Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
भाग १४ः खुलासा

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १४

30 Nov, -0001

१४ खुलासा

छोरी स्कूल हिँडेसँगै मैले पनि दिनेशलाई **ट्रेन स्टेसन** छाडेर हस्पिटलको **कारपार्कमा** गाडी पार्क गरेर अफिस छिर्दा मैले काम सुरु गर्ने समय अझै १५ मिनेट जति बाँकी नै थियो । आज सबैभन्दा उत्साह भने एम्माको **डीएनए** रिजल्टको विषयमा लागिरहेको थियो । त्यो रिजल्ट हेरेर एम्मा र म जुम्ल्याहा नै हो कि होइन भन्ने निधो गर्न मन आतुर भइरहेको छ । समय अझै बाँकी भए पनि **कम्प्युटर** खोलेर **आफ्नो पासवर्ड** हालेर **एनएचएस सिस्टममा लग–इन** गरेँ । थुप्रै इमेलहरू थुप्रिएका रहेछन् । इमेल खोल्न नथालेर सिधै एम्माको रेकर्ड खोल्न उनको नाम हालेँ । उनको रेकर्ड खोल्न नामको साथमा जन्ममिति पनि चाहिने हुन्छ । आखिर मेरो र उनको जन्मदिन एउटै भएकोले उनको जन्मदिन सम्झनको लागि मैले दिमागमा जोड दिन पर्ने थिएन । **आफ्नै** जन्मदिन हालेपछि उनको रेकर्ड खुलिहाल्यो ।

उनी त खुट्टाको अपरेसन भएको तथा म अप्रत्याशित रूपमा नेपाल गएको पर्सिपल्ट नै डिस्चार्ज भएर अस्पतालबाट गइसकेकी रहिछन् भन्ने रेकर्डले देखाइहाल्यो । त्यसपछि अब **डीएनए रिपोर्टको** लागि उनको **पेसेन्ट टेस्ट रेकर्डमा क्लिक** गरेर खोलेँ । **डीएनए रेकर्ड म्याचिङको** विषय मलाई सामान्य जानकारी मात्र भएकोले मैले जाने जति विषयबाटै हामी जुम्ल्याहा हुन नसक्ने देखिए त **च्याप्टर** त्यहीँ **क्लोज** भइहाल्ने छ । तर, मैले जानेको ज्ञानका भरमा हामी दुई जुम्ल्याहा हुन सक्ने सम्भावना पुष्टि भयो भने मैले **डीएनए विशेषज्ञको** सहारा लिनुपर्ने हुन्छ । अहिलेसम्म त उनको यो गोप्य **डीएनए रिपोर्टहरू** मसम्म मात्र सीमित रहेको छ । तर, यस विषयमा अरूसँग जानकारी **सेयर** (**साझा**) गर्नुपर्ने भयो भने **ड्याटा प्रोटेक्सन ऐनका** सीमाहरू नाघिएको ठहरिने हो कि भन्ने डर लागिरहेछ । एक त उनको खुट्टाको अपरेसन तथा उपचारको विषयसँग **डीएनए परीक्षणको** आवश्यकता नरहेकोले पनि विषय जेलिन सक्ने सम्भावना हुन्छ । हा..., बरु जुम्ल्याहा हुनै नसक्ने रिजल्ट आए पनि यो कानुनी झमेलामा फस्ने सम्भावना नै हुने थिएन भन्ने मनमा खुल्दुली हुँदै गर्दा **स्क्रिनमा डीएनएका सिक्वेन्सहरू** र **ब्लडग्रुपहरू** छुट्टिने विवरण स्पष्ट देखियो ।

**हत्तपत्त** मैले **आफ्नो ब्लडग्रुप**, बुवाको **ब्लड ग्रुप** र आमाको **ब्लड ग्रुप** मिलाउँदा त हामी दुवै एउटै आमाबाबुका सन्तान हुने रिजल्ट देखियो । अब यो विवरण मैले पुष्टि गर्न अरू साथीको सहयोग लिनैपर्ने भयो । मसँग एउटा उपाय त एम्मालाई भेटेर उनको लिखित अनुमति लिएर यो **सिक्वेन्स** जाँच्ने विशेषज्ञको सहयोग लिनु मेरो लागि सुरक्षित उपाय हुन सक्छ । तर, उनी अस्पतालबाट डिस्चार्ज भएर गइसकेकीले उनलाई भेटेर उनको अनुमति माग्न पनि त्यत्ति सजिलो भएन ।

त्यतिन्जेलमा म म्यानेजरलाई भेटेर अरू कामका **रोटा** र बिरामीहरूको उपचारमा लाग्नुपर्ने समय सुरु भइसकेको थियो । **कम्प्युटर लग अफ** गरेर म्यानेजरको कोठामा पुगेँ । उनले बुवाआमाको दुःखान्त खबरको विषयमा दुःख जनाउँदै समवेदना व्यक्त गरे । औपचारिक कुराकानी सकिएपछि हाम्रो कामको सिलसिला सुरु भइहाल्यो । एकपछि अर्को बिरामीको कामको सिलसिलामा व्यस्त हुँदाहुँदै कामको समय सकिएर घर जाने समय भइसकेछ ।

दिनभरि व्यस्त भएर एम्मा र मेरो **डीएनएको** विषयमा केही गर्न नपाएकोले कामको समय सकिएपछि फेरि **कम्प्युटर लग इन** गरेर एम्माको रेकर्ड खोलेँ । उनीसँग भेटेर उनको अनुमति लिएर विशेषज्ञसँग सल्लाह लिने विचारले एम्माका ठेगाना हेरेँ । खासै टाढा त रहेनछ । रेकर्डमा उनको मोबाइल नम्बर रहेनछ । केवल **ल्यान्डलाइन** (घरको) नम्बर भेटियो उनको रेकर्डमा ।

