Blog Details

Govind Belbase Govind Belbaseपुरानो ब्लगबाट
ती कर्मचारीले पनि घरमा गएर कागज तयार पारेर बिहान ८ बजे सबै तयारी कागजहरू लिएर आइपुग्ने भनेर जान थाल्दा भाउजूले भन्नुभयोः

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग ४

भाग ४ को बाँकि

जुन दिन समाजका अगुवाहरूले आफ्नै समाजभित्रका कमजोरीहरू पहिचान गरेर सुधार गर्नतर्फ लाग्ने छन् त्यसबाट मात्र धर्म परिवर्तन रोकिन सक्छ । अन्धविश्वासहरू हटेपछि बल्ल वास्तविक महिला समानताका कदमहरू अगाडि बढ्नेछन् । पश्चिमा समाजमा हाम्रो समाजभन्दा पहिला महिला समानताका कदमहरू चालिएकाले हाम्रा अभियन्ताहरू पनि उनीहरूकै कदम अनुकरण गर्न तल्लिन छन् । तर, धार्मिक अन्धविश्वासबाट बाहिर निस्कन नसक्दासम्म लैंगिक समानता कायम हुन सक्दैन । पश्चिमा समाजमा धार्मिक अन्धविश्वास अलि पहिला कम भएकोले त्यहाँका महिलाहरू अलि चाँडै अगाडि बढेका हुन् । पश्चिमा समाजले अर्कै धर्म माने पनि ती धर्ममा समेत अन्धविश्वासहरू छन् । हाम्रो समाजले भानुभक्त रामायण पढ्न सुरु गर्दा बेलायती समाजमा स्वचालित छापाखानाले पत्रिका छाप्न थालेका थिए, टाइम्स पत्रिका बेच्न थालिएको थियो । त्यो शिक्षाले पश्चिमा दुनियाँलाई अलि चाडै अन्धविश्वासविरुद्ध उत्रिन सिकायो । दोस्रो विश्वयुद्धबाट घरबाहिर काम गर्ने पुरुषको कमीमा महिलाहरू घरबाहिरको काममा निस्कनैपर्ने अर्को परिस्थितिले पनि त्यसमा ऊर्जा दियो । त्यस समय कालमा रामायणले हाम्रा महिलालाई सीताको जस्तो व्यवहार असल नारी चरित्रका रूपमा सिकाउँदै थियो । स्वस्थानी व्रतकथाले गोमा ब्राह्मणीको उत्पीडनलाई न्यायोचित व्यवहार मान्न बाध्य पार्दै थियो । पश्चिमा समाजमा धार्मिक अन्धविश्वासमा लिप्त हुनेको संख्या घट्दै गएको विषय तथ्याङ्कले पुष्टि गर्दछ ।

अन्धविश्वासहरू धार्मिक आस्थासँग जोडिएका हुन्छन् । धर्म र आस्था छलफल गर्न संवेदनशील विषय पनि हुन् । तर, एउटा ध्रुवसत्य के हो भने समाजमा जति ज्ञानको कमी हुन्छ धर्म तथा अध्यात्मवाद त्यत्ति नै हावी हुन्छ । उदाहरणको लागि एक शताब्दी अगाडिसम्म चन्द्रमाका विषयमा मान्छेलाई ज्ञान थिएन । अघि हजुरबुवाले पनि त्यही भन्नुभएको त हो नि । त्यसैले चन्द्रमालाई भगवान् मानेर पुज्ने गरियो । पृथ्वीको छाया परेर ग्रहण लाग्छ भन्ने थाहा नहुँदासम्म चमारेले छोएको मानेर ‘छोड चमारे’ भन्न सिकाएका पण्डित वचनलाई नै अनुशरण गरियो । ती पण्डितहरूलाई अझै पनि ज्ञानी भनिन्छ । चन्द्रमाका विषयमा ज्ञान भयो र मान्छे त्यहाँ पुगेर पनि आएपछिको हाम्रो नयाँ पिढीले चन्द्रमालाई भगवान् मानेर पुज्ने विषय नभएर उपग्रहको रूपमा बुझेका छन् । यसबाट के स्पष्ट हुन्छ भने मान्छेले जे कुराका विषयमा बुझ्दैन त्यहीँबाट ईश्वरको कल्पना गर्छ । प्रकृतिका जटिलताका जति उत्तर भेटिँदैनन् त्यत्ति धर्म तथा आस्थाको कुरा गरिन्छ । जति उत्तर भटिनै जान्छन् हाम्रा पण्डितहरू चन्द्रमाका कुरा त बुझेर मान्छे त्यहाँ पुगेछन् ल तर यो सबै कसले बनायो भन्ने थाहा पाउन सकेको छैन मान्छेले त्यही भएर ईश्वर छन् त्यसैले अध्यात्मवाद मात्र एक विकल्प हो भन्ने तर्क गर्छन् । ज्ञानको कमीको फाइदा जति उठाउन सक्यो त्यति नै आध्यात्मिक गुरुहरूको पेसा फष्टाउँछ । त्यति नै धेरै चेला पछि लाग्छन् । त्यसैले उनीहरूलाई ज्ञानी पुरुष भन्ने प्रचलन नै गलत छ । जुन ज्ञानको कमी छ त्यही भजाएर खाने हुनाले उनीहरू त अज्ञानी हुन्, खासमा ।

