AIभन्दा मान्छे श्रेष्ठ देखिने होड - Blog Details

Blog Details

  • Home
  • Blog
  • AIभन्दा मान्...
AIभन्दा मान्छे श्रेष्ठ देखिने होड
ढोरपाटनको घोडाले त्यो दूरीको अर्को कथा सुनाउँछ। म्याकफ्यारलेनको चराको चिरबिरले भने भविष्यको चेतावनी दिन्छ। बजार हराउन सक्छ, गोठ रित्तिन सक्छ, पुराना पेसा समाप्त हुन सक्छन्। तर प्रविधिको विकाससँगै मानवता र प्रकृतिको अस्तित्व नै रित्तिन दिनु हुँदैन।

AIभन्दा मान्छे श्रेष्ठ देखिने होड

16 Nov, 2026
1.0
1.0
1.0
Loading voices...

औद्योगिक विकास र यातायातको परिवर्तन जताततै छ। बारीको डोरातिर लैजाने लोटादेखि चर्पीको कागजसम्म बदलाव भेटिन्छ। धोन्द्रे घण्टी भिरेको खच्चडको लस्करले बोक्ने ती भारी दन्त्य कथा भएका छन्। तिनको लादीको गन्ध ढाक्रे र भरियाले सुघ्न छाडे। घोडा चढेर घरबाट बेसी ओहोरदोहोर गर्ने साहुजीहरू बीजुली मोटरमा बग्ने चलनलार्इ नराम्रो त कसरि भनुर! असामी उठाउन दगुर्ने हट्हट गर्नेका नाति अहिले बाउन्स चेकमा रूमलिएर कचहरी धाउन परेकोछ। मोटरगाडी, ट्र्याक्टर र आधुनिक मेसिनको प्रयोग बढ्दै गएपछि घोडाको परम्परागत आर्थिक उपयोगिता घट्यो। त्यससँगै घोडाको कारोबारमा आधारित बजार पनि हरायो।

उनले देखेको त्यो घोडाको बजार अहिले लाग्दैन। उनी अहिले जीवित छैनन्। ६० वर्ष अघि उनी बरालिएको बेङ्गर शहर जीवित छ। बराँलिएका प्रसङ्ग जीवन्तछन्। त्यस बखतको बेलायतका बारेमा पढ्ने र सम्झने नेपालीहरू छरपस्टै छन्। घरजम गर्नेहरू जमेर बेलायतमै बसेका नि छन्।

यो वर्षको अक्टोबर सकिएपछि नोभेम्बर लाग्ने वित्तिकै म पुगें। उनी बरालिएको मेनाइ साँघु (पुल) मेला लागेको सहर, बेङ्गर। ताना शर्माले २४ अक्टोबरका दिन भोगेको बेलायती क्षण अक्षरमा उतारेका छन्। बेलायत तिर बराँलिदा नामको पुस्तकबाट नेपाली यात्रा साहित्यलार्इ बाटो देखाएकाछन्।

उनले त्यो समयमा पढेको बेङ्गर यूनिभर्सिटी भिरालो मै अडिएर बसेको छ। नयाँ भवन थपिएर पुरानो कोपिलाको साखलार्इ फूल झै फक्राएका छन्। मलार्इ उक्त विश्वविद्यालयले तानसेन बजारको झल्को दियो। फरक के थियो भने बेङ्गर तल समुन्द्रको समतल पसेको छ। पाल्पाको भूषालडाँडाबाट मैले देखेको माडीको फाँट फैलिए जस्तै देखियो। माडीका फाँटमा धान पाकेको सुनौलो सुन्दरता भने थिएन। समुन्द्रको पानीले नीलो पारेको समतल भेटाएं।

"मानिस अरूभन्दा श्रेष्ठ छ भन्ने अहंकार/भ्रम" का विषयमा बीबीसी (ब्रिटिस ब्रोडकास्टिङ सर्भिस) ले आयोजना गरेको कार्यक्रम त्यहि यूनिभर्सिटीमा थियो। रोबर्ट म्याकफ्यारलेनले चराको चिरबीरबाट प्रवचन सुरू गरे। एआर्इ (कृत्रिम बौद्यिकता) ले मानवता हराउने डर मानेको वर्तमानका प्राज्ञहरूको वर्णन गरे। पृथ्वीमा चरा नास गर्ने मान्छेको दोष जनाउँदै चराकै चिरबीर सुनाएर भनार्इ टुङ्गाए।

