ट्वाक... ट्वाक... गर्दै ढोका ढक्ढकाएको आवाज सुनेपछि, इमेल लेख्दै गरेको ल्यापटप छेवैको टेबुलमा राखेर दिनेश ढोका खोल्न जाँदै गर्दा ढोका बाहिरबाट नेत्र दाइले, ‘तल पिताम्बर काका आइसक्नु भएको छ’ भन्दै गरेको आवाज सुनियो । दिनेशले ढोका खोल्दासम्ममा नेत्रदाइ त्यहाँबाट गइसक्नु भएको रहेछ । उहाँले पिताम्बर काका आइसकेकोले हामी तल झर्नुपर्ने सन्देश दिइसक्नु भएको थियो । त्यसैले दिनेश बाथरुमतिर गएको थाहा पाएर म अझैँ अल्छी मान्दै विस्तारामै कोल्टे परेँ । दिनेशले सिध्याएपछि बाथरुम छिर्ने मेरो पालो भन्ने बुझाइ रह्यो । झ्याल बाहिरको सूर्यको किरणलाई पर्दाले छेक्न नसकेकोले उज्यालो कोठाभरि छरिएको रहेछ । समय यसो पायो कि यो मन भने बुवा र आमाको विछोडको पीडाले छट्पटाउन थालिहाल्यो । आमाको सधैँ बिहानै उठेर नुहाउने र घरधन्दा गर्ने, गाग्रीमा पानी भरेर राख्ने, पूजाको बत्ती बाल्ने गरेको याद आउन थाल्यो । म सानी छँदा त आमाले चढाएका प्रसादको निकै लोभ लाग्थ्यो । कहिलेकाहीँ सुन्तलाको प्रसाद, माघे सङ्क्रान्तितिर सखरखण्डको प्रसाद र सिजन नभएर अलि रूखो दिनमा मिश्रीको प्रसाद हुन्थ्यो ।
बाथरुमबाट कोठामा आउँदै दिनेशले ‘म तल गएर पिताम्बर काकासँग कुरा गर्दै गर्छु, तिमी पनि फ्रेस भएर आऊ’ भन्दै मेरो प्रतीक्षा नगरी सिँढी झर्दै गरेको आवाज कानमा गुञ्जिएसँगै उठेर हत्तपत्त बाथरुम पसें ।
म बाथरुमबाट दाँत माझिवरी, नुहाएर कपाल कोर्न नथाली सुक्दै गर्छ भन्ने सोचेर रुमाल काँधमाथि राखेर कपालबाट झर्ने पानी सोखोस भन्ने चाहनासहित सिँढी झर्न थालें । तीन दिनदेखिको अस्तव्यस्त भएको समय र व्यवहारले लखतरान भएकोले भुसुक्कै सुतिएछ । पिताम्बर काका बिहान आउनुहुन्छ भन्न त भन्नुभएकै थियो, उहाँलाई फेरि अफिस जान बेर पनि होला भनेर मनमा हतारो जस्तो अनुभव पनि भयो । पिताम्बर काका आखिर हाम्रै कामका लागि आउनुभएको थियो, उहाँको समय त्यसै खेर फालिदिन पनि त भएन । सिँढी झर्दै गर्दा दिनेश र पिताम्बर काकाबीचका राजनीतिक नेताप्रतिका असन्तुष्टिका गफ भइरहेका रहेछन् । मेरा कानमा ठोक्किए । विदेशमा पनि त नेपाली पुरुषहरूको गफको विषय राजनीति हुने गरेको बानी नै परेकोले स्वाभाविकै लाग्यो । महिलाहरूको भेट हुँदा धेरैजसो पहिरन सुहाए नसुहाएको, के सुहायो के सुहाएन भन्नेबाट सुरु गरेर आफन्तजनका घटना आदिका विषयमा मोडिन्छ भने पुरुषहरू राजनीति र नेतातिर कुरो पुऱ्याइहाल्छन् ।
सिँढी झरेपछि सिधै सिटिङ रुमतिर नगएर म बायाँपट्टिको खुल्लै रहेको ढोका हुँदै भित्र भान्सा कोठामा पसें । भाउजूले ताप्केमा मजाले चिया पकाएर गिलासमा खनाउँदै हुनुहुँदो रहेछ । मैले ट्रेमा राखेका तीन कप चिया लिएर बैठक कोठातिर गएँ । नेत्र दाइ पनि बैठक कोठामै हुनुहुन्छ होला भन्ने मेरो अनुमानअनुसार चारकप चिया हुनुपर्नेमा भाउजूले तीन कप मात्र ट्रेमा हालेर दिएकोले मैले सोधेँ ‘तीन जना त्यहाँ हुनुहुन्छ होला मलाईसमेत गर्दा चार कप हुनुपर्ने होइन र भाउजू ?’
