Blog Details

Govind Belbaseपुरानो ब्लगबाट

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग 3

भाग २को छुटेको भागः

त्यही कुरा मनमा खेलाउँदै थिएँ, त्यत्तिकैमा नेत्र दाइको फोनको घण्टी बज्यो । उहाँले फोनमा कुरा गरेपछि म नजिक आएर श्वासै श्वासले फुसफुसाउँदै भन्नुभयो ‘दिनेश ज्वाइँ एयरपोर्ट आइपुग्नु भएछ, उहाँकै फोन रहेछ, म गएर यहीँ लिएर आउँछु ।’

मेरो स्वर निस्किएन, टाउको हल्लाएर हुन्छ भन्ने सहमति जनाएपछि उहाँ जानुभयो ।

३ चिन्ता

समवेदना र मन शान्तिका लागि चोखो निधो गरेर हामी पहिलो दिन बितायौँ । दोस्रो दिन, काजकिरियाको विषयमा सल्लाह गर्न नेत्र दाइ र नन्दराम पण्डित आउनुभयो । केही समयअघि मामा घरका हजुरबुवा पनि आइपुग्नु भएको थियो । त्यहीँ हुनुहुन्थ्यो । नन्दराम गुरुले नै कुरा काजकिरियाको तर्फ मोड्दै भन्नुभयो,

‘किरिया कसलाई बसाल्ने हो ?, छोरीले त ठाडो किरिया मात्र गरे हुन्छ, बाहुन खोजेर राख्ने हो कि ?’

अध्यात्म र हाम्रा संस्कारसम्बन्धी बुवाको विचारबाट म पूरै प्रभावित थिएँ र छु । हाम्रा संस्कारहरू कुरीतिहरूबाट भरिएका र समय सापेक्ष नभएको कुरामा म ढुक्कै थिएँ । तर, समाज तथा लोकलाजसँग कसरी पहल गर्ने, कति विद्रोह गर्ने ? कति चुपचाप सहेर बस्ने ? नन्दराम गुरुका कुरा कति पत्याउने र पालन गर्ने म अन्योलमा थिएँ । अझ त्यसमा पनि बुवाले सुनाएका गरुड पुराणमा भएका भ्रमहरू मैले पचाउन सक्ने स्थिति रहेन । पुनर्जन्मका विषय, अघिल्लो जुनीमा पाप गरेकाहरू क्षयरोगबाट मर्छन्, धर्मात्माहरूको प्राण शिरबाट जान्छ भन्ने जस्ता गरुड पुराणका विषयमा बुवाले नै मलाई बताउनु भएको थियो । आमाले माघ महिनामा सुन्ने गरेको स्वस्थानी व्रतकथाका राक्षस मरेर पृथ्वीका पहाड, डाँडा, माटो भएको भन्ने विषयदेखि गरुड पुराणका विषयले हाम्रा अध्यात्मवादी सोचमा मडारिएका संस्कारहरू पनि म विश्वास गर्नै नसक्ने स्थितिमा पहिल्यैदेखि पुगेकी हुँ । म अहिले त्यही विश्वास नहुने तथ्यहरूको जञ्जालमा जेलिएको अवस्थाबाट निकास खोज्ने प्रयासमा छु ।

त्यत्तिकैमा मामाघरका हजुरबुवाले भन्नुभयो ‘छोरीले ठाडो किरिया गर्छिन् र बाहुन खोजेर किरिया बसाल्न पर्यो, कति पैसा लिन्छन् कुन्नी ? कता कसरी व्यवस्था गर्ने हो कुन्नी गुरुले नै सबै मिलाउनुपर्यो ।’ भन्दै नन्दराम गुरुको उत्तरको आशा गर्दै उहाँतिर फर्कनुभयो ।

मेरो वाक्य नै निस्किरहेको थिएन । न त म हजुरबाका कुरा पालन गर्न सक्थेँ न त सामाजिक नियमहरूसँग जुध्न सहज थियो । तर, मैले दुईमध्ये एउटा बाटो रोज्नैपर्छ । मैले असहज बाटो रोज्ने निधो गरेँ र भनेँ,

‘हजुरहरूको मन दुखाउन त मलाई पटक्कै मन छैन, तर, मैले बुवाले सिकाएका कुराहरू पनि पालन गर्नै पर्छ, उहाँ हामीसँग अब नरहे पनि उहाँका विचारहरूलाई जीवित राख्न मैले कोसिस गर्नै पर्छ । चलिआएका रीतिरिवाजहरूमाथि यस्तो संवेदनशील अवस्थामा प्रश्न उठाउन पक्कै गाह्रो कुरा हो । मलाई थाहा छैन, मैले भनेका कुराहरूले कसकसको मन दुख्छ र पत्याउन गाह्रो छ । तर, मैले आज केही विद्रोह गर्न सकिनँ भने यो समाजबाट समय सापेक्ष नरहेका कुरीतिहरू हटाउने जिम्मेवारीबाट म पनि चुकेको दोष मैले पनि बोक्नुपर्ने हुन्छ ।’

म बोल्दै गर्दा हजुरबाले बीचमा भन्न थाल्नुभयो ‘ईश्वरसँग डराउनुपर्छ नातिनी, राम्ररी किरियाकर्म भएन भने छोरी र ज्वाइँको आत्मा भड्किन्छ, उद्धार हुँदैन, त्यसैले शास्त्रमा भने अनुसारको कर्म त गर्नै पर्छ नि ।’

हजुरबुवा बोल्दै गर्दासम्म चुप लागेर उहाँको कुरा सुनिरहेँ ।

उहाँले भन्दै जानुभयो ‘यसरी किरियाकर्म नै नगर्ने र संस्कार पूरा नगर्ने हो भने त एक दिन हामी पनि मर्ने हो, हाम्रो आत्माले पनि मुक्ति नपाएर दुःख पाउने हुन्छ । भगवान्सँग डराउनु पर्छ नानी तिमीहरूले पढे लेखेर जान्ने भएर डाक्टर भएर यस्तो कुरा गर्न हुँदै हुँदैन । म खोज्न लाउँछु बाहुन र सबै कर्म गरेर उनीहरू दुवै जनाको उद्धार गर्ने व्यवस्था मिलाउँछु ।’

