काकाले आफैँ गाडी चलाउनुभएकोले ड्राइभर सिटमा र अगाडिको बायाँ सिटमा दिनेश बसे । छोरी र म पछाडिको सिटमा बस्यौँ । छोरीको निद्रा राम्ररी नपुगेकोले पनि गाडीमै थानकोटसम्म त सुतिन् । तर, थानकोट पुग्दा उज्यालो पनि छ्याङ्ग भइसकेको र घामको किरण उनको अनुहारमा परेकोले पनि जागिन् र निद्रा पनि पूरा गरिछन् । थानकोटबाट ओरालो लागेपछिको घुम्तीमा गाडी गुड्दै गरेको नागबेली बाटो र पारि डाँडामा देखिने घरहरू रमाइलो पनि लागेछ छोरीलाई तर त्यस्तो बाटोमा यात्रा गरेको अनुभव नभएकोले डराएको भाव पनि अनुहारमा झल्किन्थ्यो ।
मैले छोरीलाई सोधेँ ‘निद्रा पुग्यो ?’
छोरीः ‘अँ एकछिन त निदाएँछु गाडीमै । निदाउञ्जेल बाहिरको **ल्यान्डस्केप (प्राकृतिक सौन्दर्यता)** हेर्न मिस गरेँ । डाँडाहरू पारिपट्टिका घरहरू रमाइलो लाग्दै छ । तर, गाडीमा यता र उता मोडिँदा शरीर अडाउनसमेत गाह्रो हुने कति रमाइलो बाटो रहेछ । तर, म त **इन्जोय** गर्दैछु मम । **डोन्ट वरी (चिन्ता नगर्नुहोस्)** ! हामी जाने सबै बाटो यस्तै हो ?’
मः ‘यो बाटो तल नौबीसे भन्ने ठाउँसम्म यस्तै छ । त्यसपछि यस्तो नागबेली घुम्तीहरू छैन । तिमीले रमाइलो मान्नेछौ । अलि पर पुगेपछि नदीको किनारै किनारबाट बाटो छ । एकापट्टि हरियाली रूख भएका पहाड छन् अर्कोपट्टि नदी र त्यसको पारिपट्टि फेरि पहाडका डाँडाहरू छन् ।’
काकाले गाडी चलाउँदै हाम्रो कुरा पनि सुनिरहनु भएको थियो । छोरी जागेर कुरा गर्न थालेपछि गाडीमा बजिरहेको एफएम रेडियोको आवाज पनि निकै मधुरो पार्नुभएको थियो । उहाँले मेरो कुरामा थप्दै भन्नुभयो ‘अब हामी अलि पर पुगेपछि चिया नास्ता गरौँला ।’
मः ‘अब एक घण्टा जतिमा चिया खान ठीक होला हैन दिनेश ?’
दिनेशः ‘हुन्छ, छोरीलाई कस्तो लाग्दै छ ?’
