‘रातभरि मेरा घर, दिनभरि तेरा घर!’ आत्तिपुत्ति नजान्ने क्या हो?
उत्तर जान्नु भएन भने गाउँ दिन पर्छ है। उत्तर चाहि “तलागो” हो।
त्यो समयको हरेक बिहानको दैनिकी लेख्दै छु। विहानै तगालोको घारो सर्थ्यो। अनि, गाउँका गोठालाहरू आफ्ना गाई, भैंसी र बाख्राका झुण्ड अघि लाउँदै नदी तरेर गाउँबाट जङ्गलतिर निस्कन्थे। सबैको हातमा लाठी हुन्थ्यो। खुर्पेटामा हँसिया र बञ्चरो पनि बोकेका हुन्थे। पशुका खुरले धुलो उडाउँदै तछाडमछाड गर्दै अघि बढ्दै जान्थे। घारी (गोठ)को तगालो उघारेसँगै अघि लागेका जन्तुको पछि लाग्दै अर्को गोठका जन्तु पछि लाग्थे। एक पछि अर्को, दोस्रो, तेस्रो गर्दै सबै गोठ रित्तिँदै जान्थे। हौदीमा खान पाउने लडिवान गोरू र बधुवा भैंसीले भने ती हुलमा रमाउन पाउँदैनथे।
हरेक झुण्डको एउटा अगुवा हुन्थ्यो। उसैको घाँटीमा घण्टी बाँधिएको हुन्थ्यो। त्यो घण्टी सजावटका लागि होइन। त्यो घण्टी त गोठालाका लागि एउटा सूचना प्रणाली थियो।
अचम्मको कुरा त के थियो भने, हरेक घण्टीको आवाज छुट्टाछुट्टै हुन्थ्यो। कसैको घण्टी टन्टन बज्थ्यो। अर्काको टीनीटीनी। कसैको आवाज धोद्रो हुन्थ्यो त कसैको आवाज निकै टाढासम्म सुनिन्थ्यो। गोठालाहरू घण्टीको आवाजलाई चिन्थे। खास गरी आफ्नो झुण्डको घण्टी त पक्कै छुट्याउँथे। प्रायः गोठालामध्येका पाका व्यक्तिले कसको झुण्डको घण्टीको स्वर कुन हो भन्ने छुट्याउन पनि सक्थे। उनीहरूले पशुलाई आँखाले पछ्याइरहनु पर्दैनथ्यो। कुन झुण्ड कता जाँदैछ भन्ने कुरा घण्टीको आवाज सुन्नेबित्तिकै थाहा हुन्थ्यो। खोलाको रहमा आहाल खेल्न थालेका भैंसीको घण्टीको स्वर नसुनिँदा पनि बेवास्ता गर्न सक्थे। डण्डीबियो खेलिरहन सक्थे। खेलको रमाइलोमा रमाइरहन्थे।
आज हामी सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र क्वान्टम कम्प्युटरको युगमा छौँ। विज्ञानमा स्ट्रिङ थ्योरीजस्ता जटिल सिद्धान्तहरू प्रयोग गरेर ब्रह्माण्डको गहिराइ बुझ्ने प्रयास जारी नै छ भनिन्छ। गाउँको त्यो पुरानो गोठालो जीवनलाई नियाल्दा विज्ञानका नियम पनि सान्दर्भिक हुन्छन्। अनुसन्धान गर्नेलाई गणितका नियम झल्काइदिन सक्छ। हामीले विज्ञानका कठिन शब्दहरूमा खोजिरहेको कुनै आधारभूत सत्यलाई मानव समाजले हजारौँ वर्षदेखि आफ्नो जीवनशैलीमा प्रयोग गरिरहेको थियो।
घण्टीको आवाज नै सूचना
