Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
भाग १४को बाँकी

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १४

31 Dec, 1969

भाग १४को बाँकी

हामी नापी कार्यालयबाट त्यो पत्र लिएर मालपोत कार्यालय जाने भनेर निस्किएपछि लेखनदासको अत्तोपत्तो नपाएर अलमल भइराखेका थियौँ । त्यसै बेला काकाको फोनमा घण्टी बज्यो । एकछिन फोनमा कुरा सुनेपछि काकाले उता फोनको अर्को पट्टिको मान्छेलाई भन्नुभयो ‘ल चाँडै गरेर आउनुहोस् हामीलाई त तपाईंले बिजोग पार्नुभयो नि ! पहिला नै हामीलाई खबर गर्नुपर्दैन ?’ काकाको स्वरमा अलि रिसाएको र दबाब दिने भाव झल्किन्थ्यो ।

फोन काटिएपछि काकाले भन्नुभयो ‘त्यो लेखनदासको आफन्त बितेकोले राति नै गाउँमा गएको रहेछ । अहिले सदगत सिध्याएर बसमा आउँदै छु भनेको छ । अब आइपुग्छ होला । तर, अरू कागज फाइल उसैसँग भएकोले अर्को व्यक्तिलाई लेखाउन लगायो भने पनि लेख्न टाइम लागिहाल्छ भनेर हामी उसैलाई कुर्ने नै विचार गऱ्यौँ । फेरि उसले हिजोदेखि काम गरेको उसको पारिश्रमिक पनि दिन परिहाल्छ भन्ने पनि लाग्यो ।

त्यो लेखनदासको ताल देखेर छोरीलाई अचम्म लागेछ अनि भनिन् ‘त्यो लेखनदासको **रेस्पोन्सिबिलिटी** (कर्तब्य) पूरा नगरेकोमा उसको म्यानेजर हुँदैन ? उसले **आफू** नभएर अरूको काम रोकिने भएपछि अरूलाई काम दिएर ग्राहकको काम नरोकिने गरिदिनु पर्ने होइन ? यहाँ कसैलाई कसैको कन्ट्रोल गर्ने **मेकानिजम** (ब्यवस्था) छैन ?’ छोरीलाई त्यो पारा देखेर उदेक नै लागेको रहेछ । यो समाज कसरी चलिरहेको छ भन्ने पनि भए होला । उनी सबै **सिस्टममा** चलेको दुनियाँमा हुर्केकी । कसैले जिम्मेवारी पूरा नगर्दा कम्प्लेन गर्ने ठाउँ नभएको देखेर अचम्म परिन् । कम्प्लेन भएको विषयमा दोहोऱ्याएर सेवाग्राहीले दुःख नपाऊन् भनेर सुधार गरिने व्यवस्थापनका विषयमा उनले बुझेको विषयभन्दा उल्टो नेपालको पारा देख्दा उनलाई अचम्म लाग्नु स्वाभाविक नै थियो ।

छोरी एकैछिन चुप लागेपछि फेरि भनिन् ‘सजिलै **सिस्टम** मिलाउन सकिने विषयमा पनि यहाँ केही नगर्ने जस्तो लाग्यो । **कस्टमरलाई** पेपर लिएर यता र उता गराउनुभन्दा त एक ठाउँमा **एप्लिकेसन** पेश गरेपछि कर्मचारीले त्यो **एप्लिकेसन** रजिष्ट्री गर्ने, त्यसपछि कुन डेस्कमा त्यो पेपरको प्रोसेस हुने हो त्यहाँ कर्मचारीले **आफैँ** पुऱ्याइदिने अनि त्यो डेस्कको मान्छेले पनि **आफूले** गर्ने काम गरेपछि पेपर अर्को कुन डेस्कमा पुऱ्याउनु पर्ने हो त्यहाँ पुऱ्याउने गऱ्यो भने त **कस्टमरको** भिड लागेर स्टाफलाई काम गर्न असजिलो पनि हुने थिएन । सजिलो हुन्थ्यो नि त । त्यसो गर्दा त अफिस खर्च पनि केही बढ्दैन बरु घट्छ । **कस्टमर** (सेवाग्राही)हरू अफिस आएर दिनभरि टाइम खर्च गर्नको सट्टा **आफ्नो** दैनिक काममा लाग्न सक्छन् । **सिटिजनहरू** बेकारमा अफिसमा टाइम लस गरेपछि त राष्ट्रको **प्रोडक्सन** (उत्पादन) घटिहाल्छ नि । यहाँको **लिडरहरूलाई** त्यति पनि बुद्धि छैन क्या हो ?’