उहाँ त मेरा कुरा सुनेर निकै रिसाइ सक्नु भएको रहेछ । सायद बुवाका तर्कहरूबाट उहाँ पहिलादेखि नै परिचित हुनुहुन्थ्यो क्यारे ! त्यसैले मेरा सबै कुरा पनि नसुनी मैले भन्न खोजेका सबै कुरा बुझेको जसरी उत्तेजित हुनुभयो ।

अवस्था र स्थितिलाई मध्यनजर गर्दै स्थितिलाई सम्हाल्नु पर्ने जिम्मा म आफैँमाथि प¥यो । महिलाहरूले केही जानेका हुँदैनन् भन्ने भावना दिमागमा पालेका हजुरबुवा र नन्दराम पण्डित साथै उनीहरूकै कुरामा सहमति जनाउने मानिसहरूको घेरामा म थुनिएकी छु । यो घेरा तोड्ने प्रयास गर्ने कि आत्मसमर्पण गर्ने म दोधारमा भए पनि मनले भने विद्रोहको प्रयास गर्न आदेश दिइरहेको छ । अरूसँग विद्रोह गर्नुभन्दा आफ्नै भनेकाहरूसँग विद्रोह गर्न झन् गाह्रो हुँदो रहेछ । नेपालमै बसोबास गरिरहनु पर्ने भइदिएको भए म हार्थें र आत्मसमर्पण गर्ने सम्भावना हुन्थ्यो जस्तो लाग्न थाल्यो । मैले विदेश बसाइँ भएको फाइदाका रूपमा विद्रोह गर्ने आँट जुटाउने सोच बनाउन सफल भएँ, र भनें

‘उमेरले हजुरहरूका कुरा अनुभवी छन् । तपाईंहरूको भावनाको कदर गर्छु । तर, हजुरहरूका ऋषिमुनिहरूले खुल्ला आँखाले तारा गनेर गरेको गणनाका भरमा बनाएको ज्योतिष शास्त्र र धर्मशास्त्रहरू पुराना भइसके । कम्प्युटरको सहाराले मानिसले धेरै कुरा बुझिसकेकोले अहिले ती कर्मकाण्ड र पुराणहरू पुराना भइसके । रेडियो पनि नबनेका जमानाका मान्छेले बनाएका नीति र संस्कारहरू अहिलेको फेसबुक र भाइबर जस्तो सुविधाले ज्ञान थपेको तथा हबलभन्दा पनि शक्तिशाली जेम्स वेभ टेलिस्कोपबाट अन्तरिक्ष अध्ययन गरेका मान्छेको जमानामा ईश्वर, भगवान् र पितृहरू प्रतिको सोचाइ पनि फरक छ ।’

मेरा कुराले हजुरबुवाको दिमागलाई अलि ठण्डा पारेछ क्यारे, तर्कमा अलि कमजोर महसुस गरेर नै होला पहिलाभन्दा उत्तेजना अलि कम प्रदर्शन गर्दै भन्न थाल्नुभयो ।

‘मान्छेले हैन नानी देउताले बनाएका नियम हुन्, संस्कार त चलाउनै पर्छ, जिद्दी नगर ।’

तर्कमा गले पनि उहाँको अडान भने कायमै थियो । उता नन्दराम गुरु पनि नबोली नबोली हजुरबुवाको जितमा आफ्नो जित हुने ठानेर निधार खुम्चाउँदै आँखा तन्काउँदै चनाखो पारेर कान थाप्दै बस्नु भएको छ ।

मैले थपेँ ‘हाम्रा पुराणहरूले त दिमाग भएका मान्छे जस्तै अझ उन्नत जीव (भगवान्)ले संसार उत्पति गरेको भन्नुहुन्छ । धर्मका नियमहरूलाई उनैले बनाएको नियम भन्नुहुन्छ हजुरहरू । शास्त्रले त ईश्वर निराकार हो भन्छ नि त । त्यसैले पहिलेका असल मान्छेहरूले लेखेका तथा बनाएका हुन् पुराण हजुरबुवा । हामी साना छँदा जोगीहरू ठूलो चिम्टा उचाल्दै बजाउँदै ‘अलोक निरञ्जन’ भन्दै भिक्षा लिन आउँथे । अलोक निरन्जन भनेको त संसार शून्यबाट सुरु भएको हो भन्ने त हो नि । देउता भगवान् भनेका त समाजको हितमा काम गरेका व्यक्तिहरूलाई आदर गर्दा गर्दै पछिका पुस्ताले मानिस नभएर मानिसको दिमागभन्दा बाहिरको अलौकिक शक्तिको रूपमा बुझ्ने गरेका मात्र त हुन् नि । अहिलेको विज्ञानको खोजअनुसार पनि निराकार शून्यबाट ब्ल्याक होल, तथा डार्क इनर्जीको क्रमपछि उत्पत्ति हुने सौर्यमण्डल आदिका व्याख्या हुने गरेको छ । अहिलेका कम्प्युटर र यन्त्रले प्रकृतिका नियम बुझ्न मान्छेलाई धेरै सजिलो पारेका कारण हाम्रो पुस्ताले हजुरहरूले जस्तो अन्धाधुन्ध धूर्त कुरा पत्याउँदैनौँ । अब भन्नुस् त गुरुहरूले हामी साना छँदा चन्द्रग्रहण लाग्दा छोड् चमारे, छोड् भन्ने सिकाउनु भयो, मान्छे चन्द्रमामा पुगेर आएपछि हजुरले पनि त चमारेले छोएर ग्रहण लागेको कुरा पत्याउन छाड्नु भयो हैन र ?’

