Blog Details

Govind Belbase Govind Belbaseपुरानो ब्लगबाट
भाग १६ः त्रीकोण

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १६

१६ त्रिकोण

दिनभरि नै यसो दिमागले सोच्ने फुर्सद पायो कि एम्मा साँझ आउँछिन्, भेट हुन्छ । कुराकानी हुन्छ । अब त हामी दुई बहिनी हौँ भन्ने कुरामा पनि विवाद रहेन । खालि हामी यतिका वर्ष दुई बहिनी भएको थाहा नै नपाई बस्नुपरेको रहस्य पत्ता लगाउनु छ । अब एम्मा र मेरो एउटै गन्तव्य भएको छ । हामी दुवै मिलेर रहस्य खोतल्ने छौँ भन्ने सोच्दा मन फुरुङ्ग पनि हुने । बडो अचम्मको रहस्य के होला भनेर खुल्दुली पनि भइरह्यो । एम्माका साँच्चिकैका बाबुआमा नभए पनि उनले बाबुआमा भनेर मान्दै आएका उनका अभिभावक नै हाम्रो रहस्य खुलाउने मुख्य स्रोत रहेकोले हामीले उहाँहरूलाई भेट्नुपर्ने परिस्थिति बनेको छ ।

काममा व्यस्त हुँदा कामकै धुन यसो मौका मिल्यो कि उही विषय मनमा खेलिरहने भइरह्यो । कतिबेला काम सकिएला र घर जाउँला, एम्मा आइपुग्लिन् भन्ने हुँदाहुँदै आखिर कामबाट घर जाने समय भइहाल्यो । **कार पार्किङमा** गएँ । हत्तपत्त गाडी **स्टार्ट** गरेँ । हुइँकेर घर पुगेँ । तर, मन भने मभन्दा पहिला नै घर पुगिसके जस्तो लागिरहेको थियो । **ट्राफिक लाइट** रातो बलेर रोकेर एकैछिन कुर्नुपर्दा पनि वर्षौं कुर्नु परे जस्तो हुने । अगाडिपट्टिको गाडी सडकमा तोकिएको ३० माइल प्रतिघण्टाको गतिभन्दा बढी नगुड्दा त्यो गाडी चाँडै चाँडै दगुरे त हुन्थ्यो नि भन्ने भइरहने, मनमा त्यसलाई उछिनेरै जाऊँ झैँ भइरहने, तर फेरि अर्को मनले म आत्तिएर नियम मिचेँ भने असुरक्षित भइन्छ भन्ने डर पनि लाग्ने । त्यसो गर्दा आफू मात्र कहाँ हो र अरू पनि झन् असुरक्षित हुन्छन् नि ।

आखिर मन आज अरू दिनभन्दा बढी नै आत्तिए पनि अवस्थानुसारको सामान्य समयमा घरमा पुगेँ । गाडी **पार्क** गरेँ । अझै एम्मा आइपुग्ने समय एकछिन बाँकी नै थियो । माथिको कोठामा गएर कपडा झिकेँ । अनि बाथरुम पसेर नुहाएँ । आफ्नै जुम्ल्याहा बहिनी आउँदा कस्तो कपडा लगाएर बस्न ठीक होला भन्ने मनमा खुल्दुली लागिरह्यो । दराजबाट हल्का रङको ठूला बुट्टा भएका **म्याक्सी** झिकेँ । मनमा बहिनीले कस्तो कपडा लगाएर आउने होलिन् भन्ने प्रश्न उठ्यो । आखिर जस्तो कपडा लगाएर आए पनि के नै फरक पर्छ र पर्न त । तर, हामी दुई बहिनी भन्ने थाहा भएपछिको हाम्रो यो पहिलो भेट नै हुनेछ । मन बडो अचम्म लागिरहेछ । नुहाउँदा पनि मनतातो पानीको धुनमा गीत फुरिरहेकोले गुनगुनाउँदै नुहाएँ । नुहाउन्जेल पनि तल एम्मा आइहाल्छिन् कि जस्तो लागिरह्यो । नुहाउँदा नुहाउँदै ढोकाको घण्टी बज्छ कि जस्तो लागेकोले एक मनले ढोकाको घण्टीमै ध्यान दिइरहेँ ।

