Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
भाग १५ः जहाज-यात्रा

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १५

30 Nov, -0001

१५ जहाज-यात्रा

तीन दिनको समुद्र घुमाइका लागि हामी हिँड्यौँ । यो मेरो लागि भने समुद्रको पहिलो अनुभूति हो । भूपरिवेष्ठित देशमा हुर्केकी हुनाले पनि अचम्मको कल्पना पूरा भएको सपना भने पनि हुन्छ । समुद्र भन्नासाथ दिमागमा आउने पहिलो सम्झनाले बच्चापन याद दिलाउँछ । अँगेना वरिपरि बसेर घर परिवारले सुनेको स्वस्थानी व्रतकथाको समुद्र मन्थन गरेर तारकासुर राक्षसको वध भएको विवरण याद आउँछ । तर, उतिबेला त्यो सबै विवरण सत्य लाग्थ्यो, अहिले **जम्दार** काइँलाको गफभन्दा स्वस्थानी कथा त पूरै काल्पनिक लाग्छ ।

हाम्रा गाउँका **जम्दार** काइँलाले सुनाउने र वर्णन गरेको विश्वयुद्धमा लड्न जाँदा पानी जहाजको विवरण बडो रमाइलो हुन्थ्यो । उनी बेलायती सेनाबाट पेन्सन पाएका लाहुरे बुढा हुन् । लाहुरे भएर कमाएको पैसाले घर जग्गा किनेर हाम्रो गाउँमा बस्छन् ।

**जम्दार** काइँला बुवा र आमाको कान्छो छोराको रूपमा कास्कीको याङ्जाकोट गाउँ देउरालीमा जन्मिएका थिए । बुवा र उनको उमेर धेरै फरक रहेछ, झन्डै ५५ वर्ष । उनकी आमा बाउकी कान्छी श्रीमती । उमेरले धेरै कान्छी, उनकी आमा भन्नुहुन्थ्यो रे ‘भाग्यले यो बुढासित जबरजस्ती भिडाएको, सोचेकी थिएँ ।’

आमा चाहिँ बाठी रहिछन् र उनकै बचपनमा उनलाई सेनामा भर्ती भएर पैसा कमाउन उक्साएकी थिइन रे । उनी दोस्रो विश्व युद्धताका भर्ती भएर युद्ध सकिएर नोकरी पूरा हुनुभन्दा पहिला नै १७ देशमा लडाइँ लडी घर फर्किएका रहेछन् । सञ्जोग उनले लडाइँको दौरान इटाली र जर्मनमा हुँदा गोरखालीको तर्फबाट अधिकृतहरूको आदेशअनुसार त्यतिखेरका नेपाल सरकारका श्री ३ सरकार श्री जुद्धशमशेर राणालाई चिठी पठाएका रहेछन् र फर्कंदा दाजुभाइले पदच्युत गरी पाल्पा बसाइँसराइ सवारी हुँदा बाटोमा भेटेका पनि रहेछन् ।

**जम्दार** काइँला यति गफाडी थिए कि लडाइँ गर्न बेलायती सेना बनेर पानी जहाजमा बर्मा, जापानलगायत जताततै पुगेको वर्णन गर्थे । हामीले पनि उनी बढ्ता नै गफाडी छन् भन्ने बुझेका थियौँ । र सोध्थ्यौँ– ‘भूगोल त पूरै थाहा होला तपाईंलाई ?’ भन्ने प्रश्न गर्दा ‘त्यहाँ (भूगोलमा) त हाम्रो बटालियन तीन महिना बसेका थियौँ’ भनेर उनले भन्दा हाम्रो खित्का छुट्थ्यो । उनलाई भूगोल भनेको के हो भन्ने अर्थ नै थाहा थिएन । त्यसैले हामीले ‘भूगोल’ भनेको कुनै सहरको नाम भन्ठानेर गफ थपिदिन्थे उनले । तर, उनी गफ गरिरहन्थे हामी सुनिरहन्थ्यौँ । यहाँ वर्णन गर्न थालेको जलयात्रा भने मेरो गफ नभएर अनुभव गरेको भावना हो ।