चराको चिरबिर, बेङ्गरको घोडा बजार र नेपालको गोठबाट हराउँदै गएका गोरुबीच गहिरो सम्बन्ध छ। बेलायतमा घोडाले खेत जोत्थे। नेपालमा खेतजोत्न घोडा कहिल्यै प्रयोग गरिएन। गोरू र राँगाले हलो, हेँडा र खोक ताने। गोरू (लडिया) गाडा ताने। पहाडतिर मीयोमा बाँधिएर र मधेसमा फुक्काफाल घुमीघुमी दार्इ लगाए। बुढो गोरु र बाछाले भरिएको कृषि उत्पादनले अहिलेका पाठकलार्इ नोस्टाल्जिक बनाउँछ। बचपन सम्झाउँछ। बाजे बजैका दैनिकीमा भुलाउँछ। बारीको डीलको अम्बाको रूमा कराउने काग र सवेरै ब्यूँताउने कुखुरी काँको स्वरले गाउँ जाने टिकट काटौं कि भनेर बजेट तथा विदा मिलाउने नि गराउँछ। गाउँमा गोठ रित्तिएका प्रसङ्गले मानिस, प्रविधि र प्रकृतिबीचको सम्बन्धलाई ठट्टा गर्छ।

घोडाको कथा अमेरिकाका फाँटबाटमात्र हराएका होइनन्। फोर्ड कम्पनीको जमाना नि हराउन पो लागो। चिनीया उत्पादन घरभित्र पसेकोछ। गेटको बत्तीदेखि छानाको सोलार प्लेट त्यसको साक्षी छ। नेपालको ढोरपाटन पुग्दा यसको अर्को रूप देखिन्छ।

ढोरपाटनबाट किनेका घोडाको रवाफ हाम्रा जिम्मालको सान थियो। उनी सांसद भएपछि किनेको काठी बेलायती थियो। आजकाल उनका नाति खलकले 'काठी' शब्द बुझ्न गुगल चाहार्छन्। पाल्पा, रिडी, तम्घास र बुटवलसम्मबाट सामान ल्याउने तथा ढोरपाटनमा उत्पादन भएका आलु, स्याउ र अन्य कृषि उपज बजार पुर्‍याउने काम घोडा खच्चडले गर्थे। कठिन पहाडी बाटोमा मानिसको यात्रा पनि तिनै घोडाको भरमा हुन्थ्यो। कुनै किसानले दुई दर्जनभन्दा बढी घोडासमेत पाल्ने गरेको विवरण पाइन्छ।

सडक विस्तार भयो। मोटरगाडी गाउँसम्म पुग्न थाले। घोडाले बोक्ने सामान गाडीले बोक्न थाल्यो। मानिसको यात्राको घोडाको हटहट् भट्भटेको घ्यारघ्यारले विस्थापित गर्‍यो। घोडा र खच्चड रोजगार बिहिन भए। घोडा पाल्न छाडे। तबेलाका फलेकमा झुण्डिने लगाम र खरहरा विलाए।

ढोरपाटनको कथा बेङ्गरको जस्तो अलि छैन। घोडा बजार निमट्यान भएको छैन। पर्यटकको आगमन बढेपछि घोडाले नयाँ काम पाएका छन्। बुकीपाटन, निसेलढोर र जलजलातिर जाने पर्यटकलाई घोडामा सवार गराउने व्यवसाय चलेको छ। घोडा चढेर सेल्फी र भिडियो बनाउँछन्। हिमाली उपत्यकाका पर्यटक बढेका छन्। पहिलेका साहु महाजन बोक्ने घोडा अहिले मानिसको मनोरञ्जन बनेका छन्। पर्यटन व्यवसायको साधन भएका छन्। चौरमा घोडा चढेर तस्बिर तथा भिडियो खिच्दा पनि पैसो तिर्न पर्छ भन्ने सन्छु। त्यता पनि सडक पुगेको छ। तर, सबै ठाउँमा गाडी पुग्दैन। वर्षायाममा बाटो अवरुद्ध हुँदा घोडा खच्चड नै काम लाग्छन्। रोबोट कतै बनेको होला त्यहाँ प्रयोग गर्न त्यसका भाउले थेग्दैन। आलु बोक्ने ड्रोन किन्न अझै बजेटले भ्याउन्न।

