Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
पाठ १. प्रारम्भ

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १

एम्मा

१. प्रारम्भ

छोरी स्कुल हिँडेको सात मिनेट जतिमै फर्केर घर आइन्। म पनि काममा जान तयार भइसकेकी थिएँ। ढोकाभित्र छिर्दै गरेकी छोरीलाई सोधें,

‘के भयो छोरी? किन फर्किएको?’

उनको उत्तर आयो: ‘होमवर्क पेनड्राइभमा थियो, बिर्सेछु। इमेलमा पठाएको भए फर्कन पर्ने थिएन।’

‘स्कुल पुग्न बेर हुने भयो, मलाई पुग्याइदिनुस् है,’ उनको आग्रह थियो।

धेरै टाढाको कुरा त थिएन, तर अफिस टाइमको ट्राफिकले गर्दा मेरो पन्ध्र मिनेट चाँडै अफिस पुग्ने सधैंको बानी भए तापनि, त्यो समय छोरीका लागि खर्च हुन पुग्यो। उनको स्कुल र मेरो अफिस ठीक उल्टो दिशामा पर्ने भएकोले हो। एउटैतिर पर्ने भएको भए कुनै फरक पर्ने थिएन।

छोरीलाई स्कुलको गेटसम्म पुग्याएर अफिस पुग्दा ठीक समयमै पुगें। तर समय घर्किदा गाडी पार्क गर्ने ठाउँ भेट्न समस्या पर्यो। पार्किङको ठाउँ भेटिएकोले धन्न बेर भएन।

हत्तपत्त सेतो कोट लगाएर वार्डमा पुगें। फाइल टिपें र वेड नं. ९ को बिरामी छेउ पुगें। एउटा नर्सले बिरामीको ब्लडप्रेसर लिँदै थिइन्। म उनकै छेउमा बिरामीको फाइल पढ्दै थिएँ। ब्लडप्रेसर नोट गरेपछि ती नर्स कोठाबाहिर गइन्। बिरामी नेदरल्याण्ड्सकी एम्मा नामकी एक युवती थिइन्। बेलायतमा तीन वर्षदेखि काम गर्दै आएकी। बिदाको दिन साइक्लिङ गर्न गएकी बेलातिर एउटा कारले साइकल पछाडिबाट हान्दा एक्सिडेन्ट भएको रहेछ। हातमा फ्र्याक्चर भएकोले प्लास्टर गरिसकेको थियो। खासै हेर्नुपर्ने अवस्था त्यहाँ थिएन। तर खुट्टाको हड्डी चुर्ना नै निस्किएकोले रिफर गरेर यस अस्पतालमा ल्याइएको थियो।

रिपोर्ट र एक्सरे हेर्दा नै खुट्टाका टुक्रा परेका हड्डीलाई कसरी मिलाउने भन्ने मेरो दिमागमा आइसकेको थियो। यस्तै भएको केस पहिला पनि ठीक पारेको अनुभव भएकोले खासै चिन्ता परेन। कहिलेकाहीँ कम्प्लिकेसन देखिँदा अरू डाक्टरसँग सल्लाह गर्नुपर्ने हुन्छ, तर त्यस्तो केही लागेन। त्यत्तिकैमा एउटा जुनियर डाक्टर त्यहीँ आइपुगे। उनी पढाइ पनि गर्ने डाक्टर भएकोले यो जटिल केस सिक्न चाहेर मेरो पछि लागेका रहेछन्।

उनलाई सिकाउन तथा उनका जिज्ञासा पूरा गर्ने गरी पहिलेको उस्तै केस सफलतापूर्वक उपचार गरेको अनुभवसहितको पद्दतिको बारेमा बुझाएँ। अफिस कोठाबाट फर्केर फेरि बिरामी नजिक पुग्दा पहिले ब्लडप्रेसर जाँच्दै गरेकी नर्स पनि त्यहीँ थिइन्। उनले बिरामीको रगत परीक्षणका लागि सिरिन्जबाट तानेर ल्याबमा पठाउँदै थिइन्।

ती नर्सले मतिर हेर्दै सोधिन्, ‘डिड यू नोटिस वन थिङ?’

मैले सहजै भनेँ, ‘वाट?’

उनले हामीले कामकै सिलसिलामा बोल्ने अंग्रेजीमै भनिन्, ‘तिम्रो र यो बिरामीको अनुहार र शरीर हुबहु उस्तै छ नि!’

मैले स्वाभाविक रूपमा भनेँ, ‘हो र!’

