Blog Details

Govind Belbase Govind Belbaseपुरानो ब्लगबाट

एनआरएन नागरिकताः कुर्दाकुर्दै बित्यो पाँच वर्ष, अझै कति कुर्ने

Text Reader Controls

1.0
1.0
1.0

एनआरएन नागरिकताः कुर्दाकुर्दै बित्यो पाँच वर्ष, अझै कति कुर्ने ?

नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलालाई नेपाली नागरिकता प्राप्त गर्न सात वर्ष कुर्नु पर्ने संसद्को राज्य ब्यवस्था तथा सुशासन समितिको सुझाव अनुरूप नै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले निर्णय गरेको छ । यो संशोधन प्रकृया पुरा नहुँदासम्म नेपाली पुरूषसंग विवाह गर्ने विदेशी महिलाले प्रकृया पुरा गरेको खण्डमा विवाह हुनासाथ नेपालको नागरिकता पाउने ब्यवस्था छ । यसै विषयको विधेयकसंग जोडिएको 'गैर आवासीय नेपाली नागरिकता' सम्बन्धी संशोधन पनि चलायमान हुन्छ कि भन्ने आशा थियो । चांडै टुङ्गाउन पर्ने तर लम्बिरहेको विषय अब पार लाग्छ कि भन्ने प्रवल सम्भावना फेरि संसदको स्थगनले टारेको छ । पदीय लोभलालचको निन्दनीय राजनीतिको दौडधुपकै बीचमा अनैतिकरूपले संसद स्थगन गरिएको छ । नागरिकता संशोधन विधेयक फेरि पनि 'माछो–माछो भ्यागुतो' भयो । संविधान जारी भएपछि नागरिकताका विषयमा संविधानको भावना अनुसार परिमार्जन गर्ने विधेयक २०७५ सालको साउन २२ गते प्रतिनिधि सभामा पेश भएको दुई वर्ष पुग्न एक महिना मात्र बाँकि छ । राजनैतिक स्वरूपको सामाजिक अल्झनमा रूमल्लिनाले पनि यो विधेयक अगाडि बढ्न नसकेको हो । सहमति जुटेछ भने पनि यो पारित हुन दुई वर्ष भन्दा बढि लाग्नु भनेको अति विलम्ब भैसक्यो भन्ने निचोड निस्कनु नै हो ।

सात वर्षको प्रावधान बुहारीको लागि मात्र लागु हुने भनिएको छ । विदेशी नागरिकता छाडेर नेपाली नागरिक हुन चाहने ज्वाइँको विषयमा उक्त सुझाव मौन छ । यो प्रावधानले नेपाली छोरीले विदेशीसंग विवाह गरेको खण्डमा नेपाल छाडेर जानै पर्ने भावना बोकेको छ । यो संशोधन ब्यवस्थाबाट नेपाली केटाले विदेशी केटी बिवाह गरेमा नेपालमा ल्याउन पाउने ब्यवस्थाका विषयमामात्र ब्यवस्था गर्न थालिएको हो । यो प्रावधानले संविधानको प्रस्तावना तथा मौलिक हक अन्तर्गत धारा १८(३) को राज्यले लैङ्गिक भेदभाव गर्न नपाउने प्रावधानलाई उल्लंघन गर्दछ । तर, कम्यूनिष्ट पार्टीको बहुमतको सरकार र महिला (शशि श्रेष्ठ) सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिको यो प्रावधान हाम्रो परम्परा र संस्कृति अनुकूल भने छ किनकि यो प्रावधान मनुस्मृति अध्याय-८ श्लोक-४१६ अनुकूल छ । मनुस्मृति:
"भार्या पुत्रश्च दासश्च त्रय एवाधनाः स्मृताः। यत्ते समधिगच्छन्ति यस्य ते तद्धनम्।।"

