Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
भाग १८ः अन्त्य

उपन्यासः NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १८

१८ अन्त्य

यो **डीएनए परीक्षणको** लागि दिएको **स्याम्पलको** **रिजल्ट** आउन पर्खिएको चार हप्ता पनि चार वर्ष जस्तो भइसक्यो । पर्खनुपरेको समय असाध्यै लामो जस्तो लाग्छ । मनले रमाइलो मानेको अवस्थामा समय निकै छिटोछिटो दगुर्छ तर मनले रमाइलो मानेको छैन भने समय यति ढिलो चलेजस्तो लाग्छ कि समय नै कट्दैन । यो चार हप्ता कटाउन त जिन्दगी कटाउनभन्दा पनि लामो जस्तो भइसक्यो । हुन पनि कुनै **फिलिम** हेर्न थालेपछि मन पऱ्यो भने **फिलिम** सकिएको पत्तै पाइँदैन, तीन घण्टा बितिसकेको हुन्छ । अनि कतै कसैसँग भेट हुने समय मिलाएर ठीक समयमा आफू पुगियो र अर्को आउनुपर्ने मान्छे आउन ढिला गऱ्यो भने १० मिनेट पर्खन परेपछि महिनौँ कुरे जस्तो लाग्छ । यता हेऱ्यो उता हेऱ्यो, पट्यार लाग्छ अनि कति बेर भयो भनेर घडी हेऱ्यो भने चाहिँ तीन मिनेट पनि बितेको हुँदैन । त्यसैले यो **इन्जोय** नगरेको समय ढिलो हिँड्छ अनि **इन्जोय** गरिरहेको समय ढिलो हिँड्छ ।

बल्ल बल्ल चार हप्ता बितेपछि खबर पनि आयो । एम्माले **फोन** गरेर **डीएनए टेस्टको** **रिजल्ट** आयो भनेर खबर गरिन् । मन भने उनले त्यो **रिजल्ट** कस्तो आयो भन्ने बताउँदासम्म पनि छट्पटी नै भयो । अझ एम्माले भेटेर कुरा गरौँ कि भनेर भन्दा त नजिकमा भए एम्माको कपालमा समातेर भुइँमा पछारेर लात्तै लात्ताले पिटुँला झैँ झनक्क रिस उठ्यो । तर, म आफैँ समालिएँ र भनेँ ‘**प्लीज** एम्मा, त्यो **रिजल्ट** के आयो भनिहाल, म त यो **रिजल्ट** पर्खँदा पर्खँदा मरिसकेँ । मैले भेट भएर कुरा गर्दासम्म पर्खनै सक्दिनँ । म त हरेक **सेकेन्ड** मरिरहेको जस्तो लाग्दैछ ।’

एम्माले मेरो मनको पीडा महसुस गरेको भावमा भनिन् ‘हो त नि म त यो चार हप्ता पर्खन, एउटा जिन्दगी नै पर्खिए जस्तो लागेको थियो । तर, हेर न अझै हाम्रो रहस्य झन् बल्झियो ।’

म ः ‘कुरा नचपाई के **रिजल्ट** आयो छिटो भन न । चाँडै भनिनौ भने त मलाई रिँगटा लाग्ला जस्तो भइसक्यो ।’

एम्मा ः ‘बडो अचम्मको **रिजल्ट** आयो । अघि भर्खर बुवाले **फोन** गरेर **टेस्ट रिजल्टको** बारेमा बताउनुभएको हो । त्यो **टेस्टले** त तिमी र म दुवै यी बुवाआमाको सन्तान होइनौँ भन्ने पुष्टि भयो । नेपालका तिमीले साथ पाएका बुवाआमा नै हाम्रा बुवाआमा हुनुहुन्छ भन्नेबाहेक विकल्प केही सोच्न सकिरहेकी छैन । तर, यसरी म यहाँ कसरी छुटेँ अनि यो रहस्य बुवाआमालाई किन थाहा भएन ? म त एकदमै चिन्तित भइराखेकी छु ।’

म ः ‘यो त झन् गडबड पो भयो त ! अब भेटेर कुरा गरौँ । मेरो यहाँ आज गर्नैपर्ने त्यस्तो **अर्जेन्ट** काम छैन **हाफ डे** छुट्टी हालेर घर पुग्छु तिमी पनि मेरो घरमा आऊ र त्यहीँ कुरा गरौँला । म त बिलखबन्धनमा परिसकेँ, के गरूँ के गरूँ भइरहेको छ ।’

एम्मा ः ‘म आउन त तुरुन्तै आउँथेँ, तर बुवा र आमा पो त्यो **रिजल्टबाट** धेरै चिन्तित हुनुभएको छ । उहाँहरू अहिलेको **फ्लाइटमा स्ट्यान्स्टेड एयरपोर्ट** आउँदै हुनुहुन्छ म उहाँहरूलाई **पिकअप** गर्न **एयरपोर्ट** जान्छु ।’

म ः ‘त्यसो भए म पनि सँगै **एयरपोर्ट** जान्छु तिमी यतैबाट आऊ ।’

एम्मा ः ‘हुन्छ तिमी **हस्पिटल** अगाडिको **बसपार्कनिर** आइपुग, अनि सँगै **एयरपोर्ट** जाउँला ।’

म **म्यानेजरको** कोठामा गएर ‘**हाफ–डे** छुट्टी लिएर म बाहिर जान्छु खासै **अर्जेन्ट** केही छैन’ भनेर अनुरोध गरेँ । बुवाआमा बित्नुभएको पीरले गर्दा चिन्तामा रहेको सहानुभूति पनि थियो **म्यानेजरको** मनमा अनि **अर्जेन्ट** काम पनि केही नभएको अवस्थाले गर्दा उसले सहजै ‘हुन्छ’ भन्ने जवाफ दियो ।