उनका कुरा सबै ठीक थिए मेरा लागि । उनका तिनी कुरा एक सर्वसाधारणका लागि ठीक हुन् । मलाई पनि त्यस्तै लाग्छ । तर, यहाँको **पोलिसी** बनाउनेहरूलाई किन त्यो सजिलो कुरा मिलाउन पनि मन लाग्दैन कुन्नी ? यहाँका राजनीतिज्ञ र कर्मचारीहरूलाई यस्तै चलन ठीक लागेर त होला यसलाई **चेन्ज** गर्नै खोज्दैनन् । यहाँ यस्तो छ भने अरू अफिसहरूमा पनि यस्तै काम गर्ने तरिका नमिलेको त हुन्छ होला नि ! नेताहरू कर्मचारीहरू कति विदेशमा घुमेको समाचारमा सुनिन्छ, कहिलेकाहीँ भेटिन्छन् पनि तर उनीहरू विदेश गएर के सिकेर आउँदा रहेछन् कुन्नी । छोरीले **आफूलाई** चित्त नबुझेको सामान्य कुरा गरेकी थिइन् तर मलाई भने उनले नेपालको समृद्धिको मुहान नै खोल्ने वास्तविक कुरा बताए जस्तो लाग्यो । सेवाग्राहीलाई छिटो छरितो र सहयोगी भएर कर्मचारीले सेवा गरे बचेको समय देशको उत्पादनमा लाग्छ त्यसबाट बल्ल देश समृद्ध हुने हो । तर, नेपालका यी कर्मचारीको पारा देख्दा सेवाग्रहीलाई जति दुःख दिन सक्यो उनीहरू त्यति आत्तिएर लेखनदासहरूलाई ‘बरु कति खर्च लाग्छ दिन्छु छिटो काम मिलाइदिनुस्’ भन्छन् र टेबलमुनिको कमाइ हुन्छ भन्ने योजना हुँदो रहेछ ।

नेपालको समृद्धि जनताको सम्पर्कका सजिला र साना विषय मिलाउन नसकेकै कारणले नआएको हो भन्ने मलाई पनि यकिन भयो । छोरीले त सामान्य एक नागरिकले कसरी सोच्ने गर्छ, त्यसरी नै सोचेर भनेकी थिइन् । हुन पनि हुलाकबाट पठाएका चिठ्ठी घरमा पुग्ने सबै घरको **पोस्टकोड** सम्मको पनि व्यवस्था छैन । सरकारसँग जनताको **एनआई** (नेसनल इन्स्योरेन्स) नम्बरको व्यवस्था नै छैन । तर, नेताहरू एकैपटक नेपाललाई सिङ्गापुर र स्विजरल्यान्ड बनाउने गुड्डी हाँक्छन् । विकसित देशहरूले त घर नम्बर र **पोस्टकोड** साथै जनताको **एनआई** जस्ता रेकर्ड त १९औँ शताब्दीबाटै सुरु गरेकाले पो उनीहरूको **सिस्टम** बसेकोले विकास भएको हो । आधारबिनाका सपना बुनेर मात्र देश समृद्ध हुँदैन भन्ने चेत नै हाम्रा अगुवाले अझैसम्म पनि जानेका रहेनन् । जे काम गर्न परे पनि अड्डा अदालतमा नागरिकता प्रमाणपत्र चाहिने व्यवस्था गरेर जनतालाई सास्ती दिने गर्न **चाँहि** जान्ने तर जनताको अवस्था रेकर्ड गरेर कर तिर्ने जनतालाई अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्ने **एनआई** जस्तो रेकर्ड बनाउन भने नजान्ने ? नेपालको नागरिक हुन नसकेका मान्छेहरू पनि त नेपालमा बस्छन् । उनीहरूसँग नेपाली नागरिकता नभएपछि यहाँ बसोबास गरेका आधारमा हुने कामकारबाही तथा कारोबारको लागि कुनै स्रेस्ता नै छैन । भारतमा रासन कार्ड त्यहाँको नागरिकता होइन, तर बसोबास गर्ने तथ्यांक त हो नि । कत्ति नेपालीहरू भारतमा बसेर रासन कार्डका भरमा सरकारी काम कारबाही तथा परिचयपत्रको सुविधा भोगेका छन् त । तर, नेपालमा त्यही व्यवस्था पनि गर्न नसक्दा साधारण जनता मर्कामा परेका छन् । पहिला नागरिकता वितरण टोली गाउँगाउँमा आउँदा हाम्रै गाउँका जग्गा धनीपुर्जा नभएका थारूहरूले नागरिकता बनाउन पाएनन् । पछि सुकुम्बासी आयोग भूमिहीन नेपाली किसान खोज्दै हाम्रो गाउँमा आउँदा ती थारूहरूले नागरिकता नभएकै कारणले जग्गा पाएनन् । पहिला नै नागरिकता नभएकाहरूलाई बसोबासको रेकर्ड हुने परिचयको व्यवस्था गरेको भए भूमिहीन थारूहरूले त्यस्तो अन्याय भोग्नुपर्ने थिएन नि ! त्यतिबेलाका शासकले त बुद्धि पुऱ्याएनन् नै अहिलेका अगुवाहरूले पनि बुद्धि पुऱ्याइरहेका छैनन् । यस्ता साना विषयमा बुद्धि नपुऱ्याउँदासम्म समृद्धिका कुरा सपना बाँड्ने मसला मात्र हुन् । अरू विकास भनेको विकसित देशले सामान बिक्री गर्न बजार खोज्दै आएर सामान बिक्री गरेका कारण हामीले उपभोग गर्ने सामानलाई के को विकास भन्नु । अहिले जनताले उपभोग गर्ने मोबाइल फोनकै पनि उदाहरण लिन सकिन्छ । विकसित देशले पैसा कमाउन विस्तार गरेका नेटवर्क नेपालमा उपभोग गर्नुलाई के को विकास भन्नु ? विदेशीका सामान किन्ने प्रचलनलाई विकास भएको भन्ने चलन छ नेपालमा ।