यो श्लोकको अर्थ हो: पत्नी, पुत्र र दास निर्धन हुन्छन् । उनीहरूले जे कमाउँछन त्यो सबै उनीहरू जसका हुन उसै (मालिक) लाई प्राप्त हुन्छ ।
अर्को शब्दमा भन्दा कानूनको शासन उल्लंघन गर्न सरकार अग्रसर भएको छ । संविधान मिचेरै भए पनि मनुस्मृतिको प्रावधान जोगाउन नेपाल कम्यूनिष्ट पार्टी कटिबद्ध देखिन्छ । स्वभावतः यहाँ प्रश्न उठ्छ नेपाली केटी विवाह गर्ने विदेशी पुरूषले कति वर्ष कुर्नु पर्छ त ?
उत्तर सिधा छः विदेशी ज्वाइले नेपालमा जति बसेपनि नागरिकता प्राप्त गर्न नसक्ने कानूनी ब्यवस्था छ । ज्वाइ भए पनि अरू विदेशीले प्राप्त गर्ने अंगीकृत नागरिकताको प्रावधानमात्र उपलब्ध छ । उक्त ब्यवस्था अनुसार १५ वर्ष नेपालमा बस्ने ज्वाइले पनि नेपाली नागरिकता पाउँछन् भनेर कुतर्क गर्ने गरेको पनि पाइन्छ । तर, नेपालमा बस्ने विदेशी ज्वाइले देशलाइ ठूलो योगदान गरेको भनेर नेपाल सरकारलाइ नलागेसम्म कुनै पनि हालतमा नेपाली नागरिक हुन पाउँदैनन् । कोलिन स्मिथ (पुतली बाजे) को तथ्य यस सम्बन्धी ज्वलन्त उदाहरण हो । ७ वर्षमा बुहारीले नागरिकता पाए जस्तो ज्वाइले १५ वर्षमा पाउने भन्ने ब्यवस्था छैन । संविधानले ज्वाइको विषयमा कानून बनाउन सरकारलाई स्वतन्त्रता भने दिएको छ । रोक लगाएको छैन, तर धारा ११(६) मा बुहारीलाई अंगीकृत नागरिकता दिने ग्यारेन्टी गरे जस्तो ब्यवस्था गरेको छैन । झट्ट हर्दा यो धाराले महिलाको संरक्षण गर्न खोजेको भनेर परम्परा धान्ने वकालत गर्नेहरूलाई तर्क गर्न सजिलो पारेको देखिन्छ । वास्तवमा यो ब्यवस्थाले नेपाली छोरीहरूलाई विदेशीसंग विवाह गरेर स्वदेशमा बस्न नपाउने विभेद गरेको छ । छोराले विदेशी विवाह गरेर नेपालमा संगै बस्न पाउने तर छोरीले भने विदेशीसंग विवाह गरेको खण्डमा देश छाडेर जानु पर्ने ब्यवस्थाले लैंगिक विभेद गरेको छ । यो प्रावधानले संविधानको धारा १८(३) उल्लंघन गर्दछ ।
नेपालकी चेली भारतमा विवाह गरेर जाँदा भारतीय नागरिकता प्राप्त गर्न ७ वर्ष कुर्नु पर्ने ब्यवस्थालाई समानान्तर गर्ने गरी यो ब्यवस्था गर्न खोजेको तर्क गरेको पाइन्छ । भारतको 'दी सिटिजनशीप एक्ट १९५५' को दफा ५ (सी) मा त्यस सम्बन्धी ब्यवस्था गरेको पाइन्छ ।
5. Citizenship by registration- (c) a person who is married to a citizen of India and is ordinarily resident in India for Seven years before making an application for registration;

तर, हेक्का गर्नु पर्ने विषय के पनि हो भने उक्त दफाले बुहारी र ज्वाइमा विभेद गरेको छैन । बुहारी र ज्वाइ जसले पनि सात वर्षपछि नागरिकता रजिष्ट्रेशनको लागि निवेदन दिन पाउँछन् । नेपालमा ब्यांकमा खात खोल्न, पढ्न र जागिर खान जस्ता पाइलै पिच्छे नागरिकता चाहिए जस्तो भारतमा नागरिकता प्रमाणपत्रको आवस्यकता नपर्ने विषय यहाँ छलफल गर्न जरूरी छैन । नेपालमा नागरिकताको प्रमाणपत्र नभइ नचल्ने करिब सवै काम भारतमा रासन कार्ड बाटै चल्छ । रासन कार्ड त भारतमा विवाह पनि नहुँदै विवाहको कुरा मात्र छिनियो भने पनि सजिलै बनि हाल्ने ब्यवहार छ । त्यसैले भारतको कानूनको ७ वर्षको प्रावधान अनुसार नै नेपालमा संशोधन गर्न लागिएको तर्कमा इमान्दारिता नभएको बुझिन्छ । व्यवहारिक कठिनाइबाट कुनै समुदायप्रति पूर्वाग्रहको लागि सात वर्षको अड्को थापिएको विषय उग्र राष्ट्रवादसंग संबन्धित विषय भएकोले छुट्टै छलफल हुन सक्छ ।

