Blog Details

Govind Belbaseकथा सङ्ग्रह बाट
1.0

मेरो नजरमा जेरमि कोरविन

31 Dec, 1969

मेरो नजरमा जेरमि कोरविन

बेलायतको लेबर पार्टीको अध्यक्षमा निर्वाचित भएका जेरमि कोरविनको कार्यकाल सात दिनपनि नवित्दै उनले पाँच सिँढी उक्लिसकेका छन् । उनको आदर्शको आधा लडाइ त उनको चुप्पिले नै जिताइ दिएको छ । उनको यो अपत्यारिलो जितको श्रीङ्खला यही गतिमा अगाडि बढ्दैन भन्ने चाही जताततै अड्कल काटिँदै छ । सम्भ्रान्त (एलिट) बर्गको नेतृत्वको परम्परागत बेलायती बोलवालाहरू एकजुट भएर उनको विरूद्धमा खनिने छन भन्नेमा दुइमत हुनसक्दैन । त्यस खेमामा पर्नेहरू मध्येका खेलाडीहरू उनका आफ्नै पार्टीभित्र पनि छताछुल्ल छन् । त्यसमध्येका एक खेलाडी पुर्व प्रधानमन्त्री टोनि ब्लेयरलाइ त राष्ट्रिय मिडियाहरूले नै जेरमिले नेतृत्व समाल्नु भनेको ब्लेयरिजमको अन्त्य भनेर टिप्पणी गरिरहेका छन् ।
बेलायतको राष्ट्रगानको शब्दमा जे छ त्यस्तै शब्द नेपालको पुरानो राष्ट्रगानमा पनि थियो । अर्थात राजा (रानी)को स्तुति गान (God Save the Queen)। नेपालमा हिंसापुर्ण माओबादी संघर्षमा २०६२–६३को जनआन्दोलन थपिएपछि त्यो स्तुतिगान फेरेर जनताको राष्ट्रगान बदल्ने स्थिति सिर्जना गर्यो । अध्यक्ष जेरमिको चुप्पिले त्यो स्तुतिबारे बेलायती जनतालाइ झक्झकाएको छ । मलाइ भने जेरमिको चुप्पी निकै मन परेको छ, जुन चुप्पीले परम्परागत बेलायती राजनीतिमा क्रान्तिकारी बीउ रोपिदिएको छ । स्मरणिय कुरा के पनि छ भने जेरमि कोरविन गणतन्त्रबादी हुन र संसदमा उनको सहभागिता पञ्चायतकालमा नेपाली कांग्रेस र नेकपा(माले)को उपयोगको नीति अन्तरगत जनपच्छीय उम्मेदवार बनेर राष्ट्रिय पञ्चायतमा भण्डाफोडको नीति अपनाएको जस्तै हो ।
लेबर पार्टीका अग्रजहरू नै खुलेर जेरमिले बाहेक जोसुकैले पनि जिते हुन्छ भन्दै उर्लेको अवस्थामा करिव ६० प्रतिशत मतबाट विजय हासिल गर्नु उनको पहिलो सफलताको सिढि रह्यो । दोस्रो सफलताको सिढीका रूपमा उनको चुप्पीले काम गर्यो । थुप्रै आलोचनात्मक टिप्पणीहरूका बीच छाया क्याविनेटको गठन तेस्रो र चौथो सफलतको सिंढीका रूपमा संसदभित्र प्रधानमन्त्रीसंगको सवाल–जवाफको कार्यक्रममा नाटकीय प्रहसनको स्वरूप बदलेर जनताका प्रश्नको बाणले प्रम क्यामरूनलाइ आघात पार्नमा उनले आफूभित्रको छमतालाइ महाभारतका अर्जुनको कौसलताका रूपमा देखाएका छन् ।
जसरी दोस्रो विस्वयूद्धका योद्धाहरूको सम्मानको कार्यक्रममा राष्ट्रगान नगाइ चुप्प बसेर राष्ट्रगानभित्र रहेका शब्द विरूद्धमा जुन विद्रोह उनले गरे त्यसलाइ मिडियाहरूबाट सम्मानका लागि कार्यक्रममा उपस्थित भएको तर्क सहित बचाव गर्न सफल भए त्यसलाइ उनको पाँचौ सफलतामा गणना गरिएको छ ।