म हत्तपत्त हिँड्दै **बसपार्कतिर** एम्मा आइपुग्दासम्म पुग्ने गरी छिटोछिटो हिँड्दै **मोबाइलमा** दिनेशको **नम्बर** खोजेर **कल** गरेँ । **फोन** उठेन सिधै **भ्वाइसमेलमा** पुगेकोले म एम्मासँगै बुवाआमा लिन **एयरपोर्ट** जाँदैछु उहाँहरूलाई लिएर हामी चारजना आइपुग्छौँ भनेर **म्यासेज** छाडेँ । एक मनले **डीएनए रिजल्टले** नेदरल्यान्ड्सका बुवाआमा हाम्रै **जेनेटिक** बुवाआमा होइनन् रहेछन् भनेर पनि **म्यासेज** छाडौँ जस्तो लागेको थियो तर फेरि अर्को मनले पछि नै भनौँला भन्ने सोचेर **फोन** काटेँ । **बसपार्क** आइपुग्नु अघिको **हस्पिटलबाट** कारहरू **एक्जिट** हुने बाटो काट्न लागेको एउटा कार आउँदै रहेछ ऊ जान्छ र बाटो काट्छु भनी पर्खिएको कारको **ड्राइभरले** कार रोकेर मलाई बाटो काटेर अगाडि बढ्न इसारा गरेपछि म हिँडें ।

म **कार पार्किङमा** पुगेर उभिएकी मात्र के थिएँ एम्माको गाडी पनि अगाडिको **ट्राफिक लाइटमा** रातो बत्ती बलेकाले रोकिएको देखेँ । एकैछिनमा उनले कार अगाडि बढाउँदै मोडेर म नजिक आएर रोकिन् । म पनि ढोका खोलेर अगाडिको सिटमा बसेँ उनले कार कुदाउन थालिन् ।

एम्माले बाटोमा अगाडि हेर्दै गाडी गुडाइरहँदा नै मैले उनको अनुहारतिर हेरेर भनेँ ‘हामी दुई बहिनी भएको त सजिलै पुष्टि भयो तर अरू सबै कुरा झन् रहस्य बन्दै गइरहेको छ । यो रहस्य पनि कहाँ पुगेर टुङ्गिने हो कुन्नी ! हुँदाहुँदा बाँचेका बुवाआमाबाट रहस्य पत्ता लाग्छ भनेको उहाँहरू नै झन् यो रहस्यको भूमरीमा पर्नुभयो ।’

एम्माले ‘यो रहस्य बढेको बढ्यै छ, तिमी र म मा पनि को दिदी को बहिनी भन्ने पनि थाहा हुन सकेन, जेसुकै होस् म तिमीलाई दिदी नै भन्छु है’ भनिन् ।

मैले पनि त्यो कुरा सहजै स्वीकार गरेँ र भनेँ ‘हुन्छ नि, यसो हेर्दा पनि म दिदी नै जस्तो देखिन्छु क्या । तिमी **साइक्लिङ** गर्ने, हरेक दिन **मर्निङ वाक** गर्ने र बच्चाबच्ची पनि नजन्माएकीले तिमी मभन्दा सानै देखिन्छौ । त्यसैले पनि तिमी बहिनी म दिदी ल.. आजदेखि ।’

हामीबीच दिदी बहिनीको टुङ्गो पनि लगायौँ । दुई बहिनीले कुरा गर्दै जाँदा बाटो पनि कति छिटो काटिएछ । **एयरपोर्ट** पुगेर **कार पार्किङमा** गाडी राखेर हिँड्दै भित्र **अराइभल** लेखेको **बोर्ड** पछ्याउँदै गएर एकछिन कुरेपछि बुवाआमा पनि आइपुग्नुभयो । बुवाले **प्यान्ट सर्टमाथि** बाक्लोखालको **कोट** र घाँटीमा गलबन्दी भिर्नुभएको रहेछ, आमाले **प्यान्ट टिसर्टमाथि** पातलो खालको **स्वेटर** लगाउनुभएको रहेछ । बुवाले चक्कावाला **सुटकेस** लतार्दै र आमाको काँधमा आफ्नो हाते झोला भिरेर आउनुभयो ।

सामान्य **हेल्लो हाई** भएपछि कारमा बसेर हामी घर पुग्दा आधा बाटोदेखि नै पानी परेको पऱ्यै गऱ्यै । म अगाडिको बायाँ सिटमा बसेँ, एम्माले गाडी चलाइन् र बुवा र आमा दुवैजना पछाडिको सिटमा बस्नुभयो । बाटोभरि नै त्यो **डीएनए टेस्टको** बारेमा कुरा गरेनौँ । अरू अरू कुरा गर्दै बाटो सजिलै कट्यो । एम्मालाई भने झरीले गर्दा **वाइपरको** सहारामा गाडी चलाउन अलि असजिलो त भयो होला तर खासै उनले पनि केही गुनासो गरिनन् ।

घरमा पुग्दा दिनेश र छोरीले बाटो हेरेर बसेका रहेछन् । हाम्रो गाडी रोकिएपछि दिनेशले ढोका खोल्दै स्वागत गर्न ढोकामै आइपुगे । सबैजना भित्र छिरेपछि दिनेश, छोरी र बुवाआमाको परिचय पनि भयो । दिनेशले ‘नेपाली खाना बाउ–छोरी मिलेर तयार गरेका छौँ । अहिले खाँदै कुरा गर्दै गर्ने कि ?’ भनेर प्रस्ताव गरे ।

मैले आमाबुवा र एम्माले पहिला उत्तर दिए सजिलो होला भनेर चुपचाप बसेकी थिएँ, आमा भने यस्तो कुरामा अलि बोल्ने आदत पनि रहेछ अनि ‘ठीक खाना खाने समय पनि भएको छ, भोक पनि लागेको छ खान आऊ न त’ भन्नुभयो । उहाँले अङ्ग्रेजीमा बोल्दा अलिअलि **युरोपियन टोनमा** बोलेको बडो मिठो सुनिँदो रहेछ । सायद **टेस्ट रिजल्टको** चिन्ताले हो कि किन हो बुवा अलि चिन्तित भए जस्तो र कम बोलिरहनुभए जस्तो लागिरह्यो ।