छोरी ः ‘अरू त रमाइलो लाग्दै छ । तर, अलि वाकवाकी जस्तो **अनइजी (असहज)** हुँदै छ ।’
काका ः ‘ए ल, थोरै पर एउटा सानो झर्ना छ । त्यहाँ गाडी रोकेर एकछिन फ्रेस हावा खाने हातमुख भिजाउने गरेपछि ठीक हुन्छ, नानु । एकैछिन है ।’
पानी नभएको खोल्सोको सानो पुल तरेर गाडी अलि **समतल**मा गुड्दै थियो । पल्लोपट्टिबाट आएको ट्रकलाई उछिन्दै एउटा जिप अगाडि बढ्दा हाम्रो गाडी जाँदै गरेको साइडमै आइसकेको देखेर काकाले ब्रेक नै लगाएर हाम्रो गाडीको स्पिड नघटाएको भए त ठोकिने नै थियो ।
परिस्थितिलाई सम्हाल्दै झनक्क रिस उठेको भावमा काकाले भन्नुभयो ‘कस्तो बेकुफ ड्राइभर रहेछ ! गाडी पास हुने स्थिति छैन भन्ने जान्दा जान्दै पनि ओभरटेक गरेर अगाडि बढेको ! यस्तैले गर्दा त दुर्घटनाहरू हुन्छन् । मैले ब्रेक नलगाएसम्म ओभरटेक हुन सक्दैन भन्ने थाहा हुँदाहुँदै पनि मिचेर हिँड्ने ड्राइभर बेकुफ रहेछ । यो नेपाल हो, यहाँ यस्तै हुन्छ । हजुरहरू विदेशको ड्राइभिङको बानी परेकाहरूलाई त अनौठो लाग्छ होला ।’ काकाले दिनेश सम्बोधन गरे जसरी भन्नुभयो ।
उहाँले नै अगाडि भन्दै जानुभयो ‘अब हजुरहरूलाई पुरानो कुरा सुनाउँछु । एसएलसी पास गरेपछि काठमाडौं पढ्न आउँदा पहिलो पटक मोटर चढेको कति रमाइलो लागेको थियो ! त्यत्तिबेला यो नौबीसेदेखि थानकोटसम्मको बाटो पनि एक लेनको मात्र थियो । बीचबीचमा अर्को साइडबाट आएका गाडीलाई साइड दिन घुम्तीहरूमा अलि फराकिलो थियो । तलतिरबाट उकालो चढ्दै आएका गाडीलाई ‘राजा आयो’ भन्ने चलन थियो । ओरालो झर्ने गाडीले उकालो चढ्दै गरेको गाडी देखेपछि तीनचार घुम्तीमाथि पर्खेर बस्न पर्थ्यो । साइड दिन भनेर फराकिलो पारेको ठाउँ हुन्थ्यो । हुन त अहिले जस्तो धेरै गाडी हुन्थेनन् । अहिलेको जस्तो गाडीको चाप हुने भए त सम्भव पनि हुने थिएन ।’
गाडीलाई यसो बाटोको साइडमा च्यापेर स्पिड घटाउँदै रोक्ने चाँजो मिलाउँदै भन्नुभयो ‘अब, उतिखेर जस्तो साँघुरो छैन क्यारे यो बाटो यहीँ त्यो पानीको धारो पनि रहेछ । एकछिन खुल्ला हावा खाऊँ । यो पानी खान पनि हुन्छ । मूलको पानी हो । नानी पनि यो घुम्तीको बाटोमा आत्तिए जस्तो छ । पाँच–सात मिनेट फ्रेस भएर फेरि बाटो लागौँला ।’
‘**हाउ नाइस** !’ (कति राम्रो!) भन्दै छोरी पनि मूलबाटै निस्किएको धारोको पानी खाने र खेलाउने गरेर रमाउँदै भनिन् ।
दिनेश ः ‘छोरीलाई त यहाँ खुब मन परेजस्तो छ । यतै घर बनाएर छोरीलाई राख्न पर्छ क्याहो ?’ ठट्टा गर्दै भने ।
छोरी ः ‘जहाँ राम्रो लाग्छ त्यहाँ नै बसिहाल्न कहाँ मिल्छ र ! यो त अहिले बाटोमा **लङ ड्राइभको** बेला पानीमा र खुल्ला हावामा फ्रेस हुन पो रमाइलो भएको हो । यहीँ सधैँ बस्न त बोरिङ हुन्छ ।’
म ः ‘कत्ति न बाउले भर्खरै यतै घरजम गरेर बस्छन् र यहीँको रैथाने भइन्छ भने जस्तो **डराएकी** ।’
छोरी ः ‘उँ...’
