अघिल्लो दिनको सल्लाहअनुसारै तयार भएर हामी परराष्ट्र मन्त्रालय पुग्दा बिहानको साढे नौ बजेको रहेछ । काकाले फोनमा उहाँका साथीलाई हामी त्यहाँ पुग्दै गरेको विषय भनी पनि सक्नुभएको रहेछ । काकाले आफ्ना कर्मचारीलाई भन्नु भयोः ‘अस्मिताको सहीछाप गराएर निवेदन पत्र र साथमा पेश गर्ने पुर्जाका फोटोकपीहरू लगायतका कागज पेश गरेर सिफारिस तयार पार्न लगाउनुस् । हामी मेरो साथी सहसचिवकोमा नै हुन्छौं । केही पऱ्यो भने फोन गर्नु ।’
हामी ढोकाबाट छिर्दा साथ काकाका साथी तथा त्यो शाखाका हाकिमका पर्सनल असिस्टेन्टको अफिस रहेछ । हाकिमले हामी त्यहाँ पुग्न थालेको विषय पिएलाई भनिसक्नु भएको रहेछ । पिएले हामीलाई ‘एकैछिन है’ भनेर इन्टरकमको रिसिभर कानमा लगेर केही कुरा गरेपछि हुन्छ भन्दै रिसिभर सेटमा राख्दै हामीलाई हुन्छ हजुरहरू भित्र जानुहोस् सरले हजुरहरूलाई नै पर्खिराख्नु भएको छ भन्दै भित्र पस्ने ढोका देखाइदिनु भयो ।
भित्र ठूलो कोठामा ठूला झ्यालबाट भित्र उज्यालो छिरिरहेको रहेछ । सोफाका तीन सेट वरिपरि बिछ्याइएका । बीचको टी टेबलमा सिसाको फूलदानीमा ताजा फूल राखिएको । नमस्कार आदान–प्रदानपछि हामीलाई सोफामा बस्ने अनुरोध गर्दै, हाकिम पनि डेस्कबाट आएर सोफामा काकाकै छेउमा बस्नुभयो ।
हामीले कुराकानी गर्न थाल्यौँ । काकाले मेरो विदेशको नागरिकता भएकोले नीलो पुर्जा बनाउनु पर्ने कानुनका लागि सिफारिस लिन पर्ने विषयमा हाकिमलाई जानकारी गराउनुभयो । साथै निवेदन लिएर फाँटमा पठाएको र हामी मात्र त्यहाँ पुगेको पनि प्रष्ट पार्नुभयो । काकाको साथीले मेरो बुवालाई चिन्नु भएको रहेछ । उहाँले पनि शब्दमा समवेदना जनाउनुभयो । मैले ‘धन्यवाद’ भनेँ । छोरीलाई पनि नेपालको काम गर्ने तरिका र वातावरण पनि थाहा हुन्छ भनेर पनि साथैमा लगेकीले छोरीको परिचय उहाँसँग गराएँ । हाकिमले मेरो बुवालाई अंकल भन्नु हुँदोरहेछ ।
हाकिमः ‘अंकललाई त मैले आदर्श पुरुषको रूपमा लिने गरेको छु, मेरा रोल मोडल हुनुहुन्थ्यो । उहाँको दुर्घटना भएको र यस्तो भएको थाहा पाएर मलाई ठूलो चोट लागेको छ । हुन त छोरीलाई परेको दुःखका अगाडि मेरो पीडा “सूर्यका अगाडि दियो” बाले जस्तो होला तर मेरो कल्पनाभन्दा बाहिरको घटना भयो । बुढाबुढीहरू राम्रा मान्छेलाई भगवान्ले पनि चाँडै लैजान्छन्, भगवान्को पनि उनीहरू प्यारो हुन्छन् भन्थे । त्यस्तै भयो । उहाँको मृत्यु छोरी र परिवारजन मात्र होइन हाम्रो समाजलाई नै ठूलो क्षति हो । उहाँ नभएको भए मैले लोकसेवा पास पनि गर्न सक्ने थिइनँ । उहाँको प्रेरणाले गर्दा अहिले यहाँ छु । मैले लोकसेवाको तयारी गर्दा हामी एउटै घरमा डेरा गरेर बस्थ्यौँ । उहाँले नै लोकसेवाको तयारी गर्ने तरिका सिकाउनको साथै थुप्रै **सामग्री (पढ्ने सामग्री)** समेत दिनुभएको थियो । अहिले त लोकसेवा तयारीका पनि थुप्रै कोचिङ क्लास हुन्छन् । त्यतिखेर त त्यस्तो लोकसेवा तयारीका कोचिङसोचिङ केही नहुने । सामान्य ज्ञानका किताब मात्र पाइन्थ्यो । अंकलले **भारतबाट** ल्याएको एउटा सामान्य ज्ञानको किताब दिनुभएको थियो । त्यो किताबले गर्दा नै मैले नाम निकाल्न सकेको हुँ भन्ने मलाई अहिलेसम्म विश्वास छ ।’
काकाः ‘दाइको बखान हामीले जति गरे पनि पूरा हुँदैन । उहाँ त आँखामा राखेर नबिझाउने मान्छे । के गर्ने अब हामीले गुमाइहाल्यौँ । उहाँले लगाएका गुन हामी कसैले पनि तिरेर सकिने पनि होइन । अहिलेलाई परिस्थितिसँग जुध्नु नै हामी सबैको बाध्यता हो । उहाँको मृत्युलाई लिएर दुर्घटना भएको गाडी चलाउने ड्राइभरलाई गाली गरेर पनि भएन, त्यो गाडीका मालिकलाई गाली गरेर पनि भएन । हाम्रा बाटोको अवस्था, ट्राफिक नियमका कमजोरी, सवारीसाधनको प्राविधिक पक्ष, अझ सबैभन्दा बढी त सुरक्षालाई महत्व दिन नसकेको हाम्रो सरकारी प्रवृत्तिलाई नै दोष दिनुपर्ला । यो त नेपाली सभ्यताको एउटा पाटो हो । यहाँ ठेकेदारलाई ठेक्का दिँदा कमिसनका भरमा ठेक्का बाँडिन्छ । ठेकेदारका बिल भुक्तान गर्दा कर्मचारीको कमिसन काटिन्छ । ठेकेदारले गरेको कामको स्तरको कुनै मतलब छैन केवल कमिसनबाट सम्पन्नता जाँचिन्छ । सवारी इजाजतपत्र नवीकरण गर्दा यान्त्रिक अवस्थाको जाँच तथा प्राविधिक अवस्थाका भरमा नभएर सरकारी दस्तुरमाथि कर्मचारी दस्तुर थपेर पास गरिन्छ । यसमा हाम्रो पूरै समाजको सभ्यता नै दोषी छ । आखिर दाइ बितेर जानुभयो, उहाँले यो प्रवृत्ति तथा हाम्रो विकृत सामाजिक मान्यताका विषयमा सधैँ गुनासो गर्नुहुन्थ्यो । उहाँले उठाउने गरेका ती गुनासाहरूलाई अझै चर्को गरी उठाउने जिम्मेवारी हामीमाथि आइपरेको छ ।’