‘तपाईंको दाइ तरकारी किन्न जानुभएको छ, आएपछि म ल्याइदिन्छु, हजुरहरू कुरा गर्दै गर्नुहोस् म खाना पकाउँछु’ भाउजूले भन्नुभयो ।
‘हुन्छ, म पनि एकछिन कुरा गरेर आउँछु अनि मिलिजुली पकाउँला’ भन्दै चियाको ट्रे बोकेर सिटिङ रुममा पसें ।
चिया टेबलमा राखेर पिताम्बर काकालाई ‘नमस्कार’ गरें र चिया दिएँ, दिनेशले ट्रेबाट एउटा कप आफूतिर ताने र अर्को कप म बस्न खालि छाडिएको सिटको अगाडिको टी टेबलमा राखिदिएँ । म सिटमा बस्दै भनँे ‘दौडधुप र टेन्सनले निकै थकाइ पनि लागेको रहेछ, मस्त निदाएँछु, काकालाई अलि अबेला भयो कि, कुर्न परेकोमा क्षमा चाहन्छु ।’
काकाले ‘केही छैन, अब म यतैबाट अफिस जाने गरी आएको छु, त्यस्तो हतार छैन । नेत्रलाई म पनि यतै खाना खाएर यतैबाट अफिस जाने हो भनिसकेको छु’ भन्नुभयो ।
उहाँको कुरा सुनेर म अनुग्रहित भएँ । पीडाको समय भएर पनि होला उहाँले हामीलाई सहयोग पुगोस् भनेर समयको तालमेलसमेत मिलाएको अनुभवले गर्दा खुसी लाग्यो । हुन त पिताम्बर काकाको पढाइका दिन तथा संघर्षका दिनमा बुवाले काकालाई खुबै सहयोग गर्नुभएको थियो रे । त्यो भार तिर्ने भावनाले गर्दा पनि होला काकाले त मैले सोचेभन्दा पनि बढी सहयोग गर्नुभएको अनुभूति हुन थाल्यो ।
काकाले चियाको सुरुप्प तानेपछि कप टेबलमा राख्दै भन्न थाल्नुभयो ‘दिनेश ज्वाइँको र तिम्रो पनि काममा हाजिर हुन चाँडै जान पर्नै होला । जे हुने भइहाल्यो, हामीले टारेर टार्न सक्ने कुरा पनि थिएन । पीर गरेर बसेर मात्र पनि भएन । दाइ र भाउजूको अभाव मेरा लागि त सधैँ मेरो जीवनभरि नै खट्कनेछ । उहाँले मेरा लागि लगाएको गुन त मैले कहिल्यै तिरेर सक्दिनँ । म अहिले पिताम्बर भनेर जुन परिचय बनाएको छु सबै दाइले गर्दा नै भएको हो । उहाँको सहयोग नभएको भए मेरो अस्तित्व नै एक साधारण किसानको हुन्थ्यो । जे हुनु भयो । अब पीर गरेर मात्र भएन । उहाँका नाममा भएका सम्पत्तिहरू पनि अहिले नै नामसारी गरेर जानुपर्छ नत्र फेरि आउन पनि समय मिलाउन अप्ठेरो हुन्छ होला । हुन त फेरि आउँदा भेटघाट हुने मौका मिल्थ्यो । तर, भेटघाटलाई त समय भयो भने त्यसै पनि आए भइहाल्छ । बरु के कसो छ, मतिर हेरेर तिम्रो विदेशको नागरिकता बनाएकी छौ कि ? के छ कानुनी हिसाबले सबै मिलाउनुपर्छ । दाइ–भाउजू हुँदासम्म मैले यस विषयमा सोधखोज पनि गर्न परेको थिएन । तर, अब तिमीले दाइ–भाउजूको अभाव बेहोर्न नपर्ने गरी मैले सबै जिम्मेवारी निभाउँछु । चिन्ता नगर ।’
‘अँ काका, विदेशमा धेरै वर्ष बसेपछि जहाँ बस्यौँ त्यहीँको चाँजोपाजो मिलाउनुपर्ने रहेछ । मैले त बेलायतको नागरिकता र पासपोर्ट लिएकी छु । कहिलेकाहीँ फेसबुकतिर विदेशी नागरिकता लिएका नेपालीले नेपालमा जग्गा किन्न बेच्न पाइन्छ भनेको पनि देखिन्छ । कहिले फेरि विदेशी नागरिकता लिएका नेपालीको सम्पत्ति सरकारले खाइदिन्छ भन्ने हल्ला पनि सुनिन्छ । मैले त केही बुझेकी पनि छैन । छोरीको पनि उतैको पासपोर्ट बनाइदिएका छौँ । अरू देशतिर हिँड्दा पनि बेलायती पासपोर्ट भएपछि सजिलो हुने । नेपाली पासपोर्टमा भिसा लिन पनि झन्झट हुने, धेरैजसो देशमा त बेलायती पासपोर्ट भएपछि पहिला भिसा नलिई गएर पुगेपछि भिसा लिए पनि हुने भएर पनि बाध्यता जस्तै भएका कारण पनि विदेशी नागरिकता बनाइयो’ मैले भनें ।
काकाः ‘त्यो त हो नि बेलायती पासपोर्ट भएपछि धेरै सजिलो हुन्छ । उतै बस्ने भएपछि लिनु पनि पर्छ । अरू त कानुनले गैरआवासीय नेपालीका लागि पनि सबै हकको व्यवस्था गरिसकेको छ । तर, विदेशी नागरिकता लिनुभन्दा पहिला आफ्नो नाममा भएको सम्पत्तिको विषयमा कानुन अलि अप्ठेरो छ । दाइ–भाउजूका नामको सम्पत्ति अपुतालीबाट तिम्रो नाममा मिलाउन त मिल्छ बरु तिम्रो नाममा बेलायतको नागरिकता लिनुभन्दा पहिला कुनै जग्गा जमिन छ कि नाइँ कुन्नि ?’