यी कुरा मनमा खेल्दै गर्दा म त एककोहोरे भएकी रहेछु । त्यत्तिकैमा दिनेशले ‘काकाले उता चिया खान जाऊँ भन्नुभएको छ, जाऊँ ।’ भन्दा मेरो ध्यान टुट्यो ।

‘हुन्छ’ भन्दै चिया पसलतिर लाग्यौँ ।

चिया पर्खंदै गर्दा मेरा मनमा फेरि कुरा खेल्न थाले । यो दुनियाँ त पैसाकै चलखेलमा मात्र चलेको जस्तो लाग्न थाल्यो । उदाहरणको रूपमा काठमाडौं कै पानीको समस्याको विषयमा मेलम्चीको पानी हाम्रो आवश्यकताले हाम्रै लगानीमा काठमाडौंसम्म आउने भइदिएको भए फरक हुन्थ्यो होला । ठूला साना मेसिनहरूले पहरा फोर्ने, सुरुङ खन्ने, खाल्डा खन्ने, सिमेन्ट बालुवा मिसाउने गर्न थालेपछि विदेशी कन्स्ट्रक्सन कम्पनीहरू काम खोज्न अल्पविकसित देशतिर धाउँछन् । उनीहरूलाई काम चाहिएको हुन्छ । कुन देशमा कस्तो आवश्यकता परेको छ भन्ने आवश्यकता बुझेर ठूला कम्पनीहरू सरकारी उच्च अधिकारी र नेताहरूको सम्पर्कमा आउन सेमिनार, गोष्ठी गर्ने र सम्पर्कमा आएपछि विदेशी ऋणको समेत व्यवस्था गर्न त्यही कम्पनीले तालमेल मिलाउँछ । अझ **एग्रिमेन्ट** गर्दा सही धस्काउने उच्च पदका कर्मचारी र मन्त्रीहरूलाई कमिसन पनि मिलाइ दिन्छ । काम हुन्छ । जनता विकास भयो भनेर पानी खान पाएर दंग त हुन्छन् । तर, त्यो लिएको ऋणको भार पानीको बिलसँग तिर्दा ती नेता कर्मचारीले खाएको कमिसन, ऋणको ब्याज, हर्जाना सबै थपेर जनताले नै तिर्नुपर्ने हुन्छ । त्यसैले जनता हुन झन् गाह्रो छ । ऋण तिर्दातिर्दै जिन्दगी बित्छ ।

हामी चिया खाँदै गरेको पसलमा नै आइपुगे ती लेखनदास भाइ । काकाले अलि भरिलो आवाजमा सम्झाउनुभयो र हस्याङफस्याङ गर्दै लेखनदास कागज लिएर फाँटमा पसे । यसपटक उनी पसेको कोठामा सहयोग प्राप्त भनी लेखिएका काठका दराजमा मोटामोटा ठेली बनाएर राखिएका जग्गाधनी पुर्जाहरू भएको कोठामा छिरे । हामी ढोका बाहिरबाटै हेरिरह्यौँ । काका भने उनीसँगै भित्र पस्नुभयो । घोप्टे परेर नेपाली कागजको ठेली बनेको फाइलमा दुई कर्मचारी काम गर्दै थिए । लेखनदास टेबलको छेउमा **झ्याल** नजिक भएको सानो ठाउँबाट छिरेर ती कर्मचारीको पछाडिको दराजमा राखिएका ठेलीमा एक–एक गर्दै नम्बर हेर्दै एउटा ठेली झिकेर ती कर्मचारीको छेउमा राखिदिएर पर्खन थाले । काम गराइ नै सुस्त देखिने कर्मचारीको लोसे पारा जारी नै थियो । त्यसैमाथि त्यो वातावरणको लथालिङ्ग चालाबाट कतिबेला छुट्कारा पाइएला भनेर बेचैन भएको मन कर्मचारीको सुस्तपना देख्दा झन् दिकदारै भयो ।

सुस्त कर्मचारीले गर्दै गरेको ठेलीको काम सकिएछ क्यारे । उनले त्यो ठेली अलि पर सारेर हाम्रो भनेर लेखनदासले राखिदिएको ठेली अल्छी पाराले **आफूतिर** ताने । उनले लगाएको अलि मोटो फ्रेमको चस्मा भित्रबाट सेवाग्राही बनेर उनको टेबल अगाडि उभिनु भएको काकातिर यसो हेरे । यसो उठेर **झ्यालको** नजिक गए र चबाइराखेको पानको झोल पिच्च पार्दै **झ्यालबाट** बाहिर थुके । **झ्यालका** फलामका डण्डीमा पहिलादेखि परेका राता छिटामा केही ताजा छिटा थपिए । उनको त्यो दैनिक प्रचलन हो भनेर त्यो **झ्यालले** बकपत्र गर्दै रहेछ । सायद अरू कर्मचारी र कतिपय लेखनदास तथा सेवाग्राहीको पनि केही योगदान थपिएको पनि हुन सक्छ भन्ने अनुमान गरेँ ।

ती कर्मचारीले हाम्रोभन्दा अगाडि काम सकेर सही गरेको ठेलीभित्रका कागज देखाउँदै उभिराखेका सेवाग्राहीलाई उता कम्प्युटर कोठामा लिएर जानुहोस् भनेर भने । कुर्सीमा बस्दै हाम्रो ठेली ती कर्मचारीले तान्दा अब त हाम्रो कामको पालो आएछ भनेर मनमा खल्लो खुसी छायो । आज काम सकियो भने फेरि यो अव्यवस्थित कार्यालय अवस्थाबाट मुक्ति पाइन्छ कि भन्ने आशा पलायो । एकैछिन । हाम्रो जग्गा धनी पुर्जा र कार्यालयको ठेलीमा भएको रेकर्ड भिडाउँदै ती कर्मचारीले एउटा नम्बरमा देखाउँदै

