छोरा–छोरी कुट्न हुन्छ ? हुन्छ भने कति ?
‘केटाकेटीलाइ पिट्नु पनि सामान्य कुरा हुन सक्छ’ भन्ने भावको केही दिन अघि बेलायती उच्च अदालतबाट भएको फैसलाले मिडियामा चर्चा पायो । बेलायतमा सन्तति प्रताडीत हुने समस्या समाधान गर्न बनाइएका कानून र समाजिक मान्यताहरु हाम्रो नेपाली समाजमा भन्दा भिन्न छन् । त्यसैका आधारमा यहाँको हाइकोर्टकी एक न्यायाधीश श्रीमती पउफ्ले (Pauffley)ले केटाकेटीमाथिको प्रताडनाको विषय “सांस्कृतिक सन्धर्ब”मा केलाउन पर्ने आधारमा फैसाल गरेकी छन् । उनले दक्षीण पूर्व एसियाबाट आएका आप्रवासीका सन्धर्वमा केटाकेटी प्रताडना र शोषणको विषयमा न्याय दिन सांस्कृतिक सन्धर्बलाइ आधार मान्नु पर्ने बताएकी हुन ।
सन्ततीको बानी सुधार गर्न तथा विग्रन नदिन सामान्य डर–त्रास देखाउने हाम्रो प्रचलनलाइ उक्त फैसलामा स्वीकार गरेको पाइन्छ, तर त्यस्तो डर–त्रास बाल–बच्चा प्रताडित हुने र शोषण गर्ने, गराउने खालको हुनु हुदैन भन्नेमा अदालत तथा न्यायाधीश सचेत रहेको पाइन्छ ।
बेलायती परम्परा र पूर्वी एसियाको पारिवारिक संरचनामा रहेको फरकपनका कारण अदालतको फैसला चर्चामा आएको हो । नेपालतिर केटाकेटी पिट्पाट पार्नु सामान्य प्रचलन हो । तर, हाम्रो समाजमा भएको त्यो चलनलाई बेलायती अदालतले सामान्य प्रचलन हो भन्दा बेलायती मिडियालाइ पाच्य भएन । यहाँका पत्रकारलाइ त्यही फैसला अचम्म लाग्यो र सन्धर्व कोट्याउने विषय बन्यो । सौतेला र झड्केला सन्तान बढि संख्यामा रहने बेलायतको रहन सहनको तुलनामा सन्तति र अभिभावक बीचको आत्मियता नेपालतिर गाढा रहेको हुन्छ । यस्तो समाजिक असन्तुलनको परिवेशलाइ मध्यनजर गरिएको फैसलालाइ बेलायती पत्रकारले ब्यङ्गत्मक रुपमा समाचार बनाएर प्रस्तु गरे । यहाँका अदिवासीलाई खुसी पार्ने मनसायले स्थानीय पत्रकारले समाचार पस्किएको सहजै अनुमान गर्न सकिन्छ ।
केटाकेटी पिट्नु हुँदैन भन्ने सामान्य मान्यता तथा ब्यवहार हो तर केटाकेटीको उछ्र्रिङ्खल ब्यवहार सुधार गर्नु र विग्रन नदिनु पनि अभिभावकको दायित्व हो । म पाँच कक्षामा पढ्दा एक दिन मेरी दिदीले मलाई मजाले पिट्नु भयो । उहाँले मलाई पिट्नु पर्ने थियो र नै पिट्नु भएको हो । म पनि अरु बच्चा जस्तै सवै कुरा सिक्न खोज्ने र जिज्ञासु स्वभावको हुनु स्वभाविकै थियो । त्यैसैले म पनि साथीहरुसंग त्यो बन–कार्यायलको टेक्टर–ट्रली मुनि लुकेर जुट–पत्ती (तास) खेल्न सिक्दै गरेको थाहा पाएपछि दिदीले मलाई दिएको यातना मेरो लागि सुधारको कदम थियो । त्यस दिन म सिकारु तास खेलाडी थिए । दिदीको पिटाइले मलाई तास खेलको अम्मली हुनबाट रोक्यो । त्यसैले सुधारका लागि दिइने समान्य र उचित सजाय जायज हुन्छन भन्ने पक्षमा भएका कारण पनि म उक्त वेलायती फैसला जायज रहेको ठान्छु । उक्त फैसलामा न्यायधिशले मुद्दाका बालक र अभिभावकको नाम उल्लेख नगर्न पत्रकारलाई समेत सचेत पारेर उल्लेख गरेकी रहिछन् । त्यसैले मेरो अनुभवलाई यो फैसालको सन्देश सकारात्मक रहेको भावनाका साथ मुद्दाका पक्षको नाम उल्लेख नगरी अभिब्यक्त गर्ने प्रयास गर्दै छु ।
