मोदिआइनको नजरमा ‘म’
गरिबको पक्षमा भाषण गरेको छ भन्दैमा उसले आफ्नो जीवनमा समानताको अभ्यास गरेको हुन्छ भन्ने पनि छैन।
गोविन्द बेल्वासे २०८३ कात्तिक १४ गते १४:४०
विश्वेश्वरप्रसाद कोइरालाले सुन्दरीजल बन्दीगृहमा बस्दा ‘मोदिआइन’ लघुउपन्यास लेखेका छन्। त्यसमा एउटी बूढी आमैले बालकलाई दिएको उपदेश मेरो मनमा गडेर बसेको छ- ‘ठूला मानिस थरीथरीका हुन्छन्, असल मानिस भने एकथरीका मात्र हुन्छन्। ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू, नानी।’
साहित्यका केही वाक्य पढेर बिर्सिइन्छन्। केही वाक्य भने जीवनभरि नै मनभित्र रहिरहन्छन्। तिनले हाम्रो सोच्ने तरिका बनाउँछन्, मानिसलाई हेर्ने दृष्टि दिन्छन्। त्यसैबाट कहिलेकाहीँ कुनै व्यक्तिलाई पहिलोपटक भेट्दा नै उसको मूल्याङ्कन गर्ने आधारसमेत बन्छ। मेरा लागि ‘मोदिआइन’ को यो भनाइ त्यस्तै एउटा नैतिक ऐना बनेको छ।
तर, असल मानिस को हो ? ठूलो पद प्राप्त नगर्ने मानिस असल हो कि ठूलो पदमा पुगेको मानिस पनि असल हुन सक्छ ? असल बन्ने चाहना राख्नु र वास्तवमै असल हुनु एउटै कुरा हो ? यी प्रश्नको उत्तर खोज्ने क्रममा मैले राजनीतिका केही चर्चित नेताहरूलाई आफ्नै जीवनका साना घटनासँग जोडेर हेर्ने गरेको छु।
मोतीपुरको भेट
२०४७ सालको कुरा हो। पञ्चायती व्यवस्था ढलेको थियो। राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा भएको थियो। तर, वर्षौँसम्म भूमिगत रूपमा काम गरेका कम्युनिस्ट नेताहरूको गतिविधिमा पुरानो भूमिगत शैली अझै बाँकी थियो। राजनीतिक वातावरण फेरिएको थियो, मानिसका बानी र व्यवहार भने जानिने गरी फेरिएका थिएनन्।
त्यतिबेला कपिलवस्तुको हाम्रो गाउँमा कृषि विकास बैङ्कअन्तर्गत सञ्चालित साना किसान आयोजनाको अफिस थियो। त्यहाँका एक जना कर्मचारीसँग मेरो घनिष्ठता बढ्यो। उनको नाम केशव शर्मा हो। हामी दुवै पञ्चायतविरोधी विचार राख्थ्यौँ, समतामूलक समाज निर्माण गर्ने सम्भावनाबारे कुरा गर्थ्यौँ।
तर, उनी भूमिगत नेपाल कम्युनिस्ट पार्टी (माले) का सदस्य रहेछन् भन्ने कुरा मलाई खुलाएका थिएनन्। पार्टीमाथिको प्रतिबन्ध हटेपछि भने उनी आफू मालेको समर्थक भएको बताउन थाले।
म कुनै राजनीतिक दलसँग आबद्ध थिइनँ, तर राजनीतिप्रति चासो थियो। समाज परिवर्तनको सपना देख्ने मानिसहरूप्रति स्वाभाविक आकर्षण पनि थियो। एक दिन केशवजीले ‘मोतीपुरको एउटा विद्यालयमा मालेका नेता आउँदै छन्, जाऔँ’ भने।
भूमिगत नेताहरूका बारेमा सुनेको थिएँ। उनीहरू कस्ता हुन्छन्, कसरी काम गर्छन् र उनीहरूको राजनीतिक आदर्श कस्तो हुन्छ भन्ने जिज्ञासा थियो। त्यसैले धेरै सोचविचार नगरी जाने निर्णय गरेँ।
पूर्व–पश्चिम राजमार्गमा बसबाट ओर्लिएपछि हामी उत्तरतिर लाग्यौँ। करिब डेढ किलोमिटर हिँडेपछि मोतीपुर गाउँ पुगियो। कार्यक्रम कहाँ हुँदै छ भन्ने कुरा केशवजीलाई समेत स्पष्ट थाहा थिएन। बाटोमा भेटिएका एक व्यक्तिले हामीलाई अगाडि बढ्न सङ्केत गरे र आफू अर्कैतिर लागे।
विद्यालयको एउटा लामो कोठामा पुग्दा केही मानिस बेन्चमा बसिरहेका थिए। हामी पनि उनीहरूसँगै बस्यौँ। क्रमशः अरू मानिस थपिँदै गए। मेरो सम्झनामा त्यो जमघटमा करिब ६० वा त्यसभन्दा बढी मानिस थिए।
केही बेरपछि एक जना व्यक्तिले जोसिलो आवाजमा बोल्दै केपी शर्मा ओली आउन लागेको जानकारी दिए। त्यो सामान्य भेटघाट मात्र थिएन, पार्टी प्रशिक्षणको कार्यक्रम रहेछ। प्रतिबन्ध हटिसकेको भए पनि भूमिगत राजनीतिका पुराना अभ्यास मैले महसुस गर्दै थिएँ।
ओलीले त्यस दिन के–के भने, आज मलाई शब्दशः सम्झना छैन। मानिसको स्मृति कुनै अभिलेखालय होइन। समय बित्दै जाँदा केही दृश्य स्पष्ट रहन्छन्, केही शब्द हराउँछन् र केही अनुभवको अर्थ पछि गएर मात्र खुल्छ।