उनको पदको गरिमा र कार्य सम्पादनकालागि नियम अनुसरण गर्नै पर्ने बाध्यताका कारण भविष्यमा भने उनले राष्ट्रगान गउने नै छन भनेर राष्ट्रिय पत्रिका तथा मिडियाहरूमा टिप्पणी भैरहेका छन । उनका सहकर्मी छायामन्त्रीहरू तथा सांसदहरूले पनि उनलाइ राष्ट्रिय गान गाउन दवाव दिएको बताइएको छ । भविष्यमा उनले गाइहाले पनि राष्ट्रगानमा भएका शब्दका विषयमा जनचेतना सहितको विद्रोकको विगुल फुक्नमा उनि माहिर सावित भैसकेका छन् ।
संसदभित्र प्रम प्रश्न भनेर जुन नाटक गरिने चलन थियो त्यसलाइ जेरमिले बदलेर नयाँ रूप दिइसकेकाछन् । त्यस विषयमा अरूले सकारात्मक नकारात्मक दुवै कोणबाट टिप्पणि गर्नका साथै उनको सादा पहिरन वारेको नकारात्मक टिप्पणीमा बेलायती जनताले भने समर्थन गर्दै आएका प्रमाणहरू छन् । लेबरपार्टीको अध्यक्षपदको निर्वाचनपछि तीस हजार सदस्य थपिनु, साथै संसदमा प्रधानमन्त्रीसंग सोध्ने प्रश्न माग्दा चालीस हजार नागरिकले प्रश्न पठाएर सहभागिता जनाउनु जेरमि कोरविनमाथि बेलायती जनताले गरेको समर्थनका प्रमाण हुन ।
'म नै राजनीतिको धुरन्धर हुँ ' भन्नेहरूले जेरमि कोरविनले कुनै पनि हालतमा अध्यक्ष पद जित्ने मत हासिल गर्न सक्दैनन भनिरहेका थिए । धेरै चरणमा अध्यक्ष पदको निर्वाचनको म्याराथुन दौड चल्नेछ भन्ने अडकलबाजी विपरित सुरूमै अत्यधिक मतले विजय हासिलगर्नुले मुलधारका राजनीतिज्ञहरू बेलायती जनताबाट कति टाढा रहेछन् भन्ने छर्लङ्ग भएको छ । जनताले नेताहरूलाइ सवै एउटै ड्याङका भरगर्न नहुने धुर्तहरू भनेर गणना गर्दै गर्दा फरक धारको राजनीतिक संकेत दिएर जेरमिले जनताको मन जितेका छन् । उनी अरू नेता भन्दा देखाइमा सरल, पहिरनमा सादापन तर विचारमा जनपक्षीय रहेको दृष्य एक हप्ता पनि नवित्दै छरपस्ट भएको छ ।
सारमा भन्दा हालसम्म सम्भ्रान्तहरूको बोलवाला चलेको वेलायती राजनीतिमा श्रमजिवी जनताको राजनीति र यूद्ध विरोधी धारणाका साथ अगाडि बढेका जेरमिलाइ जनताले साथ दिने कुरामा संका गर्ने ठाउँछैन । तर, सम्भ्रान्तहरूको हित विपरित हुने हुनाले उनका विरूद्ध हुने षणयन्त्रहरू भने निकै रोचक र घोचक पक्कै हुनेछन भन्ने अड्कल बाजि छ । हेरौ जेरमि कोरविन घात प्रतिघात कति थेग्न सक्छन् र कति अघि बढ्न सक्छन् । प्रम क्यामरूनलाइ सुरक्षाको लागि रक्षाकवच ट्रिडन्ट चाहिएको छ, जेरमिलाइ जनताको समर्थनमा ट्रिडेन्टको रक्षाकवच वाहियात सावित गर्नु परेको छ । परिणामका लागि भविष्य कुर्नै पर्छ ।
हालसम्म कन्जरभेटिभ पार्टि र ब्लेयरिजमको लेबरबीच खासै फरक महसुस गर्न नसकेका बेलायती जनताले जेरमिको फरकपनबाट राहतको आशा गर्दै साथदिने सम्भावना भने विद्यमान रहेको छ । जेरमिले जिते धेरै वर्ष सत्तामा बस्न पाइन्छ भन्ने कन्जरभेटिभको अनुमान आफ्नै खुट्टामा बन्चरो हाने बराबर हुने सम्भावना दर्शाएको छ यो एक हप्ताले ।

Recent Blogs