हाकिमः ‘ठीक भन्नुभयो पिताम्बरजी । उहाँले भन्ने गरेका आदर्शलाई हामीले अगाडि बढाउनुपर्छ । उहाँले हामी १०-२० जनालाई ती आदर्श सिकाउनुभयो । अब हामी प्रत्येकले ती आदर्शहरू अझै १०-१० जनालाई सिकाएर विस्तार गर्यौँ र उनीहरूले पनि त्यसैगरी प्रत्येकले १०-१० जनालाई सिकाएर विस्तार गरे भने हाम्रो समाज अलि सभ्य हुँदै जानेछ । हामी हुर्किएका गाउँघरका आदर्श पनि अहिले बिलाएर गए । दशैँमा पँधेरा सफा गर्ने, बाटो खन्ने अनि वर्षा लाग्नु पहिला कुलो मर्मत गर्ने, एक अर्कालाई सघाउने सबै मिलिजुली खेती लगाउने चलन पनि मासियो । समाज फेरियो । अहिलेको परिवर्तित समाजका विकृत मूल्य मान्यतालाई सुधार्ने जिम्मेवारी हामी सबैको हो । असल मान्छेहरूको संख्या धेरै र खराब प्रवृत्तिका मान्छेको संख्या कम हुने समाज सुखी हुन्छ तर अहिले त दिन प्रतिदिन खराब प्रवृत्ति बोकेका मान्छेको संख्या बढिरहेको छ । त्यसले गर्दा असल मान्छे र राम्रो प्रवृत्ति मासिँदै गएको छ । यही चाला रह्यो भने त यो समाज बस्ने लायकको नै रहने छैन । त्यसैले अंकलले देखाएको आदर्शको बाटोलाई फैलाउन हामी लागि पर्नुपर्छ ।’
त्यस्तै, कुरा हुँदै गर्दा काकाको फोनको घण्टी बज्यो । मोबाइल उठाएर काकाले यसो हेर्नुभयो र फोनमा भन्नुभयो ‘सबै कागज लिएर यहीँ आउनु । त्यहाँबाट बायाँपट्टिको ठूलो बिल्डिङमा भुइँ तलाबाट सिँढी चढेर आएपछि पहिलो तलाको दायाँपट्टिको पहिलो ढोकाबाट पस्नु । हामी यहीँ छौँ ।’ त्यति भन्दै फोन डिस्कनेक्ट गर्दै भन्नुभयोः
‘निवेदन दर्ता गराउन गएका भाइको रहेछ । फाँटमा निवेदन दर्ता गर्न वडा कार्यालयको सिफारिस नभई हुँदैन रे । वडा कार्यालयबाट सिफारिस र यस वर्षको मालपोत तिरेको रसिद पनि लिएर आउनुस् अनि बल्ल प्रक्रिया अगाडि बढ्छ भनेछन् ।’
हाकिमः ‘यस्तै छ सरकारको राजस्व उठाउने तरिका बनेको छ यो वडाको सिफारिस । जे गर्दा पनि वडाको सिफारिस नभई नहुने निर्देशन छ । वडामा पठाएपछि राजस्व बढ्छ र त्यसले विकास हुन्छ भन्ने मान्यता छ, त्यसैले जे गर्दा जहाँ जाँदा पनि सर्वसाधारण नागरिकलाई वडाको सिफारिसको तगारो लगाएर राजस्व तिर्न भनिन्छ । अंकलले सिकाएको आदर्शअनुसार यो सिफारिसको विरोधबाटै सुरु हुन्छ तर यो कुर्सीको पदको जिम्मेवारी लिएपछि त्यो आदर्शको पालन गर्न पनि हात बाधिँदा रहेछन् । मिटिङहरूमा यो विषय मैले उठाउने पनि गरेको छु तर म एक्लो पर्छु । आफैँलाई सम्हाल्छु र कुनै न कुनै दिन यसको विरोध गर्ने अरू पनि त थपिएलान् भनेर ।
अब हेर्नुस् न यहाँबाट गाउँमा जाने अनि वडाको सिफारिस लिएर आउने अनि यहाँ सिफारिस बनाउने र फेरि गाउँ जाने । यो समय र श्रमको बर्बादी हो भनेर बुझ्नेवाला यहाँ कोही भएनन् । जनतालाई यो समय र श्रम बेकारमा गुमाउनुबाट बचायो भने त नागरिकले त्यो समय र श्रम अरू उत्पादनमा लगाएपछि पो राज्यको कोष थपिन्छ । त्यसबाट समाज विकास हुन्छ भन्ने बुद्धि यहाँ पलाउँदै पलाउँदैन । नागरिकलाई जति सतायो प्रशासन उति राम्रो भन्ने पो बुझाइ भएको छ अहिलेको सरकारी पद्धतिको ।
त्यो निवेदन यहाँ आएपछि मैले आफैँले तोक लगाइदिन्छु । सिफारिस त बनिहाल्छ । पछि अरू सबै कामको लागि पनि वडाको सिफारिस त चाहिहाल्छ । त्यो बनाएपछि एउटा फोटोकपी गरेर यहाँ पुऱ्याइदिनु म मिसिलमा सामेल गर्न लगाउँला ।’
मः ‘काका र हजुर हुनाले हाम्रो काम त हुने भयो । तर, चिने जानेको नभएको भए त बेकारमा सिफारिस लिन वडामा जाने । अनि फर्किएर यहीँ आएर सिफारिस बनाउने अनि फेरि गाउँमा जान पर्ने हुन्थ्यो । यस हिसाबले हामी त यहाँको पहुँचवाला वर्गमा परियौँ तर सर्वसाधारणको जीवन त यस्तैमा व्यतीत भइरहेको छ ।’