टाँकु गाउँ कपिलबस्तुको भावरमा पर्छ। हरियो चुरे डाँडो तराइमा थकाइ मार्दै लम्पसार परेको फाँटको सुरूवातको गाउँ। विष्णुप्रसादको घारी (कटेरो) मा दक्षीणपट्टि घोँडाको तबेला थियो। त्यो कलेजी रङको घोंडाले पुच्छर हल्लाएको हल्लाइ हुन्थ्यो। डाँस, माखा र किरा भगाउन पुच्छर हल्लाइ राख्थ्यो। त्यसलार्इ सुतेको अवस्थामा कहिल्यै देखिन। सायद उभिइउभिइ नै निदाउँथ्यो कि!

जाडो महिनामा गोठको बीच्चमा लम्पसार परेको काठको मुडासङ्ग दाउराले सम्भोग गर्थ्यो। थकाइ मार्न धुँवा आकासतिर सुइकिएपछि खरानी मस्त निद्रामा लम्पसार परेकी हुन्थी। त्यसैमाथि निभेर अङ्गार हुन नपाइको कोइलाको अर्कै ब्यथा छ। जोडबल गर्दागर्दा रगत्याम्म भएर उकुसमुकुस गर्दै धुवाँ, खरानी र उर्जामा बदलीने छंण विताइरहेको हुन्थ्यो। अलि उत्तरपट्टि दुहुनो मुर्रा भैसी पाउर लाउँदै परको पाडो निहार्थ्यो।

ती फिलिङ्गा उड्दै माथिमाथि पुगेर विलाउँथे। जिम्माल बा मचियामा बसेका थिए। परालको चकटीमा विछाएको टुक्रे गलैचामा बसेका माइला बाले ढोरपाटनमा त्यहि घोडा किन्न जाँदाको विवरण सुनाउँदै थिए। म परालको चुलठी बाटेर बनाएको बिरचीमा बसेर सुनिरहेको थिएं। समयको हिसाब गर्दा ताना शर्मा मिनार्इ साँधुमा ती घोंडा खरिद बिक्रीको साक्षी भएको त्यही दिन पो हो कि जस्तो ठान्छु। ती चलन माझ उनले बियर किन्न तिरेको सिलिङको सिक्का पनि ठुटिएर अहिले बेलायतमा पाउण्ड र पेन्सको मात्र पो चलन बचेको छ त। ती हजुरबुवाको चिलिममाथिको तम्बाकु सेक्ने कोइलाको धुवाँ गुडगुडको पानीको ध्वनि सहित विलाएको छ।

मेरो मनमा एउटा प्रश्न उठ्छ। प्रविधि विकास हुनु भनेको पुरानो वस्तु वा जीवको अस्तित्व समाप्त हुनु मात्र त हैन। हाम्रा सुविधा थपिएकोमा खुसी नि लाग्छ। त्यसको उपयोगिता र सामाजिक अर्थ परिवर्तन भएको छ। तर, हाम्रा मेसिनका घ्यारघ्यारले चरा भगाएका छन्। विष्णुप्रसाद हजुरबाले भार्सेबस्ने मलायाका लाउरेसित किनेका बन्दुकले मारेका छन्। त्यस्तै गरी एआर्इले हामीलार्इ पिजडामा थुनेर "बोल पट्टु बोल" गराउने त हैन?

माडीको फाँटमा एक दशकअघिसम्म असारसाउनमा हलगोरु नारिन्थे। "छुपुमा छुपु" भन्दै असारे गीत घन्कन्थे। रोपाइँ गर्ने दृश्य सामान्य थियो। रोपाइँका गीत, हलीका "हह..काले हह, हह माले हह..," र गोरुका खुरको खटखटले गोधुली सङ्गीतमय हुन्थ्यो। अहिले ती दृश्य सम्झनामा सीमित भएका छन्।

ट्र्याक्टर र मिनी टिलरको प्रयोगले खेतीपाती सहज बनाएको छ। भोजपुरका खरकमा मिनी टिलरको प्रयोग बढिरहेको छ। गोरु खोज्नुपर्ने, परिमोको पालो पर्खनुपर्ने र वर्षभरि पाल्नुपर्ने झन्झटबाट किसानले मुक्ति खोजेका छन्। गोरु पाल्नुको सट्टा आवश्यक पर्दा मेसिन भाडामा लिनु आर्थिक दृष्टिले सुविधाजनक हुन थालेको छ। केही वर्षमा रोबोटले काम सकेर आफै चार्ज प्लगसम्म पुग्नेछन्। मरम्मत गर्न थ्यारेज आफै जाने छन्। गराजका रोबोटको मरम्मत पछि काममा फर्कने छ।

त्यस दिन मानुवाको दैनिकी कता तिर बरालिएला?

