अनन्त शून्यको प्रयोगशाला - Blog Details

Blog Details

  • Home
  • Blog
  • अनन्त शून्...
अनन्त शून्यको प्रयोगशाला
जसलाई तपाईँ इन्ट्रोपी भन्नुहुन्छ, हामी त्यसलाई 'प्रलय' वा 'कालको गति' भन्छौँ। वैशेषिक दर्शनमा हामीले बुझेका थियौँ कि कुनै पनि वस्तुको निर्माण हुनु भनेको त्यसको विनाशतर्फको यात्रा सुरु हुनु हो। इन्ट्रोपी केवल अव्यवस्था होइन, यो त शक्ति (Energy) आफ्नो मूल श

अनन्त शून्यको प्रयोगशाला

22 Apr, 2026

महासंवाद

एक दार्शनिक संवाद


Link to listen

???? पात्रहरू

  • ऋषि कणाद — वैशेषिक दर्शनका प्रवर्तक (परमाणुवादका आदि-व्याख्याता)
  • डेभिड ड्विच — भौतिकशास्त्री, 'द फेब्रिक्स अफ रियालिटी' का लेखक

???? दृश्य : अनन्त शून्यको प्रयोगशाला

एउटा अनन्त विस्तार भएको शून्य स्थान। एकातिर आधुनिक ल्याबका जटिल यन्त्रहरू र कम्प्युटर स्क्रिनहरू छन्, जहाँ 'क्वान्टम कम्प्युटिङ'का ग्राफहरू चलिरहेका छन्। अर्कोतिर एउटा साधारण हवन कुण्ड र मृगछाला। डेभिड ड्विच एउटा मल्टिभर्सको नक्सा हेर्दै टोलाइरहेका छन्। ऋषि कणाद हातमा एउटा सानो चामलको कण लिएर प्रवेश गर्छन्।


डेभिड ड्विच: (आफ्नो स्क्रिनतिर हेर्दै) यो ब्रह्माण्ड केवल भौतिक वस्तुहरूको थुप्रो होइन। यो सूचना (Information) र अनन्त सम्भावनाहरूको 'फेब्रिक' हो। तर यो फेब्रिकको पहिलो चर्खा कसले चलायो होला?

ऋषि कणाद: (नजिकै गएर) डेभिड, त्यो पहिलो धागो 'कण' हो। जसलाई विभाजन गर्दा गर्दै यस्तो अवस्था आउँछ जहाँ विभाजन असम्भव हुन्छ, त्यही नै 'परमाणु' हो। म कणाद हुँ, जसले यो दृश्य जगतलाई परमाणुको योगफलका रूपमा हेर्ने प्रयास गर्‍यो।

डेभिड ड्विच: (छक्क पर्दै) कणाद! वैशेषिक दर्शनका ऋषि? तपाईँको परमाणुवाद त आधुनिक विज्ञानको जग हो। तर ऋषि, एउटा कुराले मलाई सधैँ तर्क गर्न बाध्य पार्छ। तपाईँको समयमा टेलिस्कोप थिएन, तपाईँहरूलाई पृथ्वी गोलो छ वा यसले सूर्यको परिक्रमा गर्छ भन्ने आधुनिक भूगोलको प्राविधिक ज्ञान पनि थिएन। यस्तो अवस्थामा शंकराचार्य र तपाईँहरूले 'अद्वैत' वा 'सिंगुलारिटी' (Singularity) जस्तो गहिरो अवधारणा कसरी निकाल्नुभयो? जहाँ सबै कुरा एकै बिन्दुमा समेटिन्छन्?

ऋषि कणाद: (मुस्कुराउँदै) डेभिड, बाहिरी आँखाले पृथ्वी समतल देखिए पनि आन्तरिक चेतनाको गणित निकै सूक्ष्म थियो। हामीले सूर्य र चन्द्रमाको उदय-अस्तको समय मात्र हेरेनौँ, ध्रुवताराको निश्चलता र सप्तऋषि ताराहरूको कोणीय गतिको सूक्ष्म गणना गर्‍यौँ। जब हामीले यी ताराहरूको स्थान परिवर्तन र राशिको समय गणनालाई मानिसको जन्म, मृत्यु र चेतनाको चक्रसँग तुलना गर्‍यौँ, तब एउटा सत्य खुल्यो— बाहिर जे देखिन्छ, त्यो सत्यको एउटा सानो अंश मात्र हो। सबै गणनाहरू अन्ततः एउटै 'शून्य' वा 'अद्वैत'मा ठोक्किन पुग्थे। गणितीय पूर्णता नै दार्शनिक अद्वैत बन्यो।