उत्तर नभेटिएका विषयबाट फाइदा उठाउन उनीहरू खुबै सिपालु हुन्छन् । हरेक धर्मका कुरा सुन्दै गयो भने निराकारमा गएर टुंगिन्छ । ब्रह्मा, विष्णु, कृष्ण, देवी सबैका कुरा गर्दै निराकारको व्याख्या गर्छन् हिन्दू पण्डितहरू । मुसलमान, इसाई, सिख जुनसुकै धर्मका गुरुहरूले निराकार शक्तिका प्रतिनिधिका रूपमा जिसस, पैगम्बर, राम आदिको व्याख्या गर्छन् । मुख्य विषय नै निराकारमा केन्द्रित हुनुको मतलव पदार्थबाट चेतना विकास भएको स्वीकार हुनु पर्ने हो तर धर्म गुरुहरू भने चेतनाबाट पदार्थ सिर्जना गरिएको तर्क गर्छन् । अर्थात् संसार उत्पत्ति गर्ने कुरा मान्छेले कम्प्युटर बनाएजस्तो मान्छेको दिमागको उपज जस्तै चेतनाबाट बल्ल पदार्थ बनाइएको कल्पना गरिन्छ । मानव शरीरका रगत, हाड, छाला, मुटु, फोक्सोले पर्याप्त काम गरेपछि बल्ल गिदीमा चेतनाको सिर्जना हुन्छ । त्यही चेतनाले आत्माको कल्पना गर्छ, संसार उत्पत्तिको विषयमा तर्क गर्छ । जुनी फेरिने विषय पनि मस्तिष्कको कल्पनाबाट जुराइएका विषय त हुन् । यदि संसार बनाउने एउटै ईश्वर भएको भए जुनसुकै धर्मको पनि संसारको उत्पत्तिका विषयमा त एउटै तर्क हुनुपर्ने हो नि त । फरक–फरक धर्मका फरक–फरक तर्क हुनुको मतलव जुन परिस्थितिमा मान्छेले सोच्छ त्यसै अनुसारको धार्मिक आस्थाको कल्पना गर्छ भन्ने पुष्टि हुन्छ ।

यो चेतनाले पदार्थ बनाएको होइन पदार्थबाट चेतनाको विकास हुन्छ भन्ने मान्यताले समाजमा स्थान बनाएको खण्डमा मात्र महिला पुरुषको समानताको कल्पना साकार हुनसक्छ । अज्ञानीलाई ज्ञानी मान्दासम्म र स्वस्थानी व्रतकथाले व्याख्या गरेको मरेका राक्षसको हाडछालाबाट पहाड र माटो बनेको भ्रमबाट बाहिर ननिस्कँदासम्म हाम्रो समाज उत्थानका नाराहरू साकार हुन सक्दैनन् । धर्मका कुरा गरेर ग्रन्थहरूले नै गोमा ब्राह्मणी तथा सीताले भोगेका उत्पीडनलाई महिलाले स्वीकार गर्नु पर्ने मानसिकतामा विकास हुने समाजले समानताका कुरा संविधानमा लेखे पनि व्यवहारमा साकार हुन सम्भव छैन । न त यो समस्या धर्मपरिवर्तनबाट नै सम्भव छ । यो विभेदबाट बाहिर निस्कन अज्ञानीहरूका कुराको भ्रम चिर्न सक्नु पर्दछ । पदार्थबाट चेतना विकास हुन्छ भन्ने आस्था बनाउन जरुरी छ । यो कुरा म मेरा दौँतरीहरूलाई त भन्न सक्छु तर मेरी आमासँग मैले यो ज्ञानको तर्क गर्न सक्दिनँ । जुन पुस्ताका आमाहरूले पदार्थबाट चेतना विकास भएको आस्था बनाउने छन् त्यो पुस्ताले समानतामा आधारित समाज भोग्न पाउने छन् ।’

हजुरबुवाः ‘ज्वाइँको अरू कुरो त ठीकै लाग्यो, वेदका राम्रा कुरालाई पण्डितले बिगारेका पनि छन् । तर, भगवान् नै छैनन् भने यो संसार कसले बनायो त ? सबै बनाउने भगवान् नमान भनेर त भन्न भएन नि !’

त्यतिन्जेल कुरा खुब ध्यानसँग सुनिरहनुभएका नेत्र दाइले भन्नुभयो,

‘ज्वाइँले भनेको पनि त त्यही हो नि हजुरबुवा, दुनियाँ कसरी बन्यो ? भन्ने थाहा नहुँदासम्म हजुरले भने जस्तै कुनै चेतना भएको भगवान् छन्, चाहे तिनी ‘ब्रह्मा’ हुन्, चाहे ‘अल्लाह’ हुन् चाहे ‘गड’ नै हुन् भन्ने मान्यता रहँदासम्ममा अहिलेसम्मका हाम्रा चलन र संस्कार विकास भएका हुन् र ती कुरा सिकाउनेलाई हामीले ज्ञानी पुरुष भन्ने गरियो । तर, वैज्ञानिक आइन्स्टाइनदेखि लिएर प्रोफेसर हकिङ्सले धेरै अनुसन्धान गरेपछि संसार उत्पत्तिको वैज्ञानिक कारण तथा ब्ल्याक होलका विषयमा बताएपछि बल्ल “चेतना प्रमुख कि पदार्थ प्रमुख” भन्ने विषयको खास छलफल सुरु भएको छ । उनीहरूको खोजभन्दा पहिलाको भौतिकवादी भावनाहरू त केवल तर्कमा आधारित थिए । हाम्रा धर्मगुरुहरूले त अझै पनि मानिसको जुन कुराको ज्ञान छैन त्यहीँबाट भगवान्को अस्तित्वको वकालत गर्नुहुन्छ, अर्थात् ज्ञानको कमीका आडमा मान्छेलाई धर्मका कुरा सिकाइन्छ भने त त्यस्तो ज्ञान बाँड्नेहरू ज्ञानी नभएर अज्ञानी नै भन्नुपर्छ जस्तो लाग्यो मलाई त ।’

त्यतिखेरसम्म कोठामै थिइन् छोरी । नेत्र दाइले बोल्दै गर्दा आएर मेरो छेउमा टाँसिएर बसिन् । नेत्र दाइका कुरा सकिएर दाइ रोकिएपछि उनले मसिनो स्वरमा भन्न थालिन्, ‘मम्मी, मैले स्कूलमा इमेल पठाएकी थिएँ, मेरो मेटर्नल (मावली) ग्रान्डपा (बाजे) पास्ड अवे (बित्नु) भएकोले म अपरझट मम (आमा)सँग नेपाल आएकोले यहाँको रिचुअल कार्य सबै सकिएपछि केही दिनमा स्कूल आउँछु भनेर इमेलमा लेखेकी थिएँ । आज स्कूलबाट इमेल आएको रहेछ, मैले यहाँ के के रिचुअल कार्यक्रम हुन्छ, कसरी गरियो विवरण लेखेर आउनु र त्यो नै कोर्सवर्कमा काउन्ट हुन्छ भनेर लेखेको रहेछ । मलाई सबै बताउनुस् म लेख्छु ।’

