‘सुल्फा’
(साहित्य–संस्मरण)
–गोविन्द बेल्वासे
सुन्नुहोस्
एक दिन देवेन्द्रले लेक्चर सुनेर आउनासाथ चुरोटको प्रसंग सुनाउनु भयो । त्यस दिनको लेक्चरमा सुनेको त्यो प्रसंग महत्वपूर्ण लागेकोले मलाई तात्तातै सुनाउन सायद उहाँ आतुर हुनुहुन्थ्यो क्यारे !
‘चिट्ठाको टिकट किन्ने ब्यक्तिले करोडौँ टिकट मध्ये आपूmले किनेकै नम्बरको चिठ्ठा पर्छ भन्ने सोच्छ । करोडौँमा एक पर्ने चिठ्ठा आफैले जित्छु भन्छ । तर, चुरोट खाने मान्छेले दश जनामध्ये एकजना (दश प्रतिशत)लाई लाग्ने क्यान्सर आपूmलाई लाग्दैन भन्ने सोच्छ ।’ भन्ने विषयमा लेक्चररले ब्याख्या गरेका रहेछन् । मानविय स्वभावको विषयमा यो उदाहरणले धेरै सिकाउने उहाँको बुझाइ थियो । हामी दुवै सहमत भएर त्यसै विषयमा लम्बेतान गफ पनि गर्यौ, त्यस दिन । मसंगै डेरा गरी बस्ने देबेन्द्र श्रेष्ठ अहिले बेलायतमा वकील (ब्यारिस्टर) हुनुहुन्छ ।
मैले पनि, मेरो बचपनमा अनुभूति गरेको बुचा कान्छाको प्रसंग झिकेँ । उनलाई त्यो धुम्रपान गर्दा फोक्सोमा क्यान्सर लाग्छ भन्ने थाहै थिएन, र कक्कड (चिलिम) खानुलाइ सानका रुपमा बुभ्mथे । कक्कडलाई कतै भुसाहा, कतै सुर्ति तान्ने त कतै चिलिम तान्ने भन्ने पनि गरिन्छ । बारीमा जोत्दै गर्दा पनि उनको कक्कड खाने समय हुन्थ्यो । हलोको फालीले डोब नविराउने चाँजो मिलाउँदै बारीको डोरामाथि खेल्दै गरेको मलाइ भन्थेः– ‘बाबु, जानुस त भित्रबाट एउटा कोइला ल्याइदिनुस, कक्कड खान पर्यो ।’ जोत्दाजोत्दै एकछिन विसाउने मेसो पनि थियो होला त्यो कक्कड तान्ने उनको आदत ।
उनलाई पटकपटक कक्कड खान कोइला ल्याइदिएको अनुभवि थिएं, म । त्यसैले उनको आदेशलाई एक ज्ञानी बच्चाले जस्तै पालन गर्थे । भित्र जान्थेँ । चिम्टाले अगेनामा बल्दै गरेको आगोको अगुल्टोबाट एक टुक्रा रातो कोइला चपक्क च्यापेर ल्याउँथे । त्यत्तिनजेलमा उनी गोरुलाई विसाउन लगाएर, सुल्फा(चिलिम)मा कक्कड (सुर्ति) भरेर ठिक्क पारिसकेका हुन्थे । सुल्फामा चुलिएर बसेको कक्कडको धुलो माथि चिम्टाले चपक्क समाएर कोइला राख्थे । भित्रबाट बाहिरसम्म ल्याउँदा हावाको जोड पर्दा मसिना भिल्का निस्कन्थे र हावामा हराउँथे । अगेनाभित्र हुँदाको चम्किलो रातो रङ हराएर कालो देखिन थालिसकेको हुन्थ्यो । तर निभेको हुन्थेन ।
धुँवा छान्दाछान्दा सेतोबाट कालो भैसकेको टालोले उनले सुल्फाको सानो प्वाल तिरको भागमा बेर्थे । सुल्फाको कक्कड भरिएको फराकिलो भागमाथिको कोइलालाई ब्यालेन्स मिलाउँदै आकास तिर फर्काएर मुखमा जोड्थे । दुई हात जोडेर खप्टाउँदै मुखबाट स्वास अन्तबाट छिर्न नपाउने सुल्फाको सानो प्वालबाट मात्र मुख भित्र छिर्ने गरी मिलाउँथे । फोक्सो फुल्लाउँदै स्वाट्ट तान्थे । तव, त्यो कोइला चम्किलो हुँदै रातो देखिन्थ्यो । कोइला जति रातो देखिन्थ्यो मलाई त्यत्ति रमाइलो लाग्थ्यो । कुनैकुनै बेला त त्यसमा आगोको ज्वाला नै भ्वाक्क निस्कन्थ्यो । उनले तानेको धुवाँले फोक्सो भरिएपछि सुल्फा हटाएर, एक्कैछिन धुवालाई भित्र रोक्थे । त्यसपछि स्वाँस छाड्थे । आकासमा बादल उडेझै, सेतो धुवा उनको अनुहार अगाडि उड्थ्यो । म हेरिरहन्थे ।