बुवाले **कोट** खोलेर **लबीमा** हामीले **कोट** झुन्ड्याउन सजिलो हुन्छ भनेर राखेको दराजमा राख्नुभयो । अनि बाथरुममा छिरेर हातमुख धोएर **डाइनिङ टेबलमा** आउनुभयो । आमाले भान्साकै सिङ्कमा हात धुनुभयो र ‘बडो मिठो बासना आइरहेको छ, खाना खुब मिठो होला ?’ भन्नुभयो ।

दिनेश र छोरीले मिलेर खाना तयार पारेका रहेछन् । हरियो **सलाद** पनि **ट्रेमा** ठीक पारेका । रहरको दालमा लसुनले झानेको घिउको स्वाद । भात र आलु परवरको एउटा तरकारी र आफ्नै बारीको रायोको साग टिपेर साग पनि पकाएका रहेछन् । नेपाली खानाको परिकारको बारेमा बुवाआमा र एम्मालाई दिनेशले व्याख्या गरे । खाना सम्बन्धमा दिनेशको मिठासपूर्ण व्याख्याका बीचमा छलफलको कुराले रमाइलो पारामै खाना खायौँ ।

खाना खाएपछि सबै जना सोफामा बसेर कुराकानी गर्न थाल्दा मैले र छोरीले मिलेर जुठा भाँडा सफा गर्ने **डिसवाशर मेसिनमा** हाल्यौँ र हामी पनि सँगै बसेर कुराकानीमा सामेल भयौँ ।

बुवाले **डीएनए परीक्षणको** **रिजल्टबाट** पीर परेको मनलाई गाँठो पार्दै ‘जीवन सधैँ सिधा रेखामा नचल्ने रहेछ, एम्मा र अस्मिताको भेट भएपछि तिमीहरूको मनमा ज्वारभाटाहरू छचल्किएछन् । त्यसपछि हामीसँग अस्मिताको भेट हुँदासम्म पनि झन् रमाइलो थपिएको थियो । तर, आज बिहान त्यो **टेस्ट रिजल्ट** आएपछि हामी बूढाबूढी त अचम्म परेका छौँ । यो रहस्यको गुत्थी झन् जेलिएर गयो ।’

बुवाले त्यो भन्दै गर्दा उहाँका आँखा रसाइरहेका थिए । स्वर भारी भएको थियो । न हामी यो रहस्य बिर्सिएर अगाडिका दिन रमाउन सक्ने अवस्थामा थियौँ, न त रहस्य खोतल्ने सूत्र नै भेटिरहेका थियौँ । हामीले त बुवाआमाको भेटबाटै रहस्य पत्ता लाग्ला भनेर सोचेको **डीएनए टेस्ट** गर्दासमेत झन् बल्झियो ।

बुवाले नै अगाडि थप्नुभयो ‘नेपालमा अस्मिताको बुवाआमा पनि रहनुभएन भन्ने थाहा पाएर पनि झन् पीडा भइरहेको छ । उहाँहरूको केही शरीरका कुनै कुरा ‘रौँ’सम्म भए पनि फेला पार्न पाए पनि तिमीहरूका **बायलोजिकल** बाउआमा उहाँहरू नै हो कि होइन भन्ने त यकिन गर्न हुन्थ्यो । नेपालको संस्कृति संस्कार कस्तो छ मलाई थाहा पनि भएन, यदि सम्भव छ भने उहाँहरूलाई गाडिएको ठाउँबाट कुनै **स्याम्पल** झिकेर **टेस्ट** गर्न पाए हुन्थ्यो ।’

बुवाले पाश्चात्य सभ्यताअनुसार मृत शरीरलाई गाडेर सद्गत गरिने परम्पराअनुसार प्रस्ताव गर्नुभएको विषय मैले सहजै अनुमान गरिहालेँ र भनेँ ‘हामीले हिन्दू संस्कृति संस्कार पालन गर्ने हुनाले मृत्युपछि शवलाई जलाइन्छ र बुवा र आमा दुवैलाई जलाइसकिएकोले उहाँहरूको **डीएनए स्याम्पल** भेट्टाउन त्यो सम्भावना रहेन ।’

हुन त नेपालबाट **स्याम्पलको** जोहो गरेर **बायलोजिकल** बुवाआमा उहाँहरू हो कि होइन भन्ने निधो गर्दैमा पनि हाम्रो रहस्य त सुल्झिहाल्ने वाला छैन । बुवाआमाको निधो भए पनि हामी दुई बहिनी कसरी छुट्टियौँ भन्ने प्रश्न पनि छँदैछ । त्यसैमाथि बुवाले आशा गरेको त्यो सहजै **स्याम्पल** भेट्टाउन सकिने अवस्था नरहेको जानकारीले बुवालाई थप पीडा भयो । उहाँले मेरो कुरा सुनेपछि लामो श्वास फेरेको भावले उहाँको पीडा झन् बल्झिएको सबैले बुझियो ।

यो रहस्यको जालोले आमालाई पनि उत्तिकै पिरोलिरहेको थियो । एक महिना अघिसम्म आफ्नै **बायलोजिकल** छोरी मानेकी छोरी, त्यो पनि एक मात्र सन्तानसमेत आफ्नो वास्तविक छोरी नभएको र अन्य व्यहोरा पनि केही नरहेको स्पष्ट हुँदाहुँदै जीवनका उत्तरार्धका समयमा जेलिएको पारिवारिक असमञ्जसले उहाँलाई आघात (बिलखबन्धनमा) पर्नु स्वाभाविकै भन्नुपऱ्यो । तै पनि ‘एक छोरीको ठाउँमा झन् दुई छोरी पाएकोमा खुसी महसुस पनि भइरहेको छ र यो रहस्यले पिरोलिरहेको पनि छ । यस सम्बन्धमा केही कुरा थाहा हुन सक्ने मेरी एउटी साथी छन् । उनी **नर्स** थिइन् । अहिले **रिटायर्ड** भएर यहीँ **युकेमा** बस्ने गर्छिन् । म सुत्केरी हुँदा अपरेसन **थिएटरमा** पनि उनी नै थिइन् । उनी मेरो साह्रै मिल्ने साथी हुन् । हामी सँगै एउटै **स्कूलमा** पढ्थ्यौँ । त्यो मित्रता अहिलेसम्म नै चलिरहेको छ । अब उनलाई भेटेर सोध्यो भने केही थाहा हुन्छ कि एउटा त्यो आशा बाँकी छ’ भन्नुभयो ।

