बिहान चिया नास्ता गरुञ्जेलमा काकाले निवेदनहरू लेखेर ठिक्क पार्नुभयो । हामी खाना खाएर बिहान १० बजे गाउँको वडा कार्यालय खुल्ने समयमै वडा कार्यालयको अफिस पुग्यौँ । तारबारले घेरेको रहेछ । त्यो ठाउँमा पहिला १२ वर्ष अघिसम्म मैले देख्दा त केही थिएन । अहिले त एउटा दुई तल्ले नगरपालिकाको बोर्ड झुन्डाइएको भवन अलि पर रहेछ । गेटबाट छिरेपछि २५ पाइला जति बायाँपट्टि एकतले वडा कार्यालय रहेछ । नगरपालिकाको कार्यालय चाँहि गेटबाट सिधै अगाडि अलि पर तीन सय पाइला जतिमा रहेछ । गेटबाट छिरेपछिको दायाँपट्टि जस्तापाताले छाएको लामो टहरोमा एउटा स्काभेटर, एउटा रोलर, एउटा जिप र सात वटा मोटरसाइकल अनि केही साइकल देखिए । इँटाको कुनो माथि फर्काएर लस्करै गाडेर दुईतिर घेरिएको लामो करेसाबारीमा फूलहरू देख्दा साँच्चै कार्यालय भएको झलक पनि देखिने । बायाँपट्टि अलि परसम्म पनि फूलबारी बनाइएको र त्यसको पल्लोपट्टि कम्पाउण्ड घेरेको तारनिरै पुऱ्याएर पाखाना बनाइएको रहेछ । कम्पाउण्डको पछाडि दायाँपट्टि जङ्गल क्षेत्रका अग्ला रूख नगरपालिका भवनभन्दा पनि अग्ला पनि देखिए । त्यसबाट दक्षिणपट्टि भने खेतहरूमा हरियाली देखिने । माघको अन्तिमतिरको महिना भएकोले बिहान १० बजेको घाम चर्को नभए पनि न्यानो पारिरहेको अवस्थामा वडा कार्यालयमा छिरेपछि बायाँतिरको कोठामा कुर्सीमा बसिरहेका कर्मचारीका अगाडि काकाले निवेदन तेर्साएर दिनुभयो ।
कर्मचारीले निवेदन सरर पढे अनि काकालाई फिर्ता दिँदै ‘पल्लो कोठामा लगेर अध्यक्षको तोक लगाएर ल्याउनुहोस् ।’ काकाको पछि–पछि लागेर म पनि अध्यक्ष भएको कोठातिर गएँ । छोरी पनि साथै थिइन् । मैले छोरीलाई त्यो सबै देखाउने सोचिरहेँ । छोरी पनि आफैँ पनि त्यो सबैमा जिज्ञासु बनेर हेर्दै रहिछन् ।
हामी कोठामा छिर्नुभन्दा अघि नै तीन जना मान्छे अध्यक्षतिर फर्किएर उभिएका रहेछन् । अध्यक्ष उनीहरूको कागज एकछिन पढ्दै थिए । टेबलमाथि फिँजाएका कागजमा पढेर त्यसको बायाँपट्टिको टुप्पोमा केही लेखेर उनीहरूलाई दिए । सायद केही तोक लगाएका होलान् भन्ने अनुमान गरेँ । ती तीनजना तोक लागेको कागज लिएर अर्को कोठातिर लस्करै गए ।
उनीहरू ढोकातिर लम्कँदै गर्दा हामीले उनीहरूलाई बाटो छोडिदिएर थोरै बायाँपट्टि **सऱ्यौँ** । दुईतिर सोफाहरू राखिएको बीचमा टी टेबल र अर्कोतिर अलि ठूलो साइजको टेबलपारि अध्यक्ष बसेका । कोठा धेरै सानो नभए पनि सोफा, टेबल, टी टेबलले गर्दा यो कोठा अलि फराकिलो कोठा हुनुपर्ने जस्तो भान भयो ।
छोरीलाई भने टेबलमा बसेर कागजमा कलमले लेख्ने गरेको देखेर अलि अनौठो लागेको उनको अनुहारबाट मैले पढिरहेँ । उनले त्यस्तो काम गर्ने तरिका पहिलो पटक देखेकी थिइन् । उनले देखेका काम गर्ने कर्मचारीको शैलीमा त काउण्टरपारि कर्मचारी र लाइन लागेर नम्बरअनुसार पालो कुरेर कर्मचारीको काउण्टरमा सेवाग्राही पुगेपछि कम्प्युटरमा **प्याट्ट पुट–प्याट्ट पुट** टाइप गरेर खुरुरुरु प्रिन्टरबाट सुलुलुलु बग्दै निस्केका कागजमा साइन गरेर सेवाग्राहीका हातमा कागज थमाएको अनुभवलाई मनमनै तुलना गर्दै थिइन् जस्तो मैले अनुमान गरेँ । उनका आँखाले त्यहाँको काम गर्ने तरिका र साधनहरू देखेर अचम्म मानेको पनि मैले उनका आँखामा पढ्दै गरेँ । तर, उनीसँग त्यस विषयमा कुरा गर्ने वातावरण भने रहेन । उनले कहिलेकाहीँ **एपोइन्टमेन्ट** लिएर मिटिङमा पुगेर कर्मचारीसँग गरेको सल्लाहअनुसार कम्प्युटरमा पहिलादेखि नै भइरहेका **टेम्प्लेटहरूमा** भर्नुपर्ने ठाउँमा भरेर तयार पारेपछि गरिएको क्लिकका भरमा सुलुल्ल गर्दै प्रिन्टरबाट निस्किएको कागज ग्राहकलाई दिँदै कर्मचारीले मिठो मुस्कानसहितको न्यानो अभिवादन बोकेर बाहिर निस्कने गरेका अनुभवहरू भन्दा त्यहाँ देख्दै गरेको कार्यशैली कताकता के नभए जस्तो के नमिले जस्तो, ढिला सुस्त भइरहे जस्तो, **स्वस्थकर** नभए जस्तो मलाई त अनुभव भइरहेको थियो भने छोरीलाई झन् कस्तो भएको होला भनेर छोरीसँग सोध्न मन थियो तर त्यहाँ त्यस किसिमको कुरा गर्ने वातावरण नरहेको मानेर चुप बसेँ ।