हाम्रो समुद्र यात्रा बेलायतको दक्षिण किनारको साउथेम्टनबाट गाउञ्जी टापुसम्मका लागि निर्धारित भएको थियो । नेपालका पूर्व–प्रधानमन्त्री जङ्गबहादुर राणा पनि बेलायत आउँदा यही साउथेम्टनसम्म पानी जहाजमा आएर यहाँबाट रेलमा लन्डन गएका थिए । हाम्रो यो यात्रा फुर्सदको रमाइलो घुमघामको हो । कामकाजी यात्राभन्दा पूरै फरक । अर्को शब्दमा यसलाई ऐयासी भ्रमणभन्दा पनि हुन्छ । एक प्रकारले परिवार गुमाएको पीडा दिमागबाट हटाउने बहानाका लागि पनि यो यात्रामा हिँडेका हौँ ।

हामीलाई कारले निर्धारित समय अपरान्ह एक बजेभन्दा आधा घण्टाअघि नै गेट नम्बर १० मा पुऱ्यायो । गुड्ने झोला लिएर समुद्र किनारामा लम्पसार रहेको जहाजमा पस्ने भन्दै गेटमा गएर हाम्रो टिकट देखाउँदा हाम्रो जहाज त्यो नभएर अर्कै हो भन्ने थाहा लाग्यो । गलत ठाउँमा पुगेको र हामीलाई पुऱ्याउन गएको कार पनि फर्किसकेकोले हाम्रो जहाजमा पुग्न कति समय लाग्ने हो र ढिला पुगेर छुट्ने पो हो कि ! भन्ने पिरलो सुरु भयो । तर, अलमल नगरी त्यहाँका गार्डले बताएको बाटोमा समयभित्र हाम्रो जहाजसम्म पुग्ने कोसिस गर्दै हामी हतारिँदै हिँड्न थाल्यौँ । कति टाढा हो भन्ने पिरलो छँदै थियो ।

हाम्रो तीन जनाको टोली थियो । म, दिनेश र छोरी । हामी घरबाट बिहानै ७ बजे हिँडेर रेडिङमा देवेन्द्रजीकोमा पुगेर नास्ता खाइवरी तीनै जना त्यही कारमा साउथेम्टन पुगेर एक मित्रको घरमा कार राखेर उनै मित्रले हामीलाई गेट नम्बर १०मा पुऱ्याएर फर्किएका थिए । उता जहाज छुटेर बर्बाद होला कि भन्ने पिरलो त्यसमाथि एक–आपसमा घोचपेच सुरु भयो । रेडिङमा **सपिङ** गर्दा अबेला गरेको मलाई दिनेशले लगाउने आरोप र ठीक गेटमा पुग्ने गरी तयारी गर्न नसकेको हाम्रो कमजोरी गरेको भन्दै दिनेशलाई मैले लगाएको आरोप प्रत्यारोपबीच हामी समयमै हाम्रो जहाजसम्म पुग्ने आँट जारी राख्यौँ । सबैका जोई–पोइ बीचका घोचपेच यस्तै त हुँदा हुन् ।

धेरै टाढा त रहेनछ, सामान लतार्दै १२ मिनेट हिँडेपछि हामीले हाम्रो जहाज देख्यौँ र उत्साहित हुँदै गेटतिर लाग्यौँ । अघिको भन्दा अलि सानो भए पनि बडेमानको जहाज रहेछ । हुन पनि १८ सय यात्रु र साढे तीन सय कर्मचारी अटाउने जहाज सानो हुने त थिएन नै । दिनेशको भने पानी जहाजमा यो दोस्रो यात्रा थियो । हस्याङफस्याङ गर्दै हामी एक बजे गेटमा पुग्यौँ । हामी **चेक इन** गरेर (**बोर्डिङपास** लिएर) सँगै जहाजभित्र पस्यौँ । सबैभन्दा माथिको सबैभन्दा अगाडिको कोठा परेको रहेछ । जहाजभित्र पस्दा पाँचतारे होटलमा पसेको अनुभव भयो । फर्शमा लचक्क गर्ने गलैँचा, चम्किला भित्ता, हाम्रो हातको मैला सर्छ कि जस्ता **लिफ्टका** रेलिङ बारहरू । कोठाहरूका बीचका गल्ली भने त्यत्ति फराकिला नहुनु स्वाभाविकै जस्तो लाग्यो । तर, पनि एकोहोरो हिँड्न फराकिलै भन्नुपर्छ । **चेक इन** गर्दा पाएको कार्ड छिराएर **ह्यान्डल** घुमाउँदा ढोका खुल्यो । तन्ना तनक्क पारेर सिपालु मान्छेले सजाएको विस्तरापारिको पर्दा ह्वाङ भएको झ्याल बाहिर समुद्र र त्यसभन्दा पारि साउथेम्टन सहरको अर्को फेरो खुल्ला देखिन्थ्यो । खुल्ला आकाशमा विरलै भेटिने बेलायती घामको चमकले पारिको सहर पनि झल्झलाकार ।