खासमा उनको उपचारको सिलसिलामा बाहेक मैले उनलाई फोन गर्नु नियम मिचेको हुने थाहा हुँदाहुँदै पनि मैले त्यो नियम मिच्ने निधो गरेँ । एक मनले मेरै मोबाइलबाट फोन गरौँ कि भन्ने पनि सोचेँ तर फेरि मनमा अफिसकै फोनबाट गरेँ भने त कतैबाट प्रश्न उठ्यो भने पनि बिरामीको विषयमा कुरा गर्न फोन गरेको भन्न पाइन्छ भनेर अफिसकै फोनबाट घण्टी बजाउने विचार गरेँ ।

अफिसको फोनबाट घण्टी बजाउँदा **कलर आइडी** देखिँदैन होला भन्ने सम्झेँ । उता फोन उठिहाल्यो भने सुरुमा **आफ्नो** परिचय दिँदै ‘म तिम्रो खुट्टाको अपरेसन गरेकी डाक्टर, अझ तिमीलाई सम्झना हुन सक्छ भनेर **आफ्नो** परिचय बताउन तिमी र म उस्तै अनुहार भएकी डाक्टर क्या, म त अप्रत्याशित रूपमा देशबाहिर जान बाध्य भएकीले अपरेसनपछि तिमीलाई भेट गर्न पनि नपाएकीले फोन गर्दैछु’ भन्नुपर्ला भन्ने सोच्दै फोनको **सेटमा कम्प्युटरको स्क्रिनबाट** नम्बर हेर्दै थिच्दै गरेँ ।

पहिला दुई घण्टी बज्यो । त्यसपछि आवाज सुनियो । तर, उनी बोलिरहेकी थिइनन् भन्ने मलाई भान भइहाल्यो । उनले रेकर्ड गरेको उनको आवाज **रिसिभरको** एकापट्टिबाट मेरो कानमा बजारिन थाल्यो । उनको बोली पनि मेरो जस्तै भएको अनुभूति भयो । ‘**हाई**, **आई एम नट एभाइलेभल एट दिस मोमेन्ट**, **प्लिज लिभ योर म्यासेज एन्ड व्हेन आई कम ब्याक विल कल यु ब्याक**’ (म उपलब्ध नभएकोले खबर रेकर्ड गरी छाड्नु) भन्ने **म्यासेज** नसकिँदासम्म सुन्दै पर्खिरहेँ । उनको **म्यासेज** सकिएपछि एउटा ‘टुँ’ को आवाज आउला र मेरो भनाइ पनि त्यहीँ उनको मेसिनमा रेकर्ड गराउनुपर्ला भन्दै सोच्दै उनको **म्यासेज** सुनिरहेँ ।

उनको **म्यासेज** सुनिसकेपछि मेरो भनाइ रेकर्ड गराएर मेरो सन्देश उनले पाउन भन्ने सोचेर अङ्ग्रेजीमै बोलेँ ‘**हेलो एम्मा**, म तिम्रो खुट्टाको अपरेसन गरेकी डाक्टर अस्मिता हो । मलाई माफ गर्नु है, मलाई त ठूलो आपत आइपरेर अप्रत्याशित रूपमा देशबाहिर जान परेकोले अपरेसन **थिएटरबाट** बाहिर आएर तिम्रो होस फिर्ता भएपछि त तिमीसँग भेट नै हुन पाइनँ । तिमीसँग धेरै कुराहरू गर्ने मन थियो । जे होस् यो **म्यासेज** पाएपछि कृपया मेरो मोबाइलमा फोन गर्नु अनि धेरै कुरा गरौँला । यदि तिमीले इन्कार नगर्ने भए त हामी भेट भएर नै धेरै कुरा गर्न मन छ । **प्लिज**, मलाई फोन गर है । मेरो फोन नम्बर ८८८८८८८८ हो ।’

मेरो मनमा भने उनलाई पनि हामी दुवै जना जुम्ल्याहा हुन सक्ने सम्भावनाको विषयमा खुल्दुली त लागेको होला । यदि भेट भएर **डीएनए परीक्षणको** विषयमा कुरा गरेँ भने उनी पनि हाम्रो विषय खुलस्त पार्नमा पक्कै मञ्जुर हुन्छिन् भन्ने लागिरहेछ । मलाई जस्तो खुल्दुली उनलाई पनि नहुनुपर्ने कारण पनि त छैन । सञ्जोगले हामी दुईको भेट नभएको भए त यस विषयमा न मलाई चासो हुने थियो न त उनलाई नै चासो हुन्थ्यो । कि त उनका बाबुआमाले उनलाई ‘तिमी हाम्री **बायोलोजिकल** छोरी होइनौ’ भनेर बताएको भए बल्ल उनले खासमा **बायोलोजिकल** बाबुआमा खोज्ने कुरा हुन्थ्यो । उनलाई त्यस्तो रहस्य बारेमा केही भनेको भए त पहिला हाम्रो कुरा हुँदा नै मलाई भनिहाल्थिन् नि ! उनले पनि उनका बाबुआमासँग यस विषयमा सोधेर निधो गर्न त खोजेकै हुन् नि, तर के गर्नु उस दिन **नेटवर्कको** कमजोरीले गर्दा कुरा हुन पाएन । त्यसपछि उनको अपरेसन, फेरि मेरो नेपाल यात्रा यस्तैमा अलमल भएको भई नै रह्यो ।

हुन त यसै बीचमा यो रहस्यको विषयमा उनले **आफ्ना** बाबुआमासँग कुरा गरेर फेरि मसँग सम्पर्क गर्न खोजेको पनि त हुन त सक्छ नि । उनी अपरेसन **थिएटरबाट** बाहिर आएपछि मलाई खोजेकै भए पनि त उनले मलाई भेट्ने कुरा भएन । फेरि अस्पतालको प्रशासनले पनि मेरो विषयमा बिरामीलाई जानकारी दिने कुरा पनि आएन । तर खै के थाहा उनका बाउआमा **होलिडेबाट** फर्किए कि फर्किएनन् । हुन त उनले भनेअनुसार त एक हप्ताको **टुर** भन्थिन् । त्यो हिसाबले त उनीहरू **टुरबाट** फर्किसके होलान् । तर, **होलिडेबाट** फर्किएपछि उनीहरू छोरी भेट्न आएकी आएनन् । आउन त पक्कै आए होलान् । त्योभन्दा पहिला पनि एम्माले फोनमै पनि कुरा गरेर **आफ्ना** बाबुआमालाई रहस्यको विषयमा सोधेको पनि त हुन सक्छ ।

