Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
1

समीक्षा

रातो पासपोर्टका रङ्गहरु

बिजय हितान

30 Nov, -0001

रातो पासपोर्टका रङ्गहरु

समीक्षा

रातो पासपोर्टका रङ्गहरु

बिजय हितान

कसरी सुरु गरुँ साहित्यकार गोविन्द बेल्वासे ज्यूको कथा 'रातो पासपोर्ट' को समीक्षा । यसको रङ हेरेर केही लेखुँ कि यसको महत्व बुझेर ? यसको वजन तौलेर केही बोलुँ कि यसको छेत्रफल नापेर ? पासपोर्टको पानाहरु पल्टाएर केही भनु कि यस भित्रको फोटो हेरेर ?

दोहोराएर पढेपछि बल्ल निचोड निस्कियो कागतीको रश निचोरेर निकालेजस्तै । यो हस्तलिखित पुरानो पासपोर्ट त अवस्य होइन, अहिलेको एम आर पी (MRP) जस्तो लाग्यो । कम्पुटरले पढन सक्ने अर्थात मसिन रिडएबल पासपोर्ट । संक्षेमा यसरी भनौं न - "यस रातो पासपोर्टले पाठकहरुलाई बाह्र कथारुपी काल्पनिक देशहरुमा मनोरन्जनरुपी भिसा लगाएर भ्रमणमा लग्नेछ ।"

म पनि बेलायत पलायन भएको अवधि आधा बनबास जति भएछ । दोहोरो नागरिकताको आवाज घन्किदै गर्दा हामी धेरै बेल्पालीहरु रातो पासपोर्ट बाहक बनिसकेका छौं । यस कथा पढेर बेल्पाली पाठकहरु कतै- ‘थुइ...य.. ला....! किन मैले रातो पासपोर्ट लिएछु नि!’- भन्छन कि भन्ने मलाई सङ्का लागिरहेछ।

हो बेल्वासे ज्यूको 'रातो पासपोर्ट' लाई म समग्रमा डाएस्पोरिक साइबर साहित्यमा आधारित कथा भन्न रुचाउँछु । जसरी साइबर संसारले मानवीय जीवनलाई अपहरण गरिदिएको छ, रातो पासपोर्टले पाठकको केही क्षणलाई अवस्यनै अपहरण गरिदिने छ जस्तो मलाई लागेकोछ । उक्त अपहरण दु:खदाई नबनी आनन्ददायक हुने म ठोकुवा गरेर भन्न सक्छु। किनकि 'रातो पासपोर्ट' मा कम्प्युटर, इन्टरनेट, फेसबुक, ईमेल, टेलिभिजन, मेसेन्जर च्याट जस्ता अतिआधुनिक प्रबिधिका बिषयलाई कथाकारले बडो कलात्मक ढंगले, सरल भाषामा, घटना र पात्रहरु दिएर पस्कनु भएको छ ।

त्यति मात्रै कँहा हो र, कथाकार स्वयम एक बेल्पाली प्रबासी हुनुको नाताले, बेलायतको संघर्षमय बसाइमा, यी माथिका बिलासपूर्ण चिजहरुको उपभोग गर्दागर्दै छण–छणमा कथाले नेपालै पुर्याइदिन्छ । कथाको अर्को बिशेषता वा यसले दिन खोजेको पाठ - यी प्रबिधिका प्रयोगका क्रममा पुस्ता-अन्तराल (generation gap) समस्याको उजगार पारिनु पनि हो । 'बाघले झम्ट्यो' र 'दैलो लगाएको आवाज' जस्ता शिर्षकका कथाहरुमा, एक बाबु वा बाजेले, सधैं टेलिभिजन र कम्प्युटरमा झुन्डिरहने आफ्न छोराछोरीहरुको अगाडि ,यी अप्ठ्यारा भोगाइहरुको अनुभुति गरेको पाईन्छ। उहिले उहिले गाउँबाट शहर आएका आफन्तले हलमा सिनेमा हेर्दैगर्दा पर्दामा बाघ देखेपछि हलै छोडेर भागेको हास्यब्याङ्गको सम्झना, पढेपछि मलाई यी कथाहरूले दिलाए।