हामी उभिएको चाल पाएर पनि होला अध्यक्षले टाउको अलि माथि उठाएर हामीतिर हेरे । हामी ढोकाको बायाँपट्टि उभिएका थियौँ । उनको पछाडि र बायाँपट्टिबाट आएको उज्यालो प्रकाश ढोकातिरबाट छिरेको प्रकाशभन्दा चहकिलो थियो । ढोकामा झुण्डाइएको पर्दा मान्छे भित्र–बाहिर गर्दा सरेर आधा जस्तो त खुल्ला नै थियो । उनले पिताम्बर काकालाई देख्नासाथ कुर्सीबाट उठ्दै दुई हात जोड्दै नम्रभावमा नमस्कारसहित भने ‘ए, सर पो आउनु भएको रहेछ । कतिखेर आउनु भयो, बस्नुहोस् ।’
काकाले हामीलाई पनि पहिला सोफामा बस्ने इसारा गर्दै अध्यक्षतिर फर्किएर भन्नुभयो ‘दाइभाउजूको दुर्घटना र दुःखको खबर त थाहा नै होला’, मतिर बताउँदै ‘यिनी अस्मिता हुन्, दाइ भाउजूकी एउटै मात्रै छोरी, र तिनी सानी नानी अस्मिताकी छोरी हुन् । अब दाइभाउजूको दुःखको घटना भइसकेपछि सबै जग्गा जमिनहरू कागजहरू मिलाइदिनु पऱ्यो भनेर म आफैँ पनि उनीहरू सितै हिजो बुटवल आइपुग्यौँ । अनि आज यहाँबाट सिफारिसहरू लिएर यतैबाट सदरमुकाम जाने भनेर आएको ।’
त्यति भन्दै काकाले हातको कागज वडा अध्यक्षको टेबलमा राखिदिनु भयो । त्यतिकैमा ढोकानिर आएर खुम्चिएको पर्दा तन्काउँदै गरेका एक व्यक्तिलाई अध्यक्षले चार कप चिया ल्याउन आदेश दिए । सायद ती व्यक्ति त्यहाँका कार्यालय सहायक होलान् । अध्यक्षले एकछिन त्यो निवेदन पढ्न थाले । हामी चुप्प लागेर उनको प्रतिक्रियाको प्रतीक्षा गरिरह्यौँ ।
कागज पढिसकेपछि निवेदनको शिरमा दायाँपट्टि कुनामा तोक आदेश लेखे । अनि भने ‘राम्रो मान्छेलाई भगवान्ले पनि चाँडै लैजान्छन् भन्छन्, के गर्ने हामीले टार्न पनि नसकिने । अस्मिता त कता विदेशमा बस्नुहुन्छ हैन ?’
म ः ‘हो म अहिले बेलायतमै बस्छु । मेरा पति पनि आउनुभएको छ । बाहिर गाडीमा हुनुहुन्छ । मेरी छोरी यिनै हुन् । यहाँ यस्तो दुःख परेकोले नेपाल आएको । काकाले फेरि आएको बेला सबै कागजहरू पनि मिलाएर जाऊ, पछि गर्ने भनेर राख्यो भने कहिले कहिले भन्ने हुन्छ । एक पटक गर्न परिहाल्छ भनेर आएको । हामी कहिलेकाहीँ छुट्टीमा हामी गाउँमा बस्न आएको बेला सानोमा तपाईंसँग खेलेको सम्झना आउँछ ।’
अध्यक्ष ः ‘हो त, सरको त्यस्तो दुर्घटनाबाट जानुभयो । कस्तो दुःख लागेको छ । पत्यारै नलाग्ने । के गर्नु खै ? जहिले पनि भेट हुँदा अस्मिता कहिले आउनुहुन्छ ? आएको बेला खबर गर्नुस् है, बरु म भेट गर्न बुटवलै आउनु परे पनि आउँला भन्थेँ । आज बल्ल भेट भयो ।’
मैले छोरीलाई भनेँ ‘जाऊ नानु, गाडीबाट बुवालाई बोलाएर ल्याऊ ।’
छोरी ‘हस’ भन्दै कोठाबाट बाहिर गइन् ।
छोरी ढोकाबाट निस्कनासाथ एउटा तारले बेरिएको चियाका गिलास झुण्डाउने र माथिपट्टि समाउने ह्याङ्गरमा ल्याएको चिया तीन कप टी टेबलमा र एउटा अध्यक्षको अगाडि राखिदिए । तिनै चिया लिएर आएका तथा अघि पर्दा मिलाउने व्यक्तिलाई अध्यक्षले आफूे तोक लगाइसकेको हाम्रो कागज दिँदै ‘उता फाँटमा दिएर यो सिफारिस चाँडै तयार पारेर ल्याउन भन्नु’ भन्दै दिए ।
उनी कागज लिएर गएको एकैछिनमा कोठामा दिनेश आइपुगे । कोठाबाट छिर्दै दिनेशले अध्यक्षलाई नमस्कार गरे ।
मैले दिनेशलाई अध्यक्षसँग चिनाउँदै भनेँ,ः ‘उहाँ मेरो पति दिनेश, यताको खबर पाएर म आउँदा उहाँ भने कामको सिलसिलामा साउथ अफ्रिकामा हुनुहुन्थ्यो । उतैबाट सिधै नेपाल आउनुभयो ।’