काकाः ‘त्यही त तिमीहरू बरु बेलायतमै बसाइ व्यवस्था मिलायौ यो समस्या पार पाइहाल्यौ । हामी त यहीँ संघर्ष गर्नुपर्छ । सबै माहोल र संस्कार नै बिग्रिएपछि सपार्न त उही सपना देख्यो देख्यो जाग्दा सबै हराउँछ भने जस्तै कुरा गऱ्यो–गऱ्यो व्यवहारमा उत्रिँदा फास्स न फुस्स हुन जान्छ । यसै गर्दा गर्दै जाने भयो हाम्रो जिन्दगी । दाइ–भाउजू गइहाल्नु भयो । यस्तै त रहेछ । जीवनको के ठेगाना आज हो कि भोलि !’
दिनेशः ‘हाम्रो विवाह दर्ता गर्दा पनि त्यस्तै भएको थियो नि । त्यत्तिखेर सिडियो अफिसबाट हुन्थ्यो विवाह दर्ता । निवेदन दिन गएको गाउँ विकास समितिको सिफारिस चाहिन्छ भने । म, त जिल्लामा जाने तयारी गर्दै थिएँ । आमाले सिडियो अफिसमा कोही चिनेको छ कि पत्ता लगाउन पऱ्यो वर्षायाममा गाउँ पुगेर आउँदा यात्रा पनि खतरा हुन्छ । समय पनि खेर जान्छ भनेर दुईचार ठाउँमा फोन गरेर सोध्नुभयो । आखिर फुपूका भाञ्जा त्यहाँ सहायक सिडियो हुनुहुँदो रहेछ । फोन गर्न लगाउनुभयो । भोलिपल्ट अफिस जाँदा फाँटमा भनिसक्नु भएको रहेछ । उहाँ आफू सेमिनारको लागि सिङ्गापुर जान पर्ने हुनाले अफिसमा नभए पनि अघिल्लो दिन गाविसको सिफारिस नभई हुँदैन भन्ने फाँटवालाले खुरुक्क सबै काम गरिदिए ।’
त्यत्तिकैमा कागज लिएर निवेदन दर्ता गराउन गएका भाइ पनि आइपुगे । हाकिमले निवेदन मागेर सरर निवेदन पढेपछि एक-एक गरेर साथमा भएका सबै कागज एकपटक पढेपछि ‘आ.का. गरी सिफारिस बनाइदिनु’ भन्ने तोक लेखेर कागज लिएर फाँटमा जान भन्नुभयो । उनी कागज लिएर फेरि कोठाबाट बाहिर निस्किए । उनी गएको एकै छिनमा ढोका खुल्यो र हातमा चियाका कपहरू भएको ट्रे लिएर एक महिला आएर सबैका अगाडि कालो चिया राखिदिइन् ।
चियाको कप देख्नासाथ मलाई कतिबेला ओठमा लगेर सुरुप्प तानौँ भन्ने भइरह्यो । तर, अरूले नखाँदै खाइहाल्दा असभ्य भइहालिन्छ कि भन्ने डर लागेर एकैछिन पर्खिएँ । त्यत्तिकैमा हाकिमले ‘चिया लिऊँ है’ भन्दै आफू अगाडिको कप उठाएर ओठमा जोड्न थाल्नुभयो । मेरो मनले पर्खिरहेको त्यो चिया खाने अनुमति पाउनासाथ चियाको सुरुप्प तानेँ । चियाको टर्रो खालको स्वादलाई मुखमा एकैछिन खेलाएपछि आउने मिठो स्वादको लागि मेरो मन आतुर थियो तर, चियाको गहिरो गुलियोले चियाको स्वादको लागि आतुर मन खिन्न भयो । तर, चियाको स्वादको असन्तुष्टि पोख्ने हिम्मत आएन । चुप लागि बसें ।
त्यो चियाको नमिठो पनले एक्कासि मेरो मनमा किन हो कुन्नि उही अस्पतालकी आफू जस्तै भएकी केटीको सम्झना आयो । आफ्नै जुम्ल्याहा दिदी–बहिनी होलिन् कि होइनन् भन्ने अन्योलले मन विचलित भयो । त्यो डीएनए टेस्टको रिपोर्ट त आयो होला तर म यता अल्झेको अवस्थाले गर्दा मनभित्रको उल्झन बल्झिरहेको पीडा बोध भयो । फेरि अर्को मनले ती केटी जुम्ल्याहा हुन् कि होइनन् भन्ने विषयले कतै मलाई मानसिक असन्तुलनको समस्या उब्जन थालेको त हैन भन्ने विचार आयो । उता मेरो मनमा कुरा खेल्दै गर्दा काका र हाकिम बीचमा भएका केही वार्तालापसमेत मैले ध्यानै नदिएर नसुनेको महसुस भयो । मनमा म यो मानसिक तनाव तथा असन्तुलनलाई व्यवस्थित गर्न अलि सतर्क हुनुपर्छ भन्ने विचार जन्मियो ।
काका र हाकिमका बीचमा गैरआवासीय नेपालीहरूको नयाँ पुस्ताका विषयमा चर्चा हुँदै रहेछ । उहाँहरूले त्यहीँ सँगै बसेकी छोरीको भविष्य तथा विदेशमा बढ्दै गरेका नेपाली सन्ततिहरूको सामाजिक अवस्था कसरी बढ्ला ? नेपाली संस्कृति, भाषा, संस्कार कति पुस्तासम्म बच्ला ? वा केही मिश्रित हुँदै नेपाली भाषामा अंग्रेजी शब्द मिसिने अहिलेको परम्परा नेपालमा भोगिरहेको जस्तो मूलरूपमा भने जस्ताको तस्तै विस्तार हुँदै जाला कि ! परिमार्जन गरिएको भाषाशैली र संस्कृति संस्कारहरू जीवित रहलान् भन्ने लामै कुराकानी मैले सुनिरहेँ । छोरीलाई त्यस विषयको एक पात्रको रूपमा चित्रण गर्दै छलफल गरिरहनु भएको थियो । त्यत्तिकैमा काकाले भन्नुभयो,
‘साच्चै अस्मिता हामीले तिमीहरूको विषयमा यतिबेर कुरा गऱ्यौँ तिमी त सुनिरह्यौ । वास्तवमा अब विदेशमा बस्दै गरेका तिमीहरूको भविष्य तथा आगामी पुस्ता कस्तो होला ? यहाँको संस्कार संस्कृति त्यहाँ पनि विस्तार हुँदै जाला कि हराएर जाला कि के होला ?’