आमाको कुरा सुनेर बुवाको मलिन अनुहारमा पनि थोरै चमक झल्कियो । ‘ए त्यो तिम्रो इभा भन्ने साथी हो । अँ त नि एम्माको जन्म अस्पतालमा हुँदा उनी नै थिइन् त त्यहाँ । अहिले जस्तो थिएन हाम्रो समाज । म अपरेसन **थिएटरमा** भित्र थिइनँ । उनी त अपरेसन **थिएटरमै** थिइन् । हो त नि उनलाई केही थाहा हुन सक्छ ।’ अलि उत्साहित हुँदै बुवाले भन्नुभयो ।

आमाले आफ्नो **फोन** झिकेर इभालाई **फोन** लगाउनुभयो । पूरै घण्टी जाँदा पनि **फोन** उठेन । तर एकैछिनपछि उताबाट इभाले आमालाई **कल ब्याक** गर्नुभयो । अनि आमाले आफू **युकेमा** आएको र भेट्न चाहेको कुरा बताउनुभयो । इभाले भोलिपल्ट बिहानै भेट्ने आशय जनाउँदा पनि आमाले ‘एउटा जरुरी काम पनि छ, हामी अहिले तिम्रो घरमा आउँछौँ है, **प्लीज** दुःख नमान, मलाई एकदम ठूलो सहयोग हुनेछ । मैले तिम्रो **एड्रेस चेक** पनि गरेकी छु, यहाँबाट आधा घण्टा जतिमा हामी आइपुग्छौँ’ भन्नुभयो ।

अति मिल्ने साथीको त्यस्तो आग्रह उहाँले नकार्ने कुरा पनि त भएन अनि ‘हुन्छ, आइहाल न त’ भन्ने जवाफ पाउनुभएछ आमाले ।

हामी दुईवटा गाडी लिएर दिनेश र छोरीसमेत सबै जना जाने सल्लाह भयो र करिब ४५ मिनेट जतिमा हामी अँध्यारो चिर्दै उहाँको घरमा पुग्यौँ । **डाइनिङ टेबुलमा ग्रीन टीको** जग र साना कप **प्लेटहरू** देखेर हाम्रो लागि राखिएको होला भनेर मैले अनुमान गरिहालेँ ।

एकजना बूढीमान्छे मात्र बस्ने घर एकदम सफा रहेछ । कतै छोइए पनि दाग लाग्ला जस्तो । उहाँको घरमा एकैपटक यति धेरै मान्छे नआउने भएर पनि होला कुर्सी धेरै नभएकोले म र छोरी भुइँमै बस्यौँ । आमाकी साथी इभाले अप्ठ्यारो मान्नुभयो तर फरक पर्दैन भनेर चित्त बुझाउन लगायौँ ।

एकछिनको भलाकुसारी गरेपछि आमाले आफ्नी साथीतिर हेर्दै भन्नुभयो ‘हामी एउटा ठूलो रहस्यमा फसेकोले तिम्रो शरणमा आएका छौँ ।’

आमाको कुरा सकिन नपाउँदै ‘एक्कासि तिमीहरू आएको र यी दुईटी केटीहरूलाई देख्नेबित्तिकै मैले सबै कुरा बुझिसकेँ’ इभाले भन्नुभयो ।

बुवाले रहस्य यिनलाई थाहा रहेछ भन्ने बुझेर होला लामो सन्तोषको श्वास फेर्नुभयो । आमाले ‘हेर इभा यो रहस्यले हाम्रो निदहराम भएको छ । तिमीलाई केही थाहा छ कि भन्ने झिनो आशा लिएर हामी आएको तिमीलाई खास रहस्य थाहा छ जस्तो भान भयो । **प्लीज** यो रहस्य तिमीलाई थाहा छ भने हाम्रो मन शान्त पारिदेऊ । सबै बताइदेऊ ।’

इभाले **ग्रिन टीको** चुस्की मुखमा लगेर एक सुरुप तान्नुभयो र भन्नुभयो ‘यो रहस्य यसरी कहिल्यै खुल्ला र तिमीलाई थाहा होला भनेर मैले कल्पना नै गरेकी थिइनँ । त्यसैले तिमीलाई यस विषयमा केही बताइनँ पनि । यी दुईटी केटी कसरी भेट भएर यो स्थिति आयो, मलाई थाहा छैन । तर, जे भइरहेछ ठीकै भएको होला । यस्तो यो रहस्य तिमीलाई बताउनैपर्ने बाध्यता नपरेको भए मैले तिमीलाई यस विषयमा बताउनेवाला पनि थिइनँ ।’

आमाले अलि हतासिए जसरी ‘**प्लीज** इभा, हामी छट्पटाइरहेका छौँ । यी दुईटी जुम्ल्याहा हुन् र हाम्रा **बायलोजिकल** छोरी होइनन् भन्ने कुरा तिमीलाई पहिलादेखि थाहा रहेछ । यो रहस्य यसरी किन गोप्य राखेको के कस्तो बाध्यताले गोप्य राख्न परेको हो छिटो भनिदेऊ’ भन्नुभयो ।

‘मेरा श्रीमान् अहिले जीवित भएको भए मैले अहिले पनि तिमीलाई यो रहस्य बताउन सक्ने थिइनँ होला । तर, अहिले मेरा पति बितिसकेको हुनाले मैले उनलाई दिएको वचन उल्लङ्घन गरेको पनि हुने छैन । त्यसैले यो रहस्य बताउन मलाई अब समस्या छैन । यो रहस्य मैले उनको जीवनकालसम्म कसैलाई पनि बताउँदिनँ भनेर वचन दिएकी हुनाले म बाँधिएकी पनि थिएँ । अनि तिमीलाई यो रहस्य थाहा नभएकोले पनि यस विषयमा सोधेकी पनि थिइनौ । तर, अहिले स्थितिले कोल्टे फेरेछ र तिमी मसँग यो कुरा सोध्न आयौ’ इभाले भन्नुभयो ।