मः ‘हुन्छ, म तिमीलाई सबै बताउँछु । अहिलेसम्मको त तिमीले देखिहाल्यौ कसरी बडी (शरीर)लाई बागमती नदीको छेउमा आर्यघाट लगेर दुवै शरीर जलाइयो । कसरी सेतो कपडाले बेरेर हरियो ब्याम्बो (बाँस) को बेड (खाट) बनाएर नदीसम्म लगियो सबै तिमीले देखेजसरी लेख, केही नबुझेको भए हामीलाई सोध । त्यो शवलाई जलाएको ठाउँलाई नेपालीमा ‘घाट’ भन्ने गरिन्छ । अरू पनि म तिमीलाई सबै सिकाउँछु । तर, पहिलेदेखि हाम्रो सोसाइटीमा गर्ने कतिपय कुरा हामीले नगर्ने भएका छौँ । हजुरबुवा र पण्डितजीहरूसँग हामीले गरेको डिस्कसन पनि तिमीले सुन्यौ नि होइन ? त्यो साइन्टिफिक नभएकोले चेञ्ज गर्नुपर्छ, यदि मोडिफाइ गरिएन भने तिमीहरू जस्तो न्यु जेनेरेसनले केही पनि विश्वास नलागेर पूरै मान्न छाड्छौ । त्यसैले गुड (राम्रो) रिचुअल (संस्कार) फलो गर्ने अनसाइंटिफिक चलन सुधार गर्ने प्रयास गर्दैछौँ ।’

छोरीः ‘आई लाइक योर आइडिया मम, यू आर जीनियस ।’ (तपाईंको विचार मलाई मन पऱ्यो)

मः ‘म मात्र होइन, दिनेश र नेत्र दाइ पनि त्यही भन्दै हुनुहुन्छ । तिमीले पनि नेपालीमा बोल है । तिमीले नेपाली बोल्न जानेकै छौ, अझै राम्रो नेपाली बोल्न पनि सिक्नुपर्छ ।’

छोरीः ‘योर (हजुरको), हजुरबुवाले भनेको अनुसार के के गर्नुपऱ्यो ? व्हिच यू नट एग्रीड ? (कुन कुरामा उहाँसँग हजुर सहमत हुनुभएन ?)’

मः ‘तिमीले अंग्रेजीमा बोल्दा सबै कुरा हजुरबुवाहरूले बुझ्नुहुन्न नि त, तिमीले नेपालीमा बोल न ।’

छोरीः ‘हो म ट्राइ गर्दै छु, बट (तर) सबै नेपाली वर्डस (शब्द) लाइक ‘एग्रीड’ (सहमत) भन्न मलाई नेपालीमा भन्न आउँदैन त्यसैले भनेको हो, म नेपाली वर्ड ट्राइ गर्दै छु ।’

मः ‘ठीक छ, तिम्रो प्रयास ठीक छ, यस्तै सिक्दै जानुपर्छ, एग्रीडलाई नेपालीमा **सहमत** भनिन्छ ।’

हाम्री छोरी जस्ता विदेशमा हुर्किएका नयाँ पुस्ताले कति नेपाली संस्कृति र संस्कार अर्को पुस्तालाई सिकाउँछन् भन्ने त भन्न सकिन्न । तर, हामी नेपालमै सबै चालचलन सिकेको र देखेकोले त्यही राम्रो लाग्छ । त्यसैले यिनीहरूले पनि त्यही सिके हुन्थ्यो जस्तो लाग्छ हामीलाई । तर, पहिलेको छुवाछुतको चलन हामीले नै विरोध गर्छौं । पहिलाभन्दा त धेरै चलन फेरियो पनि । बुवाले भनेको सुनेको मैले त, पहिला पहिला त बजारतिर पनि बाहुनका होटल र अरू होटल पनि हुन्थे रे । बाहुनले अरू होटलमा नखाने र चोखोनितो गरिने मान्यताका आधारमा बाहुनले चलाएको बाहुन होटलमा चाँहि खाना खान्थे रे ।

‘अ साँच्चै, हजुरबुवा, नेत्र दाइ कसैसँग बुवा–आमाले केही कुरा गर्नुभएको थियो कि एउटा खुल्दुली लागिरहेको छ । बुवाआमालाई सोधेर खुल्दुली मेटाउनुपर्ला भन्ने सोचेकी थिएँ तर उहाँहरू नै हुनुहुन्न अब कसरी थाहा पाउने केही बुझेकै छैन ।’

नेत्र दाइः ‘के खुल्दुली हो भनन् त, थाहा भए भनिहाल्छौँ, तिमीले के खुल्दुली हो भन्ने नभन्दासम्म त थाहा छ कि छैन भन्ने नै नहुने भयो नि त ।’

मः ‘अ त नि, के भने नि मैले बेलायतमा एउटा नेदरल्याण्ड्सकी एउटा म जस्तै केटी भेटेँ । शरीर अनुहार दाँत सबै मेरै जस्तै छन्, अझ जन्मदिन पनि उनको र मेरो एउटै रहेछ । त्यसैले हामी त जुम्ल्याहा सन्तान भए जस्तो खुल्दुली लागिरहेको छ । उनीसँग भेट भएको पनि धेरै दिन भएको छैन । उनका बुवाआमा त हुनुहुन्छ, उहाँहरूबाट पनि थाहा त लाग्ला कि ! तर हजुरहरूलाई त्यस विषयमा केही थाहा छ कि भनेर हो । हुन त त्यसो भन्दैमा हामी जुम्ल्याहा हौँ नै भन्ने पक्कापक्की त छैन । खुल्दुली मात्र हो । त्यस्तो भएको भए त बुवाआमाले मलाई त भन्नुपर्ने, केही पनि भन्नुभएन । तर, एक्कासि उनीसँग भेट हुँदा खुल्दुली लागिरहेको छ ।’