बच्चालाई कति पिटे सुधार प्रयास हुन्छ र कति पिटे शोषण गरेको हुन्छ ? यो कुरा छुट्याउन भने अलि गाहरो छ । केटाकेटीको बानी बेहोरा सुधार गर्न प्याट्ट पुट्ट पिट्नु, चट्कन–च्यूरा दिनु, गाली गर्नु, आखा तर्नु तथा नबोलेर सताउनुलाई सुधारको प्रयास नै मान्नु पर्छ ।
तर, अनिलसर (हामीलाइ ९–१० कक्षामा अङ्गरेजी पढाउने)ले होम वर्क नगर्दा तीन चार दिनसम्म हातमा डाम बस्ने गरी लठ्ठीले पिट्ने सजाय भने सुधारको कदम भन्दा बढी पताडित पार्ने खालको हुन्थ्यो । हुन त लठ्ठी मारको डरले गल्ती नै भए पनि कहिल्यै होमवर्क छुटाउने आँट नगरेका कारण त्यो मारको मर्म अनुभव नगरी सधै तर्सि रहेँ म । अनिलसरको लाठीको मारबाट भोग्न परेको साथीहरुको दुखाइ मलाइ अहिले पनि संझना छ, डर लागेर आउँछ । लाठी हातमा बजारिँदा राता भएका साथीका कान र रगत भरिएर नीलो एवं अध्यारो भएको अनुहारले देखाएका पीडा संझँदा अहिले पनि मन जिरिङ्ग हुन्छ । साथी कति डराएका हुन्थे भने शरीरबाट त्यो दर्दनाक पीडा झलझली विस्फोट हुँदा पनि लाठीको अर्को प्रहारको लागि त्यो हात सिधा पारेर थापिरहनु पर्ने बाध्यता थियो उनलाइ ।
अझ अनिलसरको भन्दा बढी भरतसरको डर लाग्थ्यो । तर भरत सरले कहिल्यै कसैलाइ पिटेको जानकारी भएन । उनले कसैलाइ पिटेनन । तर, म मात्र होइन उनका सवै विद्यार्थी डराएका हुन्थ्यौँ । उनी बडो तीखो बाँड लाग्ने बचनले प्रहार गर्थे । मुटुमै घोच्थ्यो र आफ्नै भविष्यका लागि पढ्न मेहेनत नगरे भविष्यमा दुःख पाइन्छ भन्ने सन्देश पाइन्थ्यो । अनिलसरको लाठीको मारले तर्साए पनि उनको पिटाइ आफ्नै भविष्यको लागि हो भनेर कहिल्यै यो मनले सोचेन । त्यो लाठीको मारले सधै सवैलाई अहित नै गर्छ जस्तो लाग्थ्यो । उता टिकाराम सरको अमृत बचन भरत सरका तीखा बाँण भन्दा नरम भए पनि उपकारी भएको लाग्थ्यो । प्रेरणादायी रहिरहेको जस्तो लाग्छ । उनको स्वभाव कस्तो भने गाली पनि फकाएर गर्ने । भरतसरले गाली गर्ने तीखा बाँडलाई उदाहरण दिएर सजाइएका हुन्थे, उखान टुक्का जोडेर सम्झाइएका हुन्थे । हुन त अनिल सर पनि भन्थे ‘नाही पढ्बो तो खाइबो नुन भुजा’ । उनी तराइ मुलका हुन । स्थानीय लवजमा उनले दिने गरेको त्यो अर्ति बचन भने अहिले पनि खुब घत लागेर आउछ । अलि पछाडि बेन्चमा बस्ने तराइ मुलका मित्रहरु अलि टाढा–टाढाबाट साइकलमा स्कूल आउथे । आउँदा जाँदा नै धेरै समय खर्च हुन्थ्यो । स्कुलबाट घरमा पुगेपछि कहिलेकाही चारा–मसिनमा घास छाटने त बर्खाको समयमा धानको बीउ काटेर परिवार सघाउने जस्ता दिनचर्याले गर्दा पनि गृहकार्य गर्न भ्याउथेनन्, त्यसैले त विचराहरु अनिल सरको लठ्ठीको मार खाने सवै भन्दा बढी उनीहरु नै हुन्थे । दिउसको खाजा उनीहरुले भुजा (भुजिया चामललाई भुटेको) र नुन ल्याउथे । (काठमाण्डौ तिरका दरबारीयाहरुले भातलाई भन्ने ‘भुजा’ चाही