Blog Details

Govind Belbaseकथा सङ्ग्रह बाट
1.0

उपभोक्ता र सामसुङ, यूके कम्पनीको झगडा

31 Dec, 1969

उपभोक्ता र सामसुङ, यूके कम्पनीको झगडा

अन्ततः समासुङ कम्पनीले हार मानेछ । उसले हारखाँदासम्म मैले भने लामै हण्डर खाएँ । मेरो उद्देश्य भने कम्पनीलाइभन्दा पनि उसको प्रवृत्तिलाइ हार खुवाउनु थियो । उसको त्यो प्रवृत्ति मेरा लागि मात्र नभएर सवै उपभोक्ताका विरूद्ध हो भनेर मैले हण्डर खान पनि कम्मर कसेको हुँ ।

सामसुङको ग्यालेक्सी एस–फोर मोबाइल हातपरेको बाह्र दिनमा सिमकार्डले त्यस मोबाइलमा काम गर्न छाड्यो । मोबाइल चाही थ्री.को.यूके www.three.co.uk (थ्री वेवसाइट)बाट किनेको हुनाले थ्रीलाइ कम्प्लेन (गुनासो) गरेपछि अर्को सिमकार्ड पठायो तर त्यो सिमकार्डले पनि त्यो ह्याण्डसेटमा काम गरेन । त्यसपछि थ्रीले भनेअनुसार सामसुङलाइ मरम्मतको लागि १० जुन २०१४ मा त्यो ह्याणडसेट पठाएँ । यो चरणसम्म झगडा थिएन प्रकृया नै मानेको थएँ । तर, £ ९२ पाउण्ड तिरेको खण्डमा ह्याण्डसेट बनाएर पठाउने नतिरे नबनाइ पठाउने भनेर कोटेसन सहित सामसुङले पठाएको इमेल मेरो इनबक्समा प्राप्त भएपछि झगडा सुरू भयो ।

नगद नारायण तिरेर किनेको माल १४ दिन पनि नचलाउँदै बिग्रेपछि मरम्मत रकम तिर्न मनले पनि मानेन र कन्जुमर्स प्रोटेक्सन एक्टले उपचार देला भन्ने आशासमेत लाग्यो । त्यसैले थ्री र सामसुङ दुबैको कस्टोमर–सर्भिस नम्बरमा सम्पर्क गरेर कम्प्लेन नोट गर्न पठाएँ । तर, दुबै कम्पनीले कोटेसन अनुसारको रकम नतिरी मोबाइल नबन्ने उत्तर दिए । मैले लिखित रूपमा जवाफ माग्दा लिखित रूपमा जवाफ भने दिएनन् । मैले पनि मौखिक रूपमै मरम्मतका लागि रकम नतिर्ने बरू कम्प्लेन अगाडि बढाउने जानकारी उनीहरूलाइ दिएँ । दुवै कम्पनीले मेरो जिकिरको कुनै मतलब नै राखेनन् ।

त्यसपछि गुगलमा खोजेर अम्बुड्सम्यान सर्भिसेजको वेवसाइटमा मेरो कम्प्लेन लेखेर पठाएँ । दुइ बर्ष अघि एक इन्सोरेन्स कम्पनीले अनावस्यक रूपमा ३६ पाउण्ड चार्ज गर्दा अम्बुड्सम्यान सर्भिसेजमा कम्प्लेन गरेपछि रकम फिर्ता पाएको अनुभव पनि थियो मसंग । त्यसैले धेरै अलमल भएन ।

यता अम्बुड्सम्यानलाइ कम्प्लेन पठाएँ उता भोलिपल्ट मरम्मत नगरी पठाइएको सिमले काम नगर्ने त्यही मोबाइल हात पर्यो । केही दिनमा अम्बुड्सम्यानले मलाइ इमेलमा सम्पर्क गर्यो । इमेलमा मेरो कम्प्लेन अगाडि बढाउन ८ हप्ता कुर्नु पर्ने जानकारी थियो । तर, मेरो कम्प्लेन सुनुवाइ नहुने भनेर सम्बन्धित कम्पनीको लिखित जवाफ दिएको प्रमाण भए त्यो समय कुर्नु नपर्ने र प्रकृया अगाडि बढ्ने पनि जनाइएको पाएँ । साथै, लिखित जानकारी कम्पनीले नदिएको अवस्थामा लिखित रूपमा कम्प्लेन कम्पनीलाइ पठाउन पनि सुझाव गरिएको रहेछ । त्यसै अनुरूप मैले थ्रीलाइ लिखित ब्यहोराको पत्र पनि हुलाकबाट पठाएँ ।