घर नगिचैको बारीमा जोत्दा त उनले कोइला माग्थे, त्यसैले सल्काएर सुल्फा तान्थे । तर, घरबाट टाढा जोत्दै गर्दा भने उनको थैली भित्रका सरजाम नै काम लाग्थे । अहिले जस्तो सलाइ र लाइटरको प्रविधि उपलब्ध थिएन । तर ग्रामिण प्रविधि सदियौँदेखि प्रचलनमा थियो । त्यही प्रविधि उनले प्रयोग गर्ने गर्थे । उनको थैलीमा एउटा सेतो खालको दर्शन ढुङ्गो हुन्थ्यो । अर्को एउटा फलामको सानो टुक्रा हुन्थ्यो । अनि झुलोको जगुल्टोबाट थोरै झुलो तानेर झिक्थे । केराको सुप्ला सुकाएर झुलो बनाइएको हुन्थ्यो । झण्डै कपास जस्तो हुन्थ्यो झुलो ।
उनले कक्कड भरेर सुल्फा तयार पारेपछि सुल्फालाई खुट्टाको दुई औँलाले च्यापेर अड्डाउँथे । एक हातमा दर्शन ढुङ्गो र झुलो समाउँथे । अर्को हातले समाएको फलामको टुक्राले ढुङ्गामा प्रहार गर्दा निस्कने आगोको झिल्को त्यो झुलोमा पर्ने गरी हिर्काउँथे । पहिलो प्रहारमै त्यो झिल्कोले झुलो समाएको मैले कहिल्यै पनि देखिन । तीन, चार, पाँच गर्दै उनी फलामले दर्शन ढुङ्गामा हानेर झिल्को निकालेर झुलो सल्काउने र त्यो सल्किएको झुलोलाई सुल्फाको टुप्पोमा राखेर हत्तनपत्त स्वाट्ट तानेर कक्कड सल्काउँथे । मलाई उनको त्यो गतिविधि अचम्म लाग्थ्यो र जत्ति पटक हेर्दा पनि म नमिच्छेर रमाइलो मानिरहन्थे । उनको त्यो गतिविधि मलाई त्यत्ति खेर निकै आधुनिक प्रविधि जस्तो लाग्थ्यो । जब, सलाइ र लाइटर देखेँ तव त्यो त धेरै पुरानो प्रविधि रहेछ भन्ने बुझेँ । उसबेला सलाइ वा लाइटर भैदिएको भए अगेनमा पुरेको अगुल्टो निभ्दाको दिन छिमेकीकहाँ गएर आगो ल्याउने धामा गर्नु पर्ने थिएन आमालाई । उहाँको समय पनि बच्ने थियो । आमाका काम कहिल्यै सकिन्थेनन् । सधै एक पछि अर्को काम गर्न हतारिरहनु हुन्थ्यो आमा ।
ग्यास चुलोमा बटन थिचेर आगो बाल्ने अहिलेको जमानाका केटाकेटीले सलाइ र लाइटर भनेको के हो भनेर सोध्ने समय धेरै पर छैन जस्तो लाग्छ । हुक्काको चिलिम दुब्लाए जस्तो लाग्यो उनको सुल्फा । सुल्फा पनि दुब्लाउँदै गएर बिँडी बनेको जस्तो लाग्थ्यो । अहिले त बजार तिर पनि त्यो बिँडी समेत देख्दिन । बिँडी भनेको केहो भनेर नबुभ्mने केटाकेटी त थुप्रै छन् जस्तो लाग्छ ।
हामीले स्कूल बढ्नुभन्दा पहिलादेखि नै धुम्रपान हानीकारक हो भनेर सिकाइन्थ्यो । तर, धुम्रपान गर्नेको संख्या घट्थेन । मेरो बचपनको अनुभूति अनुसार अघिल्लो पुस्ताले समाजमा सान देखाउन धुम्रपान गरेको मनस्थिति हुन्थ्यो । बुवाले भने म जन्मदा धार्मिक भावनाले धुम्रपान छाडिसक्नु भएको थियो । प्राज्ञहरुले सिकाउँदा सिकाउँदा आधा शताब्दी वितेपछि अहिले बल्ल सार्वजनिक स्थानमा धुम्रपान निषेध भएको छ ।
