Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
भाग 3: चिन्ता

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग 3

30 Nov, -0001

३ चिन्ता

बाँकी...

कहिले एसएलसीमा फस्ट डिभिजनमा पास भएको खबर पाएर आमा र बुवा निकै खुसी भएको सम्झेँ । मैले एसएलसीमा राम्रो नम्बरसहित फस्ट डिभिजनमा पास भएकोमा बुवा र आमाको फुर्ति नै बढेको थियो । हाम्रो टोलमा त्यस वर्ष एसएलसी दिने केटाकेटीमध्ये मेरो सबैभन्दा बढी नम्बर आएको थियो । अफिस जाँदा आउँदा बुवालाई र हाट बजार गएर तरकारी किनेर आउँदा आमालाई बधाई दिने र राम्रो गरिन् नानीले अब के पढाउने ? भन्नेहरूको त्यो सोधाइमा बुवा आमाको रवाफ बढेको देखेर मैले बुवाआमालाई सन्तोष लगाउन सकेँ भन्ने मेरो मनमा सन्तोष पनि जागेको थियो । आखिर रोइराखेर मात्र पनि सबै समाधान हुने थिएन । उता मनमा त्यो आफू जस्तै र जन्म मिति पनि एउटै भएकी नेदरल्यान्ड्सकी एम्माको विषय झन् पेचिलो बनेको थियो मेरा लागि । त्यस विषयको पुष्टि हुन सक्ने बुवाआमा नै नरहेपछि कसरी यथार्थ पत्ता लाग्ला र भन्ने निराशा मनमा उब्जिरहेको छ । दिनेशलाई त्यस विषयमा अझैसम्म कुनै जानकारी नभएकोले अब भन्नुपर्छ भन्ने मनमा आयो र भन्न थालें,

‘हेर न, तिमीसँग एउटा विषयमा कुरा गर्नुपर्ने थियो, पहिला पनि भन्ने मौकै मिलेको थिएन, झन् यस्तो भयो । हाम्रो अस्पतालमा खुट्टा भाँचिएको कम्प्लिकेशन भनेर रिफर भएर एउटा बिरामी ल्याइएको थियो । अपरेसन पनि राम्रै भयो । अपरेसन गरेर अफिस कोठामा पुग्नासाथ नेत्र दाइको म्यासेज पाएर यता हिँडिहालेँ ।’

दिनेशले भने, ‘कामको सिलसिलामा बिरामीको उपचार त तिम्रो सामान्य दैनिकी नै हो नि, त्यस विषयमा किन चिन्ता लिनुपर्यो ? केही चिन्ता नलिऊ । तिमी आफ्नो प्रोफेसनभन्दा बढी नै बिरामीहरूप्रति संवेदनशील हुने, त्यो बानी चाँहि अलि सुधार्न प¥यो ।’

उनले कुरै नबुझी भन्दै गए पनि धेरै दिनपछि भेट भएर पनि होला उनका कुरा सुनिरहुँ जस्तो लाग्यो । बीचमा कुरै काटिनँ । उनी भन्दै गए ‘तिमीले म्यानेजरलाई भनेर आएकोले केही फरक पर्दैन बरु भोलि समय मिलाएर फोन गरेर म्यानेजरलाई यहाँ यस्तो भइसक्यो भनेर पनि बताऊ । यहाँ अझै कमसेकम १५ दिन जति त बस्नुपर्ने हुन्छ । अक्षय कोषको व्यवस्था पनि गर्नुप¥यो, गएपछि तुरन्तै आइहाल्ने कुरा पनि हुँदैन । सबै कुरा मिलाएर जानुपर्छ । मेरो पनि फिल्डमा जाने कामहरू त करिब सकिएको थियो । एउटा सेमिनार भने छुट्यो । अब युके फर्किएपछि नै रिपोर्टहरू बनाएर पेश गर्नुपर्ला । मेरो परिवारमा यस्तो भयो १५ दिन यतै हुन्छु भनेर प्रोजेक्ट लिडरलाई इमेल पठाइसकेको छु ।’