तर मेरो दिमागले अलिअलि कताकता पहिला नै ठम्याएको विषय नै उनले भनेकी थिइन्। आफूसँग कसैको मिलेजुलेको अनुहार भएको मैले अनुभव गरेकी थिएँ। त्यही विषयमा अरूले पनि भनेपछि म अलि धेरै केन्द्रित भएँ। तर म नेपालकी र एम्मा नेदरल्याण्ड्सकी—कसरी मेल खान सक्छ र? भन्ने सोच्दै गर्दा दिमागमा एक तरंग उठ्यो।

मेरा बुबा पढाइको सिलसिलामा नेदरल्याण्ड्स स्कलरसिपमा पढ्न गएको कुराले मस्तिष्कमा जोड दिन थाल्यो। कतै यिनीहरूसँग मेरो कुनै सम्बन्ध छ त? भन्ने शङ्का लाग्यो। बुबा र आमाले कहिल्यै त्यस्तो कुरा भनेका थिएनन्। हुन त म नेदरल्याण्ड्समै जन्मिएकी थिएँ। त्यसैले यी महिलासँग सम्बन्ध जोडिन सक्ने सम्भावना बढ्दै गएको जस्तो लाग्यो। बिरामीको उपचारभन्दा बढी मेरो दिमाग आफ्नो विषयमा र एम्मासँगको सम्बन्धमा केन्द्रित भयो। तर साथमा भएको जुनियर डाक्टर र नर्सका अगाडि आफूलाई सहज पार्नु जरुरी थियो।

परिस्थितिलाई सामान्य पार्न खोज्दै भनेँ, ‘म कहाँ नेपालकी र यी महिला नेदरल्याण्ड्सकी, कहाँबाट मेल हुन सक्छ र!’

तर म आफैं अन्योलमा परें। के गरूँ, कसरी गरूँ भन्ने विमनस्कतामा। उनीहरू दुवै आफ्नो काममा व्यस्त भएर कोठाबाट बाहिर निस्किए। मेरो दिमाग बिरामीको उपचारभन्दा उनको यथार्थ खोज्नमा तल्लीन भयो। आफ्नो मनलाई शान्त नपारी उपचार गर्न खोज्दा गलत निर्णय हुन सक्ने डरले बिरामीसँग कुरा अगाडि बढाउने निधो गरेर सोधें,

‘हेलो, म अस्मिता, तिम्रो खुट्टा सञ्चो पार्न खटिएकी डाक्टर हुँ। दुखाइ कस्तो छ?’

उनले उत्तर दिइन्, ‘पेनकिलरको प्रभाव होला, खासै गाह्रो भएको छैन। दुखाइभन्दा पनि यो विस्तरामा पल्टँदापल्टँदा म त वाक्क भएरै मरिसक्ने अवस्था छु। सोसल नेटवर्कको एउटी बन्दै छु, बर्बादै हुँ जस्तो लाग्छ।’

सान्त्वना दिने चाहनामा भनेँ, ‘मानिसको जीवनमा बेलाबखत उतारचढाव आउँछ, सबै ठीक हुन्छ। सोसल नेटवर्कमा साथी-परिवारसँग हेलमेल गर्ने राम्रो अवसर पनि हो। अरू बेला पढाइ, काम, क्यारियर भन्दाभन्दै नेटवर्कमा रमाउने समय कहाँ मिल्छ र?’

उनले तकियालाई अलि माथि सारिन् र भनिन्, ‘मलाई पनि सामान्य चिकित्सकसँगको भेटभन्दा तपाईंसँग कुरा गर्दा धेरै शान्ति मिलिरहेको छ।’

त्यत्तिकैमा मेरो मनमा सम्बन्धको यथार्थ खोज्ने उपाय सुझ्यो। मैले उनीसँग अनुमति लिएर एकछिन कोठाबाट बाहिर निस्कें र भनेँ, ‘एकछिन म बाहिर गएर फर्कन्छु है।’

‘हुन्छ,’ उनले सहजै उत्तर दिइन्, ‘यतिका कुरा गर्न पाएर मेरो मन हल्का भएको छ।’

म ढोका खोलेर बाहिर निस्किएँ। विस्तारै उनको ढोका बन्द गरेर वार्डको काउण्टरमा पुगें। खासमा उपचारको लागि आवश्यक नभए पनि मैले उनको डिएनए परीक्षणको लागि निर्देशन लेखें। नैतिक रूपले गलत गरिरहेकी थिएँ। तर उनको रगतको डिएनए सिक्वेन्स आफ्नो सिक्वेन्ससँग दाँजेर कुनै रगतको सम्बन्ध छ कि छैन भन्ने जाँच गर्न तर्सिएकी थिएँ।

मलाई उनीसँग कुरा गरेर धेरै मन लागेको थियो। आफ्नो सबै काम सकेर फेरि उनीकहाँ जान चाहना थियो। म उनको कोठामा पुग्दा साँझ परिसकेको थियो। बेलायतको जाडोमा साँझ चाँडै झर्छ। घाम देख्ने रहर बढी हुन्छ। कोठामा बत्तीको उज्यालोमा मैले ढोका खोल्दा उनले पढ्दै गरेको किताब बन्द गरेर सिरानीमुनि राखिन्।

कोठाभित्र छिरेर सोधें, ‘कस्तो छ?’