‘यो कित्ता रोक्का छ’ भन्दै लेखनदासलाई देखाए । लेखनदासले ठेलीको विवरण पढेर भने ‘वन कार्यालयको रोक्का रहेछ । फुकुवा गरेर ल्याउनुहोस् अनि बल्ल अरू काम हुन्छ ।’

त्यो ढल्नै थालेको घरको अवस्था देख्दा कतै काम कै सिलसिलामा भित्रबाहिर गर्दा गर्दै घर भत्किएर च्याप्छ कि भन्ने भइरहेको उदेक लाग्दो अवस्थाबाट अझै पार पाउन सकिने भएन भन्ने लागेर मन झन् उदास भयो ।

काका ती कागजको फाइल लिँदै कोठा बाहिर निस्किएर भन्नुभयो ‘अब आज वन कार्यालयमा पुगेर फुकुवा गराउन पनि ढिला भइहाल्यो । अब आज बुटवल जाऊँ । भोलि ज्वाइँ (दिनेश) र म मात्र आउँला र वन कार्यालयबाट फुकुवा कागज ल्याएपछि सबै तयारी गरेर बल्ल निवेदन दर्ता हुन्छ । विदेशमा राम्रो वातावरणमा व्यवस्थित **सिस्टममा** बसेका तिमी आमाछोरीलाई दिक्क लागेको होला । के गर्नु यहाँ यस्तै छ । हामीलाई त यही बानी नै परेको छ भन्नुपऱ्यो । विकल्प पनि त छैन ।’

छोरी ः ‘हामी पनि भोलि पनि आउने है । पहिलेको हामी बसेको युकेको घरको विषयमा त मलाई थाहा भएन तर अहिले बसेको घर किन्ने बेलाको कुरा त मलाई याद छ । हामीले साँझ गएर घर हेरेका थियौँ । त्यसपछि बुवाले फोनबाटै कुरा गरेर घर किन्ने कुरा **एजेन्टलाई** बताएपछि एउटा सोलिसिटरलाई इमेल लेख्नुभएको थियो । भोलिपल्ट नै हुलाकीले सोलिसिटरको कागज पठाएको थियो । त्यो कागजमा बुवा र आमाले सही गरेर पठाएपछि केही दिन त्यस्तै कागजहरू हुलाकबाट घरमै आइपुग्ने अनि बुवाआमाले पढ्ने सही गरेर फेरि हुलाकबाटै पठाउने । कतिपय पत्राचार इमेल लेखेरै गरेपछि एकदिन सोलिसिटरको अफिसमा गएर **कन्ट्र्याक्टमा** सही गर्दा आधा घण्टा जति लागेको थियो । त्यसपछि हामी घर सरेका थियौँ । तर, यहाँ त घर किनबेच पनि होइन खाली हजुरबुवाको नामको जग्गा उहाँ बित्नु भएपछि एउटा मात्र सन्तान आमाको नाममा सार्नको लागि पनि यति धेरै दुःख देखेर कस्तो कस्तो प्रक्रिया रहेछ सबै बुझ्न मन लागेको छ मलाई । यो सिक्ने मौका फेरि मैले पाउने छैन । त्यसैले भोलि पनि हामी आउने है भन्दै मतिर हेरिन् ।’

म त एक मनले भोलि आउन नपर्ने भएर हल्का महसुस गरेकी थिएँ तर छोरीको आग्रहबाट म पनि छोरीले सिक्न खोजेको विषयले मलाई पनि ऊर्जा मिल्यो र भने ‘हुन्छ नि त, हामी पनि आउने भोलि पनि ।’

भोलिपल्ट हामी मालपोत कार्यालय नगई सिधै वन कार्यालय खुल्ने समयमै पुग्यौँ । हामीले त्यहाँबाट फुकुवा पत्र लिएर मालपोत कार्यालय पुगेर जग्गा फुकुवा गराए र अपुताली नामसारीको निवेदन दर्ता गराउनुपर्ने थियो । हामी त्यहाँको मुद्दा शाखा लेखिएको कोठामा पुग्यौँ । अलि अग्लो शरीरलाई लोसे पाराले काठको कुर्सीमा थचारेका व्यक्तिले हातमा सुर्ती मिच्दै रहेछन् । हामीले कोठाभित्र छिरेर नमस्कार गरेर उभियौँ । कता कता उनी मात्र भएको त्यो कोठामा एउटा कामको लागि यत्रो चारजनाको हुल किन चाहियो एक जना यहाँ बसेर अरू बाहिर बस्नुहोस् भन्छन् कि भन्ने जस्तो लागेको थियो । उनले त्यो केही भनेनन् । काकाले लेखेर ल्याएको निवेदन उनको अगाडि राखिदिनु भयो । एउटा हातमा मल्दै गरेको सुर्ती हातमा मुठी पार्दै एक हातले पत्र समाएर त्यो पत्र पढेपछि उनको कोठाबाटै देखिने सिमेन्टको सिँढी देखाउँदै ‘माथि गएर हाकिमको तोक लगाएर ल्याउनुहोस् ।’