मैले दिनेशलाई ‘यता बस न’ भन्दै आफू छेउको सोफामा बस्न अनुरोध गर्दै भनेँ ‘उहाँ र हामी त सानोमा सँगै खेल्थ्यौँ । अझ सानोमा एक कक्षामा बोरा बोकेर हामी एउटै स्कूलमा पढ्न जान्थ्यौँ । अहिले नेता भएर चुनाव जितेर अध्यक्ष हुनुभएछ ।’
दिनेशले अध्यक्षलाई सम्बोधन गर्दै ‘तपाईंलाई बधाई छ, **यंग जेनेरेसन** जनसेवामा लाग्नु त धेरै राम्रो कुरा हो ।’
अध्यक्ष ः ‘के गर्ने धेरै पढेको मान्छेहरू, ऊ अस्मिता जस्तो व्यक्तिहरू गाउँ छाडेर गएपछि गाउँ त जस्ताको तस्तै । पढालेखा र राम्रो मान्छेहरू बस्ने भएको भए हाम्रो गाउँ पनि कति राम्रो हुन्थ्यो ।’
दिनेश ः ‘जसको क्षमता जस्तो छ त्यसैअनुसार परिस्थितिअनुसार भूमिका निभाउने त हो नि ! तपाईंहरू यहाँ जनसेवा गरिराख्नु भएको छ । अस्मिताले पनि कत्ति बिरामीको ज्यान जोगाएकी छन् । सबैले एउटै काम गरेर मात्र हुने होइन नि त ।’
त्यत्तिकैमा एउटा पहेँलो पहिरनका जोगी जस्तो देखिने व्यक्ति कोठामा प्रवेश गरेर नमस्कार गरेपछि उनलाई अध्यक्षले ‘बस्नुहोस्’ भन्दै हामी बसेको भन्दा पारिपट्टिको सोफामा बस्न अनुरोध गर्नुभयो ।
अध्यक्ष ः ‘उहाँ त्यो झडुलाको मन्दिरको व्यवस्थापन गर्नुहुन्छ र बस्नुहुन्छ ।’
जोगी ः ‘ए उहाँ त हाम्रो पिताम्बर बाबु होइन र ? ओहो धेरै वर्षमा भेट भयो ।’
काका ः ‘हो चिन्नुभयो ।’ मतिर बताउँदै ‘यिनी अस्मिता हुन्, हाम्रो दाइकी छोरी, बेलायत बस्छिन् डाक्टर हुन्, अनि उहाँ चाँहि ज्वाइँ ।’
जोगी ः ‘अ त नि, ठूलो बाबुको खबर सुनेर एकदम पीर लाग्यो । यो अस्मिता नानीलाई त सानैमा देखेको चिन्ने त कुरै भएन धन्न आज भेट्न पाइयो । खै नानी तपाईंको हात देखाउनुस् त, कस्ता ग्रहदशा रहेछन् र यस्तो आपत आइपुग्यो हेरौँ त ।’
मैले दायाँ हात उनको अगाडि खोलेर देखाइदिएँ ।
जोगी ः ‘दुईवटै हात देखाउनुस् ।’
मैले दुईवटै हात उनको अगाडि उत्तानो पारेर देखाइदिएँ । एकैछिन हात हेरेपछि । उनले भने ‘ए लौ, साढे साती चलेका रहेछन् अझै चार महिना जति बाँकी रहेछ । नानी त एउटा सन्तान मात्रै भन्ने सुनेको थिएँ तर हातले त दुई सन्तान त हुनैपर्ने देखाउँछ । खै ! तपाईंको हातले त्यही भन्छ क्यारे । हुन त हजुर बाउआमाकै एउटै मात्र सन्तान भन्ने त मलाई थाहा भएकै हो । हाम्रो विद्याले भनेअनुसार त तपाईंको दिदी वा बहिनी त हुनैपर्ने देखिन्छ ।’
उनको कुरा सुनेपछि मैले पुलुक्क दिनेशतिर हेरेँ । उनको र मेरो आँखा जुध्यो । हाम्रा आँखाले आपसमा कुरा गरे । अरू कसैले सुनेनन् । त्यो मैले उपचार गरेकी बिरामी एम्मा जुम्ल्याहा हुन् भन्ने विषयमा उनको भनाइ मिले जस्तो लाग्यो । ती जोगीको हात हेरेर भनेका कुराले मेल खायो भनेको जस्तो सल्लाह हाम्रा आँखाले गरे ।
हुन त ज्योतिष विज्ञान चाँहि ग्रहहरूको स्थानले असर पार्ने कुरामा म केही हदसम्म विश्वास पनि गर्छु । तर, हातका रेखाको त्यस्तो विज्ञानको विषयमा मलाई विश्वास लाग्दैन । आफ्नै परिस्थितिसँग मेल खाने उनको भनाइले अलि अचम्म पाऱ्यो । मान्छे जन्मेको समयमा सूर्य चन्द्रमा आदि ग्रहहरू कुन स्थानमा रहेका छन्, त्यसैअनुसार ग्रहहरूको स्थान परिवर्तन हुँदा त्यसको प्रभाव व्यक्तिमा पर्ने मानेर ज्योतिष विज्ञानको केही मर्म किंवदन्ती मात्र होइनन् जस्तो लाग्छ । उदाहरणको लागि पुस माघ जस्तो जाडो महिनामा जन्मेको मान्छेले जन्मदिनका दिन खोलामा पौडी खेलेर जन्मदिन मनाउँछु भन्नलाई बढी जाडो हुन्छ । रमाउन सक्ने हुँदैन । तर, गर्मी महिनामा जन्मिएको मान्छेले जन्मदिनलाई नदीमा नुहाएर पौडी खेलेर मनाउन रमाइलो हुन्छ । जाडो याममा