कोठामा छिर्नासाथ जहाजका कर्मचारी चिटिक्कको पहिरनमा आएर ‘म तपाईंहरूको **स्टेवार्ड**, सुरेश’ भन्दै परिचय गरे । उनको **नेम ट्याग** छातीमा टाँगिएको पनि थियो । भारत गोवाका रहेछन् । हाम्रो तीन दिनको त्यो यात्रामा उनको मिठासपूर्ण कहिले हिन्दी त कहिले अङ्ग्रेजी भाषाको संवादले रमाइलो वातावरण बनाइदियो । **अट्याच** बाथरुममा नुहाइधुवाइ गरिसक्दा जहाजका **क्याप्टेनको प्रसारण** कोठा भित्रकै **स्पिकरमा** सुनियो । उनले यात्रुहरूलाई आपतकालीन सामग्रीहरू लिएर तोकिएको स्थानमा जुट्न भन्दै थिए । सुरेशले त्यसअघि नै दराजको उपल्लो **खाना**मा राखेका दुई आपतकालीन सामग्री देखाएका थिए । आपतकालका लागि दिइने तालिम चौथो तलामा रहेछ । आपत परिहाले ती सामग्री कसरी लगाउने र के गर्ने भन्ने विषयको तालिम बेलायती संस्कारको एक हिस्सा जस्तै अनुभव गर्दै तोकिएको ठाउँमा भेला भएर सिक्यौँ । फेरि सामग्री यथास्थानमा थन्काइयो ।

१३ तल्ले जहाजको एघारौँ तलामा हाम्रो कोठा थियो । त्यसभन्दा माथिका तलामा **स्विमिङ पुल**, **बफेट–रेस्टुरेन्ट** आदि रहेछन् । एकैछिन विश्राम गरेपछि जहाजमा के के रहेछ भनेर घुम्ने विचारले हामी कोठा बन्द गरेर हिँड्यौँ । **स्विमिङ पुलमा** मान्छेहरू सङ्गीतको तालमा रमाउने र धेरैजसोको हातमा वाइनका सुर्लुक्कका गिलास थिए । सबैजना खुल्ला आकाशको न्यानो घाममा प्रफुल्ल देखिन्थे । अर्को **स्विमिङपुल** अलि शान्त थियो, चर्को सङ्गीत नरुचाउनेहरू पनि त्यहाँ रमाइरहेका थिए । हामी **बफेट रेस्टुरेन्टमा** पुगेर खाना खायौँ । भारतीय, अङ्ग्रेजी, **कन्टिनेन्टल** सबै प्रकारका परिकार तयार थिए । आ–आफूलाई मन पर्ने स्वाद अनुसारको खाना लिएर दृश्यको मजा लिने गरी किनारको टेबलमा बसेर खान थाल्यौँ । ती सबै ऐयासी जीवनशैली थिए । मेरो बाल्यकाल जुन थारू गाउँमा हुर्कियो त्यहाँको गरिबीसँग तुलना गर्न थाल्ने हो भने त्यहाँको अनुभव मैले लिन नै सक्ने थिइन् । देखे भोगेका गरिबी र यहाँको ऐयासी बीचको फरकबाट मस्तिष्कलाई जोगाउने भरमग्दुर प्रयास जारी राखेँ ।

खाना खाएपछि हामी जहाजको अवलोकनमा लाग्यौँ । पानीमा हिँड्दै गरेको जहाजले साउथेम्टनको किनार छाडेर **आइल अफ ह्वाइटको** टापुलाई दायाँ पार्दै अगाडि बढ्दै गर्दा हामी जहाजमा कता के रहेछ हेर्दै थियौँ । तर, तल्लो तलाको जहाजका कर्मचारी बस्ने तलामा भने हामी गएनौँ । सायद, यात्रुहरूलाई उक्त तलामा नजाने गरी ढाँचा मिलाइएको रहेछ क्यारे । हामी त्यता नगएको हामीले नै चाल पाएनौँ ।