नुहाएर कपडा लगाएपछि कपाल सुकाउने **हेयर ड्रायर** झिक्नुभन्दा पहिला बाथरुमको ढोका खोलेर छोरीलाई बोलाएँ ‘नानु’ । दुई पटक बोलाउँदा पनि छोरी नबोलेपछि अलि चर्को आवाजमा छोरीलाई ‘नानु’ भनेर फेरि बोलाउँदा उनी तल्लो तलाको **ट्वाइलेटबाट** निस्कँदै ‘हजुर’ भनिन् । तलको **ट्वाइलेटको** ढोका खुलेको आवाज र छोरीको आवाज सुनेको आवाजको तालमेल हिसाब गरेर उनी **ट्वाइलेटभित्र** भएकोले दुई पटकसम्म नसुनेकी र तेस्रो पटकमा जवाफ दिएको अनुमान गरिहालेँ ।

छोरीले हजुर भनेको सुनेपछि उनलाई भनेँ ‘नानु, मलाई एक कप मिठो नेपाली चिया पकाइदेऊ है ।’

छोरीको ‘हवस’ भनेको आवाज सुन्नेबित्तिकै बाहिरबाट साँचोले ढोका खोलेर मानिस भित्र पसेको आवाजबाट दिनेश आइपुगेको अनुमान गरेँ । **हेयर ड्रायरले** भिजेको कपाल सुकाउन **अन** गरेपछि तातो हावा फाल्दै **ड्रायरले** निकालेको आवाजले कतै एम्मा अलि चाँडै आएर **डोर बेल** बजाइहाले पनि अब त दिनेश पनि तल छँदैछन् । उनीहरूलाई स्वागत गर्दै गर्छन् । मैले **ड्रायरको** आवाजले **डोर बेलको** आवाज नसुने पनि खासै फरक पर्नेवाला छैन भन्ने सोच्दै मस्त हुँदै अब एम्मासँग भेट हुन्छ एकैछिनमा भन्ने भावनाले खुसी भएको मनमा गीत गुन्गुनाउँदै कपाल सुकाएँ । रुमाल **हिटरको डन्डीमा** सुकाएँ र बाथरुमको बत्ती निभाएर सिँढीबाट तल झरेँ ।

छोरीले मलाई चिया बनाएर **सिटिङ रुममा** राखिदिएकी रहिछन् । यो साँझमा एक कप नेपाली तरिकाको बाक्लो चिया खाने बानी पहिल्यैबाट बसेको छ । दूधैदूधमा चियापत्तीको एउटा पोको हालेर त्यसमाथि एक चम्चा चिनी हालेर **माइक्रोवेभमा** दुई मिनेट घुमाउँदा उम्लेर झन्डै पोखिन थाल्दा झिकेर एकछिन मजाले चियापत्तीको पोकोलाई चम्चाले निचोरिने गरी त्यसको रस दूधमा भिजाएर फेरि **माइक्रोवेभमा** हालेर आधा मिनेट घुमाएपछि दूधमा मस्त भिजेको चियापत्तीको आउने जति रस निचोरिने गरी भिजेको चियाको कडक स्वाद बडो मजाको हुन्छ । चियापत्तीको रस निचोरेर **टी–ब्याग बिनमा** हालेपछि एकदमै थोरै **कफी** गन्धका लागि मात्र हालेर आधा मिनेट **माइक्रोवेभमा** घुमाएर भल भल उमालेको चिया साँझमा खाने अम्मल नै भएको छ । पहिले सानी छँदा आमाले ताप्केमा पकाएको बाक्लो चिया खाने बानीबाट पल्केको यो बानी अहिले **माइक्रोवेभको** सुविधामा तताएर बनाउन सजिलै पनि हुन्छ । खान पनि मजा आउँछ ।

म त नुहाएर तल झर्नुभन्दा पहिला दिनेशले पनि आफूलाई **कफी** बनाएर **सिटिङ रुममा** आएका रहेछन् । एकैछिन हामी गफ गर्दै थियौँ, ढोकाको घण्टी बज्यो । पक्कै एम्मा आइपुगिन् भन्ने अनुमान गरिहालेँ । जुरुक्क उठेर ढोका खोल्न गएँ । ढोका खोल्दा साँच्चिकै नै एम्मा रहिछन् ।

