Blog Details

Govind Belbase Govind Belbaseपुरानो ब्लगबाट

चैतेस्थानी (साहित्य)

Text Reader Controls

1.0
1.0
1.0

चैतेस्थानी (साहित्य)

भक्तजनहरू,

चैत्र महिनाभरि सामाजिक दुरी बनाइ गृहबासको तपस्या गर्नाले चैतेस्थानी माता प्रसन्न हुँदा कोरोना नामी राक्षसनीबाट मुक्ति मिल्दछ ।

परिचयः

बसन्त गोत्रमा हुर्किएकी चैतेस्थानीको मार्चरूपी वर्गको स्प्रिङ सिजनमा बस्ने ब्रतको वर्णन सुन्नाले पुन्य मिल्दछ । यी चैतेस्थानी कस्ति भने वुवान प्रान्तबाट प्रकट भइ दुनियालाइ त्राहिमाम पारेकी कोरोना राक्षसनीको सर्वनास गर्न सक्ने यिनको गुण सर्बब्यापी छ । दुनियाको हित गर्ने यीनको कल्याणको वर्णन गर्न हजार जिब्रा भएका शेषनागको ब्याख्या पनि पुरा नहुन सक्छ भने मैले त कति नै सकुँला र !!

हुरी हुण्डरी चलेर पात पतिङ्गर उडाउँदै त्राहिमाम पार्ने तातो स्वाँठ लिएर कोरोनालाइ लखेट्दै तराइबाट पहाड र हिमालको नेटो कटाउने चैतेस्थानीको स्वरूप अपरम्पार छ । जाडो यामको चुक घोप्टाएका लामा रात छोट्याउँदै दिन लम्ब्याउने गुणमा लिप्त चैतेस्थानीको सेवामा भक्तजनहरू जुटेमा मेवा पाउनेहरूको लाम लागेको छ । जाडोले झारेका पातले भूइभरि विछाइएका खर्स्याङ उडाउँदै हिड्ने पवनको आडमा यीनको रूद्र रूपले कोरोनालाइ पनि त्राहिमाम पारेको छ ।

पुर्ख्यौली

चैतेस्थानी माताको पुनर्जन्म २०४६ सालमा भएको हो । त्यसपछि यी माताको प्रताप फैलँदो छ । चैतेस्थानी माताले पञ्चायती कालमा पञ्च बनी रजाइ गरेका दुष्टरूपी प्राणीलाइ चैते काङ्ग्रेस बनाइ उध्दार गरेकाले राजनीति शाष्त्रमा चैतेस्थानीको महिमा विवादित भयो । चैतेस्थानीकै आशिर्वादमा कम्निष्ट खोल ओढ्नेले ९ महिने शासनको मौकामा चौका हान्दा सुत्केरी दवाइ र पजेरो काण्डबाट ख्याति कमाउँदा भए । कालान्तरमा होलीवाइनको जन्जालमा फस्दा भए । जनहितलाइ भन्दै रगत बगाउने माओपथमा चैतेस्थानी माताकै आशिषले एकताकेन्द्र नामले प्रज्वलित नारायण स्वरूपका काजीहरूले राज गर्ने गद्दीको भोग गर्दा भए ।

त्यस्ता दुष्टको समेत तपस्यामा बरदान दिने चैतेस्थानी माताको एकान्तबासी तपस्याले कोभिड१९ समस्याबाट पार पाउन दुखी र दरिद्र शरणमा परेमा फलिफाप हुने हल्लाले भक्तजनको लाम लाग्दो भया । कुलो लाग्ने बेसीका फाँटमा खोक लाउने हलिको पसिना झार्ने चैतेस्थानीको तापले रोपारीलाइ सेक्दो भयो । नुन खेप्न जाने ढाक्रेको लस्कर देखाउने चैतेस्थानीको महात्म्य घटेर टेक्टर र ट्रकको लस्करको धुलो उड्ने यी माताको माइती घर रह्यो । फूल फूल्ने र टुसा पलाउने यो याम पुर्खाकै बरदार भयो ।

मावली

चैतेस्थानी माताको मावली विक्रम सम्बतको खलकमा रहेको ज्योतिष महात्म्य पात्रोमा उल्लेख पाइन्छ । सोही गोत्रको सात फेरोमा परिवर्तन गरी ग्रागेरियन गोत्रमा प्रवेश गर्दा उनको थर स्प्रिङ हुन गएको मार्च नामले पनि चिनिदो भइन । इस्टरसंग मित लाउन पाउने उनको थरको महत्व क्रिश्चियन बजारमा धुमधामले मनाउने चलन पनि छ । उनको घर र माइत जता ततै मानव जातिले तपस्या गरेर चैतेस्थानीलाइ प्रसन्न पारेर कोरोना राक्षशनीबाट बच्न जप, तप ध्यानमा लिप्त भएका छन् । चैते बाँदरको उल्लासले बजारमा ताल मिलाउन नजाने पनि चैतेस्थानी माताको प्रताप यो कलीयूगको कल्याणको मर्मले कालान्तरसम्म मायाजालमा फसाउने अलौकिक महत्व ज्वाजल्यमान भएको छ ।

ब्रत विधि

हरदम बीस सेकेन्ड मिचीमिची हात धुइ ब्रत थालनी गर्दा माता प्रसन्न हुन्छिन । सेनिटाइजरको धुप नैबध्दले चैतेस्थानीको मुहार उज्वल पार्दछ । दुइ मिटर नगिचको सानिध्यता मातालाइ मनै पर्दैन । दुरी कायम गरी आराधना गर्ने भक्तजन चैतेस्थानीले मान पार्छिन । ज्वानो र तातो पानीको अभिशेक उनको स्वादिष्ट भोग हो । भिडभाडबाट दुरी बनाइ घर भित्रैको ब्यायाममा लिप्त तपस्याले माता खुसी हुन्छिन । अरूको सेवा गर्नेलाइ आशिष दिन्छिन ।

बेलायती फाँटमा लहराएका गहुँको हरियाली र नेपालको गहुँ स्याहार्ने यामको ब्यस्तता छाडेर चैतेस्थानीको तपस्यामा लिप्त हुनु पर्छ । हेफिभरको हाच्छ्यूमा झुक्याउने कोभिड लक्षण चैतेस्थानी माताको ममतामा तपस्याको फल पाउन गृहस्थबन्दी तपस्या नै माता खुसी पार्ने उत्तम ब्रत विधि मान्नु ।