मेरो भोगाइः भोट हाल्ने दवाव र विचारको स्वतन्त्रता
नयाँ पुस्ताले आफूलाई साइबर युगको सन्तान ठान्छ। उनीहरू सूचना–प्रविधिमा दख्खल राख्छन्, विश्वराजनीति बुझ्छन्। उनीहरूले अमुक दललाई अपरिहार्य ठान्नु उनीहरूको अधिकार हो। तर त्यसका लागि अग्रजको विवेकमा हस्तक्षेप गर्न मिल्दैन। चर्चित चिन्तक Yuval Noah Harari ले विचार स्वतन्त्रता र मानवीय स्वायत्तताबारे गरेका तर्कहरू यहाँ सान्दर्भिक देखिन्छन्—सूचना युगमा सबैभन्दा ठूलो चुनौती मानिसको स्वतन्त्र निर्णयक्षमता जोगाउनु हो।
विदेशमा रहेका सन्ततीले नेपालको निर्वाचनमा कति प्रभाव पार्नु उचित हुन्छ? अझ गम्भीर प्रश्न पनि छः उनीहरूले आफ्ना मतदाता अभिभावकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब दिनु कति उचित हुन्छ?
पछिल्ला केही दिनमा मैले आफ्नै वरिपरि बारम्बार सुनेको वाक्यांश यहाँ उदृत गर्छु।
“बुढेसकालमा हामीले हेरविचार गर्नुपर्छ भन्ने लाग्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्नु।”यो कुनै एक घरको घटना मात्र होइन भन्नेमा म ढुक्क छु; म प्रतिनिधि स्वरूपको साक्षी मात्र हुँ। अधिकांश नेपालका घरमा यस्ता वाक्यांशहरू दोहोरिइरहेका छन्।
यो प्रसङ्ग कुनै दल विशेषको समर्थन वा विरोधसँग सम्बन्धित होइन। मलाई कसलाई भोट दिने भन्ने कुरामा सरोकार छैन। मेरो चिन्ता अभिभावकको विचार स्वतन्त्रताको विषय हो। अभिभावकले स्वतन्त्र रूपमा आफ्नो राजनीतिक धारणा निर्माण गरेर मतदान गर्न पाउने कि सन्ततीको आग्रह तथा दबाबमा निर्णय लिनुपर्ने? लोकतन्त्रको सार त स्वतन्त्र विवेक हो, न कि भावनात्मक सम्झौता।
म दोस्रो पुस्ता विदेशमा रहेका सन्ततीहरूको अभिभावक हुँ। मेरो परिवेश फरक छ। एक चौथाइ सताब्दी विदेशमा बस्दा त्यहाँको अनुशासन, समय–व्यवस्थापन र कानुनी संरचनासँग बानी परिसकेको छ। अझ भनु भने बाटोमा आफ्नो कुकुरले हग्यो भने उठाए लैजाने र बाटो सफा राख्ने समाजमा बानी परेको छ। नेपालका गल्लीहरूमा कुकुरको फोहोर जताततै देख्दा असहज हुन थालेको छ।
बिदेशका सन्ततीलाई वर्षमा चार हप्ताको मात्र छुट्टी मिल्छ। उनीहरू मोर्गेज, कर, किस्ता, रोजगारी र कागजी प्रक्रियाको चक्रमा बाँधिएका हुन्छन्। चार हप्ताभन्दा बढी नेपाल बस्न उनीहरूलाई सम्भव हुँदैन। अझ् उनीहरूका सन्तती—तेस्रो पुस्ता—नेपालको धुलो, धुवाँ र भौतिक असुविधासँग सहज हुन सक्दैनन्। यस्तो अवस्थामा यदि अग्रज बिरामी परे भने, चार हप्ताभन्दा बढी सेवा गर्न सकिने अवस्था हुँदैन। यही अन्तर्विरोध अहिले नेपालका मध्यमवर्गीय परिवारहरूको मुख्य सामाजिक समस्या बनेको छ।
मलार्इ बिदेशमै बस्न सहज पनि छ। आफूले हेरविचार र ममता उनीहरूबाट पाउन उनीहरूको दैनिकी सहज बनाउनु पर्छ भन्ने लाग्छ। तर, विदेश बस्ने बानी नपरेका अभिभावकको परिवेश फरक हुन्छ।
अर्कोतिर, मेरी बृद्ध आमा नेपालमै बस्नुहुन्छ। उहाँको संसार टोल–छिमेकी, इष्टमित्र, भजन कृतन, प्रबचन, जग्गे र पुराना सम्झनाहरू रमाइला छन्। उहाँको सामाजिकता, भावनात्मक सन्तुलन र जीवनदर्शन नेपालकै परिवेशमा हुर्किएको छ। दार्शनिक David Hume ले भनेझैँ, मानिस आफ्नो बानी र अनुभूतिकै आधारमा विचार बनाउँछ। त्यसैले उहाँका लागि नेपालको परिवेश मात्र सहज होइन, रमणीय पनि छ। म विदेशमा बसेर नेपालको राजनीतिक विकल्पहरूलाई विश्लेषण गर्न सक्छु, तर उहाँले राणा शासनदेखि पञ्चायत, अनि बहुदलीय प्रणालीसम्मको अनुभव बटुल्नुभएको छ।
उहाँको अनुभवको वजन मेरो सैद्धान्तिक उत्साहभन्दा कम कसरी हुन सक्छ?