आमाले ‘यस्तो केही रहस्य भएको विषयमा हामीलाई केही पनि थाहा नभएपछि तिमीसँग केही सोध्ने कुरा पनि त भएन । अहिले यी दुई केटीको सञ्जोगले भेट गराएछ । उनीहरूलाई एक–आपसमा आफू जस्तो अर्की केटी देखेपछि कतै जुम्ल्याहा कारणवश छुट्टिएका त होइनौँ ? भन्ने शङ्का लागेपछि **डीएनए परीक्षण** गरेर हेर्दा दुई बहिनी रहेको थाहा पाएछन् । त्यसपछि हाम्रो पनि **डीएनए परीक्षण** गर्दा यी दुवै हाम्रा **बायलोजिकल** सन्तान होइनन् भन्ने पुष्टि भएपछि हामी त यो रहस्यमा फसिहाल्यौँ नि । अब भने तिमीलाई यस विषयमा थाहा रहेछ र रहस्य के हो भन्ने हामीले थाहा पाउने भयौँ भनेर मन शान्त भएको छ । मन पनि अलि शान्त भयो ।’ भन्दै कुरा सकेर **ग्रिन–टीको** सुरुप तान्नुभयो ।

इभा **आन्टीले** कुरा अघि बढाउनुभन्दा पहिला फेरि एक सुरुप कपको चिया तान्नुभयो । अब अलि लामो गरी विस्तार गरेर रहस्यको पर्दाफास गर्नु हुनेभयो भन्ने अनुमान गरेँ । उहाँले अघि भन्न थाल्नुभयो ‘पहिला मैले यो रहस्य मेरा पति जीवित हुँदासम्म नबताउने भनेर बन्धनमा परेको विषयमा बताउँछु त्यसपछि के के भएर यी दुई जुम्ल्याहा बहिनीहरू छुट्टिएर यता र उता भए भन्ने बताउने छु ।’

**आन्टीले** त्यो भन्न नपाउँदै कुरा टुङ्गिनुभन्दा पहिला नै आमाले भन्नुभयो ‘म त यो खुल्दुलीले मरिरहेकी छु, त्यसैले कृपया पहिला यी दुईटी कसरी छुट्टिए ? म सुत्केरी हुन अपरेसन **थिएटरमा** गएपछि मलाई बेहोस पारिएपछि के के भयो भन्ने मलाई बताइदेऊ ।’

**आन्टी** ः ‘भन्छु, भन्छु, नआत्तिऊ अब त सबै म बताउनै लागेकै छु नि ! एकछिन धैर्य गर । तिमीलाई हतार भएको मैले बुझेँ पहिला के के भयो भन्ने बताउँछु । त्यसपछि मैले यो रहस्य खोल्न नसकेको बाध्यता पनि बताउँछु । ल सुनः

तिमी र म सानै छँदैदेखि सँगै हुर्कियौँ, पढ्दा पनि सँगै भयौँ, तिम्रो सबै कुरा तिमीले मसँग **शेयर** गर्ने हुनाले मलाई सबै थाहा छँदै थियो । मेरा कुरा पनि सबै कुरा तिमीलाई थाहा नै थियो । तर, यो रहस्यको विषय तिमीले पनि थाहा नपाउँदा तिम्रो नै भलाइ छ भन्ने भएकोले पनि तिमीलाई मैले नबताएकी हुँ । तिमीलाई बच्चाको असाध्यै रहर थियो । तिम्रो गर्भ रहँदा **कम्प्लिकेशन** भएको पनि तिमीलाई थाहा नै छ । बिर्सेकी छैनौ होला ।’

‘हो तिम्रो श्रीमान् नै मेरा **गायनोकोलोजिस्ट** (स्त्री रोग विशेषज्ञ) भएको हुनाले उनले मलाई सम्भव भए जति सहयोग गरेको पनि मलाई थाहा छ । उनको सहयोगले गर्दा नै मैले बच्चाको सुख पाएकी भन्ने पनि मलाई थाहा छ । त्यस्तो **कम्प्लिकेशनको** गर्भपछि बच्चाको सुख पाएकीमा म त अर्को बच्चा जन्माउन अब सम्भव छैन भनेर तिम्रो श्रीमान्ले भन्दा पनि मैले खासै पीर गरिनँ नि त ! तर, बच्चा जन्माउन मलाई अपरेसन **थिएटरमा** पुऱ्याएर बेहोस पारिएपछि के भयो भन्ने मलाई केही थाहा भएन । अहिलेसम्म थाहा नपाउँदा पनि फरक परेको थिएन । तर, अहिले मैले त्यो रहस्य थाहा नपाई नहुने अवस्था भयो । साथै, रहस्य छ भन्ने थाहा पाएपछि त्यो रहस्य नखुल्दासम्म मेरो आधा प्राण मात्र बाँकी छ । अँ अरू के के भएको हो, सबै भन ।’ आमाले अनुनय विनयको भावमा अनुरोध गर्नुभयो । मानौँ आमा निरीह हुनुभएको छ ।