अरूबेला त मेरा कुरा नसुनी आफ्ना कुरा भन्न थाल्दा चित्तै बुझ्थेन । मेरो कुरै नसुन्ने तिमीले त भनेर झर्किन्थेँ पनि । तर, आज भने ऊ बोलिरहोस् म सुनिरहुँ जस्तो लागिरह्यो । उसका आवाज बाँसुरीका धुनजस्तो मधुर भएर कानमा गुञ्जिरहे । बुवाआमाको विछोडको पीडालाई चराइरहेको घाउमा मल्हम लगाउँदा शीतल भएजस्तै उनको आवाजले शान्ति दिइरह्यो । उनले आफ्ना कुरा भन्न छाडेको एकैछिन अझै केही बोल्दै गरे हुन्थ्यो जस्तो भइरह्यो । उनी एकछिन चुप लागेपछि मैले भनेँ

‘कुरा बिरामी र प्रोफेसनको होइन । मेरो व्यक्तिगत हो । त्यो बिरामी केटीको नाम एम्मा रहेछ । उसको र मेरो जन्म दिन पनि एउटै रहेछ । मेरो शरीरको उचाइ, दाँत सबै उसँग ठ्याक्कै मिल्छ । हामी दुई जुम्ल्याहा जस्तै देखिन्छौँ । फेरि मलाई मात्र त्यस्तो लागेको भए मेरो भ्रम हो कि भन्नुहुन्थ्यो । सँगै काम गर्ने नर्सले पनि हामी ठ्याक्कै उस्तै भएको बताएको थियो । त्यो एम्माले पनि हामी उस्तै भएको भन्ने लागेको बताएकी थिइन् । बुवाले मास्टर्स डिग्री पनि त नेदरल्यान्ड्सबाटै गर्नु भएको हो । त्यो केटी पनि नेदरल्यान्ड्सकै हुन् । बुवाआमाले मेरो जुम्ल्याहाका विषयमा पनि केही पनि कहिल्यै बताउनुभएन । केही ढाँटेको पो हो कि ? तर, अब उहाँहरू दुवै जना नभएपछि अब कसरी पत्ता लगाउने ?’

मैले कुरा सकुन्जेल एकाग्र भएर मेरो कुरा सुनिरहेका दिनेशको निधार मैले कुरा पूरा नगर्दै खुम्चियो, आँखा अलि तेजिला भए, जिज्ञासा बढेको उनको अनुहारले प्रत्यक्ष देखायो । तर, उनको मुद्रा भने गम्भीर थियो । उनलाई जिज्ञासा पनि जाग्यो र रहस्य भएको जस्तो भान भएरै होला अलि चिन्तित पनि देखिए । अलि लामो श्वास तान्दै भने,

‘ती एम्मा नाम गरेकी केटी तिम्रो जुम्ल्याहा हुन सक्ने सम्भावना त देखियो, अलि अचम्म लाग्यो । तिम्रा कुराले त रहस्यको उद्घाटन गरे जस्तो पो लाग्दै छ, मलाई त । एक किसिमले अहिलेसम्म तिमीलाई यस विषयमा केही जानकारी नहुनु । तर, शरीर र अनुहार मिल्नु मात्र होइन उसको जन्म मिति र तिम्रो पनि एउटै मिति हुनु अनि बुवा नेदरल्यान्ड्समा पढ्दा तिम्रो जन्म हुनु । ती केटीको जन्म पनि नेदरल्यान्ड्समै हुनु । बडो अचम्म लाग्दै छ । अब रहस्य पत्ता लगाउनैपर्ने जिम्मेवारी पनि बोध भइरहेछ मलाई त ! तर, कसरी ?’

उनी एकछिन घोरिए । टेबलमाथि रहेको स्टिलको गिलास ढाकेको ढक्कन पन्छाउँदै टेबलमा राखे र गिलास समाएर घटघटी गिलासै रित्याए । म उनले पानी खाँदा तलमाथि गर्दै गरेको उनको रुद्रघण्टीको तालसहितको उनको घाँटी हेरिरहेँ । उनले पानी खाइसकेर गिलास राखेपछि मैले भने,