मैले स्कूल पढ्दै गर्दाको समयमा गरीबगुरुवा र पिउनहरुले बिँडी खान्थे । एकमानो खान पुग्नेले चुरोट, अड्डाका हाकिमहरुले फिल्टरवाला फेटासितको सिगरेट, जिम्माल मुखियाले गुडगुडे हुँक्का र सामन्तहरुले ट्रिपल–फाइभ खाने गरेको देख्थेँ । सहर बजारका उद्योगपतिहरुले सिगार खान्छन् रे ! भन्ने पनि सुन्थेँ । धुम्रपान नगर्नेको त इज्जतै नभए जस्तो । आजकाल कुन ब्राण्डको गाडी चढेको छ भनेर ब्यक्तिको औकात नापे जस्तो कुन धुम्रपान गर्छ भन्नेले हैसियत जाउँथ्यो । अहिले भने धुम्रपान गर्नेलाई पनि यसले हानी गर्छ भन्ने थाहा छ । तर, उसले आपूmलाई हानी गर्दैन अरुलाई मात्र रोगी बनाउँछ भन्ने सोँच भने हटेको छैन । यो मानव प्रबृत्ति अचम्मको हुने रहेछ ।
सिगार कहाँ कसरि बन्थ्यो थाहा भएन । चुरोटको प्mयाक्ट्री नेपालमा पनि थियो । पहिलापहिला भारत तिरबाट पनि आउँथ्यो । बीँडीको उत्पादनको सुरुवात म जन्मेकै गाउँबाट सुरु हुन्थ्यो । प्mयाक्ट्रीमा बनेर मुठामा कोचिएर आएका बिँडीको उपयोग पनि गाउँमा खुबै हुन्थ्यो । सुल्फा (चिलिम)को सुर्ति अलिअलि करेसा बारि मै तयार हुन्थे । थपथाप बाजारबाट किनमेल हुन्थ्यो । कुमालेले माटोमा बुट्टा भरेर पोलपाल पारेर रातो भएको चिलिम देशभित्रकै उत्पादन हुन्थे । कुमालेले लट्ठीले फनफनी घुमाएको चर्खामा गिलो माटोलाई औँलाले आकार दिँदै चिलिम बनाउने तरिका बडो रमाइलो मानेर हेरिरहन्थेँ म । धेरै दशक वितिसक्यो त्यो रमाइलो हेर्न नपाएको । त्यो रमाइलो यूट्यूवमा हेर्दा भने त्यस्तो मज्जा हुँदोरहेन छ ।
हाम्रा गाउँमा खेतिको समय अलि होलो भएको समयमा जङ्गलमा गएर पात टिपेर मुठा पारेर बिँडी कम्पनीलाई बेचेर नगदी आर्जन गर्ने चलन थियो । अहिले बिँडीको चलन हराए पछि त्यो चलन पनि हरायो । ती पात लगेर बिँडी बनाउने कम्पनीहरु कृष्णनगरमा थिए । भारत नेपाल बर्डरमा रहेको बढनी वारीको बजारमा निक्कै बिँडी उत्पादन हुन्थ्यो । म कृष्णनगर जाँदा देख्थेँ । धेरै जसो गल्लीका घरका बरण्डामा चाकलमाडे बसेर काखमा राखेको काठको भाँडोमा सुर्ति बेरेर पात बेर्दै बिँडीका मुठा पारिरहेका हुन्थे ।
अव भने ती गल्लीहरुमा त्यो बिँडी बनाउने चहलपहल छैन् । केटाकेटीलाई सुनाउने कथा भैसक्यो । बरु अवका केटाकेटीलाई ‘न त त्यो बिँडी नै खान हुन्छ न त आधुनिक नेकोटिनवाल इलेक्ट्रिक सिगरेट नै’ भनेर सिकाउनु पर्छ । यी सवै धुम्रपान हानीकारक छन् ।
पुन थपः धुम्रपान ग्ल्यामरस देखिए जस्तै प्रसंगमा कोरोना भाइरस (कोभिड–१९) पनि अरूलाइ लाग्छ आफूलाइ लाग्दैन भनेर नसोँचाै, सतर्क रहाैँ, सरकारको सुझाव पालन गरौँ ।
© www.amaaba.org