Blog Details

Govind Belbase: Please open in a few minutes later due to a technical error
थारू समुदायमा नीलगाईलाई गाईकै रूप मानिन्थ्यो । यसलाई खानु पाप ठानिन्थ्यो। हाकिमहरूले नीलगाई खाएको देखेर गाउँलेहरू छक्क परे । उनीहरूले सिकारको भाग लिन समेत अस्वीकार गरे। शासकहरूको 'आधुनिकता' र गाउँलेहरूको 'धार्मिक निष्ठा' बीच कति ठूलो खाडल ! यहि हो वर्ग वि

मेरो ओरिजिनल गाउँ

03 Jan, 2026

मेरो ओरिजिनल गाउँ

-Govind Belbase

आज भन्दा आधा शताब्दि अघिको कुरा हो । आजको डिजिटल युगमा हामी 'टेराबाइट' र 'गिगाबाइट' का कुरा गर्छौँ। उतिबेला हाम्रो 'डाटा' भनेको अन्न थियो। ‘राम हे राम’, ‘दुर्इय है दुर्इय’, ‘तीन है तीन’ ... भन्दै तराजुमा जोखिन्थ्यो ।

त्यो जमानाको नुन राख्ने माटाको भाँडोलार्इ “डोकवा” भनिन्छ । लेसिलो माटो र दार्इ लगाउँदाको महिन भएको पराल मुछेर बनाइन्थ्यो । त्यो बनाउने नारीको कलाकारिता गजबको थियो । सिपालुले नयाँ पुस्तालार्इ सिकाउँथे । हातले आकार मिलाएर थोरै जोड्थे । केहि दिन घाममा सुकाउँथे । अर्को दिन थोरै भाग थप्थे र सुकाउँथे । घाँटी साघुरो पारेर घैटाको माथिको जस्तै छत्तर निकाल्थे । सुकेपछि भाँडो तयार हुन्थ्यो । भान्सामा गएर चुलो नजिक पेटमा नुन बोकेर बस्थ्यो ।

डेहरी र कुठूली पनि त्यसैगरी बनाइन्थ्यो । आकार र क्षमता मात्र फरक । डेहरी बनाउँदा भने छुट्टा छुट्टै तयार भएका भाग घरभित्र छिराएर जोडिन्थ्यो ।

काठ्को नुन बेसार राख्ने भाडोको नाम डकनी ।

हजारौ वर्षदेखि प्रचलनमा रहेको प्रविधि जिवित थियो । तर, विगतका ५० वर्षमा ती साधनहरू बदलिएका छन् । मैले बचपनमा देखेभोगेको सामाजिक प्रचलन ‘एका देशको कथा’ भैसक्यो ।

दीयालोको उज्यालो, सबेरै ढिंकीका कक्कल ढ्याक, झाँतोको घ्यारघ्यार, ताउलामा उम्लने कुँडो, कट्कुराका दाउरा, घोडाका तबेला अहिले हुर्कँदै गरेका केटाकेटीले चिन्दैनन् ।

कटुवालले सामाजिक कामका लागि भेला पार्न हाँक हाल्थे । तराइमा चौकिदार । हाकलार्इ अहिलेको मिटङ डाक्ने इमेल सर्कुलेशन भन्नु पर्ला ?

तराइमा गाउँबाट लस्करै गाइका बगाल गौडीमा जम्मा हुन्थे । दिउसो जङ्गलमा चर्न जान्थे । सुँगुरका हुलले बाटो सफा पार्थे । पहाडमा हुर्केकाहरूले डेहरी र कुठुली शब्द त नसुनेका पनि हुन सक्छन् ।

डेहेरी र कुठूली: त्यो युगको 'हार्ड डिस्क' र 'ऱ्याम'

डेहेरीको तुलनामा कुठूली सानो हुन्छ। यसमा थोरै परिमाणमा चाहिने सामान, जस्तै मास, मुसुरोको दाल वा बीउबिजन राखिन्छ। यसलाई हामी कम्प्युटरको ऱ्याम (RAM) वा सानो फ्ल्यास ड्राइभसँग तुलना गर्न सक्छौँ। थोरै मात्राको 'खाद्यान्न' राखिन्छ।