गाईलाई बिहानै गोठबाट लगेर गौडीमा छेकेर राखिन्थ्यो। खाना खाइसकेपछि गोठालाहरू पशुहरूलाई जङ्गलतिर लैजान्थे। 'लैजान्थे' भन्नु पनि सायद ठ्याक्कै भाव नमिलेको हुन्छ होला। समय भएपछि पाउर लाउँदै बसेका पशुहरू आफैँ उठ्थे। जङ्गलतिर लाग्थे। गोठालाले लाठी लिएर लखेट्नु पर्दैनथ्यो। झुण्डको आफ्नै एउटा लय हुन्थ्यो।
गोठालाको काम पशुलाई सधैँ नियन्त्रण गर्नु मात्र थिएन। बरु झुण्डको चाल र लयलाई बुझ्नु पर्थ्यो। उसले घण्टीको आवाज सुन्थ्यो। आवाज कुन दिशाबाट आइरहेको छ, कति टाढा छ वा नजिक छ भन्ने कुराको अनुमान लगाउँथ्यो। आफ्ना पशुहरू गाउँबाट कति टाढा पुगे भन्ने हिसाब पनि उसले ध्वनिसँगै राख्थ्यो।
यो एउटा अचम्मको सञ्चार प्रणाली थियो। आज हामीलाई आफ्नो स्थान थाहा पाउन GPS चाहिन्छ। मोबाइलमा गुगल-म्याप खोल्छौ। सूचना आदानप्रदान गर्न इन्टरनेट चाहिन्छ। तर गोठालाका लागि एउटा सानो घण्टी नै स्थान, गति र समूहको अस्तित्व बुझ्ने मुख्य माध्यम थियो।
घण्टी बजिरहेको छ भने झुण्ड त्यतै चर्दै छ। आवाज टाढा जाँदै छ भने झुण्ड अगाडि बढ्दै छ। यदि अचानक घण्टीहरूको आवाज तीव्र भयो भने गडबड भएको थाहा पाउँथे। सतर्क हुन्थे। खेल्दै गरेको खेल बीचैमा छाडेर गोठलोको हुल उद्धारका लागि दौडिन्थे। ध्वनि आफैँमा सूचना संवाहक बनेर गोठालाको कानमा ठोकिन्थ्यो। पशुले घास चर्दा घाँटी हल्लन्छ। घाँटी हल्लिँदा डोरीमा झुण्डिएको घण्टीको रालोले बिट बजाउँछ र चर्को स्वर निकाल्छ।
जङ्गलका हरेक दिन एकैनासका हुँदैनथे। कहिलेकाहीँ हिंस्रक जनावरहरूको डरले पशुहरू भाग्न थाल्थे। त्यस्तो बेला घण्टीको आवाज पनि सामान्य रहँदैनथ्यो। गोठालाले सबै पशुहरूलाई एकैपटक आँखाले देख्न नसक्ला, तर घण्टीको असामान्य आवाजले उसको ध्यान तुरुन्तै तान्थ्यो।
पशुहरूको झुण्ड केवल भागेर छरपस्ट हुने असुरक्षित समूह थिएन। खतरा महसुस हुनासाथ गोठालाहरूको समूहले सामूहिक रूपमा प्रतिक्रिया दिन्थ्यो। गोठालासँग मिलेर पशुहरूले आफ्नो रक्षा गर्न संघर्ष गर्थे। आजको आधुनिक भाषामा भन्नुपर्दा, यो एउटा 'सामूहिक चेतावनी प्रणाली' थियो। एउटाले खतरा महसुस गर्नेबित्तिकै त्यसको प्रभाव पूरै समूहमा पर्थ्यो।
गोठालाहरू ध्वनिप्रति निकै संवेदनशील हुन्थे। उनीहरू घण्टी मात्र सुन्दैनथे, बरु जङ्गलका अन्य सूक्ष्म आवाजहरू पनि सुन्न सक्थे। लहना उठाउन गाउँ छिर्न लागेका महाजनको घोडा दौडिएको घण्टीको स्वर पनि छुट्याउन सक्थे। बोराभरी धान बेच्न गएका लडिया(गोरूगाडा)का गोरूका घाँटीका घुघुरूको स्वर पनि फरक हुन्छ। घर नगिच पुगेको चाल पाएर गोरूले झन् जोसिँदै तान्दा घाँटी हल्लिएर झनै घन्कने घुघुरूको स्वर पनि चिन्थे। पशुको चाल, चराहरूको चिरबिर, पात हल्लिएको आवाज वा हावाको दिशा। यी सबै उनीहरूको ज्ञानको हिस्सा हुन्थे।
