Blog Details

Govind Belbase Govind Belbaseपुरानो ब्लगबाट
कस्तो ठ्याक्कै म जस्तै छिन् क्या ! तर, जुम्ल्याहा हुने कुनै सम्भावना नै छैन नि त !

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग ५

भाग ५ को वाँकी

तपाईंहरूको पुस्ताले त्यसलाई बदलेर युवायुवती वयस्क भएपछि विवाह गर्ने प्रचलन बसाल्यो । तपाईंहरूको पुस्ताले महिनावारी हुने विषयलाई नछुने र पाखा लगाउने रूपमा स्वीकार गऱ्यो तर हाम्रो पुस्ताले महिनावारी प्रकृतिको एक नियम भएको र सफाइमा ध्यान दिने रूपमा स्वीकार गर्छ । छुनै नहुने अपवित्र भएको रूपमा होइन उत्पादनको वैज्ञानिक कडीका रूपमा यसलाई बुझ्नुपर्छ भन्ने मान्यता राख्छ । त्यसैले पुराना नियमहरू अध्यात्मवादी भावनाले मात्र प्रेरित भएको पाउँछौँ हाम्रो पुस्ताले वैज्ञानिक रूपमा पुष्टि हुने नियमसँग दाँजेर चलनहरू अपनाउने वा परिमार्जन गर्ने गर्नुपर्छ भन्ने मान्यता राख्दछौँ । हजुरआमाहरूले स्वस्थानी कथालाई भगवान्को नियम भनेर बुझ्दै पढ्नुभयो भनिन्छ । हामी त्यस्ता कथाले समाजमा भ्रम छर्ने मान्दछौँ । घरघरमा सन्देश दिने त्यस्ता पुस्तक पढ्ने चलनलाई कायम गर्ने तर उचित सन्देश तथा विज्ञानले पुष्टि गरेका सूचनाहरू घरघरसम्म पुऱ्याउने पुस्तकका रूपमा स्वस्थानी कथाहरू पुनर्लेखन गरिनुपर्छ भन्ने हाम्रो मान्यता छ । उक्त कथामा भनिए जस्तो ९ वर्षकी गोमालाई ७० वर्षका बूढा शिव ब्राह्मणसँग विवाह गर्नुलाई हाम्रो पुस्ताले विरोध गर्नु त स्वाभाविक नै हो नि । हामीले स्वस्थानीको उक्त कथाको विरोध गर्दा धर्म र भगवान् तथा देवीले सजाय दिने भनेर डराइएको पुस्तक कुनै पनि हालतमा जायज हुन सक्दैन । सबै सृष्टि गर्ने र सञ्चालन गर्ने नै भगवान् र देवी हुन् भने उनीहरूलाई पूजा गर्नु भनेर डराउन दिनुपर्छ त ? त्यसैबाट पनि यस्ता ग्रन्थहरू भ्रमका मुहान हुन् भन्छु म । हामीले कल्चरका नाममा आगामी पुस्तालाई यो भ्रम कदापि सिकाउने छैनौँ ।’

काकाः ‘तिम्रो कुरा वास्तविक लाग्यो । हामी सानो छँदा हामीलाई सिकाइएको सानो जातले छोएको नखाने जस्ता छुवाछुत हामीले त्याग्दै गएका छौँ । त्याग्नुपर्छ भनेर छोराछोरीलाई सिकाइ राखेका छौँ । त्यस्तै तिमीहरू हामीभन्दा एक कदम अगाडि बढेर सामाजिक न्यायका लागि संस्कृति र संस्कारमा सुधार गर्नुपर्छ नै । हामी हुर्कँदा रेडियोसम्म थियो । त्यसैले रेडियोबाट प्रसारित भएका जागरणका विषयले हामीलाई प्रभाव पऱ्यो । अब, तिमीहरू हुर्कँदा त इन्टरनेट र सामाजिक सञ्जालको सुविधाले तिमीहरूलाई ज्ञान बाँड्न र त्यसै अनुसारको विवेकी बन्न पनि सिकाइएको छ । तिमीहरू यस्तै विवेकी बन्दै जानु मेरो आशीर्वाद छ ।’

टेबलमा राखिएको इन्टरकममा बजेको घण्टीपछि रिसिभरमा हाकिमले भित्र पठाइदिनुस् भनेको एकैछिनमा ढोका खुल्यो र हाम्रो सिफारिस बनाउन फाँटमा जानुभएको भाइ आइपुग्नु भयो । काकाले कागजहरू आफूले बोकेको झोलामा राख्दै हाकिमलाई धन्यवादसहित आभार प्रकट गर्नुभयो । हामीले पनि काकाले जस्तै आभार प्रकट गर्दै त्यहाँबाट बिदा भएर बाहिर निस्कियौँ । गाडी पार्क गरिराखेको ठाउँमा पुगेर गाडीमा बस्दै गर्दा काकाले भन्नुभयो,