मः ‘बुवा जागिरमा तौलिहवा खटिएका बेला एउटा घडेरी त्यहाँ किन्नुभएको थियो त्यो घडेरी भने मेरो नाममा किनेको भन्नुहुन्थ्यो । म त त्यतिबेला पढ्दै थिएँ । अरू त मेरो नाममा केही भएजस्तो लाग्दैन । त्यो तौलिहवाको जग्गा पास गर्न नागरिकता चाहियो भनेर खबर गर्नुभएकोले मैले नागरिकता बुवालाई पठाइदिएकोले, त्यो घडेरी भने मेरो नाममा भएको जस्तो लाग्छ । कागजहरू खोजेर हेरेपछि थाहा हुन्छ ।’
काकाः ‘दाइले सबै जग्गा जमिनका कागज र महत्त्वपूर्ण कागजहरू बुटवलको घरको दराजभित्र हरियो अटैँचीमा राख्नुहुन्थ्यो । त्यो अटैँची खोलेर सबै कागज चेक गर्नुपर्छ । त्यसपछि नामसारीको प्रक्रिया सकेर फर्कनु तिमीहरू ।’
मः ‘अर्जुन दाइ त्यहीँ घरमा बस्नुहुन्छ । उहाँलाई दराजको साँचो कहाँ छ ? थाहा भए फोन गरेर दराजभित्रको हरियो अटैँची लिएर आउन फोन गर्छु ।’
काकाः ‘हुन्छ, अर्जुनलाई फोन गरेर प्रयास गर । तिम्रो फोनमा त बेलायतकै सिम होला लौ, अर्जुनको नम्बर पनि यसैमा छ, मैले लगाइदिएको छु, ल कुरा गर’ भन्दै मलाई आफ्नो फोन दिनुभयो ।
मैले उहाँको फोनबाट गइरहेको घण्टी सुन्दै कानमा लगाएँ । उताबाट चार घण्टीमा फोन उठ्यो र आवाज आयो ‘काका प्रणाम’
मः ‘हेलो, अर्जुन म अस्मिता दिदी हो, पिताम्बर काकाको फोनबाट फोन गरेकी । यहाँ यस्तै भयो तिमीहरू त घाटबाट उतैबाट बुटवल गएछौ । पछि थाहा पाएँ । तिमीले एउटा काम गर्नुपर्ने भयो ।’
अर्जुनः ‘भन्नु न दिदी मैले के गर्न पऱ्यो म गरिहाल्छु नि ।’
मः ‘माथि बुवाआमाको कोठाको दराजको साँचो कहाँ छ ? तिमीलाई थाहा भए त्यहाँ दराजभित्र हरियो अटैँची होला त्यो लिएर काठमाडौं आउनुपर्ने भयो ।’
अर्जुनः ‘हुन्छ नि दिदी, सधैँजसो भाउजूले त्यो दराजको साँचो उहाँहरू सुत्ने बिछ्यौनाको सिरानीमुनि राख्नुहुन्थ्यो । म गएर एकपटक हेर्छु । त्यहाँ रहेछ भने दराज खोलेर मैले त्यो अटैँची लिएर म आफैँ आउनुपर्छ कि अरू कसैसँग पठाए हुन्छ ?’
फोनमा कुरा गर्दै उनी सिँढी चढ्दै गरेको फोनमै सुनिएको खुट्टाको आवाजले अनुमान गरें । उता अर्जुनको आवाज फोनमा सुनिँदै छः ‘सधैँ कतै जाँदा घरको साँचो यहीँ मलाई दिएर जानुहुन्थ्यो । त्यही साँचो लिएर माथि दराज खोल्न जाँदै छु ।’
मः ‘त्यहाँ तिम्री श्रीमती छोरीहरू त सञ्चै छौ ? उता गाउँमा माइला बुवा माइलीआमाहरू पनि सञ्चै हुनुहोला ?’
अर्जुनः ‘हामी त सबै सञ्चै छौँ दिदी, आमा पनि यहीँ आउनुभएको छ । काका–काकी (मेरा बुवा–आमा) यस्तो भएको थाहा पाएदेखि रोएको रोई हुनुहुन्छ । सहारा नै हरायो भन्दै पीर मान्नुभएको छ । हामीले त सम्झाउनै सकेका छैनौँ ।’
अर्जुनले ढोका खोलेको आवाज सुनियो । उनी माथि पुगेर बुवाआमाको कोठाको ढोका खोलेको अनुमान गरें ।
मः ‘तिमी माथि कोठामा पुगे जस्तो छ, अब दराज खोलेर हेर त हरियो अटैँची रहेछ भने त्यो लिएर तिमी बरु भैरहवाबाट प्लेनमा आजै आऊ ।’
अर्जुनः ‘हो दिदी, ढोका खोलें, साँचो पनि सिरानीमुनि नै रहेछ ।’
अर्जुनले दराजको ढोका खोलेको आवाज पनि सुनियो र उनले भने ‘भेटियो दिदी, हरियो अटैँची यहीँ रहेछ । म अब यो लिएर ढोका बन्द गरेर भैरहवातिर हिँडिहाल्छु । पहिलो फ्लाइटबाट आउँछु । हजुर पिताम्बर काकाकोमा हो ?’
मः ‘होइन, हामी नेत्र दाइकोमा छौं । तिमी एयरपोर्टबाट ट्याक्सी लिएर सिधै नेत्र दाइकोमा आउनु । दाइको घर त थाहा छ नि तिमीलाई ?’