हामी फेरि बाटो लाग्यौँ । अगाडिबाट आइरहेको एउटा बसलाई उछिन्दै **प्याँ...** पार्दै लामो स्वरमा हर्न बजाउँदै एउटा जिपले ओभरटेक गरेर गयो । यसपटक भने हामी अलि परै थियौँ तै पनि सतर्कका लागि हर्न बजाउँदै जिप गयो । यसपटक ओभरटेक गर्ने जिपको ड्राइभर भने अलि सिपालु र अलि विवेकी जस्तो लाग्यो । तर, त्यति लामो हर्न बजाएकोमा भने मन त्यति खुसी भइराखेको थिएन । सायद काका, दिनेश र छोरी सबैले त्यो महसुस गरे होलान् । तर, नेपालको प्रचलनअनुसार स्वाभाविकै जस्तो भावमा हामीले मौन स्वीकृतिमै चित्त बुझायौँ ।
काकाको फोनको घण्टी बज्यो ।
अर्जुन त कागज हामीलाई दिएर बुटवल उसै दिन फर्किसकेका थिए । उनकै फोन रहेछ । काकाको फोनमा घण्टी बजेपछि काकाले दिनेशलाई उठाउन भन्नु भएअनुसार फोनमा दिनेशले ‘हजुर अर्जुन बाबु, दिनेश भिनाजु बोल्दै छु, अँ भन्नुस् । हामी अहिले काका, म, अस्मिता र छोरी गाडीमा आउँदै छौँ । केही खबर छ ?’
दिनेशले एकछिन फोनमा उताको कुरा सुनेपछि ‘हुन्छ, हामी करिब चार बजेतिर त्यहाँ आइपुग्छौँ होला’ भन्दै फोन राखे । अनि भने ‘काकासँग हिजै अर्जुनको कुरा भएको रहेछ हैन काका ?’
काका ः ‘हो, ज्वाइँसाब, मैले हिजै अर्जुनलाई हामी बुटवल पुग्ने र जिल्ला जाने कागज र **श्रेष्ठता** मिलाउने विषयमा बताएको छु । आज बुटवल पुग्दा थाक्न पनि थाकिन्छ । आज बसेर भोलि बिहान जिल्ला जानुपर्छ ।’
दिनेश ः ‘अर्जुनले त्यही कुरा भएअनुसार बाटोमै हामी भएको अनुमान त गरेका रहेछन् । अघि नै बाट फोनमा सम्पर्क गर्न **ट्राइ** गर्दै रहेछन् । नेटवर्क नभएर होला सम्पर्क भएको रहेनछ । कति बेला पुग्ने भन्ने जानकारी लिएर त्यसैअनुसार हामी पुग्ने समय मिलाएर खाना तयार गर्नको लागि निधो गर्न सम्पर्क गर्न खोजेका रहेछन् ।’
हामी कृष्णभिर पुग्न करिब एक किलोमिटर वरसम्म गाडी जाम भएका रहेछन् । हाम्रो गाडी पनि त्यही लाइनमा थपियो । गाडीबाट झरेर काका एकछिन अलि अगाडिसम्म हिँड्दै जानुभयो । हामी पनि गाडीबाट ओर्लिएर खुल्ला हावा खान थाल्यौँ । काका फर्किएर आएपछि उहाँले भन्नुभयो ‘कृष्णभिरमा पहिरो गएको रहेछ । डोजर आइसकेको छ रे एकैछिनमा बाटो खुल्छ भन्छन् ।’