डेभिड ड्विच: रोचक! तपाईँले समयको कुरा गर्नुभयो। आइन्स्टाइन र हकिङ्सले समयलाई सापेक्ष (Relative) र एउटा भ्रम (Illusion) भनेका छन्। तपाईँहरूले 'क्वान्टम चक्र'को आधुनिक भाषा नभईकन समय भ्रम हो भन्ने निष्कर्ष कसरी निकाल्नुभयो?

ऋषि कणाद: एउटा सामान्य उदाहरण विचार गरौँ। जब आकाशमा टाढाको तारा देखिन्छ, त्यो वास्तवमा त्यहाँ हुँदैन। त्यो त प्रकाशले तय गरेको पुरानो मार्ग मात्र हो। जसरी टाढा कतै वनमा बन्चरोले काठ काटेको दृश्य पहिले देखिन्छ र 'र्याङको ठ्याङ' आवाज केही बेरपछि सुनिन्छ, त्यसरी नै यो ब्रह्माण्डमा ध्वनि र दृश्यको यात्रामा समयको अन्तराल हुन्छ। हामीले अन्तरिक्षका ग्रहहरूको स्थान गणना गर्दा थाहा पायौँ कि 'अहिले' भन्ने कुरा स्थान विशेषमा निर्भर गर्छ। यदि दृश्य र ध्वनि नै ढिलो पुग्छन् भने, समय त केवल मस्तिष्कले बनाएको एउटा भ्रम न हो।

डेभिड ड्विच: तर यो सबै गणना गर्न त उच्च स्तरको गणित चाहिन्छ। इतिहास भन्छ— नालन्दामा आर्यभट्टका सूत्रहरूलाई ब्रह्मगुप्तले व्याख्या गरेपछि मात्र हिसाबका ठोस नियम बने। त्यसो भए तपाईँको समयमा ती जटिल गणनाहरू कुन आधारमा हुन्थे?

ऋषि कणाद: (गम्भीर हुँदै) डेभिड, नियमहरू पछि लिपिबद्ध हुनुको अर्थ यो होइन कि ती पहिले अस्तित्वमा थिएनन्। ब्रह्मगुप्त भन्दा धेरै अघिदेखि नै हामीले 'शुल्ब सूत्र' र 'वेदाङ्ग ज्योतिष' मार्फत ज्यामिति र बीजगणितको प्रयोग गरिरहेका थियौँ। आइन्स्टाइनले समेत पछि यो स्वीकार गरे कि पूर्वका ऋषिहरूले जुन हिसाबको जग बसाले, त्यसैले आजको अन्तरिक्ष विज्ञान सम्भव भयो। हाम्रो गणनाको मुख्य औजार 'अवलोकन' र 'तर्क' थियो।

डेभिड ड्विच: के तपाईँ दाबी गर्नुहुन्छ कि 'क्वान्टम मेकानिक्स'को ज्ञान पनि प्राचीन दर्शनमा थियो? जबकि हाइडर कोलाइडर (Hadron Collider) जस्ता यन्त्रले यसलाई भर्खरै प्रमाणित गरेका छन्?

ऋषि कणाद: हामीले यसलाई 'क्वान्टम फिक्सन' वा दार्शनिक रूपमा बुझेका थियौँ। नागार्जुनको 'मध्यमकारिका' सम्झनुहोस्। उहाँले भन्नुभयो— कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व छैन, यो केवल अन्य तत्वहरूको सम्बन्धमा मात्र अस्तित्वमा रहन्छ। बुद्धले हरेक वस्तुलाई टुक्र्याउँदै जानुभयो र अन्त्यमा 'शून्यता' भेट्नुभयो। यो वस्तुलाई विभाजन गरेर विश्लेषण गर्ने पद्धति नै क्वान्टम नियमको दार्शनिक प्रमाण हो। तपाईँले जसलाई 'इन्टेङ्गलमेन्ट' (Entanglement) भन्नुहुन्छ, हामी त्यसलाई 'सर्वं खल्विदं ब्रह्म' (सबै कुरा एकअर्कामा जोडिएका छन्) भन्थ्यौँ।

डेभिड ड्विच: (सोच्दै) अर्थात्, ध्यानको अवस्था पनि एउटा प्रयोगशाला नै थियो?