एकछिन कोठामा विश्राम गर्न जाँदा **स्टेवार्डले** कोठा मिलाएर चिटिक्क पारिदिएका । हामीले कपडा फेरेर छरल्त पारेका पहिरन पनि पट्याएर सरलक्क परेको । खास गरी दिनेश भन्दा मैले त्यो जलभ्रमणको आनन्द सोचेभन्दा बढी भएको अनुभव गरिरहेँ । सुरेश भाइले छैटौँ तलाको **रेस्टुरेन्टमा** खाना खाने सिफारिस गरे र सातौँ तलाको **थिएटरमा** नाटक मञ्चन हुने जानकारी दिए । अर्को **रेस्टुरेन्ट** अङ्ग्रेजी परिकारमा जोड दिने खालको र हामीलाई सिफारिस गरिएको सिन्ध खानका परिकारमा केन्द्रित रहेछन् । हामी साउथ एसिया मूलका मान्छेको चाहनालाई मध्यनजर गरेर उनले त्यसरी सिफारिस गरेको हामीले सहजै बुझ्न सक्थ्यौँ । **रेस्टुरेन्ट** भएकै तल्लामा किनमेल गर्ने पसलहरू पनि रहेछन् । कुनै देशको कर र भन्सार नलाग्ने भएर पनि होला भोड्काका बोतल त बेलायतका पसलको मूल्यभन्दा तीन गुना सस्तो रहेछ । हाम्रो कार घरमा राखिदिएर जहाजसम्म छाडिदिएका भाइलाई उपहार दिन हामीले पनि भोड्काको बोतल किनेर लगिदियौँ ।

**सिनेमा** तथा अन्य मनोरञ्जनतिर नलागेर हामी नाटक मञ्चन हुने **थिएटरमा** गयौँ । त्यो जहाज (**क्रुज**) त एउटा सानो सहर जस्तो नै हुँदो रहेछ । **रिसेप्सन डेस्क**, **लिफ्ट** र सिँढीहरू सामान्य फराकिला भए पनि कोठाहरूबीचका गल्लीलगायत अरू ठाउँहरूमा भने सकेसम्म क्षेत्रफल बचाउने गरी बनाइएको हुँदोरहेछ । हामी सबैभन्दा अगाडिको **लाइनमा** बसेर नाटक मञ्चनको आनन्द लियौँ । उक्त तीन दिनको यात्रामा प्रतिव्यक्ति खर्च बेलायतको न्यूनतम ज्यालादारीमा काम गर्नेको एक हप्ताको कमाइ बराबरको रकम तिरेका थियौँ । त्यही खर्चमा खाना, बसाइ, मनोरञ्जन आदि सबै समेटिएको थियो । मदिरा र थप किनमेल भने त्यसमा समावेश थिएन । पहिलो रातमा मञ्चन गरेका सबै काला जातिका कलाकारहरूले भोलिपल्टको उनीहरूको कार्यक्रम हेर्न जहाजकै अर्को **थिएटरमा** पैसा तिरेर जानुपर्ने उद्घोष गरेका थिए । अमेरिकी शैलीको उक्त मञ्चन निकै रोचक थियो । पछिल्लो रात पनि हामी उही **थिएटरमा** नाटक हेर्न गयौँ । त्यस दिन सबै गोरा जातका कलाकारहरूले मञ्चन गरेका थिए । अघिल्लो रातको नाटकका सङ्गीत पनि **लाइभ** थियो तर दोस्रो रातको कार्यक्रम भने **ट्र्याकमा** मञ्चन गरिएको थियो । दुवै बडो मनोरञ्जनात्मक तथा रोचक थिए ।

जहाज हिँडेको त चाल नै पाइँदो रहेनछ । न हल्लिने न थर–थर गर्ने त्यसैले पनि हामी बिहान जागेपछि झ्याल बाहिर हेर्दा गन्तव्य टापु गाउञ्जीभन्दा करिब दुई किलोमिटर पर पानीमाथि नै जहाज रोकिएको रहेछ । उक्त टापुको किनारको समुद्रमा ठूलो जहाज जाने गहिराइ नपुग्ने भएकोले परै रोकिएको बुझियो । बिहानको नास्ता खाएपछि हामी उक्त टापुमा घुम्न जाने भयौँ । **मोटरबोटले** हामीलाई जहाजबाट टापुको जमिनसम्म पुऱ्यायो । **मोटरबोटमा** चढ्ने पालोअनुसार सुरक्षा मिलाउने **डेस्कमा** दुई नेपाली जहाज कर्मचारी पनि भेटिए ।