काका कागज लिएर अगाडि जानुभयो । हामी पछिपछि लाग्यौ । ढलान गरेको सिढीमा काठको रेलिङ लगाइएको रहेछ । सिँढी चढ्दै गएपछि घुमेर सिँढी सकिएपछि बायाँपट्टि सोफाहरू राखिएको कोठाभित्र अफिसर बस्ने जस्तो देखिने घुम्ने कुर्सी र त्यस अगाडिको टेबल खाली रहेछ । तर छेउमा तेर्साइएका सोफामा दुईजना गफ गर्दै रहेछन् । हामी कोठाबाहिर नै उभिएर भित्र हेरिरह्यौँ । काका भित्र गएर निवेदन ती कुरा गर्दै गरेका व्यक्तिको अगाडि लानुभयो । दुई जनामध्ये एकजनाले निवेदन समातेर पढेपछि निवेदनको माथि दायाँपट्टि टुप्पामा तोक लेखिदिए । हामी पुनः त्यही सुर्ती खाने कर्मचारी भएको कोठामा पुग्यौँ ।

उनले त्यतिञ्जेल मिच्दै गरेको सुर्ती मुखमा **फ्वाक्क** हाल्दै निवेदनमा हेर्दै दराज खोलेर कागज खोज्न थाले । ‘यो पुरानो मुद्दाको फाइल रहेछ भेटिन्छ कि भेटिँदैन । माओवादीले सशस्त्र आक्रमण गर्दा यो कार्यालयका कागज पनि जलाइदिएका थिए । त्यसैले कागज फेला परेन भने समस्या हुन्छ । म खोज्छु । तपाईंहरू भोलि आउनुहोस्’ भने ।

हामी उनका कुरा सुनेर अलमल परिरहेका थियौँ । काकाले उनलाई ‘हामी पर्खन्छौँ, एकपटक फाइल खोजिदिनुहोस् है ।’

करिब तीनचार मिनेट त मिसिल खोज्न छाडेर कुर्सीमा आएर उनी बसे । हामी पनि चुपचाप त्यहीँ उभिरहेको देखेर के भएछ कुन्नी उनी आलस्य पाराले उठे र चुपचाप कुनामा कपडाले पोको पारेर थन्काएको पोको तानेर टेबलमाथि राखे । त्यस पोकोबाट पुरानो धुलोको गन्ध ढुस्स गन्हायो । उनले पोको फुकाएर धुलो लत्पतिएका फाइल एक–एक गरेर हेर्दै गर्दा बीचतिरबाट एउटा फाइल झिकेर ‘ल तपाईंहरूको फाइल भेटियो म पत्र लेखिदिन्छु’ भन्दै त्यो भेटिएको फाइल टेबलमा राखेर बाँकी मुठो बाँधेर फेरि कुनामा राखे । त्यो फाइल टेबलमाथि राख्दै **आफू** कुर्सीमा बसे । त्यो काठको टेबलको दायाँतिरको घर्रा तानेर एउटा लेटर प्याड झिके । दुईवटा कार्बन पेपर **झिकेर** एकएक पाना तल छिराए । फटाफट काम गरेको भए लाग्ने समयभन्दा उनले गर्ने कामको तरिका झण्डै चार गुना सुस्त गतिको जस्तो अनुभव गरिरहेकी थिएँ । तर, केही बोले अघि जस्तो भोलि आउनुहोस् भनेर काम टारे भने के गर्ने यहाँ त कम्प्लेन गर्ने सुनुवाइ हुने जस्तो **उनलाई** केही डर पनि नभए जस्तो लाग्यो । त्यसैले काम अझै ढिला पो हुने हो कि भनेर हामी चुपचाप पर्खी बस्यौँ । उनले लेटरप्याडमा लेख्दै गरेको अल्छी पारा देख्दा अलि समय लाग्छ जस्तो भएर पनि दिक्क लागेर खुल्ला हावा खाने मनशायले हामी आँखै आँखाको इसाराले भावना बुझेर बाहिर निस्कियौँ । काका भने त्यहीँ कोठामा उभिरहनु भयो ।

सामुदायिक वनका नारा तथा सचेतना सूचनासहित ठडाइएको बोर्डको छेउमा खरले छाएको कटेज जस्तो प्रतीक्षालय बनाइएको रहेछ । त्यो बोर्डको अलि पर जमिनमुनिको पानी तान्ने चापाकल रहेछ । छोरीलाई चापाकलबाट पानी निकालेको अनुभव थिएन । तर, उनले टिभीतिर कतै देखेको भने हुनुपर्छ । रहर पनि लागेको रहेछ चापाकल थिचेर पानी निकालिन् । चापाकलबाट पानी निकाल्दा उनलाई आनन्द अनुभव भएको भाव उनको अनुहारमा प्रष्ट झल्कियो ।

हामी प्रतीक्षालयको काठका बेञ्चमा गएर दिनेश र म बस्यौँ । एकछिन चापाकलको पानी झिक्ने रमाइलो खेल सकेर उनी पनि प्रतीक्षालयमा आएर बेञ्चमा बसिन् । उनले सोधिन् ‘भित्र त्यो अफिसरले लेटरप्याडमा पानातल छिराएको नीलो कागज के हो ?’