मलाई त्यो छलफल सुनिमात्र रहुँ बोल्न नपरोस् भन्ने लागिरहेको थियो । तर, काकाले गरेको प्रश्नको जवाफमा त म बोल्नैपर्ने भयो । मनभित्र ती जटिल प्रश्नका उत्तर कसरी दिने भन्ने विषयमा एकदमै छिटोछिटो कुराहरू खेलिरहे तर म चुप लागेर बस्न मिल्ने भएन उत्तर दिनैपर्ने महसुस गरेर भने,
‘विदेशमा बस्न थालेका नेपालीहरू पनि सबैको एकै खालको रहनसहन छैन । अब हामी बेलायतमा बस्नेमध्येमा पनि तीन–चारथरिका रहनसहन विकास हुँदैछन् । अरू देशमा कसरी भइराखेको छ त मलाई खासै थाहा भएन, अनुमान मात्र गर्ने हो । विदेशमा गएर विस्तार भएको नेपाली बस्तीको आठ–१० पुस्तापछिको अवस्थाको प्रत्यक्ष उदाहरण त बर्माको नेपाली समाज हो भन्ने सुनेकी छु । दार्जिलिङ, सिक्किम, भुटानतिरको नेपाली बस्ती र संस्कृति त छुट्टै देशभन्दा पनि नेपालीहरूको सीमा विभाजन मात्र भन्ने रूपमा बुझ्नुपर्छ र विदेशमा गएर विस्तार भएको रूपमा बुझ्नु हुँदैन जस्तो लाग्छ मलाई । यो सबै त नेपाली समाज नै हो जस्तो लाग्छ । खासमा एक्काईसौं शताब्दीमा भने नेपालीहरूको ठूलै संख्या बेलायत, अमेरिका, अष्ट्रेलिया, हङकङमा विस्तार भएको छ । त्यसमध्ये पनि हङकङमा भने नेपाली समाज बीसौं शताब्दीबाटै व्यवस्थित हुँदै गएको हो । खास गरेर ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरूको बसाइ त्यसको कारण रह्यो । त्यो हङकङको नेपाली बस्ती पनि ठूलै भाग त्यहाँबाट एक्काईसौं शताब्दीमा बेलायतले भूतपूर्व गोर्खा सेनालाई आवासीय सुविधा प्रदान गरेपछि बेलायतमा सरेको छ । सेनाको जागिर छाडेपछि हङकङ नबसेर नेपालमै आएर बसेको सबैभन्दा ठूलो भूपू गोर्खाहरूको समुदाय पनि बेलायतमा बसाइँ सरेको छ । ती गोर्खा समुदायहरू पनि सम्पूर्णमा नेपाली भइरहँदा पनि जातीय समुदायका रूपमा फरक–फरक संस्कृति र संस्कारहरू पालन गर्ने गरेका छन् । खास गरेर राई, लिम्बू, गुरुङ, शेर्पा, तामाङ, थकालीहरूले आ–आफ्ना चाड पर्व छुट्टै अवसरमा छुट्टै तरिकाले मनाउने गर्छन् । यी सबै समुदायको संस्कृति हेर्दा खेती किसानी गरेर बस्दाको समाजले मान्ने गरेका प्रचलनहरू खेती स्याहार्ने र लगाउने प्रचलनका बीचका व्यवहार झल्कने खालका नै हुन्छन् । अब विदेशमा खेती किसानी पटक्कै नगर्ने जागिरे वा व्यवसायको जीवनशैली अपनाउने नयाँ पुस्ताले कृषिको मूल आधारबाटै परिचित नहुने हुनाले धेरै पुस्तासम्म त्यो संस्कृति तानिएला भन्ने अनुमान गर्न सक्ने अवस्था छैन । अहिलेको पुस्ता त कृषिमा आधारित समाजमा हुर्किएको हुनाले यी संस्कृति, पहिरन र त्यसै अनुसारका संस्कारलाई आत्मीय भएको मन भित्रबाटै अनुभव गर्छन् र जस्ताका जस्तै नेपालमा जस्तै भेला भएर मनाउने गर्छन् । डोका, नाम्ला, ढोल, मादल, चमर, सुपा, सोली नेपालबाटै लगेका छन् । बचपनमा भोगेका पँधेरा, गाग्री, ढिकी, जाँतो र रातो माटोले दलान पोतेका प्रचलनमा रमाउने बानी परेका छन् । तर, नयाँ पुस्ता अब त्यही जन्मेर हुर्केकाहरूलाई ती नेपालका स्वादको प्रभाव हुने छैन । बाबु आमाले अपनाउने गरेका संस्कृतिलाई उनीहरूले बेवकुफी प्रचलन मान्ने सम्भावना देखिन्छ । उनीहरूले गोठ, मही पार्ने ठेकी, दूध दुहुने गाबुलाई महसुस गर्नै सक्दैनन् । नौनी घिउ तताउँदाको त्यो बास्ना त महसुस गर्ने सक्दैनन् । ब्रेडमा दलेको बटरले त्यो बास्ना दिनै सक्दैन । आधुनिक सुविधासम्पन्न ठूला फार्महरूमा पालिएका गाईभैँसीका दूध ग्रोसरीबाट किनेर ल्याएका दूध दही र बटरले उनका पुर्खाले अनुभव गरेको गोबरको गन्ध, मकैबारीको सुस्साहट, धान रोप्दाको