यात्राको थकाइले गर्दा घर पुगेर नुहाएर सुतेको त बिहान उठ्दा नौ बजिसकेको रहेछ । यात्राको थकाइमाथि चिन्ताले गर्दा जीवनमा सबैभन्दा कठिन अवस्था बेहोर्न परे पनि सबै सहन परिहाल्दो रहेछ । भोलिदेखि त फेरि काम– बिरामी–उपचार, छोरीको स्कूल खाना, काममा जान **टिफिन** आदि त्यही दैनिकी चल्ने नै छ । दिनेशको भने कामकै सिलसिलामा उतैबाट नेपाल यात्रा जुऱ्यो । जस्तो भए पनि मलाई जस्तो उनलाई चिन्ता हुने कुरा पनि भएन । तर, त्यसै पनि मेरै कारणले पनि चिन्ता त उनलाई पनि पर्ने नै भयो । छोरीलाई स्कूल छुटेको पीर त छँदैछ । तर, उनले नेपाली संस्कार र यात्राको विषयमा जुन जानकारी जम्मा गरेकी छन् त्यसको लेखन राम्रो ठहरिएर कतै **म्यागजिनमा** प्रकाशित हुँदा अरूलाई पनि फाइदा हुन्छ र त्यसैबाट प्रभावित भएर कतिपय यात्री नेपाल गए भने नेपालको पर्यटनलाई पनि टेवा पुग्ने नै हुन्छ । जस्तो भए पनि पुर्खाको देशको माया त लाग्ने नै रहेछ ।
**किचन** (भान्सा)मा झरेर चिया बनाउँदै गर्दा मनमा फेरि उनै एम्माको सम्झना आयो । आज त अब हस्पिटल पुगेर ब्लड तथा **डीएनए** परीक्षण हेर्ने सम्झनाले मनभित्र भरिएर बसेको पीर पनि अलि शान्त भयो । एउटा केटीको विषयको सम्झनाले **आफ्नै** आमाबुवा गुमाएको पीर पनि शान्त हुँदो रहेछ । मनै त हो । जुन विषय यो मनलाई मन पर्छ त्यसैमा रुमल्लिन्छ । कुनै पीरलाई त्यो पीर कसरी हटाउने, त्यो पीर के गरेर हट्थ्यो होला ? भन्ने जस्ता कुरा मनमा खेलेर चिन्ता बढाउँदै पनि लग्छ । त्यही चिन्ताको बीचमा अरू कुनै विषयले मन रमाउन थाल्यो भने चिन्ता हटेर पनि जान्छ । नत्र बुढापाकाले भने जस्तो ‘चिन्ताले चिता पनि पुऱ्याउँछ ।’
छोरी अझै नउठेकीले मैले दिनेश र मलाई चिया बनाएर **सिटिङ रुममा** आएँ । एकैछिनमा दिनेश पनि बाथरुमबाट **फ्रेस** हुँदै **सिटिङ रुममा** छिरेर **टिभीमा न्युज च्यानल** लगाउँदै बसेर चिया खान थाल्यौँ । एकैछिनको समाचारहरूको सिलसिला सकिएर विज्ञापन देखिन थालेपछि दिनेशले भने, ‘म पनि पहिला अफ्रिकाको यात्रा, फेरि नेपालको चिन्ता भरिएको सफर दिमाग पनि भरिएर आएको छ । तिमीलाई पनि झन् कति पीर परेको होला म बुझिरहेको छु । यसो गरौँ । अर्को हप्ता कतै घुम्न जाऊँ । अलि मन पनि बहकिन्छ । यो चिन्तामाथि भोलिबाट काममा गएपछि एक हप्ता गाह्रो पनि हुन सक्छ । बरु शुक्रबार गएर आइतबार साँझ फर्कने गरी घुम्न जाऊँ । सोमबारबाट काममा आउने भएपछि छुट्टीको पीर पनि भएन । छोरीको स्कूल पनि छुट्दैन । हुन्न र ?’