तर, उनको कुरा सुनेपछि मेरो मनमा एउटा धारणा बनेको थियो। त्यस समय मसँग भएको ज्ञान, अनुभव र विवेकका आधारमा मैले उनको व्यक्तित्वबारे एउटा निष्कर्ष निकालेको थिएँ— उनी ठूलो मान्छे बन्ने आकाङ्क्षा राख्ने व्यक्ति हुन् भन्ने ठानेँ। तर असल मान्छे बन्ने नैतिक प्रतिबद्धता भने मैले उनमा देखिनँ।
त्यो मेरो तत्कालीन अनुभूति थियो, कुनै अदालतको फैसला होइन। फर्किएपछि केशवजीले आफू त्यो पार्टीको सदस्य रहेको खुलासा गरे। त्यो समयसम्म नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाउनु चानचुने कुरा थिएन। धेरै नैतिक धरातल पार गरेको र सिद्धान्तनिष्ठ प्रमाणित भएको हुनुपर्थ्यो। अझ श्रमिक वर्गको पक्षधर देखिनुपर्थ्यो।
मलाई उक्त पार्टीको सदस्यता पाउन योग्यता पुगेको ठहर्याएर ग्रहण गर्न भने। मलाई ती ओली असल मान्छे भन्ने लागेको भए सदस्यता लिन्थेँ पनि। तर, ती नेताको कुराले मभित्र उक्त पार्टीप्रतिको आकर्षण एकदमै घटेको थियो। त्यसैले सदस्यता ग्रहण गरिनँ।
पछि उनी पटक–पटक नेपालको प्रधानमन्त्री बने। राष्ट्रिय राजनीतिमा उनको प्रभाव बढ्यो। तर, पद र प्रतिष्ठा बढ्दैमा मानिसको नैतिक उचाइ पनि बढ्छ भन्ने मलाई लागेन। संसद् विघटनसम्बन्धी विवाद, सर्वोच्च अदालतबाट भएका संवैधानिक व्याख्या र पदमा रहँदा देखिएका उनका राजनीतिक व्यवहारले मेरो पुरानो धारणालाई झन् बलियो बनाउँदै लग्यो।
कुनै नेताको राजनीतिक सफलता र नैतिक सफलता फरक कुरा हुन्। जनताको समर्थन प्राप्त गर्नु ठूलो उपलब्धि हुन सक्छ। तर, भोटले मात्रै कुनै निर्णयलाई नैतिक बनाउँदैन। संविधानको सीमाभित्र बस्नु, संस्थाहरूको स्वायत्ततालाई सम्मान गर्नु र आफ्नो पदलाई निजी प्रतिष्ठाभन्दा माथि नराख्नु पनि नेतृत्वको परीक्षा हो। मोदिआइनको भनाइ सम्झँदा मेरो मनमा पटक–पटक यही प्रश्न उठ्छ।
दोस्रो भेट : सातुको झोला र थाल
सन् २००० तिरको कुरा सम्झनुअघि म २०७० सालको एउटा भेट सम्झन्छु। अर्का एक नेता कलेज पढ्दादेखि नै मेरो पुस्ताका धेरै विद्यार्थीका लागि आदर्श व्यक्तित्व थिए। उनी सङ्गठन निर्माणमा सक्रिय, सङ्घर्षशील र जेलजीवनसमेत भोगेका नेता थिए। उनका राजनीतिक भाषण र सक्रियताले धेरै युवालाई प्रभावित पारेका थिए।
एक दिन राजमार्ग छेउको प्रतीक्षालयमा उनीसँग मेरो पहिलो जम्काभेट भयो। काठको बेन्चीमा आमनेसामने भइयो। उनी पार्टीको काममा हिँडेका रहेछन्। उनलाई अल्सरको समस्या भएको र स्वास्थ्यका कारण नियमित समयमा खाना खानुपर्ने कुरा मलाई थाहा थियो।
मैले स्वास्थ्यबारे सोधेँ। उनले निको हुँदै गएको बताए। समयमा खाना खानुपर्ने भएकाले झोलामा सातु बोकेर हिँडेको पनि सुनाए। कुरा गर्दै उनले झोलातिर सङ्केत गर्दै सातु बोकिहिँडेको दर्शाए।
त्यो सामान्य संवाद थियो। त्यसमा देखावटीपन थिएन। बिरामी शरीर लिएर पनि राजनीतिक काममा खटिरहेको व्यक्तिप्रति मेरो मनमा सम्मान थियो। उनी पनि हिम्मतिला नेता हुन्, कठिन परिस्थितिमा सङ्घर्ष गरेका मानिस हुन् भन्ने धारणा पहिल्यैदेखि थियो। तर, मानिसको व्यक्तित्व बुझ्न ठूला भाषण र कठिन सङ्घर्षका कथा मात्र पर्याप्त हुने रहेनछ।
माओवादी सशस्त्र द्वन्द्व चर्किएको समय थियो। पेसाले वकिल भएकाले मैले माओवादीका धेरै कार्यकर्ताको मुद्दामा कानुनी प्रतिनिधित्व गरेको थिएँ। मेरो भूमिका कानुनी पेसाभित्र सीमित थियो। राज्यले संवैधानिक सीमा नाघेमा नागरिकलाई प्रतिरोध गर्ने अधिकार हुन्छ भन्ने मेरो सैद्धान्तिक मान्यता थियो।
तर, विद्रोहीले अपराध गरेको भए पनि राज्यले कानुन र मानवअधिकारको सीमा नाघेर दण्ड दिन पाउँदैन भन्ने कुरामा पनि म उत्तिकै स्पष्ट थिएँ।
कानुनी शासनको पक्षमा उभिनु भनेको राज्यले गरेको सबै काम सही मान्नु होइन। त्यसैगरी विद्रोहको कारण बुझ्नु भनेको विद्रोहीले गरेको हरेक कामलाई उचित ठहर गर्नु पनि होइन। माओवादी कार्यकर्ताहरूका मुद्दामा काम गर्दा उनीहरूको गोपनीयता कायम राख्नु मेरो व्यावसायिक कर्तव्य हुन्छ।