यस पटक भने मेरो तर्कले हजुरबालाई पनि सहमत पारेछ । पण्डितका सबै कुरा ठीक हैनन् भन्ने बुझे जसरी अनुहारमा अलि नरमपन झल्काउनु भयो । छुस्स परेका सेता दाह्री कनाउँदै ढोकाभित्र प्रकाश छिरिरहेको तिर हेर्न थाल्नु भयो । वास्तवमा उहाँले तर्कमा परास्त भएर नजर लुकाउन उता हेर्न थाल्नुभयो ।

मेरो मनभित्र पहिलाको भन्दा अलि बढी आँट पलाउन थाल्यो । हजुरबालाई तर्कमा गलाएँ भने अरूले त दबाब पार्ने अवस्था सिर्जना गर्न सक्दैनन् जस्तो लाग्न थाल्यो । उता नन्दराम गुरुले भने हजुरबुवाको अवस्थाबाट निराश हुँदै गुन्द्राको छेउको टुप्पो भाँचेर त्यसैले भुइँ कोट्याउँदै घोप्टे मुन्टो लगाउनुभयो । हुन पनि यी संस्कार र कुरीतिमा उहाँको व्यापार तथा कमाइ अडिएको छ । यस्ता विद्रोहले जित्दै जाने र हजुरबुवाहरूको तर्क परास्त हुँदै जाने हो भने रोजगारी नै गुम्ने खतराका कारण उहाँ चिन्तित हुनु स्वाभाविक नै थियो । उहाँ जस्ता पण्डितहरूको कमजोरी भनेकै परिस्थितिअनुसार चेतना विकास भएसँगै आफूलाई परिष्कृत गर्न नसक्नु हो । समाजले अब पुराना पुराण नपत्याउने भइसकेको छ । आउट डेटेड तथा सर्वसाधारणले विश्वास गर्न नसकिने स्थितिमा पुगिसकेका संस्कारहरूलाई समयअनुसार परिष्कृत गर्न नसके अवैज्ञानिक संस्कार हराएर जान्छन् । समस्या त के भने अझै पनि समयानुकूल तथा जनचेतनाअनुसार संस्कारमा परिमार्जन गर्नुपर्छ भन्ने सोच धर्मको ठेक्का लिएको छु भन्ने ज्ञानी पुरुष कहलाउन रमाउने आत्मरतिमा रमाएकाहरूका दिमागमा यो चढेकै छैन । उनीहरू त चाणक्यका समयभन्दा पहिलाका पुराणलाई सनातन रूपी विश्लेषण गर्ने पक्षमा सोच्न पनि चाहँदैनन् । धर्म र अध्यात्मवादीहरू त पूर्वीय संस्कृतिका मात्र नभएर पश्चिम जगतका क्रिश्चियनहरूमा पनि उस्तै हो । तर, पछिल्लो समयमा जनचेतनाअनुसार परिमार्जित संस्कार विकास गर्न पश्चिमा धर्मगुरुहरू अगाडि बढेको पाइन्छ । उदाहरणको लागि समलिंगीहरूका विषयमा पश्चिमा सभ्यतामा समाजले स्वीकार नगर्ने मात्र होइन कडा सजाय दिने व्यवस्था थियो । धार्मिक मान्यता अझै पनि छ । तर, अहिले समलिंगीहरूका बीचमा विवाह गर्नसम्म अनुमति दिने परिमार्जन गरेर धार्मिक मान्यता बचाउने प्रयास गरिरहेका छन् । तर, जनचेतनाको स्तर जुन गतिमा बढ्दै छ, अध्यात्मवाद भने त्यसै गतिमा घट्दो छ र भौतिकवादमा विश्वास गर्ने मान्छेहरूको संख्या बढ्दो छ । हाम्रा पुर्खाहरू त पश्चिमाहरू भन्दा उदार रहेछन् । उदाहरणका रुपमा रामायणमा राम वनबास जाँदा समलिंगीहरूलाई सम्बोधन गरेको प्रसंगबाट पनि पुष्टि हुन्छ । तर अहिलेका पण्डितहरू समयानुकूल संस्कार विकास गर्न नै नजानेका ठहरिएका छन् । त्यसैका कारणले गर्दा कि त समाजमा धर्मप्रति विश्वास हट्दै गएको छ कि त अन्य धर्मका मान्छेहरूले धर्म परिवर्तन गराउने हतकण्डा अपनाउन सफल हुने अवस्था बनेको छ । तर, यी तर्क व्याख्या गरेर न त नन्दराम गुरुलाई न हजुरबुवालाई सम्झाउन सम्भव छ । फेरि समयानुकूल संस्कार परिवर्तन गर्ने कुरामा उहाँहरू मात्र सहमत भएर पनि हुँदैन । अध्यात्मवादी प्राज्ञहरूमै समयानुकूल संस्कार परिमार्जन गर्ने विषयमा सक्रियता नबढेसम्म केही हुनेवाला पनि त छैन ।

केही क्षणको मौनतालाई भङ्ग गर्दै दिनेशले पनि मेरो तर्कलाई समर्थन जनाउँदै भन्न थाले ‘हामीले चलिआएको संस्कार गर्दा पुराणले भने जस्तो बुवाआमाहरूको आत्माको उद्धार हुने भए हामी जे पनि गर्न तयार हुन्थ्यौँ । तर, पुराणका कुरा अहिलेका पुस्तालाई विश्वास लाग्ने खालका नभएकोले यसको विकल्पमा बरु गाउँको स्कूलमा छात्रवृत्तिको कोष खडा गरेर काजकिरिया गरेको भन्ने कर्तव्य पूरा गर्न २० लाख नेपाली रुपैयाँको अक्षयकोष बुवाआमाको नाममा खडा गरौँ । त्यो नै वास्तवमा उहाँहरूको आत्माको उद्धार हुने कदम हुन्छ । यो कुरा नै बितेर जानु भएको बुवाबाट मैले पनि सिकेको हुनाले अक्षयकोष खडा गराैँ भन्ने अनुरोध गर्न चाहन्छु । यो उहाँकै इच्छा थियो ।’