गोरु ग्रामीण अर्थतन्त्रको एउटा चक्र थियो। गोबरबाट मल बन्थ्यो। पशुपालन र खेती एकअर्काका पूरक थिए। गोरु हटेपछि त्यससँग जोडिएको श्रम, सीप, गोठको संरचना र कृषि संस्कृतिमा पनि परिवर्तन आएको छ। मानवता देशवासी र गैर आवासीय नेपालीमा बाँडिएको छ।

बेलायतमा घोडाले आफ्नो पुरानो भूमिका गुमाउनु उस्तै परिवर्तन हो। जस्तो कि नेपालमा गोरु गोठबाट विस्थापित हुँदै गएको प्रक्रिया एउटै दिशाका उदाहरण हुन्। तर समयको गति फरक छ। औद्योगिक यान्त्रीकरणले बेलायतमा ल्याएको परिवर्तन नेपालका ग्रामीण भेगमा ६० वर्ष पछि आइपुगेको छ।

तर, कृत्रिम बुद्धिमत्ताको मामिलामा त्यो समयको दुरी घटेको छ। घोडा र गोरुको विस्थापन भूगोल, यातायात र उत्पादन प्रणालीअनुसार क्रमशः भएको थियो। एआई भने एकै समयमा संसारका विभिन्न देश, भाषा र पेसामा प्रवेश गरिरहेछ। एउटै कम्प्यूटरको भाषा मोडेलले काठमाडौँको स्वतन्त्र लेखक, नेपालको कानुन व्यवसायी, लन्डनको बैंकर र वेल्सको विश्वविद्यालयका प्राध्यापकलाई एकै समयमा प्रभावित गर्छ।

यसैले एआईको प्रभावलाई घोडा वा गोरुको विस्थापनसँग मात्र तुलना गरेर पुग्दैन। यसको प्रभाव मानिसको श्रममा मात्र होइन, ज्ञान निर्माण, निर्णय क्षमता, सिर्जनशीलता र सामाजिक सम्बन्धमा समेत पर्न सक्छ।

म्याकफ्यारलेनले चराको चिरबिरबाट प्रवचन सुरु गरेर चराकै चिरबिरमा अन्त्य गर्नुको अर्थ मलाई यहीँनेर अझै बुझे झै लाग्छ। मानिसले आफूलाई प्रकृतिको सर्वोच्च प्राणी ठान्ने अहंकारले पृथ्वीका अरू जीवको अस्तित्वलाई कति कमजोर बनाएको छ भन्ने प्रश्न उनले उठाएका थिए।

घोडा र गोरु हराउनु आर्थिक तथा प्राविधिक परिवर्तनसँग सम्बन्धित छ। तर चराहरू हराउनु फरक प्रकृतिको सङ्कट हो। वन विनाश, बासस्थानको क्षति, कीटनाशकको प्रयोग र जलवायु परिवर्तनले चराको अस्तित्वमा असर पारेका छन्। चरा मानिसको खेती गर्ने साधन होइन। उसको चिरबिर प्रकृतिको स्वतन्त्र आवाज हो। त्यो आवाज घट्नु वातावरणीय सन्तुलन कमजोर हुँदै गएको सङ्केत पनि हो।

मानिसले आफ्नो सुविधा र उत्पादन बढाउन प्रकृतिलाई उपयोग गर्‍यो। त्यस क्रममा घोडा, गोरु र अन्य पशुको भूमिका बदलियो। तर प्रकृतिका अरू जीवलाई आफ्नो उपयोगिताको मापदण्डबाट मात्र हेर्न थाल्दा तिनको स्वतन्त्र अस्तित्वको महत्त्व बिर्सन पुग्यौँ।