टापुमा सेलरोटी घुमेजस्तो समुद्रको किनारै किनारको बाटो भएर चक्कर लगाउने **बसमा** चढेर दुई घण्टा जतिमा जहाँबाट चढेको त्यही ठाउँमा आइपुगियो । उक्त टापु बेलायतकै स्वायत्त प्रदेश रहेछ त्यसैले हामीलाई भिसाको झन्झट भएन । बेलायती नागरिक नभएकोले दिनेशको **पासपोर्ट** भने जहाजले नै राखिदियो फर्कँदा फिर्ता दियो । जहाजको यात्रा समयभरि दिनेशको **पासपोर्ट** उनीहरूले नै राखे । हाम्रो समूहका सबैलाई **चेक इन** गर्दा दिइएको कार्डबाट जहाजको पूरै परिचयपत्र तथा त्यहाँभित्र रहँदासम्मको खर्च गर्न पनि उपयोगी रह्यो । **बैंक कार्डको** जत्रो उक्त कार्डलाई कर्मचारीले हाम्रो **क्रेडिट कार्डसँग** समायोजन गरेका थिए । जहाजभित्र भने नगद वा अरू **बैंक कार्डहरूबाट** भुक्तानी गर्न नपाइने रहेछ ।

त्यो गाउञ्जी टापु अलि रूखो लाग्यो । दक्षिण भेगमा अलिअलि अग्ला रूख भए पनि अरू भागमा अग्ला रूख पनि रहेनछन् । घरैपिच्छे मोटर डुङ्गा हुँदो रहेछ । त्यो टापुमा एउटा **एयरपोर्ट** पनि रहेछ । खेतीपाती त हुँदोरहेछ तर खासै फस्टाए जस्तो लागेन । आधुनिकता र रासायनिक मलको बलले उब्जाउछन् जस्तो अनुभूति भयो । बचपनमा थारू गाउँमा बाल्टीमा पानी भरेर लोटाले नुहाउने गरेको चापाकल (नल) **बसभित्रैबाट** दुई ठाउँमा देखियो । उत्तरी किनारापट्टि एउटा **गल्फ–क्लब** पनि रहेछ । **बसबाटै** टापुलाई एक फन्को लगाएपछि त्यहाँको **म्युजियम** तथा अरू घुम्ने जिज्ञासा त्यति तीखो नभएपछि फेरि **मोटरबोटमा** चढेर जहाजको रमझममै फर्कियौँ ।

फर्किने दिनको जहाजको सन्ध्या भोजन कालो टाईसहितको औपचारिक पोसाकमा निर्धारित थियो । निर्धारित समयको निश्चित टेबल **बुक** नगरेर स्वतन्त्र भोजन **टेबुल बुकिङ** गरेकोले हाम्रो अनुकूल समय मिलाएर **रेस्टुरेन्ट** जाँदा औपचारिक पहिरनबिना **रेस्टुरेन्ट** छिर्न नपाइने तर **बफेट रेस्टुरेन्टतिर** भने पहिरनको मतलव नहुने थाहा लाग्यो । हुन त जहाजको टिकट किन्दा पनि अलिअलि थाहा त थियो तर व्यावहारिक ज्ञान त्यहीँ पुगेर पाइयो । **रेस्टुरेन्ट स्टाफले** तोकेको हाम्रो टेबल समुद्र देखिने छेउको रहेछ । ५ वटा कुर्सी भएको टेबलमा हामी म, दिनेश र छोरी गरी तीन जनासँगै बेलायती चर्चका पास्टरका जोडी रहेछन् । रमाइला रहेछन् । उनीहरू हरेक वर्ष त्यस्तो जहाज यात्रामा रमाउँदा रहेछन् । बेलायती **होलिडे** जाने प्रचलनको एउटा हिस्साभन्दा हुने रहेछ । खाना खाँदै गर्दा उनीसँगको परिचयमा धर्मसम्बन्धी एउटा प्रश्न सोध्ने अनुमति मागेँ । धर्मसम्बन्धी उत्तर दिन रमाउने उनको भनाइमा थप्दै मेले उनीसँग प्रश्न गरे, ‘**गड**, ईश्वर, अल्लाह जे भने पनि उनीसँग सोच्ने शक्ति भएकोले उनले सोचेर सृष्टि गरेको अध्यात्मवादीहरू मान्छन् । रगत, मासु, मुटु, फोक्सो आदि सबै अङ्गले काम गरेपछि बल्ल दिमागले सोच्न सक्ने भएकोले सोच्ने शक्तिभन्दा पहिला त पदार्थ उत्पन्न भएको हुनुपर्छ ।’ मेरो प्रश्नमा उनले लामो उत्तर हुने बताउँदै गोलमटोल जवाफ दिए, म उनको उत्तरमा सन्तुष्ट त भइनँ नै, तर जवाफ दिनैपर्छ भनेर कर गर्ने कुरा पनि भएन ।