उनका कुरा सुनेपछि केही प्रतिक्रिया आउँछ कि भनेर एकछिन मौन हुँदा पनि कोही नबोलेपछि मौनता तोड्दै उनले भन्न थाले ‘अहिले हामी पूर्वजले गर्दै आएको कुरा मान्ने चरणमा छौँ, पुराणहरूमा थुप्रै अवैज्ञानिक भएको तथा पत्याउन नसकिने विषयमा बुझेका छौँ, तै पनि संस्कार जोगाउन मान्न तयारै भए पनि अब हाम्री छोरी यहीँ छन् । यो पुस्तालाई हामीले कुन दिशा देखाउन सक्छौँ ? अहिले हामीले सही मार्ग देखाउन सकेनौँ र हाम्रा संस्कार र संस्कृतिमा भएका कमी कमजोरी सुधार गर्ने चाँजो मिलाउन जानेनौँ भने आगामी पुस्ताले अन्य धर्मले सिकाउन थाल्ने संस्कार र संस्कृति मान्न थाल्नेछन् । त्यसैले यस विषयमा त सबैभन्दा बढी पण्डितजीहरू लाग्नुपर्छ । समय र जनचेतनाअनुसार असान्दर्भिक रहेका संस्कारहरूलाई परिमार्जन गर्न पण्डितहरूले सम्मेलन गर्नुपर्छ । पुराणमा लेखेका कुरा मात्र सत्य हुन् भन्दै अड्डी कस्दैमा नयाँ पुस्ता यसैमा अडेर बस्न सक्दैनन् । नेपालमा क्रिश्चियनहरू बढे भनेर चिन्ता गरेको धेरै सुनिन्छ तर जुन कारणले परम्परादेखि चलिआएको धर्म मानिसले छाड्दैछन् त्यो कारण पत्ता लगाएर सुधार गर्न पण्डितहरू सचेत हुन ढिला भइसकेको छ ।’

उनले हाम्रा वैदिक ज्ञान तथा अध्यात्मवादी पूर्वीय दर्शनलाई एकजना गैरआवासीय नेपाली नारायण घिमिरेको विचार व्यक्त गर्ने अनुमति माग्ने औपचारिकता निभाउँदै अगाडि भन्न थालेः नारायण घिमिरे क्यानडामा बस्ने नेपाली हुन् र उनको लेख नेपाली पत्रिकामा प्रकाशित भएको बताउँदै उनले व्याख्या गर्न थाले–

‘संस्कृतमा वेद शब्दको अर्थ ज्ञान भन्ने हुन्छ । वैदिक ज्ञानलाई आध्यात्मिक प्रकृतिको ज्ञान मानिन्छ । जुन अनुभव र अनुभूतिबाट प्राप्त हुन्छ । वैज्ञानिक रूपमा पुष्टि नहुँदा–नहुँदै पनि आध्यात्मिक ज्ञान व्यक्ति र समाज दुवैको जीवन्त अनुभवको माध्यमबाट मानिसले अनुभूति गर्छ ।

पाकेको आँपको वास्तविकता भनेर विज्ञानले त्यसको कडापन, नरम पन, तौल, संख्या, लम्बाइ, चौडाइ, रसिलोपन जस्ता गुण आदि मापन गर्छ । मापनका लागि भौतिक औजारहरूको प्रयोग गर्छ । वैदिक ज्ञानले आँपको रङ, स्वाद, छाम्दा महसुस हुने नरमपन, वासना आदिबारे हामीलाई अनुभूति गराउँछ । जसको लागि हाम्रा इन्द्रियहरू र चेतना उपयोगमा आउँछन् ।

वेदमा कुनै पनि संस्कृतिविरोधी, समाजविरोधी, दर्शन वा धर्म विरोधी कुण्ठा, ईर्ष्या, कुटिलता, घृणा वा तिरस्कार छैनन् । छ त व्यक्तिगत र समाजको समेत लाभ पुग्ने जीवनको अर्थ, अस्तित्व लगायतका व्यावहारिक ज्ञानका विषयहरू । अर्को मुख्य चुरो कुरा वेद कुनै अमूक संस्कृतिको वा धर्मको ग्रन्थ हैन । यथार्थमा हिन्दु, जैन र बुद्ध जस्ता संस्कृति र दर्शनहरूमा वैदिक ज्ञानको निकै प्रगाढ प्रभाव भेटिन्छ ।’

उनका कुरा एक प्रवचन जसरी उपस्थित सबैले सुनिरहेका थिए । कोठामा एकदम शान्ति छाएको थियो र सबै एकाग्र भएर दिनेशका कुरा सुनिरहेका थिए । उनले त्यतिबेर बोलिरहँदा अरू आफन्तहरू पनि त्यहाँ आउँदा पहिलेदेखि त्यहीँ भइराखेका अरू व्यक्तिले इसाराले नै शान्तिपूर्वक त्यहाँ बसेर दिनेशका कुरा सुन्न इसारा गर्थे । त्यो इसारा बुझेर चुपचाप बसेर दिनेशका कुरा सुनिरहेका थिए ।

म भने आफ्नै धुनमा मग्न भएँछु । उता दिनेशले बाचन गर्ने र श्रोताहरू ध्यान दिएर सुनिरहने गर्दा मैले पुराना कुरा सोचिरहेकी रहिछु । दिनेशले के के भने भन्ने त मलाई ख्यालै भएन । म साइकलमा लडेर पेटमा घाउ लागेपछि मिसन अस्पतालमा मलाई भर्ना गर्दाका दिनहरू मनमा खेलिरहेका थिए ।