उनले ‘**हेल्लो सिस्टर** (दिदी)’ भन्दै मुस्कुराइन् । उनका पछि उनको **ब्वईफ्रेन्ड** पनि उभिएका रहेछन् । उनीभन्दा अग्ला, **जिन्समाथि** बाक्लो **टिसर्ट** लगाएका । उनले पनि एम्माले भन्नेबित्तिकै ‘**हेल्लो**’ भने । एम्माले पनि **जिन्स** र **टिसर्टका** माथि पश्मिनाको उनीको बटनबिनाको **स्वेटर** लगाएकी रहिछन् । एम्माको कपाल पनि **ब्वाइज कटमा** **फ्रेस** भएर आउँदा त अस्पतालकी सादा एम्मा त कति राम्री देखिएकी ! हुन त पहिला आफ्नै बहिनी भन्ने थाहा थिएन अहिले साक्खै बहिनी भन्ने भएर पनि होला झन् राम्री लागेको ।

मैले पनि ‘**हेल्लो**, **आई वाज इगर्ली वेटिङ माइ सिस्टर**’ भन्दै ढोका उघारेर उनीहरूलाई हातले भित्र स्वागत गर्ने मुद्रामा इसारा गरेँ ।

उनले बायाँपट्टिको कोखिलामा च्यापिराखेकी बैसाखीको बीचको डन्डीमा हातले दह्रोसँग समाइन् अनि दायाँ हातले ढोकाको बारमा समातेर दायाँ खुट्टा घरभित्र लगेर दायाँ खुट्टाकै बलमा उभिएर बायाँ हातले बैसाखी पनि भित्र छिराइन् । उनका **ब्वईफ्रेन्डले** समाइराखेको फूलको गुच्छा मागेको एम्माको इसारा बुझेर उनले भित्र छिरिसकेकी एम्मालाई ढोका बाहिरबाटै फूलको गुच्छा पुऱ्याइदिए । एम्माले त्यो फूलको गुच्छा मलाई दिइन् । मैले ‘**थ्यांक यु**’ भन्दै फूलको गुच्छा लिँदै उनलाई भित्र अगाडि बढ्न र उनको **ब्वईफ्रेन्डलाई** भित्र छिर्ने इसारा गरेको **बडी ल्याङ्ग्वेजअनुसार** नै भित्र **सिटिङ रुममा** हामी बस्यौँ ।

दिनेशको **कफी** र मेरो चिया थोरै मात्र पिँधमा बाँकी थियो । दिनेशले एम्मा र उनको साथीलाई ‘**कफी** चिया के खाने कि **ड्रिन्क्स** गर्ने ?’ भन्दै **अल्कोहलको** समेत **अफर** गरेको भावमा सोधे ।

कोठामा छिरेपछि हामीले इसारा गरे जसरी नै एम्मा र उसको साथी दुई सिटको सोफामा बसे । तीन सिटको सोफामा छोरी बसिराखेकी थिइन् । म पनि छोरीकै छेउमा बसेँ ।

**फायरप्लेसको** माथि भित्तामा टिभी **फिट** गरेको देखेर एम्माको साथीले भने ‘यो तरिका मलाई खुब मन पऱ्यो । कोठाको ठाउँ पनि बच्ने ठोक्किने डर पनि नहुने ।’

उनको कुरा गराइको पाराले उनी फरासिला रहेछन् भन्ने बुझियो । उनले त्यो भित्तामा झुन्ड्याएको टिभीको प्रसंग हाम्रो सामिप्यता झल्काउन र खुल्ला स्वभाव व्यक्त गर्न गरेको जस्तो लाग्यो ।

अङ्ग्रेजी भाषामै **कफी** खाने भन्दै ‘चिनी बेगरकै एक चम्चा **कफीको** अनुरोध’ बताइन् । एम्माले त्यसो भनिरहँदा उनको साथीले पनि इसाराले त्यही भनेर इसाराबाट जनाए ।