सूर्य पृथ्वीको उत्तर जाने हुनाले पुस माघमा जाडो हुन्छ र त्यस्तो जाडोमा नदीमा पौडी खेलेर जन्मदिन मनाउन त्यही सूर्य एक ग्रहको स्थानले पारेको असरको रूपमा बुझ्न सकिन्छ । ज्योतिषहरूले आकाशका ताराहरूको स्थान धेरै वर्षसम्म गणना गरेर कुन दिन र कुन समयमा जन्मेको मान्छेमा कुन ग्रह कुन स्थानमा हुँदा कस्तो असर पऱ्यो भन्ने गणना गरेर तथ्यांकका आधारमा भविष्यवाणी गर्ने ज्योतिष शास्त्र विस्तार गरेको जस्तो लाग्छ । तर, बाहुनहरूले त्यस्तो अनुसन्धान गरेर तयार पारेको विज्ञानलाई ‘चमारेले छोएर ग्रहण लागेको’ भन्ने जस्ता भ्रम छरेर ज्योतिष शास्त्रको विश्वास नै कम गरेका छन् । ज्योतिष शास्त्र त पहिले भएका अनुसन्धानमा अहिले बनेको प्रविधि तथा हर्बल तथा जेम्स वेब टेलिस्कोप जस्ता आधुनिक साधनबाट अझ बढी विकसित हुनुपर्ने । ग्रहहरूको स्थान र मानिसमा पर्ने असर गणना गरेर अझै **आधुनिकीकरण** गर्नुपर्ने जस्तो लाग्छ । आखिर ग्लोबल वार्मिङ हुँदैछ भन्ने पनि त हरेक वर्षको तापक्रम नापेरै त गरिन्छ । अनि त्यो तापक्रमबाट हिउँ कति पग्लियो, त्यो पग्लिएको हिउँले समुद्र सतह कति बढ्यो भन्ने जस्ता तथ्याङ्कका आधारमा मान्छेले आफ्ना क्रियाकलाप सन्तुलित पार्न जनचेतना फैलाउँदै छन् । पृथ्वीको आयु कम हुन नदिन सतर्क पार्नुलाई पनि वास्तवमा ज्योतिष विज्ञानसँगै जोडेर अझै विकास गर्न सकिन्छ जस्तो पनि लाग्छ । तर, त्यसै विषयमा बढी अध्ययन गर्ने मेरो क्षेत्र पनि परेन फुर्सद पनि त हुँदैन ।
ज्योतिष विज्ञानको जस्तै यो हातका रेखाको पनि विज्ञान हुनसक्छ । त्यो विज्ञानको विश्लेषणको आधारमा यी जोगीले मेरी कोही दिदीबहिनी हुनुपर्ने भनेकै हो भने त ती एम्मा त मेरै दिदी वा बहिनी नै हुन् । जन्ममिति पनि एउटै देखिनुको मतलब जुम्ल्याहा नै हुन् । तर, यी जोगीले भने भन्दैमा पुष्टि भएको भन्न त भएन । त्यो **डिएनए टेस्ट** रिजल्ट पनि हेर्नैपर्ने भयो । अनि उनका बाबुआमालाई भेटेरै भए पनि वास्तविकता पनि पत्ता त लगाउनै पर्ने भयो । अहिले फेरि यताका काम नसकी जाने कुरा पनि भएन । सबै कुरा एकैचोटि किन आइपरेको होला ? उता एम्मासित भेट हुनु यता यही बेला बुवाआमाको मृत्यु हुनु । के हुन लागेको हो कुन्नी !
हामी कुरा गर्दै गर्दा मैले मनमा खेलेका जोगीले भनेका कुराले समय बितेको थाहा नै पाइनँ । ढोकामा कागज लिएर आएका कर्मचारी देखेपछि ध्यान मोडियो । काका र अध्यक्षहरू पनि कुरा गर्दै हुनुहुँदो रहेछ तर खासै उहाँहरूका बीचमा के कुरा भएका हुन् हेक्का पनि राखिनँ ।
कर्मचारीले दिएको कागज पढेर अध्यक्षले सिग्नेचर गरेर काकालाई दिएपछि काकाले पनि पढेर झोलामा हाल्नुभयो र भन्नुभयो ‘अब हामी सदरमुकाम जान्छौँ, अझै समय पनि बाँकी छ त्यसैले त्यहाँ पनि अरू काम पनि सक्नुछ । हुन्छ बाबु सहयोगको लागि धन्यवाद ।’
ती कर्मचारी उभिएकै थिए र भने ‘त्यो सिफारिसको लागि र निवेदन टिकट दस्तुर तिर्नुपर्ने हुन्छ ।’
काका ः ‘हुन्छ हामी त्यो पैसा तिरेर रसिद काटेर अब जान्छौँ’ भन्दै वडा अध्यक्षसँग बिदा माग्नुभयो ।
मैले र दिनेशले पनि नमस्कार गरेर वडा अध्यक्ष र ती जोगीलाई पनि नमस्कार गरेर बिदा मागेँ । फाँटमा पुगेर पैसा तिरेर काकाले नै रसिद पनि सबै कागज सँगसँगै आफूे समाएको झोलामा राख्नुभयो । हामी गाडीमा पुग्यौँ, तर छोरी त्यहाँ थिइनन् । कता गइन् भनेर अलि चिन्ता जस्तो पनि लाग्यो । त्यत्तिकैमा दिनेशले सोधे ‘नानी खै त ?’
म ः ‘त्यही त तिमीलाई बोलाउन पठाएपछि त मैले नानीलाई देखेकै छैन । कुरामा लागियो ख्याल पनि भएन । हैन तिमीलाई भित्र जान भनेपछि तिमीसँग भित्र त आइनन् त नानी, कता गइन् त !’