‘मेरो त त्यही कुराले दिमाग चक्कर खाइरहेको थियो । जुम्ल्याहा दिदी हो कि बैनी हो भेटे जस्तै भान भइरहेको थियो । तर, एक्कासि यताको घटनाले गर्दा बीचैमा च्यात्त छाडेर यता आउन प¥यो । एम्माको अपरेसन त राम्रै भएको थियो । उनको खुट्टा कस्तो भयो कुन्नी ? आफ्नै बहिनी जस्तो लागेर त होला अरू बिरामीको भन्दा उसको पीर बढी लागिरहेछ । मैले त रहस्य पत्ता लाग्छ कि भनेर एम्माको डिएनए सिक्वेन्स जाँचको लागि पनि पठाएकी छु । सायद त्यो रिजल्ट पनि आइसके होला तर म यहाँ छु । तर, डिएनएको रिजल्ट आउन चारदेखि ६ हप्ता लाग्छ, त्यसैले अझै त्यो रिपोर्ट आइसकेको छैन होला ।’

हामी कुरा गरिरहेकै थियौँ । गल्लीपारिका घरका कुकुर भुक्न थाले । शान्ति खल्बल्याउने गरी भुक्दारहेछन् । बेलायतमा कुकुर त घरघरै पालेको देखिन्छ तर भुकेको त विरलै मात्र सुनिन्छ । पार्कतिर हिँड्दा कुकुर भुकिहाल्यो भने उसका मालिक/मालिक्नीले विनम्र भएर माफी पो माग्छन् । यो सभ्यताकै कुरा होला । हाम्रो समाजभन्दा बेलायतको समाजमा व्यक्तिहरूले आफ्ना गतिविधिले अरूलाई नराम्रो असर पार्छ कि भनेर सचेत हुने र अरूलाई नकारात्मक असर नपार्ने गरी आफ्ना गतिविधिहरू गर्ने बानी पारेका हुन्छन् । कुनै पनि समाजमा सबै गतिला मान्छेको मात्र बसोबास त कहाँ हुने हो र तर तुलनात्मक रूपमा बेलायतको समाज अलि सभ्य लाग्छ मलाई । खै कहिले काहीँ त म पक्षपाती भएको त हैन भनेर पनि सोच्छु । तर, तुलनात्मक रूपले व्यक्ति व्यक्तिको स्वभाव हेर्दा चाहिँ बेलायतीहरू नै अरूलाई मर्का पर्ला कि भनेर हाम्रो समाजमा भन्दा बढी सचेत रहेकै अनुभव गर्छु । हुन पनि नेपालमा कुकुर डो¥याएर हिँड्नेहरूले कहिल्यै आफ्नो कुकुरको आची उठाएको देखेकी छैन । कुकुरले हग्यो भने पनि त्यत्तिकै बाटो नै फोहोरो पारेर हिँडेको देख्छु । सायद आफ्नो कुकुरको आची उठायो भने इज्जत जाने सोचिन्छ क्यारे ! कुकुर पालेर डो¥याएर हिँड्दा चाहिँ फुर्ति बढ्ने तर बाटो नै फोहोरो पारेर छाड्दा चाहिँ इज्जत नजाने ? यस्तै छ नेपालको चलन । बेलायत नजाँदासम्म त संसारभरि यस्तै त होला जस्तो लाग्थ्यो । तर, बेलायतमा त कुकुर लिएर हिँड्नेले आफ्नो कुकुरले हग्यो भने उठाएर लाने गरेको देख्न थालें । पहिला पहिला त मलाई पनि कुकुरको आची उठाएर हिँडेको अनौठो लाग्थ्यो । पछि बुझ्दै जाँदा त यहाँको समाजमा त कसैले आफ्नो कुकुरको आची नउठाई बाटैमा छाडेर हिँड्यो भने त इज्जत नै जाने रहेछ । पार्कमा पनि कुकुरको आची राख्ने छुट्टै बिन बक्स झुण्डाएर राखिएका हुँदारहेछन् । अरू फोहोर फाल्ने डिब्बा छुट्टै र कुकुरको फोहोरको लागि छुट्टै भाडो हुँदो रहेछ । कुकुर डो¥याएर हिँड्ने सबैले कुकुरले आची गरिहाल्यो भने उठाउनुपर्छ भनेर प्लास्टिक पनि बोकेर हिँड्छन् । मान्छेहरू हिँड्डुल गर्ने पार्कहरूमा त्यस्तो प्लास्टिक पनि राखिदिएको भेटिन्छ । यहाँका मान्छेहरूको यो कुकुरको आची उठाउने र तोकिएको डिब्बामा लगेर हाल्ने बानी देखेपछि यस्तो सभ्यता नेपालमा कहिले विकास होला भन्ने प्रश्न मनमा उब्जने गर्छ । नेपालमा आएको बेला कुराकानी हुँदा बेलायतमा आफ्नो कुकुरको आची बाटामा पनि आफैँ सफा गर्ने चलन छ भन्यो भने नपत्याएर मलाई ‘गफ लगाई बडो विदेश बस्ने भइकी’ भन्लान कि भन्ने डरले कसैलाइ भन्न पनि सकेकी छैन । जे होस् हामी साना छँदा गाउँघरमा दशैँ ताका बाटो खन्ने, पँधेरा सफा गर्ने सामाजिक सभ्यता देखेकी थिएँ । हाम्रा त्यस्ता सामाजिक सभ्यता मासिँदै गएजस्तो लाग्छ । पश्चिमाहरू भने व्यक्तिगत सभ्यता विकास गर्न सफल भएका र त्यसलाई अझै उन्नत गर्दै लगेको जस्तो लाग्छ । पहिले पहिले बेलायत म जाँदा जताततै चुरोट खाएर धुवा उडाउँथे अहिले निश्चित ठाउँमा मात्र खाने सभ्यताको विकास भएको छ । सरकारले नियम कानुन बनाउने र लागू गर्ने विषयभन्दा पनि जनचेतना जगाएर त्यस्ता कानुनको पालन गर्न खुसी पार्नु सभ्यताको विकास गर्ने कला हो जस्तो लाग्छ ।

