Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
भाग ११ः छोरीको चिन्ता

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग ११

११ छोरीको चिन्ता

योजनाअनुसारै रात परेपछि हाम्रो **प्लेन** काठमाडौंबाट उड्यो । दोहामा चार घण्टाको **ट्रान्जिट** भएकोले एकछिन कुर्न बसिरहेका थियौँ । काठमाडौंबाट उड्दा नै **प्लेनले** करिब एक घण्टा जति त ढिलो गरेको थियो । तर, हाम्रो चार घण्टाको पर्खाइ नै घटेकोले हामीलाई खासै असर परेको पनि थिएन । काठमाडौंबाट त्यहाँसम्म आएको **प्लेनबाट** फेरि चढ्नपर्ने **प्लेनको टर्मिनलमा** पुगेर **गेट नम्बर** हेर्दै यात्रुलाई प्रतीक्षा गर्न राखिएका कुर्सीमा हामी बस्यौँ । एकैछिनपछि दिनेशले ‘कफी खाने ?’ भन्दै सोधे । दिनेश र मलाई कफी र छोरीलाई उनकै इच्छाअनुसारको आइसक्रिम किनेर ल्याउने भन्दै एकछिन गए । छोरी र म बसिरहेका थियौँ ।

छोरीले ‘मलाई एउटा कुराको **टेन्सन** भइरहेको छ’ भनिन् ।

‘केको **टेन्सन** हो ? भन न त । अलि दिनदेखि यो सबै यति छिटोछिटो घटनाहरू भइरहे । यात्रै यात्रा पनि भयो तिमीसँग पनि राम्ररी कुरा पनि हुन पाएको छैन । के भयो र केही **टेन्सन** लिनु पर्दैन के समस्या लाग्यो र भन न ।’ मैले छोरीले कुर्सीको डन्डामा राखेको हातलाई समातेर **आफूतिर** तान्दै भनेँ ।

एयरपोर्टको **अनाउन्स** स्पिकरमा पहिला अरबी भाषामा के के भन्यो केही बुझिएन । त्यसपछि अंग्रेजीमा जर्मनी जाने **लुफ्थान्सा एयरवेजको गेटका** यात्रीलाई **गेट नम्बर चेन्ज** भएकोले जानकारी दिँदै रहेछ । छोरीले पनि त्यो **अनाउन्स** बजुञ्जेल पर्खिएपछि भनिन् ‘मेरो **पिरियड** यसपालि १० दिन ढिला भइसक्यो । हामी युकेबाट नहिँड्दै हुनुपर्ने अझैसम्म पनि भएको छैन ।’

‘कहिलेकाहीँ **पिरियड** तलमाथि हुन सक्छ । चिन्ता गर्नु पर्दैन । यो सबै चिन्ता आदिको कारणले पनि र हावा पानी फेरिएको र यात्राको **एग्जर्सन** (थकाइ)ले पनि त हुन सक्छ, आज भोलिमा भइहाल्ला !’ मैले सहज पाराले छोरीलाई सम्झाउने कोसिस गर्दै भनेँ । तर, मेरो मनमा अलि खुल्दुली भरिइसकेको थियो । उनलाई मेरो चिन्ता भरसक लुकाउने गरी ती शब्दहरू भनेँ । **टिन-एज** भइसकेकी छोरी बेलायती खुल्ला माहोलमा केही तलमाथि भइहाल्यो कि भन्ने चिन्ताले मनमा जोड पारिसकेको थियो । बेलायती मानसिकता र वातावरणमा खासै ठूलो कुरा थिएन तर त्यो कुरा हाम्रो परम्परागत मान्यतामा कथम कदाचित तलमाथि भएको रहेछ भने पचाउन साह्रै गाह्रो हुन्छ भन्ने चिन्ता पऱ्यो । नेपालका आफन्तहरूले त्यस्तो कुरा थाहा पाए भने त झन् बाँच्नै कठिन पो बनाउँछन् त ।

छोरीले धक मानिमानि स्कूलबाट **पिकनिक** गएको बेला, एउटा केटा साथीसँगको सम्बन्धको कुरा सुनाइन् ।

एकातिर छोरीले **आफ्नो** समस्या मसँग नलुकाएकोमा ठूलो सन्तोष महसुस गरेँ । उनलाई मैले साथी सरहको व्यवहार गर्न प्रयास गर्ने प्रयासकै फलस्वरूप नै उनले मलाई समस्या बताएकी हुन् जस्तो भान भयो । छोरीको चिन्तालाई मैले हतोत्साहित नपारी सुल्झाउनुपर्छ भन्ने जिम्मेवारी बोध गर्दै भनेँ, ‘चिन्ता नगर । ६ हप्ता कुनै धेरै समय होइन, तिमीले स्वेच्छाले नै महिनावारी रोकिन गएको अवस्थामा औषधि प्रयोग गरेर समाधान गर्न सकिहालिन्छ । भोलि युके पुगेपछि **जीपी** (**जनरल प्राक्टिसनर**–**डाक्टर**) लाई भेटेर समाधान गरौँला ।