नेत्र दाइः ‘तिमी त दाइले नेदरल्याण्ड्समा पढ्दा त्यहीँ जन्मिएकी हौ । पछि पढाइ सकेर दाइ–भाउजू आउँदा तिमीलाई लिएर आउनुभएको हो । त्यस्तो तिम्रो अरू कोही जुम्ल्याहा जन्मेको भन्ने त कहिल्यै केही कुरा पनि गर्नुभएन । हस्पिटलमा जन्मिँदा नै त्यहीँबाट जुम्ल्याहा अर्को तिम्रो दिदी वा बहिनीलाई डाक्टर नर्सले नै लुकाएको भए मात्र हो । नत्र, दाइ भाउजूले हामीलाई कि त तिमी ठूली भएपछि तिमीलाई केही त भन्नुपर्ने हो । अब त उहाँहरू पनि हुनुहुन्न सोधेर थाहा पाउने कुरा पनि भएन ।’

हजुरबुवाः ‘खै त्यस्तो तिम्रो जुम्ल्याहा भन्ने त हामीले कहिल्यै सुनेनौँ थाहा पनि पाइएन । त्यस्तो भए त भन्दा हुन् । केही थाहा भएन । नेत्र बाबुले भनेजस्तै उतै अस्पतालबाटै डाक्टर नर्सले गायब पारेर उनीहरूलाई पनि थाहा नभएको भए भन्न सकिएन । त्यस्तो त नहुनपर्ने हो । अब त यहाँ कसैलाई थाहा नभएपछि कि त तिमीले भने जस्तै ती अर्की नानीका बाउआमालाई भेटेर सोध्यो भने थाहा लाग्ला । हामी उता जाने खोज्ने कुरा भएन । यहाँबाट अब सबै काम सकेर फर्किएर गएपछि तिमी आफैँले पत्ता लाउली । बरु त्यस्तो तिम्रो जुम्ल्याहा भए त यहाँ ल्याउन पनि पऱ्यो भेट्न पऱ्यो । फेरि जन्ममिति पनि एउटै भनेपछि, तिमीसित जिउ–डाल, कपाल, आँखा, कान, दाँत सबै मिल्ने हिसाबले त जुम्ल्याहा हुन सक्ने देखियो । नत्र उताका मान्छे त गोरा, खैरा आँखा, खैरो कपाल हुनुपर्ने हो ।’

मः ‘त्यही त हजुरबुवा यी सबै कुरा केलाउँदा जुम्ल्याहा दिदीबहिनी भेटिएकी जस्तो लागेर त खुल्दुली भइराखेको छ । साइकलबाट लडेर हात खुट्टा भाँचिएर मेरै अस्पतालमा आइपुगेकीले उनको उपचारकै सिलसिलामा मैले भेटेकी हुँ । हामीसँगै काम गर्ने नर्सले हो पहिलोचोटि हामीलाई उस्तै डाक्टर र बिरामी भनेर झक्झकाएको । पछि कुरा हुँदा ती केटीले पनि ‘म’लाई आफू जस्तै भएको जस्तो लागेको बताइन् । मलाई त उनलाई देख्नासाथ आफू जस्तै लाग्यो अझ जन्ममिति पनि एउटै देखेपछि त पक्कै हामी जुम्ल्याहा नै हौँ कि जस्तो लागिरहेको छ । तर, ती केटीलाई भने हाम्रो जन्ममिति पनि एउटै हो भन्ने थाहा छैन । मैले त उनको अस्पतालको रेकर्डबाट उनको जन्ममिति थाहा पाएर हेर्दा मेरो र उनको एउटै दिन जन्म भएको भन्ने थाहा पाएँ । उनलाई त मेरो जन्ममिति मैले बताएकी पनि छैन, अरू कतैबाट मेरो जन्ममिति उनले थाहा पाउने कुरा पनि भएन ।’

त्यतिञ्जेल भाउजू कुरा सुनेर बसिरहनु भएको थियो । उहाँलाई पनि जुम्ल्याहा केटी हुन सक्ने कुरा सुनेर खुबै खुल्दुली लागेछ । अनि भन्नुभयो ‘मलाई पनि जुम्ल्याहा नै हो कि जस्तो पो लाग्न लाग्यो, हजुर त आफैँ पढेलेखेकी डाक्टर मान्छे । हैन, रगत जाँचेर जुम्ल्याहा हो कि होइन भन्ने थाहा हुन्छ होला नि । मलाई त अर्की नन्द नै हुनुहुन्छ कि जस्तो पो लाग्न थाल्यो ।’

मः ‘अँ भाउजू, रगत जाँचेपछि थाहा त हुन्छ जुम्ल्याहा भए नभएको । त्यसैले उनको उपचारको लागि आवश्यक नहुने भएर पनि मैले उनको रगतको **डीएनए सिक्वेन्स** जाँच्न पठाएकी छु । उता त्यो टेस्टको रिजल्ट पनि आयो होला तर यता यस्तो भयो यहाँ आउनुपऱ्यो । उता खुल्दुली यता पीर अझ बुवाआमालाई सोधेर जुम्ल्याहा भए नभएको पत्ता लगाउँला भनेको पनि हरायो । हुने बेलामा सबै एकैचोटि भइराखेको छ । खै के के हुने हो, कुन्नि ! मेरो रगतको डीएनए सिक्वेन्स मैले पढ्ने बेलामा सिक्न पनि हुन्छ भनेर जाँचेर राखेकी छु । त्यसैले ती केटीको डीएनए सिक्वेन्स रिपोर्ट हात पऱ्यो भने अनि मेरो र उनको डीएनए सिक्वेन्स हेरेर पत्ता लगाउनुपर्ला भन्ने सोचेकी छु । डीएनए सिक्वेन्सको विषयमा सबै कुरा मलाई त थाहा छैन, डीएनए सिक्वेन्सकै विषयमा पढेको विशेषज्ञ एउटा साथी छ, उसैको सहयोग माग्नपर्ला भन्ने पनि सोचेकी छु ।’