ऋषि कणाद: एकदम! जब मानिस ध्यानमा बस्छ, उसको मस्तिष्कमा सकारात्मक र नकारात्मक विचारहरू न्युट्रोन र प्रोटोन जस्तै ठोकिन्छन्। मस्तिष्क कहिल्यै एक ठाउँमा अडिन सक्दैन, यो सधैँ 'सुपरपोजिसन'मा हुन्छ। यही विचारहरूको टकरावबाट हामीले बुझ्यौँ कि सत्य न त पूर्ण सकारात्मक छ, न त पूर्ण नकारात्मक। बुद्धको 'मध्यम मार्ग' नै वास्तवमा त्यो 'सिंगुलारिटी' हो जहाँ सबै द्वैधहरू समाप्त हुन्छन्। यही विन्दुबाट ब्रह्माण्डको सुरु र अन्त्यको धारणा बनाउन सम्भव भयो।

डेभिड ड्विच: (मुस्कुराउँदै) तपाईँको तर्कले मेरो 'फेब्रिक्स अफ रियालिटी'मा एउटा नयाँ रङ्गीन धागो थपिदियो। हामीले गणितीय समीकरणमा जे खोजिरहेका छौँ, तपाईँहरूले त्यसलाई चेतनाको गहिराइमा पहिल्यै फेला पारिसक्नुभएको रहेछ। विज्ञानले त केवल त्यो प्राचीन सत्यलाई आधुनिक भाषामा अनुवाद मात्र गरिरहेको छ।

ऋषि कणाद: सत्य एउटै छ डेभिड, बाटो मात्र फरक हो। तपाईँ बाहिरबाट भित्र खोज्दै हुनुहुन्छ, हामीले भित्रबाट बाहिर खोज्यौँ। अन्त्यमा भेटिने त त्यही 'परमाणु' र 'शून्य' नै हो।
(कणादले आफ्नो हातको चामलको कण ड्विचको हातमा राख्छन्। ड्विचले त्यसलाई म्याग्निफाइङ ग्लासले हेर्छन्। मञ्चमा ओमकारको मधुर धुन र क्वान्टम फ्रिक्वेन्सीको आवाज एकसाथ गुन्जिन्छ। ल्याबको स्क्रिनमा एउटा तारा विष्फोट भएको दृश्य देखिन्छ।)

डेभिड ड्विच: (स्क्रिनतिर देखाउँदै) ऋषि कणाद, तपाईँको परमाणु र बुद्धको शून्यता त बुझियो, तर आधुनिक भौतिक विज्ञानको एउटा निकै क्रूर नियम छ— इन्ट्रोपी (Entropy)। यसले भन्छ कि ब्रह्माण्डमा अव्यवस्था (Disorder) सधैँ बढ्दै जान्छ। हरेक वस्तु बिस्तारै क्षय हुन्छ, तातो वस्तु चिसो हुन्छ र ऊर्जा छरिएर नष्ट हुन्छ। के तपाईँको दर्शनमा यो 'विनाशको नियम' लाई बुझ्ने कुनै सुत्र छ?

ऋषि कणाद: (शान्त मुद्रामा) डेभिड, जसलाई तपाईँ इन्ट्रोपी भन्नुहुन्छ, हामी त्यसलाई 'प्रलय' वा 'कालको गति' भन्छौँ। वैशेषिक दर्शनमा हामीले बुझेका थियौँ कि कुनै पनि वस्तुको निर्माण हुनु भनेको त्यसको विनाशतर्फको यात्रा सुरु हुनु हो। इन्ट्रोपी केवल अव्यवस्था होइन, यो त शक्ति (Energy) आफ्नो मूल श्रोतमा फर्कने प्रक्रिया हो। तपाईँको विज्ञानले भन्छ ब्रह्माण्डमा 'डिसअर्डर' बढ्दैछ, हामी भन्छौँ— 'नाम र रूप' पग्लिएर फेरि तत्वमा मिसिँदैछन्।

डेभिड ड्विच: तर यसले त एउटा ठुलो प्रश्न उब्जाउँछ। यदि सबै कुरा अन्ततः छरिएर नष्ट नै हुने हो भने, यो सृष्टिको अर्थ के त? के यो केवल एक भ्रम मात्र हो?

