खुसी भेट्ने 'मोह'
– गोविन्द बेल्वासे
बिकलचन्द्र आचार्य “खुसी”को अनुसन्धानको मोहमा नेपालको गोरखा जिल्लाबाट लण्डनसम्मको परिवेश मन्थन गर्ने जमर्को गर्छन् । उनी बिकट गाउँको प्रविधि र आधुनिक सभ्यताबाट अलग्गै हुँदाका परिवेशको ओठको हाँसो र आफूलाई सहयोग गर्ने बिदेशीहरुको 'क्रिसमस' तथा 'इस्टर'का भेटघाटमा मनमुटाव र सम्यताको तछाडमछाडमा उम्रिएका बनावटी मुस्कानसम्मको परिवेशका खुसीलाई खोतल्ने प्रयासमा उपन्यासको आकारमा 'मोह' तयार पारेका छन् ।
कृतिमा उल्लेख भएका “लोझाए” र “हौटहौट” जस्ता नेपाली शब्दकोशमा नभेटिने शब्दहरुले क्लिष्टता झल्काए पनि समग्रमा सरल पस्तुति लेखकको सादापनमा उच्च विचारको प्रस्तिुतिका रुपमा 'मोह' देखिएको छ । बिदेशी भाषाबाट अल्मल परेर अपभ्रंस भएका हुन यस्ता शब्द वा गोरखाका स्थानीय शब्दहरुको मीठास झल्काउने शब्दहरुहुन भन्ने वास्तविकता भने पाठकलाई बुझ्ने अवसर यी साहित्यकारले दिन सकेका छैनन् । विषयबस्तु र परिवेशलाई तन्काउन र ब्याख्या गर्न सक्ने छमता लेखकले यस कृतिबाट उजागर गरेका छन् । अत्यन्त धेरै पात्रहरु उल्लेख गर्ने र मुख्य पात्रलाई निकै सहयोग गर्ने पात्रहरुलाई पछिल्लो भागमा विलय गराइएका कमजोरीहरु भने नभएका होइनन् ।
होवार्ड फास्टले 'लोला ग्रेग' नामको उपन्यासमा अमेरिकाको परिवेशमा कम्यूनिष्ट विरोधी तानासाहीपनलाई भावनात्मक रुपमा अभिब्यक्त गरेका छन् । तर, उपन्यासको अन्त्यमा उनले लेखेको लेखकीय नोटबाट 'यूएसए'को कम्यूनिष्ट विरोधी कानूनको यथार्थ उल्लेखनले उपन्यासको काल्पनीक कथालाई बौद्यिकताको उचाई दिन पुगेका छन् । बिकलको 'मोह' उपन्यासले पनि त्यो झल्को दिन खोजेको छ। 'मोह'को अन्तिमको आवरण पृष्ठमा आफ्नो विवरण उल्लेख गरेका छन् । साथै आफ्नो भनाई राख्ने क्रममा पात्रहरु जीवन्त रहेको र घटनाहरु सत्य भएको उनले उजागर गरेका छन् । त्यो विवरणबाट उनले आफ्नै कथालाई उपन्यासको रुपमा ढाल्न खोजेको कुरा पाठकबाट लुकाउन सकेका छैनन् । पुस्तकको स्वरुप र प्रस्तुतिलाई उपन्यास भने पनि उनको आत्मकथालाई कति कल्पनाको जलपले ढाक्न खोजे र कति वास्तविकता हो भन्ने भ्राममा पाठकलाई उनले धकेलेका छन् । एक उपन्यासमा पाठकले खोज्ने मीठास पुस्तकको बीचको भागमा मुख्यपात्रको बेलायत प्रवेशमा क्षात्रबृत्ति लगायत पराइबाट भोगेका अपनत्व र कडा परिश्रमको परिवेशको प्रस्तुतिमा भेट्न सकिन्छ । तर, पाठकले पुस्तकको सुरु र अन्त्यमा आशालाग्दो मीठास भेट्न सक्दैनन् । बरु उपन्यास हो कि आत्मकथा भन्ने अन्योलमा पारेको दोष प्रस्तोतालाई पाठकले दिने धेरै कारणहरु छन् ।
लेखकले “म” पात्र बनेर घटनाक्रमलाई आत्मकथाका रुपमा प्रस्तुत गरेका भए प्रस्तुतिले मीठास अझ बढी पाउन सक्थ्यो भन्ने मेरो ब्यक्तिगत ठहर छ ।
पुरातनबादी सामन्तबादका अवशेषबाट लेखक माथि उठ्न सकेका भए कृति अझै सकारात्मक सन्देश दिन सफल हुने थियो। “प्रयास नै नगरी हार खानु त मर्द नै भएन नि” जस्ता अभिब्यक्त शब्दावलीबाट लेखकले महिलालाई सफलता खोज्ने प्रयास गर्ने अधिकार नभएको र पुरुषलाई मात्र त्यो अधिकार भएको सन्देश दिने प्रयास गरेका छन् जसलाई प्रगतिशील मान्न नसकिने स्थिति छ ।
आचार्यले दुर्गममा देखेको दरिद्रीलाई बेलायतमा आफु पनि सामेल भएको 'पार्टी' (भोज) संग तुलना गर्दै समाजको असमानतालाई तीखो बाँण हानेका छन्। “असमानतामा नै रुमल्लिएको जीवनको यर्थाथ त हो नि” भन्दै यस कृतिमा र्दाशनिक भाव पोख्न उनी सफल रहेका छन्। यस्ता असमानताबाट समाजलाई उन्मुक्ति मिल्ने मार्ग पनि लेखकले दर्साउन सके अति उत्तम हुने छ।
© www.amaaba.org