उनले सोधपुछ गरेर रहस्यअनुसार हामी जुम्ल्याहा भएको पुष्टि हुने आधार भेटेको भए त कमसेकम उनले अस्पतालमै मेरा लागि कुनै पत्र वा **म्यासेज** छाड्न पनि त सक्थिन् नि । तर, कहिलेकाहीँ सामान्य कुरा पनि मिलाउन जानिँदैन नि त, सायद मेरो फोन नम्बर **एड्रेस** केही नपाएर मलाई खोज्दा पनि उनले मलाई भेट्न नपाएकै पनि त हुन सक्छ नि ! तर, मेरो अनुमान मात्र त हो नि, मलाई जस्तो खुल्दुली उनलाई केही नभएर मलाई उनले बिर्सिसकेको पनि त हुन सक्छ ।

एम्मालाई **म्यासेज** छाडिसकेपछि अब उनले कुनै पनि समयमा फोन गर्न सक्छिन् भन्ने आशा लिएर **कार पार्क** पुगेँ । कार लिएर घरमा गएँ । छोरी र दिनेश पहिला नै आएर खाना तयार गरेका रहेछन् । दालभात तरकारी खाने भनेर म घरमा पुगेर नुहाएर तल झरेपछि खाना खायौँ । कति बेला फोनमा घण्टी बज्छ कि भनेर पर्खिरहेँ । एम्माको फोन आएकै होइन । अझ एम्माको फोन आइहाल्छ कि भनेर नुहाउन्जेल पनि फोन बाथरुममा लिएरै गएकी थिएँ तर फोन आएन । खाना खाउन्जेल पनि फोन नआएपछि कतै फोनमा केही गडबडी भएर फोन आउँदा पनि घण्टी नबजेको त होइन भनेर हेरेँ । तर, कुनै गडबड देखिनँ । त्यसपछि छोरीको फोन मागेर उनको फोनबाट मेरो नम्बर **डायल** गरेँ । घण्टी बज्यो । त्यसपछि रिसिभ नगरी काटेँ । फोनले राम्रै काम गरिरहेको निधो भयो । एम्माको फोनै नआएर रहेछ भनेर ढुक्क भएँ ।

**टिभी** हेर्दा पनि जतिबेला पनि फोन बज्छ कि भनेर पर्खिरहेँ । साँझसम्म पनि घण्टी नबजेपछि अलि दिक्क पनि लाग्यो । उनको फोन नआए पनि **आफ्नो** मन शान्त पार्नलाई भए पनि केही त गर्नैपऱ्यो भनेर सम्झेँ । पहिला अस्कलमा पढ्दा सँगै पढेको एउटा साथी **क्याम्ब्रिजमा साइन्टिस्ट** भएकोले उसको सहयोग लिएर **डीएनए सिक्वेन्सको** परिणाम बुझ्न निधो गरेँ ।

मोबाइलमा ती **साइन्टिस्ट** माधवको नम्बर खोजेँ अनि नम्बरमा औँलाले यस्सो छोएर **कल** गरेँ । उता घण्टी गयो । तर, ६ घण्टी गएपछि **भ्वाइसमेल** छाड्नु भन्ने उनको **म्यासेज** स्वर सुनियो र ‘**प्लिज यो म्यासेज पाएपछि मलाई कल ब्याक गर्नु**’ भनेर **भ्वाइस मेल** छाडेँ ।

एकैछिनमा फोनको घण्टी बज्यो । **हत्तपत्त** नचिनेको नम्बरबाट एम्माको फोन आएको हो कि भन्दै मोबाइलको **स्क्रिनमा** हेरेँ । तर, एम्माको फोन रहेनछ । उनको नभए पनि माधवको फोन रहेछ । अनि दुई घण्टी बजुन्जेलमै फोन उठाएर ‘**हेल्लो**’ भनेँ ।

माधव पढ्दादेखिकै साथी भएकोले खुलस्त कुराकानी हुने गर्छ र मन पनि मिल्छ । स्कूल पढ्दा हाम्रै कक्षाकी सुधा नामकी साथीसँग उनको प्रेम थियो । सुधा पनि मसँग मिल्ने भएकोले पनि हाम्रो सबै कुरा एक आपसमा खुलस्त हुने । पछि पढ्ने क्रममा उनी **फोरेन्सिक साइन्स** पढ्दै **साइन्टिस्ट** बने । म डाक्टर बनें । फोन वार्ता सुरु हुनासाथ पहिला त मैले बुवाआमा गुमाएको र नेपालमा दुर्घटनाका कारण पीडा भोगेको बताएपछि उनले सान्त्वनाका शब्दहरू व्यक्त गरे । **विकेन्डमा** भेट्न आउने कुरा गर्दा हामी **क्रुजमा** घुम्न जान लागेको बताएपछि त्यसपछिको **विकेन्डमा** भेट्न आउने उनले वाचा गरे ।