उनीहरू सधैँ पशुलाई मात्र हेरेर बस्दैनथे। कोही माछा मार्ने जाल बुन्दै हुन्थे। कोही ढुङ्गामा धर्का कोरेर बाघचाल खेल्थे। कोही साथीहरूसँग गफ लडाउँथे। स्कुल छुट्टी हुँदा गोठालो गएको केटो पढेर बस्थ्यो। गोठभरि बस्तु भाउ हुनेको घरमा लोल्ने-मान्छे नहुँदा नारी पनि गोठालो जान्थे। तर, विरलै भेटिन्थे। उनीहरूको शरीर एउटा काममा व्यस्त हुन्थ्यो। अनि, कान भने अर्कोतिर सतर्क भएर सचेत अवस्थामा हुन्थ्यो। आजको आधुनिक संसारमा हामीले तापक्रम, गति र आवाज पहिचान गर्ने विभिन्न डिजिटल सेन्सरहरू बनाएका छौँ। तर गोठालाको कान पनि एक प्रकारको 'जैविक सेन्सर' नै थियो। गोठालासँग कुनै प्राविधिक मेसिन हुँदैनथ्यो। दमभर्ने चाबीवाल घडीसम्म पनि हुँदैनथ्यो। तर वर्षौँको अनुभवले उसको मस्तिष्कलाई ध्वनिको अर्थ बुझ्न तालिम दिएको थियो।
सामान्यतया पशुहरूको झुण्डले समयको सटीक पहिचान गरेको जस्तो देखिन्थ्यो। बिहान गाउँबाट निस्कन्थे। दिनभरि चरिरहन्थे। साँझको पहेंली घाम देखिनुभन्दा पहिला नै गाउँ फर्कन्थे। गोठाला र पशु दुवैलाई समयको राम्रो ज्ञान थियो। यो समयको गणना घडीको सुईबाट हुँदैनथ्यो। सूर्यको प्रकाश, भोक, थकाइ र वातावरणको परिवर्तनबाट बनेको एउटा प्राकृतिक लय थियो। कुखुरा बास्थे साथै चराको चाल र कीराको झन्कारले पनि समयको जानकारी दिन्थ्यो। जीवित प्राणीले आफ्नो जीवनशैली मिलाउन प्रयोग गर्ने प्राकृतिक लय बगिरहन्थ्यो।
उमेर छिप्पिँदै पाका भएका गोठालाहरूले आफ्ना अनुभव र सीप नयाँ पुस्तालाई सिकाउँथे। कुन घण्टीको स्वर कुन गोठको हो? कुन दिशाबाट आवाज आयो? कुन पशु छुट्टिन लागेको छ? कुन आवाज सामान्य हो र कुन डरलाग्दो? अनि कुन बाटोबाट कहिले फर्कनुपर्छ? यी सबै कुराहरू कुनै किताबमा होइन, जीवनको व्यवहारबाट सिकिन्थ्यो।
यी कुराहरू कुनै विद्यालयको किताबमा पढ्न पाइँदैन। ती नियमहरू हजारौँ वर्षको अनुभवबाट सिकिएको थियो। यो एक पुस्ताले अर्को पुस्तालाई आफ्नो व्यवहार र मौखिक ज्ञानमार्फत हस्तान्तरण गर्दै आएको सीप थियो। वास्तवमा, मानव सभ्यताको एउटा ठूलो हिस्सा नै यस्तै व्यावहारिक ज्ञानमा आधारित छ। पछि विज्ञानले यसलाई सिद्धान्तमा ढाल्दै लगेको छ। थप ज्ञान सिक्दै छौँ। अनुभव त सिद्धान्तको जन्म हुनुभन्दा धेरै पहिलेदेखि नै अस्तित्वमा छ।