मेरा मनमा छिमेकीका कुकुरको भुकाइबाट तरंगित भएका विचारहरू खेल्दै थिए । दिनेश पनि ट्वाइलेटबाट पिसाब गरेर फर्किएपछि हामीले कुरा जारी राख्न थाल्यौँ । मैले एम्माको डिएनए सिक्वेन्सको लागि जाँच्न पठाएको विषयमा कुरा गर्दै थियौं भन्ने झल्काउँदै दिनेशलाई भने,

‘चार हप्ता जतिमा त्यो टेस्टको रिजल्ट पनि आइपुग्ला । मेरो डिएनए सिक्वेन्ससँग उनको डिएनए सिक्वेन्स जोडेर हेर्दा हाम्रा बाबुआमा एउटै हुन् कि होइनन् भन्ने पत्ता लागि हाल्छ । त्यही सोचेर उनको उपचारको लागि डिएनए टेस्ट आवश्यक नै नभए पनि डिएनए सिक्वेन्स जाँचको लागि उनको मेडिकल फाइलमा निर्देशन लेखेकी थिएँ ।’

दिनेशले मेरो मनको अवस्थालाई मध्यनजर गर्दै त्यो डिएनए जाँचको मेरो प्रयासलाई समर्थन जनाउँदै भने,

‘अवस्थाअनुसार तिमीले आफ्नो मनलाई शान्त नपारी बिरामीको विषयमा निर्णय लिँदा त्रुटि हुने सम्भावनाको लागि पनि तिमीले गरेको त्यो प्रयास उचित थियो । चिन्ता लिनुपर्दैन । अब यहाँका अति आवश्यक कामहरू सल्टाएर बेलायत जानासाथ त्यो रिपोर्ट हेरेर निधो गरौँला । यदि रिपोर्टबाट दुवै जनाको बाबुआमा एउटै भएको पाइयो भने उनका बुवाआमाबाट यथार्थ पत्ता लगाउँला । अहिलेको विज्ञान र प्रविधिको युगमा यो अन्योलताको वास्तविकता पत्ता लगाउन ठूलो समस्या होइन नि त ।’ उनी आफैँमा अचम्म परेको विषयमा मलाई सान्त्वना दिने उनको प्रयास थियो ।