छोरीको चिन्तालाई मैले राम्ररी महसुस गरिरहेकीले ‘केही छैन, नआतिऊ । ठूलो समस्या होइन । समाधान भइहाल्छ ।’ भनेँ । समस्यालाई बल्झाउनुभन्दा कसैले थाहा नपाउँदै गोप्य रूपमा समाधान गर्नु नै बुद्धिमानी हुन्छ भन्ने मनमा लाग्यो ।

त्यत्तिकैमा दिनेश दुईवटा कफी र एउटा आइसक्रिम लिएर आइपुगे । उनी आइपुगेकोले छोरीसँगको कुरा न दिनेशका अगाडि जारी नै राख्न मन लाग्यो न त लुकाउन नै मन थियो । दिनेशले पहिला छोरीलाई उनको आइसक्रिम दिए, अनि एउटा कफी प्रतीक्षा गर्न राखिएका कुर्सीको बीचमा राखिएको सानो टेबलमा राखे र एउटा कफी मलाई हातमा पुऱ्याइदिँदै भने ‘म **ट्वाइलेट** गएर आउँछु ।’ त्यति भन्दै उनी **ट्वाइलेट** खोज्दै गए ।

छोरीलाई मैले भनेँ, ‘अब तिमी **टिन-एजमा** छौ, **आफ्नो** विषयमा **आफैँ** सोच्नुपर्छ । **कन्ट्रासेप्टिभ** (परिवार नियोजनका साधन) साथमा छुटाउनु हुँदैन । कहिले कस्तो अवस्थामा परिन्छ थाहा हुँदैन । तिम्रो उमेरमा हाम्रो अवस्था त फरक थियो । हामीलाई त विवाहभन्दा पहिला सम्बन्ध बनाउने अनुमति नदिने सामाजिक मान्यतामा हामी थियौँ । तिमीलाई जस्तो अवस्था हामीलाई त्यसबेला परेको भए त **सुसाइड** गर्नुपर्ने अवस्था सिर्जना हुन्थ्यो । तर, तिमी सुरक्षित अवस्थामा छौ । हामी **कन्जरभेटिभ** सोचाइका छैनौँ । दिनेशले पनि यसलाई सामान्य रूपमै समाधानका रूपमा हेर्छन् । मेरो विचारले त तिम्रो **करिअरको** हिसाबले पनि बच्चा नराख्न सल्लाह दिन्छु तर तिमीले आफैँ विचार गर । यो तिम्रो शरीरको कुरा भएकोले तिमीले **आफैँ** अन्तिम निर्णय लिने हो । तिमी परिपक्व नभएकी र **टिनएजर** भएकोले तिमीले **एभोर्सन** गर्न नै उचित हुन्छ जस्तो लाग्छ । हुन त ६ हप्ता नहुँदै बच्चा नै हुनसक्छ भन्ने त छैन, कहिलेकाहीँ त्यसै पनि एक दुई हप्ता महिनावारी पर सर्न सक्छ । तर, तिम्रो कुराको अवस्थाले सतर्क त हुनैपर्ने देखियो ।’

हामीलाई छोरीले ठूलो अप्ठेरो स्थितिमा पारेको महसुस हुन थाल्यो । हाम्रो मानसिकता नेपालको परिवेशको छ, तर छोरीको समाज र मानसिकता खुल्ला समाजको हुँदा भोग्न परेको चिन्ताले भित्रभित्रै म जल्न थालेँ । उता बुवाआमा गुमाएको चिन्ता, यता एम्मा जुम्ल्याहा हो कि होइन ? यदि हो भने रहस्य के हो भन्ने चिन्ता ! चिन्तामाथि चिन्ता थपिएकोले भगवान्को अस्तित्वबारे मनमा कुरा पनि खेल्न थाल्यो । दुःख थपिँदै गर्दा भगवान्प्रति विश्वासको प्रश्न जाग्दो रहेछ । दिमागले भगवान् भन्ने चेतनशील प्राणी छ भन्ने विश्वास गर्दैन तर पनि अदृश्य शक्तिको भ्रम मनमा खेल्न थाल्छ ।