त्यत्तिकैमा नेत्र दाइको फोनमा घण्टी बज्यो । दाइले फोन उठाउँदै ‘हेलो...’ भनेपछि उताबाट आएको आवाजको उत्तर दिँदै भन्नुभयो । ‘ए ल अर्जुन हामी यहीँ छौँ । तिमी ट्याक्सी लिएर सिधै यहीँ आऊ । हामी तिमीलाई पर्खिरहेका छौँ । पिताम्बर काका पनि अहिले अफिस जानुभएको छ । अर्जुनले कागज लिएर आएपछि आफू आएर सबै कागज हेरेर केके गर्नुपर्छ सल्लाह गरौँला भन्दै जानुभएको हो । अब मैले तिमी आइपुगेको खबर गर्छु तिमी आइपुग्दासम्ममा काका पनि यहाँ आइपुग्नुहुन्छ होला ।’

मलाई छोरी त्यहाँको माहोलमा रमाउन नसकेकोमा पनि पीर लागिरहेको छ । त्यसै त यो दुःखको मौकामा सबैलाई नरमाइलो अझ विदेशमा हुर्किएकी र नेपाली चलन र संस्कार थाहा नभएकी छोरीलाई गाह्रो त पक्कै भएको छ । तर, उनले पनि पारिवारिक समस्यालाई बुझेरै सहज हुन प्रयास गर्दै गरेको मैले त अनुभूति गरिरहेकी छु । उता उनको स्कूलले लेख्न भनेको यस्तो अवस्थाका संस्कार पद्धति रहनसहनका बारेमा उनलाई सिकाउने मौका पनि मैले मिलाउन सकिरहेकी छैन । एक मनले दिनेशलाई छोरीको त्यो विवरण लेख्ने जिम्मेवारी सिकाइदिन जिम्मा दिऊँ कि जस्तो भने मनमा आयो तर आफैँ सरिक भएर छोरीलाई महिला भावनाबाटै सिकाउने मन बनाएँ । अर्जुन आइपुग्दा पिताम्बर काका पनि आइपुग्ने समय मिलाएर नेत्र दाइले काकालाई खबर पनि गरिसकेको हुनाले एकैछिन उहाँहरू आइनपुग्दासम्म छोरीसँग कुरा गर्ने विचारले छोरीलाई भनेँ ‘तिमीले स्कूल वर्कको लागि लेख्न भन्दै अघि सोधेको विषयमा म अहिले अलिअलि बताउँछु तर, काकाहरू आइपुग्नुभयो भने बाँकी विषय तिमीलाई पछि बताउनेछु ।’

छोरीः ‘हुन्छ मम्मी, म तपाईं बिजी (व्यस्त) भएको मलाई थाहा छ, वरी (चिन्ता) नगर्नुस्, केही कुराहरू त म देखेकै हजुरहरूको कुरा गराइबाट पनि सिकिरहेकी छु, त्यसैबाट पनि लेख्छु बट (तर) तपाईँले पहिलाको चलन जस्तो गर्नुपर्ने के के नगर्ने त्यो बतायो भने म अरू त लेख्न सक्छु ।’

दिनेशः ‘हुन्छ छोरी, मम्मीले सिकाउन नभ्याएको म पनि सिकाउँछु । तिमीलाई थाहा छ नि सबै कति छिटो छिटो भइराखेको छ । हामीले र तिमीले टाइम मिलाएर तिम्रो कोर्स वर्क पनि भइहाल्छ, वरी नगर है । म पनि सघाइहाल्छु नि ।’

छोरीः ‘ओके ।’

मः ‘नेपाली चलनअनुसार कोही मरेपछि १३ दिनसम्म किरिया गर्नुपर्छ । किरिया गर्दा सबै कपडा नसिलाएको कटनको सेतो पहिरन बेरेर बस्नुपर्छ । कम्मल ओढ्न हुन्छ अरू सधैँ जस्तो प्रयोग गर्ने सिरक बिछ्यौनासमेत प्रयोग गर्न हुँदैन । कटनको कपडालाई नेपालीमा **सुतीको कपडा** भनिन्छ । नुन नखाने सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । पूरा किरिया गर्न पुरुषहरूलाई मात्र एलाउड (अनुमति) छ । लोग्ने मर्ने महिलाहरूले पनि चुरा फोरेर सबै मेकअप धोइपखाली गरेर गहनाहरू खोलेर नसिलाएको कपडा मात्र लगाएर कसैसँग नछोईकन १३ दिनसम्म पूरै किरिया गर्छन् । तर, श्रीमती मरेको लोग्नेले भने त्यस्तो गर्दैनन् । आमा मर्दा छोराले पनि नसिलाएको कपडा मात्र लगाएर कसैसँग नछोईकन १३ दिनसम्म किरिया गर्छन् । बुवाआमा मर्दा छोरीहरूले पनि त्यस्तो गर्दैनन् । आधा किरिया मात्र गर्छन् । कपडा सेतो लगाउँदैनन् । छोरीहरूले नुन नखाने र शुद्ध हुने गरेर पाँच दिन मात्र गर्ने आधा किरियालाई **ठाडो किरिया** भनिन्छ ।

छोरीः ‘त्यो त **डिस्क्रिमिनेसन** (विभेद) भयो नि त ।’

मः ‘त्यस्ता महिला पुरुषकाबीचका डिस्क्रिमिनेसन अर्थात् **विभेद र असमानता** त कति छन् कति, तिमीलाई बुझ्न र पत्याउन नै गाह्रो हुन्छ । सबै अहिले म तिमीलाई बताएर पनि सक्दिनँ तर अहिले यो किरिया बस्ने विषयमा पहिला सिकाउने प्रयास गर्छु ।’