त्यतिबेला मलाई आमाले भन्दा पनि बुवाले धेरै सेवा गर्नुभयो । अरू समयमा त म बुवाभन्दा बढी आमासँग नजिक हुन्थें । भान्सामा, कतै बिहावारी, व्रतबन्ध, पूजाआजामा जाँदा पनि आमाकै सामिप्यता बढी हुन्थ्यो । तर, म मिसन अस्पतालमा भर्ना भएको त्यो बेला भने म बुवासँग निकै प्रभावित भएँ । उहाँको ममता निकै गहिरियो । हुन त सधैँ बुवाको माया पाएकै हो तर समाजका चलन र रीतिरिवाजमा बुवासँग त्यति धेरै भावना फुटेको मैले त्यसबेला पाएँ । त्यसैले होला अहिले मेरो मनमा ती कुराहरू खेलेको पनि ।

एकदिन म साँझ साइकल चलाएर हावा खान घरबाट निस्किएँ । त्यतिखेर एसएलसीको परीक्षाको तयारी गरिरहेकीले दिनभरि पढेर बसेकी थिएँ । ट्युसनका टिचर माधव सर पनि सालीको विवाहमा गएकाले घरबाट बाहिर नै निस्केकी थिइनँ । ट्युसन जाँदा यसो घरबाट बाहिर निस्कने मौका मिल्थ्यो त्यो पनि त्यस दिन मिलेको थिएन । स्कूल त बिदा नै भइसकेको थियो । त्यसैले दिनभरिको घरभित्रको उकुसमुकुसबाट यसो बाहिरको वातावरणमा रमाएर फर्कन्छु भनेर साइकल लिएर निस्किएकी थिएँ । घरबाट निस्कनु अघि सधैँ झैँ ‘आमा म दिनभरि पढेर बस्दा बोर भएकी छु, एक छिन साइकलमा एक चक्कर लगाएर आउँछु मुड पनि अलि फ्रेस हुन्छ ।’ भनेर निस्केकी थिएँ ।

घाम डुब्नै लागेका थिए, साँझ बितेर झमक्क हुनभन्दा पहिला नै घर फर्किएर आइपुग्ने गरी निस्केकी थिएँ । हामी केटीहरूलाई साँझ परेपछि बाहिर निस्कने छुट पनि नहुने हाम्रो समाजको चलनलाई मैले ज्ञानी छोरी बनेर पालन गर्ने बानी नै परेको छ । त्यसको असर त छँदै थियो । हाम्रो घरबाट निस्केर एउटा गाडी सजिलै हिँड्न मिल्ने गल्ली सकिएर मूल सडकमा पुग्दा एउटा सानो कल्भर्ट छ । मूल बाटोको पिच पहिला नै भएको र हाम्रो घरभित्र छिर्ने गल्लीको पिच हालसालै भएकोले त्यो कल्भर्ट र मूल बाटो मिसिने ठाउँमा बाटोको सतह मिलेको छैन । त्यही मिलाउनलाई होला थोरै पिच नगरिएको गिट्टी बिछ्याइएको भाग थियो ।

पहिला जाँदा त त्यहाँनिर केही खास फरक परेन । फर्केर आउने बेलामा त्यसभन्दा परको घुम्तीमा केटाहरू गफ गर्दै बसेका रहेछन् । उनीहरूलाई देख्दै मनमा अब यो उरन्ठेउलो जमातले जिस्काउने होलान् भन्ने आशङ्का जन्मियो । म सकेसम्म उनीहरूबाट तर्किएर जाने विचारले साइकल अलि पल्लोपट्टिबाट लान खोजेकी थिएँ तर त्यहीँनिर एउटा बस पार्क गरेर राखिएको रहेछ । त्यसैले गर्दा ती केटाहरू भएको ठाउँनिर पुग्दा धेरै परबाट तर्किन पनि मिलेन । ती उरन्ठेउला केटाहरूले कसैले केके भन्ने कसैले जिब्रो पड्काउने गरेर जिस्काउन थाले । मलाई उनीहरूलाई गाली गरेर “सोमत छैन, केटीलाई सम्मान गर्नुपर्छ भन्ने बुद्धि छैन तिमीहरूको” भनेर भनुँ जस्तो पनि नलागेको पनि होइन तर हाम्रो समाजले ‘पोथी बास्न हुँदैन’ भन्दै सहेर बस्न सिकाएको पाठ सम्झँदै मैले उनीहरूसँग बच्न तर्केरै जाने मनशायले साइकलको पाइडलमा बल गरेर थिचेँ । साइकलको गति तेज भयो । साँझ झमक्क भएर उज्यालो हराउँदै अँध्यारो बढ्दै गरेको समयले पनि मलाई डराउन दिइरहेको थियो । अँध्यारो जति बढेर गयो ती उरन्ठेउलाहरूको मात झन् बढेर आउने गर्छ । विवेक हराउने गर्छ ।

अँध्यारो बढ्दै जान थालेको भान पनि भएकोले साइकललाई मैले सकेजति दौडाउन पाइडलमा शक्ति थपिरहेकी थिएँ । त्यतिखेरका हाम्रा साइकलमा गियर हुँदैनथे तै पनि अलि बढी गतिमा साइकल घरतिर लैजानु र घरभित्र चाँडै छिर्नु मेरो एकमात्र ध्याउन्न थियो । उता अलि अबेला भयो र झमक्क भएपछि घर छिरें भने आमाको अर्तिबुद्धिका एक भकारी शब्द सुन्नुपर्छ भन्ने अर्को डर पनि थियो । त्यसैले मेरो शरीरको पूरै शक्ति लगाएर सकेसम्म छिटो गतिमा मैले साइकल दौडाउँदै जाँदा त्यही कल्भर्टतिरको ग्राभेलबाट साइकल घरतिर मोडेकी मात्र थिएँ घल्र्याम्म मेरो साइकल पल्टियो । मलाई साइकलले कता के चोट लाग्यो भन्नुभन्दा पनि कसैले म लडेको देख्यो कि भन्ने लाज बढी लागिरहेको थियो । साइकलको डण्डीले पेटमा घोचेको ठाउँमा हातले छामें रगत आएको थिएन । तर भित्र निकै जोडले लागेको थियो, दुखिरहेको थियो तर रुन मन लागे पनि रुनै सकिरहेकी थिइनँ । अरूले देख्लान् भन्ने डरले मेरो रुने मन पनि डराएर लुकेको थियो ।