दिनेश ः ‘त्यो कार्बन पेपर हो । माथिको पानामा लेख्दा पेनको प्रेसरले गर्दा तलका पानाहरूमा पनि जस्ताको तस्तै अक्षरहरू लेखिन पुग्छन् । पहिला विदेशमा पनि कम्प्युटरको प्रचलन नहुँदासम्म यस्तो कार्बन पेपर प्रयोगमा हुन्थ्यो । तर, कम्प्युटर, जेरक्स र प्रिन्टरले कपी निकाल्न सजिलो भएपछि विदेशमा यो प्रचलन हराएकोले तिमीलाई थाहा नभएको हो । विस्तारै नेपालमा पनि कम्प्युटर र प्रिन्टरको प्रचलन बढ्दै गएपछि यहाँ पनि यो कार्बन पेपरको चलन हराउला ।’

उनले कार्बन पेपरको विषयमा छोरीलाई बताउँदै गर्दा मनमा भने स्कूल पढ्दा लिथो मेसिनमा बनाएका जाँचका प्रश्न पत्रहरूको उत्तर लेखेको सम्झना भयो । तर, मैले त्यो लिथो मेसिनको विषयमा छोरीलाई बताउन खासै **चासो** दिइनँ ।

अलिबेरपछि कोठाभित्रको ढिलासुस्तीको लेखाइले पट्यार लागेपछि काका पनि हामी भएको प्रतीक्षालयमा आउनुभयो । उहाँले भन्नुभयो ‘त्यो पत्र लेखेर त करिब सक्न थाले, अब त्यो लिएर हाकिम कहाँ जानेछन् । त्यसपछि फेरि दर्ता चलानी रजिष्टरमा नोट गरेपछि त्यो पत्र मालपोत कार्यलायमा लैजान हामीलाई दिनेछन् ।’

काकाको कुरामा छोरीलाई अचम्म लागेछ र सोधिन् ‘अनि त्यस्तो अफिसियल पेपर एउटा अफिसले अर्को अफिसलाई पठाएको त्यो पनि व्यक्तिले लैजाँदा **कन्फिडेन्सियल** हुँदैन होला त ।’

काका ः ‘नानीको कुरा त ठीक नै हो, तर हाम्रै जग्गा रोक्काको विषयमा भएकोले हामीले यसमा गडबड गर्दा हामीलाई नै घाटा हुने सोचेर हामीलाई नै पत्र दिएर पठाउने चलन गरेका हुन् । अझैसम्म नेपालमा **फ्याक्स**, इमेल आदि प्रविधिको सुविधा छताछुल्ल नभएकोले साना कार्यालयहरूका यी प्रक्रियाहरू यसैगरी चलिरहेका छन् । मन्त्रालय आदि ठूला अफिसमा सम्म प्रविधि अलि प्रयोग हुन थालेका छन् । जिल्ला र गाउँसम्म प्रविधि पुग्न **सकेको** छैन । प्रविधि पुऱ्याइहाले पनि त्यसलाई **सञ्चालन** गर्ने प्राविधिकहरू तथा चलाउने सीपको कमीले गर्दा अझै लामै समय लाग्ने देखिन्छ । समग्रमा यो सबै शिक्षाको कमीको परिणाम नै हो । अझै पनि साक्षर नभएका मानिसहरूको संख्या थुप्रै छ । तिमीहरू विकसित देशमा बसेका र त्यहाँको **सिस्टम** देखेकाहरूलाई यो अनौठो लाग्नु स्वाभाविक नै हो ।’

एकैछिनमा ‘हेरौँ लेखिसके कि’ भन्दै काका मुद्दा शाखामा जानुभयो ।

हामीलाई त्यति चाँडै लेखिसक्लान् जस्तो लागेको थिएन तर हामीले सोचेभन्दा अलि थोरै समयमा काकाले बन्द भएको लिडफाफा देखाउँदै ‘ल अब मालपोत अफिस जाऊँ फुकुवा पत्र पाइयो’ भन्दै प्रफुल्ल मुद्रामा बाहिर आउनुभयो । हामीलाई ती कर्मचारीको सुस्त पारा देखेर आज पनि काम सकिने भएन भन्ने लागिरहेको अवस्थामा काकाले फुकुवा पत्र लिएर बाहिर आउँदा हामीलाई निकै खुसी लाग्यो । दिनेशले ‘अचम्मै भयो त’ भन्दै बसेको बेञ्चबाट जुरुक्क उठेर हिँड्न तयार भए ।

हामी हतारिँदै मालपोत कार्यालय पुगेर लेखनदासलाई खोज्दै चौपारीमा पुग्यौँ । उनी त्यहीँ रहेछन् । हाम्रो हतारिएको अवस्था र उनले गर्दा नै पनि धेरै ढिला भइसकेको अवस्थाले गर्दा पनि होला लेख्दै गरेको कागजलाई त्यत्तिकै सिमेन्टको टेबलमा राखेर हामीसँग कार्यालयभित्र छिरे । उनको अर्को साथी त्यहीँ भएकोले होला लेख्दै गरेको कागजको सुरक्षामा खासै मतलव नभएजसरी दुई वटा ढुंगाले थिचेर हाम्रो कामका लागि अग्रसर भए । उनले कागज लिएर हामीलाई उनको पछाडि हिँड्न भन्दै दुई पुराना **भवनको** बीचबाट अगाडि बढेर दायाँ माडिँदै हाकिम बस्ने घरको माथिल्लो तलामा गएर हाकिमको कोठामा छिरे । हामी पनि पछिपछि थियौँ । म र काका लेखनदासकै साथ लागेर कोठाभित्र पस्यौँ । दिनेश र छोरी भने कोठाबाहिर बसेर नै भित्र हेरिरहे । भित्र छिर्दा धेरै जना गएर भिड लगाउनुभन्दा आवश्यक हुने मात्र भित्र कोठामा छिर्दा ठीक होला भन्ने भावनामा हामीले त्यसो गरिरहेका थियौं ।