रमाइलो र हिलोको गन्धबाट विकास भएका संस्कृतिलाई बुझ्न सक्ने नै छैनन् । त्यसैले बाबुआमाले अपनाउने गरेका दैनिकी र खानपानमा उनीहरूले अपनाउनै नसक्ने अव्यवहारिक प्रचलन पाउनेछन् । अहिले पनि जुन परिवारमा जानुभयो भने पनि केटाकेटीले भात खान नरमाउने, दिनदिनै दालभात तरकारी खान पऱ्यो भने झर्को मान्ने गरेको सुन्न र देख्न पर्ने हुन्छ । उनीहरू माघ महिनामा हजुरआमाले पढ्ने गरेको स्वस्थानी कथाका कुराहरू वाहियात भएको मान्दछन् । हुन त माघ महिनामा स्वस्थानी पढ्ने घर विरलै भेटिएला तर आमाहरूले पूजा गर्ने गरेको हिन्दू देवी देउताको मूर्ति र फोटोका विषयमा उनीहरू सकारात्मक रहेको पाइँदैन ।’
मैले भन्दै गरेका कुरामा समर्थन खोज्ने भावमा दिनेशतिर हेरेर भनें
‘होइन त ? मैले आफूले महसुस गर्ने कुरा भन्दै छु, व्यक्ति व्यक्तिका अनुभूति फरक हुन सक्छन् । अब दिनेशले अनुभव गर्ने र महसुस गरेको तथ्य मेरो भावनाभन्दा फरक पनि हुन सक्छ ।’
दिनेशः ‘अस्मिताले भनेका कुराहरू विचार नभएर सबै यथार्थ तथ्य हुन् । यसमा त कसैको दुईमत हुनै सक्दैन । अहिलेको यथार्थ यही नै हो । यी यथार्थलाई व्याख्या गऱ्यो भने अरू नसमेटिएका व्यवहार र चलनहरू जोड्न त सकिन्छ तर सार बुझ्नको लागि यति पनि पर्याप्त हुन्छ । जुँगा चल्यो कुरा बुझ्यो भनिन्छ नि त्यस्तै गरी यसबाट व्यापक परिवेशलाई मनन गर्न सकिन्छ । अँ, भविष्य कता जाला भन्ने र नेपालीपन जोगाउन जोड गर्ने कि जता जान्छ जान दिने ? भन्ने विचार आ–आफ्नो हुन सक्छ । जस्ताको तस्तै पुस्तौँ पुस्तासम्म जोगाउँछु भनेर त सम्भव छैन बरु कतिसम्म परिमार्जन गरे कतिसम्मको प्रचलन र संस्कृति जोगिन्छ भन्ने छलफलको मुख्य विषय हुनुपर्ने हो समाजका अगुवाहरूको । मैले सुनेको र बुझेअनुसार बर्मामा गएका नेपालीहरूको दोस्रो तेस्रो पुस्ताले जन्म मृत्यु आदिमा अपनाउने संस्कारको अनुभव अन्यत्र पनि दोहोरिने छ । त्यहाँ नत स्थानीय प्रचलन स्वीकार गर्न मनले मान्ने नत नेपाली प्रचलन अपनाउन ढंग पुग्ने भएपछि संस्कृति जोगाउन आवश्यक भएको महसुस गरेर जौ, तिल, संस्कृत र नेपाली भाषा शिक्षा पुस्तक आदिको चाँजो मिलाउन थालेका हुन् । यही अवस्था अहिले अन्य देशमा विस्तार हुँदै गरेको नेपाली समाजको दोस्रो तेस्रो पुस्ताले भोग्नेछ जस्तो लाग्छ । तर, नेपाली समाजभन्दा पहिला अन्य नेपाली विस्तार हुँदै गरेका अमेरिका, बेलायत, अष्ट्रेलिया आदि देशमा भारतका हिन्दूहरू व्यवस्थित भइसकेका र हिन्दू मन्दिरलगायत हिन्दूहरूले प्रयोग गर्ने सामानहरूको बिक्री वितरण भइराखेको हुनाले बर्मामा नेपाली समाजले पहिलो चरणमा भोगेका कठिनाइ त्यही रूपमा नपरीकनै पनि नेपाली संस्कृति व्यवस्थित हुन सक्छ जस्तो लाग्छ ।’
काकाः ‘हजुरहरूले प्रत्यक्ष भोगेको अनुभव सुन्दा हामीले अनुमान गरेको र समाचार र टिभीमा देखेको भन्दा फरक लागेन ।’
हाकिमको टेबलको इन्टरकममा आवाज आएपछि उहाँ सोफाबाट उठेर आफ्नो कुर्सीमा बस्दै इन्टरकमको रिसिभरमा केही शब्द सुनेपछि भन्नुभयो ‘हुन्छ पठाइदिनुस् ।’
ढोका उघ्रियो र एउटा फाइल हातमा लिएर हेर्दै कर्मचारी जस्ता देखिने, खैरो कोट पाइन्ट र खरानी रङको सर्ट साथै टल्कने कालो जुत्ता लगाएका, पेट अलि बाहिर निस्किएका अधबैँसे व्यक्ति भित्र आएर हाकिमलाई नमस्कार गर्दै हातको फाइल खोलेर टेबलमा राखिदिए ।
एकैछिन फाइलका केही पन्ना पढेपछि पत्रमा दस्तखत गर्दै फाइल ती कर्मचारीलाई दिँदै ‘त्यो श्रीलङ्काको रिपोर्ट भोलिसम्ममा तयार पारेर दिनुस् है ।’ भनेपछि ‘हस’ भन्दै ती कर्मचारी कोठाबाट बाहिर निस्किए ।