अर्जुनः ‘म पोहोर साल मेरी श्रीमतीको टोफेलको जाँच दिलाउन जाँदा एक हप्ता त्यहीँ दाइकोमा बसेको हो नि । मलाई सबै थाहा छ म सरासर आइपुग्छु ।’
मः ‘हुन्छ त ल फोन राख्छु है त ।’
अर्जुनले ‘हुन्छ दिदी’ भन्दै फोन काटे ।
काकाः ‘अब कागज आइपुगेपछि सबै कागज हेरेर के कसो गर्ने मैले प्लान बनाउँछु । तिमीले चिन्ता लिनु पर्दैन । बरु तिमीले बेलायतको नागरिकता लिइसकेको अवस्थामा तिम्रो नाममा पहिलादेखि रहेको लालपुर्जाको विषयमा भने अलि अप्ठेरो छ । अरू सबै जग्गाहरू नामसारी गरेर तिम्रो नाममा नीलो पुर्जा बनाउने हो । त्यसको लागि मृत्युदर्ता प्रमाणपत्र चाहिन्छ । अनि नगरपालिकाको सिफारिस बनाएर मालपोत कार्यालयमा निवेदन दिएपछि कसैको दाबी विरोध भए दाबी गर्न आउनु भन्ने सूचना जारी गर्छन् । त्यो दाबी विरोधको अवधि समाप्त भएपछि नामसारी निर्णय गरेर दाखिल खारेज हुन्छ । त्यही मृत्युदर्ता प्रमाणपत्र र नगरपालिकाको सिफारिस भएपछि बैंक खाताको पैसाहरू पनि तिम्रो नाममा आइहाल्छ । सबै मैले गराइहाल्छु । तिमीले केही चिन्ता लिनु पर्दैन ।’
त्यतिन्जेलसम्म चुप बसेर कहिले मैले अर्जुनलाई फोन गरेको सुन्दै त कहिले काका र मेरो वार्तालाप सुन्दै बसेका दिनेशले भनेः
‘हामीले चलिआएको किरियाकर्म नगर्ने निर्णय त गरियो । बुवाआमाप्रतिको हाम्रो दायित्व र आत्मसन्तुष्टिका लागि पनि एउटा अक्षय कोष पनि अहिले नै खडा गर्नुपर्छ काका । यो काम अहिले छाडियो भनेपछि फेरि समय मिल्न गाह्रो पनि हुन सक्छ । त्यत्तिकै लामो समय व्यतीत हुने सम्भावना रहन्छ । त्यसैले सबै काम सकाएर जानुपर्ला । हुन त अब बेलायतमा पनि फोन गरेर हाम्रो परिस्थितिको जानकारी गराएर अस्मिता र मेरो कामको छुट्टी मिलाउन बाँकी नै छ । तर, यो कम्प्यासन (दया गर्नैपर्ने)को अवस्थामा बिदाको लागि खासै समस्या त पर्दैन जस्तो लाग्छ ।’
फोनमा अर्जुनसँग कुरा गर्दैगर्दा भान्सातिरको ढोका खोलेको आवाज आएको थियो । नेत्र दाइ तरकारी ल्याएर भाउजूसँग मिलेर खाना पकाउँदै हुनुहुँदो रहेछ । त्यत्तिकैमा बैठक कोठामा छिर्दै भन्नुभयो,
‘अब खाना पनि पाक्यो बाँकी कुराहरू खाना खाँदै पनि गर्ने हो कि ? के कसो सल्लाहहरू भए कुन्नि म त एकछिन किचन (भान्साकोठा)मै व्यस्त भएँ । काकालाई पनि अफिस जान अबेला हुन्छ होला खाना पस्क्यौँ कि भनेर सोध्न आएको । भाउजूले सलाद काट्दैछन् अरू तयार भइसक्यो । खाना पस्कँदा पस्कँदै सलाद पनि तयार भइहाल्छ ।’
काकाः ‘अँ, ठीक छ बाबु खाना पस्कनु । अर्जुनले कागज लिएर फ्लाइटमा आउँदैछन् । केही घण्टामा आइपुग्छन् । अहिले अरू सल्लाहहरू भए । कागज हेरेर थप सल्लाह गरौँला अहिले म पनि यहाँ बसिराख्न पर्ने जरुरी देखिएन । त्यसैले खाना खाएर यतैबाट म अफिस जान्छु । अफिसबाट जरुरी काम सकेर म यतै आउँछु अनि कागज पनि हेरेर कार्यक्रम मिलाउँला ।’
त्यत्तिकैमा पिताम्बर काकाको फोनको घण्टी बज्यो । उहाँले फोन उठाएर अर्कोपट्टि कुरा गर्नुभयो । कुरा सकिएपछि फोन काटेर भन्नुभयो ‘ससुरा बुवा अहिले घरबाट हिँड्नु भयो रे, यहीँ आउँछु भन्नुभएको छ । म अफिस जान्छु उहाँसँग तिमीहरूले कुराकानी गर । बुढाबुढीहरूको कुरा अलि कन्जरभेटिभ भयो भनेर दुःख नमान्नु । उहाँहरूको ज्ञान जति छ त्यसै अनुसारको सोचाइ हुन्छ । के गर्ने उहाँहरूको मन दुखाउन पनि भएन । उहाँहरूका अन्धविश्वासका पछि लाग्न पनि सकिँदैन । तै पनि सकेसम्म उहाँहरूको मन पनि राख्ने गरी कार्यक्रम बढाउनुपर्छ । ल भित्र खाना पस्किसके जस्तो छ । खाना खाऔं र म अफिस जान्छु ।’
खाना खाएपछि काका अफिस जानुभयो । हामी पनि सबैजना बैठकमा बसेको एकैछिन भएको थियो । बाहिर लठ्ठी टेक्दै मामाघरका हजुरबुवा आएको देखेर नेत्र दाइ ढोका खोल्दै उहाँलाई भित्र लिएर आउनुभयो । नमस्कार आदानप्रदान भयो । तर, हजुरबुवाले