दिनेशको कुरा मलाई पनि ठीकै हो जस्तो लाग्यो । उनको कुरामा सहमति जनाउँदै भनेँ, ‘हुन्छ, **कम्प्युटरमा** खोज न त मिल्दो समय अनुसार के गर्दा ठीक हुन्छ, त्यसै गरौँ ।’
एकैछिन दिनेशले **कम्प्युटरमा** सप्ताहन्त (**विकेन्ड**)को घुम्ने कार्यक्रम मिलाउन थाले म भने भान्सामा गएर उनलाई र मलाई **ब्रेड टोस्टरमा** हालेँ । **ब्रेड** तातुन्जेल **एभोकाडो** काटेँ र **एभोकाडो** र **ब्रेड** लिएर **सिटिङ रुममा** जाँदै गर्दा माथिल्लो तलाबाट आएको आवाजबाट छोरी उठेर बाथरुम छिरेको जस्तो आभास भयो । उनी तल झरुञ्जेलमा उनलाई पनि नास्ता बनाइदिऊँ जस्तो मन त भयो तर छोरीलाई अहिले फेरि के खाने मन लाग्ने हो सोधेरै गर्नुपर्ला भनेर **सिटिङ रुममा** बसेर खान थाल्यौँ ।
दिनेशले चियाको चुस्की बेलाबेला लिँदै **कम्प्युटरमा** खोज्दै गर्दा आँखा **स्क्रिनतिरै** पारेर भने ‘एउटा **क्रुज** रहेछ, शुक्रबार गएर आइतबार आउने, त्यसैमा जाऊँ, है ।’
मलाई त जता भए पनि जान पाए मन बहलिन्थ्यो भन्ने भइरहेकोले ‘हुन्छ । **बुक** गरौँ न त, तर छोरी बाथरुम गए जस्तो मानेकी छु, उनीसँग पनि एक पटक सल्लाह गरेर **फाइनल बुक** गरौँला ।’
छोरी तल झरेपछि ‘हामीले **एभोकाडो** र **ब्रेड** खायौँ, तिमीले के खाने ?’ भनेर सोधेँ ।
उनले ‘**पोरिज** (जौंको ढुटो) खान्छु, म आफैँ बनाउँला भनिन् ।’
दिनेशलाई ‘छोरीसँग **विकेन्ड होलिडे** जाने विषयमा सल्लाह गर्दै गर, म छोरीलाई **पोरिज** बनाइदिन्छु’ भनेर म **किचन** (भान्सा)मा गएँ ।
**बाउछोरीको** कुरा मिलेछ अनि म छोरीको लागि पाकेको **पोरिज** लिएर **सिटिङ रुममा** पुग्दा दिनेशले भने ‘ल छोरीले पनि हुन्छ भनेकी छन् । **क्रुज बुक** गर्न थालेँ केही भन्नु छ भने भन । शुक्रबार साँझ साउथेम्टनबाट जाने रहेछ । बिहान गाउञ्जी टापुमा पुऱ्याउँछ । दिनभरि टापुमा घुमौँला अनि रातभरि **फेरीमा** फिर्ता आएर साउथेम्टन पुऱ्याउने रहेछ ।’
साउथेम्टन भनेको बेलायतको दक्षिण किनार हो । समुन्द्रका छालले किनारालाई छ्यापिरहेका हुन्छन् । गहिरो समुन्द्र र भूमि एकै ठाउँमा जोडिएको हुनाले राम्रो मानिएको बन्दरगाह पनि हो । नेपालका पूर्व प्रधानमन्त्री जङ्ग बहादुर राणा बेलायत भ्रमणमा पुग्दा पानी जहाजबाट ओर्लिएर बेलायतको भूमिमा पहिलो पाइला टेकेको सहर । हुन त उसबेला भारत पनि बेलायतकै उपनिवेश रहेकोले उनले बेलायतकै भूमिबाट पानी जहाज चढेर बेलायतकै भूमिमा झरेको ठाउँ भन्दा पनि हुन्छ । तर, सन् १९४७मा भारत उपनिवेशबाट मुक्त भयो र अहिलेको यथार्थ बेलायत साघुरिएको मूल भूमिको सहर हो साउथेम्टन ।
‘ल ठीक छ, तर आज त पूरै **रेस्ट** गर्ने हो । थकाइ मार्ने हो । एकछिन भने हप्ताभरिको लागि खानपिनका सामानहरू किन्न **ग्रोसरी** जानुपर्ने छ’ मैले भनेँ ।
छोरी ः ‘हो आज दिनभरि **रेस्ट** गर्ने हो । ल भन्नुस्, आज कुन सिनेमा हेर्ने म **टिभीमा** सिनेमा लगाउँछु ।’
दिनेश ः ‘ल आज, **साइन्स फिक्सन आर्टिफिसियल इन्टेलिजेन्स** सम्बन्धी **फिलिम** खोज त, **नेटफ्लिक्समा** पनि भेटिन सक्छ । त्यही हेरौँ अनि एकछिन **सोपिङ** जाउँला ।’
‘आज पकाउन पनि जाँगर लागेको छैन । **टेक–अवे** (फोनबाट अर्डर गरेपछि घरमै खाना पुऱ्याइदिने **सर्भिस**) मगाएर खाने हो ।’ मैले थपेँ ।
आज दिनभरि **रेस्ट** गर्ने भन्नेमा हामी सबैको कुरा मिल्यो ।
© www.amaaba.org