काकाः ‘हामी आएर तपाईंलाई गफमा भुलायौँ, तपाईं बिजी हुनुहुन्थ्यो होला ।’ हाकिमको ध्यान आकर्षण गर्ने गरी सोध्नुभयो ।
हाकिमः ‘होइन, म फुर्सदमै छु । तीन बजे एउटा मिटिङ छ । त्यसको लागि हिजो घरमै साँझ बसेर मिटिङमा पेश गर्ने रिपोर्ट तयार पारेको थिएँ । त्यो रिपोर्टको शुद्धाशुद्धि हेरेर तयार पार्न लगाएको थिएँ । त्यो पनि तयार भइसकेछ त्यही देखाउन आउनु भएको थियो अघि । अब तीन बजेसम्म त म फुर्सदमै छु । अँ बरु, अघि विदेश बस्ने नेपालीको सन्दर्भमा कुरा हुँदै थियो मलाई पनि निकै चासो लागेको छ । कुरा अगाडि बढाउँ ।’
काका ः ‘हो त नि साच्चै । मलाई पनि अस्मिता र दिनेश ज्वाइँको कुरामा निकै चासो लागिरहेको छ । अरू भन्दै जानुस् ।’
म ः ‘म एकोहोरो बोलिरहेकी थिएँ । हजुरहरूलाई मेरो कुरो कत्तिको चासो लागेको भन्ने बुझ्ने आशयले पनि अघि विषय सन्दर्भमा दिनेशलाई पनि सामेल गर्ने कुरा मिलाएकी थिएँ । म त एकोहोरो कुरो लम्ब्याएँ कि भनेर डराएकी थिएँ । अब त्यसैमा अरू कुरा थप्छु है त ।
बेलायतका भूपू गोर्खा (सेना) हरू एक किसिमले स्थापित भएको समुदाय नै भइहाल्यो । बेलायतमा एक लाखभन्दा बढी संख्यामा गोर्खा समुदाय र अरू नेपाली पनि जोड्दा झण्डै डेढलाख नेपाली छन् भन्ने अनुमान छ । वास्तवमा यथार्थ तथ्यांक भने छैन । बेलायती नागरिकता ग्रहण गरेका नेपालीको संख्या नै ३५ हजारभन्दा बढी रहेको बेलायती सरकारी तथ्यांकबाट थाहा हुन्छ । अरू समुदायमध्ये रेस्टुरेन्ट व्यवसाय गर्ने सामाजिक अभियानमा अलि बढी सक्रिय भेटिन्छन् । बेलायतमा कार्यरत डाक्टरहरू पनि झण्डै चार सय जति छन् । तर, डाक्टरहरू पेसामै बढी समय व्यस्त हुने हुनाले सामाजिक सक्रियतामा आबद्ध हुन सक्दैनन् । केही प्राज्ञहरू पनि बेलायती सरकारसँग समेत आबद्ध भएका पहुँचवाला छन् ।
विदेशमा विस्तार हुँदै गरेको नेपाली समाज दशैं, तिहार, तीज, नयाँ वर्ष (वैशाख) जस्ता चाड पर्व भेला भएरै रमाइलो गरी मनाउँछन् । साउने संक्रान्ति र लुतो फाल्ने प्रसंग जस्ता साना पर्वसमेत सोसल मिडियामा प्रासंगिक हुने गरेको भेटिन्छ । नयाँ पुस्ता तथा हाम्रा नानीहरूले भने हामीले रमाइलो मान्ने गरेका संस्कृतिमा रमाउन सकेका हुँदैनन् । हुन पनि दशैँ हाम्रो घरभित्र आएको हुन्छ । तर, घरबाहिर भेटिँदैन उनीहरूको लागि । त्यस्तैगरी, क्रिसमस घरबाहिर स्कूल कार्यस्थल जताततै आउँछ तर केटाकेटीले घरभित्र भेट्न सक्दैनन् । यस्ता कुराले उनीहरू यता न उताका भएर सांस्कृतिक रूपले त अलमलमा परेका छन् ।
सन् २०१५ को मेरो एक दिनको कुरा गर्छु । त्यो दिन बालाचतुर्दशीको दिन परेको थियो । बालाचतुर्दशीका दिन हजुरआमाले दूध ठेकामा हाल्न हुँदैन भन्नुहुन्थ्यो । बालाचतुर्दशीका दिन भकारी भर्ने दिन हो । दूध जमाएर दही तथा मही बनाउन नुहुने भएको हुनाले त्यस दिन खीर खाने चलन छ । साउने संक्रान्तिमा जस्तै । बेलायतको क्यालेण्डरमा डिसेम्बर १०, मानवअधिकार दिवस हो, बेलायतका छिमेकीहरू क्रिसमस उपहार किन्नमा मस्त हुन्छन् । थ्यांक्स गिभिङ डे पनि त्यसअघि पर्छ । बेलायतमा थ्यांक्स गिभिङ डेमा त्यस्तो धुमधाम हुँदैन । अमेरिकामा भने थ्यांक्स गिभिङ डे मा अन्नपात थन्काउने तथा हाम्रो बालाचतुर्दशी जस्तै भकारी भर्ने दिनका रूपमा र क्रिसमसमा भेट हुन तह पर्ला–नपर्ला भनेर भेटघाट, खानपीन साथै रमाइलो गर्ने चलन छ ।