‘हाम्रो संस्कार चलनअनुसार गहुत नखाँदासम्म ढोगभेट नगर्ने भन्थे तर अब आधुनिकता अपनाउने भन्छौ । ढोगभेट गर्नु त सामान्य नै भयो’ भन्दै आफ्नो असहमतिलाई कूटनीतिक पाराले व्यक्त गर्नुभयो । अनि अगाडि भन्नुभयो । ‘नन्दराम गुरु पनि हिजो नातिकहाँ बस्नुभएको रहेछ । फोनमा कुरा भएको थियो । अहिले यहीँ आउन भनेको छु । एकै छिनमा आइपुग्नुहुन्छ ।’
भाउजूले औपचारिकताको लागि पनि हजुरबुवालाई सम्बोधन गर्दै भन्नुभयो ‘खाना खान जाऔं ।’
हजुरबुवाले ‘मैले खाना त खाएर आइसके । बरु औषधि खान छ । एक गिलास मनतातो पानी ल्याऊ’ भन्नुभयो ।
भाउजू भान्सातिर मोडिन नपाउँदै नेत्र दाइ भान्सातिरको ढोकानिर हुनुहुन्थ्यो उठेर भान्सा कोठामा जानुभयो र केटलको पानी गिलासमा खनाएर ल्याउनुभयो । औषधि निल्दै हजुरबुवाले ‘अब उमेर ढल्किएपछि यस्तै औषधिका चक्कीसक्की खाने बस्ने यस्तै रहेछ । दिन नआई मरिँदोरहेन छ । भर्खरका छोरी ज्वाइँलाई लानभन्दा म बुढोलाई नै लगेको भए हुन्थ्यो यो दैवले नि ! हामीले भने जस्तो रोजे जस्तो नहुने’ भन्दै उदासिनता मिसिएको सुस्केरा हाल्नुभयो ।
हामी भित्र हजुरबुवाका कुरा सुन्दै थियौँ । नन्दराम पण्डित आएर ढोका धकेल्दै खोल्दा बल्ल चाल पायौँ । हजुरबुवाले आफूसँगैको सोफामा बस्न गुरुलाई इसारा गर्दै ‘यहीँ बस्नुस्’ भन्दै बोलाउनु भयो ।
भाउजूले नन्दराम गुरुलाई ‘खाना खाने कि ?’ भनेर सोध्नुभयो । उहाँ उपाध्याय भएकोले हामी जैसी बाहुनले छोएको नखाए पनि तरकारी र रोटी, खिर भने खानुहुन्छ । हामीलाई सानैदेखि बानी लागेकोले हामीले छोएको नखाने भन्दा पनि अप्ठेर लाग्दैन ।
गुरुले भन्नुभयो ‘होइन, खाना त खाएरै आएँ । यो घरमा आएको बेला नेत्र बाबुले सधैँ ग्रीन टी खान दिनुहुन्छ । अलि बेरपछि त्यही ग्रीन टी खान पर्ला । उहिले हामी सानो छँदा त चिया पनि अलि बिटुलो भन्थे, खाइएन् पनि । पछिपछि त अम्मल बसे जस्तो भएको छ । दिनमा एक दुई कप त खान मन लाग्छ । तर, यो ग्यास्ट्रिकले सताउने भएर दूध हालेको चिया त खाँदिनँ, पाए ग्रीन टी नभए कालो चिया चाँहि खाने गर्छु ।’
हजुरबुवाले पनि थप्नुभयो ‘हो त नि गुरु, पहिले पहिले त टमाटर पनि बिटुलो भन्थे खाइएन् पो । नरहरि आचार्य पण्डित एकपटक सप्ताह वाचन गर्दा आलुकै सन्तान त हो नि टमाटर भनेर व्याख्या गरेपछि उहाँको कुरो कुनै पण्डितले पनि काटेनन् । त्यसपछि टमाटरलाई सद्दे तरकारी मानेर खान थालिएको त हो नि । चिया पनि पहिला पहिला त खाने चलन थिएन, पछिपछि त पाहुना सत्कार गर्ने इज्जत धान्न चिया त पाहुनालाई टकार्नै पर्ने चलन आयो त नि ।’
‘अ यिनी हाम्रा पुराना गन्थन त कहिल्यै पनि सकिन्नन् । के के गर्ने भइयो के के सल्लाह गरेका छौ ? पुरानो संस्कार भन्छौ, हामीले विश्वास गर्दै आएको कुरा पनि तिमीहरू अन्धविश्वास, विज्ञानसम्मत छैन पनि भन्छौ । हामीले त काजकिरिया गर्ने, काशी (बनारस)मा अस्तु सेलाउने, अनि गयामा गएर पिण्ड दिने गरेपछि बल्ल पितृ तर्छन् भन्दै त्यसै गर्दै आयौँ अहिलेसम्म ।’
त्यस बेलासम्म चुप लागेर ज्वाइँ भएको मान राखे जसरी बसेका दिनेशले भन्न थाले ‘हो नि हजुरबुवा अब ग्रहण लाग्दा ‘छोड चमारे छोड’ भनेर हजुरले नै भन्न छाड्नुभयो । कुरा जति बुझ्यो त्यसैअनुसार चल्यो गर्नुपर्ने रहेछ । अब समय प्रविधि समाजको चेतनाअनुसार हाम्रा संस्कारहरूमा परिवर्तन गर्न त पऱ्यो नै । हजुरहरूको मन कत्ति पनि दुखाउने मन त छैन । त्यसैले हामीलाई पनि यस्तो अन्धविश्वासको पछि त लाग्न हुँदैन भन्ने नपर्ने गरी के के गर्नुपर्छ हजुरले नै त सिकाउने हो नि हामीलाई ।’