अलिबेर त्यस्तै कुरा गरेपछि मैले उनलाई फोन गर्नको विषयमा प्रवेश गर्ने माहोल बनेको अनुमान गरेँ । उता, उनलाई भने बुवाआमा गुमाएकोमा पीडा बाँड्न फोन गरेको भन्ठानेर त्यही विषयमा उनको भावनात्मक कुरा गराइ महसुस गरिरहेकी थिएँ । विस्तारै **आफ्नो** कामको विषयमा कुरा नबताई सहयोग माग्न पनि भएन भन्ने सोचेर एम्मासँगको भेट भएको र जुम्ल्याहा जस्तो लागेको विषयमा उनलाई बताएँ । यसै विषयमा उनको सहयोग चाहिएको पनि बताएँ । झन्डै ४५ मिनेट जति कुरा गर्दा उनलाई मैले बताएका सबै विवरणको आधारमा उनको जन्ममिति मिल्ने, बुवाले नेदरल्याण्डसमा नै पढ्नुभएको, मेरो जन्म पनि त्यहीँ भएको आदि घटनाक्रमको आधारमा **डीएनए परीक्षण** गरे पक्का हुने भनेर उनले आफैँले बताए । उनले त्यति भनेपछि मलाई भने जे खोजेको त्यही पाएँ भन्ने जस्तो सन्तोष लाग्यो । त्यति भइसके पनि अब मैले **डीएनएको** विषयमा रिपोर्ट आइसकेको भनेर माधवलाई बताउँदै फोनमा भनें, ‘उनको खुट्टाको उपचारको लागि नचाहिने भए पनि मैले **आफ्नो** स्वार्थले गर्दा नियम मिचिए पनि मिचियोस्, जे त होला भन्ने मानेर उनको **डीएनए परीक्षण** गराएकी छु, त्यो रिपोर्टको फोटो र म पढ्दाकै समयमा तयार पारेको मेरो रगतको **डीएनए रिपोर्ट** पनि तिम्रो इमेलमा पठाइदिन्छु । लौ न मलाई सहयोग गर है । यस्तो पर्ला र चाहिएला भनेर त हैन तर **डीएनए सिक्वेन्सको** विषयमा बडो जिज्ञासा लागेको हुनाले मैले **ल्याबको टेस्टमा** त्यो **टिचरसँग** अलि हेलमेल बढाएका बेला मेरो **सिक्वेन्स रिपोर्ट** बनाइ राखेकी थिएँ आज काम लाग्ने भयो ।’

माधवले भने, ‘हुन्छ, त्यो त मेरो लागि सामान्य नै हो नि । त्यो दुवै रिपोर्ट मलाई पठाइदेऊ अनि म **न्युक्लियोटाइडको क्रोमेटोग्रामको इलेक्ट्रोफोरेसिस** विवरणबाट दुवैको पुर्खाको विषयको विवरण तयार पार्छु र तिमीलाई फोन पनि गर्छु । मलाई पनि यस विषयमा तिमीहरू जुम्ल्याहा होलाऊ कि होइनौ होला भन्ने चासो जाग्यो । मेरो मनले त पक्का पनि तिमीहरू दुई बैनी नै हौ जस्तो भनिरहेको छ । **डोन्ट वरी, सेन्ड योर इमेल** । (चिन्ता नगर, इमेल पठाउ)’ भन्दै फोनको कुरामा बिट मार्न अरू सामान्य कुरा गरेर फोन काटें ।

मैले फोनमा कुरा गर्दै गर्दा **ल्यापटप** पनि खोलेर दुवै रिपोर्ट माधवको इमेलमा पठाएँ । तर, एकै छिनमा **कम्प्युटरले** पठाउन थालेको फाइलको **साइज** ठूलो भएकोले इमेल पुग्न पर्ने ठेगानामा नपुगेको **इरर म्यासेजसहितको** जानकारी गरायो । समस्या सुल्झिनै लाग्यो भन्ने लागेको बेलामा फेरि अर्को समस्या आइपऱ्यो । फेरि माधवको फोन नम्बरमा फोन गरेर इमेल गएन, ठूलो भयो फाइल भनेर **इरर म्यासेज** दियो भनेँ ।

माधवले ‘ए हो र, अँ.. अर्को उपाय अपनाउन पर्ने भयो, म **एफटिपी एड्रेस** दिन्छु त्यसमा फाइल **अपलोड** गरिदेऊ म हेरेर खबर गर्छु । तर, अहिले त रात पऱ्यो भोलि म काम सुरु हुनुभन्दा आधा घण्टा अघि अफिस गएर तिम्रो रिपोर्ट तयार पारेर खबर गर्छु । **डोन्ट वरी** ।’ भन्दै फोन काटे ।

मैले माधवले त **एफटिपी एड्रेस** दिन्छु त्यसमा फाइल **अपलोड** गरिदेऊ भन्दै थिए त्यो **एड्रेस** नदिई फोन काटिदिए भनेर चिन्ता मनमा के जाग्दै थियो मेरो मोबाइलमा इमेल रिसिभ भएको **टोन** सुनियो । मैले फोनतिर हेर्दै नहेरी **ल्यापटपकै इनबक्स** खोलेको त माधवले पठाएको **एफटिपी एड्रेस** र फाइल कसरी **अपलोड** गर्ने भन्ने विवरणसहितको इमेल रहेछ । एक मनले **हेत्तरीका** विचरा सहयोग गर्दै गरेका माधवलाई पनि बेकारमा **एफटिपी एड्रेस** नदिई फोन काट्यो भनेर रिसाएकी ! यस्तै हो, भनेअनुसार केही नहुनेबित्तिकै मन मनिल भइहाल्ने के ।

धेरैबेर एकै **पोजिसनमा** बसिराखेर होला बायाँ खुट्टा निधाएको रहेछ । अब **एफटिपीमा** फाइल **अपलोड** हुन्छ र माधवले भोलि रिपोर्ट दिन्छन् भन्ने सन्तोष लागेपछि बल्ल खुट्टा निदाएको होस पाएँ । खुट्टा तन्काउँदै **ल्यापटप सोफाको बिटमा** राखेर इमेलबाट **एफटिपी एड्रेस कपी** गरेर **फोल्डर विन्डोमा पेस्ट** गरेर खुलेको फोल्डरमा **ड्याग** गरेर फाइलहरू **अपलोड** गरेँ । त्यसपछि मोबाइल बायाँ हातमा समाएर दायाँ हातले **एसएमएस टाइप** गरेर मैले फाइलहरू तिमीले दिएको **एफटिपी फोल्डरमा** हालेकी छु भनेर अङ्ग्रेजीमा लेखेर **सेन्ड बटन** थिचेँ ।