प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोजिरहेको थाहा हुन्थ्यो। तैपनि कानुनले संरक्षण गरेको गोपनीयता र पेसागत मर्यादा उल्लङ्घन गरेर जानकारी दिनु उचित ठान्दिनथेँ।
म बेलायतमा एउटा पेसागत तथा व्यक्तित्व विकाससम्बन्धी कोर्स पढेर नेपाल फर्किएको थिएँ। त्यतिबेला माओवादीका एक जना पुराना नेताले आफ्नो क्षेत्रको जिम्मेवारी अर्को नेतालाई हस्तान्तरण गर्न लागेका रहेछन्। कार्यकर्ताका मुद्दासम्बन्धी सम्पर्कका लागि नयाँ नेतालाई मसँग चिनाउन उनीहरू दुवै जना मेरो घरमा आए।
चिनजान भयो। कुराकानी भयो। त्यसपछि हामीले सँगै खाना खायौँ।
घरमा आएका राजनीतिक नेताहरूले खाना खाएपछि आफ्ना थाल आफैँ माझ्थे। त्यस दिन पुराना नेता ठाकुर चापागाईंले पनि थाल माझे। तर, नयाँ जिम्मेवारी सम्हाल्न आएका नेताले भने आफ्नो थाल त्यत्तिकै छाडेर बैठक कोठामा गएर बसे।
त्यतिबेला हाम्रो घरमा एउटा सामान्य चलन थियो— आफूले खाएको थाल आफैँ माझ्ने। घरमा काममा सघाउने नानी पनि थिइन्, तर हामी सकेसम्म सबैले आफ्नो काम आफैँ गर्ने अभ्यास गर्थ्यौँ। मैले आफ्नो थाल माझेँ। त्यसपछि ती नेताको थाल पनि माझेर बैठक कोठामा पुगेँ।
मेरो स्वभाव अलि स्पष्ट बोल्ने खालको छ। छुच्चो छु, मनमा लागेको कुरा लुकाएर राख्न सक्दिनँ। मैले उनलाई सोधेँ, ‘यसअघि हाम्रो घरमा आउनुभएका नेताहरूले त आफूले खाएको थाल आफैँ माझ्नुहुन्थ्यो। तपाईंले चाहिँ किन माझ्नुभएन ?’
उनले आफ्नो व्यवहारको सफाइ दिए। गाउँघरमा भाँडा माझ्ने ठाउँ प्रायः घरबाहिर हुन्छ। जुठेल्नामा थाल माझिरहेको छिमेकीले देखेमा प्रहरीलाई खबर गर्न सक्छन् र आफू पक्राउ पर्न सकिन्छ भन्ने डरले उनले थाल नमाझेको बताए।
द्वन्द्वको समय थियो। भूमिगत राजनीतिक जीवनमा सुरक्षाको प्रश्न वास्तविक थियो। सामान्य व्यवहारले समेत जोखिम निम्त्याउन सक्थ्यो। तर, हाम्रो घरमा भान्साकै छेउमा सिङ्क थियो। त्यहाँ उभिएरै थाल माझ्न सकिन्थ्यो, बाहिर जुठेल्नामा जानुपर्ने बाध्यता थिएन। त्यसैले उनको तर्कले मेरो चित्त बुझाएन।
त्यस क्षण मेरो मनमा उनीप्रति एउटा प्रश्न उठ्यो- के उनले परिस्थितिलाई बहाना बनाए, कि मैले नै उनको अवस्थालाई पर्याप्त बुझिनँ ? त्यो प्रश्नको अन्तिम उत्तर मसँग थिएन। तर, मेरो मनले उनलाई असल मान्छेको परीक्षामा कमजोर अङ्क दियो। त्यसपछि हामी आ–आफ्नो काममा लाग्यौँ। उनी गए। त्यसपछि उनीसँग मेरो भेट भएन।
धेरै वर्षपछि उनै नेता भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा मुद्दा चल्दा र जेल पुग्दा मैले मेरो पुरानो धारणा सम्झिएँ। ती नेता थिए- टोपबहादुर रायमाझी, जो अर्घाखाँचीबाट निर्वाचित सांसद हुँदै गृहमन्त्रीसमेत बनेका थिए।
त्यो एउटा थालको घटनाले उनलाई भ्रष्टाचारको अभियोगमा दोषी प्रमाणित गर्दैन। त्यसैगरी कुनै अभियोग लाग्दैमा अदालतको अन्तिम निष्कर्ष नआउँदै व्यक्तिलाई कानुनी रूपमा दोषी ठहर गर्न मिल्दैन। तर, त्यस घटनाले मेरो मनमा उठाएको नैतिक प्रश्न भने अलग थियो।
धेरैपछि मैले फ्रान्सेली दार्शनिक सिमोन द बोउवारको ‘द एथिक्स अफ एम्बिगुइटी’ पढेँ। त्यसपछि मोदिआइनको भनाइलाई सम्झँदा त्यसमा अर्को दार्शनिक आयाम देख्न थालेँ। बीपी कोइरालाले यो पुस्तक पढेर नै ‘मोदिआइन’ लेखेका हुन् भन्ने मेरो दाबी होइन। उनले त्यो पुस्तक पढेका थिए कि थिएनन् भन्ने मलाई थाहा छैन। तर, दुवैको विचारमा मानिसको स्वतन्त्रता, नैतिक जिम्मेवारी र असल जीवनको खोजीबीच एउटा रोचक सामीप्यता पाउँछु।
द बोउवारका लागि मानिसको जीवन कुनै पूर्वनिर्धारित सूत्रअनुसार चल्ने यन्त्र होइन। हामी अपूर्ण ज्ञान, सीमित परिस्थिति र अनिश्चित भविष्यबीच निर्णय गर्छौँ। आफ्नो निर्णयको सम्पूर्ण परिणाम पहिल्यै थाहा पाउन सक्दैनौँ। तर, त्यसो भन्दैमा नैतिक जिम्मेवारीबाट उम्कन पनि सक्दैनौँ। आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अरूको स्वतन्त्रतालाई सम्मान गर्नु र आफ्ना कामको जिम्मेवारी लिनु नै नैतिक जीवनको महत्त्वपूर्ण आधार हो।