हजुरबुवाः ‘हजुरको कुरा पनि ठीक त ठीकै हो । पहिला पनि पण्डितहरूका बीचमा पनि तर्क वितर्क हुन्थे । चलनचल्तीका संस्कारमा पनि कसैले पहिलेदेखि यसै गरेको यसै गर्नुपर्छ भन्थे । किरिया बस्दा खाली खुट्टा पँधेरा जाने आउने गर्नुपर्छ भन्थे । पछि त्यसो कहाँ हो र प्लास्टिकका चप्पल नहुँदा छालाको जुत्ता चप्पल पो बार्ने भनेको हो नयाँ चप्पल लाउने बरु १३ दिनमा त्यो दान गर्ने भन्ने व्याख्या गर्न थाले । पण्डित पनि कम्तीका बाठा कहाँ हुन्छन् र ! तपाईँ जस्तो सोझो बाहुनलाई भनेको चाँहि हैन है नन्दराम गुरु । चित्त नदुखाउनु होला । छट्टु पण्डितहरूको कुरा गरेको हो । पहिला पनि पण्डितहरूका बीचमा कुरा बाझियो भने अलि नयाँपन गर्न चाहने पण्डितले चाँहि ‘बिरालो बाँध्ने चलन छ भनेर हुन्छ र ?’ भनेर तर्क गर्थे । एउटा गाउँका पण्डितका घरमा श्राद्ध गर्दा घरको बिरालोले पिण्ड दिन राखेको खिर खाइदिएपछि उनले बिरालो बाँधेर श्राद्ध गर्ने गर्न थालेछन् । ती पण्डितका चेलाहरूले श्राद्ध गर्दा घरमा बिरालो नभए पनि गाउँबाट बिरालो खोजेर ल्याएर घरमा बाँधेर श्राद्ध गर्ने चलन बसाएछन् । यो कथन भने पण्डितहरूले खुब कुरा गर्छन् । अब हजुरहरूका कुरा पनि मलाई त ठीकै लाग्छ । हामीले पण्डितहरूले त्यो बिरालो बाँध्नुपर्छ भनेझैँ जे जे गर्नुपर्छ भने त्यही गर्दै आयौं । त्यही गर्नुपर्छ भनेर दिमागमा बस्यो त्यसैले हिँज त मैले पनि अलि जिद्दी गरें । राति मैले खुब सोँचे अनि यो नयाँ पिँढीका कुरा त ठीक पो हुन त भन्ने लाग्यो । बाहुनहरू पनि ज्याद्रा पो हुन्छन् त । अब, मैले आफैँ भोगेको कुरा सुनाउँछु । हेर्नुस् ज्वाइँसाप, पाहिला पहिला पण्डितहरूले पूजा गर्न बस्नुभन्दा पहिला भए गरेका थाहा नपाएका पाप काटिन्छ भनेर गाई दान गर्नुपर्छ भन्छन् । साँच्चैको गाई दान दियो भने लगेर पाल्न पनि आफूहरूलाई घाँस काट्ने झण्झट हुन्छ भनेर गाईको सट्टा गाईको मूल्य राखे हुन्छ भनेर २० आना पैसा राखेर एउटा कुशको टुप्पो गाईको पुच्छर मानेर दुनामा राख्ने गरेर दान गर्न लगाउँथे । हजुरहरूलाई २० आना भनेको पनि थाहा छैन होला । म बताउँछु । पण्डितहरू बनारस गएर पढेर आउने चलन थियो । यो २० आना भन्ने भाषा पनि त्यतैबाट आएको हो । पहिला बेलायतीहरूले भारतमा शासन गरेका । पाउण्ड, सिलिङ्ग, पेन्स भन्ने उनीहरूको मुद्राको चलनअनुसार भारतमा पनि त्यही चलन चलाएछन् । अनि रुपैयाँलाई १६ आना भन्ने गर्थे, पचास पैसालाई अठन्नी भन्थे, अनि पच्चिस पैसालाई चार आना भन्थे । एक रुपैयाँ बराबरको १६ आना र २५ पैसा बराबरको चार आना जोड्दा २० आना भनेर एक रुपैयाँ २५ पैसाको गाई बनाएर दान गर्न लगाउँथे । अलि पछि त सबै कुराको भाउ पनि बढ्दै गयो, पण्डितहरूलाई त्यो २० आनामा आँखा लाग्न पनि छोड्यो । अनि, पाहिला गाई २० आनामा पाइँदा चलाएको चलनले गर्दा गौदान गर्दा २० आना राखेर कुसलाई गाईको पुच्छर मानेर गौदान गर्ने चलन हो अब त गाईको मूल्य बढी भयो त्यसैले एउटा गाईको मूल्य राखेर दान गर्नुस् भन्न थाले । कमाइ गर्ने कुरामा चाँहि चलन फेर्न बाहुनहरूलाई हतारै हुन्छ । आफ्नो कमाइ घट्छ कि भनेर अरू कुराको चलन भने फेर्न मनै गर्दैनन् । अमेरिकनले चन्द्रमामा गएर माटो नै बोकेर ल्याए भनेपछि लाजकाज ग्रहण लाग्दा उठाउने सिधा उठाउन बल्ल छाडे । नत्र त ग्रहण लाग्दा बाहुनलाई छुट्टै सिदा बनाएर दिनुपर्ने हुन्थ्यो ।’
हजुरबुवाको लम्बेतान कुरा रोचक मान्दै सुन्नुभएको भाउजूले हजुरबुवाले कुरा यसो बिसाएको मौका पारेर भन्नुभयो ‘चिया खाने हो कि अब हजुरबुवा ?’
हजुरबुवा ‘गुरुले त ग्रीन टी खाने भनेर अघि नै कुरा सक्नुभएको छ । मैले त दूधकै मिठो, ट्वाक्क चिनी लागेको चिया खाने हो । यो आजकाल गाडी पनि कोही डिजेलका हुन्छन्, कोही पेट्रोलका हुन्छन् । त्यस्तै हो कसैको ज्यानमा दूधको चियाले ठीक गर्छ कसैको ज्यानमा रातो चियाले । डिजेल गाडीमा पेट्रोल हाले बिग्रन्छ भन्छन् त्यस्तै हो मेरो पेटमा त दूधकै चिया हाले राम्ररी चल्छ । गुरुको जस्तो पेट्रोलले चल्ने पेटमा ग्रीन टी हाल्ने मेसो मिलाऊ न त, बुहारी ।’
हजुरबुवाको रसिला कुरा सुनेर नन्दराम गुरु पनि मुसुमुसु मुस्कुराउनु भयो । भाउजू चिया बनाउन भान्सातिर पस्नुभयो ।
मैले हजुरबुवालाई सोधेँ ‘हजुरले अघि त्यो ग्रहण लाग्दा सिदा दिनुपर्ने भन्नुभयो त्यो भनेको के हो नि ?’