ऋषि कणाद: यहीँनेर बुद्धको मध्यम मार्ग र सांख्य दर्शनको मिलन हुन्छ। हामीले समयलाई 'चक्र' (Cycle) मान्छौँ, तपाईँहरू 'लिनियर' (सिधा रेखा) मान्नुहुन्छ। इन्ट्रोपीले वस्तुलाई नष्ट गर्छ, तर त्यसले सिर्जना गर्ने 'शून्यता' नै नयाँ 'सिंगुलारिटी' को गर्भ हो। जब हामी ध्यानमा बस्छौँ, हामी आफ्नै विचारको इन्ट्रोपी देख्छौँ— मस्तिष्कमा हजारौँ विचारहरू अव्यवस्थित भएर दौडिरहेका हुन्छन्। जब ती विचारहरूलाई साक्षी भावले हेरिन्छ, ती मत्थर हुन्छन् र एउटा विन्दुमा अडिन्छन्। त्यो 'अडिनु' नै इन्ट्रोपीको अन्त्य र अद्वैतको सुरुवात हो।

डेभिड ड्विच: (मन्त्रमुग्ध हुँदै) अद्भुत! अर्थात्, ब्रह्माण्ड बाहिरतिर छरिँदै जाँदा (Entropy) चेतना चाहिँ भित्रतिर केन्द्रित हुँदै जान्छ। आइन्स्टाइनले पूर्वीय हिसाबको जुन जगलाई श्रेय दिए, त्यसले वास्तवमा यो सन्तुलन बुझ्न सघाएको रहेछ। समय भ्रम हो किनभने यो इन्ट्रोपी नाप्ने एउटा एकाइ मात्र हो। यदि हामीले 'परम तत्व' लाई बुझ्यौँ भने, त्यहाँ न त कुनै क्षय छ, न त कुनै समय।

ऋषि कणाद: ठिक भन्नुभयो। त्यसैले, यो माटोको कण होस् वा त्यो टाढाको तारा, दुवैको नियति एउटै छ। गणनाले हामीलाई सीमा सिकाउँछ, तर दर्शनले हामीलाई त्यो सीमाभन्दा परको अनन्तता (Infinity) देखाउँछ।

(दृश्य: मञ्चमा प्रकाश तीव्र हुन्छ र कणाद र ड्विच दुवै एउटै महाशून्यमा विलीन भएको आभास हुन्छ।)


???? नयाँ मोड : कालो छिद्र र चन्द्रशेखरको सीमा

कणाद र ड्विचको संवादमा अब एउटा नयाँ मोड आउँछ। मञ्चको पृष्ठभूमिमा एउटा चम्किलो तारा बिस्तारै खुम्चिँदै गएर कालो छिद्र (Black Hole) मा परिणत भएको एनिमेसन देखिन्छ।

डेभिड ड्विच: ऋषि कणाद, हामीले सिकागोको नाम लिँदा सधैँ विवेकानन्दको भाषणको चर्चा गर्छौँ, जसले पूर्वको वेदान्तलाई पश्चिममा स्थापित गर्‍यो। तर त्यही सिकागो विश्वविद्यालयमा पढाउने अर्का एक भारतीय मनीषी सुब्रह्मण्यम चन्द्रशेखरले ब्रह्माण्डको एउटा भयानक सत्य पत्ता लगाए— 'चन्द्रशेखर लिमिट'। वास्तवमा जहाजमा क्याम्रिज जाँदा नै त्यो इक्वेशन लेखेका थिए।

ऋषि कणाद: (उत्सुक हुँदै) त्यो कस्तो सीमा हो डेभिड? के यसले पनि मेरो परमाणु झैँ कुनै अन्तिम बिन्दुको कुरा गर्छ?