यसले गर्दा कथाकारमा प्रबिधिका यी सानातिना घटनालाई दिनदिनैका व्याबहारिक समस्यामा बुनेर, डर तथा भयपूर्ण तस्बिरको रुपमा पस्किने कला बेजोडले देखिन्छ । प्रायजसो कथाका सुरुमा पाठकलाई कौतुहलमा पारिन्छ र अन्त्यमा बिस्मयका साथ कारण खुलाइन्छ । त्यसैले पाठकलाई एउटा कथा पढन सुरु गरे पछि सिध्याएरै छोडने पार्नु कथाकारको अर्को मुख्य बिशेषता देखिन्छ ।

गत एक दशकभित्र निस्किएका नेपाली साहित्यमा १० बर्शे जनयुद्ध कालमा केन्द्रित रहेर लेखिएको पाइन्छ। याँहा एउटा कथामा पनि जनयुद्धको प्रभावले नेपाली बौद्विक खुबी बिदेसिनु परेको तीतो सत्यलाई प्रस्ट्याइएको छ । नेपाली पाठकले जनयुद्धमा आधारित साहित्य पढ्दा पढ्दा अब मिच्छिसकेको सन्दर्भमा, बेल्वासेज्यूको नयाँ बिचारामा उम्रेका कथाहरु अवस्यनै नौलो लाग्ला र रुचिकर हुनेछ भन्ने मैले बुझेको छु । फेरि केही कथाहरु बिज्ञान-काल्पनिक (Sci-Fi) पनि छन। भनिन्छ साहित्यकारले आफ्नै जिन्दगीमा घटेका घटना, आफ्नो अनुभुति, र आफ्नै योग्यता पाठकमाझ बाँड्दछ । त्यसैले कथाकार कतै भौतिक शास्त्रका ज्ञाता त होइनन् भन्ने पनि लाग्छ । कुनै कथामा कानूनका शब्दहरु पढन पाउँदा कथाकर कानूनबिध जस्तो पनि देखिन्छ । कम्प्यूटर प्रबिधिका शब्दहरुले ओतप्रोत यस कथामा कथाकार साइबर प्राबिधिज्ञ त अवस्य हुनुपर्छ जस्तो भान पनि पाठकलाई लाग्न सक्छ ।कथाकार एक पत्रकार हुन भन्ने त बेल्पाली सबैलाई बिधितै छ । कथाकृतिबाट उठेको रकम ‘हेल्प नेपाल’ लाई प्रदान गर्ने उनको प्रणयले कथाकार एक उदारदिलवाला परोपकारी पनि हुन भनेर चिनाउँछ ।

परम्परागत नेपाली कथामा मिलन र बिछोड, माया प्रिती र रोमान्सका घटनाहरु हुन्छन । यस्ता धारमा बेल्वासे ज्यूका यी कथाहरु नलेखिएकोले कसै कसै पाठकलाई मन न पर्ने पनि हुनसक्छ । सबैखाले पाठकलाई समेट्न पनि त सकिन्न एक साहित्यकार भएर । बेल्वासेका हरेक कथा पढेपछि ऐना जस्तै छर्लङ हुन्छ कथाको सार । तर पाठकलाई अलमलमा पारेर त्यो भनेको के होला? कसरी घट्योहोला? भनेर सोचनीय पारेको कतै देखिन्न ।

कतै एउटा कथा पढेपछि पाठक रहस्यमै डुबिरहने पारेको भए कस्तो हुन्थ्यो ? जसरी कबितामा बिम्ब प्रयोग गरेर पाठकलाई अर्थ न बर्थ पारिन्छ र त कबितालाई अझै गुणात्मक ठानिन्छ। त्यस्तै यस रातो पासपोर्टमा बिम्ब र रहस्यका रङहरुले पोतिदिएको भए अझै उत्कृष्ट हुने थियो कि भन्ने मैले बुझेको छु ।

21/Apr/2014