आमाप्रति मेरो दया जाग्यो । एक मनले त एउटी बिरामीका रूपमा एम्मा भेटिएपछि यो निधिखोजी गर्न नथालेको भए शान्ति हुन्थ्यो जस्तो पनि लाग्न थाल्यो । न हामी यो खोजतलासको लस्करमा फस्नुपर्ने थियो, न त यी बुवा र आमालाई नै यो बुढेसकाल चिन्तामा पर्नुहुने थियो । उहाँहरूलाई सोच्दै नसोचेको रहस्य खोतल्ने झन्झट र दिमागी दबाब पनि पर्ने थिएन । सञ्जोगले एम्माको उपचार गर्न पनि मैले नै परेको । मेरो सट्टा अरू कुनै **डाक्टरकहाँ** उनको उपचार पुगेको भए पनि हामी सबैले यो परेसानी भोग्न त पर्ने थिएन भन्ने लाग्न थाल्यो । नहुनुपर्ने दुर्घटना भइहाल्यो नेपालका बुवाआमा बितिहाल्नुभयो । उहाँहरूले यो अलमल र रहस्य तथा कल्पनै नगरेकी एउटा हुर्किएकी पाकी छोरी बुढेसकालमा पाउनुहुने थियो । तर, यो दुनियाँलाई बिदा गरेर गइहाल्नुभयो उहाँहरूले यो कसरी यस्तो विछोड भयो भन्ने चिन्ता भोग्न पनि परेन । रहस्य खोतल्न मिहिनेत गर्नु पनि परेन । नजानीकनै दुनियाँ छाडेर जानुभयो अब कहिल्यै जान्नुहुने पनि छैन ।

इभा **आन्टीले** विस्तार लगाएर रहस्य भन्दै गर्दा मेरा मनमा भने ती कुरा पनि खेलिरहेका थिए । उहाँले भन्दै हुनुहुन्थ्यो ‘तिम्रो गर्भ एकदमै **कम्प्लिकेशन** भएकोले बच्चा जिउँदो जन्मन सक्ने अवस्था करिब थिएन नै भन्ने मेरो पतिलाई थाहा थियो । उनले मलाई त्यो कुरा बताएका थिए । तर, तिम्रो बच्चापनदेखिको आदत मलाई थाहा थियो । मलाई कहिल्यै बच्चाको चाहना भएन तर तिमी भने बच्चा नभई नहुने मनस्थितिमा थियौँ । त्यो त तिमी र मेरो बीचमा धेरै छलफल नै हुन्थ्यो । त्यो कुरा मैले मेरा पतिलाई बताएकी थिएँ । त्यसैले उनले मानव समाजको हितका लागि गर्न थालेको एउटा उनको अनुसन्धानबाट तिमीलाई पनि सन्तान सुख हुने, दुनियाँलाई पनि राम्रो उपलब्धि पुऱ्याउने उनको निजी ध्येय पनि पूरा हुने भनेर एउटा योजना बनाएका रहेछन् ।

मेरा पति नबित्दासम्म पनि नेपालका यी अस्मिताका बुवासँग मेरा पतिले सम्पर्क गरिरहन्थे । अस्मिताको हरेक गतिविधिको उनले **रेकर्ड** पनि लिइरहन्थे । उनी धेरै पटक नेपाल पनि गएका छन् । अस्मिताका नेपालका बुवा र मेरो पति निकै मिल्ने साथी थिए । तर, अस्मिताका बुवालाई मेरा पतिले मानव समाजको हितका लागि अनुसन्धान गर्न उनको सहयोग लिन पनि दोस्ती गरिरहेका थिए भन्ने चाहिँ उहाँलाई थाहा थिएन । त्यो कुरा थाहा भएको भए सायद त्यो अनुसन्धान त्यत्ति सजिलै अगाडि पनि बढ्ने थिएन होला । उनीसँग म पनि नेपालमा धेरै पटक गएकी छु । सधैँ त म जान्थिनँ तर उनी धेरै पटक जान्थे ।’

मैले नेदरल्यान्ड्सका मेरा बुवाका साथी जो नेपाल गइराख्नुहुन्थ्यो उहाँको बारेमा सम्झिएँ । यी **आन्टीसँग** भेट नभएको भने धेरै वर्ष भएछ त्यसैले बिर्सि पनि सकेकी रहेछु । उमेर छिप्पिएर अलि रूप नै पनि फेरिएछ । त्यसैले गर्दा पनि नचिनेकी हुँला । तर, अहिले **आन्टीका** कुरा सुनेपछि भने मैले पुराना कुरा सम्झिएँ । ती नेपालमा भेटिरहेका ती **अङ्कलको** अनुसन्धान के थियो होला भन्ने जिज्ञासा मनमा भरिएर आयो । सबै कुरा जान्ने खुल्दुली भरिएर आयो । तर, रात छिप्पिँदै थियो । बाहिरको अन्धकारलाई **स्ट्रिट लाइटले** हराइरहेको थियो । ती **लाइटको** प्रकाशले भगाउन नसकेको भए अन्धकार चुक घोप्टाए जसरी पोखिने थियो । पूर्णिमाको रात भएको भए पनि जुनको उज्यालोले केही त देखिन्थ्यो होला तर औँसीको रात भएकोले अन्धकार थियो तर भौतिक सुविधासरी बिजुली बत्तीको सुविधाले अन्धकारको मार भने भोग्न परिरहेको थिएन ।

ती **अङ्कलले** सधैँ मेरा लागि कत्ति सामान लगिदिनुहुन्थ्यो । मेरो पढाइको, चाहनाको र भावनाहरूको विषय निकै धेरै कुरा सोध्नुहुन्थ्यो । अरू कसैले मसँग त्यसरी सबै जानकारी लिएको मैले अनुभव गरेकी थिइनँ । अहिले बल्ल उहाँले कुनै अनुसन्धानका लागि मसँग ती कुराहरू सोध्नुहुन्थ्यो होला भन्ने अनुमान गर्न सकिरहेकी छु ।

**आन्टीले** अगाडि भन्न थाल्नुभयो, ‘अस्मिताकी आमा पनि त्यसैबेला गर्भवती हुनुहुन्थ्यो र उहाँको **गायनोकोलोजिस्ट डाक्टर** पनि मेरै पति थिए । सञ्जोगले पनि सबै कुरा साथसाथै भइरहेको थियो र सुत्केरी हुने समय पनि तिमीहरू दुबैको सँगसँगै चलिरहेको थियो । सुत्केरी हुने दिन पनि एउटै दिन तोकेर तिमीहरू दुवैलाई एकैदिन अस्पतालमा भर्ना गरिएको थियो ।’