‘किरिया बस्ने छोराहरूले दाजुभाइहरूले ल्याइदिएको चामल लिएर पँधेरामा गएर पकाएर खान्छन् । पँधेरा भनेको पानीको मुहान अर्थात् स्रोत भएको ठाउँ हो । घरभित्र पानीको धारा नहुने अवस्थामा विकास भएका चलन हुन्, धेरैजसोले त्यो चलनलाई अहिले पनि त्यस्तै गरी अपनाउनुपर्छ भन्ने तर्क गर्छन् । त्यसैले नगिचको नदी–खोलाको तिरमा गएर पकाएर खाने गर्छन् । पकाउँदा ढाकेर पकाउन हुँदैन भनेर बाहुनहरूले सिकाउँछन् । यो किरिया गर्ने प्रचलनको पछाडि बालबच्चा हुर्काउन बाबुआमाले गरेको मिहिनेत तथा दुःख सम्झिने तथा त्यस्तै दुःख आफूले अनुभव गर्ने भावनाबाट पहिलेका चिन्तकहरूले लागू गराएको हुनसक्छ भन्ने पनि कतिपयले तर्क गर्ने गर्छन् । मानिसले उपयोग गर्ने सुविधाहरू धेरै नै थपिएका छन् । तर, हाम्रा किरिया बस्ने चलनहरू मानिस कृषि युगमा प्रवेश गर्दा चलाइएको प्रचलनभन्दा अगाडि बढ्न सकेका छैनन् । किरिया बस्ने मानिसले त १३ दिनपछि सबै छाडेर अरू दैनिकीमा लागिहाल्छन् । त्यो १३ दिनसम्म चिन्ता तथा सन्तापका कारण प्रचलनमाथि यो यस्तो किन भनेर प्रश्न गर्ने हिम्मत कसैलाई हुँदैन, पण्डितहरूले र बुढापाकाहरूले जे चलन छ भन्छन् त्यसैअनुसार पालन गर्ने मात्र गरिन्छ । धेरै पहिला पण्डितहरूको बीचमा शास्त्रार्थ गर्ने छलफल गर्ने र समाजका प्रचलनहरू र सामाजिक नियमहरू कति हेरफेर गर्नुपर्छ वा कति फेर्नु हुँदैन भन्ने बहस हुन्थ्यो रे । तर, अहिलेका पेसागत बाहुनहरूमा त्यसखालको अनुसन्धान गर्ने छलफल गर्ने प्रचलन हराएको हुनाले पनि प्रविधि र सुविधाहरू अनुसारका सामाजिक मान्यता र नियमहरूलाई मिलाउने गरिँदैन । बरु पहिलेको चलन जस्ताको तस्तै चलाउनुपर्छ भनेर संस्कृति जोगाउने वकालत गर्ने गरिन्छ । त्यो १३ दिनलाई **जुठा परेको** भनेर १० पुस्तासम्मका बुवातिरका दाजुभाइहरूले भगवान्को पूजा गर्दैनन् । नुन नखाने भन्छन् । नुन नखानुलाई चिन्ताको समयमा **ब्लड प्रेसर** कम हुने वैज्ञानिक तथ्यसँग जोडेर त्यसको समर्थन पनि गर्ने गरिन्छ । तर, नुन नखाने चलन त ब्लड प्रेसर नाप्ने यन्त्रको प्रचलनभन्दा पनि पहिलादेखि चलाइएको हो । जे होस जानी नजानी जसरी भए पनि राम्रै भएको छ भने त त्यो चलनले के नै बिगार्छ र ! दिउँसोमा भने गरुढ पुराण सुन्ने चलन छ । गरुढ पुराणमा लेखिएका तथा पण्डितले वाचन गरेर सुनाइने तथ्यहरू तिमीहरूलाई पटक्कै पत्यार लाग्ने खालका छैनन् । पाप गरेको मान्छे **ट्युबरक्लोसिस टिबी** रोग लागेर मर्छ भनिएको छ । जबकि औषधिको आविष्कारपछि टिबी रोगबाट मान्छे मर्न छाडे । पण्डितका भाषाको ‘पाप’ नै मान्छेहरूले विश्वास गर्न छाडेका भने छैनन् ।’

मैले काजकिरियाका विषयमा छोरीलाई भन्दै गर्दा मैले बताएका जानकारी र त्यसबाट छोरीलाई पर्नसक्ने मनोवैज्ञानिक प्रभावका विषयमा दिनेशले सुनिरहेका र मनन गरिरहेका थिए । मेरो कुरामा थप जानकारी थप्दै उनले भने, ‘यी हाम्रा चलनहरू **अध्यात्मवाद** तथा धर्मका नियमसित सम्बन्धित छन् । सबै संसार सिर्जना गर्ने ‘**चेतना**’लाई ईश्वर मान्ने गरिन्छ र चेतनशील मान्छे मरेर शरीरबाट चेतना हराएपछि त्यो हराएको चेतनालाई **आत्मा** भनिन्छ । शरीरबाट छुट्टिएपछिको त्यो चेतनाको जगत यहीँ **ब्रह्माण्ड**मा मडारिएको हुन्छ । त्यसैलाई **पितृ** भनेर मरेको मान्छेको आत्माको कल्पना गरिएको छ । सनातन भनिने पूर्वीय दर्शनमा ईश्वरीय आत्मालाई **परमात्मा** भन्ने गरिन्छ । यो मरेका मान्छे मरेको विषयको काजकिरियालाई पितृ कार्य र परमात्मा पूज्ने कार्यलाई पूजा भन्ने गरिन्छ । वैज्ञानिक तथ्यबाट हेर्ने हो भने मान्छे मरेपछि पनि उसका सम्झना र मृत शरीरबाट मृत्यु हुनुपूर्व सिर्जित **ऊर्जा–इनर्जी** तथा मरेकै शरीरबाट पनि सिर्जित हुने अदृश्य इनर्जीलाई आत्मा मान्ने गरिएको छ । विज्ञानले पुष्टि गरेका तथ्य नबुझ्दाका अवस्थाका चिन्तकहरूले अनुमानका भरमा व्याख्या गरेको जस्तो लाग्छ मलाई । त्यस्तो आत्मालाई खुसी र दुःखी भनेर व्याख्या गर्ने र दुःखी आत्मालाई **भूत प्रेत** मान्ने गरिन्छ । खुसी भएको त्यस्तो आत्मालाई पितृ मानिन्छ र पितृ खुसी पार्ने सन्तानलाई जीवनकालमा सुख हुन्छ भन्ने विश्वास गरिन्छ ।’

छोरीः ‘मैले डार्विनको **विकासवाद** तथा **इभोल्युसन**लाई मान्ने कि यो धर्मको जस्तो ईश्वर–भगवान्–आत्मा–परमात्माको विषय मान्नुपर्छ ?’