छोरीलाई नदेखेकोमा म चिन्तित देखेर दिनेशले भने ‘भित्र बस्न बोर भएर यतै कतै होलिन् छोरी, पर्ख म खोज्छु’ भनेर यताउता हेर्दै, अलि उत्तरतिर हिँड्न थाले । हामी भने त्यहीँ उभिएर यताउता हेर्न थाल्यौँ । दिनेश अलि अगाडि पुगेपछि ‘ए उता रहिछन् म बोलाउँछु ।’ भन्दै हातले हामीलाई नानी त्यो नगरपालिका भवनको तारबारको उत्तरपट्टि बताउँदै उनी उतै हिँड्दै गए ।
एकैछिनमा दिनेश र छोरी हिँड्दै आएपछि हामी गाडीमा बस्यौँ र गाडी गुड्न थाल्यो । मैले छोरीलाई सोधेँ ‘हामीले त बाहिर आउँदा तिमीलाई नदेखेर चिन्ता लागेको । तिमी कता गएकी थियौ ?’
छोरी ः ‘भित्र हजुरहरू कुरा गर्दै हुनुहुन्थ्यो एकछिन समय लाग्छ जस्तो पनि लाग्यो अनि यताउता के कसो रहेछ भनेर बुझ्न हेर्दै थिएँ । त्यत्तिकैमा उता त्यो बिल्डिङको पल्लोपट्टि एउटा केटी देखेर उनीसँग कुरा गरेर गाउँका कुरा सिकिन्छ भनेर उनीछेउ गएर कुरा गरेकी । त्यहाँ बाख्रा चराउन आएकी रहिछन् ती केटी । उनको नाम सीता रहेछ । यहीँ गाउँकी रहिछन् । आजकाल जाँच सकिएपछि छुट्टी भएको रहेछ । उनले आठ कक्षाको परीक्षा दिएकी रहिछन् । यो गाउँमा त उनीभन्दा जेठो कोही केटीले पनि पढेको छैन रे मम्मी । उनी त यो गाउँभरिबाट स्कूल पढ्न गएकी पहिलो केटी रहिछन् । उनको आमालाई काकीहरूलाई दिदीहरू कसैलाई पनि पढ्न नै आउँदैन रे । पहिले पहिले त छोराहरूलाई मात्र स्कूल पढ्न पठाउँथे रे उनीहरूका बाउ आमाले । आजकाल भने केटीहरूलाई पनि पढाउन थालेछन् । उनका कति काका मामा दाइ नाता पर्ने केटाहरूले पनि स्कूल नै नपढेका रे । आजकाल भने सबै केटाकेटी स्कूल पढ्छन् भनेर उनले बताइन् । म त अचम्म परेँ ।’
म ः ‘हो त नानी, यो थारू गाउँ हो । थारूहरू यहाँका आदिवासी हुन् । उनीहरूले खेती किसानी मात्र जान्दथे । अब बल्ल अलिअलि पढ्ने सिक्ने जान्ने हुँदै गएका छन् । हामीले स्कूल पढ्दासम्म पनि थारूहरू कसैले पनि छोरीलाई स्कूल पठाउँदैनथे । हुन त हाम्रै फुपूहरूकै पालामा पनि केटीहरूलाई खासै पढाउने चलन थिएन । पढाए पनि छोराहरूलाई खर्च गरेर बोर्डिङ स्कूल पढाउने र छोरीलाई गाउँको सरकारी स्कूलमा पठाउने चलन थियो । केटाहरू पनि सबै त स्कूल जान्थेनन् तर धेरैजसो छोराहरूलाई भने स्कूल पठाउँथे । त्यो पनि पढ्ने वातावरण नभएकोले थारू केटाहरूले पनि धेरैले त केही वर्षमा पढाइ छाड्थे । थोरै केटाहरूले मात्र १० कक्षासम्म पढ्थे । कलेज पढ्ने त हुँदै हुँदैनथे भने पनि हुन्छ । तिमीलाई हामीले बताएको भए तिमीले पत्याउने पनि थिइनौ होला । त्यो केटीले बताएपछि तिमीलाई यथार्थ थाहा भयो । तिमीले उनीसँग कुरा गरेर धेरै कुरा सिक्यौ ।’
त्यो बाटो भएर काका पनि सदरमुकाम जानु भएको रहेनछ । कालोपत्रे गरिएको त्यो बाटो सरासर सदरमुकाम पुग्छ भनेको त दुई ठाउँमा पिच सडक नै दुईतिर देखियो । हामीले कुन बाटो समाउने भन्ने अलमल परे पनि काकाले पूर्वतिर जाने बाटो अन्दाज गरेर रोजेको बाटो हुँदै हामी सदरमुकाम पुग्यौँ । बजार छिरेको एकैछिनमा मालपोत कार्यालय पुग्दा कार्यालय बाहिरको बर–पीपल चौपारी (चौतारी)मा ढलान गरेको छतमुनि लेखनदासहरू र सेवाग्राहीहरूको झुण्ड नै देखियो । छानो भए पनि अरू खुल्ला रहेछ केवल पिलरहरूले छानो धानेको रहेछ । चौपारीका बरपीपललाई पनि त्यो ढलान गरेको छानोले खासै असर गरेजस्तो लागेन । कतिपय लेखनदासले त ल्यापटप पनि राखेका देख्दा प्रविधि प्रयोग राम्रै गरी हुन थालेछ जस्तो लाग्यो तर देखिएका ल्यापटप र प्रिन्टरहरू पनि बन्द देखिन्थे । लेखनदासहरू कागज कलमकै भरमा लिखतहरू तयार गरिरहेका रहेछन् । धेरैजसो सबै व्यस्त नै देखिने । एउटा केटो भने खालि देखेपछि काकाले बोलाएर केही कुरा गर्नुभयो । त्यसपछि उहाँले बनाएको टिपोट देखाएर अपुताली नामसारी गर्ने कागज तयार गर्न भन्नुभयो । उनले ‘त्यो चौपारीको बरको रूखमुनि बनेको दुई कोठे घरमा लेखनदास संघको अफिस भएको र त्यहाँबाट अपुताली फारम किनेर ल्याउनुहोस्’ भने ।