‘अब आजै बुटवल जान त अबेर भइसक्यो । भोलि बिहानै जाउँला । अब सबै जना मेरोमा नै बस्न जाऊँ ।’

मः ‘त्यो त हुन्थ्यो काका, तर झोला कपडा सबै नेत्र दाइकहाँ छ । आज त्यहीँ बस्छौँ । बरु बुटवलबाट आएपछि हजुरकहाँ नै बसौँला ।’

कताकता पूरै आत्मीयता पिताम्बर काकासँग पनि जोडिएको हुँदाहुँदै पनि नेत्र दाइसँग जस्तो सहज रूपमा दुःखसुख गर्न सहज नलागेकोले पनि भनेकी हुँ । पहिले पनि बुवाको जागिरको सिलसिलामा जिल्लातिर कहाँ कहाँ सरुवा हुन्छ त्यतै जानुपर्ने, पछि पनि पढाइको सिलसिलामा कहिले होस्टल त कताकता हुनाले पनि खासै पिताम्बर काकासँग हेलमेल बढी हुन पाएन । नेत्र दाइसँग त उमेर पनि उस्तै उस्तै र दौँतरी जस्तै भएकाले पनि सबै कुरामा सजिलो लाग्ने ।

हामीलाई नेत्र दाइको घरमा पुऱ्याएर काका बाहिरबाटै जानुभयो । उहाँका कर्मचारी पनि सँगै जानुभयो । हामी घरभित्र छिर्दा भाउजूले कोठाका सामान ठीकठीक ठाउँमा राखेर चिटिक्क पार्नुभएको रहेछ । खुच्मुचिएका सोफाका खोल पनि तन्काएर मिलाउनु भएको रहेछ । घरमा पुगेर हामी सुतेको कोठामा गएर कपडा फेरेर किचन (भान्साकोठा)मा पुग्दा दाल, तरकारी, अचार बनाएर भाउजूले राखिसक्नु भएको रहेछ । सुक्खा रोटी खाने भनेर उहाँले पीठो ठिक्क पार्नुभएको रहेछ । अब रोटी तात्तातै पकाउँदै खाने भन्न थाल्नुभयो । दाइ, दिनेश र छोरीलाई खान बसालेर मैले रोटी बेल्न थालेँ । भाउजूले रोटी पकाउँदै पालोपालो डाइनिङ टेबलमा पुऱ्याउँदै गर्न थाल्नुभयो । त्यही बीचमा भाउजूले कुरा कोट्याउनु भयो,

‘साच्चै नानी तपाईंले त्यो तपाईंकी जुम्ल्याहा केटीको कुरा भन्नुभएको थियो नि ! मलाई त कस्तो खुल्दुली लागिराखेको छ ।’

मः ‘कहाँ भाउजू नि ! जुम्ल्याहा नै हो त कहाँ भनेको हो र । ऊ कहाँ नेदरल्याण्ड्सकी म कहाँ नेपालकी । खाली सबै जिउडाल, दाँत कपालसमेत मिल्ने र जन्ममिति पनि एउटै भएकोले बुझ्न खोजेको मात्र पो भनेको हो त । जुम्ल्याहा दिदी वा बहिनी नै भनेको त हैन नि, भाउजू ।’

भाउजूः ‘हजुरले जे भने नि मलाई त जुम्ल्याहा नै हो जस्तो लागेको छ । हजुर पनि त त्यही नेदरल्याण्ड्मै जन्मिएको त हो नि । त्यत्तिबेला काका (मेरा बुबा) पनि त स्कलरसिपमा त्यहीँ पढ्नु भएको हो । अब काकाले विदेशी गर्लफ्रेण्ड बनाउनु भएको भनौँ भने काकी पनि सँगै हुनुहुन्थ्यो । फेरि जन्ममिति पनि एउटै भएपछि हजुरहरू जुम्ल्याहा त पक्कै हो के । तर, पत्ता कसरी लाउने हो कुन्नि । कि त अस्पतालमा नर्सहरूले चोरेर बच्चा नहुनेलाई दिएका हुन् कि ? विदेशमा त बच्चा जन्माउन गाह्रो हुन्छ भनेर पाउँदैनन् रे त आइमाइहरूले । पैसा खुवाएर नर्स, डाक्टर मिलाएर चोरेकै हुन् क्या हो ?’

