नभएको जाँच्न सक्ने स्थिति पनि रहेन । अब हजुरहरूसँग रगत परीक्षण गरेपछि हाम्रो रहस्य पत्ता लाग्न सक्छ । कृपया यो जाँच चाँडै गर्नुपर्छ भन्ने लाग्दै छ मलाई ।’

आमा र बुवाले एकैपटक ‘उहाँहरूको देहावसान भएको सुनेर दुःख लाग्यो भनेर समवेदना प्रकट गर्नुभयो ।’ उहाँहरूको शब्दमा केवल औपचारिकता नभएर वास्तवमा भित्री मनले दुःख अनुभूति प्रकट भएको महसुस गरेँ ।

हाम्रो रहस्य पत्ता लगाउनको लागि **डीएनए परीक्षण** छिटो गराउने कुरामा हामी सहमत भए पनि यो **विकेन्डको** समय परेकोले छुट्टीको अवस्था व्यवधान हुने देखियो । म त्यही विषयमा सोच्दै थिएँ । बुवाले भन्नुभयो ‘तिमीहरूलाई **मन्डे** (सोमबार)बाट फेरि काममा फर्कन पर्ने होला आज र भोलि नै यसलाई **प्रोसेसमा** हाल्न पाए हुन्थ्यो । पख म **युनिभर्सिटीको** साथीलाई **फोन** गरेर बुझछु । उनी उपलब्ध रहेछन् भने उनले हामीलाई सहयोग गर्न सक्छन् ।’

बुवा उठेर **टिस्यु पेपरले** मुख पुछ्दै **चार्जमा** राखेको **मोबाइल** लिएर आउनुभयो र फेरि कुर्सीमा बस्दै उहाँको साथीको **नम्बर** खोजेर **डायल** गर्नुभयो । तीन घण्टी जाँदा उताबाट **फोन** उठेको आवाज हामीले पनि मधुरो आवाजमा सुन्यौँ । बुवाले विवरण सुनाएर सहयोग चाहिएको कुरा उहाँका साथीलाई अनुरोध गरेपछि उताबाट सकारात्मक उत्तर आयो र दुई घण्टामा **युनिभर्सिटीमा** भेट हुने सल्लाह गर्नुभयो ।

हामीले नास्ता गरेपछि पनि रहस्यको विषय एम्मा र मेरो बीचको भेट, नेपालसम्मका प्रसंग, एक्कासि नेपाल जानुपरेको मेरो अवस्था छलफल गर्दागर्दै एक घण्टा जति बितिहाल्यो । उता हामी **युनिभर्सिटी** जान भनेर तयारी भएर समयअनुसार पुग्दा बुवाका साथीले हामीलाई कुरेर बस्नुभएको रहेछ । हामीभन्दा पहिला नै उहाँ पुग्नुभएको रहेछ । वास्तवमा बुवाले हामीलाई उहाँले साथी भनेर बताए पनि उहाँ बुवाकै चेला हुनुहुँदो रहेछ ।

हामीले हाम्रो रहस्यको प्रसंग उहाँलाई बताएपछि उहाँले पनि ‘यो त नाटकीय घटनामा पो परिणत हुन थाल्यो’ भन्नुभयो । उहाँले आफू पनि यो रहस्यको उद्घाटनमा बडो उत्साहित भएको बताएर आजै हामी चारै जनाको **स्याम्पल** लिएर परीक्षण **प्रोसेस** सुरु गर्ने र परिणाम चार हप्तामा निस्कने बताउनुभयो ।

हाम्रो रहस्य खुल्ला भन्दाभन्दै झन् पछि झन् बल्झिरहेको पाउँदा म भने अचम्म परिरहेकी थिएँ । **युनिभर्सिटीबाट** काम सकिएपछि कतै घुम्न जाने कि भनेर आमाले सोध्दा म यो रहस्यको भूमरीले गर्दा कतै घुम्न पनि जान मन लागेको छैन । जाऊँ घरमै गएर कुरा गरौँ बसौँ भन्ने मेरो आग्रहअनुसार नै घरमा आएर हामी दिनभरि हाम्रो रहस्य के होला कसरी यो परिस्थितिमा हामी पुग्ने घटना घटेहोला भन्ने अनुमानहरू गर्दै छलफल गरिरह्यौँ ।

पहिला यो रहस्य पत्ता लगाउने मेरो मात्र काम हो भन्ने लागेको थियो । पछि त्यसमा एम्मा र मेरो दुवैको रहस्य खोतल्ने जिम्मेवारी भयो । अब हुँदाहुँदा यो रहस्यमा नेदरल्यान्ड्सका बुवाआमा पनि सम्मिलित हुनुभयो । एउटा बिरामी आफू जस्तै भेटेर सुरु भएको मानसिक दबाब अहिले चार जनासम्म थपियो । उता बुवाआमा जीवितै हुनुभएको भए उहाँहरू पनि यो रहस्य खोतल्ने जिम्मेवारीमा पर्नुहुने थियो । तर, साँच्चिकै नेपालमा बुवाआमा जीवित भइदिएको भए यो समस्या उहाँहरूसँग यस विषयमा कुरा खोतल्नेबित्तिकै पत्ता लाग्न पनि त सक्थ्यो नि ! तर, सम्भव नै नरहेको विषयमा मैले सोचेर पो के गर्नु र ?