एआर्इले मानवीय अहंकारलाई चुनौती दिएको छ। हिजो मानिसले आफूलाई अरू प्राणीभन्दा बुद्धिमान् ठानेर प्रकृतिमाथि नियन्त्रण जमायो। आज आफ्नै बुद्धिको एउटा अंश मेसिनले अनुकरण गर्न थालेपछि मानिस आफ्नो विशिष्टता गुम्ने डरमा छ।

प्रकृतिलाई जितेको दाबी गर्ने मानिस अहिले मेसिनसँग आफ्नो बौद्धिक श्रेष्ठता प्रमाणित गर्न खोजिरहेको छ। प्रश्न भने मानिस मेसिनभन्दा श्रेष्ठ छ कि छैन भन्ने मात्र होइन। मानिसले आफ्नो बुद्धि, प्रविधि र सामर्थ्यलाई कुन उद्देश्यमा प्रयोग गर्छ भन्ने हो।

तानाशर्माको बेलायत यात्रालाई आजको दृष्टिले पढ्दा अर्को ऐतिहासिक पक्ष पनि सम्झन सकिन्छ। उनले बेलायत पुग्दाको समयमा भिसा, राहदानी, भन्सार र राज्यको सीमा मानिसको आवागमनका महत्त्वपूर्ण अवरोध थिए। आज पनि ती राजनीतिक सीमाहरू कायम छन्। तर सूचना, पुँजी, डिजिटल सेवा र कृत्रिम बुद्धिमत्ताको प्रवाहले ती सीमाको परम्परागत प्रभावलाई चुनौती दिएको छ।

एउटा देशमा बनेको एआई उपकरण अर्को देशको कार्यालयमा प्रयोग हुन्छ। एउटा भाषामा तयार भएको सामग्री अर्को भाषामा अनुवाद भएर संसारभर पुग्छ। नेपालमा हली पाउन छाडेको प्रभाव खाडीको रोजगारीमा देखिन्छ। त्यसैले एआईको नियमन केवल राष्ट्रिय सीमाभित्रको विषय रहन सक्दैन।

यस्तो अवस्थामा समाजलाई पुरानो भन्सार प्रणालीजस्तै प्रविधि प्रवेश गरेपछि मात्र नियन्त्रण गर्ने सोचले पुग्दैन। प्रविधि विकास हुँदै गर्दा त्यसको सामाजिक प्रभाव बुझ्ने, जोखिम पहिचान गर्ने र सार्वजनिक हित सुनिश्चित गर्ने संस्थागत संरचना चाहिन्छ। यसैलाई प्रविधिको गभर्नेन्स भन्न सकिन्छ।

गभर्नेन्स भनेको सरकारको आदेश वा नियन्त्रण मात्र होइन। यसमा नीति निर्माता, अनुसन्धानकर्ता, व्यवसायी, नागरिक समाज र सर्वसाधारणको सहभागिता आवश्यक हुन्छ। शिक्षा, रोजगारी, सीप विकास, अनुसन्धान, तथ्याङ्क सुरक्षा र वातावरणीय संरक्षणलाई एउटै नीतिगत दृष्टिमा राख्नुपर्छ।

घोडा विस्थापित हुँदा ढोरपाटनका किसानले नयाँ आम्दानीको बाटो खोज्नुपर्‍यो। गोरुको सट्टा मेसिन प्रयोग गर्दा किसानलाई नयाँ कृषि उपकरणको पहुँच चाहियो। त्यसैगरी एआईले मानिसको काम परिवर्तन गर्दा सीप विकास र रोजगारीको नयाँ संरचना आवश्यक हुन्छ। प्रविधिको लाभ केही सीमित कम्पनी वा समूहमा मात्र केन्द्रित हुने अवस्था रोक्न सार्वजनिक नीतिको भूमिका महत्त्वपूर्ण हुन्छ।

चराको चिरबिरलाई पनि यही गभर्नेन्सको बहसमा समेट्नुपर्छ। आर्थिक विकास र प्रविधि विस्तारका नाममा प्रकृतिको आवाज दबिनु हुँदैन। मानिसको सुविधा बढाउने प्रविधिले मानिसबाहेकका जीवको अस्तित्वलाई पनि सम्मान गर्नुपर्छ।