छोरी र दिनेशसँग पनि परिचय भयो । हामी दुई बहिनी भएको औपचारिक चिनजानबाट एम्मा र म दुवै अति नै खुसी भयौँ । यो रगतको सम्बन्धले भएको खुसी थियो वा कसरी किन यति धेरै खुसी मेरो भित्रबाटै निस्किरहेको थियो ! एम्माको खुसी पनि सबैले देखिने र बुझिने गरी झल्किरहेको थियो । तर, हाम्रो बिछोडको अतीत भने हाम्रो रहस्य बनेर बत्तीमुनिको अँध्यारो जसरी मनभित्र पिल्सिरहेको छ । म त कमसेकम आफ्नै बाबुआमाका काखमा थिएँ । दिदीबहिनी कोही अरू पनि छन् भन्ने अनभिज्ञतामै थिएँ । तर, एम्मा भने अर्कैलाई आफ्नै बाबुआमा मानेर बसेकोमा अहिले वास्तविक बाबुआमा पनि कहिल्यै नभेटिने गरी परलोक भइसके भन्ने पीडा मनभित्र कसरी पिल्सिरहेको होला ! सञ्जोगले उनी उता म यता भयौँला, उनी यता म उता पनि त हुन सक्थ्यौँ नि ! त्यसैले हामी जता परेको भए पनि परिस्थिति त उस्तै हुन्थ्यो नि ।

हुन त एम्मालाई पनि यथार्थ थाहा नभएकोले जसलाई आमाबुवा मान्दै हुर्किइन् त्यो वास्तविकता होइन भन्ने थाहा नहुँदासम्म ढुक्कै थिइन् । तर, उनको र मेरो भेट हुने सञ्जोगले हामी दुई बहिनी रहेको तथ्य भेट्टाउन त हामीले अहिले भेट्टायौँ । कता–कता यो तथ्य उजागर नभएर पहिलेकै स्थितिमा हामी भएको भए यो उल्झन नै हुने थिएन भन्ने पनि मनमा नआएको त होइन । अब दुई बहिनी नै हौँ भन्ने पुष्टि भइसकेपछि झन् हाम्रो रहस्य जान्नैपर्ने बाध्यता हाम्रो अगाडि अजङ्गगर बनेर आएको जस्तो लाग्दै छ । हुन पनि एम्माले बुवाआमा मानेका उनका अभिभावकहरूले यो रहस्य हामीलाई थाहा नदिने मनसाय थियो भन्ने त उनीहरूलाई यो रहस्यका विषयमा एम्मालाई कुनै जानकारी नदिनुबाट स्पष्ट नै थियो । अब हामीले हामी दुई बहिनी भएको रहस्य हामीले थाहा पाइसक्यौँ । अब रहस्य खोलिदिनुस् भन्दा उहाँहरू कुन मनस्थितिमा पुग्नुहुन्छ भन्ने कुराले पनि पिरोलिरहेको छ । तर, जे होस् बिछोडिएका हामी दुई बहिनी कमसेकम हाम्रो रगतको नाता थाहा पाएर खुसी भएका छौँ । यो खुसी जारी रहनेछ भन्ने कामना छ । रहस्य के हो त्यसले हाम्रो मनस्थितिलाई कता डोऱ्याउला भन्ने खुल्दुली भने भइरहेकै छ ।

एम्माको साथी पनि उठेर दिनेशलाई चिया बनाउनमा सघाउँछु भन्दै **किचन** (भान्सा)मा पसे । छोरी उठेर चियाका कपहरू राख्ने **कपबेस** ल्याएर **टी–टेबलमा** राखिन् । चियाका कपको तातो र छेउबाट चुहिने चियाबाट टेबल जोगाउने **कपबेस** त्यसरी बिछ्याएर छोरीले पनि काममा सघाउने प्रवृत्ति जनाइन् । यस्तो सानो कुराले पनि सन्ततिबाट अभिभावकहरूलाई ठूलो सन्तोष मिल्दोरहेछ । छोरी हुर्कंदै गर्दा उनले आफ्नो जीवनलाई सजिलै अघि बढाउने कला सिकेको विश्वास जगाउने यस्ता घटनाले अभिभावकमा सन्तुष्टि दिलाएको महसुस हुन्छ ।

एम्माको खुसीको माहोल जनाइरहेको अनुहारमा एउटा परिवर्तन महसुस गरेँ । उनले अब कुनै सन्दर्भ कोट्याउन लागेको भाव उनको अनुहारबाट अनुमान गरेँ । तर, उनले के भन्न खोज्दै होलिन् भन्ने कुनै अनुमान नै गर्न सकिनँ । उनको अनुहारमा त्यतिन्जेलको खुसी महसुस भइरहेको झलकमा कमी देखिनुले मेरो मनमा पनि चिसो त पऱ्यो । म कसरी उनको अनुहारको परिवर्तनको विषयलाई उठान गरेर कुरा अगाडि बढाऊँ भनेर सोच्दै थिएँ त्यत्तिकैमा एम्माले भनिन् ‘हामी दुई बहिनी नै हौँ भन्ने त पुष्टि भयो, यसमा विवाद रहेन तर, मेरो मनमा एउटा प्रश्न उब्जिरहेको छ ।’