धार्मिक रूपले मलाई क्रिसमस चाडको कुनै महत्त्व छैन तर बेलायत बस्ने हुनाले सांस्कृतिक रूपमा मलाई पनि यसले असर पारेको हुन्छ । कतिपय स्थानीयले भेट हुँदा अरू समयमा जस्तै हेलो, हाउ आर यू ? का साथमा क्रिसमस गिफ्ट तयार भयो ? भनेर प्रश्न तेर्साउने गर्छन् । कतिसँग मैले क्रिसमस हैन दशैँ र तिहार मान्छु भनेर भन्दै हिँड्नु त भनेर आल्टाले कुराले टाल्ने प्रयास गर्छु । तर, कसै कसैले त किनमेल गरेको विवरण र क्रिसमसमा कहाँ जाने परिवारसँग कहाँ भेट गर्ने सबै आफ्नो विवरण विस्तार लाउँछन् । मानौँ, खुसी साथ फुर्ति लाउने सिजन हो क्यारे त्यहाँको डिसेम्बरको ठिहिऱ्याउने जाडो । तर, उनीहरूमा पारिवारिक ममतामयी न्यानोपन यसै समयमा उन्मात हुन्छ क्यारे । अरू समयमा आफ्नै धुनमा व्यस्त र मस्त हुन्छन् । अरू समयमा त उनीहरूको ममता झल्काउने विषय फुटबलको विषय बनेको हुन्छ ।
बाइबल र क्रिश्चियनको बारेमा मैले जीवनमा पहिलोपटक नेत्र दाइबाट सुनेकी हुँ । उहाँको सानोठिमीमा स्नातक तहको पढाइ गर्दा काठमाडौंमा गोरे क्रिश्चियनहरूसँग संगत भएछ । नेपालमा धर्म प्रचार गर्न बाइबल उनीहरूले सित्तैमा नदिएर २५ पैसामा बेच्ने गरेको प्रसंग नेत्र दाइबाट सुन्दाको त्यो क्षण अहिलेसम्म पनि याद छ । उनीहरूको तर्क रहेछ “सित्तैमा दिए कसैले पढ्दैनन् त्यही भएर नाम मात्रको दस्तुर लिएर दिए खर्च गरेको रकम असुल गर्ने भावनाले पढ्छन् । पञ्चायती व्यवस्थाको त्यो समयमा धर्म प्रचार गर्ने विरुद्ध सरकार र व्यवस्था अलि कडा नै थियो । कानुनी रूपमा जबरजस्ती धर्म परिवर्तन गर्न नपाइने भनिएको भए पनि व्यवहारमा क्रिश्चियनहरू प्रति अलि नै नियन्त्रण हुने गथ्र्यो । तर, प्रचारकहरू पनि के कम र मिसन अस्पताल भन्दै परोपकारी भावनाबाट नेपालीको मन जितेर धर्मलाई नेपाली समाजमा छिराउँदै थिए । गोर्खाको लुइँटेल स्कूललगायत शिक्षण संस्थाहरूलाई पनि त्यस्तै रूपमा बुझिन्थ्यो ।
केही क्रिश्चियन धर्म मान्ने नेपालीले त क्रिसमस मनाउने नै भए, आजकाल त हिन्दू धर्म मान्छौँ भन्ने अरू नेपालीको घरमा पनि झिलिमिली सहितको क्रिसमस ट्री सजाएको भेटिन्छ । कसैले बेलायती रवाफ पनि छाँट्छन् । त्यसमा, कसैले चाँहि स्कूलमा साथीहरूको संगतले केटाकेटीले रहर पनि गरे, दबाबै जस्तो पनि भयो भन्ने गर्छन् । जे होस् बेलायत बसेपछि सांस्कृतिक रूपले क्रिसमसले भेटिहाल्छ, झम्झम् लागि पनि हाल्छ ।
किनमेल गर्न जाँदा पसलमा घुइँचो, कामको रोटामा असर त कतै ट्रेन पर्खंदासमेत क्रिसमस किनमेलका वार्तालाप कानमा ठोकिनु त्यसका सामान्य प्रभाव हुन् । बजारतिरको झिलिमिली त भन्नै परेन । एकातिर रमझम छ तर कतिपयलाई क्रिसमसको किनमेलले बोकाउने ऋणको पिरलोले थिचेको पनि हुन्छ । सामान्यतया ऋण बोकाउने क्रिसमसको चर्चा धेरैले गर्दैनन् तर मनमिल्नेसँग पिरलो पोखी पनि हाल्छन् । अघिल्लो वर्षको क्रेडिटकार्डको ऋण तिरेर नसक्दै अर्को क्रिसमसले सताउँछ । जत्रो आम्दानी उत्रै खर्च सबै चिनेजानेका परिवार, आफन्त इष्टमित्र, साथीभाइ छरछिमेकी सबैलाई केही न केही सम्झनै पर्ने । दिनै पर्ने । त्यसैले त ऋणको भारी बोकाएर जाने डिसेम्बरपछि जनवरीबाट रित्तो खल्ती लिएर काममा मस्त हुन्छन्, ‘हेप्पी न्यु इयर’ भन्दै । मानौँ नयाँ वर्षमा ऋण तिर्ने साहस बोकेको छ उनका ज्यानले ।