एकातिर रहस्य पत्ता लगाउने रन्को छ, अर्कोतिर बुवाआमाको यादले सताइरहेको छ । म सानी छँदा आमाले शनिबार सधैँ नुहाइदिएर घाममा राखेर तोरीको तेल लगाएर कपाल कोरिदिएको झल्झल्ती याद आइरहन्छ । बुवाको जागिर सरुवा भएर काठमाडौंमा बस्न पर्दाका दिनमा पानीको कमी हुने हुनाले नुहाइधुवाइ नपुगेर पनि होला जुम्रा परेर हैरानै हुन्थ्यो । एकपटक त मेरा जुम्राले हैरान पारेपछि आमाले जुम्रा मार्ने औषधि हालेर मेरा जुम्राबाट मलाई मुक्ति दिलाउनुभएको थियो । आमा आफ्ना साथी र आफन्तहरूसँग भेट्दा पनि मेरो प्रशंसा गर्दा म फुरुङ्ग हुन्थेँ । आमाको कपाल कति लामो थियो ! म पनि आमाको जस्तै लामो कपाल बनाउँछु भन्ने लाग्यो सानी छँदा । पछि ठूली भएपछि भने त्यो कपाल र आमाको शृंगारमा पनि हाम्रो समाजले नारीहरूलाई शोषण गराउने संयन्त्रमा हुर्किएका चलन बाँधिएको छ जस्तो लाग्न थाल्यो । कपाल लामो पाल्ने रहर हराएर गयो । तर, आमाको लामो कपाल मलाई खुब मन पर्थ्यो । आमा भने कहिलेकाहीँ लामो कपाल पिठ्युँमा छाड्नभन्दा पनि बिहा व्रतबन्धका पार्टीहरूमा जाँदा जुर्रो बनाउनुहुन्थ्यो । मलाई भने आमाले कपाललाई आमाको पिठ्युँभरि फैलिएको हेर्न मन पर्थ्यो । मैले जिद्दी गरेर मेरो इच्छाअनुसार कपाल खुल्ला राख्नुस्भन्दा आमालाई त्यो कपाल स्याहार्न मुस्किल हुन्छ कि भन्ने लागेर मेरो मनको कुरा मनमै राख्थें ।

मेरो पहिलो पटकको महिनावारी भएको समयमा आमाले दिएका सल्लाह र सिकाएका कुरा हाम्रो समाजका सदियौंदेखि चलिआएका प्रथा थिए । आमाले घामतिर नहेर्नु भनेको सम्झन्छु । शुभेच्छा भण्डारीका शब्दमा आफ्नै व्यथा भेटाउँछु अनि ती शब्दलाई सापट लिन्छु । (कान्तिपुर श्रावण ३२, २०७६)

घरबाट बाहिर निस्किँदै थिएँ, मनको बाँध फुटेर जिज्ञासाका भेलहरू छताछुल्ल हुँदै थिए । घामलाई चाहिँ किन नहेर्ने होला भन्ने सोचले डोर्‍याउँदा–डोर्‍याउँदै आधा बाटो हिँडिसकेछु, पत्तो भएन । मुन्टो तल झुकाएर, कुनै अपराधपछि मान्छेले चिन्छन् कि भन्ने डरले अनुहार लुकाएको अपराधी जस्तै अघि हिँडिरहेँ म ।

टिँटिट्... !! नजिकै आएर एउटा गाडीले हर्न बजायो । झस्केर मुन्टोमाथि उठाउँदा त आफ्नै मामा ! मलाई हेरेर मुसुक्क हाँस्नुभयो । हर्नको आवाजको झस्काइभन्दा मामालाई देखेपछिको झस्काइ बढी भयावह भयो । आमाले घरका छोरामान्छेको अनुहार नहेर्नु भनेको सम्झिएँ । अनि मुन्टो झुकाउँदै केही नबोली फटाफट पाइलाको गति बढाएँ ।

विद्यालयको गेटमा पुग्दा मेरा पाइलामा स्वतः ब्रेक लाग्यो । विद्यालय शिक्षाको मन्दिर !! र मन्दिरभित्र नछिर्ने नियम आमाले बनाइदिनुभएको सूचीको पहिलो नम्बरमा थियो । त्यसदिन भने म छिरेँ । नियम तोडेर मभित्र छिरेँ । ढुंगाको मूर्तिलाई नछुने आज्ञाविपरीत मैले सजीव मेरा शिक्षाका देवी र देवता टिचरहरूलाई छोएँ । पूजाको थालीरूपी कापी–किताब खोली मेरो भविष्य रङ्ग्याउने मन्त्रोच्चारण गर्न थालेँ । दुर्भाग्यवश मैले धेरै माया गर्ने रातो रङ्गले भने मलाई आफ्नो काबुमा राख्न थालिसकेको थियो ।