यस अर्थमा असल मानिस हुनु भनेको गल्ती नै नगर्नु होइन। आफ्नो गल्ती स्वीकार गर्न सक्नु, परिस्थितिलाई बहाना बनाएर अन्यायको पक्षमा नउभिनु र शक्तिलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु असल मानिस बन्ने यात्राका महत्त्वपूर्ण पक्ष हुन्।
मेरो विचारमा, मानिसको सार्वजनिक जीवनमा भएका निर्णय र उसको दैनिक व्यवहारबीच कहिलेकाहीँ सम्बन्ध देखिन सक्छ। तर, त्यो सम्बन्ध प्रमाणित सत्य हो भनेर घोषणा गर्न मिल्दैन। थाल नमाझ्ने घटनालाई भविष्यको भ्रष्टाचारको प्रमाण मान्नु भने गलत हुन्छ। यो मेरो मनोवैज्ञानिक प्रवृत्ति मात्र हो। अदालतले वस्तुगत प्रमाणको मूल्याङ्कन गरेर निर्णय दिन्छ।
यहीँनिर बोउवारको तर्क सान्दर्भिक हुन्छ। मानिसलाई एउटा घटनाबाट पूर्ण रूपमा परिभाषित गर्न सकिँदैन। तर, अनिश्चितता छ भन्दैमा हरेक व्यवहारको नैतिक मूल्याङ्कन गर्नै नमिल्ने पनि होइन। मानिस आफ्नो परिस्थितिबाट पूर्णतः स्वतन्त्र हुँदैन। उसको निर्णयमा भय, अभाव, सामाजिक संरचना र शक्ति सम्बन्धले प्रभाव पार्छन्। परिस्थिति जस्तोसुकै भए पनि मानिससँग केही न केही निर्णय गर्ने क्षमता रहन्छ, र त्यसैले ऊ आफ्नो व्यवहारप्रति जिम्मेवार पनि हुन्छ।
कुनै मानिसले जेलजीवन बिताएको छ भन्दैमा ऊ स्वतः असल हुँदैन। क्रान्तिको नारा लगाएको छ भन्दैमा उसको प्रत्येक काम न्यायपूर्ण हुँदैन। गरिबको पक्षमा भाषण गरेको छ भन्दैमा उसले आफ्नो जीवनमा समानताको अभ्यास गरेको हुन्छ भन्ने पनि छैन। त्यसैगरी, कुनै नेताले एउटा सानो काम गर्न नसकेको देख्दैमा उसको सम्पूर्ण व्यक्तित्वलाई एउटै निष्कर्षमा बन्द गर्न पनि मिल्दैन।
व्यक्तिले शक्तिसँग कस्तो व्यवहार गर्छ, आफूभन्दा कमजोर मानिसलाई कसरी हेर्छ, आफ्नो गल्तीप्रति कति इमानदार हुन्छ र अरूको अधिकारलाई कसरी प्रयोग गर्छ भन्ने प्रश्नहरू पनि महत्त्वपूर्ण हुन्छन्। ठूलो हुनु सामाजिक मान्यता, पद, प्रसिद्धि वा शक्तिसँग जोडिन्छ। असल हुनु भनेको ती सबै उपलब्धिलाई कसरी प्रयोग गरिन्छ भन्ने प्रश्नसँग जोडिन्छ।
तर, द बोउवारको अनिश्चितताको नैतिकताले अरूलाई मात्र होइन, आफूलाई पनि प्रश्न गर भन्छ। मैले कुनै नेतामा कमजोरी देख्दा कतै आफ्नै पूर्वाग्रहले काम त गरेन ? उसको व्यवहारको एउटा पक्षलाई मैले सम्पूर्ण व्यक्तित्व ठानेँ कि ? आफूलाई मन नपर्ने राजनीतिक विचार भएको व्यक्तिको व्यवहारलाई मैले आवश्यकताभन्दा कठोर रूपमा मूल्याङ्कन त गरिनँ ?
जीवनको अन्त्यमा मानिसले कति पद प्राप्त गर्यो, कति मानिसलाई प्रभावमा पार्यो वा कति नाम लेखायो भन्नेभन्दा अरूको जीवनमा कस्तो प्रभाव छाड्यो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। समाजलाई सकारात्मक दिशामा लैजान योगदान गर्यो कि गरेन भन्ने मूल विषय हो।
त्यसको उत्तर अझै खोज्दै छु।
म यसै एकदिन नेपाली पोस्टमा एक्सको स्पेस सुन्दै थिएँ। म आफैँ पनि कमेन्ट गर्न रुचाउने भएकाले मलाई अरूका कमेन्टहरू पढ्न मन पर्छ।
दसैँको बेला नेपाली पोस्टका वक्ताहरूले पालैपालो शुभकामना आदानप्रदान गरिरहेका थिए। तल कमेन्टमा गोविन्द बेल्वासेले आशीर्वाद दिँदा “ठूलो होइन, असल बन” भनौँ भन्ने आशयको कमेन्ट गर्नुभएको रहेछ।
कमेन्टमा लेखिएको कुरामा खासै अनौठो त लागेन। तर आफैँलाई प्रश्न सोधेँ, असल बन्ने कसरी हो? के हो असल बन्ने भनेको? यस्ता प्रश्न आए। फेरि, ठूलो बन्नु र असल बन्नु भनेको परस्पर विरोधी (mutually exclusive) पनि होइनन्। ठूलो (accomplished) हुनुको पनि सामाजिक महत्त्व छ। जस्तै, प्रिसिजन मेडिसिन बनाउने वैज्ञानिकहरू धेरै नै उपलब्धि हासिल गरेका मानिस हुन्। के उनीहरूको भन्दा विश्रामपुरका भद्रभलाद्मीहरूले असल ठहर्याएका मोहन काकाको योगदान धेरै छ त?