उनको ताल देख्दा व्यावसायिकता झल्किएन । तर, उनको मात्र होइन त्यहाँको चलन नै त्यस्तै रहेछ । निवेदन फारम छुट्टै किन्दा महँगो दस्तुर असुल गर्ने लेखनदास संघको मिलिभगत रहेछ भन्ने नै बुझियो । फारम चाँहि नियम अनुसारको ढाँचामा संघको पहलमा छापेर बेचिँदो रहेछ । कागज किन्दा तिरेको निकै महँगो शुल्कबाट पनि लेख्ने व्यक्तिलाई कुनै रकम हात लाग्छ कि लाग्दैन भन्ने चाँहि मैले बुझिनँ र बुझने प्रयास पनि गरिनँ । तर, लेखनदासलाई भने कागज लेखेबापतमा छुट्टै दस्तुर दिनुपर्ने रहेछ । उनको दस्तुर हाम्रालागि महँगो त लागेन धेरै थोरै जस्तो नै लाग्यो तर व्यावसायिक स्तर पटक्कै नभएको अनुभव भयो । सायद उनीहरूको सेवा लिन आउने अरू ग्राहकहरूको सेवा दस्तुर भुक्तान गर्ने क्षमताको भरमा त्यहाँको चलन चलेको होला ।
उनले कागज लेखेर तयार गरे । उनले कागज लेखुन्जेल हामी अलि परको चिया पसलमा गएर चिया नास्ता गऱ्यौँ । पसलमा राखिएका खानेकुराका वरिपरि माखाहरू भन्किएका । सफाइ पटक्कै नभएको । लथालिङ्ग भए पनि भोक टार्न हामीले केही त खानैपर्ने थियो । पकाएको मटरमा किरा भए पनि मरेको तात्त्तात् तै हुने र चियामा पनि किराको प्रभाव नहुने व्याख्या गर्दै काकाले पीरो नहालेको मटर र चिया माग्नुभयो । नास्ता गरेर हामी चौपारीमा पुग्दा लेखनदासले अझै लेख्दै रहेछन् । सिमेन्टको ढलाइ गरेको टेबलमाथि फराकिलो बाँसको कागज बिछ्याएर, उस्तै गरी तयार पारिएको बेञ्चमा बसेर लेख्दै रहेछन् । उनले कागज तयार पारुञ्जेल हामीले पर्खिरह्यौँ । उनले त्यो सिमेन्टको ढलाइ गरेका बेञ्चमा हामीलाई बस्न भने पनि हामी उभिएरै समय बितायौँ । उनले अरू धेरैजसो लेखिसकेपछि मेरो नागरिकता प्रमाणपत्र मागे । मैले नागरिकता त छैन भनेँ ।
काका ः ‘उनको नेपाली नागरिकता छैन । उनी विदेशी हुन्, बेलायती नागरिक हुन् तर उनीसँग गैरआवासीय नेपाली नागरिकता छ, त्यसैका लागि परराष्ट्र मन्त्रालयबाट पत्र पनि ल्याएको छ । नागरिकता नम्बरको ठाउँमा गैरआवासीय नेपाली नागरिकता नम्बर लेखिदिनुस्’ भन्नुभयो ।
लेखनदास ः ‘नेपाली नागरिकता नभए त नामसारी हुँदैन । अहिलेसम्म कसैको पनि बिना नागरिकता गरेकै छैन ।’
काका ः ‘ठीकै छ, तपाईंले कागज तयार पारेर पेश गर्नुस् म कुरा गरौँला ।’
लेखनदास ः ‘हुन्छ, अब अरू त लेखिसकेँ’ भन्दै । मैले दिएको गैरआवासीय नेपाली नागरिकताको नम्बर कागजमा लेखे । अनि भने, ‘अब पहिला मोठ भिडाउनुपर्छ ।’ हिँड्नुहोस् भन्दै अगाडि हिँडे, हामी उनकै पछि लाग्यौँ ।
चौपारीको सिँढी झरेर सानो फुटपाथ जत्रो तर साना गाडी पनि छिर्न मिल्ने बाटो कटेपछिको फलामे गेटको मान्छे छिर्न बनाएको ढोकाबाट एकएक गर्दै भित्र पस्यौँ । जताततै मान्छे देखिने । बायाँपट्टि दुईतले इँटाको पर्खालमा सिमेन्टले प्लास्टर गरेको र छाना ढलान गरेको घरमा लस्करै तल पनि माथि पनि कोठाहरू रहेछन् । अगाडि बरन्डा र बायाँ छेउमा माथि चढ्ने सिँढी । दायाँपट्टिको घर अलि पुरानै पाराको रहेछ । थोत्रो नै भन्दा पनि हुने । दुईतिरबाट पस्ने तीन तलाको घरमा झिँगटीको छाना रहेछ । हामी पहिलो ढोकाबाट अगाडि बढेर दोस्रो ढोकातिर पाँचवटा खुड्किला चढेर कोठाभित्र छिर्दै गरेका लेखनदासको पछि लाग्यौँ । उनले तयार पारेको कागजको मिसिल लिएर ढोकाभित्रको बायाँतिरको कोठामा पस्न खोजे तर त्यहाँ अटाई नअटाई मान्छे रहेछन् । टेबलपारि कम्प्युटरमा दुई जनाले काम गर्दै गरेका रहेछन् । लेखनदासले हाम्रो फाइल पनि कम्प्युटरमा काम गर्दै गरेका मान्छेको टेबलमा भएका पाँच–६ वटा फाइलको मुनि राखे । त्यहाँको माहोल नै देखेर त्यहाँभित्रका मान्छेहरू हामीभन्दा पहिलाको पालोमा बसेर काम पर्खिरहेको भन्ने बुझियो ।
छोरी ः ‘मम्मी, यो यहाँको अफिस र काम गर्ने तरिका हो ?’