यही सन्दर्भमा मैले नेपाली चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’ सम्झिएँ। अग्रजको दुःख–संघर्षले हुर्केको सन्तती विदेशमा बानी परेको छ। त्यो दूरी केवल भौगोलिक मात्र होइन, भावनात्मक र दार्शनिक पनि हो। पुस्ताबीचको अन्तर स्वाभाविक छ। हिन्दी चलचित्र ‘Baghban’ मा देखाइएको जस्तै, बृद्ध अवस्थामा सन्ततीबाट हुने भावनात्मक उपेक्षा केवल आर्थिक प्रश्न होइन; त्यो मूल्य र अपेक्षाको द्वन्द्व हो।
तर राजनीतिक मत भने फरक कुरा हो। यदि सन्ततीले अभिभावकलाई “बुढेसकालमा स्याहार चाहिन्छ भने अमुक दललाई भोट हाल” भनी सर्त राख्छ भने त्यो भावनात्मक ब्ल्याकमेल हो। सेवा र स्नेह त निसर्त हुनुपर्छ। यदि अभिभावकको मत सन्तानको अपेक्षा विपरीत भयो भने हेरचाहमा कमी आउने संकेत दिनु नैतिक रूपमा अस्वीकार्य छ। लोकतन्त्र परिवारभित्रै सुरु हुन्छ। घरभित्रै विचार स्वतन्त्रता सुरक्षित भएन भने बाहिरको लोकतन्त्र खोक्रो बन्छ।
मेरा लागि विदेशको बसाइ सहज लागे पनि, आमालाई नेपालको बसाइ रमाइलो लाग्छ। उहाँलाई साथ दिँदा उहाँको मन फुरुङ्ग हुन्छ। त्यसैले उहाँको मतदान अधिकारमा म हस्तक्षेप गर्न सक्दिनँ। उहाँले जुनसुकै दल रोज्नुभए पनि त्यो उहाँको अनुभव, आशा र मूल्यको परिणाम हो। म असहमत हुन सक्छु, तर असहमत हुनु र दबाब दिनु दुई फरक कुरा हुन्।
अन्ततः प्रश्न एउटै हो—के हामी लोकतन्त्रलाई केवल राजनीतिक प्रणाली ठान्छौं, कि पारिवारिक संस्कार पनि? यदि हामीले आफ्नै अभिभावकलाई स्वतन्त्र विचार बनाउन दिएनौँ भने समाजको अग्रगमन कसरी सम्भव हुन्छ? नयाँ पुस्ताको उत्साह आवश्यक छ, तर त्यो उत्साहले अग्रजको विवेकलाई छायामा पार्नु हुँदैन। विचारमा मतभेद हुन सक्छ, तर सम्मानमा कमी हुनुहुँदैन। लोकतन्त्रको सबैभन्दा सानो इकाइ परिवार हो, र त्यहीँबाट स्वतन्त्रताको अभ्यास सुरु हुन्छ।