दिनेश एकैछिन त चुप लागेका थिए । उनले छोरीको प्रश्नको उत्तर मैले दिन्छु कि भनेर पर्खिएका रहेछन् । तर, मैले छोरीको प्रश्नको उत्तर दिनेशले नै दिऊन् भनेर पर्खिएको बुझेपछि दिनेशले भने ‘छोरी, तिमीले यस विषयमा आफैँले निर्णय लिनुपर्छ । हामी तिमीलाई ईश्वर छ भनेर पनि भन्दैनौँ ईश्वर हुँदैन भनेर पनि प्रमाणित गर्न सक्दैनौँ । म र तिम्री आमाले **विकासवाद**मा विश्वास गर्छौं । यो सबै संसार सिर्जना गर्ने चेतना भएको कुनै प्राणी नभएर पदार्थबाट विकास तथा **इभल्भ** (विकास) हुँदै हाम्रो शरीरका अंगहरूका मुटु, फोक्सो, रगत सञ्चार जस्ता सबैले काम गर्दा बल्ल मस्तिष्कले काम गर्छ र बल्ल चेतना सिर्जना हुन्छ भन्ने मान्छौ । हजुरबुवा र नन्दराम गुरुहरूले ईश्वर तथा भगवान् चेतनशील छन् र उनैले सबै बनाउने र चलाउने गर्छन् भन्ने सोच्नुहुन्छ । अब उहाँहरू जस्तो भगवान्को विश्वास गर्ने कि **इभोलुसन थ्यौरी** मान्ने भन्ने तिमी आफैँले निर्णय गर्ने हो । हामीले यो मान्नुपर्छ भनेर कर गर्दैनौँ । हामी सानो छँदाको समाज फरक थियो । हामीलाई ईश्वरको कल्पनाको कथामा विश्वास गर्दैनौँ भन्ने छुट थिएन । हामी **आस्तिक** हुनै पथ्र्यो । **भौतिकवादी** बनेर धार्मिक नियमको बर्खिलाफ गरेमा हामीलाई परिवार र समाजबाट सजाय दिइन्थ्यो । **दमाईंले** सिलाएको कपडासमेत **सुनपानी** छर्किएर मात्र लगाउन पाइन्थ्यो । दमाईंलाई अछुत जात भनेर हेला गर्ने हाम्रो समाजको मान्यता पनि धर्म तथा ईश्वरको आडमा गरिएका व्याख्या हुन् । तिमीलाई हामीले त्यस्तो आस्थाको बन्दी बनाएर राखेका छैनौँ । आफ्नो आस्था स्वतन्त्र रूपले रोज्ने अधिकार तिमीले पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

‘ल, बाहिर अर्जुन आइपुगेछन्, ट्याक्सीबाट झर्दैछन् । अब यो विषयमा पछि फुर्सदमा कुरा गरौँला । यति कुरा तिमीले मिलाएर लेख्दै गर । हामी अब अरू काममा बिजी (व्यस्त) हुन्छौँ । पिताम्बर काका पनि आइपुग्नुहुन्छ होला एकै छिनमा ।’

अर्जुनले ल्याएको हरियो अटैँची मलाई दिए । मैले सोधेँ ‘यसमा त साँचो लगाएको होला साँचो पनि ल्यायौ कि ?’

अर्जुनः ‘दराजको साँचो भएकै झुप्पोमा अटैँचीको साँचो पनि रहेछ । दराजबाट अटैँची झिकेपछि चेक गरेको मिल्यो अनि हजुरहरू सबै यहीँ हुनुहुन्छ भन्ने सोचेर त्यो पूरै झुप्पो नै ल्याएको छु ’ भन्दै खल्तीबाट साँचो झिकेर मलाई दिए ।’

साँचोको झुप्पोबाट मिलाउन खोजेको दुई वटा साँचोले खुलेन, अरू साँचो त पस्दै पसेन तर तेस्रो साँचोले खुल्यो ।

अर्जुनः ‘ए बैनीलाई त सानै छँदा देखेको यति ठूली भइसकिछन् । कतिमा पढ्छिन् ?’

छोरीले आफूूले पढ्ने कक्षाको उत्तर नदिएपछि मैले भनेँः ‘मामाले के सोधेको भन्ने त बुझ्यौ होली, खै त उत्तर दिएको ? तिमीले कति कक्षामा पढ्छौ बताइदेऊ ।’

छोरीः ‘सरी, म त अघि बुवामम्मीले भनेको विषय लेख्ने विषयमा गम्दै रहिछु । प्रश्न त बुझेकी थिएँ उत्तर दिन अल्मलिएँछु । म अहिले १० कक्षामा पढ्छु मामा ।’

अर्जुनः ‘त्यही त तिमीले ६ मा पढ्दा भेटेको थिएँ । चार वर्षपछि भेट्दा त धेरै ठूली देखेँ । बाटोमा देखेको भए त चिन्दै चिन्ने थिइनँ ।’

म यता अटैँचीका कागज एक–एक गरेर हेर्दै थिएँ । पिताम्बर काका पनि आइपुग्नुभयो । मैले कागज राखिएको अटैँची काकालाई पुऱ्याउँदै भनेँ ‘म यो अटैँची खोलेर कागज हेर्दै थिएँ । मलाई यी कागजका विषयमा धेरै जानकारी छैन हजुरले नै हेर्नुस्’ भन्दै काकालाई अटैँची पुऱ्याइदिएँ ।