**उत्तिखेरै** माधवको फोन नम्बरबाट ‘**रिसिभ्ड**’ भन्ने लेखेको छोटो **एसएमएस म्यासेज** आइपुग्यो ।

माधवले कत्तिखेर रिपोर्ट पठाउलान् भन्ने मनमा लागिराखेर होला सपनामा पनि माधवले पठाएको रिपोर्टमा **डीएनएबाट** हामी दुई बैनी भएको पुष्टि भएको र दुईटी भएर नेपाल जान हिँडेको सपना देख्दादेख्दै बिहान **झट्टै** जागेँ । जाग्दा बरु ‘निदमा सपना नै देखिराखेको भए हुने बेकारमा जागेर !’, भन्ने जस्तो लाग्यो । नौ बजेभन्दा पहिला माधवले रिपोर्ट जाँचेर मलाई खबर पठाउने सम्भावना नै छैन । मन जति विचलित भए पनि पर्खनुसिवाय अरू उपाय पनि भएन । एम्मालाई **म्यासेज** छाडेकी थिएँ तर उनले पनि **कल ब्याक** गरेकी छैनन् । यतिञ्जेल त बरु बिर्सिएकी रहिछु फेरि एम्माको फोन कुनै पनि बेला आइहाल्छ कि भन्ने हुन लाग्यो ।

काममा जान गाडी **स्टार्ट** गर्न के थालेकी थिएँ फोनमा घण्टी बज्यो । फोनमा घण्टी बज्नु र गाडी **स्टार्ट** हुनु एकैपटक भएछ, फोनमा **रिसिभको बटन अन** गर्दा पनि आवाज सुनिएन । फोनको **कनेक्सन ब्लुटुथबाट कारमा कनेक्ट** हुन लागेको समयले गर्दा उताबाट बोलेको आवाज नसुनिएको रहेछ । एकैछिनमा **ब्लुटुथबाट** जोडिएर कारको **स्पिकरमा** एम्माको आवाज गुञ्जियो अङ्ग्रेजीमा उनले भन्दै थिइन् ‘**हेल्लो, अस्मिता, सरी, मैले हिजो फोनको म्यासेज नै सुनिनछु, भर्खर तिम्रो म्यासेज पाएँ फोनमा, त्यसैले तिम्रो फोनमा कल गरेको, अहिले तिमीलाई डिस्टर्ब त भएन ?**’

‘हैन, डिस्टर्ब भएको छैन, मैले त हिजैदेखि तिम्रो फोन आउँछ कि भनेर पर्खिरहेकी थिएँ । राति सुत्दा पनि म त तिम्रो फोनको आसमा मेरै नजिक फोन राखेर सुतेकी थिएँ । तर, केही छैन । हामी अब कुरा गर्न सक्छौँ । हेर न, तिम्रो अपरेसन गर्नासाथ मेरा बुवाआमाको गाडीमा **एक्सिडेन्ट** भएको खबर पाएर तुरुन्तै नेपाल गएँ तिमीलाई केही भन्न पनि पाइनँ । मलाई माफ गर है ।’ मैले भन्दा उनले उत्तरमा भनिन्,

‘होइन, त्यस्तो केही पीर नमान, तिमीले माफ माग्नु पर्ने केही छैन, बरु चाँडै भेटेर तिमीसँग कुरा गर्न मन छ मलाई त ।’

मलाई काममा जान बेर हुन्छ कि भन्ने पनि मनमा लागिरहेको थियो । त्यत्तिकैमा उनले फोनमै थपिन् ‘मेरो **बोइफ्रेन्ड** काममा जाने समय भयो, उनी कामबाट आएपछि उनले मलाई तिम्रो अस्पताल पुऱ्याइदिन्छन् कि ! एकछिन **होल्ड** गर है म सोध्छु ।’

मैले फोनमा सुनी नै रहँदा उनले उता कुरा गरेर एउटा केटाको स्वरमा ‘हुन्छ तिमीलाई म कामबाट आएपछि पुऱ्याउन जान्छु’ भनेको सुनें ।

एम्माले उताको कुरा सकेर फेरि ‘**हेल्लो**’ भन्नासाथ मैले भनें ‘हुन्छ, तिम्रो साथीले हुन्छ भनेको मैले सुनेँ तिमी साढे ६ बजे अस्पतालको **क्यान्टिनमा** आइपुग न त है ।’

‘हुन्छ, अब त हामी दुवैसँग एक–अर्काको मोबाइल नम्बर भइहाल्यो । कथम कदाचित ऊ कामबाट आउन ढिला भइहाल्यो भने पनि म तिमीलाई **म्यासेज** पठाउँछु । सम्भवतः हामी ठीक समयमा त्यहाँ आइपुग्छौँ । तिमीलाई पनि काममा जान ढिला हुन थाले होला, मेरो मोबाइल नम्बर यही हो, तिम्रो फोनमा **सेभ** गरिराख मैले त तिम्रो नम्बर मेरो फोनमा **सेभ** गरिसकेकी छु ।’

‘हुन्छ, ल, **बाई**’ भन्दै फोन काटेँ । म फोनमा कुरा गर्दै गाडी पनि चलाइरहेकीले फोन काट्दासम्ममा म पनि **कार पार्कको** ढोकामा पुगिसकेकी थिएँ ।

दिनभरि काममा व्यस्त भए पनि कतिबेला साढे ६ बज्छ र एम्मासँग भेट गरेर खुलेर कुरा गर्न पाइन्छ भनेर मन चञ्चल भइरह्यो । अस्पताल पुग्दा कामको समय भइसकेको थिएन तै पनि एउटा अप्रत्याशित **अर्जेन्ट केस अपरेसन थिएटरमा** पुगेकोले माधवले पठाएको खबर हेर्नसमेत नपाएर काममा व्यस्त भएँ । काममा व्यस्तता यति भयो कि **ब्रेकको टाइमसमेत** मिलेन । **लन्चसमेत** डाक्टर साथीहरूसँगै बसेर **स्यान्डविच** खाएर, **लन्चकै** बीच कामकै सरसल्लाह भनौँ एक प्रकारको **मिटिङ** र कामको व्यस्तताले दिन बितेको पनि थाहा भएन । यो कामको माहोल पनि कस्तो हुन्छ भने कहिलेकाहीँ त कल्पनै गर्न नसकिने गरी एकपछि अर्को **अर्जेन्ट केसहरू ह्यान्डल** गर्नुपर्ने हुन्छ । यस कोणबाट सोच्दा त कहिलेकाहीँ किन डाक्टर बनेंछु भन्ने लाग्छ । ल त जे हुने होस् काममा ढिलासुस्ती गरिहालौँ न त भन्नलाई पनि कुनै व्यक्तिको ज्यान त्यत्तिले जान सक्छ भन्ने डरले मन छट्पटाइहाल्छ ।

