Blog Details

Govind Belbase Govind Belbaseपुरानो ब्लगबाट
बिकट गाउँको प्रविधि र आधुनिक सभ्यताबाट अलग्गै हुँदाका परिवेशको ओठको हाँसो र आफूलाई सहयोग गर्ने विदेशीहरूको 'क्रिसमस' तथा 'इस्टर'का भेटघाटमा मनमुटाव र सभ्यताको तछाडमछाडमा उम्रिएका बनावटी मुस्कानसम्मको परिवेशका खुसीलाई खोतल्ने प्रयासमा उपन्यासको आकारमा 'मोह' तयार पारेका छन्

उपन्यास- मेाह Writer: बिकलचन्द्र आचार्य

खुसी भेट्ने 'मोह'

समीक्षा

– गोविन्द बेल्वासे

बिकलचन्द्र आचार्य “खुसी”को अनुसन्धानको मोहमा नेपालको गोरखा जिल्लाबाट लण्डनसम्मको परिवेश मन्थन गर्ने जमर्को गर्छन् । उनी बिकट गाउँको प्रविधि र आधुनिक सभ्यताबाट अलग्गै हुँदाका परिवेशको ओठको हाँसो र आफूलाई सहयोग गर्ने विदेशीहरूको 'क्रिसमस' तथा 'इस्टर'का भेटघाटमा मनमुटाव र सभ्यताको तछाडमछाडमा उम्रिएका बनावटी मुस्कानसम्मको परिवेशका खुसीलाई खोतल्ने प्रयासमा उपन्यासको आकारमा 'मोह' तयार पारेका छन् ।

कृतिमा उल्लेख भएका “लोझाए” र “हौटहौट” जस्ता नेपाली शब्दकोशमा नभेटिने शब्दहरूले क्लिष्टता झल्काए पनि समग्रमा सरल प्रस्तुति लेखकको सादापनमा उच्च विचारको प्रस्तुतिका रूपमा 'मोह' देखिएको छ । विदेशी भाषाबाट अलमल परेर अपभ्रंश भएका हुन यस्ता शब्द वा गोरखाका स्थानीय शब्दहरूको मीठास झल्काउने शब्दहरू हुन भन्ने वास्तविकता भने पाठकलाई बुझ्ने अवसर यी साहित्यकारले दिन सकेका छैनन् । विषयबस्तु र परिवेशलाई तन्काउन र व्याख्या गर्न सक्ने क्षमता लेखकले यस कृतिबाट उजागर गरेका छन् । अत्यन्त धेरै पात्रहरू उल्लेख गर्ने र मुख्य पात्रलाई निकै सहयोग गर्ने पात्रहरूलाई पछिल्लो भागमा विलय गराइएका कमजोरीहरू भने नभएका होइनन् ।

होवार्ड फास्टले 'लोला ग्रेग' नामको उपन्यासमा अमेरिकाको परिवेशमा कम्युनिष्ट विरोधी तानाशाहीपनलाई भावनात्मक रूपमा अभिव्यक्त गरेका छन् । तर, उपन्यासको अन्त्यमा उनले लेखेको लेखकीय नोटबाट 'यूएसए'को कम्युनिष्ट विरोधी कानूनको यथार्थ उल्लेखनले उपन्यासको काल्पनिक कथालाई बौद्धिकताको उचाइ दिन पुगेका छन् । बिकलको 'मोह' उपन्यासले पनि त्यो झल्को दिन खोजेको छ। 'मोह'को अन्तिमको आवरण पृष्ठमा आफ्नो विवरण उल्लेख गरेका छन् । साथै आफ्नो भनाई राख्ने क्रममा पात्रहरू जीवन्त रहेको र घटनाहरू सत्य भएको उनले उजागर गरेका छन् । त्यो विवरणबाट उनले आफ्नै कथालाई उपन्यासको रूपमा ढाल्न खोजेको कुरा पाठकबाट लुकाउन सकेका छैनन् । पुस्तकको स्वरूप र प्रस्तुतिलाई उपन्यास भने पनि उनको आत्मकथालाई कति कल्पनाको जलपले ढाक्न खोजे र कति वास्तविकता हो भन्ने भ्रममा पाठकलाई उनले धकेलेका छन् । एक उपन्यासमा पाठकले खोज्ने मिठास पुस्तकको बीचको भागमा मुख्यपात्रको बेलायत प्रवेशमा छात्रवृत्ति लगायत पराईबाट भोगेका अपनत्व र कडा परिश्रमको परिवेशको प्रस्तुतिमा भेट्न सकिन्छ । तर, पाठकले पुस्तकको सुरु र अन्त्यमा आशालाग्दो मिठास भेट्न सक्दैनन् । बरु उपन्यास हो कि आत्मकथा भन्ने अन्योलमा पारेको दोष प्रस्तोतालाई पाठकले दिने धेरै कारणहरू छन् ।

लेखकले “म” पात्र बनेर घटनाक्रमलाई आत्मकथाका रूपमा प्रस्तुत गरेका भए प्रस्तुतिले मिठास अझ बढी पाउन सक्थ्यो भन्ने मेरो व्यक्तिगत ठहर छ ।

पुरातनवादी सामन्तवादका अवशेषबाट लेखक माथि उठ्न सकेका भए कृति अझै सकारात्मक सन्देश दिन सफल हुने थियो। “प्रयास नै नगरी हार खानु त मर्द नै भएन नि” जस्ता अभिव्यक्त शब्दावलीबाट लेखकले महिलालाई सफलता खोज्ने प्रयास गर्ने अधिकार नभएको र पुरुषलाई मात्र त्यो अधिकार भएको सन्देश दिने प्रयास गरेका छन् जसलाई प्रगतिशील मान्न नसकिने स्थिति छ ।

आचार्यले दुर्गममा देखेको दरिद्रीलाई बेलायतमा आफू पनि सामेल भएको 'पार्टी' (भोज) संग तुलना गर्दै समाजको असमानतालाई तीखो बाण हानेका छन्। “असमानतामा नै रुमल्लिएको जीवनको यथार्थ त हो नि” भन्दै यस कृतिमा दार्शनिक भाव पोख्न उनी सफल रहेका छन्। यस्ता असमानताबाट समाजलाई उन्मुक्ति मिल्ने मार्ग पनि लेखकले दर्शाउन सके अति उत्तम हुने छ।