त्यतिबेला घण्टीले खेतको खबर पनि दिन्थ्यो। कहिलेकाहीँ पशुहरू जङ्गलबाट खेतका फाँटतिर पस्न खोज्दा घण्टीको आवाजले त्यसको संकेत दिन्थ्यो। त्यसैबेला गोठालाको वास्तविक परीक्षा सुरु हुन्थ्यो। गोठालाहरू कहिले बाघचालजस्ता खेलमा यति मग्न हुन्थे कि उनीहरूको ध्यान एकाग्र हुन्थ्यो। गफगाफमा रमाउँदारमाउँदै पशुले मौका पाउँथे र बारीमा पसेर बाली खान्थे।
जब बाली नष्ट हुन्थ्यो, तब समस्या पनि उत्तिकै ठूलो हुन्थ्यो। कसको पशुले बाली सक्कायो भन्ने पत्ता लगाउन गाह्रो हुन्थ्यो। यसले गर्दा जग्गाधनीको रिस चुलिन्थ्यो। गोठालाको परिवारले वचन सहन पर्थ्यो। कहिलेकाहीँ त गाउँमा पञ्चायत बस्ने स्थिति सिर्जना हुन्थ्यो। अर्मल तोकिन्थ्यो। क्षतिपूर्ति र जरिवानाको बोझ पनि थपिन्थ्यो। काञ्जिहाउसमा थुनिन्थ्यो। त्यसैले, त्यो घण्टी केवल एउटा सूचना प्रविधि मात्र थिएन, त्यो त एउटा ठूलो जिम्मेवारीको बोझ पनि थियो। घण्टी बजिरहेको बेला सुन्नु गोठालाको कर्तव्य थियो, नत्र त्यसको परिणाम भोग्नुपर्थ्यो।
बिहान पशुको पछि लागेर गाउँबाहिर निस्कने गोठालाहरू साँझ पनि पशुकै पछिपछि फर्कन्थे। हातमा लौरो हुन्थ्यो। पशुहरूलाई कुट्नुभन्दा पनि तिनलाई बाटो देखाउन र नियन्त्रण गर्न लौरो प्रयोग गरिन्थ्यो।
गोठालाहरू खाली हात घर फर्कंदैनथे। कहिले थाकल, कहिले निउरो र क्याउँवाको तरकारी त कहिले खेस्की बोकेर आउँथे। बर्खाको बेला फुड्की च्याउ वा छातरी बुन्ने भरलाका पात ल्याउँथे। कसैले त दाउराको भारी नै बोकेर आउँथे। त्यो समयमा जङ्गल केवल पशु चराउने ठाउँ मात्र थिएन। जीवनको एउटा विशाल भण्डार थियो। बिहान र साँझ पशुका खुरले उडाएको धुलो, घण्टीको आवाज, लाठीको टकटक र गोठाला र किसानको हाँसो नै गाउँको दिनचर्याको अभिन्न हिस्सा थियो। त्यो जीवन सरल थियो, तर सरल हुनुको अर्थ अज्ञान हुनु कदापि थिएन। मान्छे र प्रकृतिसँगको संवाद निरन्तर चलिरहन्छ।
अब एकछिन आधुनिक भौतिकशास्त्रको 'स्ट्रिङ थ्योरी' तर्फ नजर लगाऔँ: विज्ञानले पदार्थको अन्तिम संरचना खोज्दै स्ट्रिङ थ्योरीले आधारभूत तत्वलाई बिन्दु मात्र नभई सूक्ष्म 'स्ट्रिङ'का विभिन्न कम्पनका रूपमा बुझ्ने प्रयास गर्दै छ। यो लेख कुनै वैज्ञानिक दाबी होइन, तर एउटा रोचक रूपक मात्र हो।
आवाजको तीव्रताले दूरी बताउँछ। आवाजको प्रकृतिले व्यवहारमा आएको परिवर्तनको संकेत दिन्छ। गोठालाका लागि कम्पन र सूचना एकैसाथ प्राप्त हुन्छन्। आधुनिक भौतिकशास्त्रले पनि कम्पन, ऊर्जा र कणबीचको सम्बन्ध बुझ्न खोजिरहेको छ। पुरानो घण्टी स्ट्रिङ थ्योरीको पुर्ण प्रमाण भने होइन।