होइन) । अनिल सरले उनीहरुलाई लक्ष्य गरेर पढेनौ भने जीवनभरि नुन–भुजा नै खाइ बस्ने छौ भनेर अर्ति वुद्धि दिन्थे त्यहाँको स्थानीय भाषामा । हामीले कट्टे भन्ने गरेका दीर्घबहादुर र अर्का साथी भगवानले पनि अनिल सरको लाठीको चोट पाएको सम्झन्छु । तर, गृहकार्य गरेको छ भने गल्ती नै भए पनि लठ्ठीले चाहीँ पिट्दैन थिए अनिल सरले । एक पटक मेलामा जाँदा कट्टा बन्दुक लिएर लठेतहरसंग गएको अरु साथीहरुले देखेका कारण दीर्घबहादुरको नाम सवैले कट्टे राखेका थियौ । मान्छे अलि बदमास स्वभावको भएपनि साथीभाइबीच मिलनसार थिए । त्यसैले त उनलाइ मुखनजानी पनि हामीले ‘कट्टे’ भनेर बोलाउँदा पनि उनी रिसाउथेनन् हामीसंग । एउटा कुरा सधै अचम्म लागिरह्यो । आपसमा नाता पनि पर्ने हुनाले हरिहर र कट्टे एउटै कोठा डेरा गरी बस्थे । तर, दुवै रुमपार्टनर भने विपरित ध्रुबका थिए । हरिहर कक्षाका फस्ट ब्वाय र कट्टे कक्षाको सबभन्दा टट्टु ब्वाय । आठ कक्षादेखि दश कक्षासम्म दुवै सँगै डेरा गरी बसे । तर, नत हरिहरबाट त्यो फस्ट हुने स्वभाव कट्टेमा सर्यो नत कट्टेको अल्लारेपन हरिहरमा सर्यो । यसयलसीपछि कोही कता लागियो कोही कता, त्यसपछि न त हरिहरसंग भेट भएको छ नत कट्टेसंग । अनिलसरको लठ्ठीको मारले कट्टेलाइ भने कहिल्यै सुधार गर्न सकेन । उसको त शारीरिक गठन पनि यति मजबुत थियो कि अनिलसरको लठ्ठी भाँचिने गरी मार खादा पनि अरुले मार खाँदा जस्तो पिडा कट्टेको अनुहारमा कहिल्यै देखिएन । दुख्न त दुख्यो होला तर त्यो पीडा खटाउन सक्ने स्तरको ब्यायाम गरेर कट्टेले शरीर मजबुत पारेको थियो ।
मेरा यस्ता अनुभवका आधारमा अनिलसरको लठ्ठीको मार बानी सुधार गर्न अनावस्यक हो, त्यो सुधार कदम होइन प्रताडना हो भनेर किटान गर्न सक्छु । तर, मेरी दिदीको त्यो पहिलो र अन्तिम चुटाइ मेरालागि आवस्यक थियो । त्यसले मलाई सुधार गर्यो ।
केही समय अघि नेपाली हास्य कलाकारले आफ्नो प्रस्तुतिमा पनि विदेशमा बस्दा पिट्न नपाएका केटाकेटीलाई त्रिभुवन विमानस्थल पुगेपछि कुट्ने गरी कार्यक्रम देखाइएको प्रसंगले पनि बेलायती र नेपाली समाजिक रहनसहन र पारिवारिक विविधतामा भएको भिन्नता छर्लङ्ग पारेको छ । यहाँसम्म कि केटाकेटीलाई तर्साउन बेलायत बस्ने नेपालीले ‘पख न नेपाल लगेर तलाई नपिटी कहाँछोडुला’ भनेको यदाकदा मैले पनि सुनेको छु । तर, त्यहाँ प्रताडना दिन त्यसो भनिएको हुँदैन । त्यहाँ एउटा ममता लुकेको हुन्छ, अभिभावक र सन्ततिबीच सम्बन्ध जुटेको हुन्छ, एक अर्काको भलाईको भाव निहित हुन्छ । यसलाई न वेस्टमिनिस्टरको संसदले कानून बनाएर सन्तुलन पार्न सक्छ न त जेलको सजायले सुधार गर्न सक्छ । यो त सामाजिक स्वच्छताले मिलाउने परिपाटी हो । आधुनिकताले भन्दा बढि मौलिकताले भूमिका खेलेको हुन्छ । प्रविधिले भन्दा मातृत्व र भातृत्वले प्रवाह गरेको हुन्छ र त सन्तुलित सम्बन्ध गाँसिएको हुन्छ ।