भाउजूले बिस्कुट एउटा ट्रेमा र चिया लिएर आउनुभयो । अलिअलि भोक पनि लागिरहेकोले बिस्कुट र चिया खाँदै काकाले कागजहरू हेरेपछि के भन्नुहुन्छ भनेर हामी पर्खिरह्यौँ । अर्जुन र छोरीले भने खासखुस–खुसखुस कुरा गर्दै गर्दा सुनेका कतिपय शब्दबाट छोरीले अर्जुनका बेलायत तिरका कुरा जानकारी लिन गरेका प्रश्नहरूको उत्तर दिँदै थिइन् ।

काकाले कागजहरू हेर्दै गर्दा भन्नुभयो ‘एउटा कागज ल्याऊ त, कापी भए पनि हुन्छ, पेन त यहीँ मसँग छ । नोट बनाउनुपर्ने भयो ।’

एकैछिन कागजहरू हेरेर नोटहरू बनाएपछि भन्नुभयो ‘बुटवलको घर र गाउँका जग्गा दाइका नाममा रहेछ । तौलिहवाको एउटा घडेरी तिम्रो नाममा रहेछ र काठमाडौंको घडेरी भाउजूको नाममा रहेछ । पछि किनेका घडेरीहरू महिलाका नाममा किन्दा पास खर्च पनि कम पर्ने भएर होला तिमी र भाउजूका नाममा किन्नुभएको रहेछ । ठीक छ । यो हप्ता मैले यहाँका कामहरू मिलाइसकेको छु । त्यसैले भोलि नै बुटवल जाऊँ र पर्सि गाउँमा गएर वडा कार्यालयबाट सिफारिस बनाएर तौलिहवा गएर निवेदनहरू दर्ता गर्नुपर्छ । निवेदन दर्ता गरेपछि १५ दिनको सूचना प्रकाशित गर्छन् । त्यसपछि नामसारी भइहाल्छ । सबै ठीक गरेर आइसकेपछि म गइराख्नु पर्दैन ज्वाइँ र छोरी मात्र गए पनि भइहाल्छ । खासमा अस्मिताको ल्याप्चे र फोटो आवश्यक हुन्छ जग्गा धनी पुर्जामा ।’

मैले काकाको भोलि नै बुटवल गएर कागज ठीक पार्ने काम सक्ने विषयमा सहमति जनाउँदै भनेँ ‘काकाले हिजो भनेको एउटा कुरा याद आयो, त्यो तौलिहवाको मेरो नाममा भएको जग्गाको विषयमा चाँहि म नेपाली नागरिक नै रहेको र जग्गा किनेपछि विदेशको नागरिकता लिएको विषय कानुन अलि जेलिएको बताउनुभएको थियो, त्यसको लागि पनि गएको बेलामा केही गर्नुपर्छ कि ? मैले खालि केही गर्नुपर्ने भए काम सकेर जाने कि भनेर मात्र सोधेकी काका ।’

काकाः ‘ए साँच्चै मैले त बिर्सिएको नि ! तिमीले त विदेशको नागरिकता लिइसकेको विषय बिर्सिएर भोलि नै बुटवल जाने भनेको । ल भोलि जाने कुरा हुने भएन । विदेशी नागरिकको हकमा त अपुताली र अंशबाट प्राप्त हुने सम्पत्तिको जग्गाधनी पुर्जा बनाउनको लागि परराष्ट्र मन्त्रालयबाट पत्र लिएर जानुपर्छ र नीलो पुर्जा बनाउनुपर्छ । आज अब अबेला भइसक्यो परराष्ट्रमा गएर निवेदन दिन भ्याइँदैन । म अफिसबाट एउटा भाइलाई अहिले यहीँ बोलाउँछु । निवेदन तयार पार्न लगाउँछु र भोलि बिहान नौ बजे नै त्यहाँबाट पत्र बन्यो भने भोलि नै बुटवल जाउँला भएन भने कागज बनेपछि जाउँला । यो गैरआवासीय नेपालीसम्बन्धी विषय धेरै प्रयोग भएको छैन त्यसैले मन्त्रालयमा अनेक कुरा पनि गर्न सक्छन् । म आफू नै जान्छु । छन त हामीसँगै पढेको एकजना साथी सहसचिव छन् त्यहाँ तर पनि म आफैँ गएर काम फटाफट गर्न लगाउँछु ।’

काकाले फोन गरेर आफ्नो अफिसको एकजना कर्मचारीलाई त्यहीँ बोलाउनुभयो । उनी आएपछि काकाले सबै जग्गाको विवरण दिएर निवेदन तयार पार्ने विषय र तरिकाहरू सिकाउनुभयो । ती कर्मचारीले पनि घरमा गएर कागज तयार पारेर बिहान ८ बजे सबै तयारी कागजहरू लिएर आइपुग्ने भनेर जान थाल्दा भाउजूले भन्नुभयोः ‘अब साँझ पर्न थाल्यो खाना पनि तयार हुनै आँट्यो, खाना खाएर जानुस् बाबु ।’

कर्मचारीः ‘होइन भाउजू घरमा पाकिराखेको छ, म अहिले जान्छु घरमा गएर यो सबै तयारी गर्ने काम पनि छ । अबेला गएँ भने यो लेखिसक्न मुस्किल हुन्छ ।’

बिहान ८ बजे सबै जना त्यहीँ आउने र नेत्र दाइकै गाडीमा परराष्ट्र मन्त्रालय जाने सल्लाह भयो । मसँग भएको गैरआवासीय नेपालीको कार्ड पनि ती कर्मचारीलाई दिएर पठाएँ । नेत्र दाइले पनि भोलिपल्ट बिहान चिया नास्ता गरी आउने हुनाले आफ्नो लागि चिया नास्ता तयार नगर्न पनि भन्नुभयो ।