हाम्रो समाजको केटीहरूको यौन स्वतन्त्रतामा रोक लगाउने चलन जायज हो त ? भन्ने प्रश्न पनि उठ्छ घरिघरि मनमा । यौन प्यास त प्रकृतिले सिर्जना गरेको नियमभित्रको आवश्यकता हो । गाउँघरतिर पनि बैँस चढेपछि केटाकेटीको आवश्यकता बारीको डोरादेखि खलो, खर्यान र खोल्सातिर पनि प्यास बुझाउँदा आइपर्ने समस्या जस्तै त हो, अहिले छोरीले मलाई चिन्तामा पारेको समस्या पनि । हाम्रा सामाजिक नियमहरूले त्यो प्यास बुझाउँदाको परिणाममा केटीलाई दोषी मान्ने तर केटालाई छुट दिने गर्दै आएको परिप्रेक्ष्यमा बेलायती समाजले केटीहरूलाई दिएको छुट मलाई **आफू** महिला भएको कारणले मात्र होइन, सामाजिक न्यायको दृष्टिले पनि उचित हो भन्ने लाग्छ । यौनसम्बन्धी शिक्षा दिन पनि हाम्रो समाजले कन्जुस्याइँ गर्ने गर्छ त्यसैले त उमेर पुग्दा आउने उत्सुकतामा केटाकेटीहरू गल्ती गर्छन् र अविभावकहरूलाई चिन्तामा पार्छन्, अप्ठेरोमा पार्छन् । आखिर नेपालका गाउँघरतिर बेलाबखत बच्चा जन्माएर फालेको घटनाले चर्चा पाउने पनि त समयमा केटाकेटीलाई यौन शिक्षा नदिएकै परिणाम त हो नि । आखिर यो टारेर नटारिने विषय हुनका साथै ढिलो चाँडो यसमा सबै भुक्तभोगी हुने भएपछि यस विषयमा लाज लाग्ने र मान्ने गर्नको सट्टा खुलेर छलफल गर्ने अनि समयमै आवश्यक ज्ञान दिने गर्नु नै उपयुक्त उपाय हो, न कि इज्जतका नाममा चलिआएका कुरीतिलाई पाल्ने सामाजिक नियमलाई पच्छ्याइरहनु । तर, के गर्नु मैले मात्र भनेर समाज त्यतातिर लम्कँदैन । सबैले यस विषयमा सकारात्मक भएर सोचे त हुन्थ्यो नि !

दिनेश **ट्वाइलेटबाट** आएपछि अहिले नै छोरीको विषय उनलाई भन्न उचित ठानिनँ । छोरीले पनि आमासँग जति सजिलै समस्या दिनेशसँग उनले भन्न सक्ने अवस्था पनि हुँदैन । उनकै अगाडि दिनेशसँग त्यस विषयमा कुरा गर्न पनि उचित लागेन । तर, दिनेश र म मात्र भएको अवस्था पारेर पछि त्यो विषयमा छलफल गरेर समाधान गर्नुपर्छ भन्ने मनमा लाग्यो । हामी नेपालमा हुँदा छोरीको उमेरमा यस्तो अवस्था भएको भए जुन केटासँग सम्पर्क भएर महिनावारी रोकिएको हो उसैसँग विवाह गरिदिने मान्यता थियो । **एभोर्सन** (गर्भपतन) त समाज र कानुन दुवैले अनुमति दिँदैनथ्यो । यस्तो अवस्थामा केटा र केटीको विवाहको उमेर नभएर बालबालिका नै भए पनि विवाह गरिदिन्थे । अझ गाउँ घरतिर त जातभात आदिका समस्या उब्जन्थे । जात आदि नमिलेको अवस्थामा गरिबै भए पनि जात मिल्ने केटोलाई केटी जिम्मा लगाइदिने जस्ता चलन थिए । अहिलेका केटाकेटीलाई त्यो चलन बतायो भने त त्यस्तो जंगली अवस्थामा हुर्किएको हो हजुरहरू भनेर प्रश्न गर्ने थिए जस्तो लाग्ने गर्छ ।