बड्का शीर(जिमिदार)का अघरिया (मुख्य कामदार) चीते थारू थिए । उनका छोराले कुन देहेरीमा कति मन धान छ र कुन कुठूलीमा कति शेर दाल छ भन्ने सबै हिसाब राख्थे। रोचक कुरा त के छ भने, यो सबै भौतिक 'डाटा'को रेकर्ड पहाडमा बस्ने बड्का मालिकको 'बहीखाता' अर्थात् 'क्लाउड सर्भर'मा लेखिएको हुन्थ्यो। मालिकले चिठ्ठीमा पठाएको आदेश नै 'कमान्ड' हुन्थ्यो। चिठ्ठी अनुसार नै अघरियाले अन्न वितरण गर्थे।

घरहरू खरको छानो र काठका खम्बाले बनेका हुन्थे। माटोले लिपिएका भित्तामा उज्यालो छिर्ने साना प्वाल हुन्थे । ती घर भित्र डेहेरी हुन्थे । ती केवल अन्न राख्ने भकारी मात्र थिएनन् । घरको आन्तरिक संरचना विभाजन गर्ने एउटा मुख्य 'पार्टिसन' पनि थियो। ठूला-ठूला डेहेरीहरूलाई लाइनबद्ध रूपमा राखेर घरभित्र कोठाहरू अर्थात् 'कोन्टी' छुट्याइन्थ्यो।

यसलाई कम्प्युटरको भाषामा तुलना गर्न सकिन्छ । डेहेरी एउटा ठूलो क्षमताको हार्ड डिस्क (HDD) जस्तै थियो। हार्ड डिस्कमा महत्त्वपूर्ण डाटालाई वर्षौँसम्म सुरक्षित राखिन्छ । त्यसैगरी देहेरीमा धान, गहुँ र मकैलाई सुरक्षित राखिन्थ्यो। कुन डेहेरीमा कति मन अन्न छ भन्ने कुरा नै त्यस घरको 'स्टोरेज क्यापासिटी' र सम्पन्नताको मापक हुन्थ्यो।

जङ्गलले घेराभित्रको बचपन

पहाडका डाँडाहरू सकिएर तराई सुरु हुने 'भाँवर' प्रदेशको पहिलो गाउँ हो टाँकु-बोक्टापुर। उत्तरतिर जङ्गल पारि अर्घाखाँचीको महुवारी गाउँ र चारैतिर घना जङ्गल। जङ्गल नछिचोली अर्को गाउँ पुग्नै नसकिने। वर्षायाममा त यो गाउँ संसारबाटै काटिए जस्तो हुन्थ्यो। खोलामा पुल थिएनन्, घण्टौँसम्म बाढी कम हुने प्रतीक्षा गर्नुपर्थ्यो।

शिक्षाको अवस्था पनि उस्तै थियो। ९ किलोमिटर टाढा पत्थरकोटमा ८ कक्षासम्म पढाइन्थ्यो । त्यो मिडिल स्कुल पुग्न सानो युद्ध जिते जस्तै हुन्थ्यो। त्यस्तो ठाउँमा माघ महिनाको एक दिन एउटा रसियन जिप आयो । धुलो उडाउँदै आयो । गाउँका केटाकेटीका लागि अर्कै ग्रहबाट स्पेश-शिप ओर्लिए जस्तै भयो।

झिङ्गै खोलाको तिरैतिर गुडेर महादेव थानबाट गाउँतिर मोडियो । मोटर आयो..., गाउँमा एउटा छुट्टै हलचल भयो। धुलो उडाउँदै आएको त्यो रसियन जिपको आवाज सुनेर केटाकेटीहरू दगुर्न थाले।