यसरी मेरो नीलो जामा पछाडि झुक्किएर लागेको रातो दागले कतै मलाई हाँसोको पात्र बनाउँछ कि भन्ने डरले मेरा अनगिन्ती महिना बितिरहे । विद्यालयको नीलो जामाभन्दा कलेजको पहेँलो साडीमा पछाडिको दाग बढी शक्तिशाली ठहरियो । मेरो प्यारो रातो रङ्ग मेरा लागि रातो ट्राफिक बत्ती जसरी स्टपको सिग्नल बन्यो, जसले मेरो स्वतन्त्रतालाई निचोरेर त्यसको रसले सामाजिक कुरीतिलाई पोसिरह्यो ।

महिनावारीका विषयमा जानकारी खोज्नकै लागि, म इन्टरनेटको जालोमा एउटा माकुरा आफूले बनाएको जालोमा सिकारको खोजीमा टहलिएझैँ टहलिएँ । मैले खोजेँ, पढेँ । सुदूरपश्चिमका छाउका छाप्रामा कुक्रुक्क परेर बसेका खुट्टाको दुखाइ सम्झिँदै पढेका इन्टरनेटका जानकारीले थोरै जुनकिरीको बत्ती झल्किएको थियो । तिनै छाप्रामा निसास्सिएका पलहरू सोच्दा मेरा सुस्केरा छुटे ।

रगतले निथ्रुक्क भएका कपडा धुन, अगाडि नै धारो थियो । तर, बेलुका घाम अस्ताएपछि मात्र त्यहाँ जाने आँट आउँथ्यो । साँच्चिकै लुगा धुँदा रातो पानीसँगै शारीरिकभन्दा कैयौँ गुणा मानसिक रूपले बगेको मेरो आत्मबल समेट्न कुरेका दिन निकै संघर्षपूर्ण थिए । धर्म र सामाजिक रीतिको ढिकीमा पिसिएका मेरा प्रश्नले त्यतिबेला पनि कुनै अस्तित्व पाएनन् ।

दबिएका ती प्रश्नलाई आज पनि समाज हरेक पल दबाउने चेष्टा गर्छ । सुदूरपश्चिमका व्यथा र ग्रामीण परिवेशका चलनचल्तीलाई औँल्याउँदै गर्दा मानिस आज आधुनिकताको व्याख्यामा अझै प्रचलित कन्क्रिट छाउगोठलाई समावेश गर्न बिर्सिन्छ । स्वतन्त्रतालाई निमोठेर लैंगिक विभेदलाई ऊर्जा दिने कुरीतिलाई मानिस च्वाट्ट छोड्न डराउँछ । देवीको पूजा गरेर घरकी सजीव देवीलाई रातो अबिरले रङ्ग्याउन अनगिन्ती मानिस आज पनि समाजको स्वीकृति पत्रको पर्खाइमा बस्छन् ।

आमालाई आफू पहिलो नछुनी हुँदा उहाँकी आमाले जे सिकाउनुभएको थियो सबै खुरुखुरु पालन गर्नुभएको थियो होला भन्ने सहजै अनुमान गर्छु । त्यसैले मलाई पनि त्यसै गर्न सिकाउनुभयो । तर, मेरो मन भने उहाँले सिकाएका कुरामा विद्रोह गर्ने जमर्को गर्थ्यो तर सकिरहेकी हुँदैनथ्यो । अलि अलि विद्रोह गर्ने आँट आउन थालेको थियो । आमालाई “तपाईंका चलनचल्तीका कतिपय कुरा ठीक भए पनि सबै कुरा ठीक छैनन्” भन्न नपाउँदै उहाँ मलाई छाडेर जानुभयो । अब मैले उहाँलाई मेरा मनका यी बह कहिल्यै पोख्न नपाउने भएँ । आमाले कुरै नबुझी सबै पीर पचाउनुभयो । उहाँलाई ती गलत थिए, भनेर कसैले भन्नै पाएन ।

दिनेश एकैछिन चुप लागेपछि भने ‘भोलि बिहान चिया खान पिताम्बर काका यहीँ आउँछु भन्नुभएको छ, उहाँसँग सबै जग्गाहरू नामसारी आदि इत्यादि गर्न कति दिन लाग्छ सबै बुझेर कहिले उता फर्कने भन्ने निधो पनि गरौँला । अहिले अब सुतौँ ।’