आमाले पनि अलि निधार खुम्च्याएर सोच्नुभयो । सायद पुराना दिन सम्झन खोज्दै हुनुहुन्थ्यो क्यारे, पुराना कुरा सम्झिन दिमागमा जोड दिँदै भन्न थाल्नुभयो ‘मलाई याद छ, त्यस दिन म अस्पतालमा भर्ना हुँदा एउटी **एसियन** महिला पनि हुनुहुन्थ्यो । अरू सबै गोरा रङका आइमाईहरू मात्र थिए हामीहरू भएको **वार्डमा** । उहाँले पनि एउटी छोरीलाई जन्म दिनुभएको थियो । उहाँ भने छोरीलाई लिएर अस्पतालबाट अपरेसन भएको अर्को दिन नै जानुभएको थियो । तर, म भने एक हप्तासम्म अस्पतालमा बसेकी थिएँ । **डाक्टरले** पनि मेरो गर्भको **कम्प्लिकेशनले** गर्दा मेरो अपरेसनको घाउ पनि अलि जटिल नै हुन पुगेको बताएका थिए ।’

इभा **आन्टी** एकछिन म **ट्वाइलेट** गएर आउँछु भनेर उठेर कोठा बाहिर निस्कनुभयो । अनि बुवाले आमालाई सम्बोधन गर्दै सोध्नुभयो ‘तिमीले सुत्केरी हुँदा **एसियन** महिला पनि भर्ना भएको भन्ने विषय मलाई भने थाहा थिएन । तिमीले एम्मा सानै छँदा, उनको कपाल कसरी कालो भयो भन्ने तर्क गरेको भने म सम्झन्छु । हाम्रो परिवारका अरू सदस्यको भन्दा एम्माका आँखा पनि काला रङको भएको विषयमा पनि हल्का चर्चा त हामीले पनि गर्ने गरेको याद त छ तर त्यस विषयमा हामीले खासै महत्त्व राखेर सोचेनौँ पनि र कुनै शङ्का त झन् गर्दै गरेनौँ । अहिले बल्ल त्यो प्रसङ्ग जोडिँदै गएको महसुस गर्दै छ ।’

बुवाले कुरा सक्नुभएको थियो कि इभा **आन्टी** **ट्वाइलेटबाट** फर्किएर कोठाभित्र पस्न थालेकोले कुरा सक्नुभएको हो बुझ्न सकिनँ । उहाँले आफ्ना कुरा र तर्क प्रस्तुत गर्न भन्दा पनि इभा **आन्टीले** खुलासा गर्न थाल्नुभएको रहस्य थाहा पाउन पनि आफ्ना कुरा छोट्याएको हुन सक्ने अनुमान पनि गरेँ । सायद बुवाका ठाउँमा म भएको भए पनि त्यसै गर्थें जस्तो भान भयो ।

इभा **आन्टीका** घुँडा दुख्दा रहेछन् भन्ने उहाँ उठ्दा बस्दा र हिँड्दा पनि चाल पाइहालिने रहेछ । उहाँलाई पहिला नेपालमै गएको समयमा मैले भेट्दा त उहाँ हट्टाकट्टा नै हुनुहुन्थ्यो । सायद **अर्थोराइटिस बाथ** रोगले होला घुँडा दुख्ने ।

घुँडाको दुखाइ गाह्रोसँग खटाउँदै र मुखमा आएको आइया भन्ने स्वरलाई दबाउँदै सोफामा बस्नुभयो । उहाँ बसेपछि हामीले उहाँका कुरा सुन्न मौन थियौँ । उहाँले थोरै हिँड्दा पनि अलि बढेको श्वासलाई अलि मत्थर हुन्जेल बिसाएर भन्न थाल्नुभयो ‘वास्तवमा मेरा पतिलाई तिम्रो पेटको बच्चा जिउँदो जन्माउन सकिँदैन भन्नेमा पक्कापक्की नै थियो तर कुनै चमत्कार भएर जिउँदै भइहाल्छ कि भन्ने आशा पनि थियो । तिमीसँगको कुराकानी र तिमीसँग मैले गरेका वार्तालापका आधारमा मैले मेरा पतिलाई दिएको जानकारीअनुसार बच्चा जिउँदो नपाउँदा तिम्रो मानसिक अवस्था नै खल्बलिन सक्ने सम्भावनाबाट उनी बडो चिन्तित थिए । उनले पहिलादेखि नै यदि बच्चा जिउँदो निकाल्न सकिएन भने के गर्ने भन्ने विषयमा सोचिसकेका रहेछन् । त्यसबाट तिम्रो पनि भलाइ हुने र उनको अनुसन्धान पनि सफल हुने विश्वासमा थिए उनी । उनी त्यो अनुसन्धानबाट मानव जगत पूरैलाई फाइदा हुने र घाटा कसैलाई पनि नहुने तर यो रहस्य खुल्न हुँदैन भन्नेमा बडो सचेत थिए ।’