केटाकेटीको त्यो हुल कस्तो थियो भने— कसैका सर्टमा टाँक थिएनन्, कोही फाटेका लेहेङ्गामा थिए, कसैका नाकमा पहेँलो सिँगान झुण्डिएको थियो। उनीहरूको उत्साह आजको महँगो ग्याजेट पाउँदाको भन्दा कैयौँ गुणा बढी थियो। घन्चराने लाटोले आवाज सुन्दैनथ्यो । तर उ सबैलाई उछिनेर मोटरको धुलोभित्र छिर्दै दगुर्यो। पेट्रोलको गन्ध र बाँस-इमिलीका पातहरू मिसिएर बनेको त्यो 'ककटेल' गन्धमा झुम्दै केटाकेटीहरू जिपको पछाडि झुण्डिन पुगे।

सिकारको भाग र सामाजिक न्याय

सिकारको एउटा आफ्नै नियम हुन्थ्यो। जङ्गलमा बन्दुक पड्केको आवाज सुन्ने बित्तिकै गाउँलेहरू 'भाग' पाउने आशामा उतै दौडिन्थे।

"सिकारको आधा भाग सिकारीको हुन्थ्यो, र बाँकी आधा भागमा त्यहाँ उपस्थित सबै गाउँलेको भाग लगाइन्थ्यो। जो पुग्थ्यो, उसले भाग पाउँथ्यो; जो जाँदैनथ्यो, उसले भाग पाउँदैनथ्यो।"

यो एउटा सामाजिक वितरण प्रणाली थियो । श्रम र उपस्थिति दुवैको सम्मान हुन्थ्यो। जरायोको शरीरलाई सबैभन्दा राम्रो सिकार मानिन्थ्यो। जरायो एउटा अनौठो जनावर हो । पुसको जाडोमा चिसो पानीमा आहाल खेल्छ । जेठको गर्मीमा जङ्गलमा सल्किएका मुढाको आगो ताप्छ। त्यसको मासु र सुकुटीको स्वाद आज यतिका वर्षपछि पनि जिब्रोमा ताजै छ।

त्यस दिन हाकिमहरूले एउटा नीलगाई मारेका रहेछन्। थारू समुदायमा नीलगाईलाई गाईकै रूप मानिन्थ्यो । यसलाई खानु पाप ठानिन्थ्यो। हाकिमहरूले नीलगाई खाएको देखेर गाउँलेहरू छक्क परे । उनीहरूले सिकारको भाग लिन समेत अस्वीकार गरे। शासकहरूको 'आधुनिकता' र गाउँलेहरूको 'धार्मिक निष्ठा' बीच कति ठूलो खाडल ! यहि हो वर्ग विभाजन ।

प्रविधिको त्यो 'ह्यान्डल'

हाकिमहरू जाने बेला रसियन जिप अटो स्टार्ट भएन। ड्राइभरले अगाडिबाट एउटा फलामको ह्यान्डल छिराएर घुमाउन थाले। आजको जमानामा त्यो म्यानुअल मेहेनत कल्पना बाहिरको कुरा हो। तर जब मोटर भर्ररर... गर्दै स्टार्ट भयो र धुलो उडाउँदै ओरालो लाग्यो, केटाकेटीहरू फेरि त्यसको पछिपछि दगुर्न थाले।

गाडी त गयो, तर त्यसले उडाएको धुलो र पेट्रोलको गन्ध केही बेर हावामा तैरिरह्यो। भुइँको धुलोमा टायरका डोबहरू मात्र बाँकी रहे।

डेहेरीमा अन्न भण्डारण गर्ने त्यो समाज आत्मनिर्भर थियो । आज डिजिटल क्लाउडमा डाटा सुरक्षित गर्ने परनिर्भर समाजमा बदलिएको छ। खरको छानो र काठका खम्बा भएका घरहरू स्थानीय स्रोतले बनेका थिए । त्यहाँ अहिले आयात गरेका फलामे छडका भरमा कङ्क्रिटले छाइएका छन्।

प्रविधिले हामीलाई सुविधा दिएको छ । तर, ती थारू गाउँका अघरियाको इमानदारिता, गल्देलीहरूको ताजा कुरौनीको स्वाद र सामूहिक सिकारपछिको त्यो आपसी सद्भाव कता हरायो कता! आज हामीसँग धेरै 'डाटा' छ, तर ती पुराना 'डेहेरी'हरूमा जस्तो जीवनको सुगन्ध भने छैन।

Recent Blogs