हत्तपत्त उठेँ, पेट दुखिरहे पनि साइकल उठाएर चढेरै घरतिर गएँ । पेट झन् पछि झन् दुखिरहेको थियो । दुखाइ बढ्दै थियो । आमाले भात खान बोलाउँदा एकछिन पछि खान्छु पेट दुखेको छ भनेँ । तर, साइकलबाट लडेर पेटमा चोट लागेको कुरा बताइनँ । आमाले महिनावारी हुने बेला हुँदा पनि पेट दुख्ने जस्तै सामान्य केही भएर दुखेको होला भन्ने ठानेर आफ्नो धन्धामा लागिरहनु भयो । आमाले बुवाका कपडामा आइरन लगाउँदै हुनुहुन्थ्यो । बुवा अफिसबाट फोन गरेर साथीकहाँ पसेकोले अलि अबेर गरेर घर आइपुग्ने बताउनु भएको रहेछ । त्यसैले पनि सँगै खाना खाने भन्ने सोचेर पनि आमाले खासै निधिखोजी पनि पार्नुभएन । मलाई पनि साइकलबाट लडेको भन्न लाज लागिरह्यो ।

पेटभित्रको घाउ ठूलै रहेछ क्यारे झन्पछि झन् दुख्न थाल्यो । खटाउनै नसक्ने गरी दुखाइ बढ्दै गयो । बुवा आइपुगेपछि खाना खान आमाले कर गरेपछि मैले पेट झन्पछि झन् दुखेको बताउँदा कर गरेर किन दुखेको निधिखुदी पार्न थालेपछि मैले साइकलबाट लडेको बताएँ ।

साइकलबाट लडेर हेण्डलले पेटमा घोचेको र दुखाइ झन्पछि झन् बढ्दै गएको थाहा पाएपछि खाना पनि खान नथाली बुवाले उहाँको एक व्यापारी साथीलाई गाडी पठाइदिन भन्नुभयो । मलाई अस्पताल लिएर जानुभयो । बुवाले खानै खान छाडेर मलाई अस्पताल दगुराउन थालेकोले बुवाको त्यो ममताले मलाई फतक्कै गलायो । मैले अनियन्त्रित तरिकाले साइकल दगुराउनाले बुवालाई भएको चिन्ता र खानै खान छाडेर अस्पताल लैजाने ममता मैले त्यतिबेला भन्दा पनि मैले छोरी हुर्काउन थाल्दा छोरीको पीडामा मैले भोग्ने पीडाका बेला जहिले पनि सम्झने गर्छु । छोरी दुःखेर रुँदा मलाई नै दुखे जस्तो हुन्छ, बुवालाई पनि त्यस बखत त्यस्तै भएर होला भनेर मन पोलेर आउँछ । हुन त त्यसभन्दा पहिला पनि बुवाको मन कति पटक दुख्यो होला । उहाँको मन मैले धेरै पटक दुखाएँ पनि हुँला ! तर त्यति ध्यान दिएकी थिइनँ । तर, त्यस दिनको त्यो घटना मेरो मनमा गडेर बसेको छ ।

डाक्टरले मलाई पेटमा साइकलको हेण्डलले घोच्दा बाहिरी चोट नदेखिए पनि आन्द्रामा चोट लागेकोले तुरन्तै एम्बुलेन्समा मिसन अस्पताल लैजान सल्लाह दिए । मिसनमा पुगेर जाँच्दा त आन्द्राबाट खाना रसाएर पेटमा फैलिन थालेको भन्ने थाहा भयो । पेट झन्पछि झन् दुखेकोले अपरेसन तुरन्तै गरेर आन्द्राको घाउ टाल्नुपर्ने बताए । चाँडै अपरेसन नगरे इन्फेक्सन हुने डर हुन्छ भन्दै डाक्टरहरू हतारिन थाले । बुवा र आमाले रातभरि नै केही खाँदा पनि खानु भएन ।

अपरेसन पछिका रातहरूमा म बेडमा सुतेकी हुन्थें बुवा छेउको भुइँमा तन्ना बिछ्याएर सुत्नु हुन्थ्यो । हरेक जाँच रिपोर्ट आउँदा परिणाम (रिपोर्ट)मा चासो दिएर डाक्टरसँग सोधिहाल्नु हुन्थ्यो । मानौँ उहाँलाई आफ्नो शरीरको भन्दा बढी मेरै शरीरको चिन्ता थियो । म बिरामी भएर अस्पताल बस्नाले उहाँको कार्यालय अनुपस्थिति समेतका कारण उहाँको बढुवा ढिलो भए पनि उहाँले कुनै दुःख देखाउनु भएन । उहाँलाई त मेरो शरीर सञ्चो भएकोमा खुसी थियो र बढुवा नहुनुमा कुनै पछुतो नै थिएन ।

त्यो त ठूलो घटना भएर सम्झिरहन्छु । त्यस्ता त्यागका बुवाका कुरा गरी साध्यै छैन । बुवाको भन्दा त्याग र ममताका देन आमाका अलि धेरै नै गुणा बढी थिए ।

दिनेशले आफ्ना भनाइलाई बिट मार्दै चुप लागेपछि एकैछिनको मौनतालाई भङ्ग गर्दै पिताम्बर काकाले भन्न थाल्नुभयो–