हाकिम **आफ्नो** कुर्सीमा बसेर कम्प्युटरमा केही काम गर्दै थिए । उनको छेउको सोफामा एउटा निकै अग्ला कदमा अलि दुब्ला मान्छे बसेका रहेछन् । लेखनदासले हाकिमको टेबलमाथि वन कार्यालयबाट ल्याएको बन्दीखाम र अरू कागजको फाइल राखिदिए । एकैछिन पछि कम्प्युटरमा गर्दै गरेको हाकिमको काम सकिएछ क्यारे, वन कार्यालयको खाम खोलेर पढे, त्यसपछि तोक लेखेर फिर्ता दिए । त्यो तोक लागेको कागज हातमा लिँदै लेखनदासले ‘म तल फाँटमा गएर यो फुकुवा गर्दै गर्छु तपाईंहरूले हाकिमसाबसँग निर्णय गराउँदै गर्नु’ भन्दै त्यो पत्र लिएर उनी कोठाबाहिर निस्किए ।

हाकिमले हाम्रो फाइल हेर्दै केहीबेर पढेपछि ‘गैरआवासीय नेपाली विदेशी नागरिकको अपुतालीको विषय रहेछ’ भन्दै सोफामा बसेका ती दुब्ला मान्छेतिर सारिदिए । पछि थाहा भयो ती दुब्ला **अग्ला** मान्छे मुद्दा फाँटका सुब्बा रहेछन् । उनले पनि फाइलका कागजहरू पढेपछि हाकिमतिर हेर्दै भने ‘यस्तो अपुताली नामसारी त अहिलेसम्म गरेको छैन ।’

हाकिमले हामीतिर हेर्दै ‘यस विषयमा अलि विचार गर्नुपर्छ, अहिलेसम्म नगरेको विषय पऱ्यो, हामी सल्लाह गर्छौं, भोलि आउनुहोस्’ भने ।

काका टेबलकै छेउमा मभन्दा अलि अगाडि हाकिमको टेबल नजिकै हुनुहुन्थ्यो । उहाँले समातिराखेको छालाको ब्यागभित्रबाट दुईवटा किताब निकाल्नुभयो । त्यसमध्येको एउटा किताबमा चिन्ह लगाएको पेज पल्टाउँदै । भन्नु भयो ‘यो गैरआवासीय नेपालीसम्बन्धी नियमावली २०६६ को नियम ११(८) हेर्नुहोस् । अपुतालीबाट कुनै विदेशी नागरिक गैरआवासीय नेपाली अचल सम्पत्ति प्राप्त भएमा नीलो पुर्जा बनाइदिनुपर्छ भन्ने लेखिएको छ ।’

त्यति भन्दै त्यो किताब खोलेको पेज हाकिमको अगाडि दिनुभयो ।

(८) यस नियमावलीबमोजिम अचल सम्पत्तिको जग्गाधनी प्रमाणपत्र प्रदान गर्दा सम्बन्धित मालपोत कार्यालयले नीलो रङको प्रमाणपत्र प्रदान गर्नुपर्नेछ ।

हाकिमले त्यहाँ लेखिएका दफाहरू पढेपछि त्यो किताब ती सुब्बालाई दिए । सुब्बाले पनि काकाले बताएका कानुनी कुराहरू पढे ।

त्यसपछि ती सुब्बाले भने, ‘नागरिकता ऐनको दफा १०ले विदेशको नागरिकता लिएपछि नेपाली नागरिकता बदर हुन्छ भनेको छ । मुलुकी देवानी (संहिता) ऐन २०७४ ले मन्त्रिमण्डलको निर्णय नभई विदेशीको नाममा जग्गा नामसारी हुँदैन भनेको छ’ भने ।

हाकिमले ‘यस विषयमा हामी सल्लाह गर्छौं, आज अफिस बन्द हुने समय पनि भइसक्यो भोलि आउनुहोस्’ भने ।

काकाले खल्तीबाट मोबाइल झिकेर समय हेर्नु भयो । त्यसपछि झोलाबाट अर्को पहिलेको भन्दा अझै मोटो किताब झिक्नुभयो र चिन्ह लगाएको **पन्ना** पल्टाएर पढ्न थाल्नुभयो

‘दफा ४३३. विदेशीलाई अंश वा अपुताली प्राप्त भएमा हस्तान्तरण गर्नुपर्ने ः (१) कुनै विदेशीलाई नेपालभित्रको कुनै अचल सम्पत्ति अंश वा अपुताली प्राप्त भएमा नेपाल सरकारको स्वीकृति भएकोमा बाहेक सो सम्पत्ति निजको नाममा नामसारी, दर्ता हुन वा सो सम्पत्तिको आम्दानी निजले उपभोग गर्न पाउनेछैन ।

तर, गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा यो व्यवस्था लागू हुनेछैन ।