मः ‘भाउजू पनि के के तर्क गर्नुहुन्छ के के ! विदेशमा त्यस्तो बदमासी हुन्छ जस्तो लाग्दैन मलाई त । म पनि त अस्पतालमै काम गर्छु । सबै रेकर्ड हुन्छ । अहिले कम्प्युटर र भिडियो आदिले जस्तो सबै रेकर्ड नभए पनि कागजमा सबै रेकर्ड राखिन्थ्यो नि । अस्पतालमा बदमासी गर्ने चान्स त म देख्दिनँ । खालि जुम्ल्याहा हुन सक्ने सम्भावना तथा शंका गरेको मात्र त हो नि ! फेरि यहाँ यस्तो भएर यता आउनु परेर पो त । डीएनए रिजल्ट पनि अहिलेसम्ममा त आइसक्यो होला । त्यो हेर्न पाए त जुम्ल्याहा होइनौँ भनेर ढुक्क हुन्थ्यो । तर, त्यही ढुक्क हुन नपाएको कुरा मात्र गरेको भाउजूले त नर्स र डाक्टरलाई चोरसमेत बनाइहाल्नुभयो ।’

डाइनिङ कोठाबाट दाइको आवाज आयो ‘यहाँ तरकारी सकियो थप्न भ्याउँछेउ कि म लिन आऊँ ?’

त्यति भन्दाभन्दै भाउजू र मैले उत्तर पनि दिन भ्याएका थिएनौँ दाइ त तरकारी राखेको भाँडो बोकेर किचन (भान्सा)मा आउनु भएछ ।

दाइः ‘बेलायत बस्ने भए पनि नानीले त गहुँका सुक्खा रोटी खुब मन पराउँदी रहिछन् ।’

मः ‘हामीले पनि फुर्सद पाउँदा मिलिजुली रोटी पकाएर खान्छौँ नि त । ताजा रोटीको मजा नै अलग हुने । अझ हामी त कहिलेकाहीँ फापर अनि कहिलेकाहीँ कोदोको रोटी पनि खान्छौँ । छोरीले कोदोको रोटी त त्यति मिठो मान्दिन तर फापरको रोटी भने खुब मन पराउँछिन् ।’

भाउजूले कराही ढाकेको ढकनी झिकेर तरकारी भाँडोमा हालिदिएपछि दाइ जानुभयो । दाइकै पछिपछि पाकेको रोटी पनि भाउजूले लगेर छाडेर किचन (भान्सा)मा आउनुभयो ।

भाउजूः ‘बेलायतमा पनि कोदो र फापरको पीठो पनि पाइन्छ र ?’

मः ‘पाउँछ नि भाउजू, जे पनि पाइन्छ । बरु एकपटक नेपाली सामान बेच्ने नेपालीहरूले नै चलाएको एउटा पसलमा हामी बस्ने सहरभन्दा टाढाको सहर गएको बेला ल्याएको त ढुंगा लाग्ने अलि मजा नआउने भयो । त्यसपछि त त्यहीँको पीठो नै किनेर खान थाल्यौँ । त्यसपछि नेपाली पसलबाट केही पनि किनेकै छैनौँ ।’

भाउजूः ‘ती नानी हजुरको जुम्ल्याहा नै भए त के गर्ने होला हो ?’

मः ‘भाउजू पनि के के भन्नुहुन्छ । जुम्ल्याहा त हुनै सक्दैन । अब भइहाले पो के नै हुन्छ र । एक्ली छोरी हुँ भन्ठानेर आधा जिन्दगी बितिसक्यो । आधा जिन्दगी दिदी बहिनी भनेर बिताउन पाइएला नि । जुम्ल्याहा नै भए त बुवा आमाले भन्नुहुन्थ्यो होला नि । केही भन्नुभएन । ती केटीको नाम “एम्मा” हो नि भाउजू । उनको नाम पनि नेपाली छैन । नेपाली नाम भए त सीता, गीता, रेस्मा जस्तो केही हुन्थ्यो होला । उनका बुवा आमालाई भेट्न पाए पनि उहाँहरूले बताउनु हुन्थ्यो होला । यहाँ यस्तो नभएको भए अहिलेसम्ममा त मैले पत्ता पनि लगाइसक्ने थिएँ । पत्ता लगाएर जुम्ल्याहा होइनौँ भन्ने निधो गर्न नपाएर छट्पटी चाँहि भएको छ ।’

भाउजूः ‘भनेपछि, हजुरले मलाई जुम्ल्याहा होइनौँ भने पनि आफूलाई पनि जुम्ल्याहा नै जस्तो लागेको त रहेछ नि त ! जुम्ल्याहा हो कि होइन भन्ने प्रमाण मात्र खोज्नुभएको जस्तो लाग्यो ।’

मः ‘त्यो त हो भाउजू । कस्तो ठ्याक्कै म जस्तै छिन् क्या ! तर, जुम्ल्याहा हुने कुनै सम्भावना नै छैन नि त !’

कुरै कुरामा हाम्रो पनि खाने पालो आयो । दिनेश र दाइ मिलेर रोटी पकाउँदै भाउजू र मलाई दिनुभयो र हामीले पनि खायौँ । भोलि बिहानै ५ बजे हिँड्ने भनेर काकाले ‘तयार भएर ठीक पाँच बजे बाहिर निस्कनु म गाडी लिएर आइपुग्छु भन्नुभएको छ ।’