मलाई यो पनि सोच्न आयो, ठीक छ, हामी कोही पनि ठूलो नबनौँला, सबैजना असल मात्र बनौँला। यस्तो हुँदा समाजमा पदानुक्रम (hierarchy) पनि रहेन। यदि यस्तो हो भने, हाम्रो समाजको सामाजिक पदानुक्रमलाई नामेट पार्न त केही गरेपछि “नठूलो बन्नू है केटाकेटी हो” भनेर आशीर्वाद दिन सकिन्छ।
मैले बेल्वासेजीलाई यिनै प्रश्नहरू राखेर प्रतिक्रिया दिएको थिएँ। हामीबीच केही गर्मागर्मी बहस पनि भयो। ५० बर्ष भएपछि पछि बुझ्छौ, मोदिआईन र सिमोन द भ्वा पढ, के असल मानिस नबन्ने “एसक्युज” खोजेको हो? भन्ने प्रकारको जवाफहरू बेल्वासेजीले दिनुभयो ।स्वाभाविक रूपमा कुनै साझा वैचारिक निष्कर्षमा पुग्न सकिएन। तर त्यही बहसलाई उहाँले एउटा लेखमार्फत थप विस्तार गर्नुभएको रहेछ। आफ्नो विचारलाई यसरी सार्वजनिक विमर्शमा ल्याउनुभएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु।
‘मोदिआइनको नजरमा म: ठूलो पल्टें कि असल?’ शीर्षकको लेखमा बेल्वासेजीले बीपी कोइरालाको मोदिआइन मा व्यक्त एउटा नैतिक आदर्शलाई आधार बनाएर मानिसको चरित्र, राजनीतिक नेतृत्व र असल हुनुको अर्थ खोज्ने प्रयास गरेका छन्। उनको मुख्य तर्क यस्तो छ: ठूलो पद प्राप्त गर्नु, क्रान्ति गर्नु, जेल बस्नु वा प्रसिद्धि कमाउनु मात्र असल मानिस हुनुको प्रमाण होइन, त्यसकारण, ठुलो होईन, असल बन्न अभिप्रेरित होऊ।
झट्ट सुन्दा यो तर्कसँग असहमत हुनुपर्ने खास कारण छैन। तर यसले एउटा आधारभूत प्रश्न छोडेको छ। असल मानिस भनेको को हो? असल र खराब छुट्याउने मापदण्ड कसले निर्धारण गर्छ? के असलपन कुनै सार्वभौमिक गुण हो, वा समय, समाज र परिस्थितिअनुसार बदलिने हाम्रो मूल्याङ्कन?
बेल्वासेजीले राजनीतिक नेताहरूसँगका व्यक्तिगत अनुभवका आधारमा उनीहरूको नैतिक चरित्रबारे धारणा बनाएका छन्। एउटा घटनामा भाषण सुनेर एउटा नेता ठूलो बन्न चाहन्छन् तर असल बन्न चाहँदैनन् भन्ने अनुमान गरेका छन्। अर्को घटनामा एक नेताले खाना खाइसकेपछि थाल नमाझेको व्यवहारबाट उनको चरित्रबारे प्रश्न उठाएका छन्।
तर एउटा व्यवहारले व्यक्तिको सम्पूर्ण चरित्र कति प्रतिनिधित्व गर्छ? एउटा घटनाबाट मानिसको नैतिक चरित्र निर्धारण गर्नु भनेको कुनै पुस्तकको एउटा वाक्य पढेर त्यसको समग्र अर्थ निर्धारण गर्न खोजेजस्तै होइन? बेल्वासेजीले यो सीमालाई स्वीकार गरेका छन्। यद्यपि उनको कथात्मक लेखनीले पाठकलाई गलत निष्कर्षतर्फ डोर्याउँछ।
बेल्वासेजीको लेखको सबल पक्ष राजनीतिक प्रतिष्ठा र नैतिक उत्कृष्टतालाई अलग गरेर हेर्नु हो। तर उनले वर्षौँअघिका आफ्ना धारणालाई पछिल्ला घटनासँग जोडेर हेर्दा उनमा स्पष्टरूपमा पुष्टि पूर्वाग्रह (Confirmation Bias) र र पश्चदृष्टि पूर्वाग्रह (Hindsight Bias) देखिन्छ। हामीले सामान्यतया पुर्व निर्धारित धारणालाई समर्थन गर्ने प्रमाणहरू बढी सम्झन्छौँ। कुनै चलचित्रको अन्त्य थाहा पाएपछि सुरुदेखिका दृश्यमा त्यसैको संकेत खोजेजस्तै, पछिका घटनाले विगतका सामान्य अनुभवलाई पनि भविष्यको पूर्वसंकेतजस्तो बनाइदिन सक्छन्। लेखकले भाडा माझ्नु र भ्रस्टचारमा मुछिनु उनको मनोवैज्ञानिक प्रवृत्ति मात्र हो भनेर आफ्ना पूर्वाग्रहप्रति प्रश्न उठाएका त छन । तर पूर्वाग्रह स्वीकार्नु र त्यसबाट मुक्त हुने कोशिस गर्नु फरक कुरा हुन्।