पहिला म स्कूल पढ्दै गर्दा माओवादी र सरकारी सेनाबीच गोली हानाहानको भिडन्तमा त्यतैतिर परेका थियौँ । हामी त्यही कृष्णभिरको पहिरोनिरै पुगेका थियौँ । हामी त्यसदिन बुटवलबाट बसमा काठमाडौं जाँदै थियौँ । दुईतिरबाट गोली चलिरहँदा हामी त बसको सिटमुनि लुकेका थियौँ । हामीलाई हुन त केही भएन तर त्यो गोलीबारीको सम्झनाले अहिले पनि झस्काउँछ । बसमा ७–८ वटा गोलीले छेडेको थियो । ठाउँठाउँमा प्रहरी र सेनाले **ब्यारियर (छेकावार)** लगाएर गाडी रोक्थ्यो । यात्रुहरूलाई गाडीबाट झरेर हिँड्नुपर्ने । अनि उनीहरूले गाडी पूरै चेक गरेपछि बल्ल अलि पर **ब्यारियरपारि** पुगेर बस चढ्यो फेरि करिब तीन घण्टा जतिमा उस्तै तगारो आउँथ्यो । झऱ्यो झोला जाँच गरायो, गाडी उनीहरूले फेरि चेक गर्थे फेरि बस दगुर्थ्यो । उनीहरूले केही भेटाउँथेनन् । हामी यात्रीले भने निकै सास्ती भोग्नुपथ्र्यो । माओवादीले त्यो सबै बुझेका थिए, त्यसलाई कसरी छलेर हतियार गोलीगठ्ठा कहाँ पुऱ्याउने उनीहरूले छुट्टै व्यवस्था मिलाएका हुन्थे । सरकारको चेक जाँचको नाटक मात्र हुन्थ्यो । भित्रभित्रै सेना र प्रहरीमै पनि माओवादीलाई भित्रभित्रै सहयोग गर्ने समर्थकहरू पनि हुन्थे रे । अझ हाकिमको घरमा तल्ला तहका कर्मचारीलाई घरकाजमा लगाएका हुन्थे । प्रायजसो तल्ला तहका कर्मचारी जसलाई हाकिमहरूले शोषण गरेका हुन्थे उनीहरू त प्राय माओवादीका समर्थक नै हुन्थे । माओवादीलाई कसरी सिध्याउने भन्ने योजना बनाएका फाइल त ती हाकिमका घरमा घरकाजमा खटाइएका तल्ला तहका सिपाहीहरूले नै झिकेर लगेर फोटोकपी गरेर माओवादी कहाँ पुऱ्याइदिन्थे । फोटोकपी गरेपछि जस्ताको तस्तै राखेका हुन्थे, हाकिमले थाहा नै पाउँथेनन् । सरकारी योजना सबै माओवादीले पहिला नै थाहा पाएका हुने हुनाले पनि माओवादीले थोरै हतियार र थोरै लडाकुकै भरमा पनि प्रहरी र सेनाको ठूलो हताहती हुने गथ्र्यो । पहिला सरकार चलाउने नेताहरूले माओवादी नेता मारेर ल्याउनेलाई पुरस्कार तोकेर उनीहरूलाई जनताका दुस्मन बताउँथे । अहिले उनै नेताहरू माओवादी नेताहरूसँग मिलेर हालीमुहाली गरेका छन् । माओवादीले आशा बाँडेको जनताको उद्धार पनि वाहियात रहेछ । जनता जस्ताको तस्तै छन् अहिले पनि, नेताहरूको सिटमा पुग्ने मान्छे मात्र फेरिएका छन् जस्तो लाग्छ अहिले त । हामीलाई भने झण्डै त्यो कृष्णभिरमा चलेका दुई पक्षबीचको गोलीले उतिबेलै सिध्याएन !