वैज्ञानिकहरू ब्रह्माण्डको रहस्य बुझ्न विशाल प्रयोगशाला र जटिल गणितको सहारा लिन्छन्। गाउँको गोठालाले हजारौँ वर्षदेखि घण्टीको ध्वनि आफ्नै तरिकाले प्रयोग गरिरहेको थियो। उसको प्रयोगशाला जङ्गल थियो। सेन्सर कान थियो। कम्प्युटर मस्तिष्क थियो। डाटाबेस उसको अनुभव थियो। उसको सूचना प्रणाली घण्टी थियो। उसको कृत्रिम बुद्धिमत्ता प्रकृतिसँगको दैनिक समन्वय थियो।
प्रविधि विकासका क्रममा AI (General-AI) मानिसले गर्ने थुप्रै कामहरू सहजै गर्न सक्षम भैसकेको छ। लेख्न, चित्र बनाउन, हिसाब गर्न वा भाषा अनुवाद गर्न सक्छ। तर प्रश्न AI कति शक्तिशाली छ भन्ने मात्र होइन। AI (Super-ASI) शक्तिशाली हुँदै जाँदा मानिसले के-के गुमाउँदै छ भन्ने प्रश्न भने अहिले छलफलको विषय बनेको छ।
हामीले हजारौँ वर्षदेखि विकास गरेको 'सुन्ने-बुझ्ने कला' कहिलेकाहीँ हराउँदै पो छ कि भन्ने लाग्छ। विवेक गुमाउँदै छौँ कि! पहिले गोठालाले घण्टीको आवाजबाट परिवेश बुझ्थे। आज हामी मोबाइलको नोटिफिकेसनमा बाँधिएका छौँ। हाम्रा पुर्खाले प्रकृतिको लय सुन्थे। आज हामी साइबर प्रविधिको सूचनामा निर्भर छौँ। हाम्रा पुर्खाको सम्बन्ध गोठका बस्तुभाउ, छिमेकी, साथी र मौसमसँग थियो। उहाँहरूको दैनिकी बाँसका सारी, बेलौतीका हाँगाबाट कराउने काग र चिरबिर गर्दै गुँडमा पस्ने गौथलीको प्रहरसँगै बग्थ्यो। आज हामी स्क्रिनसँग जोडिएका छौँ तर वरिपरिको वस्तुस्थितिबाट टाढा हुँदै छौँ।
हजारौँ वर्षसम्म गोठालाहरूले प्रकृतिको लयसँग तालमेल मिलाउन सिके। उनीहरूले सबै कुरा नियन्त्रण गर्न खोजेनन्, सकेनन् र सक्दैनथे पनि। AI को भविष्यमा पनि सायद यही पाठ सान्दर्भिक हुनेछ। बुद्धिमत्ता भनेको सबै कुरा आफ्नो मुठीमा पार्नु मात्र होइन। संकेतहरू सुन्नु, सम्बन्धहरू बुझ्नु र अझै उन्नत अस्तित्वलाई स्वीकार गर्नु पनि हो। रिचर्ड डकिन्सले भनेको डबल हेलिक्स डीएनएलाई थ्रीडी संरचनामा हेर्न सक्ने गरी AI ले दिएको सुविधा स्वागत गर्न सक्नु पनि हो।
अन्तमा, मानिसले सायद एक दिन यस्तो शक्तिशाली AI बनाउनेछ जसले ब्रह्माण्डका सबै जटिल गणितीय रहस्यहरू सुल्झाउनेछ। तर त्यो दिन मानिसले एउटा सानो कुरा भने सम्झनुपर्छ। कतै आफ्नै जीवनको त्यो पूजाकोठादेखि जङ्गलसम्मको 'घण्टीको आवाज'को अर्थ बुझ्न नै छुट्ने त होइन?