हाम्रो समाजमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामीले रुचाए पनि, नरुचाए पनि हिन्दी सिनेमाले असर गरिराखेको हुन्छ । चाहे कोशौ टाढारहेकी बच्चाकी आमाको उदाहरण दिएर ‘गब्बर’ले बोल्ने डाइलग होस चाहे ‘बागबान’ सिनेमामा अभिताभ र हेमामालिनीको भावबाट अभिब्यक्त संस्कृति होस, त्यसबाट हाम्रो समाज प्रभावित हुने गरेको छ । कानूनी दाउपेचको बीचमा सोझो पिता र उसको बच्चाबीचको सम्बन्धलाई ‘मै ऐसा ही हुँ’ भन्ने हिन्दि सिनेमामा सुधार कदम र प्रताडना छुट्याउन अदालत असक्षम रहेको तर सामाजिक न्याय प्रचलित न्यायप्रणाली भन्दा राम्रो रहेको देखाइएको छ । उक्त सिनेमामा निर्देशक हेरि बवेजाले सन्तति सुधारमा सजायको होइन ममतालाई महत्व दिएको पाइन्छ । त्यसैले ममतालाई पहिचान गर्ने बेलायतका आप्रवासीहरुको संस्कृति र संस्कारलाई बेलायती न्यायधीश श्रीमती पउफ्ले (Pauffley)ले बुझ्न सकेका कारण नै मेरो नजरमा उचित न्याय प्रदान गरेकी हुन ।
यस विषयमा बेलायती कानूनः
चिल्ड्रन एक्ट २००४ को दफा ५८ ले परिवार र संरक्षकलाई केटाकेटीको बानी सुधारगर्नका लागि उचित सजाय दिन छुट दिएको छ । अर्थात केटाकेटीको बानी सुधार गर्न उचित प्रकारले धेरै नदुख्ने तर बानी सुधार गर्न भने हुने एकदुई झापड नै हाने पनि हुन्छ भन्ने अर्थ लाग्न सक्छ । तर डाम नै बस्ने गरी पिटेर उचित सजाय दिन पिटेको भन्ने तर्क गर्न भने मिल्ने देखिँदैन । माथि ब्याख्या गरे जस्तो अनिलसरको लठ्ठीको मार हान्न बेलायतका स्कुलका शिक्षकलाई अधिकार छैन् । त्यस्तो सजायमाथि रोक लगाउन बेलायती संसदले १९९८मा कानूननै पारित गरेको छ । अर्थात स्कुलहरुमा भने केटाकेटी तह लगाउन तथा सुधार गर्न पनि पिट्न पाइँदैन ।
Children Act 2004
• 2004 c. 31
• Part 5
• Other provisions
• Section 58
Reasonable punishment
(1)In relation to any offence specified in subsection (2), battery of a child cannot be justified on the ground that it constituted reasonable punishment.
(2)The offences referred to in subsection (1) are—
(a)an offence under section 18 or 20 of the Offences against the Person Act 1861 (c. 100) (wounding and causing grievous bodily harm);
(b)an offence under section 47 of that Act (assault occasioning actual bodily harm);
(c)an offence under section 1 of the Children and Young Persons Act 1933 (c. 12) (cruelty to persons under 16).
(3)Battery of a child causing actual bodily harm to the child cannot be justified in any civil proceedings on the ground that it constituted reasonable punishment.
(4)For the purposes of subsection (3) “actual bodily harm” has the same meaning as it has for the purposes of section 47 of the Offences against the Person Act 1861.
(5)In section 1 of the Children and Young Persons Act 1933, omit subsection (7).
© www.amaaba.org