हजुरबुवाः ‘अहिले तिमीहरूले जातपात मान्ने भनेर हामीलाई छुवाछुत गरेको भनेर गाली गर्छौ । हामीले त के के भोगियो–भोगियो नि । हाम्रा सबै कुरा त तिमीहरूले पत्याउँदा पनि पत्याउँदैनौ । तै पनि अलिअलि भन्छु ल सुन– पण्डितले पात्रो हेरेर फलानो दिन यतिखेर चन्द्रग्रहण लाग्छ भन्थे । नभन्दै त्यही बेला चन्द्रमामा कालो धब्बा देखिन्थ्यो । पण्डितले पहिल्यै कसरी थाहा पाएका होलान् भनेर नपढेका गाउँलेहरू त पण्डितलाई सबै कुरो जान्ने रहेछन् भनेर पत्याइहाल्ने भए । पण्डित त भगवान्कै सन्देश लिएर आउने मान्छे हुन्, भगवान्कै अंश हुन् भन्ने अर्थमा बुझथे । त्यसैले गर्दा पनि पण्डितले भनेको नगरे त पाप लाग्छ भन्ने थियो गाउँलेहरूलाई । पण्डितहरू भने आफूहरूको कमाइ बढ्ने गरी गाउँलेहरूलाई कुरा सुनाउँथे । जुत्ता बनाउने जातलाई चमारे भन्ने चलन थियो । अहिले सार्की भनेको सुनेका हौला । गाईभैँसी मरेपछि त्यसको छाला काढेर सुकाएर जुत्ता बनाउने पेसा भएकोले उनीहरूलाई चमारे भनेका । उता भारततिर छालालाई चमडा भन्ने भएको हुनाले छालाको काम गर्ने जातलाई बाहुनहरूले हेला गरेर चमारे भन्ने बनाएका । हुन त पण्डितहरू पनि बनारसतिर गएर पढेर आउँथे त्यसैले उतैबाट सिकेर आएका हुँदा हुन् । म पनि त मध्यमासम्म बनारस गएर पढेर आएको हुँ नि । त्यहीँ पढेको भएर त जिम्माल बनेर हैकम चलाएँ । अहिले पो जिम्माल हुने व्यवस्था पनि हरायो हाम्रो हैकम पनि गुम्यो ।
ज्योतिषहरूले चाँहि रातभरि बसेर तारा चन्द्रमा कहाँ पुगे भन्ने गनेर टिपोट बनाएर समयको गणना गरेर पात्रोको हिसाब विकास गरेछन् । त्यही पात्रो हेरेर फलानो दिन यतिखेर ग्रहण लाग्छ भन्ने बनाएर पुरोहितहरूले गाउँले ठग्ने मेसो मिलाएका हुन् । गाउँभरि पुरोहितहरूले ग्रहण लाग्ने दिनलाई आज यतिखेर ग्रहण लाग्छ, यो ग्रहण फलानो राशि भएकालाई फाप्छ, फलानो राशि भएकालाई फाप्दैन, भन्थे अनि चन्द्र भगवान्लाई त्यो चमारेले छोएकोले ग्रहण लागेको भनेर ग्रहण लागुञ्जेल गाउँलेभरिलाई ‘छोड चमारे छोड्’ भनेपछि चाडै ग्रहण हट्छ, ग्रहण लागुन्जेल खानपिन गर्न, पकाउन पनि हुँदैन भनेर सिकाउँथे ।’
हजुरबुवाका कुराले दिनेशलाई पनि आफ्ना भावना व्यक्त गर्ने आँट जगाएछ । आखिर बुढा भएका पुस्ता पनि त परिवर्तन र विज्ञानलाई त स्वीकार गर्दा रहेछन् भन्ने लागेछ । उनले हजुरबुवाका कुरामा थप्दै भन्न थाले,
‘मेरो स्मरण शक्तिले काम गरेको थाहा पाउँदा अर्थात् मेरो सम्झनाका सुरुका दिनहरू मै मेरो मस्तिष्कले महिला र पुरुषबीच फरक छुट्याउन थालेको थियो । तर, कपाल लामो भएका, धोती–चोलो–ब्लाउज, लेहेँगा जस्ता पहिरन, हातमा लगाएका चुरा, नाक कानका गहना आदिका आधारमा मैले महिला र छोटो कपाल, पुरुष पहिरन आदिबाट महिला र पुरुष छुट्याउँथें । केही कुरा सिक्दै गएपछि स्वरले पनि छुट्याउन थालेको थिएँ । तर, मलाई आमाले दूध चुसाउनुहुन्थ्यो तर बुवाले दूध चुस्न दिनुहुन्थेन भन्ने विषयमा कहिल्यै सोचिनँ पनि होला ।
सामाजिक परम्पराअनुसार नछुनी (महिनावारी) भएको भन्दै, पुरुषसँग नछोइने, खाना अलग्गै खाने जस्ता महिलाहरूका व्यवहारले पुरुष र महिलाबीच फरक रहेको त बुझथें तर महिनावारी के भएर बारिन्छ भन्ने पटक्कै मेसो थिएन । मेरो भतिजको सात–आठ वर्षको उमेरमा छोरी तथा उसका दिदी लगायतका महिलाले नछुने भएको र बारेको देखेर बेलाबेला त्यो बच्चाले पनि ‘नछुनी भएको छु अलग्गै बसेर खान्छु’ भनेको सुन्दा उसको अन्योलताबाट मेरो पनि त्यो उमेरको भ्रम स्पष्ट हुन्थ्यो । साँच्चै भन्ने हो भने मेरी श्रीमती अस्मितासँगको हेलमेलपछि बल्ल वास्तवमा महिलाहरूको नछुनी (महिनावारी) के हो भन्ने मैले बुझेको हुँ । स्कूलमा स्वास्थ्य शिक्षाको पुस्तकमा महिलाहरूको महिनावारीको विषयमा लेखिएको थियो र पढाइएको पनि हो तर महिलाहरूको मासिक रक्तस्रावका विषयमा नबुझीकनै जाँच पास गरिएको रहेछ । ५० जना विद्यार्थी रहेको हाम्रो कक्षामा जम्मा चारवटी मात्र केटी थिए । त्यो पाठ उनीहरूले मात्र बुझेका रहेछन् भन्ने अहिले महसुस हुन्छ । सानैबाट गुप्ताङ्गका कुरा गर्नु हुँदैन, लाज हुन्छ भन्ने सिकाइएको थियो त्यसैले त्यस विषयमा कुरै गरिएन । अस्मितासँग त्यस विषयमा कुरा हुन थालेपछि बल्ल ज्ञान भयो, महिलाहरूको गुप्ताङ्गबाट हरेक महिना तीन–चार दिनसम्म रगत बग्ने समयलाई अपवित्र मानेर बारिने चलन रहेछ ।