उनले कस्तो प्रश्न गर्न खोज्दै थिइन् भन्ने मैले कुनै अनुमान गर्न सकिरहेकी थिइनँ र भनेँ ‘अँ भन न, के प्रश्न हो । निर्धक्क भएर भन, **प्लीज** ।’

हामी नेपालमा अनुरोधको भाव सितिमिति जनाउँदा बढी काउलो पारेको हुन्छ भन्ने बानी परेको हुन्छ । यता बेलायत बस्दा **प्लीज** भन्ने शब्द जतिखेर पनि प्रयोग गर्ने बानी परेको छ । त्यही भाव मेरो कुरा गराइको दौरानमा मिसिएछ । हामी दुवै बहिनी नेपालीमै कुरा गरिरहेका भए म त्यसरी आफ्नै बहिनीलाई **प्लीज** भनेर औपचारिकता जोड्दै कुरा गर्ने थिइनँ जस्तो मनमा कुरा खेल्दै गर्दा एम्माले भनिन्, ‘हाम्रो रगतले हाम्रा बुवाआमा एउटै हुन् भन्ने त थाहा भइहाल्यो । तर, तिमीले आफ्ना भन्ठानेका नेपालका आमाबुवा हाम्रा वास्तविक बुवाआमा हुनुहोला कि मैले मेरा मात्र बुवाआमा भन्ठानेकी तर अहिले हामी दुवैका बुवाआमा अहिले जिउँदै हुनुहुने चाहिँ वास्तविक हाम्रा बुवाआमा हुनुहोला ? नेपालका बुवाआमा नै हाम्रा वास्तविक बुवाआमा भए त मैले आफ्नै बुवाआमालाई कहिल्यै भेट्न नपाउने भएँ ।’

उनको अनुहारमा खुसीको भाव एक्कासि कम हुनको कारण मैले बल्ल बुझेँ जस्तो लाग्यो । वास्तवमा बुवाआमासँग अब भेट हुने सम्भावना छैन भन्ने त मैले पनि महसुस गरेकी थिएँ तर उनले त कहिल्यै पनि भेट नहुने भयो भन्ने चिन्ता हुने विषयमा त म खासै संवेदनशील भएकी रहिनछु जस्तो लाग्यो । उनले भनेको अर्को पक्षमा त मैले सोचेकी पनि रहिनछु । नेपालमा जोसँग म हुर्कें बढेँ उहाँहरू नै हामी दुवैका वास्तविक बुवाआमा भन्ने मात्र मैले सोचेकी रहिछु । नेदरल्यान्ड्सका बुवाआमा पो वास्तवमा हामी दुवैका रगतका बुवाआमा हुन् कि भन्ने विषयमा मेरो ध्यान बल्ल गयो र भनेँ ‘ए, हो त नि, मैले त यस विषयमा सोच्न पनि नसकेकी रहिछु । म त मेरो परिस्थितिमा जे दिमागमा थियो त्यसैभित्र मात्र रुमल्लिएकी रहिछु । तिमीले भनेको कुरा ठीक हो । हाम्रो रगतका वास्तविक बुवाआमा अहिलेसम्म पनि जीवितै हुनुहुन्छ भन्ने सम्भावना पनि त छ नि त ।’

कताकता वास्तविक बुवाआमा जीवितै हुनेहरू नै ठहरिए हुन्थ्यो भन्ने मेरो मनमा आशा पलायो र लोभ पनि जागेर आयो । बितिसकेका बाबुआमाका ठाउँमा जीवित बुवाआमा भेटिन सक्ने सम्भावना जानेर मेरो मन झन् प्रफुल्ल हुन थाल्यो । उता एम्मालाई भने बुवाआमा जीवितै छन् भन्ने ढुक्क भइरहेको ठाउँमा जन्मदिनेहरू मरिसकेको पीडा भोग्नुपर्ने अवस्था हुन सक्ने कुराले चिन्तित पारिरहेको थियो ।