यहाँ अझ महत्त्वपूर्ण प्रश्न व्यवहारको भन्दा त्यसको मूल्याङ्कन गर्ने मापदण्डको हो। थाल आफैँ माझ्नुलाई हामी किन असल व्यवहार मान्छौँ? त्यसमा आत्मनिर्भरता, विनम्रता वा अरूको श्रमप्रतिको सम्मान देख्छौँ होला। तर यी गुणलाई असल मान्ने आधार के हो? के हामीले राम्रो ठानेको व्यवहार अर्को समाज, संस्कृति वा परिस्थितिमा पनि उत्तिकै राम्रो मानिन्छ? फेरी आफ्नो खाना आफै ले पकाईयो कि पकाईएन भन्ने प्रश्न पनि आउला ।
अझ, असलपनको अर्थ समयसँगै परिवर्तन हुन सक्छ। कुनै समय समाजले स्वाभाविक वा उचित मानेको व्यवहार पछिल्लो पुस्तालाई अन्यायपूर्ण लाग्न सक्छ। दासत्व, महिलाको अधिकार वा जातीय विभेदसम्बन्धी सामाजिक दृष्टिकोणमा आएका परिवर्तन यसका उदाहरण हुन्। हिजो असल नागरिकको गुण मानिएको आज्ञाकारिता आज अन्यायप्रतिको मौन समर्थन मानिन सक्छ। आज हामीले नैतिक रूपमा उचित ठानेका कतिपय व्यवहारलाई भोलिको पुस्ताले कसरी मूल्याङ्कन गर्ला?
स्विडिस प्रकृतिविद् कार्ल लिनियसले जीवहरूको वैज्ञानिक वर्गीकरणमा महत्त्वपूर्ण योगदान दिए। तर मानिसहरूको वर्गीकरणसम्बन्धी उनका कतिपय धारणाले पछि वैज्ञानिक नस्लवादको विकासमा आधार प्रदान गरे। त्यस्तै, दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकाले युद्ध चाँडै समाप्त गर्ने घोषित उद्देश्यसहित हिरोसिमा र नागासाकीमा आणविक बम खसाल्यो, जसबाट ठूलो मानवीय विनाश भयो। युद्ध समाप्त गर्न ती बम आवश्यक थिए कि थिएनन् भन्ने बहस आजसम्म जारी छ। एउटै प्रकृतीको कामलाई हेर्ने हाम्रो दृष्टिकोण उद्देश्य, परिणाम, ऐतिहासिक परिस्थिति र हामीले अपनाएका नैतिक मापदण्डअनुसार फरक हुन सक्छ।
यसैले मलाई मोदिआइन को ‘असल बन’ भन्ने उपदेशभन्दा ‘कर्म गर’ भन्ने आग्रह बढी अर्थपूर्ण हुन सक्छ कि भन्ने लाग्छ।
‘असल बन’ भन्नुअघि असलपनको एउटा परिभाषा चाहिन्छ। तर त्यो परिभाषा कसको हो? परिवारको, समाजको, धर्मको, राज्यको वा व्यक्तिको आफ्नै? यी परिभाषा आपसमा बाझिए भने कुनलाई मान्ने? हामीले असल बन्ने प्रयास गर्दा कतै अरूले निर्माण गरेको नैतिक आदर्शअनुसार आफूलाई ढाल्ने प्रयास मात्र त गरिरहेका हुँदैनौँ?
‘कर्म गर’ ले भने मानिसलाई कुनै पूर्वनिर्धारित नैतिक पहिचानमा सीमित गर्दैन। मानिससँग इच्छा, आकाङ्क्षा र उद्देश्य हुन्छन्। उसले आफ्नो ज्ञान, क्षमता र परिस्थितिअनुसार निर्णय गर्छ, कर्म गर्छ। ती कर्मले आफू र अरूको जीवनमा परिणाम उत्पन्न गर्छन्। त्यसपछि हामी ती कर्म, तिनका उद्देश्य र परिणामलाई आफ्ना मूल्य तथा अनुभवका आधारमा व्याख्या गर्छौँ।
यस दृष्टिबाट मानिसलाई जन्मजात वा स्थायी रूपमा असल र खराबको वर्गमा राख्नु आवश्यक हुँदैन। कुनै मानिस एउटा नैतिक मूर्ति होइन, जसलाई असल वा खराब भनेर घोषित गर्न सकियोस् । मनिस एक परिवर्तनशील अस्तित्व हो। उसका इच्छा, निर्णय र व्यवहार समयसँगै बदलिन सक्छन्।
आज प्रशंसनीय काम गरेको व्यक्तिले भोलि निन्दनीय काम गर्न सक्छ। आज गल्ती गरेको मानिसले भोलि आफ्नो व्यवहार परिवर्तन गर्न सक्छ। त्यसो भए हामी किन व्यक्तिलाई एउटा स्थायी नैतिक पहिचानमा बाँध्न चाहन्छौँ? के यसले उसको परिवर्तन हुने सम्भावनालाई बेवास्ता गर्दैन?