प्रकृतिले पनि केटा र केटीमा यो विभेद गरेको छ । सम्बन्धपछि शरीरमा भ्रूण विकास हुने अवस्थाबाट त्यो केटालाई कुनै फरक परेको छैन तर छोरीलाई महिनावारी रोकिनाले समस्या उत्पन्न भयो । मानिस समाजमा नबसेको अवस्थामा यो परिस्थितिमा पनि अरू जनावरको जस्तो हुन्थ्यो होला । तर, मानव समाज र सामाजिक नियमभित्र परिवारको सम्बन्ध मिलाउने नियमहरू जेलिँदै जाँदा महिला र पुरुष बीचमा यसले ठूलो विभेद खडा गर्ने गरेको हुन्छ । १० महिनासम्म पेटमा बच्चा रहँदाको समयले महिलाहरूको **करिअर** विकासमा पनि ठूलो प्रभाव पर्न जान्छ । बच्चा जन्मिसकेपछि पनि बच्चाको लालनपालन आदि जिम्मेवारी आमामाथि पर्न जानाले पनि पारिवारिक संरचनाहरूमा पुरुषसरहको समानता कायम हुन गाह्रो नै हुन्छ । तर, प्रविधि विकाससँगै मानवीय गुण र स्वभावमा पनि बदलावको सिलसिलामा लोग्नेले कमाउने र स्वास्नीले बालबच्चा स्याहार्ने घरभित्रको व्यवस्था मिलाउने परम्पराहरू विस्तारै–विस्तारै फेरिँदै गएको अवस्था छ । खास गरेर धार्मिक मान्यताहरूमा पुरुष मालिक र महिलाहरू पुरुषका सेवक हुन् भन्ने मान्यताहरू भने बदलिँदै गएका छन् । अध्यात्मवादको छहारी रुचाउनेहरूले अझै पनि महिलाहरू दयाका पात्र हुने र पुरुषलाई सामाजिक मान्यताहरू उल्लंघन गर्न उक्साउने गर्न नहुने जस्ता मान्यताहरू बोकेको पाइन्छ । हाम्रो नेपाली समाजमा नै लोग्नेले स्वास्नीलाई तँ भनेर हेपेर बोल्ने संस्कार छ । पत्नीले भने लोग्नेलाई तपाईं हजुर भन्ने चलन छ । अझ हजुरआमाहरूको पालासम्म त हरेक दिन लोग्नेको खुट्टाको जल खाए धर्म हुने नत्र पाप लाग्ने मान्यता थियो । हजुरआमाले हरेक दिन खाना खानुभन्दा अगाडि हजुरबुवाको खुट्टाको जल खाने गर्नुहुन्थ्यो । कहिलेकाहीँ हजुरबुवा केही दिनको लागि अन्यत्र जाँदा हजुरआमाले हजुरबुवाका खुट्टाको जल राख्नुहुन्थ्यो । हिन्दू धार्मिक मान्यताअनुसार स्वास्नीलाई व्यक्ति नभएर सम्पत्ति मानिन्थ्यो ।

महिलाहरू भन्दा पुरुषहरू बलिया हुने र बलियाले कमजोर व्यक्तिलाई दास बनाएर **कजाउने** कविला प्रथाबाटै मानव समाज विकास भएको भनिन्छ । त्यही युगबाट विकास भएको चलन नै हिन्दूहरूको पारिवारिक सम्बन्ध विकास गर्ने नियमहरू बनाइएको थियो । तिनै नियमहरू हजुरबुवासम्मको पालासम्म पनि पाइन्थ्यो । बुवाआमाहरूको पालामा श्रीमतीले श्रीमान्को खुट्टाको जल हरेक दिन खाने चलन हरायो । अहिले त्यो चलन हराए तापनि स्वास्नीहरू भन्दा लोग्नेहरू माथिल्लो दर्जाका भन्ने मान्यता अझै छँदैछ । त्यसैले गर्दा बुवाले आमालाई एक–आपसमा दुबैजनाले तिमी भनेर सम्बोधन गर्ने प्रयास गर्नुहुन्थ्यो । तर, आमाले त्यो स्वीकार गर्न नसकेर हजुर भनेरै सम्बोधन गर्नुहुन्थ्यो । लोग्नेस्वास्नी समान हुन् भन्ने सिकाउने प्रयास गरे पनि जीवनभरि आमाले त्यो समान व्यवहार गर्ने मान्यता स्वीकार गर्न सक्नुभएन । बुवाले आमालाई तिमी भनेर बोलाउनुहुन्थ्यो भने आमाले बुवालाई हजुर भनेर सम्बोधन गर्नुहुन्थ्यो । आमालाई बालक कालमा जुन धार्मिक मान्यता र नियमहरू सिकाएर पाप र धर्मको डर देखाइयो त्यो मान्यता स्वर्गवास हुँदासम्म नै पालन गर्नुभयो । बुवा अध्यात्मवादी हुनुहुन्थेन तर आमा कट्टर हिन्दू महिला हुनुहुन्थ्यो । हाम्रो समाज परिवार नातागोता सबै हिन्दू भएको हुनाले हाम्रा चाड पर्व र संस्कार सबै हिन्दू प्रचलनभन्दा बाहिरका हुँदैनथे । म छोरा भइदिएको भए गायत्री मन्त्र जप गर्ने र जनै लगाउने जस्तो धार्मिक नीति नियममा नबस्ने भए पनि व्रतबन्ध त गर्नै पथ्र्यो । त्यो नै हाम्रो रहनसहन हो ।