Blog Details

Govind Belbaseकथा सङ्ग्रह बाट
1.0

विषयः वील (इच्छापत्र) नबनाएको अपुताली

Govind Belbase

31 Dec, 1969

विषयः वील (इच्छापत्र) नबनाएको अपुताली

Check here
बेलायतमा इच्छापत्र (वील) बनाउनै पर्छ, नभए खत्तम हुन्छ भनेर कतिपयले डराउन पनि दिन्छन् । के वास्तवमा इच्छापत्र (वील) नबनाए मरेपछि सम्पत्ति सवै सरकारले लान्छ त ? बाबु बजेका पालामा यस विषयमा खैरेका मुलुकको कानून जान्नै परेन । आफ्नो पालामा बल्ल यो पश्न फरक रूपले आइलाग्यो । के हुनेहो भन्ने डरले सताउनु स्वभाविक पनि हो ।

नेपालबाट बेलायत बसाइँ सर्नेको संख्या ठूलो छ । कतिपय रहनसहनदेखि कारोबार नेपालमा भन्दा फरक भएपनि विस्तारै सिकिँदै छ । मोरगेजको घर लगायत सम्पत्ति पनि जम्मा भैसक्यो । जता बस्यो उतैको जोहो गर्नै पर्यो । मोरगेजको घर तथा सम्पत्तिको विषयका कतिपय कुराका बारेमा नेपालमा भन्दा यहाँ फरक कानूनी ब्यवस्था छ । यस विषयमा जान्नै पर्ने र समयमा नजाने खत्तम हुने एउटा विषय अपुताली सम्बन्धी जानकारी हो । नेपालमा त सम्पत्तिको मालिकको देहावसान (मृत्यू) भएपछि सम्पत्ति के हुन्छ भन्ने विषयमा मुलुकी ऐनको अपुतालीको महलले ब्यवस्था गरेको छ । नेपाली भाषामा पढ्न सजिलै हुन्छ । त्यसमा पनि पुस्तौदेखिको चलन भएको हुनाले दाजुभाइ इस्टमित्रलाइ धेरै थाहा हुन्छ । त्यत्ति समस्या पर्दैन र वकीलकहाँ जनुपर्ने अवस्था विरलै मात्र पर्छ । यो खैरेका मुलुकमा कुन कानूनमा कता के के लेखेको छ जान्न समस्यै छ । अझ घरमुलीले ब्यवहार हेर्ने हाम्रो चलन छ । एकै पटक आइपरेपछि महिला र केटाकेटीले त झन कता के गर्लान भन्ने अर्को पिरलो ।

मैले त इच्छापत्र पनि बनाएको छैन, घर पनि अफ्नै नाममा मात्र छ । इच्छापत्र (वील) नबनाइ मरियो भने के हुन्छ त भन्ने खुलदुली भैरह्यो र यस बारे बुझ्न करै लाग्यो । मलाइ जस्तो खुल्दुली अरूलाइ हुन्छ कि हुन्न भन्ने चाहीँ थाहा भएन । तर, मनका कुरा सल्लाहा गर्दा के नै विग्रला र भन्ने लागेर यो पत्र लेख्दै छु ।

बेलायतमा पनि इंगल्याण्ड, स्कटल्याण्ड र वेल्समा यस विषयको फरक फरक कानूनी ब्यवस्था छ । तर तात्विक भिन्नता भने छैन ।

बेलायतमा कुनै ब्यक्ति मर्यो र उसले बाँच्दैमा इच्छापत्र (वील) बनाएको रहेन छ भने २ लाख पचास हजार पाउण्डसम्मको सम्पत्तिको हकमा एउटा ब्यवस्था र त्यस भन्दा बढि सम्पत्तिका लागि थप ब्यवस्था गरिएको छ । २ लाख पचासहजार पाउण्डसम्मको सम्पत्तिमा श्रीमान–श्रीमतीबीच पुरै अपुताली सर्छ । यदि दम्पती नभएमा जिउँदा छोराछोरी र छोराछोरी नभएमा नाति–नातिनामा बरोबरले भागबण्डा लाग्छ । इच्छापत्र (वील) बनाएको छ भने इच्छापत्रमा लेखे बमोजिम हुन्छ ।

