Blog Details

Govind Belbaseपुरानो ब्लगबाट

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग ९

९ फिर्ता

बुवा र आमा बित्नु भएपछि मेरो त माइती पनि सकियो । माइती नै घरमा परिणत भयो । संविधानले पनि आखिर छोरा र छोरीबीचमा समानताको परिकल्पना त गरेको छ । तै पनि परम्पराअनुसार दिनेशको घर पो मेरो घर र यो बुवाआमाको घर तर माइती हो । अघिल्लो पुस्तासम्मको प्रचलनहरू अहिले फेरिएका छन् । वास्तवमा न दिनेशको घर न मेरा बुवाआमाको घर हाम्रो घर भएको छ । हाम्रो घर भन्ने त हाम्रै कमाइले किनेको बेलायतकै घर **आफ्नो** भएको छ । हामी हुर्किँदा र विवाह हुँदासम्म पनि लोग्नेको घरको सम्पत्ति **आफ्नो** हुने र माइतीको घर **आफ्नो** सम्पत्ति नहुने भावना महसुस हुन्थ्यो । तर, अहिले त छोरीलाई पनि **आफैँ** कमाउने हो, भन्ने हुन्छ । लोग्नेको कमाइमा बाँच्ने र **आफूले** त पतिको सेवा मात्र गर्ने हो भन्ने भावना नै छैन । उनीहरू जस्ता नयाँ पुस्तालाई लोग्नेको कमाइको आसै छैन बरु **आफ्नै** **करिअरको** चिन्ता र सोच हुन्छ । विदेशमा हुर्कने केटाकेटीमा मात्र होइन नेपालकै हुने खानेका छोराछोरीमा पनि लैङ्गिक समानताको मान्यता जागेको छ । तर, नेपालमा पैतृक सम्पत्तिको आशा गर्ने सोच भने हराइसकेको छैन । म त सानी छँदासम्म पढ्ने पनि, विवाह हुन र राम्रो कमाउने पति पाउन मात्र हो भन्ने लाग्थ्यो । वातावरण नै त्यस्तै थियो त्यसैको परिणति होला । पछि पढ्दै गएर **ग्लोबलाइजेसनका** कुरा र महिला समानताका कुरा बुझ्न थालेपछि बल्ल हाम्रो समाजले महिलालाई पुरुषको सेवकका रूपमा मात्र राख्ने प्रपञ्च रचेका रहेछन् भन्ने लाग्न थाल्यो ।

दिनेशलाई मैले भने ‘सोमबार काममा पुग्ने हिसाबले **म्यानेजरलाई** इमेल पठाएँ ।’

दिनेश ः ‘इमेल लेख्नुभन्दा पहिला सल्लाह गर्नुपर्ने । हुन त ठीकै छ । अब एकपटक विराटनगर घरमा पनि पुग्न त पऱ्यो । अस्ति आमा आउनु भएकोले भेट त भयो । तै पनि एकपटक घरमा पुगेर अनि उताको **प्लेन** समाउँला । भोलि **फ्लाइटमा** विराटनगर गएर पर्सि बिहान काठमाडौं पुग्ने र काठमाडौंबाट साँझ लण्डनको लागि **प्लेन** चढ्ने गरी टिकट मिलाउन पऱ्यो । भैरहवाबाट विराटनगरलाई सिधै **प्लेन** छैन, त्यसैले बिहानको **प्लेनमा** काठमाडौं गएर विराटनगरको **प्लेनमा** जाऊँ ।’

म ः ‘हुन्छ नि म त्यसैअनुसार टिकट मिलाउन अर्जुन दाइलाई अनुरोध गर्छु ।’ भनेर म तल अर्जुन दाइ बस्ने भुइँतलामा पुगेर दाइलाई अनुरोध गरेँ ।