म ः ‘हो, यो यहाँको ल्यान्ड रजिष्ट्री अफिस हो । युकेमा त हामीले अफिस नै नदेखी पत्रहरूको भरमा सोलिसिटरले घर किन्ने बेच्ने काम गरिदिन्छन् । **इन्हेरिटेन्स** (अपुताली)को लागि पनि कार्यालय पुग्नु पर्दैन । तर, यहाँको यो काम गर्ने तरिका र अफिस त मैले पनि पहिलो पटक देख्दै छु । तिमीलाई जस्तै मलाई पनि अनौठो लाग्दैछ । युकेमा भए त फोन गरेर सोलिसिटरलाई नियुक्त गरेपछि मिटिङ डेट फिक्स गरेपछि सोलिसिटरले सबै कागज तयार पारेर सिग्नेचर गर्न बोलाउँछ । अरू सबै काम कि त अनलाइनबाट कि त पत्राचारबाट कि त फोनबाट भइहाल्छ । यहाँ त्यस्तो **सिस्टम** विकास नभएकोले यो पुरानो पेपर वर्कको झन्झटै झन्झट हुँदैछ ।’
हामीभन्दा अगाडिदेखि त्यहाँ कुरेर बसेका मान्छेहरूको फाइलका नम्बरहरू कम्प्युटरमा हेरेर कर्मचारीले केके कुनकुन कित्तामा केके समस्या भनेपछि फाइल दिएर पठाए । एक–दुई–तीन गर्दै अगाडिका फाइल घट्दै गए । हामी पछि आउनेहरूको फाइल हाम्रोभन्दा तल घुसार्दै गए । धेरै नै बेरपछि हाम्रो पालो आयो । लेखनदासलाई कर्मचारीले दुईवटा कित्ता अरूको पनि नाममा देखियो, अरू कित्ता ठीक छ भन्दै फाइलको बायाँ कभर पातामा बाझिएका दुई कित्ता नम्बर टिपेर दिए । मैले त खासै केही कुरा पनि बुझेकी पनि थिइनँ । लेखनदासले काकालाई फाइल देखाउँदै भने, ‘अहिले सबै मोठहरू कम्प्युटराइज गरेको छ । कम्प्युटरमा इन्ट्री गर्दा एउटै कित्ता पनि दुई जनाको नाममा देखिन गएको छ । कहिलेकाहीँ चाँहि कतै नदेखिने पनि हुन्छ । खास गरेर हातले लेखेको मोठबाट हेरेर कम्प्युटरमा टाइप गर्दा हातले लेखेको अक्षर नबुझेर अर्कै नम्बर टाइप गरेकोले अर्कोको नाममा पनि त्यही कित्ता देखिने भएको हो ।’
काका ः ‘अब कसरी मिल्छ त के गर्नुपर्छ ?’
लेखनदास ः ‘अर्को निवेदन लेखेर हाकिमको कोठामा लगेर तोक लगाएपछि नापी कार्यालयमा गएर दुई जनाको नाममा देखिएको कित्तालाई अर्कोको नामबाट सच्चाएर ल्याउनुपर्छ । तर, अहिले त अफिस बन्द हुने बेला भयो । निवेदन लेखिदिन्छु लिएर हाकिमकोमा जानुहोस्’ भन्दै उनले **हाकिम** बस्ने कोठा त्यो थोत्रो घर पछाडिको दुईतले घरको माथिल्लो तलामा सबैभन्दा छेउको कोठा देखाइदिए ।
हामी फेरि फर्किएर चौपारीमा आयौँ । लेखनदासले फेरि कागज किन्न पठाए । पहिलाकै ठाउँमा गएर काकाले कागज किनेर ल्याउनुभयो र उसले लेखेर दिएको निवेदनसहितको फाइल लिएर हामी हाकिमको कोठातिर लाग्यौँ । त्यो थोत्रो तीन तल्लो बिल्डिङको पछाडिको भवन त अलि नयाँ रहेछ । अगाडिका दुईटा घरको भन्दा अलि राम्रो रङरोगन गरिएको । हाकिम बस्ने बिल्डिङतिर जाँदै गर्दा त्यो थोत्रो बिल्डिङको भित्ताको हालत देख्दा त खतरनाक देखिने । धेरै पुरानो घर भएकोले साढे दुई इँटाको मोटो पर्खाल रहेछ तर पर्खालको भित्ताका इँटा मक्किएर आधाजति पर्खाल त धुलो भएर झरेछ । घर नै एकदमै असुरक्षित देखिने कुनै पनि समयमा ढल्छ जस्तो देखिने । छोरीलाई त त्यो देख्दा सारै अचम्म लागेछ । मोबाइल झिकेर कार्यालयको बोर्डसमेत भत्किन थालेको पर्खालसहितको घरको फोटो खिचिन् । हामी हाकिमको कोठातिर जान सिमेन्टको सिँढी चढ्दै गर्दा फोटो खिच्न अल्मलिएकी छोरी पनि दगुर्दै हामीलाई भेट्टाउन आइहालिन् । सिँढीको माथि चढ्नासाथ बायाँपट्टि ट्वाइलेट रहेछ । सिँढी चढ्दा ट्वाइलेटको सारै नराम्रो गन्ध नाकमा पस्यो । छोरीका लागि जीवनमा त्यो गन्ध पहिलो अनुभव थियो । छोरीले खल्तीबाट टिस्सु पेपरको पोकोबाट झिकेर हामी सबैका बीच एकएक वटा दिँदै भनिन्,
‘यस्तो केको **ब्याड स्मेल** (गन्हाएको) हो ?’