‘जहाँ पनि यस्तो दुःखको अवस्थामा गरुड पुराणका कुरा सुनाएर विरक्त भएको थिएँ । न त त्यो गरुड पुराण सुनाउने परम्पराको विरोध गर्ने आँट नै आउँथ्यो न त उक्त पुराणमा लेखिएका कुरामा विश्वासै लाग्थ्यो । आज दिनेश ज्वाइँले मेरा त आँखा नै खोलिदिनुभयो । उहाँको यो प्रवचन त रेकर्ड गरेर यस्ता अवस्थामा गरुड पुराण सुनाउन छाडेर सुनाउनुपर्छ जस्तो लाग्दै छ मलाई त । हुन त म आउँदा ज्वाइँले यी कुरा बोल्दै हुनुहुन्थ्यो मैले सुरुका कति कुरा त छुटाएँ । तर, जति सुने मेरा लागि त्यति नै पनि पर्याप्त छ । अब पण्डितका गरुड पुराण होइन दिनेश ज्वाइँका यथार्थ कुराले हाम्रा संस्कार र संस्कृति बचाउन सकिन्छ ।’

कोही मरेर किरिया बसेको अवस्था तथा मरो परेको घरमा ढोगभेट नगर्ने चलन छ । त्यसैअनुसार मामा घरका हजुरबुवा त्यहीँ भएर उहाँलाई ढोग्ने मनशाय भए पनि पिताम्बर काकाले ढोगभेट नगरी कोठामा प्रवेश गरेपछि चुपचाप बसेर दिनेशका कुरा सुनिरहनु भएको थियो । हजुरबुवा र नन्दराम पण्डित सँगै सँगै बस्नु भएको थियो । पिताम्बर काकाले कुरा सक्दै दिनेशका कुराप्रति हजुरबुवाको प्रतिक्रिया आशा गर्दै हजुरबुवा र पण्डित बसेकातिर हेर्न थाल्नुभयो । सबैले हजुरबुवाको विचार सुन्न खोजेको ठानेर हजुरबुवाले आफू बोल्न पर्ने परिस्थितिलाई मूल्यांकन गर्दै भन्न थाल्नुभयो–

‘हाम्रा ग्रन्थ भनेका ईश्वरले दिएका ज्ञानबाट बनेका हुन् । वेद ईश्वरका वाणी हुन् । अँ, अरू ग्रन्थहरू मान्छेले व्याख्या गर्दा कतिपय कमजोरी त भएको हुन सक्छ । त्यो भन्दैमा पुस्तौँदेखि मान्दै आएको नमान्ने कुरा गर्नु हुँदैन । म ८२ वर्षको भएँ, मेरो जीवनकालमा देखेको तथा हाम्रा बाजे बराजुले मान्दै आएको संस्कार नमान्नाले नर्क जाने त मन छैन नि मलाई । स्वर्ग जाने बाटो त बनाइदिन प¥यो नि त !’

उमेरले समेत गर्दा हजुरबुवाको कुरा नमान्न अप्ठेरो हुन्छ । पण्डितहरूले जे भन्दै आए, सिकाए, त्यसको छाप जीवनभरि बसेकोले चलिआएको संस्कारमा फेरबदल गर्ने कुरामा उहाँका उमेरका व्यक्तिहरू सहमत हुने कुरा पनि भएन । डार्विनको विकासवाद तथा इभोलुसन सिद्धान्त उहाँलाई थाहा नै छैन । उहाँले संसारको उत्पत्तिका विषयमा स्वस्थानी कथामा व्याख्या गरिएको जस्तो देवता र राक्षसका विषयका रूपमा मात्र बुझ्नु भएको छ । उहाँलाई जे सिकाइयो, जे पढाइयो, विद्वान् मानिएका पण्डितहरूले जे सिकाए त्यही ज्ञान हुने नै भयो । ऋषिहरूले निजी स्वार्थ त्यागेर समाज हितका लागि रचेका मान्यताहरूबाट हाम्रा संस्कार सुरु भए । उनीहरूले सबैभन्दा पहिला निराकार, त्यसपछि ब्रह्मा, विष्णु, महेश, त्यसपछि बल्ल देवताका परिकल्पनाका आधारमा धार्मिक नियम बनाइएका हुन् । तर, समस्या त के भयो भने टपरे पण्डितहरूले आफूलाई कमाइ हुने अर्थ लगाएर व्याख्या गर्न थाले । ज्योतिषहरूले वर्षौंसम्म तारा, सूर्य र चन्द्रमाका स्थान गणना गरेर ग्रहण लाग्ने समय–चक्र निर्धारण गरे । तर, बाहुनहरूले ग्रहण लागेको त “पवित्र चन्द्र भगवान्लाई चमारेले छोएर हो” भनेर जातीय प्रथालाई प्रमाणित गर्ने भ्रम फैलाए । जातीय व्यवस्था र छुवाछुत जति धेरै भयो पेशागत टपरे बाहुनहरूलाई त्यति नै फाइदा हुने भएकोले उनीहरूले त्यसैअनुरूप धर्मका नाममा नियमहरू बढाउँदै लगेर अहिलेको अवस्था पुगेको हो । भारतमा मुगल सम्राटहरूले राज गर्न थालेपछि पूर्वीय दर्शनको खोज गर्ने, अध्ययन गर्ने ज्योतिष विज्ञानमा ज्ञान थप्ने क्रम अगाडि बढ्न सकेन । पश्चिम जगतका वैज्ञानिकहरूले हबल टेलिस्कोप लगायतका आविष्कारले हाम्रो ज्योतिष शास्त्रको गणनाभन्दा बढी तथ्य सङ्कलन गर्न थाले, वाष्प इन्जिनदेखि खनिज तेलबाट चल्ने यन्त्रहरू बनाउँदै कम्प्युटर बनाएर ज्ञान थप्दै जाने क्रम जारी राखे । तिनै ज्ञानका आधारमा चन्द्रमामा समेत मानिस उतारे । यी विज्ञानका तथ्यबाट पूरै प्रभावमा परेका र वैज्ञानिक अध्ययनलाई विश्वास गर्ने पुस्ताले जजमानी गरी कमाइ खाने जुक्ति मात्र बनाएका पण्डितहरूका कुरा पत्याउन छाडे । हाम्रो अवस्था पनि त्यही हो । त्यसैले अन्धाधुन्ध हजुरबुवाका कुरा मान्न हामी तयार नहुने अवस्था बन्यो । उमेरले र अनुभवले पाका भइसकेका हजुरबुवाको मन दुखाउने मन नभएर पनि सामाजिक विद्रोह अहिलेको आवश्यकता बन्न पुगेको छ ।