६ बजेतिर **ट्वाइलेटबाट** निस्कँदै थिएँ, फोनमा **म्यासेज** आइपुगेको आवाज **ट्वाङ** गर्दै बज्यो । खल्तीबाट फोन झिकेर हेरेँ एम्माको **म्यासेज** रहेछ । म समयमै आइपुग्छु भन्ने **म्यासेज** रहेछ । म पनि **क्यान्टिनमा** अब एम्मासँग भेट हुन तयारी गरेर निस्कन लाग्दै थिएँ, **करिडोरमा** एउटा यही अस्पतालमा काम गर्ने नेपाली भेटिए । उनले फेरि त्यही बुवाआमाको दुःखको खबरको विषयमा समवेदनाका सान्त्वनाका सन्देशहरू भन्न थाले । यहाँको नेपाली समाज सङ्गठनले श्रद्धाञ्जली कार्यक्रम राखेकोले यो आइतबार सामुदायिक भवनमा आउनुपऱ्यो भन्न थाले । तर, मैले पहिला नै **विकेन्डमा** अन्तै जाने कार्यक्रम बनाएकोले उपस्थित हुन नसक्ने हुनाले बरु सोमबार साँझलाई कार्यक्रम मिलाउन अनुरोध गरेँ । **विकेन्डमा बिजी** भएको भने पनि **क्रुजमा होलिडे** गएर दुःखले बहकिएको मन शान्त पार्न थालेको चाँहि भनिनँ । हाम्रो सामाजिक मान्यतामा दुःख परेपछि एक वर्षसम्म दुःख मनाइराख्नु पर्छ भन्ने मान्यता राख्ने गरेकोले बेलायतै बसे पनि नेपाली समाजले त्यही परम्परालाई निरन्तरता दिनुपर्ने सोचाइ राख्छन् । त्यसैले, **क्रुज** गएर मन शान्त पार्ने प्रयास गर्ने विषयको कुरा लुकाउन मन लाग्यो । चिकित्सा विज्ञानको हिसाबले भने दुःखको विषयमा मनलाई अन्यत्र विभाजित गरेमा दुःखको पीडा लम्बिँदैन भन्ने मानिन्छ तर सामाजिक मान्यताहरू नकार्न पनि नसकिने हुनाले गाह्रो नै पर्दो रहेछ ।

एकातर्फ बुवाआमाको दुःखको पीडा त्यो पीडाको बहमा भन्दा दिमाग भने एम्मा र मेरो विषयको रहस्यमा अल्झिएको छ । जे होस् अब एकैछिनमा एम्मासँग भेट हुन्छ । सायद उनका बाउआमाले उनलाई पो केही बताए कि । माधवको रिपोर्ट थाहा पाउन अझै बाँकी भए पनि त्यो रिपोर्टले हामी दुई बैनी नै देखाउँछ भन्ने मनभित्र निश्चित जस्तै भइसकेको छ ।

त्यत्तिकैमा फोनको घण्टी बज्यो **स्क्रिनमा** यसो हेरेको माधवको फोन रहेछ । **हत्तपत्त** उठाएँ उतापट्टिबाट माधवको स्वर सुनियो ‘हेर न अस्मिता, बिहान चाँडै अफिस पुगेर तिम्रो काम गर्छु भनेको बाटोमा **एक्सिडेन्ट** परेकोले बाटो जाम रहेछ अफिस अलि ढिलो पुगेँ तिम्रो रिपोर्ट हेर्न नै पाएको छैन । म अब एकछिन पछि त्यो हेरेर तिमीलाई खबर गर्छु । अफिसको काम पनि यति **बिजी** भयो कि आज **ब्रेकसमेत** राम्ररी बस्न पाएको होइन । तै पनि नआत्तिनु साँझसम्ममा तिमीलाई म खबर गर्छु ।’

समय हुन थालेकोले म पनि **क्याफेटेरियातिर** झरेँ, समय अझै छ जस्तो लागेको र **लिफ्टबाट** जानुभन्दा सिँढीबाट झर्दा केही **क्यालोरी** बढी **बर्न** पनि हुन्छ होला भन्ने सोचेर सिँढीबाट तल झरेर **क्याफेटेरियामा** पुग्दा एम्मा र उनको साथी आएर एउटा टेबल **ओगटेर** बसेका रहेछन् । एम्माको छेउमा उनका वैशाखी तेर्सो परेर ठडिएका थिए । तै पनि उनी उठेर मलाई त्यहाँ स्वागत गर्न खोज्दै थिइन् । म आफैँ उनको नजिक पुगेँ, उनको साथीलाई ‘**हाई, आई एम अस्मिता**’ भन्दै एम्मालाई अँगालो हालेँ । उनले पनि मलाई अँगालोमा हल्का दबाब दिइन् । एक किसिमको आनन्द आयो । एम्माको छेउको खाली कुर्सीमा म बस्दै गर्दा उनको साथीले ‘के के लिएर आऊँ **कफी, टी** ?’ भन्दै सत्कारको आदर दर्शाएपछि मैले ‘**ब्ल्याक–टी स्मल**’ भनेँ, एम्माले ‘**क्यापुचिनो फर मी, प्लिज**’ भनिन् र उनी **काउन्टरतिर** गए ।

एम्माले भनिन् ‘यता तिमी हराएर म त छट्पटाइरहेकी थिएँ, तिमी भने त्यस्तो आपत परेर टाढा यात्रा गर्न गइछौ, विचरा !’

मैले उनलाई सान्त्वनासमेत दिने भावमा **आफ्नो** पीडा सकेसम्म दबाउने नियतसहित भने ‘अँ हेर न अप्रत्याशित रूपमा हिँडिहालें तिमीलाई केही भन्न पनि पाइनँ ।’

उनले मेरो कुरा सकिनुभन्दा पहिला नै भनिन् ‘अनि **एक्सिडेन्टमा** परेर कत्तिको खतरा भएछ ? अहिले ठीक हुनुहुन्छ तिम्रो प्यारेन्ट्स ?’