त्यसपछि हामी **आफ्नो** कोठामा गएर सुत्यौँ र बिहान उठ्दा साउथेम्टन पुगिसकेका रहेछौँ । जहाजभित्रै बिहानको नास्ता गर्दा दार्जिलिङका नेपाली भाषी **वेटर** परेका थिए ।

जहाजबाट निस्कने समय भएपछि हामी पनि अरू यात्रुहरू जस्तै हाम्रा **सुटकेसहरू** गुडाउँदै निस्कियौँ । कार राखेको **पार्कसम्म** हिँडेर पुगेपछि त्यहाँबाट कार लिएर घर जान बाटो लाग्यौँ । निर्धारित **स्पिडभन्दा** बढी कुदाउन पनि नपाइने नत्र त अझै चाँडै पनि पुगिन्थ्यो होला । ल त नि भनेर कुदाइ हाले पनि **क्यामराले** समाइहाल्छ । घरमा कारको गति बढी भएका कारण चिठी आयो भने नतिरेर सुख पनि त हुँदैन नि त । हुन पनि एकातिर **पेनाल्टी** तिर्नुपर्छ भन्ने डर फेरि गाडी कतिसम्म गुडाउँदा सुरक्षित यात्रा हुन्छ भनेर सरकारले विभिन्न अनुसन्धान गरेर बनाएको गति सीमा त हाम्रै लागि त हो नि । जति नियमभित्र हामी बस्यौँ हामी नै सुरक्षित हुने त हो । त्यसैले नियम अरूका लागि पालन गरेको होइन **आफ्नै** हितको लागि **आफैँले** नियम मानेको हो भन्ने भावना बोक्दा नै राम्रो हुन्छ भन्ने सोच्दै **ड्राइभ** गर्दै गरेँ ।

छोरीलाई मन पर्ने गीत र हामीलाई मन पर्ने गीत भने उमेर र जमानाले पनि होला अलि फरक पर्ने । त्यसैले छोरीको चाहनालाई पनि ध्यानमा राख्दै गीत पनि त्यसैअनुसार बजाउँदै गाडी गुडिरह्यौँ । करिब आधा बाटो पुगेपछि पिसाबले पनि च्यापेछ, दिनेशले **कफी** पनि खान मन लाग्यो भनेपछि **सर्भिसमा** झर्न गाडी बायाँ मोडेर थोरै ओरालो झरेर **राउन्डअबाउटबाट** तेस्रो **एग्जिट** निस्कँदै अगाडि बढेपछि **लरीहरूको पार्किङ** गर्नेतिर नगएर कारको **पार्किङ साइडमा** मोडेर एउटा खाली **वे** (**पार्किङ स्पेस**)मा रोकेँ । भित्र **ट्वाइलेटबाट** निस्केर **क्याफेमा** बसेर दिनेशले **कफी** मैले चिया र छोरीले **आइसक्रिम** खायौँ । त्यसपछि भने गाडी दिनेशले चलाउन थाले ।

एकछिन त दिनेशले चलाइरहेको कारमा मजा आइरहेको थियो । एकैछिन पछि भने म त कारमै निदाएछु । घरमा पुगियो । उही सामान्य दैनिकी जस्तै खानपिन अनि सुतेर उठेपछि कहिले उज्यालो होला र एम्मासँग भेटेर रहस्य पत्ता लगाउने जिज्ञासा मनमा खेल्दाखेल्दै कतिबेला निदाएँछु पत्तै भएन ।