**आन्टीको** घाँटी अलि सुक्न थालेको जस्तो मानेर अर्को कोठाको **डाइनिङ टेबलमा** राखेको पानीको बोतल ल्याएर मैले उहाँलाई दिएँ । पानीको दुई घुटकी पानी खाएपछि **आन्टीले** फेरि भन्न थाल्नुभयो ‘उनलाई रहस्य खुल्छ कि भन्ने ठूलो चिन्ता थियो त्यसैले मसँग पनि उनले वचन लिएका थिए । उनले मलाई यो रहस्य गोप्य राख्ने वचन कसरी लिएका थिए भन्ने विषयमा पनि मैले अलिपछि जनाउने छु । त्यतिखेरसम्म **अल्ट्रासाउन्ड** जस्तो प्रविधि सजिलै उपलब्ध पनि थिएन र बच्चा जन्मिएपछि बल्ल छोरा कि छोरी भन्ने थाहा हुन्थ्यो । गर्भमा जुम्ल्याहा बच्चा छन् भन्ने पनि सिपालु **गायनोकोलोजिस्टले** अनुमान गर्न त गर्थे तर पक्कापक्की हुन्थेन । प्रविधि अहिले जस्तो नभएकोले त्यतिखेर भएका प्रविधिको अनुमान गऱ्यो भने तिमीले उनको अवस्था पनि बुझिहाल्छ्यौ । तर, उनलाई यिनीहरूकी नेपालकी आमाको पेटमा दुईवटा बच्चा रहेको अनुमान थियो । उनको योजनाअनुसार यदि तिम्रो बच्चा जिउँदो निकाल्न सकिएन र **एसियन** आमाका दुई जुम्ल्याहा बच्चा जन्मिए भने दुईवटै आमाहरूलाई एक एक वटा बच्चा जिम्मा लगाइदिने उनको योजना थियो । उनले तिमीलाई खुसी पार्न मात्र त्यो योजना बनाएका भने होइनन् । त्यसरी एउटा छुट्टै समाज, संस्कृति र संस्कारमा हुर्कने बच्चा र फरक संस्कृतिमा हुर्कने बच्चाको स्वभाव र गतिविधिको विषयमा अध्ययन गरेर **जेनेटिक** हिसाबले कतिसम्म मानव विकासमा भूमिका खेल्छ र समाज संस्कृतिले कति फरक पार्छ भन्ने यी दुई केटीबाट अनुसन्धान गर्नु उनको मुख्य योजना थियो । उनको **रिसर्च पेपर** उनले काम गर्ने **युनिभर्सिटीको** ठूलो सफलता ठहरिएको छ । उनको त्यो **रिसर्चको** दुई वटा प्रतिलिपि यहाँ छन् म एउटा प्रति तिमीहरूलाई दिनेछु र तिमीहरूले त्यसलाई आवश्यकताअनुसार कतिवटा बनाउनुपर्छ **फोटोकपी** बनाएर लिन सक्नेछौ ।’

उहाँले सबै कुरा बताउँदै गर्दा उहाँका आफ्ना पतिको निर्दोषिता प्रमाणित गर्न मिहिनेत गरिरहनुभएको थियो । उनी दोषी थिएनन् यो मानव भलाइको लागि गरिएको अनुसन्धानको लागि उनले गरेको त्याग थियो भन्ने विश्वास दिलाउन जोड गरिरहनुभएको थियो । उहाँले पतिको निर्दोषिता जनाउन गरेको मिहिनेतलाई मैले भने सकारात्मक रूपमा नै लिइरहेकी थिएँ । एम्मा र बुवाआमाले कसरी लिइरहनुभएको थियो मैले अनुमान गर्न सकिरहेकी थिइनँ तर उहाँहरूले पनि सबैको भलाइ गर्न उहाँले त्यसो गर्नुभएको सकारात्मक रूपमा लिनुभए हुन्थ्यो भन्ने आशा गरिरहेँ ।

**आन्टीले** फेरि एक घुटकी पानीले गला भिजाउनुभयो । यसपटक उहाँले पानीको घुटकी लिँदा उहाँलाई **डायबिटीज** रोगले गर्दा प्यास बढी लागेको अनुमान पनि गरेँ । तर, उहाँले बताउँदै गरेको मेरै विषयको रहस्य थाहा पाउने लालचका कारण उहाँको **डायबिटीज** रोगको विषयमा मैले कुनै पनि कुरा गरिनँ । अगाडि भन्न थाल्नुभयो ‘त्यसदिन म पनि तिमीहरू दुई वटैलाई लगिएको अपरेसन **थिएटरमै** थिएँ । तिम्रो बच्चा जिउँदो जन्मन नसकेपछि, यस्तो सम्भावित अवस्था सोचे जस्तै भएपछि, अस्मिताकी आमाका दुई बच्चामध्ये एउटा बच्चा तिमीलाई दिने व्यवस्था गर्नका लागि त्यहाँ अपरेसन **थिएटरमा** भएका अरू **नर्स** र **डाक्टरलाई** त्यही ठीक समयमा मेरा पतिले बहाना बनाएर अरू कुरामा अल्मलाएका थिए । अस्मिताकी आमालाई पनि बेहोस पारेर अपरेसन गरेर बच्चा निकाल्न परेकोले उनले पनि दुईवटा बच्चा नै थिए भन्ने निश्चित हुने कुरा पनि भएन । त्यसैले पतिको र मेरो पूर्व–सल्लाहअनुसारै मैले एउटा बच्चा तिमीसँग र एउटा बच्चा अस्मिताकी आमासँग सुताइदिएकी थिएँ ।’

कोठामा शान्ति थियो । **आन्टी** बोलिरहनुभएको थियो हामी अरू सबै चुपचाप उहाँका कुरा सुनिरहेका थियौँ । सियो खस्दा पनि आवाज सुनिने शान्त वातावरणमा हामीले **आन्टीका** कुरा सुनिरहेका थियौँ । त्यति भनिसकेपछि **आन्टीले** ‘साँच्चिकै हामी कुरा मात्र गरिरह्यौँ, तिमीहरूलाई भोक लागेको होला, म बिस्कुट लिएर आउँछु **किचनबाट**’ भन्नुभयो ।

एम्माले ‘हजुरले कुरा भन्नुहोस् भान्सामा कहाँनिर छ भन्नुस् म बिस्कुट लिएर आउँछु’ भनिन् ।

**आन्टीले** ‘**किचनको** ढोकाबाट छिरेपछि दायाँ घुम्दा माथि भित्तामा झुन्ड्याइएको **कप बोर्डको** दोस्रो खण्डमा बिस्कुटका डिब्बाहरू छन् झिकेर ल्याऊ । म बूढी मान्छेलाई उठ्ने बस्ने गरिरहन पनि समस्या हुन्छ । मैले गर्न नसकेकोले तिमीले आफैँ दुःख गर्नुपऱ्यो । के गर्ने बूढी भएपछि यस्तै गाह्रो हुँदो रहेछ ।’

एम्माले बिस्कुट एउटा **ट्रेमा** लिएर आइन् । **ग्रिन टीको** मगबाट सबैको कपमा मैले चिया थपिदिएँ । हामीले त्यसो गर्द