यसको अर्थ सबै कर्म समान छन् वा कसैको व्यवहारको आलोचना गर्न मिल्दैन भन्ने होइन। कुनै कर्मले मानिसको स्वतन्त्रता विस्तार गर्छ, अर्कोले दमन गर्छ। कुनै निर्णयले जीवन बचाउँछ, अर्कोले हानि पुर्याउँछ। यी परिणाम वास्तविक हुन्छन्। तर तिनको नैतिक मूल्याङ्कन गर्दा कुन परिणामलाई कति महत्त्व दिने भन्ने प्रश्नमा हाम्रा मूल्यहरू सक्रिय हुन्छन्।
यहाँ सिमोन द भ्वाको The Ethics of Ambiguity सान्दर्भिक हुन्छ। भ्वाले मानिसलाई स्वतन्त्रता र परिस्थितिबीच निर्णय गर्ने अस्तित्वका रूपमा हेर्छिन्। उनको नैतिकताले मानिसका कर्म र अरूको स्वतन्त्रताबीचको सम्बन्धलाई महत्त्व दिन्छ। यसले कुनै मानिसको स्थायी नैतिक पहिचान (असल वा खराब) दिदैन । बरू व्यक्तिलाई केन्द्रमा ल्याएर उसले अफ्नो स्वतन्त्रता कसरी प्रयोग गर्छ भन्ने प्रश्न गर्छ ।
तर ‘कर्म गर’ पनि पूर्णतः मूल्यनिरपेक्ष आग्रह होइन। यसले निष्क्रियताभन्दा क्रियाशीलतालाई महत्त्व दिन्छ। त्यसैले यसलाई कुनै सार्वभौमिक नैतिक समाधानभन्दा मानिसलाई पूर्वनिर्धारित असलपनको आदर्शमा सीमित नगर्ने वैकल्पिक दृष्टिकोणका रूपमा बुझ्नु उचित होला।
अन्ततः मानिसको जीवनलाई असल वा खराब भन्ने दुईवटा कोठामा विभाजन गर्नुभन्दा उसका कर्मलाई तिनको सन्दर्भमा बुझ्नु बढी अर्थपूर्ण हुन सक्छ। असलपनको कुनै व्याख्या उपयोगी हुन सक्छ, तर हामीले यो बिर्सनु हुदैन कि, बजारमा असलपनको हजारौ व्याख्याहरू छन।
सायद हामीले सोध्नुपर्ने प्रश्न ‘यो मानिस असल हो कि खराब?’ भन्दा पनि ‘उसले के गर्यो, किन गर्यो, त्यसको परिणाम के भयो र हामी कुन नैतिक मापदण्डबाट त्यसको मूल्याङ्कन गरिरहेका छौँ?’ भन्ने हो।
मानिस कर्म गर्छ। कर्मले परिणाम उत्पन्न गर्छ। ती परिणामलाई हामी मूल्य र अर्थ दिन्छौँ। तर हाम्रो मूल्याङ्कन नै मानिसको अन्तिम र अपरिवर्तनीय परिचय होइन।
यस अर्थमा ‘असल बन’ कुनै अन्तिम नैतिक उत्तर होइन। बरू असलपनको आफू उपयोगी व्याख्या के हो भनेर घोत्लीनु एउटा नैतिक दायित्व हो ।
Link of the comment
ठूलो मान्छे बन्ने आकाङ्क्षा र असल मान्छे बन्ने नैतिक चेतना बीच फरक छैन त ?
विश्वेश्वरप्रसाद कोइरालाले ‘असल मान्छे’को सन्देश दिन महाभारतकै कथा किन रोजे होलान् भन्ने कोणबाट मलाई सोच्ने अवसर दिनुभएकोमा तपाईंप्रति आभारी छु। यति लामो प्रतिक्रिया लेखेर कर्मको विषयमा थप विश्लेषण गर्न बाध्य पारेकोमा भने मलाई कुनै पछुतो छैन। बरु, यहाँनेर सिमोन द भ्वाको भाषामा तपाईंलाई ‘Sub-man’ बाट ‘Serious man’ तिर धकेल्न सक्दा मेरो डोपामिन अलिकति बढेको छ।
हाम्रा प्रत्येक कर्मका पछाडि कुनै न कुनै मनसाय (Intention) लुकेको हुन्छ। Kant को A priori knowledge र David Hume को Habit सम्बन्धी दार्शनिक बहसलाई पनि म यही सन्दर्भमा जोडेर हेर्न चाहन्छु। Kant ले मानिसको ज्ञान निर्माणमा अनुभवपूर्वका मानसिक संरचनाको भूमिका देखाए भने Hume ले दोहोरिएको अनुभवबाट बानी र विश्वास कसरी निर्माण हुन्छ भन्ने व्याख्या गरे। यी दुवै विचारले मानिसको निर्णय र व्यवहारलाई बुझ्न उसको मानसिक संरचना तथा अनुभवको भूमिका केलाउन प्रेरित गर्छन्। त्यसैले महाभारतको कथामार्फत पात्रहरूका कर्मको पछाडि लुकेका मनसाय र नैतिक द्वन्द्व बुझाउने कोइरालाको अभिप्राय हुनुपर्छ भन्ने मेरो बुझाइ हो।
अर्जुनले आफन्तलाई नै मारेर सत्ता प्राप्त गर्न चाहेनन्। युद्धबाट पछि हट्ने उनको चाहनालाई एउटा अर्थमा ‘Sub-man’ बन्ने प्रयासका रूपमा बुझ्न सकिन्छ। तर कृष्णले उनलाई कर्तव्यको अर्थ मात्र होइन, कर्तव्य निर्वाह गर्नुपछाडिको मनसाय र दृष्टिकोणसमेत बुझाउन खोजे। त्यसैको दार्शनिक अभिव्यक्ति गीतामा पाइन्छ। महाभारतका दुर्योधन, दुःशासन, भीष्म, द्रौपदीलगायत प्रत्येक पात्रका कर्म पछाडिका मनसाय, विवशता र नैतिक द्वन्द्व बुझाउन रचिएको युद्धकथालाई कोइरालाले ‘मोदिआइन’ मार्फत छोटकरीमा प्रस्तुत गर्न खोजेको हुनुपर्छ। तपाईंको विमतिले मलाई यही पक्षमा पुनः विचार गर्न झक्झकाएको छ।