पिताम्बर काकाले हजुरबुवालाई मत्थर पार्ने मनशायले भन्न थाल्नुभयो, ‘दिनेश ज्वाइँले भनेको पनि त त्यही हो नि, हजुरहरू सानो छँदा रेल, बस, टिभी, कम्प्युटर केही थिएन, पण्डितहरूलाई त्यस विषयमा थाहा थिएन त्यसैले सेतो पहिरन गरेर चोखो खाएर किरिया गरेपछि स्वर्ग पठाइन्छ भन्ने सिकाए । अहिले सबै कुरा फेरियो त्यसैले खीरको पिण्ड गाईलाई खुवाएर र बाहुनलाई शैय्या दान, भैँसी दान गरेर पितृ स्वर्ग जाँदैनन् बरु उपकारी काम गरेमा समाजले आशीर्वाद दिएपछि समाजमा उनीहरूको सम्मान बढ्छ । त्यही समाजमा सम्मान पाउनुलाई “स्वर्गबास गएको मानिने हो” भन्न खोजेको हो नि बुवा ।’

हजुरबुवाको कुरामा साथ दिन त्यहाँ नन्दराम बाहेक अरू कोही थिएनन् । नन्दराम गुरु पनि तर्कमा समेत जित्न नसकिने र चलनचल्तीको किरियाकर्म गर्ने चलन हराउँदै जाने हो भने आफ्नो रोजगारी नै गुम्ने चिन्तामा डुब्न थालेपछि चुपचाप भए ।

हजुरबुवाले आफूले टेक्ने गरेको लौरो दायाँतिरबाट सारेर आफ्नो बायाँपट्टि सार्दै नन्दराम गुरुले केही साथ दिनुहुन्छ कि भनेर गुरुतिर पुलुक्क हेर्नुभयो । तर, नन्दराम गुरु शब्दविहीन भएर बसेको देखेर निराश हुनुभयो । पिताम्बर काकालाई हाम्रा गाउँघर त के र जिल्लामै जान्ने र बुझेको मान्छे भनेर मान्ने हुनाले पनि त्यसको छाप हजुरबुवामा परेको छ । दिनेशका कुरा सुन्दासुन्दै पिताम्बर काकाले त्यसैलाई साथ दिन कस्सिएपछि हजुरबुवाले अगाडि अड्डी कस्न सक्नु भएन । अन्तमा उहाँले मनबाटै स्वीकार नगरे पनि हरेस खाएको स्वरमा भन्नुभयो,

‘ल त अब म के भनुँ, हामीले मान्दै आएको र बुझेको कुरा असत्य हो भन्ने लागेपछि जे जसरी हो कर्म त टुङ्ग्याउन पर्यो ।’

हजुरबुवाले किरिया बस्नै पर्ने अड्डी छाडेपछि पिताम्बर काकाले नेत्र दाइतिर हेर्दै भन्नुभयो,

‘ल नेत्रबाबु यहाँका तिरनतारन सबै मिलाउनुस्, नानी र दिनेश ज्वाइँहरूको बसाइ पनि तपाईं कहाँ नै होला, अब उतै गएर अरू व्यवस्था मिलाउनुपर्छ । स्कूलको अक्षयकोषको व्यवस्था पनि मिलाउँला, अब भएका जग्गा जमिन बैंक खाताहरू पनि नामसारी आदि इत्यादि गर्नुपर्छ । उतै जाऊँ ।’

हजुरबुवाले अगाडि भन्न थाल्नुभयो ‘अरू काज किरिया नगर्ने हो भने पनि मलामीलाई १३ दिनमा र ४५ दिनमा खुवाउने त गर्नुपर्छ ।’

हजुरबुवाका कुरामा सहमति जनाउँदै नेत्र दाइले भन्नुभयो ‘हो त्यो त गर्ने हो, चिन्ता नलिनुस् कोको अस्पतालमा भेट्न भन्दै र यहाँ आउनुभयो सबैको नाम र टेलिफोन नम्बर टिपेका छौँ । सबैलाई बोलाएर १३ दिनको दिन खुवाउने हो ।’

हामी नेत्र दाइकोमा पुग्दा साँझ नै परिसकेछ । छोरी नेत्र दाइकी छोरीसित उसकै कोठामा सुत्ने भइन् । दिनेश र मलाई एउटा कोठा बताइदिनुभयो । त्यहीँ गयौँ । दिनेशसँग दुःख सुख पनि हुन नपाएकोले कोठामा ढोका बन्द गरेपछि दिनेशको काखमा मुन्टो राखेर निकै बेर रोएँ । उनी पनि एक छिन रोए, मेरो टाउको मुसार्दै सान्त्वनाका कुराहरू भन्दै रहे । उनले भन्दै गरेका कतिपय कुरा मैले सुनेर पनि त्यता ध्यानै गएको थिएन । मेरो मनमा म सानी छँदा स्कूल जान नमानेर झगडा गर्दै रुँदा बुवाले मलाई बोकेर स्कूल जाने रिक्सामा चढाएको जस्ता कुरा खेलिरह्यो । मलाई छातीमा टाँसेर कपाल मुसार्दै स्कूल जान फकाएको सम्झना आइरह्यो । कहिले एसएलसीमा फस्ट डिभिजनमा पास भएको खबर पाएर आमा र बुवा निकै खुसी भएको स