संविधानको (धारा १८.५) मा पैतृक सम्पत्तिमा लैंगिक भेदभाव विना सवै सन्तानको समान हक हुनेछ भनिएको छ । तर, विदेशीसंग विवाह गर्ने छोरीले जीवनसाथीको नेपाली नागरिकता बनाउने अधिकार नहुने भएपछि त्यस्तो अंश बेचेर विदेश जानु पर्ने प्रावधानले गर्दा लैंगिक भेदभाव हुन जान्छ । झट्ट हेर्दा नागरिकताको विषय देखिने यसको सरोकार सम्पत्तीको हकसंग र छोरीलार्इ देश निकाला गर्ने हत्कण्डा बन्न गएको छ । हामीले संविधानमा लेखेका प्रावधान लोकतन्त्रको मान्यतामा आधारित छन् । तर संस्कृति र संस्कार भने नेकपाले पनि मनुस्मृति अनुसार नै चलाउन चाहेको हुँदा यो अन्तर्विरोध उजागर भएको हो । यो लैंगिक भेदभाव पूर्ण नागरिकताको प्रावधानबाट छोरीहरूमाथि शोषण गर्ने सामाजिक परिपाटीले नै निरन्तरता पाउने छ ।

नेपालमा भारतसंगको दैनिकी संबन्ध गहिरो छ । पूर्व प्रधानमन्त्री बी.पी. कोइरालाकी नातिनी मनिषा कोइरालालाई भारतमा बस्न तथा नाम र दाम दुवै कमाउने नायिका बन्न कुनै कानूनी ब्यवधान गरेन । त्यसै गरी बिनोद चौधरीका हजुरबुवा भूरामल चौधरीलाई भारतबाट नेपाल आएर ब्यवसाय गर्नमात्र होइन नातिलाई विश्वको गिनेचुने धनाढ्यको शिखरमा चढ्ने सिढी निर्माण गर्न पनि कुनै समस्या भएन । तर, जहिले जहिले नागरिकताको कुरा उठ्छ भारतीयहरू नेपाल छिर्ने सम्भावना रोक्ने कुतर्क गर्ने गरिन्छ ।

संविधानले अक्षर र भावना दुवै रूपले छोरा र छोरी समान हुन र विभेद गर्न पाइँदैन भनेर स्पष्ट ब्यवस्था गरेकै अवस्थामा राज्यले घुमाउरो बाटोबाट छोरीलाई हेला गर्न पाउँदैन । नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न अहिले नै अति ढिला भैरहेको अवस्थामा संसदले छोरा र छोरीको बीचमा विभेद गर्यो भने फेरि यही विषयले सर्वोच्च अदालतको समय समेत खाने अवस्था सिर्जना गर्नु मुर्खता ठहरिने छ । अहिलेको पुस्ताले भोगेको भूमण्डलीकरण तथा वैदेशिक रोजगारी र गैर आवासीय नेपालीको परिस्थिति पनि यही विलम्बका कारण समस्यामा परेको छ । संविधान बनेको पाँच वर्ष भैसक्दा पनि धारा १४ अनुसारको कानून निर्माण गर्न नसक्नुले राजनैतिक नेतृत्वको असफलता प्रमाणित भैरहेको छ । यस्तो परिस्थितिमा बुहारी र ज्वाइको विभेदपूर्ण ब्यवहारबाट परिस्थितिलाई विलम्बमा धकेल्ने काम कुनै पनि पक्षबाट नगर्न नगराउन संसद नै सजग हुन जरूरी देखिन्छ । बुहारी (छोरा) र ज्वाइ (छोरी) का बीचको विभेद गैर आवासीय नेपालीहरूको सन्दर्भमा पनि त्यत्ति नै गम्भीर विषय हो । यो सन्दर्भ जति तराइको विषयका रूपमा लागु हुन्छ त्यत्तिनै गैर आवासीय नेपालीका विषयमा पनि लागु हुन्छ ।
globalnepalese.com मा प्रकाशित