मैले लामो श्वास तानेर उनलाई भन्न खोज्दै थिएँ, उनले मेरो **बडी ल्याङ्ग्वेज** र सुस्केराबाट स्थिति नाजुक भएको अनुमान गरिन् र दयालु भाव अनुहारमा झल्काइन् । त्यो स्वाभाविकै जस्तो पनि लाग्यो । अनि मैले भनें ‘के गर्नु म पुग्दा उहाँहरू यो संसारमा हुनुहुन्थेन, शरीर मात्र मैले भेटेँ उहाँहरूलाई भेट्न सकिनँ । यता तिमीलाई भेटेपछि उहाँहरूलाई सोध्नैपर्ने प्रश्न मनमा थियो त्यसको उत्तर दिनुभन्दा पहिला नै उहाँहरू उत्तर दिन नसक्ने भइसक्नु भयो ।’

एम्माले मनिल हुँदै कुरा अगाडि थपिन् ‘म **एक्सिडेन्ट** भएर खुट्टा यस्तो भए पनि तिमीलाई मैले मेरो दिदी भेटेको जस्तो भान भइरहेको छ । मेरो **फ्यामिलीसँग** पनि यो विषयमा सोध्न कत्ति प्रयास गरेँ आखिर उहाँहरू **होलिडे** सकेर नआउँदासम्म राम्ररी सोध्न पनि सकिनँ । यता तिमी हराइहाल्यौ । अस्पतालमा अरू स्टाफसँग तिम्रो विषयमा सोधेँ, कहाँ छन् भनेर थाहा पाउन कत्ति प्रयास गरेँ । सबैले स्टाफको गोपनीयता भङ्ग गर्न पाइँदैन, भन्न मिल्दैन भनेर टारे । मसँग उपाय पनि थिएन । तिम्रो **फर्स्ट नेमबाहेक** अरू मलाई केही थाहा पनि थिएन । तिमीले नेपाली मूलको भनेकोसम्म याद भएकोले अलि सञ्चो लाग्यो भने तिमीलाई नेपाल खोज्न जान्छु भन्नेसम्म योजना बनाइरहेकी थिएँ ।’

एम्माको कुरा सुनिरहँदा मेरो दिमागमा बुवाआमाको सम्झनाले म अलि एकोहोरिन पुगेछु । उनले त्यो मेरो मनको भाव मेरो अनुहारबाट पढेरै भनिन् ‘यस्तै हो दुनियाँ अजम्मरी कोही छैन, जे हुने भइहाल्यो अब पीर नगर, हुन त मलाई पनि कताकता मेरै **बायोलोजिकल प्यारेन्ट्स** त उहाँहरू नै हुनुपर्छ जस्तो पनि भान हुँदैछ तर यो रहस्य उहाँहरू नभएपछि झन् बल्झिन पुग्यो । **होलिडेबाट** फर्किएपछि मैले मेरो **प्यारेन्ट्सलाई** म जस्तै हुबहु मिल्ने डाक्टर भनेर कुनै रहस्य छ भने बताउनुहोस् भनेर अनुरोध पनि गरेँ । तर, उहाँहरूले विषय झन् **सस्पेन्स** बनाउनुभयो । म उहाँहरूकै छोरी हो भनेर स्पष्ट पार्ने कोसिस पनि गर्नुभएन । मैले गरेको प्रश्नमा उहाँहरू आपसमा आँखा जुधाएर आँखाले एक–अर्काको भाव पढ्नुभयो क्यारे । मैले उहाँहरूका आँखाबाट केही बुझिनँ । तर, उहाँहरूले मलाई **आफ्नै बायोलोजिकल** सन्तान भएको भनेर विश्वास दिलाउन कोसिस नगरेको पाउँदा मैले भने मनै मनले हामी दुई जुम्ल्याहा नै हौँ कि भन्ने निधो जस्तै गरिसकेकी छु । त्यसैले पनि म तिमीलाई खोज्न पूरै लागिपरेकी थिएँ । उपाय नलागेर मात्र हो । मेरा बुवाआमाले यो महिनाको अन्तमा भेट हुँदा यस विषयमा अरू कुरा गर्ने भन्नुभएको छ । मैले उहाँहरूलाई मलाई चाँडै भन्नुस् भनेर जिद्दी पनि गर्न सकिनँ । तर, रहस्य हुँदै होइन भन्न त सक्दिनँ तै पनि केही रहस्यमय लागेको प्रस्ट छ । उहाँहरूले यस्तो प्रश्न किन गरेको भनेर समेत मलाई सोध्नुभएन ।’

मैले उनी पनि हाम्रो विषयको अनिश्चितताको विषयमा मभन्दा अझै बढी चिन्तित रहेको महसुस गरेँ । हुन पनि म त बरु **आफ्नै** बुवाआमासँग हुर्के बढें, अब हामी जुम्ल्याहा नै रहेछौँ भने त उनले विचरा वास्तविक बुवाआमासँग भेट हुन र चिन्नसमेत पाउने मौका बाँकी रहेन । यो मर्मबाट उनको पीडा झन् बल्झिएको जस्तो लाग्यो । तै पनि उनको चिन्ता कम गर्न मैले प्रयास गर्नैपर्छ जस्तो लागेर भनें ‘चिन्ता नगर, यो घटनाक्रम केलाउँदा यो रहस्य हामी दुई बैनीकै रूपमा स्थापित भएर टुंगिएला जस्तो त छ तर, तिम्रो बुवाआमाबाट मात्रै यो रहस्य हामीले थाहा पाउने माध्यम बाँकी छ । हुन त हामी **बायोलोजिकल्ली सिब्लिङ** हौ कि होइनौँ भनेर **साइन्टिफिक टेस्टको** प्रयास गर्ने प्रयास गरेकी छु । म एउटा कुराको दोषी पनि छु । तर, यो परिस्थितिमा मलाई तिमीले माफ गरिदिने छौ भन्ने मैले विश्वास लिएकी छु । मैले तिम्रो अनुमतिबेगर नै तिम्रो रगतबाट **डीएनए सिक्वेन्स परीक्षण** गर्न तिम्रो फाइलमा लेखेकी थिएँ । त्यसको रिपोर्ट पनि आएको रहेछ । मेरो एक जना साथीलाई मेरो **डीएनए सिक्वेन्स** र तिम्रो रिपोर्ट दिएर मलाई विश्लेषण रिपोर्ट दिन अनुरोध गरेकी छु । सायद आज साँझसम्ममा त्यो रिपोर्ट उसले दिनेछन् ।’