पुरुषका विषयमा महिलाहरूलाई पनि त्यस्तै अन्योलता पक्कै भए होलान् । त्यो कुराको विषयमा युट्युबको एउटा क्लिपबाट मैले अलिअलि बुझें जस्तो लाग्छ । अमेरिकाको सहरमा हुर्किएकी एउटा वयस्क केटीले उनको स्कूले उमेरमा भएको सोच बताएकी थिइन् । उनलाई पुरुषहरूले गुप्ताङ्ग त साथमा बोक्ने अटैँचीमा राखेर लिएर हिँड्छन् र चाहिएका बखत शरीरमा जोडेर त्यसको प्रयोग गर्छन् भन्ने लाग्दो रहेछ । अरूलाई उनको सोचाइको स्तर कस्तो लाग्छ मैले कसैलाई सोधेको छैन, तर मलाई भने उनी र मैले एउटै खालको डुङ्गा खियाएर एकै खालको नदी तरेका रहेछौं जस्तो लाग्छ ।
एकदिन नेपालका सर्वोच्च अदालतका पेन्सन भइसकेका र वर्तमान न्यायाधीशहरू बेलायत आएको समयमा उनीहरूसमेत हामी ५ जनाको समूह लण्डनको अक्सफोर्ड स्ट्रिटमा किनमेलको लागि गयौँ । दुई महिला र तीन पुरुष । महिलाहरू पसलमा छिरेपछि पसलभित्र समय अति नै लामो भएको महसुस गरेर हामी पुरुषहरू पसल बाहिरको पेटीमा उभिएर गफ गर्दै थियौं । बेलायतका अरू पसलमा जस्तै त्यहाँ पनि बस्ने मेच आदि थिएनन् । त्यसैबेला मैले हामी पुरुषहरूका बीचमा एउटा प्रश्न गरें–
“सपिङ गर्न रमाउने कुरा महिलाहरूको जिनमा नै हुन्छ कि संस्कार र संस्कृतिले महिलालाई किनमेलमा रमाउने गराएको होला ? अर्थात् यो प्रकृतिले तोकेको हो कि समाजको सिर्जना ?”
पूर्व–प्रधानन्यायाधीश र अर्का पूर्व–न्यायाधीशले बच्चा केटीहरूले गुडिया खेलाउने तथा नङ पालिस लगाइदिन भन्ने अनि केटाहरू फरक खेल खेल्ने तर्क प्रस्तुत गर्नुभयो । समाज, संस्कार र संस्कृतिले नभएर प्रकृतिले नै विभेद गरेको तथा महिलामा सपिङमा रमाउने गुण रहेको उहाँहरूको तर्क थियो ।
त्यस्ता तर्कहरूमा म अभ्यस्त भइसकेको छु । त्यसैले मेरो अनुमानभन्दा अलग तर्क थिएनन् र थप तर्क पनि गरिनँ मैले । तर, ती तर्कमा म भने सहमत छैन । बच्चाहरूले समाजका कुराहरू बुझ्न थाल्दा नै केटी महिला भएकोले आमा तथा दिदीहरू जस्तै गर्नुपर्ने र छोरोले बुवा तथा दाइहरू जस्तै गर्नुपर्ने सिकाइसकिएको हुन्छ । त्यसकै परिणामस्वरूप विकास हुँदै गरेको दिमागले छोरा र छोरीले फरक खेलौना रोज्ने गरेको मान्छु म । हाम्रो समाजको विकासक्रम हेर्ने हो भने पहिला त यो सपिङको जिम्मा पनि पुरुषहरूमा हुन्थ्यो । गाउँबाट बुवाहरूले भरिया लिएर सहर गएर सामान ल्याउने गर्नुहुन्थ्यो । प्रविधिले सुसज्जित हुँदै शहरीकरण र उपभोक्तावादी बजारको विस्तार हुँदै गएपछि महिलामा सपिङमा रमाउने चलन पो चलेको हो त । इष्टमित्र, आफन्त र परिवारसम्बन्धी जिम्मेवारी पूरा गर्नुपर्ने तर बजेटमा चल्नुपर्ने परिधिको सामाजिक बनोटमा सपिङमा उनीहरू रमाउने गरेको जस्तो लाग्छ । एकल पुरुषहरू विवाहित पुरुषभन्दा बढी किनमेलमा रमाउने उदाहरणले यो तर्कको समर्थन गर्छ ।
वर्तमान समाजका महिला समानताका अभियन्ताहरूको बुद्धिले गर्ने निर्णयमा परम्परा र संस्कारले बानी पारेका गतिविधिहरू त्यसै बदलिँदैनन् । त्यो खालको बदलाव आउन संस्कारमै बदलाव आउनुपर्छ । समाजले पुरुषहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी र महिलाहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी बाँडफाँड गरेको छ । हामीलाई त्यसैमा बानी परेको छ । ती जिम्मेवारीहरू महिला समानताको कसीमा असमान छन् तर ती असमानता त्यसै हट्दैनन् पनि । हामीलाई त मनुस्मृति, अझ त्यसमध्ये पनि मिताक्षरा तथा चाणक्य नीतिहरूले सिकाएको व्यवहारको बानी परेको छ । संस्कृति र धर्म जोगाउने नाउँमा चलिआएका अन्धविश्वासहरू सहजै हराउनेवाला पनि छैनन् । अपहेलित र उत्पीडन भोग्न बाध्य पारिएका शिल्पीहरू र जनजातिहरू हिन्दू आस्थाबाट अन्य धर्मप्रति आकर्षित भइरहेको महसुस गर्न समाजका अगुवा मानिएका पण्डितहरू अनिच्छुक भेटिन्छन् । जुन दिन समाजका अगुवाहरूले आफ्नै समाजभित्रका कम
© www.amaaba.org