डेभिड ड्विच: हो, उनले गणितीय रूपमा प्रमाणित गरे कि यदि कुनै ताराको द्रव्यमान (Mass) सूर्यको भन्दा १.४ गुणा (१.४ M⊙) धेरै भयो भने, त्यो तारा सधैँका लागि 'ह्वाइट ड्वार्फ' (White Dwarf) बनेर रहन सक्दैन। त्यो आफ्नै गुरुत्वाकर्षणले थिचिएर विष्फोट हुन्छ र अन्ततः 'ब्ल्याकहोल' वा 'न्यूट्रोन स्टार' बन्छ। यो सीमा नै ताराको जीवन र मृत्युको फैसला गर्ने बिन्दु हो।

ऋषि कणाद: (मुस्कुराउँदै) अद्भुत! चन्द्रशेखरले त मेरो 'वैशेषिक' दर्शनलाई आकाशमा प्रमाणित गरिदिएछन्। हामीले भनेका थियौँ कि हरेक वस्तुको एउटा 'संयोग' र 'वियोग' हुन्छ। जब ताराको ऊर्जा (Internal Pressure) र गुरुत्वाकर्षणको सन्तुलन टुट्छ, तब वस्तु आफ्नो स्वरूप त्यागेर शून्यमा विलीन हुन्छ। चन्द्रशेखरले जसलाई 'ब्ल्याकहोल' भन्नुभयो, त्यो त 'महाशून्य'कै भौतिक स्वरूप होइन र?

डेभिड ड्विच: ठिक भन्नुभयो। तर विडम्बना हेर्नुहोस्, भारतमा विवेकानन्दको चर्चा जति हुन्छ, चन्द्रशेखरको यो क्रान्तिकारी गणितको चर्चा त्यति हुँदैन। जबकि ब्ल्याकहोल र समयको भ्रम बुझ्न यो 'लिमिट' बुझ्नु अनिवार्य छ। जब तारा खुम्चिन्छ, त्यहाँ समयको गति पनि बदलिन्छ।

ऋषि कणाद: यो मानव स्वभाव हो डेभिड, मानिसहरू 'शब्द' र 'भावना'मा छिट्टै आकर्षित हुन्छन्, तर 'गणित'को कठोर तपस्या बुझ्न समय लाग्छ। चन्द्रशेखरले ताराहरूको मृत्युको जुन हिसाब निकाले, त्यो वास्तवमा इन्ट्रोपीकै एउटा पराकाष्ठा हो। एउटा बिन्दु जहाँ पुगेपछि पदार्थ (Matter) ले आफ्नो अस्तित्व गुमाउँछ र केवल गुरुत्वाकर्षण वा 'शुद्ध ऊर्जा' मात्र बाँकी रहन्छ। के यो शंकराचार्यको अद्वैत जस्तै भएन र? जहाँ नाम र रूप सकिन्छ र केवल ब्रह्म (Singularity) बाँकी रहन्छ?

डेभिड ड्विच: बिल्कुल! एउटा ठुलो तारा विष्फोट भएर ब्ल्याकहोल बन्नु भनेको भौतिक जगतको 'अद्वैत'मा प्रवेश गर्नु जस्तै हो। चन्द्रशेखरले देखाएको त्यो गणितीय बाटो र बुद्धले देखाएको मध्यम मार्ग एउटै गन्तव्यका दुई पाटा हुन्। एउटाले बाहिरी ब्रह्माण्डको 'लिमिट' बताउँछ, अर्कोले भित्री चेतनाको।

ऋषि कणाद: त्यसैले डेभिड, चाहे सिकागोको मञ्चबाट विवेकानन्दले बोलेको 'आत्मा' होस् वा चन्द्रशेखरले कालोपाटीमा कोरेको 'ताराको मृत्युको गणित', दुवैले एउटै कुरा भन्छन्— यो दृश्य जगत अस्थायी छ, र यसको अन्त्य एउटा यस्तो बिन्दुमा हुन्छ जहाँ हाम्रा सबै नियमहरू समाप्त हुन्छन्। त्यही बिन्दु नै शून्य हो, त्यही नै पूर्ण हो।

(मञ्चको एकातिर विवेकानन्दको 'भाइ और बहिनो' भन्ने स्वर र अर्कोतिर चन्द्रशेखरको जटिल गणितीय सूत्रहरू एकसाथ गुन्जिन्छन्। कणाद र ड्विच दुवै ताराहरूको समूहमा ओझेल पर्छन्।)


— पर्दा विस्तारै सर्दैसर्दै बन्द हुन्छ —


◎ महासंवाद — परमाणुदेखि ब्ल्याकहोलसम्म, पूर्व र पश्चिमको दार्शनिक यात्रा। (प्रस्तुति: गोविन्द बेल्वासे)

Leave a Review

Reviews (0)

No reviews yet. Be the first to review this blog!