म ः ‘यो एकदमै नराम्रो **कन्डिसनको** ट्वाइलेटबाट आएको गन्ध हो । यहाँको ट्वाइलेटमा पानी पनि प्रशस्त नभएको र सरसफाइ केही नभएकोले यस्तो गन्ध आएको हो ।’
छोरी ः ‘म त नेपाल आएर धेरै कुरा बुझ्न पाउँदैछु । यो सबै मैले आफैँले नदेखेको भए हजुरले यस्तो थियो भनेर बताएको भए म त पत्याउने थिइनँ ।’
हाकिमको कोठामा जाँदा त्यो कोठा भने अलि ठूलो र **झ्यालहरू** भएको उज्यालो रहेछ । त्यो हाकिम बस्ने कोठाको बाहिरको ठूलो बरण्डाबाट उताको थोत्रो भवनको सबै देखिँदो रहेछ । धेरै पुरानो घर जहाँ **झ्यालहरू** पनि बन्चरो र बसुलाले मात्र ताछेर बनाइएका त्यो पनि बन्द नै नहुने हुनाले खुल्ला रहेछन् । माथिको तलामा सेतो कपडामा मुठो पारेर राखिएका थुप्रै मुठाहरू थिए । धेरै पुराना रेकर्ड राख्न पर्ने कागजहरूलाई त्यसरी मुठो पारिएर राखिएको भन्ने अनुमान गर्दै छोरीलाई पनि बताएँ । छोरीले त्यस्तो **गभर्नमेन्टको** **इम्पोटेन्ट डकुमेन्टहरू** सजिलै चोरी हुन सक्ने देखियो त भनेर चिन्ता पनि जनाइन् ।
हाकिमको कोठामा राखिएका सोफासेटमा मान्छेहरू पनि थुप्रै बसेका । तर, हल्ला भने थिएन शान्त थियो । काकाले फाइल लगेर हाकिमको टेबलमा राख्दै नमस्कार गरेपछि हाकिमले अनुहारमा हेर्दा पनि नहेरी **आफ्नो** कम्प्युटरमा त्यसमा लेखेका कित्ताहरूको रेकर्ड हेरेर तोक लेखिदिए ।
त्यो तोक लिएर नापी कार्यालयमा जान त्यहाँबाट फलामको गेटबाट निस्केपछि दायाँपट्टि हिँड्दा एकैछिनमा आयो । नापी कार्यालय भएको घर भने अलि नयाँ रहेछ । त्यो भवन बनेको पनि दुई तीन वर्षभन्दा बढी भएको छैन होला भनी सजिलै अनुमान गर्न सकिने । हामीलाई बताइएको पाँच नम्बरको कोठा खोज्दै जाँदा बिल्डिङ पूरै घुमेर पछाडिबाट एउटा **झ्यालबाहिर** ५ नं. कोठा भनेर लेखको **झ्यालबाहिर** हामी पुग्यौँ । बाहिर खुल्ला पेटीमा हामी जस्ता सेवाग्राही र भित्र काम गर्ने कर्मचारी हुँदा रहेछन् । काकाले **झ्यालबाट** फलामका ग्रिलका बीचमा छिराउँदै फाइल कर्मचारीलाई पुऱ्याइदिएपछि कर्मचारीले भने ‘दुईवटा कित्ता रहेछ । अहिले अब अफिस बन्द हुन थाल्यो भोलि आउनु ।’
हाम्रो कुनै अरू विकल्प पनि थिएन । त्यसैले हामी गाडी चढेर बुटवलतिर लाग्यौँ । गाडी चढेपछि थाकेर पनि होला छोरी त निदाई नै हालिन् । दिनेशले भने काकालाई कुराकानी गर्दै ड्राइभ गर्दा सकभर बोरिङ नहोस् भनेर गफ गर्दै रहे । मेरो मनमा बुवाआमाको सम्झनाका विषयले उदासीन त कहिले फेरि त्यो प्यासेन्ट एम्माका विषयमा जोगीले भनेका कुरा खेलिरहे । निदाउन पनि निदाइनँ, बोल्न पनि मन नलागेर चुप्प नै बसिरहेँ ।
दिनेश र मैले सदरमुकाम गएर जग्गा जमिनको काम एकैदिनमा सकिन्छ र कार्यालयले सूचना निकालेपछि जहिले नामसारी गरे पनि हुन्छ भन्ने सोचेका थियौँ । त्यसैले यो काम सकिनासाथ बुवाआमाको नाममा च्यारिटी तथा अक्षयकोष खडा गरेर बेलायत फर्कने सल्लाह गरेका थियौँ । तर, काम गराइको ताल देख्दा यो काम सकिन कति दिन लाग्ने हो ? झन्झटै झन्झट हुने भन्ने दिक्क लागेर पनि आयो । तै पनि हामी भोलिपल्ट फेरि सदरमुकाम पुगेर ती लेखनदासलाई खोज्यौँ तर, उनी भेटिएनन् । काकाले उनीसँग मोबाइल नम्बर लिनुभएको थियो तर त्यसमा पनि फोन नै लागेन ।
उनी नभेटिए पनि हामी नापी कार्यालयको हिजोकै **झ्यालमा** पुग्यौँ । छोरीलाई अघिल्लो दिनको बोरिङका कारण सदरमुकाम जान मन नभए बुटवलमै बस भनेको उनी पनि घरमा बसे पनि एक्लै झन् बोरिङ हुन्छ बरु सँगै गयो भने अपत्यारिला कुराहरू अरू पनि देख्न भोग्न पाइन्छ भनेर साथै आइन् ।
नापी कार्यालयले नक्सामा भएको रेकर्डका आधारमा हाम्रो जग्गाधनीपुर्जा अनुसारको क्षेत्रफल **ठिक्क** मिल्ने र अर्को नाममा देखिएको त्यही नम्बरको जग्गाको क्षेत्रफल नमिलेको, साथै मोठअनुसार अर्को व्यक्तिको नाममा देखिएको कित्ताको वडा नम्बर टाइप गर्दा गलत लेखिदिएकोले दोहोरो पर्न गएको भनेर पत्र लेखेर हामीलाई दिए ।
हामी नापी कार्यालयबाट त्यो पत्र लिएर मालपोत कार्यालय जाने भनेर निस्किएपछि लेखनदासको अत्तोपत्तो नपाएर अलमल भइराखेका थियौँ । त्यसै बेला काकाको फोनमा घण्टी बज्यो । एकछिन फोनमा कुरा सुनेपछि काकाले उता फोनको अर्को पट्टिको मान्छ
© www.amaaba.org