एम्माको अनुहारमा अलि सन्तोष जागेको भाव प्रकट भयो र उनले भनिन् ‘तिमीले राम्रो गरिछौ । त्यो **डीएनए टेस्टको** प्रयास गरेकोमा म खुसी छु । म **आफ्नो** विषयमा जानकारी पाउन आतुर भइरहेकी छु । त्यो रिपोर्टबाट हामी **सिब्लिङ** (**एउटै बाउआमाका सन्तान**) हौँ भन्ने पुष्टि भयो भने अब हामी दुवैको प्रयास एउटै हुनेछ । हामी दुवै मिलेर यो रहस्य पत्ता लगाउनु पर्नेछ ।’

‘म त अहिलेसम्म कतै तिमीलाई नसोधी तिम्रो **डीएनए परीक्षण** गरेकोमा तिमीलाई चित्त दुख्छ कि भनेर डराइरहेकी थिएँ, अब भने ढुक्क भएँ ।’ मैले भनें ।

एकैछिन बिसाएर फेरि अगाडि भनें ‘मैले **आफू**ले पढ्ने क्रममै **आफ्नो डीएनएको सिक्वेन्स** बनाएर राखेकी थिएँ । तिम्रो **डीएनए रिपोर्ट** र मेरो **डीएनए रिपोर्ट** मेरो एकजना साथीलाई विश्लेषण गर्न दिएकी छु । उनले आज साँझभित्रमा त्यो रिपोर्ट दिन्छु भनेका छन् । यदि त्यो रिपोर्टबाट पुष्टि भयो भने हामी सहोदर दुई बैनी भएकोमा दुविधा रहँदैन र हामी दुवै मिलेर बाँकी रहस्य पत्ता लगाउनुपर्छ ।’

एम्माले मेरो कुरामा सहमति जनाउँदै भनिन् ‘आखिर हामी दुई बैनी हौँ भने म नेदरल्याण्ड्समा कसरी भएँ र तिमी नेपाल कसरी पुग्यौ ? बडो अनौठो लाग्दै छ । यसको रहस्य त मेरा या तिम्रा बुवा आमाबाट नै खुल्ने हुन्छ । तर, तिम्रा बुवाआमा त अब रहनुभएन मेरो बुवाआमाबाट यो रहस्य उजागर हुने विकल्प मात्र बाँकी रह्यो ।’

‘तिमीलाई थाहा भएको भन्दा एउटा बढी तथ्य मलाई थाहा छ । त्यो म तिमीलाई बताउँछु । मेरो पनि जन्म चाँहि नेदरल्याण्ड्समै भएको हो । मेरा बुवा **स्कलरशिपमा** पढ्न नेदरल्याण्ड्स आउँदा आमा पनि सँगै आउनुभएको थियो र पढाइ सकेर दुवै जना मलाई लिएर नेपाल फर्कनुभएको थियो । अब तिम्रो र मेरो जन्ममिति पनि एउटै हुनुबाट हामी जुम्ल्याहा दुई बैनी हुनुपर्ने सम्भावना देखिन्छ ।’ त्यत्ति भन्दै मैले सँगै बसेका उनका **बोइफ्रेन्डलाई** देखाउँदै एम्मालाई सोधेँ ‘हाम्रो यो जासुसी उपन्यास जस्तो बन्दै गएको रहस्यबारे सबै कुरा उनलाई थाहा छ कि कति बताएकी छौ ?’

‘हामी सँगै बस्न थालेको ८ वर्षभन्दा बढी भइसक्यो । हामीले एक–अर्कालाई पूर्ण विश्वास गर्दछौँ । त्यसैले हाम्रो भेट भएर अनुहारदेखि सबै कुरा मिल्ने हामी दुईको विषय र तिमी बेपत्ता भएको विषयमा सबै कुरा मैले उनलाई बताएकी छु । त्यसबाहेक अहिले तिमीले बताएको **डीएनए** विषयमा पनि सबै कुरा यहीँ उनले सुनिरहेकोले उनलाई सबै थाहा छ । उनीसँग लुकाउनु पर्ने केही छैन । चिन्ता नगर’ एम्माले भनिन् ।

त्यत्तिकैमा मेरो फोनको घण्टी बज्यो । फोनको **स्क्रिनमा** हेर्दा माधवको नाम देखियो । एम्मालाई ‘त्यही **डीएनए विश्लेषकको** फोन रहेछ उठाउँछु है’ भन्दै उनको प्रतिउत्तर नपर्खी फोनको **ग्रिन बटन** थिचेर माधवको फोन उठाएँ । यता मैले फोन उठाउँदै गर्दा टाउको हल्लाएर हुन्छ भन्ने अनुमति पनि दिइन् । मैले ‘**हेल्लो**’ भन्नासाथ माधवले भन्न थाले,

‘मैले दुवै **डीएनए** विवरण पूरै विश्लेषण गरेँ । दुवै व्यक्तिका बाबुआमा एउटै हुन् भन्ने पुष्टि भयो ।’

माधवको कुरा सुनेर मेरो अनुहार हँसिलो भएछ । एम्माले त्यो कुरा ख्याल गरिरहेकी रहिछन् । त्यसैबाट हामी दुवैजना जुम्ल्याहा **सिब्लिङ** भएको अनुमान पनि गरिछन् । उता मैले भने प्रसन्न मुद्रामै माधवलाई ‘धन्यवाद’