एम्माले कुरा अगाडि बढाउँदै भनिन् ‘जे सुकै होस्, हामी दुई बहिनी भेट हुन पाएको र वास्तविकता थाहा पाएकोमा म त खुसी छु । अब बुवाआमालाई भेटेर रहस्य पनि पत्ता लगाउनुपर्छ । चिन्ता गर्ने विषय होइन अब त झन् खुसी हुनुपर्छ ।’ उनको कुराको चुरो उनको मन भित्रबाटै निस्किएको थियो भन्ने भाव उनको अनुहारले पनि झल्काइरहेको छ । उनको अनुहारको मलीनता हराएर प्रफुल्लताको उज्यालो अनुहार फिर्ता भइसकेको रहेछ ।

दिनेश र एम्माको साथीले दुवै हातमा कप समातेर आएको देखेर मैले भनेँ ‘**ट्रेमा** हालेर ल्याएको भए हुन्थ्यो नि !’

दुवैजनाले चियाका कपहरू **टी–टेबलमा** राख्दै दिनेशले भने ‘हामी केटाहरूको काम यस्तै लतपते नै हुन्छ, वास्तवमा महिलाहरू ढङ्ग पुऱ्याएर काम गर्छन् । केटी मान्छेले भए यो चिया **ट्रेमा** हालेर ल्याउँथे । त्यसैले होला **म्यानेजमेन्टमा** पुगेका महिलाहरूको काम गराइमा पनि पाकोपन भेट्ने गर्छु म । तर, म यो सिक्छु भन्छु नसक्दो रहेछु । आज पनि चुकिहालिएछ ।’

दिनेशको कुरा एम्मालाई चित्त बुझेछ र भनिन् ‘त्यो चाहिँ हो जस्तै लाग्छ, मलाई पनि ।’

हामी सबैका अगाडि चिया देखेर मैले छोरीलाई सोधेँ ‘तिमी **हट चकलेट** खाने कि ?’

दिनेशले पहिला नै छोरीलाई सोधिसकेका रहेछन् । छोरीले भनिन् ‘अघि नै बाबाले सोध्नुभएको थियो, मैले अहिले नखाने ।’

एम्माले हाम्रो रहस्य उद्घाटन गर्नुपर्ने विषयमा ध्यान तान्न अगाडि भनिन् ‘अब हाम्रो रहस्य पत्ता लगाउने उपाय भनेका बुवाआमा हुनुहुन्छ । उहाँहरूबाटै सम्भव छ । बरु यो **विकेन्डमा** हामी नेदरल्यान्ड्स गएर सँगै भेटौँ, हुन्न र ?’

मैले भनेँ, ‘हुन्छ नि त शुक्रबार साँझ नै हामी नेदरल्यान्ड्स जान सक्छौँ । बरु तिमीले आजै उहाँहरूसँग कुरा गर, उहाँहरूको के छ कार्यक्रम कुन्नी । अहिले **फोनमा** यस विषयमा धेरै कुरा गर्नुभन्दा अहिले भेट गर्न हामी शुक्रबार साँझ त्यहाँ पुग्ने गरी कुरा गरौँ अनि त्यहाँ पुगेर नै भेटेर अरू कुरा सोधौँला । हुन्न ?’ मैले उनको सहमतिको आशा गर्दै भनेँ ।

एम्माले मेरो कुरामा सहमति जनाउँदै भनिन् ‘हुन्छ, तर, मेरो **ब्वईफ्रेन्डको** त बिहीबार नै कामको सिलसिलामा एक हप्ताको लागि **स्कटल्यान्ड** जाने कार्यक्रम छ । हामी मात्र जाऊँ ।’

मैले पनि छोरीको जाँच आउन थालेको र नेपाल गएर कक्षाहरू छुटेको विषयलाई पनि मनन गर्दै भनेँ ‘हामी दुई बहिनी मात्र जाऊँ, शुक्रबार साँझ जाऊँ आइतबार दिउँसोको **फ्लाइटमा** आऊँ । हुन्न र ?’

एम्माले सहमति जनाउँदै ‘हुन्छ’ भनिन् ।

हामी बीचका केही भलाकुसारीपछि शुक्रबार साँझको **फ्लाइटमा** बुवाआमा भेट्न जाने सल्लाह मिलाएर **ट्रेन स्टेसनमा** दुई बहिनी साँझ साढे ६ बजे भेट हुने सल्लाह गऱ्यौँ । र एम्मा र उनको साथी बिदा भएर गए ।