हालै इच्छापत्र (वील) सम्बन्धमा पनि बेलायती कानूनमा फेरबदल गरिएकोले यस विषयमा अदालतले गरेको फैसला बेलायती समाजबीच अहिले चर्चामा छ । श्रीमती मिलिटा ज्याक्सनले आफूमरेपछि सवै सम्पत्ति पसुसम्बन्धी च्यारीटीलाइ जाने गरी इच्छापत्र बनाएकी रहिछन् । तर, छोरीले आफ्नो सम्पत्तिबाट केही नपाउने भनेर इच्छापत्रमा जनाएको भए पनि हाइकोर्टले उनीकी छोरी श्रीमती इलोटलाइ एक तीहाइ सम्पत्तिमा अपुताली पाउने निर्णय गरेको छ । श्रीमती ज्यकसनको चाहना विरूध्द उनकी छोरी इलोटले १७ वर्षको उमेरमा आमाले मन नपराएको केटोसँग प्रेम गरेर गएकी हुनाले छोरीलाइ कुनै सम्पत्ती नदिने मनसाय इच्छापत्रमा जनाएकी थिइन ।

हामीलाइ छोराछोरी भन्दा कुकुर विरालोलाइ सम्पत्ती दिने आमाको चाला अचम्म लाग्छ । तर, बेलायती समाजले भने अदालतको फैसलालाइ पो अचम्म मानेको समाचार पढ्दा म तीन छक परेको छु । कुन सभ्य कुन असम्य म अलमलमा परेको छु । सन्तानलाइ माया गरेको राम्रो कि सन्ताललाइ भन्दा कुकुर वरालोलाइ बढि माया गरेको राम्रो ?

नेपालमा त मरेपछिमात्र होइन बाँच्दै पनि स्वास्नी र छोरा–छोरीलाइ खानलाउन नदिए अदालतले नै अंश दिलाइदिने ब्यवस्था छ । तर, यो देशमा उमेर नपुग्दासम्म त केटाकेटीलाइ खानलाउन दिनै पर्छ, उमेर पुगेपछि बाउ–आमाको दायित्व सकिइहाल्छ । यस्तोमा बाउआमा बाचुन्जेल अंश माग्ने र पाउने कुरो त गर्नै परेन । नेपालमा त अझ पैत्रिक सम्पत्तिमा घर ब्यवहार चलाउन आधासम्म त घरमुलिले बेच्न पाउँछ त्यो भन्दा बढि त अंशियाराको अनुमति नलिइ बेचेको खण्डमा पारित भएको राजीनामा पनि बदर हुन्छ ।

इच्छापत्र नबनाए पनि सम्पत्ति पछि के होला भनेर डराइ हाल्नु पर्ने कानूनी ब्यवस्था चाहि यो देशमा पनि रहेनछ भन्ने थाहा पाएपछि म भने ढुक्क भएको छु । इच्छापत्र नबनाएको अवस्थामा भएको सम्पत्ति पहिले त लोग्ने स्वास्नी कै हुँदोरहेछ । दुबैजना नरहे सन्तानहरूमाझ बरोबर भागबण्डा लाग्दो रहेछ । नेपालमा जस्तो विहा भएकी छोरी र विवाह नगरी पैतीस बर्ष नाघेकी छोरी तथा छोराबीचको पच्छपात पनि रहेन छ ।

यस विषमा बेलायती सरकारको वेवसाइटमा गएर आफ्नो परिस्थिति अनुसारको जानकारी लिन सजिलो रहेछ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस्– Check here »
न वकीलको झन्झट न के होला भन्ने चिन्ता, यो वेवसाइटमा हेरेर ढुक्क भए हुँदोरहेछ ।

मेरो यो गन्थनबाट दिक्क लागेको भए मलाइ माफ गर्नुहोला । कही कतै कसैलाइ सल्लाहा दिन पनि काम लागि हाल्छ कि भनेर यस सम्बन्धमा वेवसाइटमा सजिलै सूचना उपलब्ध रहेछ है भन्न मात्र यो पत्र लेखेको हुँ ।

धन्यबाद

Recent Blogs