उनले तकियाको आडलाई अलि माथि सार्दै भनिन्, ‘कस्तो हुनु, कोठाभित्र कैद भएकी छु। बन्दी जीवनबाट कहिले बाहिर निस्किने भन्ने सोचिरहेकी छु।’

म कुर्सी उनको बेड नजिकै लगेर बसेँ र भनेँ, ‘जीवनका सबै दिन एकै रूपमा कहाँ चल्छन् र? केही दिनमा ठीक भइहाल्छ। म पनि आजको काम सकेर तपाईंसँग कुरा गरूँ जस्तो लागेर घरतिर नगएर यहाँ आएँ। बोरिङ त भएन होला?’

उनले थपिन्,

‘कहाँको बोरिङ! यो सुनसान अवस्थामा तपाईंसँग कुरा गर्न पाएर म खुसी छु। साच्चै मलाई पनि एउटा कुरा मनमा खेलिरहेको छ। तपाईंलाई कस्तो लागेको हो? त्यो बिहान ब्लडप्रेसर लिने नर्सले भनेको कुरा मैले सिरियस नै लिएकी जस्तो छ। तपाईं गएपछि पनि मैले हाम्रो बीचका समानतामा खुब सोचेँ। हातमा किताब लिएर पढ्न खोज्थे, तर दिमाग त्यही विषयमा चक्कर काटिरहेको हुन्थ्यो। तपाईँ अहिले आएर त साच्चै नै मलाई गुन लगाउनु भयो।’

हामी बीचको समानताको विषयमा उनको भावना बुझेर म मनभित्र खुसी भएँ। अब हामी दुवै मिलेर यथार्थ खोजीमा जुट्यौँ भने सजिलै पत्ता लगाउन सकिने भयो। मैले थपें,

‘मेडिकल फाइलबाट हामी दुवैको जन्म दिन एउटै भएको थाहा पाएँ। त्यसमाथि आफूसँग हुबहु मिल्ने अनुहार र शारीरिक बनावटले अलमल परेको थियो। नर्सले पनि त्यही भनिन्। अझ तपाईंले पनि समान भावना व्यक्त गर्दा रगतको नाता जोड्ने खोजी गर्नुपर्ने पो भयो त।’

उनले कुरा अगाडि बढाउँदै भनिन्,

‘हामीले अनुमान गरिरहेको सम्बन्ध जोड्न त हाम्रो बाबु आमाबाट यथार्थ खुल्न सक्छ। तर मलाई त मेरा बुवाआमाले यस्तो विषयमा केही पनि भनेका छैनन्। उहाँहरूले सबै कुरा खुलस्त पारेको जस्तो लाग्छ। कुनै रहस्य भएको जस्तो लाग्दैन। तर हामीबीचको सबै समानता देख्दा कुनै रहस्य त छ जस्तो लाग्छ। आज त अलि अवेला भइसक्यो, उहाँहरू यात्रामै हुनुहुन्छ। भोलि म उहाँहरूसँग यस विषयमा प्रस्ट कुरा गर्छु।’

मेरो मन विचलित भइरहेको विषय पत्ता लाग्न सक्ने आधार भेटिएकोले आधा हल्का भयो। डिएनए टेस्टको रिजल्ट आउन त केही हप्ता लाग्छ। त्योभन्दा पहिलै बिरामीबाट केही रहस्य खुल्न सक्छ भन्ने विश्वास जाग्यो।

त्यत्तिकैमा उनको फोनको घण्टी बज्यो। उनले फोन रिसिभ गर्दै मतिर ‘प्यारेन्ट्सको फोन’ भनेर इशारा गरिन्।

नेटवर्कको कमजोरीले गर्दा आवाज राम्रोसँग आइरहेको थिएन। फोन काटिएपछि उदास हुँदै मलाई बताइन्, ‘नेटवर्कको कमजोरीले गर्दा राम्रोसँग कुरा गर्न सकिन। उहाँहरू इटली पुगेर होटलमा चेकइन गर्नु भएछ। अब भोलि कुरा गर्नुपर्ला। अहिले थाक्नु पनि भएको होला।’

फोनको संवादबाट उनीहरूले छोरीको अवस्था र यस अस्पतालमा पुगेको जानकारी पाएका थिए। खुट्टाको अपरेसन बिहान साढे नौ बजे हुने र भोलिपल्ट भेट्ने बाचा भएको पनि बुझियो।

मैले उनीसँग बिदा भएर भनेँ, ‘बाइ, एम्मा। म घरतिर हिँडें।’