(२) उपदफा (१) बमोजिम विदेशीलाई कुनै अंश वा अपुताली प्राप्त भएमा त्यस्तो विदेशीले त्यस्तो सम्पत्ति कुनै प्रकारले नेपाली नागरिकलाई हस्तान्तरण गर्नु पर्नेछ र त्यस्तो प्रयोजनका लागि सम्बन्धित कार्यालयले हक हस्तान्तरण गर्ने दिनको लागि मान्य हुने गरी अस्थायी जग्गा धनी प्रमाण पुर्जा जारी गर्नेछ ।

(३) उपदफा (१) बमोजिम विदेशीको नाममा प्राप्त भएको अंश वा अपुतालीको सम्पत्तिमध्ये अंशको हकमा जहिलेसुकै पनि र अपुतालीको हकमा त्यस्तो प्राप्त भएको तीन वर्षभित्र उपदफा (२) बमोजिम नेपाली नागरिकलाई हस्तान्तरण नगरेमा सो म्याद नाघेपछि त्यस्तो सम्पत्तिउपर नेपाल सरकारको हक हुनेछ । )’

त्यसपछि भन्नुभयो ‘यसको प्रतिबन्धात्मक वाक्यांशले गैरआवासीय नागरिकको हकमा छुट गरेकोले हकवालाको नाममा नामसारी हुन्छ । हुन्छ, हामी भोलि बिहानै आउँछौँ नि त ।’

हामी बिदा हुँदै गर्दा लेखनदास पनि तल फाँटको फुकुवाको काम सकेर त्यही कोठामा आइपुगे । अफिस बन्द हुने समय भएको महसुस गरेर नै होला त्यो फाइल उठाएर काका हिँड्न थालेको देखेर लेखनदासले भने ‘यो अपुताली निवेदन आज दर्ता गरौँ, अफिस बन्द हुने समय भइसक्यो अरू काम भोलि गरौँला ।’

हाकिमले काकाको हातबाट फाइल लिएर निवेदनको बायाँपट्टि आ.का. भनेर लेखेर सही लगाउँदै ‘तल दर्ता फाँटमा लगेर दर्ता गरिराख्नुहोस् भोलि हामी सल्लाह गरेर के गर्ने भनौँला’ भने ।

मलाई त वन कार्यालयबाटै आजको दिन बित्छ जस्तो लागेको थियो । सोचेभन्दा अलि चाँडै नै चिठ्ठी पाउँदा आज काम सकिन्छ भन्ने लागेको थियो । तर, यी कार्यालयका काम गर्ने तरिका के के हुन् !! ताल देख्दा नै आज पनि काम सकिएन । भोलि पनि सकिने हो कि होइन भन्ने जस्तो लाग्न थाल्यो । विकल्प पनि केही देखिएन । उता, परम्पराअनुसार १३ दिनको काम गर्नु पर्नेदेखि लिएर जागिरको बिदाको अवस्थाको बारेमा पनि केही मिलाउन पाएकी छैन । दिक्क पनि लाग्न थाल्यो, आ.. ।

**आफ्नो** हातमा नभएको कुरा के गर्नु ! कानुनमा लेखिएको बाउआमाको सम्पत्तिमा पाएको अधिकार **आफ्नो** नाममा गराउन पनि सबै सम्पत्ति कमाउनभन्दा झन् गाह्रो पो हुँदो रहेछ । सेवाग्राहीलाई पनि यस्तै बानी पो परेर हो कि यसैमा सबै मस्त छन् क्यारे । कोही यो चलन नै भएन भनेर कराएको झगडा गरेको पनि देखिएन । यहाँका मान्छेले अन्यत्र कस्तो हुन्छ देखेकै छैनन् त्यसैले संसारभरि सबै ठाउँमा यस्तै त होला, यसैमा रमाउनुपर्छ भन्ने भएर त होला । **आफू** भने **सिस्टममा** चलेको देशको बानी परेर होला केही कुरा पनि **सिस्टममै** नभएको जस्तो हुने । के गर्नु त । सबैभन्दा राम्रो **आफू** पनि सन्तोष गऱ्यो भोलि फेरि खुरुखुरु आयो, काम भए भयो, नभए पर्सिपल्ट पनि आयो । चित्त बुझेन भनेर पनि केही काम त रहेन छ यहाँ ।

फेरि हामी बुटवलको बाटो लाग्दै गर्दा मनमा भने उही एम्माको सम्झना आयो । ती केटी मेरी जुम्ल्याहा भइदिएको भए अहिले यो कार्यालयहरूको झन्झटमा उनी पनि पर्नुपर्ने थियो । आखिर हामी एउटै बाउआमाका सन्तान भएपछि प्रक्रिया त सबै एउटै अपनाउन पर्ने हुन्थ्यो । के थाहा जुम्ल्याहा नै रहिछन् भने यो सम्पत्ति पनि हामी दुई बैनी बीचमा बाँड्ने अवस्था पो आउने हो कि न ! मेरो मनको भ्रम न हो । उनी त अहिलेसम्म नेपाल आएकै त छैनन् । विदेशमै जन्मिएकी उतै हुर्किएकी । कथमकदाचित यो **सिस्टम** बिनाको झन्झटमा पर्न परे त उनी भो मलाई केही चाहिएन **आफ्नै** गरी खान्छु भन्दै उतै फर्किन्थिन् होला ।