महाभारतको समय नित्सेभन्दा धेरै पहिलेको हो। त्यसैले त्यतिबेलाका ऋषिहरूले पनि आज हामीले Law-abiding Person, असल नागरिक र नैतिक व्यक्तित्वका रूपमा चर्चा गर्ने विषयलाई आफ्नै ढङ्गले व्याख्या गरेका रहेछन्। पात्रहरूको कर्म र त्यसपछाडिको मनसाय केलाउँदा महाभारत नै यसका लागि पर्याप्त उदाहरण हो। कोइरालाले त्यही विशाल कथालाई छोटकरीमा प्रस्तुत गरेका छन्।
एउटा उदाहरण लिऊँ। मानौँ, Mr. A हरेक दिन काममा जान एक घण्टा गाडी चलाउनुहुन्छ। समय बचाउन उहाँले गति सीमित गर्ने नियम उल्लङ्घन गर्दै क्यामेरा छल्ने बाटो अपनाउनुहुन्छ र ४५ मिनेटमै कार्यालय पुग्नुहुन्छ। टिकट पनि पाउनुहुन्न। बचेको १५ मिनेटलाई अन्य काममा लगाएर उहाँले आफ्नो व्यक्तिगत उपलब्धि बढाउन सक्नुहुन्छ। यस अर्थमा उहाँ ठूलो वा सफल मान्छे बन्न सक्नुहोला। तर अरूको सुरक्षा सुनिश्चित गर्न बनाइएको गति सीमाको सम्मान नगर्ने उहाँको व्यवहारले उहाँलाई Law-abiding Person बन्न दिँदैन। यही अर्थमा उहाँ Beauvoir को ‘Serious man’ को प्रवृत्तिमा पर्नुहुन्छ। तर नियम पालना गरेर एक घण्टामै कार्यालय पुग्ने मानिसलाई चाहिँ ‘Sub-man’ वा अल्छी मोहन काका भन्ने त?
Deconstruction of Act
- Knowledge: उसलाई नियम थाहा थियो?
- Habit: नियम उल्लङ्घन गर्ने उसको बानी थियो?
- Intention: उसले किन तीव्र गति अपनायो?
- Circumstances: कुनै आपत्कालीन परिस्थिति थियो?
- Choice: ऊसँग अर्को विकल्प थियो?
- Consequences: त्यसबाट समाजलार्इ कस्तो असर पर्यो?
- Responsibility: परिणामप्रति उसको उत्तरदायित्व कति थियो?
अदालतमा मुद्दाको सुनुवाइ गर्दा पनि कुनै कार्य (Act) पछाडिको मनसाय (Intention) महत्त्वपूर्ण मानिन्छ। अभियुक्तले के गर्यो भन्ने मात्र होइन, किन गर्यो, कुन परिस्थितिमा गर्यो र त्यसको परिणाम के भयो भन्ने पनि हेरिन्छ। ब्रेक फेल भएको गाडीलाई मर्मतका लागि ग्यारेजसम्म लैजाँदा सतर्कतापूर्वक चलाउनु र ब्रेकडाउन सर्भिस बोलाएर लैजानुमा नैतिक तथा कानुनी भिन्नता हुन्छ। ब्रेक फेल भएको गाडी चलाउँदा दुर्घटना भएर कसैको मृत्यु हुनु र आफ्नो नियन्त्रणबाहिरको परिस्थितिमा दुर्घटना हुनु एउटै प्रकृतिको कर्म होइन। कर्मको मूल्याङ्कनमा मनसाय, जोखिमको पूर्वज्ञान, परिस्थिति र परिणाम सबै महत्त्वपूर्ण हुन्छन्।
बुद्धको प्रतीत्यसमुत्पाद (Paticca-samuppāda) ले पनि कुनै वस्तु, घटना वा अवस्था स्वतन्त्र रूपमा उत्पन्न हुँदैन; त्यो विभिन्न कारण र परिस्थितिमा निर्भर भएर उत्पन्न हुन्छ भन्ने मान्यता राख्छ। कुनै घटनाको सत्य बुझ्न त्यसका कारण र परिस्थितिलाई एकएक गरी केलाउनुपर्छ। यही दृष्टिले हेर्दा मानिसको कर्मलाई बाहिरी रूपमा मात्र हेरेर उसको नैतिक चरित्रको अन्तिम निष्कर्ष निकाल्न सकिँदैन। कर्म पछाडिको नियत, त्यसलाई जन्म दिने संस्कार र परिस्थिति तथा त्यसबाट उत्पन्न परिणामसमेत बुझ्नुपर्छ। महाभारतका पात्रहरूको कर्म र मनसायको विश्लेषणमार्फत कोइरालाले यही कुरा जनसाधारणलाई बुझाउन खोजेका हुन् भन्ने मेरो तर्क हो। यस अर्थमा ठूलो मान्छे बन्ने आकाङ्क्षा र असल मान्छे बन्ने नैतिक चेतनाबीचको भिन्नता बुझ्न सकिन्छ।
Beauvoir को ‘Serious man’ ले भने आफ्नो सफलता र लक्ष्यलाई नै अन्तिम सत्य ठान्दै असल बन्नुपर्ने नैतिक प्रश्नबाट उम्किने बहाना खोज्न सक्छ। उसलाई लक्ष्य प्राप्ति नै पर्याप्त लाग्छ। टोपबहादुरले थाल नमाझेको घटनाले मात्र उनको भ्रष्टाचार पुष्टि गर्दैन। तर थाल नमाझ्नुको कारण बताउँदा उनले दिएको बहानाले कतै असल मान्छे ब