एकैछिनमा बाटो खुलेपछि फेरि हाम्रो गाडी पनि गुड्न थाल्यो । काकाले भन्नुभयो ‘धन्न चाँडै खुल्यो बाटो । यो कृष्णभिरको पहिरोले त बयालीस (वि.सं. २०४२) सालमा मलाई तीन दिनसम्म थुनेको थियो । यहाँ त हरेक वर्ष नै पहिरोले पिरोलिरहन्छ ।’
एकैछिन त्यहाँ रोकिएर हाम्रो गाडी गुड्दै गर्दा छोरीले सोधिन् ‘हजुरबुवा र हजुरआमाको मृत्यु भएको अवस्थामा मलाई हजुरहरूले बताउनु भएको भन्दा अरू हामीले नगरेका कुराहरू बताउनुस् मैले **कोर्सवर्कका** लागि लेख्नुपर्छ । हामीले गर्दै गरेका कुराहरू त म देखिरहेकी छु, त्यसैले त्यो म आफैँले लेख्छु ।’
म ः ‘तिमीलाई पहिला नै सामान्यतया अपनाइने संस्कारहरू बताएकी छु । अब, अरू कुरा पनि बताउँछु सुन ः
किरिया बसेको व्यक्तिलाई आफन्तहरू खास गरेर काका र दाजुभाइहरूले पँधेरा लैजान्छन् । सहयोगीहरूले लगेको चामल, घिउ, कागती र अदुवा मात्र त्यो पनि दिनमा एक छाक मात्र आफैँले पकाएर आफैँ खानुपर्छ । नुन त १० पुस्ताभित्रका बुवातर्फको पुस्ताले खानु हुँदैन भन्ने मान्यता छ । तर, अरू दाजुभाइहरूले नुन नहालेको तरकारी पनि खान हुन्छ । पाँचौँ, सातौँ र नवौँ गरी बिजोर दिनहरूमा छोरीबेटी तथा चेलीहरूका तर्फबाट घोत भनेर चिनी, घिउ जस्तो उपहार लिएर आउने चलन छ । त्यसरी ल्याएको घिउ कसले कति ल्यायो भन्ने लेखेर राख्ने र १३ दिनमा चोखिएपछि जसले जति ल्याएको थियो त्यसको मूल्यांकन गरेर डबल गरेर दक्षिणा दिने गरिन्छ । नौ दिनपछि बाहुनहरूलाई मर्ने परिवारको आर्थिक क्षमताअनुसार घोडा, भैँसी, गाई, र भूमि दान गर्नुपर्छ । कसै कसैले भाञ्जाभाञ्जीहरूलाई पनि त्यस्तो दान दिने गर्छन् । धार्मिक मान्यताले गर्दा भैँसीलाई यमराजको बाहन मानिने भनाइका कारण भैँसीको दान स्वीकार गर्न मान्छेहरू अप्ठेरो मान्छन् । अर्को एउटा शैय्या दान दिने भन्ने चलन छ । त्यो भनेको मृत्यु हुने व्यक्तिले दैनिक प्रयोग गर्ने जस्तो, लगाउने कपडाहरू, चढ्ने घोडा, दूध खाने गाईभैँसी, सुत्ने पलङ, तन्ना, बिछ्यौना, तकिया, जुत्ता, चप्पल, मञ्जन, ब्रुस जस्ता सबैको सेट मिलाएर दान गर्ने गरिन्छ । त्यसरी, दान गरेको खण्डमा मर्ने व्यक्तिले स्वर्गमा पनि त्यस्तै सामान प्रयोग गर्न पाउँछन् भन्ने धार्मिक भावना पण्डितहरूले सिकाउँछन् । त्यसैले त्यस्तो सामानहरू दान गर्ने संस्कार भएको हो । मर्ने व्यक्ति पुरुष भए पुरुषले प्रयोग गर्ने सामानहरू र मर्ने व्यक्ति महिला भए महिलाले प्रयोग गर्ने सामान दान गरिन्छ ।’
छोरी ः ‘हाम्रो हजुरबुवा र हजुरआमा दुवै जनाको मृत्यु भएकोले **महिला** समान दान गर्ने कि **पुरुष** सामान दान गर्ने ?’