यही सन्दर्भमा भेराइटी हार्डिङ (Verity Harding) को पुस्तक AI Needs You सम्झनयोग्य छ। हार्डिङको मूल तर्क एआईको भविष्य प्रविधि निर्माताहरूको हातमा मात्र छाड्नु हुँदैन भन्ने हो। एआई आफैँमा निश्चित भाग्य होइन। समाजले यसको प्रयोग कसरी गर्ने, कसको हितमा गर्ने र कस्तो सीमा निर्धारण गर्ने भन्ने कुरा मानिसले नै तय गर्नुपर्छ।

उनले अन्तरिक्ष दौड, आईभीएफ (IVF) र इन्टरनेटजस्ता प्रविधिगत परिवर्तनका इतिहासबाट पाठ सिक्न सुझाएकी छन्। यी प्रविधिहरू पनि सुरुमा नयाँ चुनौती र अनिश्चिततासहित आएका थिए। तर सार्वजनिक बहस, अनुसन्धान, नियमन र नीतिगत हस्तक्षेपले तिनको विकासलाई मानवीय आवश्यकतासँग जोड्ने प्रयास गर्‍यो।

हार्डिङ एआईलाई आणविक बमसँग तुलना गरेर अनिवार्य विनाशको कथा सुनाउने प्रवृत्तिप्रति पनि आलोचनात्मक छिन्। आणविक बमको उद्देश्य नै विनाशकारी थियो। तर एआईको भविष्य पहिले नै निश्चित छैन। यसको उपयोगले समाजलाई सहयोग पनि गर्न सक्छ र असमानता एवं नियन्त्रणको नयाँ समस्या पनि सिर्जना गर्न सक्छ।

एआईको विकाससँगै सार्वजनिक हितमा आधारित अनुसन्धान, सबैका लागि प्रविधि शिक्षा, रोजगारीमा रूपान्तरणको तयारी, कमजोर समुदायको सुरक्षा र मानवीय निर्णय क्षमताको संरक्षण आवश्यक हुन्छ। यसमा सरकारको मात्र होइन, तपार्इ-हाम्रो पनि भूमिका हुन्छ।

प्रविधि र समयसँगै समाज परिवर्तन हुन्छ। परिवर्तनको अर्थ सबै पुराना कुरा नासिनु होइन। कतिपय वस्तुको उपयोगिता हराउँछ, कतिपयको भूमिका बदलिन्छ र कतिपयको महत्त्व नयाँ सन्दर्भमा झन् बढ्छ।

मानिसले प्रविधि निर्माण गरेको हो, तर प्रविधिको विकासले मानिसलाई नै नयाँ प्रश्न सोध्न थालेको छ। मेसिनले मानिसको काम गर्न सक्ला। मानिसको निर्णय क्षमताको नक्कल गर्न नि सक्ला। भावना संवाद गर्न पनि सिक्ला। तर त्यसको प्रयोगबाट समाजमा न्याय, प्रकृतिको संरक्षण र अरूको अस्तित्वप्रति जिम्मेवार हुने नैतिकता मानिसले नै तय गर्नुपर्छ।

अब एआईको युगमा मानिसले आफूलाई अरू प्राणीभन्दा श्रेष्ठ प्रमाणित गर्ने होडभन्दा माथि उठ्नुपर्छ। प्रश्न मेसिनले मानिसलाई जित्छ कि जित्दैन भन्ने होइन। मेसिनलाई प्रयोग गर्ने मानिसले आफ्नो विवेक, जिम्मेवारी र मानवीय संवेदना जोगाउन सक्छ कि सक्दैन भन्ने हो।

तानाशर्माले बेङ्गरको घोडा बजार देखे। मैले त्यही सहरमा पुगेर उनको समय र आजको समयबीचको दूरी अनुभव गरेँ। ढोरपाटनको घोडाले त्यो दूरीको अर्को कथा सुनाउँछ। म्याकफ्यारलेनको चराको चिरबिरले भने भविष्यको चेतावनी दिन्छ। बजार हराउन सक्छ, गोठ रित्तिन सक्छ, पुराना पेसा समाप्त हुन सक्छन्। तर प्रविधिको विकाससँगै मानवता र प्रकृतिको अस्तित्व नै रित्तिन दिनु हुँदैन।

published on onlinekhabar.com on 16 November 2026

Leave a Review

Reviews (0)

No reviews yet. Be the first to review this blog!