आमाको चलाखी: & मेरो दृष्टिकोण: - Blog Details

Blog Details

  • Home
  • Blog
  • आमाको चलाख...
आमाको चलाखी: & मेरो दृष्टिकोण:
म आधुनिक तर्क र विज्ञानमा विश्वास राख्ने मान्छे, आमा परम्परागत आस्था र संस्कारकी प्रतिमूर्ति। उहाँको मनमा एउटा डर सधैं डेरा जमाएर बसेको छ— धार्मिक संस्कार र पूजापाठको अभावमा कतै छोराको अनिष्ट त हुने होइन?

आमाको चलाखी: & मेरो दृष्टिकोण:

24 Feb, 2026 | 5 (2 reviews)

आमाको चलाखी: & मेरो दृष्टिकोण:

महाशिवरात्रिको अघिल्लो दिन। म सधैझैँ बिहानी पदयात्रा (Morning Walk) मा निस्कनै लागेको थिएँ। आमाले एउटा झोला हातमा थमाइदिनुभयो र भन्नुभयो, "बाटोमा कतै राम्रो बेलपत्र देख्यौ भने टिपेर ल्याउनू है।"

आमाको यो आग्रह सामान्य देखिए पनि यसभित्र एउटा गहिरो 'आध्यात्मिक चलाखी' लुकेको थियो। म आधुनिक तर्क र विज्ञानमा विश्वास राख्ने मान्छे, आमा परम्परागत आस्था र संस्कारकी प्रतिमूर्ति। उहाँको मनमा एउटा डर सधैं डेरा जमाएर बसेको छ— धार्मिक संस्कार र पूजापाठको अभावमा कतै छोराको अनिष्ट त हुने होइन?

तर आमालाई यो पनि थाहा छ कि मलाई धार्मिक भावनाको फेरो समात्न लगाएर कर गर्न सकिँदैन। मेरो बुझाइ र उहाँको चेतको भिन्नतालाई उहाँले राम्रोसँग मनन गर्नुभएको छ। त्यसैले, सिधै "पूजा गर" भन्नुको साटो उहाँले मलाई बेलपत्र टिप्ने काम सुम्पिनुभयो। उहाँको भाव स्पष्ट छ: "नजानेरै भए पनि बेलपत्र टिपेर ल्यायो भने यसको भलो हुन्छ।"


अन्जानको भक्ति र पौराणिक सन्दर्भ

आमाको यो विश्वास र 'चलाखी' शिव पुराण (विशेषगरी कोटिरुद्र संहिता) र स्कन्द पुराणमा उल्लेख गरिएको महाशिवरात्रिको एउटा प्रसिद्ध कथासँग मेल खान्छ।

त्यो कथा एउटा सिकारीको हो, जो जङ्गलमा सिकार खेल्न जाँदा दिनभरि रित्तो हात हुन्छ। साँझ परेपछि हिंस्रक जनावरबाट बच्न उनी एउटा बेलको रूखमा चढ्छन्। संयोगवश, त्यस रूखको फेदमा एउटा शिवलिङ्ग झारपातले पुरिएको अवस्थामा हुन्छ, जुन सिकारीले देख्दैनन्।

रातभरि जागा बस्ने क्रममा उनले अन्जानमै बेलका पातहरू टिप्दै तल फाल्छन्, जुन सिधै शिवलिङ्गमा अर्पण हुन पुग्छ। भोक र प्यासका कारण उनी निराहार हुन्छन् (जुन अन्जानमै व्रत बन्न पुग्छ)। उनको पानीको भाँडोबाट केही थोपा तल खस्छ, जसले अभिषेकको काम गर्छ।

परिणाम र फल:

  • उनको मनसाय हिंसा (सिकार) भए तापनि, महाशिवरात्रिको पुण्य तिथिमा अन्जानमै 'बेलपत्र अर्पण', 'अभिषेक', 'जागरण' र 'उपवास' पुरा हुन्छ।
  • मृत्युपश्चात यमदूतहरू उनलाई लिन आउँदा शिवगणहरूले उनलाई बचाउँछन्।
  • अन्जानमै गरिएको कर्मले पनि उनका पाप नष्ट हुन्छन् र उनले मोक्ष प्राप्त गर्छन्।

आमा सायद यही सोच्नुहुन्छ— छोराले तर्क जेसुकै गरोस्, यो पवित्र दिनमा उसको हातबाट बेलपत्र मात्र टिपियो भने पनि उसको कल्याण निश्चित छ।


मेरो दृष्टिकोण:

आमाले पौराणिक कथाबाट प्रेरणा लिइरहँदा, म भने शिवरात्रीलाई अलि फरक र आधुनिक सन्दर्भबाट हेर्ने गर्छु। मेरो लागि शिवरात्री 'अन्धविश्वास' बाट 'विवेक' तर्फको यात्रा हो।

यसको सबैभन्दा ठूलो उदाहरण महर्षि दयानन्द सरस्वती हुन्। शिवरात्रिकै रात शिवलिङ्गमा चढाइएको नैवेद्य मुसाले खाइरहेको देखेपछि बालक मूलशङ्कर (दयानन्द) को मनमा जिज्ञासा जाग्यो— "जसले आफ्नो रक्षा गर्न सक्दैन, उसले संसारको रक्षा कसरी गर्छ?" यही जिज्ञासाले उनलाई मूर्तिपूजाबाट हटाएर वेदको वास्तविक अर्थ बुझ्ने प्रेरणा दियो।

"अन्धकारबाट प्रकाशतर्फको यात्रा नै वास्तविक शिवरात्री हो।"

दयानन्दले विराजानन्द दण्डीगुरूलाई भेटे, जसले उनको जिज्ञासा मेटाए। गुरुदक्षिणा स्वरूप उनले समाजलाई 'सत्यार्थ प्रकाश' जस्तो महान् ग्रन्थ र सर्वसाधारणका लागि वेदको हिन्दी अनुवाद दिए।


निष्कर्ष

आमाको 'चलाखी' मा ममता र छोराको भलो चिताउने निश्चल भक्ति छ। पौराणिक कथाले अन्जानमै गरिने सत्कर्मको फल देखाउँछ भने, दयानन्द सरस्वतीको प्रसङ्गले सत्यको खोजी र विवेकको जागरण सिकाउँछ।

प्रसङ्ग र बुझाइ फरक होलान्, तर उद्देश्य एउटै हो— कल्याण। चाहे त्यो बेलपत्र टिपेर ल्याउने आमाको आग्रहमा होस्, वा मुसाको गतिविधिबाट सत्य खोज्ने दयानन्दको क्रान्तिमा।

Leave a Review

Reviews (2)

Raju
31 Dec, 1969

Nice one! ????

Raju
31 Dec, 1969

Nice one! ????