म ः ‘हामीलाई यो धार्मिक भावनामा विश्वास नभएकोले त्यस्ता सामान किनेर बाहुनलाई दान नगर्ने सल्लाह दिनेश र मैले गरेका छौँ । हामीले बरु २० लाखको एउटा अक्षय कोष बुवा र आमाको नाममा खडा गरेर **छात्रवृत्ति (स्कलरसिप)** को व्यवस्था गर्न थालेका छौँ । त्यस्तो **छात्रवृत्तिबाट** पढ्ने विद्यार्थीले हाम्रो समाजमा भएका अन्धविश्वास र विकृति हटाउने काम गर्नेछन् भन्ने सल्लाह गरेका छौँ । त्यो भनेको अनावश्यक खर्च गर्नुभन्दा त्यसरी खर्च गरिने रकमबाट **च्यारिटी** खडा गर्न थालेका हौँ । हामी अब जिल्लामा र सदरमुकाम गएर त्यो **च्यारिटी** व्यवस्था गर्न भोलि जाने हो । तिमीलाई पनि हामीले साथै लैजान्छौँ । त्यसबाट तिमीले आफैँले सिक्ने देख्ने मौका पाउनेछौ । तिमीले देखेको थाहा पाएको कुरा सबै लेखेर स्कूलमा बुझाउनु है ।’
छोरी ः ‘मलाई **च्यारिटी** गर्ने भनेको कुरा एकदम राम्रो लाग्यो । म सपोर्ट गर्छु । हाम्रो पुरानो चलन त नबुझेका मान्छेहरूले बनाएको जस्तो लाग्यो । नराम्रो कुराहरू त **चेन्ज** गरेर राम्रो कुरा गर्नुपर्छ ।’
कृष्णभिरमा एकैछिन रोकिएबाहेक खासै बाटोमा गडबड भएन । त्यसैले चार बज्न लाग्दा हामी बुटवल पुग्यौँ । हामी आइपुग्न थालेको थाहा पाएर बुवाआमाको मृत्युले गर्दा समवेदना प्रकट गर्न भनेर २४–२५ जना जति चिनजानका र नाता गोतामा मानिसहरू जम्मा हुनुभएको रहेछ । कतिपयलाई त मैले चिन्न पनि सकिनँ । कसैलाई काकाले, कसैलाई अर्जुनले नाता बताउँदै चिनाइ दिनुभयो । तर, एकैपटक धेरै जनालाई चिनाएकोले सम्झनाले त्यति धेरै काम गरेन । रुने र समवेदना र मेरो भक्कानो फुटेर आँसु बग्नु स्वाभाविक महसुस गरेँ । चिकित्सा विज्ञानको विद्यार्थी भएकीले गर्दा पनि भइसकेको मृत्युमा आँसु बगाएर सन्तोष गर्नुबाहेक अरू उपाय पनि त रहेनछ भन्ने पनि लाग्यो । साँझ ९ बजेसम्म नै पाहुनाहरू बाक्लै भए । त्यसपछि भने विस्तारै सबैजसो जानुभयो । काज किरियाको विषयमा आपसमा कुरा भए होलान् मैले सुन्ने गरी कसैले केही भनेनन् । तर, पनि समाजमा किरिया नगरेको विषयमा निकै टीका–टिप्पणी भए होलान् भन्ने अनुमान स्वाभाविक रूपमा गरेँ । बाँचुञ्जेल सेवा गर्नु नै किरिया कर्म हो । मरेपछिको स्वर्ग र नर्कका कथा गरेर संस्कारको **ढोंग** रच्नु बाहुन पोसेर समाजलाई अगाडि बढ्नबाट रोक्नमा योगदान पुऱ्याउनु हुनेछ, भन्ने सोचेर चुप बसेँ । कसैले कुरा कोट्याएर जबरजस्ती जवाफ दिन नपार्नु पनि समाजले मलाई सहयोग गरेको ठानेँ । एक त म छोरी भएकोले पनि केही छुट पाएकी थिएँ । छोरा भइदिएको भए बाबुआमाको किरियाको विषयमा छुट पाउन सम्भव थिएन कि जस्तो महसुस भने भइरहेको छ । केटी मान्छे भएबापतमा समाजले दिएका ताडनाहरूलाई यही अवसरमा सान्त्वना दिने बहाना पनि बनाएँ, आफैँले सन्तोष मानेँ ।
© www.amaaba.org