क्रिसमसमा टर्कीको कुरा चाँहि नेपालमा अष्टमीको बोका काट्ने चलन जस्तो रहेछ । तर, बलि होइन रहेछ । परम्परादेखि क्रिसमसमा टर्की पकाउने र खाने बाध्यता जस्तै । यसको धार्मिक महत्वको बारेमा चाहिँ मलाई थाहा भएन, तर, खासै धार्मिक महत्व छैन भन्ने बुझेकी छु । भिक्टोरिया रानीको शासन कालबाट क्रिसमसमा टर्की खाने प्रचलन बसेको भनाइ पनि छ । पहिले पहिले धनाढ्यहरूले क्रिसमसमा टर्कीको भतेर लगाउने चलन भए पनि व्यापारीकरण हुँदै गएपछि सामान्य नागरिकले पनि टर्की किनेर क्रिसमसको भतेर लाउने चलन बसेको अनुमान छ । अझै पनि टर्कीको मासु क्रिसमसको समयमा अलि महँगो नै हुने गर्दछ । क्रिसमस इभका दिन पसलहरू बन्द हुने समयमा पुग्नेहरूले बचेखुचेका टर्कीको प्याकेट अलि सस्तो पाउने गरेको भेटिन्छ । दुई दिनसम्म पसल बन्द हुने भएपछि बिग्रने डरले पनि अन्तिम समयमा सस्तो पारेर बेच्ने गर्छन् ।’
दिनेशः ‘बिहा गर्दा जग्य बनाएर, सात फेरा घुमेरै गर्ने चलन चलेकै छ । अहिले त बेलायतमा पनि संस्कृत भाषाका पूजा गराउने पुस्तक बोक्ने नेपाली पण्डितहरू नै भेटिन्छन् । त्यसैगरी, ब्रतबन्ध पनि जग्य लगाएर होम गरेरै गर्ने चलन छ । तर, ब्रतबन्ध गरे पनि गायत्री मन्त्र जप्ने, टुप्पी पाल्ने, जनै भिरेर हिँड्ने गर्दैनन् । केटाकेटीले त्यसको अर्थ छैन भन्ने अर्थ लगाउने गर्छन् । तर, पनि नेपालतिरबाटै लागेको बानी नेपालमा जस्तै गर्न पनि छाडेका छैनन् । यो हामी जस्ता बीचका पुस्ताको चलन हो । हाम्रा केटाकेटीले वैज्ञानिक हिसाबले पुष्टि नभएका जनै भिर्न पर्ने, महिनावारी हुँदा कसैसँग नछोईकन बस्ने, भान्सा नपस्ने परम्परालाई धानेर राख्छन् भन्ने छैन । खास गरेर पुरुष सर्वेसर्वा हुने र महिला भनेका पुरुषको सहयोगी मात्र हुने मान्यता बोकेको नेपाली संस्कारलाई त बदल्न पनि पर्छ भन्ने नै लाग्छ ।’
हाकिमः ‘नयाँ पुस्ताकी नानी पनि यहीँ छौ, तिम्रो विचार जान्न पाए हुन्थ्यो नि । बुवा आमाको कुरा सुन्यौ तिम्रो विचार के छ नि यसमा । कस्तो लाग्छ तिमीहरूलाई तिम्रो साथीहरूलाई ।’
छोरीः ‘आमा र बुवाले भनेको सबै ठीकै हो । कत्ति कुराहरू नेपालीहरूले के गरेको होला यस्तो ? किन गरेको होला ? धेरै कुरा साइन्टिफिक छैन जस्तो लाग्छ । तर, हामी पनि सकेसम्म बुवाआमा, हजुरबुवा, हजुरआमाहरूको मन नदुःखोस् भनेर मन नलाग्ने कुरा पनि गरिदिन्छौँ ।
मेरो कक्षामै पढ्ने एउटा केटा साथी छ । उसलाई ब्रतबन्ध गर्नपर्छ भनेर फेमिलीले भनेपछि उसले हुँदैन भनेन । प्यारेन्ट्सको इच्छा पूरा हुन्छ भनेर मान्यो । उसले बताएको कुरा उसको फिलिङ्स मैले थाहा पाएर आज भनेको हो । तर, त्यो सबै गरेको उसलाई बेकार लाग्छ । कपाल पूरै खौरिनु पऱ्यो तर स्कूलमा पूरै कपाल खौरेर जान अलाउड (अनुमति) छैन । उसलाई केही दिन स्कूल जान गाह्रो भयो । तर, टिचरलाई आफ्नो कल्चर र रिचुवल प्रोसेसको लागि गरेको बताएपछि स्कूलले उसलाई अलाउड गऱ्यो । तर, टिचरले क्लासमा उसले भनेको कुरा सबै विद्यार्थीलाई सुनायो । मिक्स कल्चरको बारेमा र मिक्स कल्चरका मान्छेहरू सोसाइटीमा मिलेर बस्न एउटा कल्चरको मान्छेले अर्को कल्चरको मान्छेको व्यवहार मन नपरे पनि सहनुपर्छ भनेर पनि सिकायो । तर, हामीलाई अलि गाह्रो त हुन्छ नि ।’
काकाः ‘अनि तिमीहरू पछि ठूला भएपछि तिमीहरूका बालबच्चाहरू पनि हुन्छन् अनि उनीहरूलाई यो कल्चर सिकाउँछौ कि के गर्छौ ?’
छोरीः ‘हामी **फरक** कल्चरमा हुर्केका छौँ । हामीले **कारण** बिनाको कल्चर स्वीकार गर्न सक्दैनौँ । हाम्रो पुस्ताले कल्चर तथा चलनचल्तीलाई वैज्ञानिक तवरले पुष्टि गरिएको भए मात्र स्वीकार गर्दछ । उदाहरणको लागि हजुरहरूको पुस्ताभन्दा अघिल्लो पुस्ताले बाल विवाहलाई स्वीकारेको थियो । तपाईंहरूको पुस्ताले त्यसलाई बदलेर युवायुवती वयस्क भएपछि विवाह गर्ने प्रचलन बसाल्यो ।
तपाईंहरूको पुस्ताले त्
© www.amaaba.org