अम्बुड्सम्यानले उक्त समय भित्र कम्प्लेन समाधान नभए छानविन गरिने पत्र कम्पनीलाइ पठाउने कार्यविधिकोबारेमा माथि उल्लेख गरे अनुसारको यस अघि इन्सोरेन्स कम्पनीसंगको झगडाबाटै मलाइ थाहा थियो । मेरो कम्प्लेन सुनुवाइ गर्नु पर्ने ठानेमा त्यस्तो पत्र सम्बन्धित कम्पनीलाइ अम्बुड्सम्यानले तत्काल नै पठाएको हुँदो रहेछ ।

नभन्दै मैले कम्प्लेन गरेको लिखित पत्र थ्रीलाइ पठाएको तीन दिनमा थ्री को कम्प्लेन हेर्ने टीमबाट फोन आयो । उसले त्यो खराब ह्याण्डसेट बनाउन सामसुङ कम्पनीमा फेरि पठाउन सुझाव गर्दै सामसुङलाइ मरम्मत खर्च (९२ पाउण्ड) तिरेको बिल पेस गरेपछि थ्रीले त्यो रकम मलाइ दिर्ने कबुल गरियो । सोही अनुरूप सामसुङलाइ फेरि त्यो ह्याण्डसेट पठाएँ । सामसुङबाट मोबाइल मरम्मत गरिएकोले फिर्ता पठाउने हुलाक खर्च ७ पाउण्ड ८० पेन्स माग्न फोन आयो र त्यो हुलाक खर्च तिरेपछि मैले मरम्मत भएको सही सलामत ह्याण्डसेट प्राप्त गरेँ । आखिर सामसुङले नै त्यो ९२ पाउण्ड मसंग लिएन । मैले थ्रीलाइ फोन गरेर ९२ पाउण्ड तिर्नु परेन भन्ने जानकारी गराएँ र हुलाक खर्च मात्र तिरेको बताएपछि हुलाक खर्च बापतको ८ पाउण्ड पनि थ्रीले मेरो एकाउण्टमा (पे–एज–यू–गो) मा टपअप गरीदियो ।

कम्पनीहरूले उपाभोक्तालाइ गर्ने यस्ता ब्यवहारमा ग्राहकहरू चुप्पलागेर सहेर बस्ने हो भने उनीहरूको ज्यादती बढ्दै जाने हुनाले हामी ग्राहकहरू थोरै रकमकै लागि पनि अन्याय सहेर बस्नु हुँदैन भन्ने मेरो राय छ । कम्पनीहरूको अन्यायपूर्ण ब्यवहार विरूद्ध सहेर बस्दा ब्यक्तिगत घाटा कम हुन सक्छ र कम्प्लेन गर्दा समय र दुखः बढी हुन सक्छ । तरपनि अन्याय विरूद्ध जगरूक भइयो भने आफूजस्ता अरू ग्राहकलाइ शोषण गर्नबाट कम्पनीहरू हिचकिचाउने हुन्छ । त्यसैले अन्याय विरूद्ध जुझारू हुँदा ब्यक्तिगत रूपमा धेरै फाइदा नभए पनि समग्र समाजलाइ फाइदा हुन्छ ।

कुनै कम्पनीको ब्यवहार अन्यायपूर्ण लागेमा के गर्नु पर्छ त भन्ने प्रश्न उठ्न सक्छ । त्यसका लागि सर्वप्रथम सम्बन्धित कम्पनीको कस्टोमर सर्भिसलाइ आफ्नो गुनासो जानकारी गराउनु पर्छ । चित्त बुझ्दो समाधान भएन भने सवै ब्यहोरा जनाएर कम्पनीले गुनासो सुनुवाइ समेत नगरेको ब्यहोरा अम्बुड्सम्यान सर्भिसमा लेखिपठाउनु पर्छ । त्यसका लागि वेवसाइटमा गुनासो कस्का विरूद्ध हो र ब्यहोरा के हो भन्ने लेख्ने ब्यवस्था गरिएको छ ।

त्यस्तो गुनासो (कम्प्लेन) प्राप्त भएपछि अम्बुड्सम्यानले सम्बन्धित कम्पनीलाइ ब्यहोरा साचो भए नभएको सोध्नका साथै उपभोक्ताको गुनासो उचित समयभित्र छानविन नभए अनुसन्धान र तहकिकात गरी कारवाही हुन सक्ने पत्र कम्पनीलाइ पठाउँछ । छानविन भएको खण्डमा कम्पनीका अरू कमजोरीहरू पनि खुलासा भएर फसादमा पर्ने डरले कम्पनीहरूले तत्काल गुनासो (क्म्पलेन) समाधान गर्न लागि पर्छन् ।

यस सम्बन्धमा उपभोक्ताहरू सचेत हुनुपर्छ भनेर मेरो अनुभव उल्लेख गरेको हुँ । मेरो कुरा अनुचित लागे कृपया मलाइ जानकारीसहित सचेत गराइदिनु भएमा आभारी हुने छु ।

धन्यबाद

– गोबिन्द वेल्वासे

१७ जुलाइ २०१४

Recent Blogs